
सान्द्रा सिस्नेरोज
यो लेखकको आफ्नै कथा हो, सान्द्रा सिस्नेरोजको कथा । लेखकको आफ्नै कथाले आप्रवासी, गरिब र छ जना छोराहरु भएको परिवारकी एक्ली छोरी भएर लेखक बन्न चाहनु के रहेछ भन्ने बुझाउँछ । व्यक्तिगत कथा मात्र जस्तो लाग्ने यस निबन्धको आयातन भने हामीले सोचेझैँ साँघुरो छैन । यो आशा, निराशा र भरोसामा उभ्भिएको अक्षरको कथा हो । यो निबन्ध सन् १९९० मा ‘ग्ल्यामर’मा पहिलोपटक प्रकाशित भएको थियो ।
धेरै वर्ष पहिले, एकपटक जब म आफ्नो लेखन यात्राको सुरुवाती क्रममा थिएँ, मलाई आफ्नै परिचय लेख्न भनियो । यो एउटा कथासंग्रहको लागि थियो, जसमा मेरा कथाहरु पनि राखिएका थिए । मैले लेखेँ, “म छ जना छोराहरु भएको परिवारकी एक्ली छोरी हुँ ।”
अनि फेरि सोच्न थालेँ– हो यसले मेरो बारेमा धेरै कुरा भन्छ तर पाठकको लागि मैले लेख्नुपर्थ्यो, “म छ जना छोराहरू भएको मेक्सिकन परिवारकी एक्ली छोरी हुँ ।” वा, “म मेक्सिकन बाबु र मेक्सिकन अमेरिकन आमाकी एक्ली छोरी हुँ” अथवा “म नौ जनाको जम्बो परिवार भएको गरिब परिवारकी एक्ली छोरी हुँ ।” यी सबै कुराहरुले आज म जे हुँ, त्यो हुनुको महत्त्व राख्छ ।
म केवल एक्ली छोरी हुँ र थिएँ, मात्र एक्ली छोरी ! छ छोराहरु भएको परिवारको एक्ली छोरी हुनुले मलाई आफैँसँग समय बिताउन बाध्य बनायो । किनभने मेरा दाजुहरुलाई लाग्थ्यो– केटीहरुसँग बाहिर खेल्यो भने सानो भइन्छ । त्यो एक्लोपन र एकाङ्कीपना भविष्यकी लेखकका लागि सही थियो । जसले मलाई सोच्न, कल्पना गर्न र पढ्न रोकेन ।
मेरो बाका लागि एक्ली छोरी हुनु भनेको कसैकी श्रीमती भएर अरुको घर खाने जात थियो । उहाँ त्यसैमा विश्वास गर्नुहुन्थ्यो । जब म ५ कक्षामा पुगेँ, मैले उहाँलाई मेरो कलेज जाने योजना सुनाएँ । मलाई लाग्यो, उहाँले बुझ्नुभयो । सम्झन्छु, उहाँले भन्नुभएको, “धेरै राम्रो” त्यो मेरालागि धेरै ठूलो कुरा थियो किनभने मेरा दाजुहरुलाई त्यो योजना बकमफुसे लाग्थ्यो । तर त्यो समय मलाई के थाहा थिएन भने उहाँले कलेज जानु केटीहरुका लागि राम्रो हो भन्नु भनेको केटा खोज्न सजिलो हुन्छ भन्ने सोच्नु भएको रहेछ । चार वर्ष कलेज र दुई वर्ष विश्वविद्यालयमा बिताएपछि पनि म अविवाहित भएपछि मेरा बाले शिर निहुराउँदै मैले उहाँको लगानी सबै खेर फालेँ भन्नुभयो ।
आज आएर बिगतलाई हेर्दा लाग्छ, म भाज्ञमानी रहेछु,। मेरा बाले छोरीहरु अर्काको घरमा जाने जात हो भन्ने बुझ्नुभयो । यसको मतलब, मैले अंग्रेजीजस्तो हाँसउठ्दो विषयमा उच्च शिक्षा हासिल गर्नुले केही महत्त्व राख्दैन । अन्ततोगत्वा, मैले राम्रो जागीरे भेट्नुपर्छ, होइन र ? यसले मलाई मेरा छोटा कविता र कथाहरुलाई बुन्ने स्वतन्त्रता बिना कुनै अवरोध दियो ।
तर सत्य के हो भने, म उहाँको अवरोध चाहन्थेँ । मलाई लाग्थ्यो, मेरा बाले मेरो परिचय मेरी एक्ली छोरी, लेखक भनेर दिनुहोस् । मेरी एक्ली छोरी भनेर मात्र होइन । “उ पढाउँछे र शिक्षक पनि हो, प्राध्यापक हो,” म चाहन्थेँ, उहाँको मुखबाट यी शब्दहरु निस्किऊन् ।

निर्जला अधिकारी
एक प्रकारले भन्दा मैले जे लेखेँ उहाँकै लागि लेखेँ । उहाँको स्वीकृति पाउन लेखेँ । मलाई थाहा छ, मेरा बाले अंग्रेजी पढ्न सक्नुहुन्न । मेरा बाको अध्ययनमा केही मेक्सिकन पत्रिका र खबरपत्रिका पर्छन् साथै फोटो भएका केही लघुउपन्यास पर्छन्, जसमा पात्रका मुखबाट वियोग र त्रास निस्कन्छन् ।
मेरा बा ती अधिकांश मानिसका प्रतिनिधि हुनुहुन्थ्यो, जसलाई पढ्न रुचि हुँदैन । र, पनि म उहाँकै लागि लेखिरहेछु, केही व्यक्तिगत सुखका लागि ।
सिकागोमा हुर्कंदै गर्दा बाका कारणले हामी धेरै घुम्यौँ । मेक्सिकोको यादमा उहाँ बिरामी पर्नुभयो । मेक्सिको जान हामीले सिकागोको त्यो फ्ल्याट छोड्नुपर्यो । सबै फर्निचर र भाडाकुँडा आमाका इस्टमित्रकोमा छोड्यौँ ।
हामी फेरि फर्कियौँ । सिकागोको अर्को फ्ल्याटमा सर्यौँ । फेरि अर्को छिमेकी, अर्को क्याथोलिक स्कुल । हरेक पटक मेरा बाले अर्को क्रिस्चियन पण्डितलाई भेट्नुहुन्थ्यो, स्कुले शुल्कको छूटका लागि र सदाझैँ मेरा सात जना छोराहरु छन् भनेर कराउनुहुन्थ्यो ।
उहाँको मतलब सात वटा केटाकेटी भन्ने हुन्थ्यो तर उहाँले त्यसलाई सात जना छोरा भन्नुहुन्थ्यो र सबैलाई सुनाउनुहुन्थ्यो, जसले उहाँलाई सुन्छन् । हामीलाई लुगाधुने मेसिन बेच्ने कर्मचारीलाई, अण्डा र रोटी बेच्नेलाई, जसकोमा बा बिहानको नास्ता गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– मेरा सात जना छोरा छन् । यसरी भन्नुहुन्थ्यो लाग्थ्यो त्यही कारण अमेरिकी सरकारले उहाँलाई पदक दिनुपर्छ ।
म ढुक्क छु– मेरा बाले त्यो गलत अनुवाद गरेर अरु केही भन्नुभएको थिएन । तर किनकिन त्यस बखत मलाई आफू मेटिएको महसुस हुन्थ्यो । म उहाँको बाहुला तान्दै भन्थें, “ सात छोरा होइन बा, छ छोरा एक छोरी ।”
जब ठूलो दाइले मेडिकल स्कुलको डिग्री लिनुभयो, उहाँले मेरा बाको सपना पूरा गर्नुभयो किनभने हामीले मिहिनेत गरेर पढ्यौँ– हातको सट्टा दिमाग चलायौं । अहिले पनि मेरा बाका हात मोटा र पहेँला छन्, काँटी र हतौडाको इतिहासले थिचिएका । “यो प्रयोग गर” आफ्नो हात टाउकोमा राख्दै बाले भन्नुहुन्थ्यो अनि उहाँले आफ्नो हात देखाउँदै भन्नुहुन्थ्यो, “यो होइन ।” यसो भन्दैगर्दा उहाँ सधैँ थाकेको देखिनुहुन्थ्यो ।
के कलेज एक प्रकारको लगानी थिएन ? के मैले यत्तिका वर्ष कलेजमै बिताइनँ ? तर मैले बिहे गरिनँ, त्यो सबै बिहेकै लागि थिएन ? किन कोही कलेज पुगेर पनि गरिब बन्न चाहन्छ ? विशेषतः त्यो जो सधैँ गरिब नै थियो !
दस वर्ष व्यावसायिक रुपमा लेखेपछि, गत वर्षबाट आर्थिक इनाम पनि मेरो पछि लाग्न थाल्यो । मेरो दोस्रो संलग्नता सुरुभयो कलासम्बन्धी फेलोसिपमा । साथै, अतिथि प्राध्यापन क्यालिफोर्निया र बु्रकलिन विश्वविद्यालयमा । मेरा किताब न्यूओर्क प्रकाशन गृहमा अनुबन्धित पनि भए ।
एक क्रिसमसको दिन म घर गएँ । घर सदाझैँ पुरै मग्मगिएको थियो आमाले प्रेसर कुकरमा पकाउनुभएको परिकारले अनि सबैजना – आमा, छ दाजुभाई, उनीहरुका श्रीमती र केटाकेटी र अरु आफन्तहरु ठूलो स्वरमा बोलिरहेका थिए । कुनै मेक्सिकाली फिल्ममा देखाइएजस्तो दृश्य थियो त्यो किनभने त्यो हामी हुनुको अस्तित्व थियो ।
म बाको कोठामा माथि गएँ । मेरो एउटा कथा भर्खरै स्पेनी भाषामा प्रकाशित भएको थियो । यो एउटा कथा संग्रह थियो र म त्यो पुस्तक उहाँलाई देखाउन चाहन्थेँ । जब बा हृदयघातबाट गुज्रनुभयो, त्यसयता उहाँ खाली समयमा उत्तानो परेर ओछ्यानमा पल्टिरहनुहुन्थ्यो । म उहाँको कोठामा पुग्दा खिर खाँदै फिल्म हेरिरहेको देखेँ ।
ओछ्यान नजिकैको टेबलमा एक गिलास दुध थियो । साथै औषधीका केही गोलीहरु पनि थिए । भुइँमा कालो मोजा र पिसाबको प्लास्टिक थियो, जो म हेर्न चाहन्नथेँ । फिल्ममा गीत घन्किरहेको थियो बा हाँस्दै हुनुहुन्थ्यो ।
मलाई थाहा छैन, मेरो कथा स्पेनीमा अनुदित भएर हो वा मेक्सिकोबाट प्रकाशित भएर, खोई किन हो कुन्नी बाले रिमोटले आवाज कम गर्नुभयो र कथा पढ्न थाल्नुभयो ।
उहाँ नजिकैको अर्को पलङ्मा म बसेँ । उहाँले बिस्तारै पढ्नुभयो । लाग्थ्यो, उहाँ प्रत्येक शब्द शब्द पढ्दै हुनुहुन्छ । प्रत्येक हाँस्नुपर्ने ठाउँमा उहाँ हाँस्नुभयो र मन परेका वाक्यहरू स–स्वर वाचन गर्नुभयो साथै उहाँ प्रश्न गर्नुहुन्थ्यो – किन यहाँ यस्तो ? म उहाँलाई त्यसका बारेमा बताइदिन्थेँ ।
जब पढेर सिध्याउनुभयो, केही घण्टापछि भन्नुभयो, “अरु केही थान पुस्तक आफन्तको लागि कहाँ पाइन्छ ?”
यी सबै अद्भूत चीजहरू गत वर्ष मेरो जीवनमा भए र अन्तिमवाला बुवाको प्रसङ्ग चाहिँ अझ विशेष थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










