कतै सुनेको थिएँ, लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन, प्रेममा खर्चिएका मसिहरू कति हाँसो र आँसुले सिन्चित छन् । समयको कठिन परिधिमा निस्सासिएका मानिसहरू किन प्रेम भन्नेबित्तिकै उन्मुक्ती चाहान्छ ? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पंक्षीहरू झैँ आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्ण झैँ हरप्रेमीहरूको इन्द्रेणीमा अर्को रङ्ग बनेर घुल्छ ।

प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तीहरूमा हाँसिदिन्छौ र फेरि अर्को मौका दिन्छौ र कठोरताको कैँचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी जोकोहीलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै, गणितको फर्मूला माइनस माइनस प्लस जस्तो, प्राप्त नहुन सक्छ । प्रेम गर्दिनँ, आजसम्म कहिल्यै प्रेम गरिनँ, भन्नेहरू पनि प्रेम गर्छन् । प्रेमको महफिललाई नकार्नेहरू जीवनको सङ्गीत र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो ।

निर्जला अधिकारी

हरप्रेमीहरू सुन्दर गुलाफ हुन् । प्रेम गर्न गाह्रो छ तर पनि उनीहरू प्रेम गर्छन् । कसैलाई प्रेम गर्नुभनेको आफ्नो जस्तै अर्को मानिसको अस्तित्व स्विकार गर्नु हो । प्रेमको लडाइँ इगोको लडाइँ होइन यो, अपनत्वको लडाइँ हो, आत्मस्विकृतिको लडाइँ हो । प्रेमीहरू जसले प्रेम गर्छन्, एकअर्कालाई ती संसारकै सुखी मानिसहरू हुन् सायद सुन्दर पनि । त्यसैले यो भूमण्डलको सबैभन्दा सुन्दर चीज त्यो केही हो भने त्यो प्रेम हो मात्र प्रेम ।

मानिसहरू प्रेमलाई सम्बन्धसँग जोड्छन् र पो प्रेम कुरूप बन्दैछ । प्रेम प्रेम नै हो । सम्बन्ध र प्रेमबीच तात्विक केही सामञ्जस्यता छैन । यी त जीवनका छुट्टाछुट्टै स्वतन्त्र वृत्तहरू मात्र हुन् । प्रेम गर्नेसँग जीवन बिताउने इच्छा प्रायः सबैको हुन्छ । तथापि यिनीहरूको आ–आफ्नै सामाजिक, आर्थिक र धार्मिक चौघेराहरू छन् । हरेक प्रेम सम्बन्धहरू विवाहमै गएर अन्त्य हुन्छन् भन्ने छैन । यदि प्रेम र सम्बन्धको गहिराइ नाप्ने हो भने प्रेमको गहिराइ सधैं गहिरो हुन्छ र हुनेछ । सम्बन्ध त समाजले बनाएको मापदण्ड मात्र हो । यसको मूल्याङ्कन सायद अर्थशास्त्र र समाजशास्त्रले बढी गर्ला । त्यसैले प्रेमको सुरुवात र अन्त्य दुवै विवाह हो भन्नु चल्तीको भाषा बोल्नु मात्र हो । सबै बिकेका र स्थापित विचारहरू ठीक हुन् भन्न म सक्दिनँ ।

कवि, चित्रकार, लेखक, कलाकार यी प्रेमका हिमायतीहरू हुन् । प्रेमलाई अभिव्यक्त गर्न खोज्नु आफ्नै पाखण्डलाई आफ्नै शिल्पले छोप्नु हो । शब्द र कलाको भाषा बेगर प्रेमको अस्तित्व कहीकतै छ भने त्यो मौनतामा मात्र छ । प्रेमीहरूबिना भाषा पनि बोल्न सक्छन् । ठीक विपरीत त्यही मौनतालाई कविले कविता बनाउँछ, लेखकले कथा बुन्छ, चित्रकारले चित्र । त्यसैले आफू भाषामा बोले पनि कसैले मौनतालाई प्रेम गर्छ भने त्यो कवि, चित्रकार, लेखकमध्ये कोही एक हो ।

प्रेमको भाषा संसारकै सुन्दर भाषा हो । नबोलेरै बोल्नु भनेको संसारको बहुरङ्गी कोलाजबाट सुन्दर मौन सिम्फोनी निकाल्नु हो । हुनसक्छ गीत गाउनु, कविता लेख्नु, अभिनय गर्नु, चित्र बनाउनु, मूर्ति बनाउनु सायद प्रेमकै भाषा बोल्नु हो ।