यो उमेरको कथा हो । हामीलाई जस्तै तपाईंलाई पनि लाग्दो हो, तपाईं कि त आफ्नो उमेरभन्दा ठूलो हुनुहुन्छ कि सानो ! हामी ठिक आफ्नो उमेरको विरलै महसुस गर्छौ । सान्द्रा सिस्नेरोजको यो कथा यस्तै उमेरको कथा हो । “वुमन होलरिङ क्रिक एन्ड अदर स्टोरिज ” नामक कथा संग्रहमा संग्रहित यस कथाले उमेरको यिनै उतारचढावलाई व्यक्त गरेको छ । कथालाई निर्जला अधिकारी मुना सापकोटाले संयुक्त रुपमा अनुवाद गर्नुभएको हो ।

सान्द्रा सिस्नेरोज

जन्मदिनबारे मान्छेहरूले बिरलै बुझ्छन् र सायदै भन्छन्- जब हामी एघारकी हुन्छौ हामीभित्र दश, नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई र एक पनि हुन्छ । एघारौँ जन्मदिन भए पनि उठ्नेबित्तिकै हामीलाई एघारको महसुस हुँदैन । आँखा खोल्दा हिजोको जस्तै लाग्ने सबैकुरा आजको भैसकेको हुन्छ । तर हामीलाई एघारको जस्तो पटक्कै लाग्दैन, हामीलाई लाग्छ हामी दशकै हौँ । उमेरले हामीलाई कताकता एघारको बनाउँछ । जस्तो कि, कुनै दिन केही उट्पट्याङ कुरा भन्नुपर्ने हुनसक्छ, त्यो हामीभित्रको दश हो । कहिलेकाहीँ डराएको बेला हामीलाई आफ्नो आमाको काखमा लुटपुटिनु पर्ने हुनसक्छ, त्यो हामी भित्रको पाँच वर्षे पाटो हो । सायद ठूलो भइसकेपछि पनि कुनै दिन तीन वर्षे बालकझैँ रुनुपर्नेछ, त्यो पनि ठिकै हो । यही कुरा म मेरी आमालाई उहाँ निराश र भावुक हुँदा भन्छु- लाग्छ, उहाँ अहिले तीनको महसुस गर्दै हुनुहुन्छ ।

किनभने हामी बुढो पनि प्याजका पत्रहरू अथवा रुख भित्रको गुदी जसरी वा मेरा काठका पुतलीजसरी हुन्छौँ, एक अर्कोभित्र अटाउने । जस्तो कि एउटा वर्ष, अर्काे भित्र अटाउँछ । यही नै एघार वर्ष हुनु हो । तिमी तत्कालै एघारको महसुस गर्दैनौ । यसका लागि समय लाग्छ । कहिलेकाहीँ दिन, कहिलेकाहीँ हप्ता र कहिलेकाहीँ महिना नै पनि लाग्न सक्छ। कसैले उमेर सोध्दा पूर्ण एघारको महसुस गर्न तिमी बाह्रको नजिक पुग्नुपर्छ । यो वर्षहरूको खेल यस्तै हो ।

सान्द्रा सिस्नेरोस

आजै मात्र मलाई लाछ मसँग एघार वर्षहरू मात्र छैनन्, जो मभित्र खुत्रुकेका सिक्काहरूझैँ एकअर्कासँग जुध्दैछन् । बरु म एघारको सट्टा एक सय दुई भइदिएको भए, मलाई थाहा हुन्थ्यो प्राइस मिसलाई के जवाफ दिने । जब उहाँले त्यो रातो सुइटर मेरो डेक्समा राख्दा, मसँग निशब्द अनुहारको सट्टा उहालाई दिने उत्तर हुन्थ्यो ।

मिसले “कसको हो यो?” भन्दै सुइटरलाइ माथि फाल्नुभयो, ताकि कक्षाका सबैले देखून् ।

“मेरो होइन,” सबैले भने ।

“कसैको त पक्कै हो !” मिसले भन्नुभयो तर कसैले सम्झेनन्, त्यो कसको हो । त्यो फाटेको थोत्रो सुइटर, रातो प्लास्टिकको टाँक भएको, गला र बाहुला उध्रिएको, डोरी बनाएर खेल्न मिल्ने किसिमको छ । हुनसक्छ, त्यो वर्षौंवर्ष पुरानो मेरो आफ्नै सुइटर हो तर म भन्दिनँ, त्यो मेरो हो । हुनसक्छ म पातली भएर हो वा उसलाई म मन नपरेर हो, त्यो मूर्ख साल्भिया साल्दिभार भन्छे, “यो राचेलको हो कि ?”

मिसले उसले भनेको पत्याउनुहुन्छ र त्यो थोत्रो सुइटर मेरो डेक्समा राख्नुहुन्छ । म केही बोल्न सक्दिनँ ।

“यो मेरो होइन, हुँदै होइन,” अन्त्यमा मैले मधुरो स्वरमा भन्छु । हुनसक्छ, यो म भित्रको चार हो ।

“यो पक्कै तिम्रो हो,” मिस भन्नुहुन्छ, “तिम्ले एकपटक लगाएको मलाइ याद छ ।”

किनकि उहाँ शिक्षिका र मभन्दा ठूली हुनुहुन्छ । उहाँले भनेका सबै कुरा सत्य, त्यसैले पनि उहाँ सही हुनुभयो, म गलत ।

“मेरो हुँदै होइन…,”

मिसले किताब पल्टाउनुहुन्छ पेज नं. ३२, गणितको समस्या नम्बर ४ ।

मलाई थाहा छैन, किन म भित्रभित्रै बिसन्चो महसुस गर्दैछु । म एक्कासि आँखा मिच्छु, दाँत किट्छु र सम्झाउँछु आफूलाई, म एघारकी हुँ । आमा आज साँझको लागि केक बनाउँदै हुनुहुन्छ, अनि जब बा आउनुहुन्छ, सबैजनाले मलाई गीत गाउँदै जन्मदिनको शुभकामना दिनेछन् । जब मलाई सञ्चो भएजस्तो लाग्छ, म आँखा खोल्छु तर त्यो रातो सुइटर म अघिल्तिर पहाड उभिए जसरी उभिन्छ ।

म त्यो रातो सुइटरलाई अर्को कुनामा धकेल्छु । अनि म मेरा किताब, पेन्सिल र इरेजरलाई पनि धकेल्छु धेरै पर । कुर्चीलाई पनि म आफ्नो देब्रेतिर सार्छु । यो मेरो हुँदै होइन, म सोचिरहेछु- टिफिन टाइमसम्म मात्र हो, त्यसपछि म त्यसलाई स्कुलको चउरमा फाल्न सक्छु वा स्कुलको पार्किङमा झुन्ड्याउन सक्छु वा त्यसलाई गुटुमुटु बनाएर गल्लीमा फाल्न सक्छु । गणित कक्षा सिद्दियोस् न मात्र !

मिस ठूलो स्वरमा भन्नुहुन्छ, “राचेल बन्द गर, अति भो !” किनकि मैले सुइटरलाई कुनामा धकेलेर त्यसलाई झरना जसरी झुन्डाएको उहाँले देख्नुभयो तर मलाई केही मतलब छैन ।

“राचेल !” मिस रिसाएर बौलाएझैँ गर्नुहुन्छ, “तिमी यो सुइटर लगाइहाल, अहिल्यै लगाऊ, धैरै नखरा नदेखाऊ, छिट्टो, अहिले नै, तुरून्तै !”

यस्तो बेला मलाई लाग्छ, यो म भित्रको एघार हैन किनभने म भित्रका दश, नौ, आठ, सात, छ, पाँच, चार, तीन, दुई र एकले मलाई धेरै पर धकेल्दैछन् । जब म आफ्नो एक हात सुइटरको बाहुलाभित्र घुसार्छु, त्यो कुहिएको नौनीजस्तै गनाउँछ र अर्को बाहुला मभन्दा धेरै पर भएजस्तो लाग्छ । सुइटर भिर्दै गर्दा मलाई पीडा हुन्छ, चिलाउँछ, किटाणु नै किटाणु भएजस्तो लाग्छ ।

त्यसपछि बिहानदेखि सँगालेको सबै भण्डार पोखिन्छ, म सबैको अगाडि रोइदिन्छु । म चाहन्छु, म अदृश्य बनूँ तर सक्दिनँ । म एघारकी भएँ र आज मेरो जन्मदिन हो तर म सबैको अगाडि तीन वर्षे बालिकाझैँ रोइरहेकी छु । म टाउको डेक्समा राखेर त्यो थोत्रो स्विटरले आफ्नो अनुहार पुच्छु । मेरो अनुहार तातो भएको छ र मुखबाट र्याल चुहिँदैछ किनकि म भित्रको त्यो सानो जनावररुपि आवाज मबाट निस्कदैन, जबसम्म मेरो आँशु रित्तिदैन । अब मेरा आँशु रित्तिदैछन् र म यसरी हिकहिकाउँदैछु जसरी म तातो दुध छिटोछिटो पिउँदा हिकहिकाउँछु । तर दुःखको कुरा, उतिखेरै टिफिनको घण्टी बज्छ । त्यो ग्वाँजे फिलिप लोपेज, जो सिल्भिया भन्दा पनि मूर्ख छे, भन्छे,  “ओहो, मलाई याद भयो, त्यो सुइटर त मेरो हो ।”

म उत्तिखेरै फुकालेर उसलाई दिन्छु । मिस केही नभएजस्तो गर्नुहुन्छ ।

राचेल धेरै ढिला भैसक्यो । म एघार, दश, नौ, आठ, सात, छ, पाँच, तीन, दुई र एक हुँ तर मलाई लाग्छ, म एक सय दुई पनि हुँ । म एघारबाहेक सबै हुँ । लाग्दैछ, म धेरै पर आइसकेकी छु, धेरै पर । हातबाट फुस्केको बेलुन वा आकासमा रहेको त्यो सानो शून्य, जसलाई देख्न पनि तिम्ले आँखा चिम्लनुपर्छ ।