अरबी, पर्सियाली, उर्दु र हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको गजल कविताकै एक उपविधा हो । गजल कविता र गीतभन्दा फरक हुन्छ । यसका आफ्नै नियमहरू छन् । तत्त्वहरू हुन्छन् । शेर, काफिया, रद्दिफ, मत्ला, मक्ता, तखल्लुस आदि । प्रत्येक दुई लाइनको एक शेर हुन्छ । जसमा रहस्यको उठान पहिलो पंक्तिले र त्यसको घतलाग्दो उद्घाटन चाहिं दोस्रो पंक्तिले गर्दछ । थोरैमा गहन अभिव्यक्ति गर्न सकिने भएकाले गजल धेरैबाट मन पराइएको विधाको रूपमा स्थापित भएको छ । यसका पाठक श्रोताहरू दिनप्रतिदिन बढ्दै गएका छन् ।

गजललाई खासगरी छन्द वा बहरमा लेख्ने गरिन्छ । तर, गाउन मिल्ने वा बहरमा लेख्ने गरिन्छ । तर, गाउन मिल्ने र स्वतन्त्र प्रकृतिका गजलहरू पनि लेखिंदै आइएको छ । साहित्यकारहरूका बीच बहर र गैरबहरका बीच निरन्तर बहस भइरहेको छ । कतिपयले त गैरबहरका गजललाई ‘चारू’ भनी नामाकरण समेत गरेका छन् । जेजस्तो तर्क गरिए पनि गजल गजल नै हो । बहर मात्र मिलाएर गजल हुँदैन । त्यसले पाठक श्रोताको दिल÷दिमाग छुनु पर्दछ । यो मेरो निजी तर्कसँग धेरैको असहमति पनि हुन सक्दछ । तर, गजलकार स्वीकृति बरालको तर्क भने यही विचारसँग मिल्दोजुल्दो छ ।

गजलकार स्वीकृति बराल गजलका सन्दर्भमा यस्तो भन्नुहुन्छ, “बहरमा भावपूर्ण गजल लेख्नु चानचुने कुरा हुँदै होइन तर, छन्द मात्र मिलाएर भावरहित गजल लेख्नुभन्दा अक्षर संख्या मिलाएर भावपूर्ण गजल लेख्नु पनि राम्रो कुरा हो । गजल वाचन गर्दै जाँदा सुन्नेको मुखबाट स्वतः स्फूर्त रूपमा ‘वाह!’ आउँछ भने त्यो गजल आफैमा उत्कृष्ट गजल हो ।”

सानैदेखि साहित्यिक एवम् साङ्गीतिक माहौलमा हुर्किनुभएकी स्वीकृति बराल गजलकार डा. कृष्णहरि बरालकी सुपुत्री हुनुहुन्छ भने सङ्गीतकार गैरे शुरेशकी धर्मपत्नी पनि । यही कारणले पनि हुनसक्छ, उहाँमा साहित्य र सङ्गीत प्रतिको गहिरो प्रभाव परेको, अभिरुचि मौलाउँदै गएको । त्यसैले समयसँगै उहाँको यो अभिरुचि क्रमशः शिल्पमा परिणत भएको छ । उहाँ, गायक, सङ्गीतकार हुँदै गजलकारको रूपमा दर्ज हुन सफल हुनुभएको छ ।

यात्रा’ बरालको पहिलो गजलसंग्रह हो । शमी साहित्य प्रतिष्ठान, अनामनगर प्रकाशक रहेको यस गजलसंग्रहमा ८० वटा गजल रहेका छन् । गजलबाहेक प्रकाशकको मन्तव्य, डा. नेत्र एटमको भूमिका र गजलकारको आफ्नै भनाइ पनि समावेश गरिएको छ । पेशाले अधिवक्ता रहनुभएकी स्वीकृति बरालको साहित्य र सङ्गीतप्रति गजबको लगाव रहेको छ । उहाँले सुन्दर निबन्ध, लेख, कविता, गीत र गजलहरू सिर्जना गर्नुभएको छ । यति मात्र होइन उहाँसँग गायन र सङ्गीत भर्ने कला पनि रहेको छ ।

गजलकार स्वीकृति बरालले अंग्रेजी साहित्यमा स्नातकोत्तर र कानून विषयमा एल.एल.बी. समेत अध्ययन गर्नुभएको छ । ‘यात्रा’ गजलसंग्रहका कतिपय गजलहरू रेकर्ड पनि भइसकेका छन् । गजलहरूमा माधुर्यता रहनु उहाँको लेखन प्रवृत्ति जस्तै बनेको छ । संग्रहका गजलहरूले प्रायजसो प्रेम र जीवनसँग सम्बन्धित विषयवस्तुहरूले स्थान पाएका छन् । केही गजलहरूमा सम्बन्ध, मानवीय प्रवृत्ति र दर्शनका विषयहरू पनि उठान गरिएको छ । गजलहरूमा प्रायः शीर्षक राख्ने चलन छैन । तर, स्वीकृतिका सबै गजलहरूमा शीर्षक राखिएको छ ।

‘एकै नजरमा’ शीर्षकको गजलमा मायालुले एकै नजरमा गहिरो प्रभाव पारेको प्रेमिल भाव प्रस्तुत गरिएको छ । ‘यसैले बाँचेकी हुँ’ शीर्षकको गजल प्रेमीको सम्झनामा बाँचिरहेको कुरा अभिव्यक्त गरिएको छ । ‘मुखले बोल न’ शीर्षकको गजलमा मनको कुरा भन्न नसकेको र त्यसलाई व्यक्त गर्न पत्र लेख्ने सोच बनाएकोमा लेखिएको पत्रमा पनि चित्त नबुझेको र पत्र सच्याउँदै अलमलमै बसेको कुराहरू मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

मुखले बोल्न सकिएन, पत्रले क्यै गर्छ कि त

लेखेपछि पुनः हेर्छु सच्याउनुपर्छ कि त”  (मुखले बोल्न, पृष्ठ १५)

किताब खोली’ शीर्षकको गजलमा प्रेमीको सम्झनाले यतिसम्म सताएको छ कि किताब खोल्दा पनि उनकै याद आएको छ भन्ने भाव व्यक्त गरिएको छ । प्रेममा खुसी, दुःखी, मिलन, बिछोड, धोखा आदिका प्रसङ्गहरू पनि छन् गजलहरूमा ।

यसै मेलोमा ‘म पूर्ण छैन’, ‘ढुकढुकी बढ्छ मेरो’, ‘तिमी भन्छौ’, ‘स्वीकृति पाए’, ‘सास फेरीफेरी’, ‘घुम्टो उठायो र हे¥यो’, ‘उसको मुटु’, ‘चलायौ के जादु’, ‘मायाले दियो धोखा’ र ‘हावा नि छैन भन्छौ’ शीर्षकका गजलहरू छन् । यस्तै भवका गजलहरूमा ‘गारो छ माया’, ‘तिमी बन्यौ कृष्ण’, ‘तमासा मायामा’, ‘नभेटेको शताब्दी पो’, ‘विश्वास लाग्नु माया हो’, ‘उसले भन्यो’, ‘म नाम तिम्रो लेख्छु’, ‘तिम्रो माया चरम लाग्छ’, ‘एउटालाई दुख्दा’, ‘ऊ नि दङ्ग, म नि दङ्ग’, ‘जब मन परायौ तिमीले’, ‘मीठो कल आयो’, ‘तिमी एक्लैएक्लै’, ‘नसोध्नु मलाई’ र ‘नयाँ छ जोश जाँगर’ पर्दछन् ।

कैले कस्तो कैले कस्तो’ शीर्षकको गजलमा गजकारको जीवन प्रतिको दृष्टिकोण प्रस्तुत भएको छ । हामीले जूनलाई पूर्ण नदेखेको दिन पनि जून पूर्ण नै हुन्छ किनकि त्यो छेकिएर पूर्ण नदेखिएको हो । त्यसैले हाम्रो दृष्टिले ज्ञानसँग सहकार्य गर्नसक्यो भने मात्र जीवन बुझ्न सकिन्छ । ‘जिन्दगी’ शीर्षकको गजलमा पनि जीवन प्रतिको यस्तै दृष्टिकोण प्रस्तुत भएको छ । आफूले सोचे जस्तो नहुँदा जीवन अर्थहीन देखिने कुरा पनि प्रस्तुत भएको छ (बेकारको जीवन) । जीवन बुझ्न मृत्यु पनि बुझ्नु जरूरी हुन्छ भन्ने कुरा सरल तर, अति मीठा शेरहरू मार्फत् प्रस्तुत गर्नुभएको छ । हेरौं उहाँका शेरहरू,

कैले कस्तो कैले कस्तो देखिएको मात्र न हो

जून सधैं पूर्ण हुन्छ, छेकिएको मात्र न हो

छुट्नु नै हो शाश्वत सत्य एक दिन सबले छुट्नै पर्छ

यो यात्रामा एकै छिनलाई भेटिएको मात्र न हो ”  (मुखले बोल्न, पृष्ठ १५)

जीवनलाई सहज बनाउन गजलकारको आफ्नै शैली छ । उहाँ धनले मानिसलाई सुखी बनाउन सक्दैन सुख त सन्तोषले बनाउने हो भन्ने तर्क गर्नुहुन्छ (जिन्दगी भन्नु) । मान्छेलाई जति भए पनि नपुग्ने र धनकै पछि पर्दा अन्तिममा जीवन सकिने कुरा गजलमा प्रस्तुत गर्नु भएको छ (दुई मुटु) । त्यसैले स्वार्थी मानिसको प्रवृत्तिलाई ‘मान्छे निर्माण गर्दाखेरि’ गजलमा उतार्नुभएको छ । ‘के मजा छ जिन्दगीमा’ र ‘सिक्दै जाने हो’ शीर्षकको गजलमा जिन्दगीलाई सुखी बनाउने उपायको चर्चा गरिएको छ । गजलकार फूलको रक्षा गर्ने काँडाको महत्त्व बुझ्न आह्वान गर्नुहुन्छ (काँडाले भन्यो) । आम मान्छेभन्दा फरक दृष्टिकोण छ उहाँको । मानिसले हिलोमा फुल्ने कमलको प्रशंसा गर्दछन् । तर, उहाँ भने कमल फुलाउने हिलोलाई महत्वको मान्नुहुन्छ (को भन्छ) । गुलामी गरेर स्वाभिमान बचाउन नसकिने उहाँको तर्क छ (कहिले सोच्छु) ।

हरेक मानिसका आफ्ना आफ्ना जीवन भोगाइ हुन्छन् । यही कारणले गर्दा जिन्दगीको परिभाषा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छन् । ‘जसरी पनि’ र ‘जिन्दगानी देखेर’ शीर्षकका गजलहरूमा यस्तै विचार प्रस्तुत गरिएको छ । ‘पाना कति छ’ शीर्षकको गजलमा जीवनलाई सरल बनाउने तरिका प्रस्तुत छ ।

स्वीकृति बरालका गजलहरूमा प्रेम बाहेक पनि गहकिला अभिव्यक्तिहरू छन् । असल कर्मले मानिसलाई महान् बनाउने र देश निर्माणका निम्ति आपसमा मिल्नुपर्ने उहाँको कथन छ (मान्छे खलनायक हैन) । समस्यामा पनि मुस्कुराउनेहरूको कथालाई प्रेरणाको रूपमा लिनुपर्ने उहाँको जिकिर छ (पछाडि फर्कूं) । समाजमा आशावादी मात्र होइन, निराशावादी मानिसहरू पनि देख्नुहुन्छ गजलकार । ‘के–के सोच्छ’ शीर्षकको गजलमा उहाँले यस्तै निराशावादी मानिसको चरित्र प्रस्तुत गर्नु भएको छ ।

स्वीकृति जिन्दगीलाई रहस्यमय देख्नुहुन्छ (जिन्दगीको रहस्य) । गजब गजबका जिन्दगीहरू र तिनका कथाहरू लेख्नुहुन्छ । गीताको कसम खानेहरू नै हत्यारा भएको हुँदा सत्यको महत्त्व हराउँदै गएको र धर्मका नाममा सत्य छोपिंदै गएको उहाँको तर्क छ । गजलमा उहाँ लेख्नुहुन्छ,

 “जो मारियो, मार्ने कै सामु नै उसको चिता छ

पापी भन्न मिल्छ कि नाइँ, उसको हातमा गीता छ ।”  (उसको हातमा गीता छ, पृष्ठ २७)

स्वीकृतिका गजलहरू सतही भावका मात्रै छैनन् । केही गजलमा गहिरो अभिव्यक्ति पनि छ । ‘एउटै तरिका हुन्छ’, ‘मृत्युको खबर’ र ‘जरूरी छैन’ शीर्षकका गजलमा उहाँले यस्तै गहिरो अभिव्यक्ति प्रस्तुत गर्नुभएको छ ।

आँखाको केही भन्ने एउटै तरिका हुन्छ

खुशी हुँदा नि रुन्छ, दुःखी हुँदा नि रुन्छ”  (उसको हातमा गीता छ, पृष्ठ ३४)

मृत्युको खबर सुन्दा लाग्छ, एकदिन मेरो नि पालो आउँछ

समय मात्र थाहा छैन, ढिलो आउँछ कि चाँडो आउँछ”  (मृत्युको खबर, पृष्ठ ७७)

रित्तिने अनेक तरिका हुन्छन्, उम्लेर पो

रित्तिने भाँडो चुहिनु पर्छ भन्ने जरुरी छैन ”  (जरुरी छैन, पृष्ठ ८२

स्वीकृति एक असल नारी हुनुहुन्छ । नारी गजलकार भएकाले आमा हुनुको मीठो खुशी र दायित्व दुवैको अनुभव र आत्मबोध छ उहाँमा । ‘आमा’, ‘तिम्रो याद आउँछ’, ‘नारी’, ‘असल छ’, ‘नारी हुँ म’ र ‘नियम नै हो मृत्यु’ शीर्षकका गजलहरूमा नारीको महिमा र आमाको गुणगान गाइएको छ ।

गजलकारले भगवानको अस्तित्वलाई स्वीकार गर्नु भएको छ (गजब लाग्छ) । ढुङ्गालाई भगवान् देख्ने मानिसको प्रवृत्तिलाई गजलकार अचम्म मान्नुहुन्छ (बोल्दैन भगवान्) । कुनै ढुङ्गा पुजिने र कुनै फालिने देखेर कुन ढुङ्गामा भगवान् हुने वा नहुने कुरामा अलमल भएको कुरा गजलकारले ‘ऊ कसरी चिनिन्छ’ शीर्षकको गजलमार्फत् प्रस्तुत गर्नु भएको छ । त्यति मात्र होइन, मान्छेको अभद्र र घाती प्रवृत्ति देख्दा भगवान् छन् भने किन यस्ता मान्छे बनाएको भनी प्रश्न गर्नु हुन्छ ‘ए भगवान्’मा । पशुवली दिएर धर्म हुने, ईश्वर खुशी तर मानिस मार्दा पाप हुने कुरामा गजलकारको विश्वास छैन । त्यसैले उहाँ भन्नुहुन्छ,

पशुवली धर्म अरे, मान्छे मारे पाप

साँचा हुन् के यस्ता कुरा पाउँदिन जवाफ”  (पाउँदिन जवाफ, पृष्ठ ४९)

हरेक मानिसको आफ्नै आफ्नै अस्तित्व हुने कुरामा स्वीकृतिको स्वीकारोक्ति छ । त्यसैले आफू अरू जस्तो होइन आफै जस्तो बन्ने मन छ गजलकारलाई (जानीजानी बन्न मन छैन) । असल जीवन बाँचेर जीवन सफल बनाउने चाहना पनि छ (यो मन कस्तो छ) । स्वभावैले साहित्यकारको मन विशाल हुन्छ । गजलकार स्वीकृति बरालको मन पनि विशाल छ, जसमा संसार अटाउन सक्छ । हेरौँ उहाँकै शब्दमा,

यो मन छ कत्रो बताइदिन्छु

यसमा म संसार अटाइदिन्छु” (यो मन छ कत्रो, पृष्ठ ६४)

बच्चालाई बच्चाकै स्वभावमा छोड्नुपर्ने बाल मनोविज्ञान मात्र होइन गजलमार्फत् आफ्नो अस्तित्वको खोज पनि गरिएको छ ।

हेपेर नबोल तिमी ठूलो र म सानो हैन

सहेर बस्नलाई तिमी खुकुरी म अचानो हैन ।”  (हेपेर नबोल, पृष्ठ ७०)

कृतिभित्र केही भिन्न प्रकारका गजलहरू पनि छन् । ‘को भन्छ जूनलाई’ गजलमा जून शृङ्गार नगरे पनि सुन्दर देखिएको हुँदा मानिस पनि सुन्दर हुनका लागि बाहिरी आवरण होइन, मन र मस्तिष्क सिंगार्नुपर्ने तर्क गरिएको छ । ‘

कति छन् कति’ गजलमा अगाडि बढ्न खोज्दा मानिसको खुट्टा तान्ने प्रवृत्ति उल्लेख गरिएको छ । आत्महत्या गर्ने मानिस आफू त मरेर गइहाल्छन् तर, बाँच्ने परिवारलाई भने तनाव हुन्छ भन्ने कुरा ‘हारेर गयो’ गजलले व्यक्त गरेको छ ।

स्वास्थ्य मानिसभन्दा पागल मान्छे असल लाग्ने भन्दै मानिसको प्रवृत्तिलाई व्यङ्ग्य गरिएको गजल हो ‘पागल ठिक जस्तो लाग्छ’ । ‘फर्केर आऊ न’ शीर्षकको गजलमा निर्मला पन्तको हत्या गरिएको विषय उठान गरिएको छ । बाल यौन शोषणमा परेका बालबालिकाहरूको पीडालाई यसमा उठान गरिएको छ ।

गजलहरूमा प्रयोग भएको भाषा शैली सरल छ । गजलहरू बहरमै नलेखिए पनि अक्षर संरचना मिलेका छन् । श्रुतिमधुर छन् ।  केही गजलहरूमा प्रतीक र विम्बहरूको प्रयोग भएको छ । गजलका सामान्य लक्षणहरू प्रयोग गरिएको छ । तखल्लुसको प्रयोग भएको एउटा पनि गजल नपाइनु लेखकीय कमजोरी देखिन्छ । खासगरी विषयवस्तुका दृष्टिले आयाम फराकिलो गर्न पाएको भए संग्रह अझै वजनदार हुन्थ्यो कि ।

‘मान्छे खलनायक हैन’, ‘के के सोच्छ’, ‘बोल्दैन भगवान्’, ‘बच्चालाई बच्चै रहन दिऊँ’ लगायतका केही गजलहरूमा काफिया दोष देखिन्छ ।

आगामी दिनहरूमा गजलकार सचेत हुनु जरूरी छ ।

गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ भन्नुहुन्छ, “जुन शेरले दिल छुँदै छुँदैन, लेखेर त्यस्तो गजल हुँदैन ।”

परिश्रमीको कथन जस्तै ‘यात्रा’ गजलसंग्रह लिएर गजलसंसारमा उदाउनु भएकी स्वीकृति बरालका गजलहरू मन छुने किसिमका छन् । यही नै उहाँको गजलकारिताको विशेषता हो । अधिकांश गजलहरू गाउनयोग्य छन् । यही नै उहाँको सफलता हो । माया प्रेमका साथै जीवनप्रतिको दृष्टिकोण र मानवीय प्रवृत्तिको उजागर समेत गरिएको छ गजलहरूमा । केही गजलहरू गहिरा दर्शन बोकेका पनि छन् ।

समग्रमा गजलकार स्वीकृति बरालको ‘यात्रा’ उहाँको पहिलो गजलसंग्रह भए पनि पठनीय कृति बनेको छ ।