
पहिलो कविता

निर्जला अधिकारी
शब्दहरुको सीमाभित्र
तिमी अटाएनौ
मैले पानाहरु खाली छोडिदिएँ
आज जीवनका पानाहरु पल्टाउँदैछु
देख्दैछु सफा सेता पानाहरु
सायद…
मैले लेखेको पहिलो कविता तिमी नै थियौ ।
प्रतिबिम्ब
कतै छुटेको आफ्नै प्रतिबिम्ब जस्तै
किन लागिरहन्छ
ऊ आफ्नो हो
मानिसहरू भन्छन्-
फुल्नु, ओइलिनु
जानु, नआउनु र बिर्सिदिनु
यो त बिम्ब हो नियतिको
बुझ्छु तर बुझ्न सक्दिनँ
सायद अब यस्तो नहोस्
आफ्नै प्रतिबिम्बमा अरु कोही खोज्नु नपरोस् ।
बजार
सबैले भनिदिए
बोल्नेहरुको सबै बिक्छ
आज बिक्नेहरुको भिडमा
मौन कथाहरु पढ्दैछु
बुझ्दैछु
बजार बजार नै रहेछ
अब नबिक्नुप्रति कुनै पश्चताप रहेन।
यात्रा
तिमीले भनेझैं
यात्रा गर्न सजिलो रहेनछ
आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु
आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु
आफ्नै प्रतिबिम्बमा आफ्नै छायाँहरु नियाल्नु
आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु
बरु सारै सजिलो त
यात्रा नगर्नु नै रहेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

