Chovar Blues Mobile Size

(सान्द्रा सिस्नेरोज मेक्सिकन–अमेरिकन लेखक हुन् । सरल र कम शब्दमा लेख्न सक्नु उनको विशेषता हो । यो कथा उनको पहिलो लघु उपन्यास ‘द हाउस अन म्याङ्गो स्ट्रिट’ बाट लिइएको हो। भिग्नेटे शैलीमा लेखिएको उक्त उपन्यास स–साना कथाहरुको बिम्बात्मक संग्रह हो, जसको प्रमुख पात्र स्पिरेन्जाले आफूजस्तै धेरै आप्रवासीहरुका भिन्दाभिन्दै कथा भन्छिन् । तर उपन्यासको प्रमुख विषय बिम्बात्मक शैलीमा घरकै वरिपरि घुमेको छ । अनुदित यो अंश उपन्यासको पहिलो परिचयात्मक कथा हो ।)

आँप सडकको घर

सान्द्रा सिस्नेरोज

हामी सधैं आँप सडकमा बसेनौं । त्यो भन्दा पहिले लुमिजको तेस्रो तलामा बस्थ्यौं । त्यसभन्दा पनि पहिले केलरमा बस्यौं, त्यो भन्दा पनि पहिले अँहँ म सम्झिन सक्दिनँ । तर के सम्झन्छु भने हामी धेरै घुम्यौं । प्रत्येक पटक यस्तो लाग्थ्यो, अब अर्को ठाउँमा कोही अर्को थपिनेछ । जब हामी आँप सडकमा आयौं छ जना थियौं – आमा, बा, क्यारलोस्, किकी, म पछिकी बहिनी नेने र म ।

अनुवादकः निर्जला अधिकारी

आँप सडकको घर हाम्रो हो र हामीले कसैलाई भाडा तिर्नु पर्दैन, वा धेरै हल्ला हुन्छ कि भनेर पिर गर्नुपर्दैन । हामीसँग यहाँ कुनै घरबेटी छैन, जो छानामा झाडु लगाउँदै आवाज निकाल्छ । तथापि यो त्यो घर होइन जुन हामीले सोचेथ्यौं, पायौं ।
हामीले लुमिजको घरबाट चाँडै बिदा लिनुपर्यो । खानेपानीको पाइप बिग्रेपछि घरबेटीले बनाएनन् किनभने घर धेरै पुरानो थियो । हामीले छिट्टै छोड्नुपर्यो । हामीले अरुको घरको शौचालय र अरुकै घरबाट खाली दुधको ग्यालिनमा पानी ओसार्ने गर्थ्यौं । त्यही भएर बा–आमाले यो घर हेर्नुभयो । त्यसैले हामी यो घरमा सर्यौ, धेरै टाढा, शहरको पल्लो छेउ ।

उहाँहरु सधैं भन्नुहुन्थ्यो– एक दिन हामी त्यस्तो घरमा सर्नेछौँ, जुन साँच्चिकै हाम्रो हुनेछ ताकि प्रत्येक वर्षझैँ अर्को घरमा सर्नु नपरोस् । अनि हामीसँग सधैँ पानी आउने धारा हुनेछ । साँच्चिकै छत भएको घर हुनेछ, कच्चा होइन, टिभीमा देखिने घरको छतजस्तै । त्यसैगरी हाम्रो घरमा फराकिलो प्यासेज र कम्तीमा तीन वटा स्नानगृह हुनेछन् । त्यसो हुँदा नुहाउँन भित्र छिर्दा कसैलाई भनिराख्नु पर्ने छैन । घर सेतो रङको ठूला रुखहरुले घेरिएको हुनेछ, ठूलो आँगन बिना कुनै कम्पाउन्डको हुनेछ । बा यस्तैे घरको कुरा गर्नुहुन्थ्यो जब उहाँसँग चिट्ठाको टिकट हुन्थ्यो र त्यो त्यस्तै घर हुन्थ्यो जब आमा हामीलाई सुत्नुअघि कथामा सुनाउनु हुन्थ्यो ।

तर यो घर त्यस्तो केही छैन जस्तो उहाँहरुले भन्नुहुन्थ्यो । यो सानो र रातो रङको छ, जसमा पस्न साँघुरा पाइलाहरु चाल्नुपर्छ र झ्यालहरु यति साना छन् कि यस्तो लाग्छ– ती आफैं अड्कलेर स्वास फेर्दै छन् । इँट्टाहरु कति ठाँउमा चर्किएका छन्, मूलढोका बिग्रिएको छ । भित्र छिर्न पनि जोडले धकेल्नुपर्छ । यहाँ कुनै आँगन छैन, बिरुवा र बगैँचाको नाममा नगरपालिकाका केही निसान छन् । पछाडि सानो पार्किङ छ कारको लागि जो हामीसँग छैन । घरको दुवै किनारामा केही जमिन खाली छ जसले घरलाई सानो देखाउँछ । छत त छ तर पक्की होइन । एउटा मात्र शौचालय छ, सबैजनाले सुत्ने कोठा एकअर्कासँग बाँड्नुपर्छ – आमा, बा, क्यारलोस्, किकी, म र नेनी सबैले ।

एकपटक जब हामी लुमिजमा बस्थ्यौं, मेरी स्कुलकी आया बाटोमा हिँड्दैथिइन् । मलाई घरबाहिर खेलिराखेको देखिन् । त्यो समय तल्लो तलामा बस्ने लण्ड्रीबालाले सबै झ्याल ढोकाका खापा खोलेर रङ लगाएको थियो दुई दिन पहिले, हामी खुल्ला घरमा थियौं ताकि उसको व्यापार नछुटोस् ।

तिमी कहाँ बस्छ्यौ ? उनले सोधिन् ।

त्यहाँ, मैले औँलाले तेस्रो तला देखाउँदै भनें ।

तिमी त्यहाँ…… बस्छ्यौ ?

त्यहाँ….. मैले उनले औंलाले देखाएतिर हेर्नुपर्यो – तेस्रो तला, खुइलिएको रङ, बाले ठोकेका झ्यालका खापाहरु ताकि हामी नलडौं । तिमी त्यहाँ बस्छ्यौ ? उनको सोधाइले मलाई आफ्नो निम्सरोपन महसुस गरायो । त्यहाँ । म त्यहाँ बस्थें । मैले शिर निहुराएँ ।

मलाई थाहा भयो, मेरो आफ्नै घर हुनुपर्छ । साँच्चिकै आफ्नै घर । जसलाई मैले औंलाले देखाउन सकुँ । तर यो आँप सडकको घर होइन । केही समयको लागि हो आमा भन्नुहुन्छ । सधैँका लागि होइन, बा भन्नुहुन्छ । मलाई थाहा छ, यसरी नै धेरै दिनहरु बित्नेछन् ।