१.
 सडक कविता
टन्न खाएर डकार्दै शासक
कान थुनेर सुतिरहन्छ।
साहूलाई बुई बाेकी भरिया

उकालाे पसिना ठस् ठस् कन्छ।

आर्यश शर्मा

देखी यी सब असह्य भई
कवि सडकमा कविता भन्छ
भाेका नाङ्गा दलित पीडित
सबैकाे साझा देश कहिले बन्छ?
२.
सामुहिक आत्महत्या
तिमी
लुछाचुँडीले भत्किनै लागेकाे
कुर्सी ल्याऊ।
मसँग
पहिल्यैदेखि घाँटीमा
अभाव र असन्तुष्टिकाे
मक्किनै लागेकाे
डाेरी छ।
आऊ
घरभित्रै
सामुहिक आत्महत्याकाे
सहमति गराैँ।
३.
  ग्रिनेड
सानाे
तर घातक
शान्त
तर विस्फाेटक
मुठ्ठी जत्राे
तर खँदिलाे
गाेजीमा आजभाेलि
ग्रिनेड बाेकेर हिँड्छु
पिन थुतेर
दाँत काेट्याउँदै
जीवन झ्वाट्टै छाेट्याउन सक्ने
सामर्थ्यकाे अनुभूतिले
मलाई मुक्ति दिन्छ
मृत्युुभयबाट
मलाई जुक्ति दिन्छ
जीवन बाँच्ने
नाच्ने

डिजे म आफैँ।

आर्यश शर्मा

४.
  बाघचाल
एउटा कुरा,
बाघचाल खेल्याछाै?
सिधासिधा गाई पछाडि गाई लागे,
चारैवटा बाघ थुनिन्छ।
र, अर्काेकुरा,
जब ब्वाँसाे राजा चुनिन्छ,
जंगलमा,
मृगहरुकाे मुर्दावाद सुनिन्छ।