समग्रता

निर्जला अधिकारी
जम्नु…
पग्लनु…
फेरि बग्नु…
यथार्थको रसायनबाट म भागिरहन सक्दिनँ
कथाझैँ…
कविताझैँ…
चित्रझैँ…
सायद जीवनका एक्ला एक्ला आयामहरुझैँ
म पत्रपत्र जिउँदैछु ।
मूल्याङ्कनको समुच्च आधारशिविरमा
म नभेट्टिन सक्छु
भेट्टिए पनि एक्लिन सक्छु
तिमीले मलाई बेवास्ता गर्न सक्छौ
नबोल्न सक्छौ
आरोपहरु लगाउन सक्छौ
कमजोरीहरु औँल्याउन सक्छौ
म नियम र बन्धनहरुमा रमाउन्न
मलाई थाहा छ
समग्रताको जादुवी रङहरुभन्दा म थोरै पर छु
धेरै पर…
त्यसैले जम्छु, पग्लन्छु अनि फेरि बग्छु ।
मौन सिम्फोनी
जीवनको रङ यति फिका फिका…
लाग्छ कहिलेकाहीँ
लाग्छ भरिदिऊँ तिम्रो रङ
भरिदिऊँ मेरो रङ…
थाहा छ
बुझ्न गाह्रो छ
बुझाउन अझै गाह्रो
सायद मैले गल्ती गरेँ !
तिम्रा मौन प्रश्नहरुको जवाफ
मौनतामै दिएँ !
सबै मौनता प्रिय हुँदा रहेनछ्न्…
जस्तो कि सबै मौन रातहरु
माफ गर !
समयले सबैलाई पर्खंदो रहेनछ
आज तिम्रा मौन गीतहरुमा
फेरि मैले मौन सिम्फोनीहरु भरिदिएकी छु ।
… … … …
ढुङ्गा अनि बतास
आउँछु नभनी आयौ
जान्छु नभनी गयौ
सायद म ढुङ्गा बनें
सायद तिमी बतास बन्यौ
ढुङ्गा अनि बतास
त्यो इतिहासको भद्दा मजाक थियो
… … … …
महफिल
कोरिएका बेमेल रेखाहरुझैँ
यत्रतत्र छरियौँ हामी
जब रङको कोलाज
बिनाअर्थ पोखिन्छ क्यानभासमा
जीवन जीवन नभएर
कविता बन्दोरहेछ
तिमी एक कविता
म एक कविता
सायद दृष्टिकोणको आफ्नै महफिलमा हराएका
दुई कविका दुई कविता बन्यौं हामी
तिमै तिम्रै महफिलको राजा बन्नु
म मेरै महफिलकी रानी बन्नेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 









