गरुड महर्षि कश्यप र उनकी कान्छी श्रीमती विनताका छोरा थिए । उनका मामली हजुरवा दक्ष प्रजापति थिए । उनकी सौतेनी आमा आफ्नै आमाकी दिदी कद्रू थिइन् । तिनी निकै दुष्ट स्वभावकी थिइन् र षड्यन्त्र गरेर गरुडकी सोझी आमा, आफ्नै बहिनी विनतालाई उनले आफ्नी दासी बनाएकी बनाएकी थिइन् ।  उनका दाजु थिए : अरुण । जो जन्मँदै विकलांग थिए । वास्तवमा आमा विनताले हतार गरेर अण्डा फोडेर निकालेकी हुँदा उनी पूर्ण विकसित हुन पाएनन् । तैपनि उनले ठूलो जागीर पाएका थिए । उनी साक्षात् जगत्साक्षी भगवान् श्री सूर्यको सातघोडे रथका एकमात्र सारथिमा नियुक्त भएका थिए । उनका सौतेनी आमापटिका सन्तान एक हजार जना दाजु नागहरू थिए ।

दाजु अरुण जन्मिएको पाँच सय वर्षपछि बल्ल अर्थात् पूरै एक हजार वर्ष पूर्ण भएपछि गरुड जन्मिएका थिए, अण्डा फोडेर बाहिर निस्किएका थिए । गरुड जन्मँदै अदम्य साहस र अपरिमित पराक्रमले सम्पन्न थिए । आफ्नो इच्छानुसारको रूप धारण गर्ने खुबी पनि थियो उनमा । उनी यति वेगवान् थिए कि जहाँ मनले इच्छायो त्यहाँ एकै छिनमा पुग्न सक्दथे ।

उनको जन्म चाहिँ आकाशचारी पक्षीको रूपमा भएको थियो । उनी अण्डाबाट निस्कनासाथ अग्निपुञ्ज झैं देदीप्यमान भए । अनि, एकैछिनमा हेर्दाहेर्दै उनको शरीर विराट् आकारको भयंकर भयो । उनको आवाज पनि तेस्तै- डरलाग्दो प्रलयकालीन मेघगर्जनको जस्तो निस्कन लाग्यो । त्यो जाज्वल्यमान विराट् अग्निको पिण्ड जस्ता गरुडलाई देखेर सबै देवताहरू डराएर अग्निसमक्ष पुगेर विनम्र हुँदै निवेदन गर्न लागे : हजुर यति भयंकर रूप नदेखाउनोस् न, हामी जलेर खाक भइहाल्छौँ नि । अग्निले हाँस्दै भने : त्यो म कहाँ हुँ त, ती त महाबली गरुड पो हुन् त । उनी पनि म जत्तिकै तेजस्वी पो छन् त ! तर, उनीसँग डराउनुपर्दैन, हिँड, म उनीसँग तिमीहरूको परिचय गराइदिन्छु । अनि सबै गरुडको छेउमा गएर प्रणाम गर्दै उनको स्तुति गर्न लागे । भव्य स्तुति गरेर उनलाई आफ्नो तेज समेट्ने प्रार्थना गरेपछि गरुड आफ्नो प्रचण्ड तेज समेटेर अलि मत्थर भए ।

0 0 0 0

त्यसै समय, भगवान् श्रीसूर्यलाई एकदमै रिस उठेको थियो ।

कुरा के थियो भने : समुद्रमन्थन गर्दा जब अमृत निस्कियो अनि सबै त्यसलाई पाउनका लागि घम्साघम्सी गर्न थाले । यदि केही गरी त्यो दानवका हातमा पर्‍यो भने त सत्यानाश हुन्छ भन्ने विचारले भगवान् श्रीविष्णुले मोहनी रूप धारण गरेर दानवहरूलाई झुक्याई झुक्याई त्यो अमृत लहरै बसेका देवताहरूको भागमा मात्र पारिदिनुभयो र सबै देवता जति अमृत पिएर अमर बने । तर, दानवहरूमध्येको सारै बाठो राहुले कसो कसो यो कुराको सुइँको पाएछ र देवताहरूको पंक्तिमा उस्तै रूप धारण गरेर बसेछ । यो कुरा चन्द्र र सूर्यले पत्तो पाइहालेछन् र भगवान् विष्णुलाई पोल लगाइहालेछन् । राहुको मुखमा अमृत परिसकेको थियो , उसले त्यो निल्न नपाउँदै विष्णुले सुदर्शन चक्रले हानेर उसलाई दुई टुक्रा पारिहाल्नुभएछ । अमृत मुखमा परिसकेकाले तैपनि त्यो मरेन , शरीर बिनाको शिर मात्र भए पनि जिउँदै रहिरह्यो ।

तर, आफ्नो पोल लगाइदिएको हुनाले त्यस राहुले वर्षैपिछे चन्द्र र सूर्यलाई सताउन लाग्यो । सधैँ यो सास्ती भोग्नु परेकाले सूर्य हैरान हुनुभएको थियो  । देवताकै लागि आफूले तेत्रो सहयोग गर्दा पनि राहुले ग्रस्ने बेलामा चाहिँ उनलाई बचाउन कोही आउँदैन थिए । सबै ट्वाल्ट्वाल्ती हेरेर बस्थे । यसै कुरामा रिस उठेर सूर्यले आफ्नो प्रचण्ड तेजद्वारा सारा जगत् भस्म गर्ने सुर कसेर आफ्ना किरणहरूलाई असह्य बनाउन लाग्नुभएको थियो र सिंगो संसारलाई भस्म तुल्याउन लाग्नुभएको थियो ।

तेजोनिधि श्रीसूर्यको यो चालामाला देखेर डराएका देवताहरू ब्रह्माजीको शरणमा गएका थिए । उहाँले भन्नुभयो : त्यसको व्यवस्था म मिलाइहाल्छु नि । महर्षि कश्यप र विनताका जेठा छोरा अरुण छन् , म तिनलाई सूर्यको तेजलाई मत्थर पार्न खटाइहाल्छु नि । उनी धेरै शक्तिशाली र तेजस्वी पनि छन् । उनलाई म सूर्यका सात घोडे रथको सारथि बनाउँछु । अनि उनले सूर्यका तीखा अग्नितुल्य किरणलाई छेकिहाल्छन् नि ।

अनि यसै प्रयोजनका लागि गरुडले आफ्ना भाइ अरुणलाई पिठिउँमा राखेर समुद्रपारी पुर्‍याए, अनि ब्रह्माजीको आज्ञानुसार अरुणले सूर्यको सारथित्व प्राप्त गरे । अनि सबैलाई सुविस्ता पनि भयो । अहिले सम्म पनि बिहान बिहानै सूर्य देखिनुभन्दा अगाडि रथका अघिल्तिर बसेका उनका सारथि अरुण पूर्वबाट पहिले झुल्कन्छन् अनि तेज मत्थर भएका सूर्य त्यसपछि मात्र देखा पर्दछन् ।

0 0 0 0

एक दिन आफ्ना छोराका नजिक बसेकी विनयशीला विनतालाई बोलाएर कद्रूले भनिन् :

ए विनते ! समुद्रभित्र निर्जन प्रदेशमा अत्यन्त रमणीय नागहरूको गाउँ छ । हामीलाई त्यहाँ लिएर जा त ।

आखिर बाजीमा हारेर विनता कद्रूकी दासी बनेकी थिइन्, नाइँ भन्न सक्दिनथिन्, लाचार थिइन् । विवश भावले छोरा गरुडतिर हेरिन्, अनि कद्रूलाई आफ्नो पिठिउँमा बोकेर उड्न तैयार भइन् ।  तेजस्वी गरुडले पनि आफ्ना  एक हजार दाजु नागहरूलाई पिठिउँमा बोकेर उड्न लागे । जब पक्षीराज गरुड आकाशको असीम उँचाइमा उड्न लागे, अनि सूर्यका किरणले पोलेर सर्पहरू जति बेहोश हुन लागे । आफ्ना छोराहरूको विजोग देखेर कद्रूले इन्द्रको स्तुति गरिन् :

हे इन्द्र ! तिमी नै मेघ हौ , तिमी नै पर्जन्य हौ , तिमी नै वायु पनि हौ , तिमी नै हामी सबैका रक्षक हौ, कृपा गरेर वर्षा गरिदेऊ र मेरा छोराहरूलाई बचाइदेऊ ।

आफ्नो स्तुति सुनेर को प्रसन्न हुँदैन र ? इन्द्र पनि प्रसन्न भए , अनि मेघहरूलाई वर्षिने आदेश दिए । मूसलधार पानी पर्‍यो, समस्त धरा जलामय भयो, नागहरू पनि सन्तृप्त भए, सबैको होश आयो, सबै प्रसन्न भए । यसो गर्दा गर्दै विनताको पिठिउँमा चढेकी कद्रू र गरुडका पिठिउँमा चढेका सर्पहरू सबै रामणीयक द्वीपमा आइपुगे । त्यहाँ एउटा भयंकर लवणासुर बस्दथ्यो । त्यो अत्यन्त रमणीय वन थियो, फलफूलले लटरम्म तथा मनोहर पक्षीहरूको सुमधुर चिरिबिरी संगीतले गुलजार पनि । त्यहाँ केही बेर आनन्द लिएपछि फेरि ती सर्पहरूले फर्माइस गरे :

ए गरुड ! तँ त आकाशमा उडेर धेरै राम्रा राम्रा ठाउँ देख्दछस् , अब हामीलाई कुनै राम्रो अर्को द्वीपमा लैजा त !

यो कुरा सुनेर गरुडलाई दिक्क लाग्यो । अनि आमा विनतालाई भने :

आमा, सधैँ यी सर्पहरूले दिएको आज्ञा किन हामीले मानिरहनु पर्ने ?

विनताले भनिन् : बाबू , यिनीहरूकी आमाले छलपूर्वक मलाई दासी बनाएकी छ । अनि के गर्ने त ?

अनि गरुडले सर्पहरूतिर हेरेर भने :

सधैँ तृष्णाले जलिरहेका जिब्रा लपलपाउने हे सर्पहरू हो ! अब तिमीहरू स्पष्ट भन त, मैले तिमीहरुका लागि के गरिदिएँ भने तिमीहरूले मेरी आमालाई दासताबाट मुक्त गर्छौ ? भन, म तिमीहरूलाई के पुरुषार्थ देखाऊँ , तिमीहरूलाई के चाहिया छ, भन ।

अनि ती सर्पहरूले एकमुख गरेर भने :

ए गरुड ! तँ आफ्नो पराक्रम देखाएर हाम्रा लागि अमृत ल्याइदे न त, अनि हामी तिमीहरूलाई दासताबाट मुक्त गरिदिउँला ।

0 0 0 0

यो कुरा सुनेर गरुडले आफ्नी आमा विनतालाई माया गरेर भने : आमा ! हजुर पीर नगर्नुहोला । म हजुरलाई जेठी आमा कद्रूको दासताबाट मुक्त गर्दछु । अब म अमृत लिन हिंडें । तर, आमा ! मलाई एकदमै भोक लागेको छ । म कहाँ जाऊँ र के खाऊँ, पहिले यति भन्दिनोस् ।

विनताले छोरालाई परम वात्सल्यभावका साथ आशीष दिंदै भनिन् : श्याबास् छोरा, तँ धन्य छस्, तेरो सदा कल्याण होस्, तँ सदा विजयी भएस् । तँ यहाँबाट जा, समुद्रको टापूको एक कुनामा निषादहरु (शिकारीहरु) को निवास छ । ती जीवहिंसक हुन् , ती हजारौंको संख्यामा त्यहाँ बसेका छन् । तिनै निषादहरु तेरा भोजन हुन् । तर, एउटा कुरा सधैँ सम्झिरहनू छोरा, तिमीले कहिल्यै झुक्किएर पनि ब्राह्मणलाई चाहिँ आफ्नो भोजन नबनाउनू नि बाबू । ती समस्त प्राणीहरूका निम्ति अवध्य छन् । तिनीहरु आगोजस्तै उग्र दाहक हुन्छन् । रिसाएका ब्राह्मण भनेका अग्नि, सूर्य, विष एवं शस्त्रजत्तिकै भयंकर हुन्छन् । तिनीहरूलाई समस्त प्राणीहरूका गुरु भनिन्छ । ती सदा आदरणीय हुन्छन् । ब्राह्मण भनेका समस्त प्राणीहरूका अग्रज, सबै वर्णहरूमा श्रेष्ठ अनि सबैका पिता र गुरु हुन् ।

गरुडले सोधे : आमा, ब्राह्मणको रूप कस्तो हुन्छ? भोजनका बेला तिनीहरूलाई छुट्याउने कसरी त ? तिनीहरूलाई चिन्नचाहिँ कसरी त ?

विनताले भनिन् : जो तिम्रा कण्ठमा पर्नासाथ अगुल्टोले जस्तो पोल्न थाल्दछन्, माछाको बल्छीले जस्तै तिम्रा गलामा जो अड्किन्छन् , जसलाई तिमी केही गरी पचाउन सक्नेछैनौ, तिनै हुन् ब्राह्मण । हे बाबु , अब तिमी जाऊ, वायुले तिम्रा दुवै पखेटाको रक्षा गरुन्, चन्द्र र सूर्यले तिम्रो पृष्ठभागको रक्षा गरुन्, अग्निदेवले तिम्रो शिर अनि वसुगणले समस्त शरीरको रक्षा गरुन्, तिम्रो मार्ग विघ्नरहित होस् । तिमीलाई धेरै आशीर्वाद !

यसरी आमाको आशीर्वाद पाएर गरुड उडे । विराट् पखेटा फैलाएर मिलिक्कै उनी त्यो समुद्रको टापुमा पुगे । निषादहरूका निम्ति यमराज तुल्य बनेका गरुडले त्यहाँ पुगेर आफ्ना पखेटा फट्फटाएर यति धेरै धूलोको मुस्लो उडाए कि सारा निषादहरू भागा रे भाग गर्दै जताततै कुलेलम ठोक्न लागे । तर, तिनीहरूको दुर्भाग्य जतातिर भागेपनि गरुडले बाएको विराट् मुखमै पस्दथे र सबै उनका भोजन बन्दथे । यसरी ती हजारौं निषाद जातिका माछा मार्ने शिकारीहर पक्षीराज गरुडका शिकार बन्न पुगे ।

दुर्भाग्यवश तिनै निषादका हुलमुलमा परेर एक जना ब्राह्मण दम्पती पनि उनका मुखमा परेछन् । गरुडका गलामा आगोले पोले जस्तो पोल्न थाल्यो , अनि गरुडले भने : ए ब्राह्मणदेव तपाई कसरी मेरो मुखमा पर्नुभयो , निस्किहाल्नुस् छिटो छिटो गरेर , फेरि मेरो जठराग्निमा होमिनुभयो भने अनर्थ हुन्छ । म कुनै ब्राह्मणदेवलाई भक्षण गर्दिन, ऊ चाहे जतिसुकै पापी किन नहोस् ।

यति भनेपछि ती ब्राह्मणले आफ्नी ब्राह्मणीलाई सुरक्षा प्रदान गर्न माग गरे , अनि गरुडको मुखबाट सकुशल बाहिर निस्किएर उनलाई आशीर्वाद दिँदै आफ्नो बाटो लागे । यसरी उनले त्यो निषादको ठूलो फौजलाई पचाइदिए । त्यसले उनको हल्का नास्ता जस्तो त भयो तर वास्तवमा तिनी आधी पेट मात्रै अघाएका थिए , उनी  त्यहाँबाट उडेर अघि बढे ।

0 0 0 0

बाटैमा पिताजी कश्यपसँग उनको जम्काभेट भयो । सादर प्रणाम र कुशल वार्तापछि कश्यपले भन्नुभयो : छोरा तिमीलाई खानेकुरा त यथेष्ट पुगिराखेको छ ? कि भोकै परिराखेका छौ ?

गरुडले भने : बुवा , अरू त सबै ठीकै छ । तर हजुरले भनेजस्तै मैले खानेकुरा अघाउँजी खान पाएकै छैन । मलाई मेरा दाइ सर्पहरूले अमृत लिन पठाएकाले म जान लागेको, तर राम्ररी खाएर तृप्त नभईकन म कसरी अमृत ल्याउन सकुँला र ?

कश्यपले भने : हेर छोरा, तिमीलाई यथेष्ट भोजनको उपाय म बताउँछु, सुन । यो अगाडि देखिएको छ नि, यो एउटा ठूलो तलाउ हो, यो देवलोकसम्म पनि विख्यात छ । यसमा एउटा विशाल हात्तीले सधैँ तलतिर मुख गरेर लामो सूँड पसारेर एउटा कछुवालाई तानिरहेको हुन्छ । वास्तवमा त्यो कछुवा त्यस हात्तीको दाजु हो । तिनीहरूका बीच भयंकर शत्रुता छ । त्यो कसरी ? सुन :

परापूर्वकालमा  विभावसु नाम गरेका एकजना प्रसिद्ध महर्षि थिए । ती स्वभावैले बडा क्रोधी थिए । तिनका भाइ थिए : सुप्रतीक । ती पनि परमतपस्वी थिए । ती महामुनि सुप्रतीक आफ्नो सम्पत्ति दाजुसँग सगोलमा राख्न चाहँदैनथे । उनी सधैँ दाजुसँग भागबण्डा गरिदिन आग्रह गरिरहन्थे । दाजु विभावसुले भने : हेर भाइ, यस जगत्मा धेरै दाजुभाइहरू अंशमा झगडा गर्छन् र धनको मोहमा परेर उनीहरूमा वैरभाव हुन्छ , अनि तेस्को फाइदाचाहिँ जोरीपारीले उठाउँछन् र उनीहरूलाई लडाएर मजा लिन्छन् । अनि बिस्तारै ती दाजुभाइ आपसमा लडेरै सिद्धिन्छन् । त्यसैले यसरी रुपियाँ पैसाका लागि झगडा गर्नु राम्रो होइन । कुनै पनि सज्जन पुरुषले यस्तो कार्यको सराहना गर्दैनन् ।

वास्तवमा शास्त्रमा यस्तो आज्ञा छ : कनिष्ठान् पुत्रवत् पश्येज्जेष्ठो भ्राता पितुः समः ।

जेठो दाजुले आफूभन्दा साना भाइहरूलाई पुत्रकै रूपमा हेर्नुपर्दछ, किनभने जेठो दाजु पितासमान हुन्छ । भाइभाइमा फूट भएपछि यो आज्ञाको पालन हुँदैन । अनि एक अर्कालाई दाजुभाइ सन्देहका दृष्टिले हेर्दछन् । हे सुप्रतीक, तँ पनि सारै नै जिद्दी गर्न लागिस् । यो राम्रो कुरा होइन । तँलाई वशमा राख्न म नसक्ने भएँ अब । तँ खालि भागबण्डा भागबण्डा मात्र भन्छस्, तैले अर्को योनिमा हात्ती भएर जन्मनुपरोस् !

सुप्रतीकलाई दाजुका कुरा सुनेर झनक्क रिस उठिहाल्यो । उसले पनि भनिहाल्यो : तपाईँले पनि अर्को योनिमा पानीभित्र बस्ने कछुवा हुनुपरोस् !

यसरी रिसारिस गरेर ती दुवै भाइले एक अर्कालाई सरापे, फलस्वरूप- यी हेर , अहिले हात्ती र कछुवा बनेर यिनले तिर्यग् योनिमा झुलिरहनुपरेको छ । रोष र लोभरूपी दोषका कारण यी दुवै यो हालतमा पुगेका छन् । यिनीहरू अहिले आ-आफ्नो बलको घमण्डले चूर बनेर तानतान गरिरहेका छन् । यो माथिको सुन्दर गजराजचाहिँ त्यही भाइ सुप्रतीक हो । जब जब यो जलाशयका किनारमा आएर कराउन थाल्दछ अनि त्यो दाजु विभावसु कछुवा पनि जलाशयको सारा जलराशि हुँडलेर माथि माथि आइपुग्दछ । यिनीहरू कति भयंकर ठूला छन् भने : हात्तीको शरीर छ योजन अग्लो र बाह्र योजन लामो छ । उता कछुवा चाहिँ तीन योजन अग्लो र दस योजन गोलो छ । ती दुवैको सदा घम्साघम्सी परिरहन्छ  । चार कोस बराबर एक योजन हुन्छ भने यी कति भयंकर ठूला रहेछन्, आफैं विचार गर । हे बाबु गरुड ! तिमी जाऊ, अनि ती दुवैलाई भोजन बनाऊ अनि डम्म अघाएर अमृतप्राप्तिको महाअभियानमा जुट । तिम्रो सदा कल्याण होस्, विजयी भव !

पिताको अमोघ आशीर्वाद पाएर प्रसन्न बनेका पक्षीराज गरुड आफ्ना विराट् पखेटा फट्फटाउँदै, पिताको वचन स्मरण गरेर त्यस सरोवरमा झम्टा मारे । अनि, एकै झम्टामा एउटा पञ्जाले त्यो विशाल हातीलाई र अर्का पञ्जाले त्यो महाकच्छपलाई झ्याप्प पारेर त्यहाँबाट अनन्त आकाशको अगाध उचाइतिर उडे । त्यत्तिकै उडेर पलभरमा तिनी अलम्बतीर्थमा पुगे । त्यहाँ मेरुपर्वतमा धेरै विराट् दिव्य वृक्षहरू आफ्ना स्वर्णमय हाँगा बिँगाहरू फैलाएर लहलहाइरहेका थिए । गरुडका विशाल पखेटाहरूको हावा लागेर ती सबै हुरीले उखेल्न लागेजस्ता भए । गरुडले राम्ररी विचार गरेर एउटा भव्य महा-वटवृक्षतिर आँखा गाडे । त्यस वटवृक्षले भन्यो :

हे पक्षीराज गरुड, यो सय योजनसम्म फैलिएको मेरो जुन मुख्य हाँगो छ हजुरलाई यसैमा म स्वागत गर्छु , आउनुहोस् । अनि, यहीँ बसेर आफ्नो भोजनोत्सव सम्पन्न गर्नुहोस् ।

यो सुनेर हजारोैँ पक्षीहरूले वास गरेको त्यो विशालतम हाँगामा गरुड ओर्लिएका मात्र के थिए उनको भार थाम्न नसकेर त्यो हाँगो त गड्याम्मै भाँचियो पो । उनले आफ्ना पञ्जा राखेका मात्र थिए त्यो भाँचिइहाल्यो तर उनले मुस्कुराउँदै त्यो हाँगो आफ्नो विराट् ठुँडले पक्डिहाले । त्यस हाँगामा साठी हजार बालखिल्य ऋषिहरू झुण्डिएका थिए । ती ब्रह्मर्षिहरू त्यहाँबाट नखसुन् र नमरुन् भनेर उनले त्यसलाई भुइँमा फ्याँकेनन् । दुई पञ्जामा ती विशालाकार हात्ती र कछुवा अनि ठुँडमा त्यो विराट् हाँगो च्यापेर उनी फेरि उच्च गगनाᳯवकाशमा गोता लगाउन लागे ।

देवताले पनि गर्न नसक्ने यस्तो पराक्रमी अलौकिक कृत्य सम्पन्न गरेको देखेर ती सबै ऋषिहरू आश्चर्यचकित बने । उनीहरूले उनको महान् शक्ति र सामर्थ्य देखेर उनको नाम : गुरुम् आदाय उड्डीनः (गुरुतम भारी बोकेर उड्न सक्ने) भन्ने व्युत्पत्ति अनुसार गरुड राखिदिए र भने- आजउपरान्त यिनी यसै नामले लोकविख्यात हुनेछन् ।

अनि, गरुडचाहिँ आफ्ना बृहदाकार पखेटाहरूले बडे बडे पर्वतलाई प्रकम्पित तुल्याउँदै समस्त भूमण्डलमा उड्दै गए, तर ती बालखिल्य ऋषिहरू प्रति दयाभावले त्यो हाँगो ठुँडले च्यापिरहे, आफ्नो भोजन पनि दुई पञ्जाले समातिरहे । धेरै खोजतलाश पछि उनले आफू बस्ने उपयुक्त ठाउँ गन्धमादन पर्वत फेला पारे । त्यहाँ उनले फेरि आफ्ना पिता कश्यपलाई ध्यानावस्थामा देखे । उनले भने : बाबू, होश गर है । ती सूर्यको किरणपान गर्ने परमतेजस्वी असंख्य बालखिल्य मुनिहरू कतै नमरुन् नि , नत्र तिनीहरुले कुपित भएर तिमीलाई भस्म गराउन पनि सक्छन् ।

अनि फेरि ती बालखिल्य ऋषिहरूसँग विनम्रभावले विन्ती गरे : हे तपोपूत निष्पाप ऋषिगण, यो मेरो छोरो गरुड समस्त लोककल्याणका लागि महान् पराक्रम देखाउन चाहन्छ । यसमाथि कृपा गर्नुहोला अनि आशीर्वाद दिनुहोला । यो कुरा सुनेर तथास्तु भन्दै ती सबै साठी हजार बालखिल्य ऋषिगण सकुशल त्यस विराट् वटवृक्षको हाँगाबाट उत्रिएर तपस्या गर्न भन्दै हिमालयतिर लागे । उनीहरूको सकुशल अवतरण भइसकेपछि हाँगा च्यापेको ठूँड अप्ठ्यारो गरी चलाएर गरुडले पितालाई सोधे : पिताजी , अब यो हाँगोचाहिँ कहाँ लगेर राखिदिऊँ त ? टाढाटाढासम्म पनि प्राणीहरू नभएको कुनै ठाउँ भए हुन्थ्यो । अनि कश्यपजीले एउटा निर्जन हिमाली प्रदेशको ठेगाना बताइदिएपछि उनी क्षणभरमै एकलाख योजन टाढा त्यस हिमाली भेगमा पुगे ।

अनि त्यो सय योजन फैलिएको विशाल हाँगो त्यहीँ झारिदिए । त्यो अकाशबाट बड्याम्म तल खस्दा त्यहाँका धेरै रुखहरू सोतर भए, मणिकान्चनमय विशाल पर्वतकूटहरु चूर चूर भए । रुखमा फुलेका सुवणर्मय फूलहरुको वर्षा भयो । अनि बल्ल त्यस गन्धमादन पर्वतको एउटा विशाल थुम्कोमा बसेपछि पक्षीराज गरुड ती आफ्ना भोज्यपदार्थ त्यो विराट् हात्ती र त्यो भयंकर कछुवालाई भोजन गरेर तृप्त भए ।

प्रिय पाठकवृन्द ! महापराक्रमी, यशस्वी पक्षीराज महात्मा गरुडको बाँकी कथा अर्को भागमा है !