विश्वको महान् कथाकार आन्ताेन चेखव यसो भन्नुहुन्छ: व्यक्ति, हरेक कोणबाट सुन्दर देखिनुपर्छ – मुहार, पहिरन, हृदय, बिचारले ! तेह्रथुमेली साहित्यकार, कवि बसन्त श्रेष्ठ, चेखवले वर्णन गरेको आदर्शभित्र नै पर्छ भनेर म ठोकेर भन्न सक्छु । युवावस्थामा काठमाडौँमा छँदा उनीसित हेलमेल भएको थियो । जहिले पनि चिरिच्याँट्ट परेर हिँड्ने, गोरो अनुहार, मृदुभाषी बसन्तलाई जीवनको लहन तहनले प्रवास पुर्याए पनि, उनमा भएको सकारात्मक गुणहरू हराएको रहेनछ ।
यतिका वर्षपछि पनि सिधा, सौम्य र शालीन पाएँ । जीवन जिउने मेलोमा उनले अनेक थरी काम गरे होलान् । तर दुई र दुई जोडी पाँच बनाउने खेलोमा उनी कहीँ कतै लागेको सुन्न पाइन । “मुल्लाहको दौड, मस्जिदसम्म” भन्ने कहावत् जस्तै जीवन यापनको दौडमा अनेक उद्देश्य बोके पनि आखिर साहित्यमै ठोक्किन पुगे । साहित्य उनको पेसा नभएर Passion हो ।
बसन्त श्रेष्ठको ‘अँगालोभरिको अनुभूति’लाई दुई खेप पढेँ । पहिलो चोटि सररर पढेँ भने दोस्रो चोटि पुस्तक समीक्षा लेख्ने हेतुले पढेँ । त्यी दुई पढाइको अन्तराल लामो थियो । दोहोर्याएर पढ्दा थुप्रै नौला कुराहरूको अनुभूति बटुल्छु म ! मैले माक्सिम गोर्कीको ‘आमा’ उपन्यास धेरै चोटि पढेको छु – मौलिक रुसीमा, नेपालीमा, हिन्दीमा र अङ्ग्रेजीमा, प्रत्येक चोटिको पढाइमा म नौलो आयाम पाउँछु त्यो पुस्तकमा ।
तेह्रथुमेली साहित्यकार, वसन्त श्रेष्ठलाई म उनका साहित्यिक कृतिको माध्यमबाट मात्र होइन, व्यक्तिगत रूपले पनि चिन्छु । हाम्रो युवावस्थाका केही रमाइला, कठिन र ऊर्जाशील समयहरू हामीले काठमाडौँ क्षेत्रपाटीको सेरोफेरोमा बिताएका थियौँ । हामीले खाने खुराकी भोजनालयहरू पनि ऐ ऐ नै थिए – रञ्जना सिनेमा हलको छेउमा रहेको विकास भोजनालय, बाङ्गेमुढाको कुनोमा रहेको बीना गुरुङको भोजनालय र क्षेत्रपाटीको नौलो भोजनालय
हाम्रो जमानाको हिरो थियो वसन्त श्रेष्ठ – अग्लो जिउ, चस्मा लगाएको सुन्दर मुहार, अग्लो हिल भएको जुतामाथि घण्टी जस्तो बेलबटम् पेण्ट अनि भुइँ सोहोर्ने लामो गलबन्दी लगाएर लचकदार हात्ती हिँडाइ भएका उनलाई, सडकमा, काठमाडौँका मैचाहरूले फर्की फर्की नहेर्ने कुरै थिएन । तर कुनै पनि मैचासित हिँडेको चाहिँ कहिल्यै देखिन । हरहमेसा ईलामेली नेवज गुरुङसित दोक्लै हुन्थे । ती दुई लक्ष्मीकान्त-प्यारेलाल थिए । पछि थपिए – दिवङ्गत दावानुपु लामा ।
संस्मरणात्मक पुस्तकको विवेचना गर्न बसेको म, आफ्नै विगत पो संस्मरण गर्न पुगेछु । म सोभियत संघ अध्ययन गर्न गएपछि बसन्तसित लामो समय देखभेट भएन । झन्डै झन्डै विस्मृतिमा जान लागिसकेका थिए । अमेरिकामा हाम्रो फेरि भेट भयो । तीन बिसा उमेर भैसक्दा पनि उनी हरिलो भरिलो, सिधा देख्छु ! के खान्छन् कुन्नि ? कोरोनाले सिकिस्त भए पनि, उनले कोरोनालाई पछारे, जिउने दह्रो इच्छाशक्तिले गर्दा ! अमेरिकामा अनेकानेक काम गरे, तर घुमिफिरी रुम्जाटार भने झैँ जहिले पनि नेपाली साहित्यको श्रीवृद्धिमा तल्लीन रहे, साहित्यको लागि समय निकाले, साहित्य मै रमाए ।
सधैँ कविता मार्फत आफ्नो साहित्यिक अभिव्यक्ति दिने वसन्त श्रेष्ठ यसपालि कथा लिएर प्रस्तुत भएका छन् । आफ्नै जीवनको संस्मरण कथा लिएर आएका छन् । किताबको सुरुदेखि अन्त्यसम्म उनकै वैयक्तिक विवरण भए पनि, ती वर्णनहरूले समग्र नेपालीहरूको चित्रण गरेको छ, हामीले बाँचेको एउटा कालखण्डको वृत्तान्त त्यसमा समाविष्ट छ । एक जना पर्वते ठिटोले जीवन यापन गर्दा बटुलेको अनुभूति छ । म त भन्छु वसन्त श्रेष्ठको संस्मरण कथाले एक पिँढी नेपालीहरूको प्रतिनिधित्व गर्छ, तिनको जीवनशैलीलाई छर्लङ्ग पार्छ र भावी पिँढीलाई पाठ पढाउँछ ।
समाजसेवी पहाडे महाजनका जेठो छोरो वसन्त, आफ्नो बाल्यावस्थाका दिनहरू रमाई रमाई वर्णन गर्छन्, सम्झनामा आउञ्जेल सम्मका आफ्ना बालसखाहरू सप्पै सप्पैको नाम उल्लेख गर्छन् । बालक छँदा गरेका उपद्रोहरू उक्काउँछन्, अनि बालापन हुँदा आमाबारे मनै छुने अनुभूति यसरी दिन्छन : “मन परेको चिज चाहियो – बाआमासित रोइदिए भइहाल्यो, भोक लाग्यो – आमा, चोट लाग्यो -आमा, कसैसँग झगडा भयो – आमा, केही चाहियो – आमा, नयाँ कुरा किन्नपर्यो – आमा,” कस्तो मिठासपूर्ण अद्वितीय वर्णन ! आमाबारेको वर्णन यस्तै सरल, सपाट र सिम्पल हुनुपर्छ । आमाबारे बसन्तीय वर्णन बिछट्ट राम्रो र मन छुने खालको छ । आमालाई देवत्वकरण गरेका अभिव्यक्तिहरू मलाई झुठा लाग्छन्, Fiction र पाखण्ड लाग्छ ।
प्रसिद्ध हिन्दी गजल गायक जगजित सिँ को “ए दौलत ले लो, ए जवानी ले लो, भले ही छिन लो मुझ से मेरी जवानी, मगर लौटा दे मेरी वह बचपन कि दिन” गजल मनमनै गुनगुनाएँ । वसन्त श्रेष्ठको बाल्यकालीन संस्मरण पढ्दै गर्दा मैले आफ्नै बाल्य जीवन सम्झेँ । यादहरूको थुप्रोले मनै तरङ्गित बनायो ।
संस्मरण लेखमा पारिवारिक र वैयक्तिक वर्णनहरू प्रशस्त भए पनि, ती वर्णनहरूले नेपाली जनजीवनको साङ्गोपाङ्ग चित्रण गरेको छ । खास गरी मोफसलबाट काठमाडौँ छिरेका युवाहरूको वर्णन छ । पर्वते महाजनको छोरो बसन्तले आम युवाहरूले भोगेको जीवन भोग्नु परेन होला, तर उनले त्यसलाई नजिकैबाट नियाल्ने मौका पाएको छ । बोराभित्र पराल हालेको म्याट्रेस, पातलो डसना, एक बोरा किताब, दम दिने स्टोभ र केही भाँडाकुँडा लिएर मोफसलका युवाहरू डेराडण्डा सरिरहन्थे । प्रायको खाटमुनि आलु फिँजाइएको हुन्थ्यो । ३६ साले युवाहरूको श्रीसम्पत्ति यति नै हुन्थ्यो । जस्तै दु:खजिलो गरेर बसे पनि ती युवाहरू देशप्रति चासो दिन्थे, विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँथे, सही मानेको राजनीति गर्थे अहिलेका धेरै नेताहरू यसरी नै हुर्केका हुन् ।
३६ सालको त्यो दृश्य मेरो आँखा अगाडि झलझली नाच्छ अहिले पनि ! शाही आयोगसित सम्झौता गर्यो भनेर विद्यार्थी नेताहरू शरण विक्रम मल्ल, बल बहादुर के सी, कैलाश कार्कीलाई विद्यार्थीहरुको जमातले जुत्ताको माला र कालो मोसो दली, ठेलागाडामा बसाएर शहर परिक्रमा गरेका थिए । वसन्त, म , दिवङ्गत दावानुपु, नेवज हामी ठेला सँगसँगै थियौँ । जनमत सङ्ग्रहमा पनि सक्रिय सहभागिता जनाएका थियौँ हामीले ! हाम्रो त्यो युवा पुस्ताले आफ्नो बलबुताले भ्याएसम्म लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुर्याएका थियौँ । ०४६ पछि जन्मेका युवाहरूले वसन्त श्रेष्ठको संस्मरण कथाबाट धेरै कुरा सिक्न सक्छ भन्ने मेरो ठनाइ छ ।
‘अँगालोभरिको अनुभूति’ किताब मनोरञ्जनात्मक आत्मकथा होइन, एक जना पर्वते ठिटोले उतार चढाव जीवन बाँचेको कथा हो, सम्पूर्ण नेपाली युवाहरूले बाँचेको प्रतिनिधि जीवन हो । पारिवारिक दायित्व, नागरिक दायित्व, समाजप्रतिको दायित्व, देशप्रतिको दायित्व बोकेर हिँडेका बग्रेल्ती युवाहरूको अनुभूति हो ‘अँगालोभरिको अनुभूति’ । यस पुस्तकमा भएका अनेकानेक संस्मरणहरूको निचोड एउटा छ – देशप्रेम ! तीन दशक अमेरिकामा बसे पनि उनी अमेरिकाने भएनन्, नेपाल, नेपाली भाषा र नेपाली साहित्यको उत्थानमा हरहमेसा लागिपरे ।
साहित्यिक गतिविधिमा लाग्नेहरूका लागि पनि ठुलै सन्देश छ यस पुस्तकमा । वसन्त श्रेष्ठको साहित्यिक चिनारी रातारात भएको होइन । कोरा दिमागबाट कविता त्यतिकै फुत्त फुर्दैन त ! त्यसका लागि Input पनि हुनुपर्यो । १४ वर्षको उमेरदेखि उनले हस्तलिखित पत्रिका निकालेर साहित्यको अभ्यास गरेका रहेछन्, साहित्य सिकेका रहेछन् । Success doesn’t come in shortcut. मैले पनि मेरो लेखन त्यस्तै हस्तलेखन पत्रिकाबाट सुरु गरेको हुँ । रुस, मास्कोमा छँदा, हाम्रो सोभियत छात्र सङ्घले हस्तलिखित पत्रिका निकाल्थ्यो । सुरुमा मेरो काम अरूको लेख सारेर थुप्रै कपी बनाउनु थियो । बिस्तारै मैले पनि लेखनको कला सिक्दै गएँ – शब्दको छनौट, वाक्यको संरचना, मिठास शैली इत्यादि, लेखन यात्रा त्यति सहज छैन ।
अब आउँ साहित्यकार वसन्त श्रेष्ठले प्रवासमा गरेका साहित्यिक गतिविधिहरू – लामो समयदेखि अमेरिकामा अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्था सक्रिय छ । Abbreviation मा अगाडि ‘अ’ आयो भने मेरो मनमा ‘अखिल’ आइहाल्छ । विगतमा अखिलेहरूसित हेलिएको धङ्धङ्ती पो हो कि ? अनेसाससँग आबद्ध भएर उनले साहित्यिक गतिविधि गरेका फेहरिस्तहरू पुस्तकमा वर्णन छ ।
उक्त समाजमा रहेर वसन्त श्रेष्ठले इमानदार दायित्व निर्वाह गरेको कुरामा कुनै शङ्कै छैन । तर पछिल्लो समयमा उक्त अनेसासमा गलत प्रवृत्तिहरू झ्याङ्गिँदै छ । पदको लागि हानथाप हुन्छ, एकले अर्कालाई मुद्दै हाल्न तम्सेको देखियो । मञ्चाशन, आसन ग्रहण, खदार्पण, पुरस्कार वितरण आदि तामसी कर्मकाण्डमा लिप्त देख्यौँ । यस समाजका सदस्यहरूले सामाजिक सन्देशमूलक लेखहरू लेखेको याद छैन । फ्रेममा राखेका पालोपैँचो प्रशंसापत्रहरू साटासाट गरेर आत्मरति लिइरहेका छन् । साहित्य जस्तो संवेदनशील संस्थाले यस्तो गलत रवैया अपनाउँदा यसबाट समाजले कस्तो सन्देश पाउँछ ?
साहित्य, सुन्दर मनको अभिव्यक्ति हो भनेर सबैले भन्दै आएका छन् । तर त्यो बोधगम्य पनि त हुनुपर्यो । पुस्तकमा वर्णित भर्जिनेली कविता गोष्ठीबारे पनि मेरो सानो टिपोट छ । अमेरिकाको भर्जिनियामा केही उमेर छिप्पिएका, साहित्यिक मन भएका, व्यक्तिहरू महिनै पिच्छे पालैपालो कसैको घरमा भेला हुन्छन् र कोठे कविता गोष्ठी गर्छन्, अधिकांशले भानुभक्तीय शैलीमा नबुझ्ने शास्त्रीय कविता वाचन गर्छन् । मैले पनि भिडियोमा एक दुई खेप हेरेँ, बिचैमा हापें ।
खस भाषामा दखल राख्ने मैले त केही बुझिन भने, इण्टरनेटे युगका युवाहरूको लागि त यो कालो अक्षर भैँसी बराबर हो । त्यहाँ उपस्थित हुनेहरूले पनि सबैले बुझ्लान् भन्नेमा शङ्कै छ । अनि त्यो कोठे कविताको उपादेयता के ? त्यसको बदलीमा साहित्यले समाजलाई दिने बहुआयमिक देनबारे छलफल गर्दा हुन्थ्यो, छोटो खँदिलो नयाँ पुराना कविता वाचन गरे हुन्थ्यो । त्यो कविता गोष्ठीलाई अर्थपूर्ण बनाएर सामाजिक सञ्जालमा प्रवेश गराई व्यापक बहस गर्न सकिन्छ । एकोहोरो रागशैलीमा ‘श्री रामका चरण, उत्तानो परन’ जस्ता कविता वाचनले हामीलाई कहीँ पुर्याउँदैन !
समष्टिमा भन्दा ‘अँगालोभरिको अनुभूति’ हामीले बाँचेको जीवनको कथा हो । आफ्नो वैयक्तिक विवरण मार्फत कवि वसन्त श्रेष्ठले नेपाली युवाहरूको एक कालखण्डको चिरफार गरेका छन् । पारिवारिक र सामाजिक दायित्व निभाउनका साथसाथै नेपाली युवाहरूले, चाहे त्यो स्वदेशमा होस् या विदेशमा, नेपाली मन, नेपाली पन, नेपालीत्व नबिर्सेर हरदम नेपालको भलाइको लागि कार्य गरिरहेका छन् । वसन्त श्रेष्ठ प्रतिनिधि पात्र हुन ।
उनको संस्मरणमा मुलुक प्रतिको माया जो कोहीले पनि देख्न सक्छ, अनुभूत गर्न सक्छ । अटाई नअटाई अँगालोभरिको अनुभूति बाँडेकोमा कवि वसन्त श्रेष्ठलाई धन्यवाद ! उनको लेखनले निरन्तरता पाओस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।