विषय परिचयः

नवराज रिजाल (२०२२) नेपाली साहित्यको क्षेत्रमा एक परिचित नाम हो । नेपाली साहित्यमा सक्रिय लेखनमा लागेका रिजालको डेढ दर्जन विभिन्न विधाका कृति प्रकाशित छन् । कथा, बालसाहित्य गीत गजलमा निरन्तर रचना गर्ने रिजालको पछिल्लो समय नियात्रा लेखनमा निकै सक्रियता रहेको छ । बालसाहित्यका एघारवटा कृति प्रकाशित भैसकेकाले उनी मूलतः बालसाहित्यकार हुन् । तर कथा, गजल र अनुसन्धानमा पनि उनको कलम उत्तिकै सशक्त रूपमा चलेको छ । हाल उनको लेखन नियात्रातिर दगुर्न थालेको छ । त्यसैको परिणाम हो, यो कृतिको जन्म आखाँभरि देश मनभरि परिवेश १६ वटा नियात्रा समाविष्ट छन् । यायावरीय जीवनशैली र चराको जस्तो स्वच्छन्दता मन पराउने रिजालको यस कृतिले देशभित्रको विभिन्न स्थानका सचित्र वर्णन गरेको जसका माध्यमबाट आम पाठकले तत्तत् स्थानमा सहजै पुग्न सक्दछन् । जिन्दगी यात्रा, हरेक मान्छे यात्रा, उसका अनुभूति, अनुभव र भोगाइहरू भिन्न हुन्छन् अझ नियात्राकारको स्वशील्पले त्यसलाई सिँगार्दा निकै मनमोहक बन्न पुग्छ । उनको यो आँखाभरि देश, मनभरि परिवेश नामक कृतिले उनीसँगै आधा नेपाल र पूर्वोत्तर भारतका केही भेगसमेत सजिलै घुमाएको छ । कृतिको अध्ययन गर्दा आमपाठक उनको यायावर प्रवृत्ति र चित्रणशैलीबाट आनन्दित बन्न पुग्छन् ।

बद्रीप्रसाद ढकाल

नवराज रिजालले २०५४ देखि २०७६ को बीचमा लेखिएका नियात्रालाई यस कृतिमार्फत् प्रस्तुत गरेका हुन् । झन्डै बीस वर्षे कालावधिलाई ओगटेका यी रचनामध्ये अधिकांश यसअघि कुनै न कुनै पत्रिकामा छापिएका हुन् । जीवन्त यी रचनाले लेखकको भावनालाई पाठकसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्छन् र पढ्दै जाँदा हरेक मान्छे रसानुभूतिमा हराउँछ । लेखकले यात्रा गर्दाको समय, परिवेश र परिस्थितिको रङ्गले पाठकलाई सँगै लिएर हिँड्ने सामर्थ्य राख्दछ । जीवन नै एक यात्रा हो त्यसैले यात्रालाई मन नपराउने मान्छे संसारमा को नै होला र ? मान्छेको सर्वाधिक आनन्द नै यात्रामा छ । जसले यात्रा गर्छ उसले विभिन्न ज्ञान प्राप्त गर्दछ ।

यस क्रममा यात्राको जरुरत पर्दछ र ऊ विभिन्न ठाउँमा पुग्छ । समय, प्रकृति सबै गतिशील छ । यही गतिशील समयसँगै प्रत्येक व्यक्ति नयाँ ठाउँमा घुम्न र नयाँ कुरा जान्न ईच्छुक रहेको हुन्छ । यात्रामा हुने अनुभवजन्य कार्यबाट हृदयमा नयाँ शक्तिको सञ्चार भई कार्यसञ्चालनमा स्फुर्ति पैदा हुन्छ; त्यसैले जीवनमा यात्रा अनिवार्यजस्तै भएको छ ।

यात्राबाट नयाँ–नयाँ भूगोल, पर्यावरण, संस्कृति तथा संस्कारका विविध पक्षहरूको यथार्थता बोध हुन्छ । सभ्यताको आद्यविन्दु मानिने जङ्गली अवस्थादेखि नै मानिसले यात्रा गर्दथे । यही अवस्थामा शिकारको लागि एक ठाउँबाट अर्को ठाउँमा गई त्यहाँको भूगोल, प्रकृति र अवस्थाको अनुभव बटुल्दथे । जङ्गली अवस्थापछि सभ्य समाजको आरम्भ भयो; अनि त झन् मानिसले यात्रालाई एक अभिन्न अङ्गको रूपमा लिएको पाइन्छ ।

सभ्यताको प्रारम्भदेखि नै मानिस ज्ञानको वृद्धि गर्नको लागि नयाँ कुराको निरीक्षण गर्दै आइरहेको छ र उसले भ्रमणबाट आत्मतृप्ति पनि पाइरहेको छ; तसर्थ यात्रा साहित्यमा मानव सभ्यता र संस्कृति लुकेको हुन्छ भन्नु युक्तिसङ्गत हुन्छ । धर्मको अभिप्रायले विभिन्न धार्मिक स्थलहरूमा गरिने यात्रालाई धर्माटन भनिन्छ । तीर्थ जाने कार्यलाई तीर्थाटन भनिन्छ भने विभिन्न देशदेशावरमा गरिने यात्रालाई देशाटन भनिन्छ । पर्यटकीय हिसाबले गर्ने यात्रालाई पर्यटन भनिन्छ । अन्त्यमा व्यापार, शिक्षा, भेटघाट, उपचार, सम्मेलन, सम्बन्ध, जीवनयापन जुनसुकै कार्यका लागि समेत यात्रा अनिवार्य नै भएको छ ।

यसरी विविध प्रकारले गरिने यात्राबाट फर्किएपछि यात्रानुभव अन्य व्यक्तिसमक्ष बाँड्ने प्रचलनबाट भाषाको विकास भयो र क्रमशः लिपिको, लेख्य रूपको र विस्तारै साहित्यको सृजना हुन थाल्यो । यही सृजना प्रक्रिया अन्तर्गतकै यात्रानुभवलाई लिपिबद्ध गर्ने क्रममा नियात्राको उद्भव भयो । यसै परिप्रेक्ष्यमा वर्तमानमा साहित्यको एक प्रसिद्ध विधा ‘नियात्रा’ को नामले परिचित र स्थापित समेत भएको छ ।

नेपाली साहित्यमा यात्रा साहित्यलाई सीमित अर्थमा ‘नियात्रा’ नाम दिइएको छ । ‘यात्रा’ नामपदमा ‘नि’ उपसर्ग लागेर नियात्रा शब्द व्युत्पन्न भएको छ । नियात्राको कोशीय अर्थ यात्रा निबन्धको औपन्यासिक वा आख्यानात्मक रूप यात्रावर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भन्ने हुन्छ । ‘नि’ उपसर्गमा निबन्धात्मकता र निजात्मकता अर्थ सन्निहित छ । नियात्रा शब्द नेपालीमा पहिले प्रचलित थिएन । यो बीसौं शताब्दीमा बालकृष्ण पोखरेलद्वारा नवनिर्मित शब्द हो । ‘नियात्रा’ शब्दको निर्माण र प्रथम प्रयोग बालकृष्ण पोखरेलले तारानाथ शर्माको बेलाइततिर बरालिँदा (२०२६) को यी नियात्रा बारे शीर्षक भूमिकात्मक लेखमा गरेका हुन् ।

‘नियात्रा’ शब्द नेपाली साहित्यमा नवनिर्मित र मौलिक शब्द भएकाले यसको प्रयोग नेपालीबाहेक अन्य भाषा साहित्यमा नभएको र यसको ठोस परिभाषा पनि हालसम्म नेपाली विद्वानहरू मात्र गरिएको पाइन्छ । नेपाली साहित्यमा यात्रा–लेखनका यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावृत्त, यात्रा विवरण, यात्रा संस्मरण, भ्रमण वृत्तान्त, यात्रा निबन्ध र नियात्रा आदि अनेक नाम प्रचलित छन् ।

‘यात्रा’ संस्कृतको गति अर्थबोधक ‘या’ धातुमा ष्ट्रन+टाप् प्रत्यय लागेर बनेको छ; जसको मूल अर्थ एक ठाउँबाट अर्को ठाउँमा जानु भन्ने हुन्छ । यात्रामा ‘नि’ उपसर्ग थपी नियात्रा शब्दको स्वरूप निर्मित भएको छ । यात्राको अर्थ भ्रमण पनि हो । भ्रमण संस्कृतिको चलनार्थक ‘भ्रमु’ धातुमा ‘ल्युट्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भने घुमाउरो वा मण्डलाकार किसिमले हिँड्नु हुन्छ । यी दुईमा शब्दगत समानता पाइए तापनि धातुगत भिन्नता पाइन्छ । नेपाली साहित्यमा भने सीमित अर्थमा यात्रा नाम पदमा ‘नि’ उपसर्ग लागेर नियात्रा शब्दको स्वरूप निर्मित भएको मानिएको छ ।

जसको कोशीय अर्थ यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप, यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भन्ने हुन्छ । नेपालीमा यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावर्णन, यात्रा संस्मरण, यात्रालेख, यात्रावृत्त, यात्राविवरण, भ्रमणवृत्तान्त जस्ता शब्द स्वरूपहरू प्रयुक्त देखिन्छन् । यस्ता शब्द स्वरूपमा यात्राकै मूल विषय वा प्रसङ्गको सन्दर्भ उल्लेख भए पनि केही भिन्नता भने अवश्य नै देखिन्छ । यात्रावृत्तान्त, यात्रावृत्त, यात्रा लेख, यात्रा विवरण, यात्रा वर्णन जस्ता शब्द स्वरूपले यात्राको कोरा वर्णन वा विवरणको मात्र सन्दर्भ उल्लेख गरिने भएकाले यस्ता रचनामा निजात्मकता रहे पनि भावनात्मकता, अनुभूत्यात्मकता र रमरम आनन्दको प्रस्तुति नपाइन सक्छ तर नियात्रामा भने त्यो पाइन्छ ।

आयामगत दृष्टिले नियात्रा निबन्धजस्तै लघु आयामको हुन्छ । साहित्यका अन्य विधागत रचनाभन्दा नियात्रा छुट्टै रचना हो; जसमा यात्रागत अनुभूतिलाई भावनात्मक रूपमा रमरम आनन्दका साथ अभिव्यक्ति दिइएको हुन्छ । नियात्रालाई निभ्रमण पनि भन्न सकिन्छ । निजात्मक रूपमा व्यक्त भ्रमण वा यात्रा सम्बन्धित रचनालाई निभ्रमण भन्ने गरेको पाइन्छ । यस अर्थमा नियात्रालाई निभ्रमण भनिनु उपयुक्त नै देखिन्छ । आयामका दृष्टिले नियात्रा गद्य विधाको एक नवीन अवधारणा हो र गद्यमा नै नियात्रा फस्टाएको छ । गद्यको उपन्यास, कथाजस्ता विधामा भन्दा निबन्ध विधामा नै नियात्राको विकास उत्तरोत्तर भएको छ । यात्रासम्बन्धी विषयवस्तु समावेश भएको नियात्रा लघुआयामको निबन्धकै एक प्रकार हो । यसका विभिन्न तत्त्वहरू रहेका हुन्छन् ।

जीवन भोगाइका अनुभव, अनुभूतिलाई भाषाको माध्यमबाट गरिएको अभिव्यक्तिगत रचना विशेषलाई साहित्य भन्ने गरिन्छ । साहित्यमा कल्पनाका माध्यमले यथार्थ जीवनको अनुभव, सुनाइ, बुझाइलाई पस्कने गरिन्छ । पूर्वीय साहित्यमा श्रव्य र दृश्य गरी साहित्यका दुई भेद छन्; जसमध्ये नियात्रा गद्य उपभेद अन्तर्गत पर्ने आख्यानेतर विधा हो । निबन्धात्मक प्रस्तुति रहने भएकाले नियात्रालाई यदाकदा निबन्धको प्रविधा पनि मान्ने गरेको पाइन्छ । अन्य विधाहरूमा जस्तै यसमा पनि स्वतन्त्र तत्त्वहरू रहेकाले एउटा स्वतन्त्र, पूर्ण र प्रभावकारी बनाउन उसका आधारभूत तत्त्वहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यस सन्दर्भमा नियात्रालाई पूर्ण, प्रभावकारी र सजीवता दिने आधारभूत तत्त्वहरू निम्नानुसार छन्ः

(१) विषयवस्तु
(२) सहभागी
(३) गतिशीलता
(४) परिवेशगत स्थानीयता
(५) तथ्यात्मकता
(६) चित्रात्मकता
(७) कौतुहलता
(८) उद्देश्य
(९) भाषाशैली

हरेक चेतनशील मानवलाई धर्तीमा उपस्थित हुन परेदेखि नै यात्राको जरुरत पर्दछ । मानवलाई जीवन जिउने क्रममा विविध आवश्यकताको परिपूर्तिको लागि विभिन्न देशावरको यात्रा जरुरत पर्दछ । यात्रा धार्मिक, सांस्कृतिक, शैक्षिक, व्यापारिक आदि विविध दृष्टिकोणले गरिन्छ । यसलाई पर्यटन देशाटन तथा तीर्थाटन भनिन्छ । यात्राबाट अन्य भूगोलको प्रकृति, जनजीवन, धर्मसंस्कृति, स्थिति परम्पराको नवीन यथार्थताबोध हुन्छ । यस्ता अनुभव, अनुभूति र विवेकलाई भाषामा लिपिबद्ध गर्दा जन्मिन पुग्ने विधा भनेको आज भनिँदै आएको ‘नियात्रा’ नै हो ।

संस्मरणात्मक शैलीमा सृजना हुने आख्यानेतर गद्य विधाअन्तर्गतको नियात्रालाई पर्यायका रूपमा यात्रा संस्मरण, यात्रावृत्त, यात्रा वृत्तान्त, यात्रा वर्णन, यात्रा विवरण, यात्रा निबन्ध, यात्रा साहित्य तथा भ्रमणवृत्त पनि भन्ने गरेको पाइन्छ; तापनि यात्राबाट प्राप्त ज्ञान, अनुभव र यथार्थतालाई निजात्मकताको रङ्गमा घोलेर तथ्यपरक र भावनात्मक रूपमा अभिव्यक्त गरिने रचना भएकोले नियात्रा भन्नु नै उपयुक्त देखिन्छ ।

………………………

आँखाभरि देश मनभरि परिवेशभित्र विचरण गर्दा

आफ्नै जन्मभूमिका विभिन्न परिवेशमा घुमेका विषयलाई अनभूतिसँग जोडेर रचिएका रिजालका नियात्राले प्रकृतिक परिवेशको सुन्दर चित्रण भएका छन् । यस कृतिमा समेटिएका उनका सोह्र नियात्राहरू वि.सं. २०५८ देखि २०७६ सम्म लेखिएका हुन् । जसभित्र मैले सबलाई बिर्सेछु, घुम्दै फिर्दै कचनकवल, भावनाको बगरैबगर, जिन्दगानी गोरेटोमा, विदेशी बस्तीको सफर, सोध्दै खोज्दै गोसाइँकुण्ड, हिंड्दै पाइला मेट्दै, अमरसँग छत्रेदेउराली, हिमाल, हिउँ र हेराइ, सिन्धुलीगढी घुमेर हेर्दा, स्मृतिमा बग्दै–बग्दै, भग्नावशेष पछिपछि, सम्झनामा लेबरनगर, कोटैकोटको नुवाकोट, उड्दै गुड्दै रुबिभ्याली र मन गोड्दै सम्याउँदै म नियात्रा समाविष्ट छन् ।

देशको सबैभन्दा होचो ठाउँ मानिएको पूर्व झापामा पर्ने केचनाको रमणीय प्रकृतिको विहङ्गम दृश्यावलोकन, काठमाडौंदेखि चोभार पर र फाखेल, फर्पिङ, हुमाने भन्ज्याङ हुँदै हेटौंडासम्मको मोटरसाइकल यात्रा; मिरिक दार्जिलिङ शरणार्थी शिविरहरूको घुमघाम; गोसाइँकुण्डको यात्रामा मध्यरातमा साहित्यिक टोलीसँग गरेको घान्द्रुकको रोचक यात्रा; सिन्धुलीगढीको गैंडाकोटमाथि पर्ने मौलाकालिकाको धार्मिक पर्यटन; काठमाडौं नजिकैका स्थानहरूको अवलोकन, कुलेखानी–हेटौंडा, देवघाट, गोसाइँकुण्ड, धादिङको छत्रेदेउराली, नुवाकोटसँग सम्बन्धित नेपालको सुदूरपूर्वी जिल्ला झापा र इलामको सहित भारतको विषय केन्द्रित छन् ।

उनका नियात्रामा उदयपुर, सिन्धुली, स्याङ्जा, गोरखा, पोखराला र दाङ जस्ता पश्चिमी भूगोलको भ्रमण र तिनका विषयवस्तुलाई समेटिएका छन । आफ्नो जन्मभूमि, कर्मभूमि र यात्राका क्रममा काठमाडौंदेखि हेटौंडासम्मका पटक पटकका घुमाइहरू, लुम्बिनी, भैरहवा र पोखरा शैक्षिक भ्रमणः चितवनको भ्रमण; कोटैकोटको नुवाकोट, धादिङको सुदूर उत्तरी क्षेत्र रुबिभ्यालीको कष्टकर र विस्मयजनक यात्रा प्रेस काउन्सिलद्वारा दाङको घोग साहित्यिक पत्रकारिता गोष्ठीमा सहभागिताका अनुभूति आदि अनेकौं सब परिघटनाको शृङ्खलालाई यात्राको धागोले कसेर एकसूत्रमा बुनेर एकत्रित बनाएर सिङ्गो कृतिको निर्माण भएको छ । कृतिभित्र समाविष्ट नियात्रा अलग यात्रा हुँदा हुँदै पनि यहाँभित्रका सबै यात्रा एउटा महायात्राका रूपमा आँखाभरि देश मनभरि परिवेशभित्रका रूपमा आएका छन् ।

सहभागीका साथीहरूका साथै लेखकले देखेका दृश्य र अनुभव गरेका घटना कृतिमा सशरीर उपस्थित भएका छन् । यो यात्रामा कहिले उनी मेचीको पुलमाथि हिँड्दै देश नाप्छन् । कचनकवलमा पुगेर होचो बन्न पुग्छन्, कहिले झापाका शरणार्थी शिविरका पुगेर टोलिन्छन् अनि कहिले गोर्खा पुगेर विशाल नेपालको गर्वले छाती फुलाउँछन् । यसरी नियात्राकै माध्यमबाट नवरसकै आस्वादन गर्न सफल नियात्राकार हाँस्य, करुण, बीभत्स र भयानक आदि अनेकौँ रसको सञ्चार गराउन सफल देखिएका छन् ।

घुमफिरको मात्र उद्देश्य होइन र कुनै पनि स्थानका शैक्षिक, साहित्यिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका अनेकौं उद्देश्यबाट अभिप्रेरित छन् उनका नियात्राहरू । नियात्राकार नवराज रिजालको यात्राले देशभित्रका समस्यालाई पनि उजागर गरेको छ । पूर्वमा झापा अझ दार्जिलिङको मिरिकदेखि पश्चिममा दाङसम्मको विस्तृत भूभागमा गरिएको यात्रासँग सम्बन्धित छन्, यात्रासँगै त्यहाँको प्राकृतिक अवस्था रहनसहन र आफूले अनुभव गरेका संस्मरणहरू सिलसिलाबद्ध रूपमा चित्रण गरिएको छ । । यसरी हेर्दा झन्डै आधा नेपालको परिवेश यस कृतिमा समेटिएको छे ।

यात्राको क्रममा नियात्राकारले पाठकलाई धेरै सूचना, जानकारी र रहस्यसँग पनि परिचित गराएका छन् । यहाँ सपाट यात्रा मात्र छैन, नेपाली जनजीवनका अनेकौँ कहानी र मर्महरू पनि छरपस्ट छन् । यात्रामा भेटिएका अनेकौंथरि जिन्दगीका विवश कहानी र घात प्रतिघात जीवनको बाहिरी र भित्री दृश्य दुवै प्रकट गरेको छ । विभिन्न विषयलाई र बिम्बमार्फत् प्रस्तुत गरिएका उनका नियात्राले देश र परिवेश बोलेको छ ।

लामो समय अध्ययन अध्यापनसँग जोडिएर र निरन्तर लेखनमा लागेका नियात्राकार रिजालको जन्म र कर्मक्षेत्र नेपालको मध्यभागमा भएकाले उनका सर्वाधिक यात्रानिबन्ध त्यही क्षेत्रसँग सम्बन्धित हुन स्वाभाविक हो । धादिङको छत्रेदेउराली, रुबीभ्याली, गोसाइँकुण्ड, गोरखा तथा नुवाकोटको चित्रण उहाँ आएको छ । सम्झनामा लेबरनगर र गुड्दै उड्दै रुविभ्याली शीर्षकका वियात्राले ती पर्ने विभिन्न स्थानको परिचयका साथै यात्रा प्रसङ्ग र यात्राक्रमका अनुभवलाई रमाइलोसँग पाठकसमक्ष राखेको छ । जीवनमा अनेकन् दुःख, पीडा, समस्या र अनुसार भोगेका एक सिर्जनकर्मीले जताततै त्यस्तै देख्नु स्वाभाविक पनि हो ।

……………………………….

निष्कर्षः

विभिन्न विषयलाई सन्दर्भसहित चित्रण गरिएका उनका यस सङ्ग्रहका नियात्रामा आफ्नो भूगोलप्रतिको गर्व, इतिहास पुरुषहरूप्रतिका सम्मान र पुरातात्विक सांस्कृतिक सम्पदाहरूप्रतिको मोह उत्तिकै महत्तासाथ अभिव्यक्त भएका छन् । यसका साथै समाजमा देखिएका विकृति र विसङ्गतिप्रति आक्रोश तथा व्यङ्ग्य पनि पाइन्छ ।

हामी जे जस्तो जहाँ पुगे पनि आफ्नो कला संस्कृति, संस्कार र वेशभूषालाई बिर्सन नहुने कुरा रिजालले नियात्रामार्फत अभिव्यक्त गरेका छन् । नेपालको प्रशासनतन्त्र र सहि मूल्याङ्कन प्रणालीमा देखिएका विकृति र त्यसले पारेको असर, नेपालको शिक्षा र शैक्षिक प्रणाली र पद्धतिको चर्चा गर्दै देशको समग्र विकासमा त्यसले पारेको प्रभावको चित्रण गर्दै लेखकले आफैंले भोगेका कुरा र स्मृतिका अनुभवलाई नियात्रामा सम्झेका छन् ।

समग्रमा यस सङ्ग्रहका नियात्रा लेखकले संस्मरणमार्फत् आफ्ना अनुभव र अनुभूतिको अभिव्यक्त गरेका छन् । सङ्ग्रहभित्रका निसंस्मरण, नियात्रा र कतै कतै आत्मालाप वा आफ्नै कथाजस्तो देखिएकाले मिठासपूर्ण रहेको छ । भाषागत सुललितपन, शैलीगत नवीनताले शीर्षकको सार्थकतालाई उजागर गरेको छ । यस कृतिलाई अध्ययन गर्दा नियात्राकारको शैली आफैँमा सरल र छोटा वाक्यविन्यासमा आधारित छ । सूक्ष्म कुरालाई मनमोहक तरिकाबाट प्रस्तुत गरिएका उनका नियात्राभित्र श्रुतिमधुरता पाइन्छ यो उनको निजी विशेषता पनि हो । समग्रमा नेपाली साहित्यको नियात्रा विधामा आँखाभरि देश मनभरि परिवेश नेपाली एक महत्त्वपूर्ण कृतिका रूपमा आएको छ भन्न सकिन्छ ।