ऋषव देव घिमिरे

“आहतबाट उन्मुक्ति नै त हुन् हरेक प्रकारका राहतहरू” सेवाभावबाट मानवीयता जागृत भै मानव कलयाणमा समर्पित हुन्छन् राहतहरू जसले घाउमा मलमको काम गर्छन् ।

तिथि, मिति, बेला, गोचर र समय यकिन गरेर लेख्न नसकिने विषय हुन् मानिसका जीवनमा आइपर्ने दुःखहरू । कतिबेला के र कुन विषयले आहत पुर्‍याउँछ र धरमराउँछ मानवीय सभ्यता भनेर किटानीका साथ भविष्यवाणी गर्न सकिन्न न त जीवनमा आइपर्ने भवितव्य नै ।

अनेक प्राकृतिक विपत्ति, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि लगायत ठूला महामारीलाई हाम्रा पुस्ता, हामी र हाम्रो समाज तथा विश्व समुदायले व्यतीत गरिसकेका छौँ र गरिरहेका छौँ । पहिरोले बस्ती बगाएका कुराहरू, विनाशकारी भूकम्पले गाउँ नै उजाडिएको प्रसंग, औलो, हैजा, आँधी, सुनामी अन्य महामारीका कारण खेप्नु परेको पीडा त्यस्तै गहिरा गहिरा अनेकौँ घटना र त्यसपछिका दुःखहरू । यस्ता प्रकृति प्रकोपजन्य घटनाहरूले मानवीय जीवन र जीवनयापनलाई तहसनहस पार्छ । त्यही तहसनहस अवस्थाको कठिनाइलाई, अफ्ठ्यारोलाई, पीडालाई थोरै भए पनि सहयोगले सान्त्वना दिनु नै राहत हो । भौतिक होस् अथवा भावनात्मक यस्ता सहानभूतिले मानवीय उच्चताको पाठ सिकाउँछ भने पीडितलाई केही सहयोग मिलेको हुन्छ ।

पीडाको यही आहतपूर्ण अवस्थामा मानिसले खोज्ने राहत स्वरुपको वस्तु भनेको भावनात्मक र भौतिक सहानुभूति हो, जो भोकसँग लड्न चाहिने राहतजन्य वस्तुको अपेक्षा हरेक आहत पुगेकाहरूले गरिरहेका हुन्छन् । बोलीको, वस्तुको र विवेकको राहत नै दुःखीहरूका निमित्त आवश्यकीय सेवा बनेर आओस् भन्दै पर्खिरहेका हुन्छन् मानिसहरू राहतको रिमझिमे उज्यालो जुन रहर नभई बाध्यता हो ।

विश्वलाई आक्रान्त पार्दै रमाइरहेको कोरोनाले संसारमा महिनौँ राज गरिसकेको छ । २०२० जनवरी ३१ का दिन चीनको वुहानबाट संक्रमणीय चक्रको रुप धारण गरेर कोभिड १९ वैज्ञानिक नाम पाएको रोगले यतिबेला पूरै विश्व त्रसित र आतङ्कित बनेको छ । रोग र संक्रमणको फैलावट गतिवान वायुयानले बोकेर लगेको द्रुत “पार्सल” जत्तिकै बनेर घरघर भित्रिन पु्गेको अदृश्य रुग्णताका कारण संक्रमितहरुको संख्या दिन दुई गुणा रात चौगुणा बनेर फैलिरहेछ र विश्वले विहङ्गम विपत्ति बेहोरिरहेको छ । ठूलो संख्यामा मानिसहरू आहत भएका छन् र दिनानुदिन संक्रमितहरूको संख्या उच्च सूचाङ्कमा छ । विश्वका प्राय सम्पूर्ण राष्ट्रहरू कम तथा बढी कुनै न कुनै रुपमा प्रभावित छन् । अल्पविकसित र गरिव राष्ट्र र त्यसका जनता नै यसको मारमा बढी परेका छन् । हामी अन्योलमा छौँ । गृहबन्दीमा जीवनलाई सुरक्षित राख्ने उपायमा सारा संसार लकडाउनमा प्रयासरत छ । विश्व नै यतिबेला त्राहिमामको स्थितिबाट गुज्रिरहेको छ । सान, सौकात, धन, दौलत, व्यापार, व्यवसाय, उद्यमशीलता आदि सबै थाँति राखेर मानिसहरू आफ्नो जीवन रक्षा मै केन्द्रित रहन बाध्य यो समयले जीवनभन्दा ठूलो अरु केही हुँदो रहेनछ भन्ने पाठ सिकाउँदैछ । तर सबैभन्दा बढी पीडा मजदुर, गरिब, ज्यामी र दिनकै ज्यालादारी गरेर खाने भुइँमान्छेलाई पाइरहेका छन्, जोसँग परिश्रम र मजदुरी नै जिउने माध्यम थियो । सामान्यतया आम मानिसलाई पिरोल्ने भनेको आफ्नै मनोविज्ञान र भयले पनि रहेछ ।

अनुशासनका नियमहरू अवलम्बन नगर्दा, प्रकृतिलाई दुरुपयोग गर्दा, जीवनलाई अति कृत्रिम बनाउँदा मानव जीवनले दुःख पाइरहेका छन् । कोरोनाको उद्गम र फैलावटका अनेकौँ टिप्पणीहरू मानव निर्मित जीवाणु, मानव सभ्यतामाथि खेलबाड गर्ने कुचेष्टाले जीवाणुको निर्माण गर्‍यो अथवा मांसहार चिजबाट यसको उत्पत्ति भयो भन्ने जस्ता अपुष्ट र अडकलहरु । कारण जे भए पनि यसले मानिसलाई दुःखको घनघोर सागरमा डुबाइरहेछ र प्रतिपल मृत्युको आभाष गर्न बाध्य पारिरहेको यथार्थ छ । मानिसलाई आफ्नो औकात चिन्न बाध्य पारिरहेको यो समयले घमण्डीलाई शालिन, क्रुर मान्छेलाई दयालु र स्वार्थीलाई दिनहीनप्रति सेवा भावना र बलवानलाई मृत्युचेत जागृत गराएर पीडाप्रति करुणा उत्पन्न गराइरहेको छ । जस्तो कि देवकोटाले आफ्नो पहिलो कविता “घनघोर दुखः सागर संसार जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई” भने झैँ कोरोना कोभिड उन्नाइसले बीसमा उत्पात मच्चाइरहेछ र  जीवन र मृत्युको मध्यमा कतिदिन अन्योल बहोर्नु पर्छ अझैसम्म यकिन छैन ।

राहत वितरणका लागि तयार राखिएका खाद्य सामग्रीहरू

हुनेखानेलाई विपतले थोरै अत्याउला तर हुँदा खाने, कमाएर खानेलाई विपदले पीडा दिन्छ । विपदको घडीमा सुखानभूति को सानो झिल्को नै राहत हो, जो चिसो अथवा सर्दीबाट उन्मुक्तिको लागि गर्मी अर्थात न्यानो, प्रचण्ड गर्मीमा शीतलता, त्रासको अपेक्षा अनुराग, अभावमा मिल्ने सम्पत्ति हो भने भोकको लागि भोजन । हरेक जीवले आफ्नो अवस्था अनुरुपको जीवन यापन गरी नै रहेका हुन्छन् कतिलाई गराइरहेको हुन्छ । हाम्रो इतिहास परोपकारमय छ । हाम्रा शास्त्रीय मान्यताहरुलाई हेर्ने हो भने पनि मानिसले आफू भोजन गर्नुपूर्व भूमि, देवता, गाई, काग, कुकुर आदिलाई खुवाउने र छुट्याउने प्रचलन अझै छँदैछ । साधु, गरिब र दीनदुःखीलाई भोजन गराउनु, सतपात्रलाई दान दिनु आदि कर्म हाम्रा सनातनीय कर्म मात्र होइनन् अपितु यो सेवा हो र प्राणी मात्रको पूजा हो भन्ने कुरा चेतनशील प्राणी मानिसले बुझेका छन्। यिनै मान्यता र चेतनाका कारण मानिसहरू सेवा, परोपकार र पुण्यका कर्ममा कुनै न कुनै रुपमा जोडिएर खटिएका भेटिन्छन् र मानवीय उच्च संवेदनालाई प्रमाणित गरिरहेका छन् । सबैभन्दा ठूलो परोपकारमयी त प्रकृति छ, प्रकोप अपवाद छोडेर । जस्तो कि नित्य निरन्तर उदाएर सूर्यले परोपकार गरिरहेको हुन्छ । अविरल, अविराम नदिले आफ्नो प्रवाहमार्फत सेवा पुर्‍याइरहेको छ । गाई सधैं साधु बनेर मानवीय रक्षा र हितका निमित्त अमृत बगाएर सेवारत छ । प्रकृतिका हरेक कणबाट नै जीवनको अस्तित्व छ त्यो मानवीय जीवनका लागि प्रकृतिको निश्वार्थ परोपकार हो । सेवा र  परोपकारका थुप्रै शाश्वत चिन्तनद्वारा नै मानिसको शरीर पनि परोपकार र सेवाको निमित्त हो भन्ने भावना कुनै न कुनै प्रकारले मानिस भित्र कहीं जागृत त कहीं सुषुप्त भएर रहेकै हुन्छ । उल्लेखित दृष्टान्त भन्नुको तात्पर्यसँग वर्तमान समय र प्रकृतिले निम्त्याएको नियति र कोरोना कहर त्यसको जहरले दिएको पीडासँग जोडिएको छ जो मृत्युसँग भन्दा भोकसँग त्रसित छन् ।

गुडान, उडान र जलायान सबै सबैले विश्राम लिन बाध्य यो समयमा अस्पताल र स्वास्थ्यकर्मीलाई चर्को व्यस्तता छ जीवनलाई दाउमा राखेर मानवीय सेवाको नाउँमा खटिइरहेका छन् त्यो सेवा नै हो । सम्पन्न मुलुकले गरिब मुलुकलाई औषधि, परीक्षण सामग्री उपलब्ध गराएको छ त्यो पनि सेवा अथवा राहत हो । बन्दाबन्दीमा टाढाटाढासम्म हिँडेर गैरहेकालाई खाना, पानी जुत्ता थोरै भए पनि गाडीको सेवा त्यो पनि राहत हो । एक किसिमले भन्दा अफ्ठयारोमा परेकालाई सुगम पार्न सहयोग गर्न नै त राहत हो यो नितान्त सेवा भावसँग जोडिएको छ । आज कोरोनालाई मानव विनासको  प्रादुर्भाव नै भन्दा पनि फरक नपर्ने यो पट्यारलाग्दो समय गृहबन्दीमा छ । मानिसले उपभोग गर्ने वस्तु या नगदको संचय वा मौज्दात निश्चित समयका लागि गरेका हुन्छन् । दैनिक या मासिक आयका भरमा जीवनयापन गर्ने परिपाटीका मान्छेहरू थुप्रै छन् यो विश्वमा । दैनिक ज्याला मजदुरी गर्नेको अवस्थालाई चित्रित गरेर लेख्ने हो भने यही विषयको मात्र थुप्रै अध्यायहरू बन्छन् । कोरोनाले अस्तव्यस्त यस समयमा, गृहबन्दीको विवशतामा आम मानिसले भोगिरहेको अभावलाई हरेक देशले आफ्नो हैसियतअनुसार राहत वितरण गर्दैछन्, त्यो पनि सेवा हो । राहत दिनसक्ने धनी मनहरुले आफूले सक्ने सेवा गरिरहेका छन्, दिन नसक्ने ले सान्त्वना र श्रमले सेवा पुर्‍याइरहको यस्तो पुनित कार्यको प्रसंशा जति गरे पनि कम हुन्छ ।

समय धमिलो छ । अन्योल समयको मध्यमा म स्वयं कोरोनाका विविध समाचार श्रव्य र दृश्यका खैरा, फुस्रा, काला, ध्वाँसे र मलिन रङहरूमा रङ्गिएको छु । कतै समाचारमा, कहिले सामाजिक सञ्जालमा, कहिले मानवीय सेवा र सद्भावमा त कहिले आफ्ना र आफन्तका दूरभाष सम्वादमा मेरो उपस्थिति र सहभागिता हुने गरेको छ । यतिबेला कोरोनासँग हारिरहेको वैज्ञानिक युगको सामना गर्दैछ संसार । जीवन ठप्प छ र रोग मात्र समयकै हाराहारी भएर दौडिरहेको छ । मानिसहरू भुसुनासरह मरिरहेको यो दुःखद घडीमा पुर्‍याएको सेवा, सुविधा, सम्वेदनशीलता, तदारुकता र राहत सम्झन्छु, सम्झदा सम्झदै नाटकको एउटा पात्रका रुपमा धिक्कार्नुको भूमिकामा आफू उभिएको अनुभूति गर्छु र केही गरौँ न भन्ने अभिप्रायले प्रेरित हुन्छु ।

सबैभन्दा ठूलो दुःख गरिब हुनु त्यसमाथि विपत्ति आइलाग्नु । गरिबका विवशताले सधैँ चिमोटिरहने समय । दिनकै कमाएर खानपर्ने मानिसले बन्दाबन्दीमा कसरी सास राख्ने होला, बालक, वृद्ध, रोगी, असक्त, असक्षमहरुले त झन कसरी ! यस्तो विषाक्त समयमा मानिसको जीवन जोगाउनु र दुःखबाट छुटकारा दिलाउनु नै त मानवीयता हो । थुप्रै राष्ट्राध्यक्षहरू, राष्ट्र प्रमुख, शासक, प्रशासक यतिबेला भोकसँग लडिरहेका मानिसहरूलाई राहत दिने कार्यक्रम र अभियानमा संलग्न र सरिक छन् । मेरो सम्वेदनशीलताले केही सेवाको काम गरौं भन्ने सोचिरहेको थियो । मानिसको शरीर भोजन बिना चल्न सक्दैन । भोजनको अभावमा रोगसँग लडने क्षमता पनि हुँदैन । भोक र भित्ताको चिन्ता दैनिक ज्यालामजदुरी गर्ने र विपन्न वर्गलाई नै बढी हुन्छ । केही जुझारु युवा तथा समाजसेवीहरू संलग्न भएर दैनिक गुजारा चलाउन मुस्किल भएका मानिसहरूलाई भोजन व्यवस्थापन गर्ने कुरा अगाडि बढायौँ । मानवअधिकारकर्मी गुनराज प्याकुरेल भाइको क्रियाशीलता र समन्वयमा स्थानीय युवा क्लब तथा केही सामाजिक संघसंस्था पुण्य कर्ममा जुट्यौँ । प्रारम्भमा बयानब्बे जनाबाट सुरुवात भएको राहत स्वरुपको भोजन खानेहरु सङ्ख्या बढदै गएर चार सय सैंतीससम्म पुग्यो र अहिले निरन्तरतामा छ । उदारमना केही व्यक्ति र स्वामी चैतन्य कृष्ण प्रणामी ट्रष्टले खाद्य सामाग्री र थुप्रैले गरेको तन, मन, धन र श्रमको मूल्य नै भोजन राहतको सौन्दर्य थियो । खाना खुवाउने सबैको सन्तुष्टि नै भोजन राहतको सुन्दर पक्ष बन्यो । यस्तो बेलामा यति उपकारी कर्ममा सहभागी हुनसक्दा आफूले खान पाइरहेको अवसरप्रति धन्य लाग्छ ।

युगगुगान्तदेखि हाम्रा शास्त्रले भनिरहेछन् ‘सेवा हि परमो धर्म ’ आज धन्य लाग्छ र अझै बढी केही गर्न पाए हुन्थ्यो भन्ने भावनासँग जहाँ हरेक दिन साथीहरु खना बनाउँछन् उत्साह भरेर । हावा, हुरी, पानी केहीले छेक्न सकेको छैन, रोक्न सकेको छैन र पुर्‍याउनलाई बाँध हाल्न सकेको छैन । ती अन्नका दानाभरी अभावमा भोकै रहन बाध्य मानिहरुका लागि जीवनदान देख्छु म । अनि जब थरीथरी मानिसहरु मात्र बाँच्नका लागि खानाको लाइनमा बस्छन्, बूढाबूढी केटाकेटी, रोगी, असक्त अनि मन भरभराएर आउँछ, मन मनसँगै संवाद गर्छ परोपकारको इतिहास मानवीय सभ्यताको सन्चालन हो । परोपकार भन्दा ठूलो धर्म केही छैन । अनि जब मुस्कुराउँछ खाना समाएर पीडित त्यहाँभन्दा आनन्द लाग्ने मुस्कानको सौन्दर्य अर्को भेटदिनँ म । सेवा त संसारको सर्वोत्कृष्ट सौन्दर्य रहेछ मलाई त्यस्तै प्रतित हुन्छ ।

राहतले दिने भनेको खुसी नै हो जो निस्वार्थ हुन्छ । अन्योल समयमा कसरी बाँच्ने भन्ने अवस्थामा एकछाक खान पाउनु शरीरमा प्राण हाल्नु नै हो भन्ने लाग्छ जस्तो कि रोइरहेकालाई फकाउनु, दुखिरहेकालाई सुम्सुम्याउनु लडेकालाई उठन प्रेरित गर्नु । तथापि स्थानीय, प्रदेश तथा अन्य ठाउँमा प्रचारे समाजसेवीहरुले राहत वितरण गरेको दृश्य यो लेखकका लागि आहत नै बन्न पुगेको छ । एउटा सानो राहतको थैलो दिनेको भिड मानौ वैतर्णी तर्न गौ दानको दुनु समाते होस् । यस्तो देख्दा मानवताको खिल्ली उडाएरहेको प्रतीत हुन्छ । किनकि मानव सेवा त मानवीय संवेदनशीलताको समीप पुगेर जीवनयापनमा सहयोग गर्नु हो मानवीय विवशताको खिल्ली उडाउनु होइन । यस्ता दृश्यहरुले मानवीयता हराउँदै गएको चिन्ता उत्पन्न हुन स्वभाविक हो ।

बेसहाराहरुको सहारा राज्य हुनपर्ने हो । व्यवस्था त राज्यले नै गर्नुपर्ने हो तथापि कति अवस्थामा राज्य कर्तव्यविहीन र जनता अधिकारविहीन भएको आभास नभएको होइन ।  तर कुनै पनि राहत वितरणको चरणले राहत आवश्यकता कि राजनीति भन्ने अनुभूति पनि गराइरहन्छ । सामाजिक सञ्जालमा मुस्कुराइरहेका यस्ता सामग्री हेरेर आफैँलाई चिमोटन सिवाय केही छैन । २०७२ साल को विनाशकारी भूकम्प पश्चातका राहतले कतिपयको जागिर गुम्यो । कति अझै अख्तियारमा तारिख धाइरहेका छन् । राहत सामग्रीको गुणस्तरीयता सम्बन्धी मापन र गुणस्तरहीन वस्तुको खिल्ली उडाउने काम अझै जारी छ । त्रिपाल, जस्तापाताका अतिरिक्त खाद्यान्न राहतको रोइलो अझै सुनिदै छ । भूकम्पमा आफैँ संलग्न भएर जस्तापाते “टनेलघर” निर्माण गरियो, कतिले साँच्चै राहतको अनुभूति गरे कतिले गाईगोठ बनाए । अनावश्यक रुपमा पनि निःशुल्क पाएको राहतलाई चुकै भए पनि खानु पर्छ भनेर ग्रहण गरे । एक ठाउँमा राहत वितरण गर्न जाँदा त चिउरा त खाँदैनौँ चाउचाउ भए दिनोस् भनेको सम्झना कानमै छ । राहत चाहिनेलाई तात्कालीन जीवनयापनको सामान आवश्यक कि वस्तुको रोजाई भन्ने कुरा यतिबेलासम्म बुझ्न सकिएको छैन । यो भनाइको उद्देश्य विगतको विकृति नदोहोरियोस, राहत कसका लागि आवश्यकता छ, त्यही आवश्यकतासम्म पुगोस् भन्ने हो, जसलाई रोजाई होइन, पाउनु ठूलो कुरा बनोस् ।

खोला, खोल्सी, खोच र खमारे वनको सेपिलो भागतिर हिउँदे याममा कुहिरोले नछोडे जस्तै यतिबेला कोरोनाको कुहिरोले विश्व सङ्कटकालमा छ । लाखौँ मानिसलाई आफ्नो शिकार बनाइसकेको कोरोनाले अझै पनि त्रास र सन्त्रासका बीचमा मानवीय जगतलाई रुमल्याउँदै छ । संक्रमणको भयावहतासँगै खान नपाउनेहरुको पेट भोकले कोतरिरहेको छ । राहतको पर्खाइमा छन् साँच्चै चुल्हो नबल्नेहरू । कति मान्छे आवश्यकता बिना पनि राहत सामग्री संकलनका निमित्त लामबद्ध छन्, निःशुल्क अनुदाने राहतको लाइनमा । साँच्चै राहत आवश्यक पर्ने मान्छे र परिवार राहतविहीन छ, पहुँचविहीन छ । बाँच्नलाई अफ्ठयारो परेको यो अवस्थामा मानव सेवा नै ठूलो धर्म हो । आवश्यकताले रन्थनिएको मान्छेलाई थोरैतिनै आवश्यकता पूर्ति गर्नु नै त हो मानव सेवा, त्यो बिरामीलाई होस्, खान नपाउनेलाई होस्, लाउन नपाउनेलाई होस् अथवा गाँस, बास, कपासको होस् ।

मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबका सब ईश्वर बन्दी रहेको यो अवस्थामा मानव नै ईश्वर हो भन्ने कुरा सेवाभाव तथा परोपकारले प्रमाणित गर्दैछ । एक मानवलाई अर्को मानवप्रति पैदा हुने संवेदनशीलता नै वा करुणा नै मानवता हो । मानवता नै ईश्वरको रुप हो र राहत पनि मानवता अर्थात् ईश्वरीय कार्य हो । गाउँ, टोल, बस्ती, शहर, देवालय, शिवालय, चर्च, मन्दिर, मस्जिद लगायत सामाजिक संघसंस्था र व्यक्तिहरू जो मानवताको ज्ञान भएका छन्, उनीहरु मानवीय सेवा र भोजनका लागि खटिएका छन् । खान नपाउनेहरू कहीं न कहीं पुगेर जो मिलेको खाएर कोरोना जित्ने आत्मबल सङ्गालिरहेका छन् । नराम्रो त त्यतिबेला लाग्छ, जब कोरोना कहरका यावत वस्तुको खरिद, औषधी, उपकरण, सुरक्षा सामाग्री आदिको कमिसनको राहत थुपार्न व्यग्र मान्छे नै हुन्छ र धिक्कार स्वतः निस्कन्छ यो नश्वर जीवनको उपहास गरेको देख्दा ।

संसार यस्तै छ । कोही मरिरहेका छन् । कोही मरेकाहरूलाई अझै मार्न उद्यत छन्  भने कोही दिनरात कसरी जुटाउने र पीडित समक्ष पुर्‍याउने भन्ने चिन्तामा ग्रस्त पनि ।

राज्यको मुख ताकेर बस्दाबस्दै गरिबको बेहाल भैसक्छ । हाम्रा राहत योजनाहरू कति प्रभावकारी, कति लक्षित वर्ग केन्द्रित र कति उपलब्धिपूर्ण छ र छन् भन्ने कुनै आंकलन र लेखाजोखा छैन। माथि उल्लेख गरेका राहतसम्बन्धी प्रतिनिधि घटनाजस्ता भोगाइहरू थुप्रैसँग हुन सक्छन् । सबैतिरबाट वर्तमान समयमा वितरित राहत र सरकारले पु्र्‍याएका राहतजन्य सेवाको विवेचना गर्नै पर्दछ । सधैं हामी विपत्ति कोष निर्माण गर्छौं, रकम जम्मा गर्छौं, आखिर पाउनु पर्नेले राहतमा के पायो भन्दा केवल आश्वासन भन्ने जस्तो भएको छ । कोरोना कोष के का लागि र कसले के कस्तो राहत, सेवा, सहयोग र सुविधा पायो भन्ने प्रश्न कालान्तरमा पनि ज्यूँका त्यूँ नरहला भन्न सकिन्न । कोरोनाको विपत्ति टरेर जाओस् । राहतको रोइलो भोलिका दिनमा देख्न, सुन्न र भोग्न नपरोस्। राहत वितरण र प्राप्तिका लागि अदालतको ढोका पुग्न नपरोस् । सरकारका नाममा अन्तरिम आदेश जारी गराउन नपरोस् । यो हामी सबैको सदिच्छा हो । एकान्तबास, गृहबन्दी वा बन्दाबन्दी जे भनौं, हामीले चाहेर स्वीकारेका होइनौँ । यो बाध्यताको उपज हो । राहत रहर होइन, बाध्यता हो । रहरले राहत संकलन गर्ने र लिनेहरुलाई लायकका नायक भन्न मिल्दैन । विशुद्ध सेवाभाव जागृत गर्ने र गराउने सोच, शैली र संस्कृतिको विकासमा स्वयंले आत्मानुसाशनको नियम पालना गर्नु पर्दछ यस्तो दुखद् घडीमा ।

राहतमा राजनीति नहोस् । राहतको रोइलो विपत्ति, महामारी र अनिकालहरूमा रीति र रिवाज बनेर नआओस् । पटक पटक भोगेका राहतसँग सम्बन्धित घटनाक्रमले सिकाओस् कि राहत आवश्यकता हो, रहर होइन । अन्योलको यस घडीमा जसले जहाँबाट जे गरेर सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यस विपदको घडीमा भोकले कोही मर्न नपरोस् । राज्य त छँदैछ, व्यक्तिगत, समूहगत रुपमा मानवीय सेवा तथा उद्धारको परिणामले आँखाका आँसुहरु पुछिऊन्, भोकका ज्वालाहरु शमन हुन्, दुःखेकाहरुले सान्त्वना पाऊन् र लर्बराउँदै भए पनि जीवन उठोस् । जसले जे गर्न सक्छौँ त्यही गरौँ, जहाँबाट सकिन्छ त्यहीँबाट गरौँ । सेवा नै परमधर्म हो, मानव धर्म नै सबभन्दा ठूलो धर्म हो । यो संसारको सर्वोत्कृष्ट जीवनको सम्मान वा रक्षा साना साना सहयोग वा सेवाभावबाट सम्भव छ भने हामी सक्नेले अगाडि सर्नै पर्छ  । संसारको सौन्दर्य मानवलाई मानवताका हरेक कार्यबाट अझै सुन्दर बनाउन सकिन्छ । सेवाभावले, सेवाकार्यले यो अफ्ठयारो समय सहज बनोस् । अभाव र आवश्यकताका पूरक बनेर आउने राहत मुस्कान बनोस्, रोइलो होइन ।