‘समालोचक रूपमा अर्जुन प्रधान’ मूलतः समालोचकका रूपमा परिचित रहेका र उनले लगभग सय जना जति सर्जकको कृतिलाई अध्ययन गरेर समीक्षात्मक लेख लेख्नु चानचुने विषय होइन भन्ने विचारमा बढी रमाएका छन् ।

—-

नेपाली साहित्यको समालोचना विधामा चुर्लम्म डुबेर यस क्षेत्रलाई लेखनभूमि बनाउनुहुने प्राध्यापक श्री नवीन पौड्याल वर्तमान पिँढीका दह्रिला समालोचक हुन् । उनी एक साहित्य अध्येता, समालोचक र सम्पादक पनि हुन् । हालसम्म उनका नेपाली कथा समीक्षा’ (सहलेखन), आख्यान अनुशीलन, ‘साहित्य अनुशीलन, ‘साहित्य सन्धान’, ’कृति सन्धान’र ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’ र ‘चिन्तन समीक्षण’ जस्ता गरिमामय कृतिहरू नेपाली साहित्यलाई अर्पण गरिसकेका छन् ।

भारतीय नेपाली साहित्यमा समालोचनाका नवीनतम मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै प्रस्तुत समालोचनात्मक कृति ‘चिन्तन समीक्षण’ को लेखनकार्य गरिएको पाइन्छ । प्रस्तुत समालोचनात्मक कृतिमा जम्मा १५ वटा विषयमा गहन अध्ययन गरेर ओजस्वी विचार एवं धारणालाई विश्लेषण गर्ने कार्य भएको छ ।

‘चिन्तन समीक्षण’ मा १५ कृतिका सैद्धान्तिक पक्ष, विपक्ष, स्वतन्त्र समीक्षात्मक अध्ययन पद्धति, सैद्धान्तिक अध्ययन परिपाटी आदिका कृतिहरूका गुण-दोष खुट्याएर पौड्यालले स्पष्टसित प्रकाश पारेका छन् । यस दृष्टिले हेर्दा यस कृतिभित्र रहेका प्रत्येक लेखहरू महत्त्वपूर्ण रहेका छन् ।

यस कृतिमा समालोचनाको नयाँ फाँट विस्तारमा ‘अध्ययन आवर्तन- एक चर्चा,’इन्द्रबहादुर छेत्रीको ‘केही कृति केही दृष्टिमाथि मेरो दृष्टि’ माथि समीक्षात्मक अध्ययन गरिएको छ । कथाकार सञ्जय विष्टको ‘चेतनामा सञ्जय विष्टको कथाकारिता’ को चर्चा र कथाकार विष्टले अपनाएका आधुनिकोत्तर साहित्य लेखनमाथि अध्ययन गरिएको छ । आधुनिकोत्तरको शिल्प-शैली जसलाई खासगरी उत्तर आधुनिक लेखन शिल्प भनिन्छ । पोस्ट मोडर्न साहित्यमा लेखिनु भन्नाले दोस्रो विश्व युद्ध पछिको विश्वमा देखिएका औद्योगिक क्रान्ति, विज्ञानको नयाँ नयाँ आविष्कार आदिले जनमानसमा ल्याएको वैचारिक क्रान्तिसितै साहित्य लेखनमा पनि परिवर्तन आयो अनि यस परिवर्तनलाई विद्वानहरूले उत्तरआधुनिक लेखनको संज्ञा दिए । फलस्वरूप दार्जीलिङबाट फूलपात पत्कर पत्रिकाको प्रकाशनसँगै तेस्रो आयामको जन्म भएको थियो । परिष्कारवाद र प्रयोगवादी साहित्यको रचनाहरू सृजना हुन थाले । यसै क्रममा साहित्य लेखनको क्षेत्रमा उत्तर आधुनिक शिल्प शैली लिएर साहित्यमा उदाएका सञ्जय विष्टका कथाकारिताको विशद चर्चा परिचर्चा गरेका छन् ।

यस पुस्तकमा समावेश गरिएको ‘शताब्दी पार गरिसकेको कालेबुङको नेपाली नाटक’ शीर्षक लेख यस पुस्तकमा समावेश धेरै महत्त्वको लेख मान्न सकिन्छ । पारसमणि प्रधानद्वारा लिखित ‘सुन्दर कुमार नाटक’ (सन् १९२० -२०२४) मा आइपुग्दा सय वर्ष पूरा गरिसकेको छ र यस सन्दर्भमा यस सर्वेक्षणात्मक लेखमा पारसमणि प्रधानद्वारा लिखित ‘सुन्दरकुमार’ (सन् १९२०-२०२४ नाटकसहित कालेबुङबाट लिखित मञ्चित, प्रकाशित अप्रकाशित नाटकहरूको पुस्तकमा समावेश, कृष्ण बजगाँइको ‘उमिहोतारूः एक पाठकप्रिय कृति’ शीर्षकमा नियात्राको अर्थ परिभाषा, प्रकार, उद्देश्य र वर्गीकरण आदिका चर्चा गर्दै ‘नियात्रा’ शब्दको प्रथम प्रयोक्ता बालकृष्ण पोखरेल हुन् र यो ‘नियात्रा’ शब्द नेपालीमा मात्र प्रचलित छ भन्ने स्वीकारोक्ति पनि पाइन्छ । यस लेखमा विभिन्न विद्वानहरूका वाणीहरूलाई उद्धृत गर्दै पौड्यालले उक्त लेखलाई प्राण भरिदिएका छन् । यस लेखमा समालोचक पौड्यालले कृष्ण बजगाईँको कुशल नियात्राकारिताको चर्चा गरेका छन् ।

यस पुस्तकमा समाविष्ट, तमिलबाट नेपालीमा अनुदित ‘तिरुक्कुरल’ संस्कृत भाषाको चाणक्यनीतिसरह नीतिमूलक ग्रन्थको अनुवाद सुनिता दाहालले गरेकी अनि अनुवादिका स्वयमले भूमिकामा प्रकाश पारेको विषयलाई उल्लेख गर्दै यस तिरूक्कुरल मूल ग्रन्थबारे आर. चन्द्रशेखर, डा. दिवाकर प्रधान अनि अनुवादिका स्वयमले भूमिकामा प्रकाश पारेको विषयलाई उल्लेख गरिएको पाइन्छ । अझ उल्लेखनीय विषय के रहेको छ भने यस ‘तिरुक्कुरल’ मुक्तक नीतिपरक ग्रन्थ तमिल भाषाबाट सोझै नेपाली भाषामा पद्यानुवाद गरिएकाले धेरै महत्त्वको रहेको विषय पनि उल्लेख्य छ ।

‘भारतीय नेपाली निबन्धको विकास प्रकिया’,  शीर्षक लेखमा पौड्यालको भारतको नेपाली निबन्ध साहित्यमा कालविभाजनबारे भिन्नै किसिमको मत रहेको पाइन्छ । उनी अनुसार प्रारम्भदेखि भारत स्वतन्त्रता हासिल भएसम्मको लेखनलाई प्रथम चरण, पचासको दशकदेखि बीसौं शताब्दीको अन्त्यसम्मको लेखनलाई दोस्रो चरण अनि नयाँ शताब्दीको शुरूदेखि हालसम्मको लेखनलाई तेस्रो चरण ।

यी तीन वर्गीकरणका आधार भने भारतीय परिप्रेक्ष्यमा गोर्खालीको स्थिति राजनैतिक आर्थिक शैक्षिक चेतनाको उदय र आधुनिक निबन्ध विधाअनुरूप लेखनगत धाराप्रवाहलाई लिइएको छ । उनले यसरी भारतीय नेपाली निबन्ध साहित्यलाई विभिन्न प्रवृत्तिगत दृष्टिकोणबाट नियालेर चिन्तन गर्ने कार्य गरेका छन् । यसका साथै यस अध्यायमा निबन्धकार पौड्यालले भारतीय नेपाली निबन्ध साहित्यको सर्वेक्षणात्मक रूपरेखा प्रस्तुत गरेका छन् भन्न सकिन्छ ।

यस पुस्तकको अर्को अध्याय प्रदीप गुरूङको ‘एक सब्तु सपना’ को एक सर्को अध्ययन रहेको छ र यस अध्यायमा उनले प्रदीप गुरुङ मूलरूपमा कथाकार रहेका अनि उनी यसका अतिरिक्त प्रयोगवादी उपन्यासकार, कवि र सम्पादक पनि रहेर साहित्य सेवा गरिरहेका विषयलाई प्रकाश पारेका छन् र उनको ‘एक सब्तु सपना’ मा बाह्रवटा विभिन्न शीर्षकका कथाहरू समावेश गरिएका छन् औ यी कथाहरूमा दार्जीलिङ, कालेबुङ, गोरूबथान, तराई जस्ता ठाउँ थलोहरुबाट कथाकारले मानव जीवनका जिउने क्रमका संघर्षमय झल्कोहरु प्रस्तुत गर्न सफल बनेका छन् भन्ने विषयलाई उल्लेख गरेका छन् ।

यस अध्यायमा पौड्यालले प्रदीप गुरुङ एक सफल कथाकार भए तापनि उनको कथाकारिता सम्बन्धी डा. कविता लामा र सपन प्रधानले मात्र चर्चा गरेका विषयलाई उल्लेख गर्दै यस्ता ऊर्जावान सर्जकलाई सबैले ख्याल गर्नुपर्ने विषयप्रति पनि सचेत गराएका छन् ।

‘भारतीय नेपाली निबन्ध’ यस संकलनको अघिल्लो अध्याय रहेको छ र यस अध्यायमा भारतीय नेपाली निबन्ध लेखन यात्राले सय वर्ष पूरा गरिसकेको विषयलाई स्मरण गराएका छन् । साथै यस अध्यायमा भारतमा निबन्धको द्रुतगतिमा विकास भइरहेको विषयलाई पनि क्रमिक रूपमा चर्चा गरेका छन् । यस अध्ययनमा निबन्धको वैज्ञानिक वर्गीकरण, निबन्धका तत्त्व आदिको प्राज्ञिक परिचय पनि दिएर प्रस्तुत विषयको लेखनलाई निक्कै सबल बनाइएको पाइन्छ । साथै निबन्धको काल विभाजन गरेर प्रत्येक कालभित्रका निबन्धकारहरुका नालीवेली पनि प्रस्तुत गरिएकाले पाठक र विद्यार्थीहरूलाई यस विषयले धेरै सहयोग पुर्‍याउने आशा गर्न सकिन्छ ।

‘भारतीय नेपाली उपन्यासमा जातीय चेतना’ शीर्षक लेख परिश्रमपूर्ण लेख रहेको छ र यस लेखमा भारतीय नेपाली उपन्यासहरूमा देखिएका जाति, जातीयताको भावना, राष्ट्रवाद, प्रवास, बसाइँ सराई र उल्लिखित औपन्यासिक रचनाहरूमा प्राप्त किनारीकृतका समस्याहरूलाई उधिनेर पाठक समक्ष प्रस्तुत गरेका छन् । साथै यस क्रममा समालोचक पौड्यालले प्रतिनिधि उपन्यासहरूको रूपमा ‘भ्रमर’, ‘मुलुक बाहिर’, ‘लगन’, ‘डाकबंग्ला’, ‘आज रमिता छ’, ‘नयाँ क्षितिजको खोज’, ‘ब्रह्मपुत्रको छेउछाउ’ जस्ता उपन्यासहरूको चर्चा परिचर्चा गरेर अभीष्ट प्राप्तिलाई प्रकाश पारेका छन् ।

यी कृतिहरूमा लेखक पौड्यालले प्रत्येक विषयमाथि रौं चिरा अध्ययन गरेर विश्लेषण गर्न सकेका छन् । विषेशगरी प्रस्तुत पुस्तक साहित्य अध्येताहरूका निम्ति भने अत्यन्त उपयोगी रहेको छ । यसो त विद्यार्थीवर्गको निम्ति त अध्ययन गर्न र बुझ्नको खूबै सरल व्याख्यान रहेको उपयोगी ग्रन्थ भएको छ । अतः यस लेखमा भौगोलिक समालोचनाको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

यस्तै यस सङ्कलनका अघिल्लो अध्याय रहेको ‘भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप’ नामक लेख भने नेपाली समालोचना साहित्यका निम्ति पहिलो पटक अध्ययन गरिएको हो । यसमा भौगोलिक समालोचनाको पृष्ठभूमि, रिक्तता, स्थान र साहित्यसित यसको सम्बन्ध, यसका आधारमा कृतिको समालोचना गर्ने पद्धति केलाउँदै देशकालिकता, अतिक्रमिकता, सान्दर्भिकता, भौतिक जगतको भाषिक प्रस्तुतीकरण तथा यसमा आधारमा नेपाली कृतिको समालोचना हुनसक्ने सम्भावनामाथि सङ्केत गरेका छन् ।

वस्तुतः यस समालोचनाको सैद्धान्तिक लेखमा समालोचक पौड्यालले भौगोलिक समालोचनाको अवधारणा, पृष्ठभूमि, भौगोलिक समालोचनामा कृति विश्लेषण, कृतिमा व्याप्त देश-काल, अतिक्रमिकता, सान्दर्भिकता, कृतिमा उपलब्ध भौतिक जगतको भाषिक प्रस्तुतीकरण, भौगोलिक समालोचनाका तत्त्वहरू आदिका वृहत् अध्ययन प्रस्तुत गरेका छन् ।

यस  कृतिमा समावेश ‘भौगोलिक समालोचना सैद्धान्तिक अवधारण’-मा समालोचक पौड्यालले आधुनिक भन्नाले कथा, कविता, उपन्यास, नाटक, काव्य र महाकाव्य जस्ता विषयका अध्ययनका क्रममा भूगोल अथवा पृथ्वीमा जे र जुन विषयपाइन्छन्, ती नै विषयहरु सृजनात्मक कृतिहरूमा अध्ययन गर्न आवश्यक छ । समालेचकले अध्ययन गर्दा कृतिको एक पक्ष- अर्थात् सतह मात्र अध्ययन नगरेर लम्बाई, चौडाइ र मोटाइ र गहिराइ आदि सबैको अध्ययन हुन आवश्यक छ- भन्ने त्रयसाहित्यकार आयामेलीले सन् १९६३-मा जेम्स जोयस् जस्ता आदि साहित्यकारबाट ग्रहण गर्दै ‘फूल-पात-पत्कर’- पत्रिकाबाट नेपाली साहित्यमा सम्पूर्ण लेखौं र सम्पूर्ण बुझ्झौं’ भन्ने सैद्धान्तिक अवधारण प्रतिपादित गरिएको थियो ।

अतः भौगोलिक समालोचना अन्तर्गत अध्येताले उक्त कृतिभित्र  विभिन्न विषय अनि सम्बन्धित विषयको पक्ष-विपक्ष आदिको पनि इतिवृत्त केलाउन सक्तछ भन्नेलाई अघि राखेका छन् । भौगोलिक समालोचना सिद्धान्तलाई अघि बढाउने विद्वानहरू विशेषगरी फ्रेन्चका विद्वान् बट्रान्ड वेस्टफल,संयुक्त राज्य टेक्सासका विद्वान् रोबट आर. ट्याल्ली, एम. किन्डरम्यान, के मल्लोयो, के. मल्भोयो, एम. झुवा, म्यान्फ्रेडी, एरिक प्रिटो आदि विद्वानहरुको उल्लेख गर्दै व्यक्ति व्यक्तिमा पनि आ-आफना मतभेद हुन सक्तछन् । ती नै विषयहरुलाई कृतिकारले आफ्नो कुनै पनि विधाको रचनामा परोक्ष वा गौण रूपमा पात्र-पात्राको माध्यमद्वारा व्यक्त गरेका हुन्छन् ।

भौगोलिक समालोचनामा अध्येताले त्यस्ता विषयलाई केलाएर पाठक समक्ष राख्न सक्तछन् । साहित्यका कुनै पनि विधा उपन्यास, कथा जस्ता विधामा रचनाकारले आफ्ना कृतिमा सामाजिक, राजनैतिक, भौगोलिक, अर्थनैतिक, शैक्षिक, समता – विषमता जस्ता विषयलाई बृहत् र व्यापक रूपमा व्याख्या विश्लेषण गर्न सक्तछन् ।

वस्तुत: भौगोलिक समालोचना अन्तर्गत समीक्षकले कुनै पनि कृतिको समीक्षा गर्दा कृतिमा प्रयोग भएका विभिन्न पात्र-पात्राहरू परस्परमा आ-आफ्ना सिद्धान्त र विचार बोकेका विचारहरूलाई केलाइकुलाइ गरेर पाठक समक्ष प्रस्तुत गर्दछ । ब्रटान्ड वेस्टफलका अनुयायीहरूले सन् २००७ मा भौगोलिक समालोचनाको सिद्धान्तलाई फ्रेन्च भाषामा प्रकाशित गरेका थिए । यसको अंग्रेजी अनुवाद सन् २०११ मा भए पछि यस सिद्धान्तलाई अपनाएर साहित्यिक कृतिहरूको अध्ययन शुरू भएको पाइन्छ । यस सिद्धान्तको मुख्य उद्देश्य आजको समाज दुःख र पीडाले ग्रसित छैन । वर्तमान युग तकनिकी र इन्टरनेटको युग भएको हुनाले संसारमा मानिसको जीवन शैली सम्पूर्ण रूपले परिवर्तन भएको छ । आजको मानिस उच्च प्राविधिक सुख सुविधाले युक्त छन् । वैज्ञानिकहरू स्पेसमा अनुसन्धानरत छन् । त्यसकारण आजको साहित्यमा यी विषयहरू पनि लेखिएका छन् ।

पर्यावरणसित सम्बन्धित विषयपनि साहित्यमा लेखिंदैछन् । पर्यावरणसित, संगीत विषयहरु, संगीत निर्माण गर्दा बजाइने वाद्यवादनहरू पनि संगीतसित जोडिन आउँछन् । भौगोलिक अध्ययनमा मानव जीवनका निम्न विषयका अध्ययन हुन्छन् । साहित्यमा वैज्ञानिक, औद्योगिक विषयहरू, इतिहास, भूगोल, समाजशास्त्र, अन्तरिक्ष विज्ञान, जनसंख्या, मानव स्वभाव, मानवका चरित्र, कृषि विज्ञान आदि विषयलाई अध्ययन, मनन, चिन्तन र विश्लेषण गर्दै त्यसभित्र निहित अवकाशको अन्तरालहरूको समय अध्ययन पनि भौगोलिक अध्ययनमा समावेश गरिन्छ ।

यस्तै गरी यस सङ्कलनको अर्को अध्याय साहित्यकार, ‘मोतीराम भट्ट : नेपाली साहित्यका मोती’ रहेको छ र यस अध्यायमा समालोचक पौड्यालले मोतीराम भट्टको जीवनीको इतिवृत्त प्रस्तुत गर्दै आदिकवि भानुभक्तलाई नेपाली संसारमा परिचय गराउने प्रथम व्यक्ति मोतीराम भट्ट हुन् भन्ने विषयलाई पुनर्प्रस्तुत गरेका छन् । साथै मोतीराम भट्टले नै भानुभक्तको जीवनी प्रकाशित गरेर नेपाली साहित्यमा समालोचना लेख्ने परम्परा बसालेका विषयलाई पनि उल्लेख गरिएको पाइन्छ । मोतीराम भट्टले वि. स. १९४४ देखि १९४७ सम्ममा भानुभक्तको रामायण प्रकाशित गरिसकेका तथ्याङ्कपूर्ण विषयहरूको चर्चा गरेका छन् ।

वस्तुतः समालोचक नवीन पौड्यालले मोतीराम भट्टलाई कवि, समालोचक, गजलकार आदिका रूपमा सिद्ध गर्दै भट्ट बहुप्रतिभाशाली व्यक्ति रहेका विषयलाई पुनः उल्लेख गरेका छन् । यस सङ्कलनको अघिल्लो अध्याय ‘रामकृष्ण शर्माको टेबल गफ नौ बैठक’, ‘एक विवेचना’ मा समालोचक रामकृष्ण शर्माको परिचय, साहित्यिक परिचय प्रस्तुत गरिनुको साथै रामकृष्ण शर्माको साहित्यिक निबन्ध सङ्ग्रह ‘टेबल गफ नौ बैठक’ माथि व्यापक चर्चा गर्दै समालोचकका रूपमा रामकृष्ण शर्माको समालोचकीय प्रवृत्तिमाथि विभिन्न विद्वानले व्यक्त गरेका विचारलाई पनि अघि राखिएको देखिन्छ । यस्तै समालोचक रामकृष्ण शर्माले नेपाली कविहरूका प्रथम र द्वितीय श्रेणीमा वर्गीकरण गरेर राखेका कविबारे सम्यक् विवेचना प्रस्तुत गरिएको छ ।

अर्को महत्त्वपूर्ण लेख ‘लकाँको मनोभाषाविज्ञान समालोचना’ यस शीर्षक लेखमा लकाँ र फ्रायड, लकाँ र जुङ्ग, लकाँ र सस्युर, लकाँ र युलिया क्रिस्टिभा आदिको संक्षिप्त तुलनात्मक परिचय दिँदै लकाँको मनोभाषावैज्ञानिक सिद्धान्तको चर्चा गरेका छन् । जुन विषयले साहित्यका अध्ययनशील पाठक अन्वेषकलाई धेरै सहयोग पुग्नेछ भन्ने लाग्दछ ।

यस ‘चिन्तन समीक्षण’ पुस्तकमा सङ्कलित एउटा लेख ‘समालोचक रूपमा अर्जुन प्रधान’ मूलतः समालोचकका रूपमा परिचित रहेका र उनले लगभग सयजना जति सर्जकको कृतिलाई अध्ययन गरेर समीक्षात्मक लेख लेख्नु चानचुने विषय होइन भन्ने विचारमा बढी रमाएका छन् । उनी कविता समालेचना गर्दा कविको सामान्य परिचय दिएर कविताहरूका मूलभाव, कथ्य, वस्तु, प्रस्तुति, स्वरूप, बनोट, शब्द, भाषा-शैली आदिलाई संक्षिप्त भए पनि खुट्याउने प्रयास गर्छन् भन्ने विश्वास राख्दछन् ।

वस्तुतः समालोचक नवीन पौड्यालले सैद्धान्तिक, अन्वेषणात्मक, विश्लेषणात्मक आदि विभिन्न पक्षलाई अपनाएर तयार पारेका प्रस्तुत समालोचनात्मक कृति मलाई महत्त्वपूर्ण लाग्यो । अरूलाई नलाग्न पनि सक्छ । यस पुस्तकले साहित्यका अध्येता, विद्यार्थीवर्ग औ अन्वेषकहरूलाई धेरै सहयोग पुग्नेछ भन्ने विश्वाससहित समालोचक नवीन पौड्याललाई यस समालोचनात्मक कृतिको निम्ति हार्दिक बधाई ।