rupa thapa

ठाउँ ठाउँमा फाटेका धर्तीका

ती ध्वजाहरूलाई नियाल्दै

जब जब म सोच्ने गर्छु

मेरी आमाको चिरिएको पैँतालो

साँच्चै कति थाक्यो होला

जिन्दगीका ती उकाली र ओराली झर्दा झर्दै

 

फेरि पनि मेरी आमाको मुस्कान त त्यस्तै थियो

जति खेर अभावका जाँताले पिँधिएर पनि

ती मखमली सपनारीहरूलाई समेटेर

उनी एउटा माला उन्दै थिइन्

 

सियोमा उनेको एउटा मसिनो धागोले

सिउँदा सिउँदै जिन्दगीका घाउहरूलाई

भुसुक्कै बिर्सिछिन् मेरी आमाले

आफ्नै घाउमा भने मलम लगाउनलाई

 

खै कसरी भरि रहिन होला

मेरी आमाले ती भण्डार कोठालाई

आफू सधैँ रित्तो रहेर पनि

 

त्यान्द्रा त्यान्द्रा बटुलेर

रहरका ती भुँड्कोहरूलाई रित्याएर

जिन्दगीका ती असङ्ख्य भिरहरूलाई सम्याएर

साँच्चै कसरी बनाइन् होला

उनले जिन्दगीको सिङ्गो राजमार्गलाईमात्र

मेरा निम्ति

 

म खिस्स खिस्स मुस्कुराउँदै

जब जब नियाल्छु मेरी आमाको मुहार

सोध्न मन लाग्छ

साँच्चै आमा सिङ्गो त्यो एउटा मुटुभित्र

तिमी सिङ्गो त्यो धर्तीलाई कसरी अटाउँछ्यौ

 

 

विदुर नुवाकोट