हेडसर भन्नुहुन्छ-
“हेर् केटा! अब झुत्रेझाम्रे होइन
सुकिलोमुकिलो भएर आउनू
घाँटीमा त्यो झुत्रो गलबन्दी होइन
चट्ट नयाँ ‘टाई’ बाँधेर आउनू
टाईसॅग ठुटे चप्पल सुहाउन्न
‘लेदर’का नयाँ जुत्ता लगाउनू
‘बेल्ट’ पनि हुनै पर्छ ‘लोगो’ खिपेको
‘ब्याग’पनि हुनै पर्छ दुरुस्तै
‘बोटल’ र ‘टिफिन’ राखेको ।
हामी विद्यालय ‘बोर्डिङ’ बनाउॅदै छौँ
अङ्ग्रेजीमै आउनू, अङ्ग्रेजीमै जानू
पाठशाला अब ‘स्कूल’ हुँदैछ
हस् गुरू होइन “यस् सर” भन्नू ।”

भूपाल आचार्य

हेडसर !
तपाईॅ आफै भन्नुहोस्
शनिबार इॅट बोकेको पैसाले
म टाई किनौ कि आमाको दबाई ?
साँझ–बिहान गिट्टी कुटेको पैसाले
बाको खुट्टामा बैशाखी किनौँ कि
मेरो खुट्टामा लेदरको जुत्ता किनौँ?
अस्ति ‘लोकतन्त्र दिवसको’ दिन
साहूको भारी खेपेको ज्यालाले
म आफ्नो ज्यानमा ज्याकेट हालौँ कि
बहिनीको ज्यान छोप्ने जामा सिलाऊ ?
आज मजदुर दिवसको दिन,
सिमेन्ट ‘अनलोड’ ‘अपलोड’को ज्यालाले
ऋणको ब्याज तिरौँ कि,
स्कुलको ‘फि’ बुझाऊॅ ?

हेडसर !
म आफ्नै भाषामा हाँस्छु
म आफ्नै भाषामा रुन्छु
सपनामा पनि त म आफ्नै भाषामा हुन्छु
प्यारी आमाको, प्यारो काखमा बसेर
प्यारले सिकेको ,प्यारो मातृभाषा
तपाईको डरको छडी देखेर
म कसरी भुल्न सक्छु ?
मेरी आमाले नै नबुझ्ने भाषा बोलेर
भन्नुस् त म कसरी शिक्षत हुनसक्छु ?

हरेक दिन,
जब म स्कूलबाट घर पुग्छु
ओछ्यानबाट कराउॅदै आमा भन्छिन्-
” छोरा! मलाई दूधभात खान साह्रै मन छ”
हेडसर !
तपाईलाई जस्तै मलाई पनि
मेरी रोगी आमालाई,
उनी मर्नुअघि नै,
पेटभरि दूध र भात खुवाउने ठूलो रहर छ ।
अब तपाईॅ आफै भन्नुस् हेडसर
म पढ्न आऊॅ कि नआऊ ?

पेसा – शिक्षण
मानपुर,  दाङ