मेरा केही रहरहरू छन्,

पूरा हुन्छन् कि हुँदैनन् हेर्नु छ,

मेसोपोटामिया, इजिप्ट र ग्रीसको माटो टेक्नु छ,

सभ्यताको जननिलाई केही प्रश्न गर्नु छ,

यो अन्धवेगको अन्त छ कि छैन ?

शिखर चढेपछि झर्नु पर्छ कि पर्दैन ?

अभिमानको शिखर कतिसम्म अग्लिन सक्छ?

 

गौतम बुद्धलाई सुटुक्क भेट्नु छ,

थाहा पाउनुको पीडा सोध्नु छ,

चार आर्य सत्यलाई पुनर्लेखन गर्नु छ,

संसारमा दुःख छ, मानियो,

दुःखका कारण छन्, त्यो पनि मानियो,

दुःखलाई निवारण गर्न सकिन्छ, अलिकति आशा पलायो,

तर दुःख निवारणको अष्टाङ्गिक मार्ग ?

यो समयमा स्वयं बुद्धलाई पनि हम्मे पर्ला कि !

उनकै विचार सुन्नु छ !

 

यति महान आदि विद्वानलाई भेट्न सकुँला की नसकुँला,

पीपलको बोटमुनि भेटौँला की सिटी सेन्टरको क्याफेमा ?

संसारले मानेको सत्यमाथि कसरी प्रश्न उठाउँला,

म बोल्नै सकुँला की नसकुँला,

उनी पालीमा बोल्लान् कि अङ्ग्रेजीमा ?

यति ठूलो संशोधन प्रस्ताव,

मैले कागजमा लेखेर बुझाउँला कि इमेल गरौँला ?

साँच्ची, बुद्धलाई सम्बोधन के भनेर गरौँला?

सबैले भगवान भन्छन्,

बुद्ध भगवान सँगको भेटमा,

मैले पनि ‘हे भगवान ‘ भनेर पुकारेँ भनेँ,

बुद्धले के ठान्लान् कुन्नि !

 

“हे भगवान !

धर्म, पन्थ र राजनीति भन्दा माथि उठ्नुभो,

काम वासना, भोग, विलाश र चैनलाई त्याग्नुभो,

मानव हित र शान्तिको सन्देश छर्नुभो,

अहिंसालाई मार्गदर्शन मान्नुभो,

ठूला भ्रमहरूलाई चिर्न साधारण सत्य प्रस्तुत गर्नुभो,

चराचर जगत तपाईं प्रति धन्य छ,

अब त आँखा खोल्नुस् !

 

संसारको दृष्टि शक्ति, सत्ता र सम्पत्तिमा हुँदा,

कोही कसैले, कसरी सम्यक् दृष्टि राख्न सक्छ ?

मानिसको ध्येय अभिमानमा सीमित हुँदा,

कोही कसैले, कसरी सम्यक् संकल्प राख्न सक्छ ?

न्याय र सत्यका आवाजहरू कहिल्यै नसुनिँदा,

कोही कसैले, कसरी सम्यक् वाक अपनाउन सक्छ ?

कर्महरू सबै आत्मकेन्द्रित हुँदा,

कोही कसैले, कसरी सम्यक् कर्म गर्न सक्छ ?

जिउनुको अर्थ फगत भोग भएपछि,

कोही कसैले, कसरी सम्यक् जीविका गर्न सक्छ ?

लडाइँ अरूसँगको मात्र भएपछि,

कोही कसैले, कसरी सम्यक् व्यायाम गर्न सक्छ ?

ज्ञानको कसी नै आफ्नो दृष्टिकोण भएपछि,

कोही कसैले, कसरी सम्यक् स्मृति बनाउन सक्छ ?

मृत्युलाई कहिल्यै स्वीकार्नै नसकेपछि,

कोही कसैले, कसरी सम्यक् समाधि अपनाउन सक्छ ?

 

चेतना नै दुःखको स्रोत हो भन्न मिल्दैन ?

थाहा पाउनु नै दुःखको जग हो भन्न मिल्दैन ?

अज्ञानता नै सुखको मार्ग हो भन्न मिल्दैन ?

थाहा नपाउनु नै सुखको आधार हो भन्न मिल्दैन ?

तपाईंले प्रतिपादन गरेका सम्यक् मार्गहरूमा,

मानिसहरू कोही पनि हिँड्दैनन् भने,

आर्य सत्यहरूलाई पुनर्व्याख्या गर्ने बेला भएन ?”

 

उत्तर सुन्ने रहर छ,

बुद्धकै वाणीमा,

सम्भव भएछ भने,

बुद्धले माने भने,

एउटा पोडकास्ट बनाउँला !