थाहा छैन वसन्त बस्नेतले आफ्नो पुस्तक “महाभारा” को आवरण पृष्ठमै किन पुस्तकलाई प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको कथा भने । मलाई लाग्छ लेखकले आफ्नो कामको समीक्षा आफैँबाट सुरु गरे जुन पाठकको हिसाबले हामीलाई विषयप्रवेशमा सजिलो बनायो तर कता-कता लाग्यो नभनिदिएको भए पठन यात्रा अझ सुन्दर बन्ने थियो ।

उनले भनेझै यो पूर्वी पहाडको द्वन्द्वकालीन समयमा हुर्किएको डुक्पाको कथा हो । मजस्तो पश्चिम पहाडमा हुर्केका पाठकलाई नाम र भाषाशैली दुवैले तान्छ । मेरा लागि यो कहिल्यै नपुगेको पहाडको यात्रा हो । समग्रमा भन्दा यो पूर्वी पहाडको एक आधुनिक नायकको कथा हो र समग्र पुस्तक उसले गरेको केही बाध्यात्मक तर मनमौजी यात्रा नै हो । क्यानभाषमा राजनीति र धर्म दुवै भए पनि यो आधुनिक नायकको एक मनमौजी जीवनयात्रा हो ।

डुक्पा एक आधुनिक नायक हो । किन ? उत्तर सजिलो छ, उसको यात्रा नायकको मूल विशेषता र यसका केही अवधारणाबारे बोल्ने लेखकहरू जोसेफ क्याम्बेल र फिस्वेकको भाषामा भन्दा एक सामान्य मानिसले आफ्नै अस्तित्वको खोजीमा गरेको मनमौजी यात्रा हो । यो अवचेतनाबाट चेतनाको खोजीमा गरिएको नायकको साहसिक जीवनयात्रा हो । आधुनिक नायकको परिकल्पना सायद डुक्पाकै परिकल्पना हो, ऊ सामान्य देखिन्छ तर यात्रा सामान्य लाग्दैन । उसको यात्राको प्रारम्भ, उपलब्धि र बहिर्गमन पुस्तक पढिसकेपछि सजिलै अनुमान गर्न सकिन्छ । त्यसलै ऊ फिस्वेकले भनेझै आधुनिक नायक हो ।

निर्जला अधिकारी

डुक्पालाई प्रेमीका रूपमा वसन्तले दिएको धरातल बलियो देखिँदैन । उसको सुक्मतीप्रतिको लगावलाई किन वसन्तले प्रेम नै मानेर ठुल्ठुला शब्द खर्च गरे पाठकका रूपमा हामीलाई अनौठो लाग्न सक्छ । एकदिन मेलामा भेटेर हासठट्टा गरेकै भरमा उनीहरूको सम्बन्धलाई त्यो मोडसम्म पुऱ्याउँदा वसन्त नराम्ररी चुकेका छन् । आकर्षणदेखि प्रेमसम्मको यात्रा त्यति सजिलो हुँदैन भन्ने कुरा मजस्ता धेरै पाठकलाई लाग्न सक्छ । एकछिन हासठट्टा गरेकै भरमा प्रेम र यौनको त्यो चरण उनीहरूले पार गरेको देख्दा यदाकदा डुक्पा र सुक्मती मूलधारको नेपाली चलचित्रका नायकनायिकाजस्तो पनि लाग्छन् । सुक्मती र डुक्पाको प्रेमलाई परिभाषित गर्दै त्यो मोडसम्म पुऱ्याउँदा लेखकको प्रयास आलोकाँचो लाग्छ । उपन्यासमा द्वन्द्वकालीन प्रेमलाई परिभाषित गर्न खोजे पनि सम्बन्धका ससाना पहेलीलाई केलाउन लेखक पछि परेका छन् ।

डुक्पा र सुक्मतीको सम्बन्धभन्दा लेखक सुक्मती र तान्छोहाङको सम्बन्धचित्रणमा बढी सफल भएका छन् । उनीहरूको सम्बन्ध प्रेमिल र यर्थाथ लाग्छ । प्रेमीका रूपमा तान्छोहाङको उपस्थिति काँचो लाग्दैन । उनीहरूले पार गरेका प्रेम र सम्बन्धका चरणहरूमा अर्गानिक रूपान्तरण भेटिन्छ जुन सुक्मती र डुक्पाको सम्बन्धमा भेटिँदैन । उपन्यासमा तान्छोहाङको उपस्थितिले प्राप्तिविनाको आत्मिक प्रेमसँग पाठकलाई परिचित गराउँछ । प्रेमी होइन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू प्रेमीजस्ता लाग्छन् । अन्ततः डुक्पा र सुक्मतीको प्रेमको जबरजस्ती सुखद अन्त्य अनौठो र अविश्वासिलो बन्न पुग्छ ।

समयक्रमको हिसाबले, यो ५८ बाट करिब ६१ सम्मको कथा हो । कथाको केन्द्र जनयुद्ध नै हो । त्यसको व्याख्यामा लेखकले धेरै पाना खर्चेका छन् । कतिपय प्रसङ्गमा लेखकको गैरआख्यान र पत्रकारिताको पृष्ठभूमि अलि बढी नै छचल्किन्छ । त्यसका रमाइला र दिक्क लाग्ने दुवै पाटा छन् । द्वन्द्वको चित्रण गर्दा जति सटीक र स्वतन्त्र बन्नुपर्ने हो त्यो बन्न सकेका छैनन् । मेरिना, कटक, राजेन्द्र, सिम्साम्बा सबै सेना र प्रहरीबाट पीडित छन् र धेरै मृत भेटिन्छ तर माओवादीको हातबाट गरिएका हत्या र आतङ्कको फेहरीस्ता उपन्यासमा एकदमै कम छन् । सुक्मतीको परिवार, सरकारी कर्मचारी र स्कुलका हेडसरबाहेक त्यो पनि प्रहरी र सेनाको तुलनामा निकै गौण लाग्छ ।

अब कुरा गरौँ भाषाको, उपन्यासको सबल पक्ष यसको भाषाशैली नै हो । पूवी पहाडी लबजलाई लेखकले टपक्क टिपेर उपन्यासमा बुनेका छन् । यिनै लबजहरूले गर्दा पात्रहरू रमाइला लाग्छन् । पालम जस्तै मिठो सुनिने उनीहरूको नेपालीमा माटाको सुगन्ध भेटिन्छ । गुरुङे नेपाली लबजसँग मात्र परिचित मजस्ता पाठकहरूलाई उनीहरूको संवाद पक्कै सरसपूर्ण लाग्छ । “जेसुकै भनुङ ना हो”, “मेरो ‘इस्क’ परिगो” , “ के स्सारो बिनाबित्थामा रिस्सिएको” यी यस्तै वाक्यांशले उपन्यासलाई अझ स्वादिलो बनाउँछ । कतिपय ठाउँमा जानाजान वा अन्जानमा लेखक भाषामा पनि चुकेका छन् । पेज न. ३६८ मा प्रयोग भएको “ब्रो” शब्दले भने त्यो समयलाई प्रतिनिधित्व गर्छ जस्तो पाठकका रूपमा हामीलाई लाग्दैन ।

कथाको मूल पात्र डुक्पा नै हो भलै उपन्याममा पात्रहरूको उपस्थिति प्रशस्त छ तर उपन्यासको यात्रा मूलतः डुक्पाको जीवनयात्रा हो । ऊ पढाइ छोड्छ, ड्राइभर बन्छ, जनयुद्धमा भाग लिन्छ अन्त्यमा जहाँबाट केही बन्न निस्केको थियो त्यही फर्कन्छ तर फर्किसकेपछि डुक्पा डुक्पा मात्र रहँदैन ऊसँगै बाँच्छन् डेनी र थेवाका केही अंशहरू ।

उसको यात्रा एउटा मनमौजी यात्रा हो । साँच्चै भन्दा ऊ आफ्नै मर्जीको मालिक हो । बाध्यतामा बुझेको माओवादले उसलाई अडाएर राख्न सक्दैन । ऊ केही हो त आफ्नै खोजीको यात्रामा निस्केको एक मनमौजी आधुनिक यायावर हो । न ऊ सिद्धान्तमा कटिबद्ध छ न विचारमा । उसको समग्र उपस्थिति नै तरल छ । उसले गरेको प्रेममा पनि त्यो अल्लारेपन र तरलता भेटिन्छ । उपन्यासमा प्रेमकै नाम दिए पनि पाठकका रूपमा डुक्पा र सुक्मतीको सम्बन्ध आकर्षण र लगावजस्तो मात्र लाग्छ ।

उसको यात्रा अल्लारे देखिए पनि ऊ आधुनिक समाजको नायक बिम्ब हो । ऊ सामान्य देखिन्छ र लाग्छ त्यो नै उसको खासियत हो । ऊ राजनीतिक क्यानभासमा कोरिएको सामान्य रेखाङ्कन हो । ऊ माओवादको कुरा त गर्छ तर त्यो आफैँमा ठिक हो वा होइन बुझ्ने सामर्थ राख्दैन । ऊ माओवादसँग दूर र नजिक दुवै हुन सक्छ । उसमा वैचारिक कटिबद्धता भेटिँदैन । साँच्चै भन्दा ऊ एक आधुनिक होलोम्यान हो । उसको बिम्ब त्यो समयको रिक्त नायक बिम्ब हो । यसरी राजनीतिक उतारचढावमा हुर्किएको आधुनिक नायकको बिम्बलाई किताबले सजिलै र सुन्दरताका साथ चित्रण गर्छ ।

किताबको आवरण पृष्ठमा भनेझैँ उसले प्रेमका लागि युद्धलाई त्यागेको भन्ने कुरा किताबमा उसको उपस्थितिले प्रमाणित गर्दैन । उसको यात्रा मनमौजी अल्लारे किशोरको यात्रा हो गहिरो ठम्याइसाथ गरिएको यात्रा होइन । उसले जे गऱ्यो कि त परिस्थतिवश गऱ्यो कि त लहडबाजीमा गऱ्यो । उसको यात्राको सुरुवात र बहिर्गमन दुवै आफ्नै खोजीमा गरिएको राजनीतिक र सामाजिक पुष्ठभूमिको परिघटना हो ।

आवरण पुष्ठमा भनेझैँ यो प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको भन्दा पनि त्यसको पृष्ठभूमिमा बुनिएको एक आधुनिक नायकको साहसिक तर मनमौजी जीवनयात्रा हो । आधुनिक नायक भन्नाले अलौकिक शक्ति र क्षमताविहीन मानव-कमजोरी सहितको नायक हो । डुक्पा त्यस्तै केही हो ।

उपन्यासमा ऊ राजनीतिक उतारचढावमा हुर्किएको एक मनमौजी गाउँले पात्र हो । जो परिवर्तन त चाहन्छ तर कस्तो त्यसबारे ऊ स्पष्ट छैन । ऊ वैचारिक कठोरता रमेको राजनीतिक पात्रभन्दा पनि असामान्य यात्रालाई सामान्य ठानेर फर्किएको एक सामान्य मानिस हो । ऊ कमजोरी सहितको नायक हो त्यसैले ऊ आधुनिक नायकको एक प्रतीकात्मक चित्रण पनि हो र सम्पूर्ण किताब राजनीतिक क्यानभासमा कोरिएको एक सामान्य व्यक्तिचित्र हो ।

लेखनमा पूर्णता र कमजोरीविहीनता खोज्नु आफैँमा अर्को कमजोरी हो । यो आलेखलाई मेरो आफ्नै कमजोरीका रूपमा पनि लिन सक्नुहुन्छ । कमजोरीका बाबजुद महाभारामा लेखकले गरेको प्रयास तारिफयोग्य छ । द्वन्द्व आफैँमा अकल्पनीय र कठोर मानव परिस्थिति हो । त्यसलाई आख्यानमा प्रस्तुत गर्न सजिलो पक्कै थिएन । कठिनाइका बाबजुद वसन्तले जसरी तेसो व्यक्तिगत सर्वनाम प्रयोग गरेर विषम समयको कथालाई हास्यरसका साथ प्रस्तुत गरेका छन् त्यसले उनको आख्यानको यात्रालाई अझ बलियो बनाएको छ । त्यही हास्यरसले डुक्पाको कथालाई द्वन्द्वको समयमा हुर्किएको सामान्य मानिसको कथा बनाएको छ र डुक्पालाई आफ्नै लयमा हिँड्ने एक मनमौजी नायक ।