‘मामु ! बाबालाई एक्लै छाडेर हामी कहाँ जाने ?’ छ बर्षे छोराले कुर्थाको फेरो समात्दै सरलालाई प्रश्न ग¥यो, ‘बाबालाई खाना पकाएर कसले खुवाउँछ ?’

‘हामी जता गए पनि तँ खान पाउँछस् ।’ सरलाले निष्ठुरता दर्साउँदै थपिन्, ‘तेरो बाबाको त्यत्रो चिन्ता भए बस् बाबासँगै !’

नन्दलाल आचार्य

चक्रेले टुलुटुलु आमाको अनुहार हेरिरह्यो । आँखाभरि आँसु बनायो तर एक शब्द पनि बोलेन ।

उसको मनमा मामुप्रति घृणा र बाबाप्रति माया जागेर आएको थियो । तर, ऊ आमाको साथ छोड्न सक्दैनथ्यो । बाबाको हात पक्रेर रहन पनि सक्दैनथ्यो । खाना खान, कपडा लगाउन, स्कुल जान, होमवर्क गर्न र सुत्न उसलाई मामुको साथ चाहिन्थ्यो । मामुले झर्कोफर्को गर्दा भने ऊ चुप रहन्थ्यो । त्यसबेला बोलिराखे झापड खाने निश्चित थियो । तसर्थ चुप रहनुमै भलो हुने ठानेर काम गर्थ्यो ।

सरलाले ठूलो पोको बोकेकी थिइन् । त्यसभित्र नयाँ–नयाँ कपडा थिए । गलामा पर्स भिरेकी थिइन् । पर्सभित्र पैसाको बिटो थियो । सुन–चाँदीका गरगहनाहरू थिए ।

उनको दाहिने हात पक्रेर चक्रे लुखुरलुखुर हिँडिरहेको थियो । उनी पनि आँखा परपर हेर्दै एक तमासले पाइला अघि सारिरहेकी थिइन् ।

चक्रे उभिन खोज्थ्यो । आफ्नो घरतिर फर्केर हेर्थ्यो । सरला झड्कारेर अघि बढाउँथिन् । ऊ निरुत्तर अघि बढ्न विवश थियो ।

निकैबेर हिँडेपछि नयाँ ठाउँ आयो । चक्रे त्यो गाउँठाउँमा कहिल्यै पुगेकै थिएन । उसलाई बाहिरै उभ्याएर सरला दोकानमा पसिन् । निकैबेरपछि बाहिर निस्किन् ।

पसलेले चक्रेको हात समात्यो र हातमा कुराउनीको डल्लो राखिदियो । सरलाले चाउचाउ, भुजिया र बिस्कुट किनेर चक्रेको हातमा थम्याउँदै भनिन्, ‘यहीँ बसेर यी खानेकुरा खाँदै गर्नू । म मान्छेसँग भेट गरेर छिट्टै फर्कन्छु ।’

खान पाएपछि चक्रेले मुन्टो हल्लाएर स्विकारोक्ति जनायो । सरला दोकानबाट निस्कनासाथ एउटा धम्मरधुस अधबैँसे देखा प¥यो । उसले सरलाले बोकेको पोको आफूले बोक्यो । र, उनीहरू हाँसखेल गर्दै अघि बढे ।

‘केके ल्यायौ त ?’ अधबैँसेले सोध्यो, ‘हर्केलार्ई कसरी छक्याएर आयौँ त ?’

‘लत्ताकपडा, सुनचाँदी, रुपियाँ पैसा सबैथोक ल्याएँ,’ सरला भन्दै गइन्, ‘त्यो लोग्ने नामको हर्के ज्वरोले इन्तु न चिन्तु थियो । डेँगु लाग्यो कि क्या हो ! त्यसकै अगाडि समान मिलाएँ । हिँड्न लागेकै बेला चक्रेले कपडाको फेर पक्रिहाल्यो । रुवाउँदै आउन मनले मानेन । यतैको पसलमा यसलाई राख्दै गर, खान लाउन दिँदै गर भनेर तीन हजार रुपियाँ पसलेको हातमा राखिदिएर आएकी हुँ ।’

‘लौ, ठीक गरिछ्यौ,’ अधबैँसेले भन्यो, ‘यदि तिमी चाहन्छ्यौ भने हाम्रो घरजम व्यवस्थित भएपछि उसलाई पनि यतै ल्याउन सक्छ्यौ ।’

त्यसबेला सरला खुशीले फुरुक्क परेकी थिइन् ।

उनीहरू गफ गर्दै अघि बढ्दै गरे । केही बेरमै नदी आयो । नदीमा निकै पानी थियो । पहाडको नदी वेगले बगिरहेको थियो । कसैको सहराविना तर्न सक्ने अवस्था नै थिएन । पुल पनि थिएन । नाऊ त छँदै थिएन । अझ मानिसहरूको आवतजावत पनि एकदमै पातलो थियो ।

नदी डिलमा पुगेर उनीहरू एक क्षण सुस्ताए ।

‘तिमीलाई डोहो¥याएर र समान बोकेर एकैचोटि तार्न म असमर्थ छु,’ अधबैँसेले नरम पाराले भन्यो, ‘पहिले म समान तार्छु अनि तिमीलाई तार्छु, हुन्न ?’

अधबैँसेको मोहनी बोलीमा लठ्ठ परेकी सरलाले विनासोचविचार स्वीकृति जनाइन् । साथमा भएको पर्स कानका गहना, हातको औँठी र नाडीको घडी सबै भिज्छ, हराउँछ भनेर अधबैँसेको जिम्मा लगाइन् ।

खुशी हुँदै अधबैँसेले लिएर हिँड्यो । आरामले नदी तर्यो । र, फर्केर भन्यो, ‘बिरामी लोग्नेलाई अलपत्र छाडेर मसँग पोइल आउने धोकेबाज महिला ! तैँले मलाईंचाहिँ धोका दिन्नस् भन्ने के ग्यारेन्टी ? अब फर्केर जा । छोरालाई डोहोर्याउँदै जा । र, पतिको सेवा गरेर खुशी तुल्या अनि उतै रमा । मसँग घरजम गर्ने सपना बिर्सी दे । यसैमा तेरो कल्याण छ ।’

सरला सुनेको सुन्यै भइन् । हेरेको हेरै रहिन् । एक वाक्य पनि बोल्न सकिनन् । जीवनभरि जोडजाम गरेका सारा सामानहरू आँखै अगाडि पराईले लग्यो । त्यस अधर्मीलाई केही भन्न र गर्न नै सकिनन् ।

‘म तँसँग घरजम गर्ने लालची कदापी हैन । म त तेरो लटीपटीको लोभी मात्रै हुँ । अहिलेसम्म तँजस्ता एक दर्जन जति महिलालाई फँसाएँ होला ।’ अधबैँसे नदी डिलमा बसेर भन्दै गयो, ‘मेरो घरजम गर्ने भन्ने कुरा त माछा पार्ने जाल मात्रै हो । अब त कुरा बुझिस् होला नि !’

रुन पनि सकिनन् किनभने गल्ती आफ्नै थियो । निकैबेर केही पनि सोच्न सकिनन् ।

‘हट्टाकठ्ठा लोग्नेमान्छे देख्यो कि सर्वस्व अर्पण गरिहाल्ने तँ कस्ती महिला होस् ! आफैँ विचार गर् ।’ अधबैँसेले उठ्दै फलाक्यो, ‘भर्खर दूध खान छाडेको बच्चो र सिकिस्त अवस्थाको लोग्नेलाई लात मारेर मजस्तो पराई पुरुषको मीठो बोलीमा झुम्मिनु कहाँसम्मको तेरो हुस्सुपन हो । विचार गर् । र, चित्त बुझाएर आफ्नै घर फर्की ।’

सरला जुरुक्क उठिन् । त्यत्तिखेर भने बिरामी लोग्नेको माया लागेर आयो ।

अन्जान ठाउँमा अलपत्र छाडेको छोराको सम्झनाले बेचैन बनायो । फनक्क फर्किन् । आँखाबाट आँसुका धारा अविरल छुटिरहेका थिए । पुछपाछ पनि नपारीकन सरासर पाइला चाल्दी भइन् ।

उता निकैबेरसम्म सरला नफर्केको देखेर चक्रे रुन थाल्यो ।

‘तेरी आमा नयाँ बाउसँग घरजम गर्न गई । तँ चुपचाप बस् । पछिपछि सकेको लगनी गर् । बदलामा खान पाउँछस् ।’ पसले भन्दै गयो, ‘पछि मेरो छोरो भन्दै तेरी आमा आई भने दुईचार पैसा दिएर सन्तुष्ट पारौँला ।’

चक्रेले सबै कुरा नबुझे पनि केही कुरा बुझ्यो । मुख बन्द गरे पनि हिक्का छाड्न बन्द गरेन । किनभने त्यो उसको बसमा छँदै थिएन । आँखा ओभाएनन् । गालाका दुबैतिर आँसुका लेघ्रा बसे ।

सरला पनि फर्केर आइपुगिन् । आफ्नो मुटुको टुक्रासरिको सन्तानलाई एक्लै छाडेर बेहोसी भई परपुरुषको पिछलग्गु भएकोमा पश्चात्तापले रन्थनिरहिन् ।

चक्रेलाई सुम्सुम्याइन् । निकैबेर छातीमा टाँसिन् । आँखाबाट पश्चात्तापका आँसु अविरल बगाइरहिन् ।

उसलाई साथमा लिएर उनी साँझमा घर पुगिन् । हर्के उठेर बस्न सक्ने भएका रहेछन् । गाउँलेहरूले ओखती पानी गरेछन् । सरलाले नयाँ घरजमको व्यवस्था गरेको हल्ला गाउँभरि फिँजिएको रहेछ । हर्केका कानमा पनि परिसकेको रहेछ ।

‘क्षमा नपाउने भुल गरेँ प्रभु ! जीवनभर हजुरले दुःख गरेर आर्जेको श्रीसम्पति एक्कै गाँस पारेर आएँ प्रभु !’ सरलाको करुण बोली गुञ्जिरह्यो, ‘सक्नुभए क्षमा दिनुस् हजुर । बाबुआमाले बाजा बजाएर र आँगन पोलेर दिएको श्रीमान्लाई लत्याउने घृष्टता दर्साउन पुगेकीमा लज्जित छु ।’

सरला हर्केका गोडा समाउँदै निकैबेर बरबराइन् । हर्केले केहीबेर गम खाए । विगत सम्झे । सरलाको सरलपनमा केहीबेर डुबे । उनलाई सरलाको करुण बोली र पश्चात्तापले मन तान्यो ।

‘अब धेरै गनगन नगर । पश्चात्तापमा जलिरहेकी भए गएर मुख धोऊ अनि चिसो पानी र तातो चिया लिएर आऊ ।’ हर्केले कोल्टो फर्कंदै भने, ‘मनमा धमिलोपन नराख । मान्छेले भनेको सुन तर मुख नलगाऊ ।’

सरला खुशी हुँदै कामधाममा लागिन् । चक्रे बाबुआमाका वातचित र क्रियाकलाप हेरेर छक्क परिरहेको थियो । रुँदै फर्केकी आमा हँसिलो मुहार लगाएर काममा लागेको देख्दा ऊ पनि आनन्दित भएको थियो ।

केहीबेरमै सरला दाहिने हातमा चिया र देब्रे हातमा पानी बोकेर आइन् ।

त्यसैबेला वातावरणमा सन्नाटा छाउने गरी हत्त न पत्त चक्रेले सोधेको थियो, ‘मामु, मलाई दोकानमा चाउचाउ–बिस्कुट दिएर हजुर नयाँ बाबा लिन जानुभएको थियो । खै, त हाम्रो नयाँ बाबा ?’