बादलको घुम्टो ओढेर गजधुम्म काठमाडौंको आकाश बिहानैदेखि रिसाएको थियो । एकनासले चित्त दुखाइरहेको आकाश मध्य दिनपछि रुन थाल्यो । आकाशले आँसु बर्षाउँदै गर्दा उनीहरू असन बजार पुगेका थिए । उनीहरू अर्थात् तीलवा र लरेभ ।
‘कति भीड है यस्तो झरीमा पनि’ कसैले आफ्नो गोडा कुल्चेपछि लडखडाउँदै बोलिन् तीलवा । उनलाई सहारा चाहिएको थियो र लरेभलाई समात्न चाहन्थिन् । लरेभ उनको कुरामा सही थाप्दै अगाडि बढिरह्यो । असन मान्छेका भीडको पर्याय हो । कसले कसको गोडा कुल्चिन्छ थाहा पाइँदैन । लरेभ चुपचाप अगाडि बढेको देखेर तीलवालाई भाउन्न भयो । उनले पछाडिबाट हल्का धक्का दिइन् । लडौला झैँ लाग्ने उनको अवस्था देखेर लरेभ अडियो । उसले आफ्नो हात के बढाएको थियो तीलवाले च्याप्पै समाइन् । दुवैका हात अकअर्कामा बाँधिन पुगे । उनीहरूले सङ्कोचलाई जिते । औँलाभित्र औँला छिराएर दुवैले बन्धन अझ कसिलो बनाए । बर्षातको पानी कसिएका हातका हत्केलासम्म पुग्न पाएनन् र त्यहाँ मानव सुलभ उष्णता फष्टाउन थाल्यो । त्यो उष्णता शरीरको हर तहमा सञ्चरित गर्दै उनीहरूलाई अगाडि बढे ।
कसैको छाताले लरेभको निधार छेडौंला झैँ गरेर घोच्यो । मज्जैसँग दुखे पनि उसले आय्या भनेन । वर्षाको तुजुक र छाताको चोटमा पनि तीलवाको हातबाट आइरहेको न्यानोपनले लरेभलाई बेदना महसूस गर्न दिएन । प्रतिक्रिया जनाउन दिएन । मनमा छाएको रोमाञ्चक अनुभूतिले सानातिना चोटलाई बेवास्ता गर्छ, त्यस्तै भयो । तरुण अवस्थाको लरेभले त्यति सहन गर्न नसक्ने होइन । सहन सक्थ्यो वा सक्दैन थियो ऊ एक्लै हुन्थ्यो भने उसको परीक्षा हुन्थ्यो ।
“मज्जैले लाग्यो कि के हो ?” तीलवाले उसको निधार मुसारिन् । लरेभलाई दुखाइ महसूस भएन तर शरीरमा झङ्कार भने पहिलेभन्दा ज्यादा भएको महसूस गर्यो ।
‘सामाजिक संस्कारले जीवन सुन्दर त बनाउँछ तर चाहना कुरूप गर्छ’ कसले लेखेको हो थाहा छैन तर त्यो ट्याक्सीमा यिनै जोडीका लागि लेखेको हो झैँ लाग्थ्यो । त्यसैको किराया असुल गर्नलाई होला ट्याक्सीले यी युगललाई हिलो छ्यापेर टाटेपाटे बनायो । एकातिर गोडा कुल्चेको दुखाइ र अर्कोतर्फ ट्याक्सीले छ्यापेको हिलोले गर्दा तीलवा रन्थनिएकी देखिन्थिन् । छाताले घोचेको पीडा लरेभमा पनि थियो तर ती जोडिएका हातबाट रिस शान्त पार्ने शक्ति उनीहरूलाई प्राप्त थियो । मानौँ उनीहरू कहिल्यै रिसाउँदैनन् । झैँझगडा गर्दैनन् । आफूलाई मन पर्ने हातमा यति सुन्दर शक्ति हुन्छ भन्ने उनीहरूले महसूस गरे । चित्तमा उठेका वृत्तिसँग सम्झौता गरे । एकअर्काप्रतिको न्यानोपनमा उनीहरू अहिलेलाई बुद्ध बने ।
संसारमा हरेक चीज अनित्य हुन्छ । उब्जिन्छ र हराउँछ । केही समय आफूलाई भोक्ताभावबाट माथि उठाएर द्रष्टाभावमा स्थिर गर्नुपर्छ धेरै ठूलाठूला दुर्घटना टरेर जान्छन् । लरेभले मुस्काउँदै तीलवालाई हेर्यो । तीलवाले उसको कुरो बुझ्ने यत्न गरिन् तर ‘खै मैले त बुझिनँ’ भनेर मुस्कुराइन् । शिरबाट बगेको पानी उनको निधारबाट गाला हुँदै चिउँडोबाट तप्पतप्प चुहुँदै थिए । चिउँडोबाट झरेको थोपा कहाँ बजारिएर चुरचुर भइरहेको छ लरेभले देख्यो । शायद भरतमुनिले यसैलाई रस निष्पत्तिको सिद्धान्त बनाएको हुनुपर्छ । उसले ‘विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्ति’ सूत्र सम्झियो र तीलवाको हात अझ कसिलो गरेर समायो ।
उनीहरूसँग छाता थिएन । स्कुटरमा रेनकोट त थियो तर एक जनालाई मात्र हुने । एउटा भिजेर अर्कोले रेनकोट लगाउन उचित सम्झिएनन् । एकर्कामा कुनै सल्लाह पनि गरेनन् । यो मौन सम्झौताले उसै ती दुवै भिजे । भित्र कताकता रमाइलो माने । हात समाएर गल्ली गल्ली घुमे । यसअघि कहिल्यै उनीहरूले एक अर्काको हात समाएका थिएनन् । झरीले दिएको नौलो अनुभवको उपहार थियो हातमा हात । तन चिसिँदै गर्दा मन तातिँदै थियो । जोडिएका हातमा पसिना आइरहेको थियो । संसार भुलेर उनीहरू सामीप्यको रापमा सेकिँदै थिए । कोही बोलेनन् मानौँ उनीहरू शून्यमा शून्य सरी हराए । मनको कुरा मनले नै बुझे । आफ्नो वरिपरि अरू छन् या छैनन् भन्ने कुराको हेक्का रहेन । तीलवा केही भन्न खोज्थिन् तर वाक् फुट्न सकिरहेको थिएन । उही हालतमा लरेभ थियो । उनीहरू अव्यक्त रहेर खुलस्त हुन चाहन्थे
पानीबाट बच्न कसैले छाता ओडेका थिए कसैले रेनकोट तर उनीहरू भने बेपर्बाह एक अर्काको हात समातेर हिँडिरहेका थिए । उनीहरू भिजाइको स्वाद आत्मासम्म महसूस गर्न चाहन्थे तर त्यो वर्षाको तुजुक केवल उनीहरूको वस्त्रसम्म मात्र सीमित रह्यो । बरु उनीहरू पो हातैबाट हृदयसम्म बर्सिरहेका थिए अनौठो शीतलता र उष्णता एकैसाथ एकअर्कालाई दिएर । हुन त यो भेट पहिलो थिएन । यति नजिक महसूस गर्ने अवसर भने यो पहिलो थियो । आत्मीयताले छोएर होला यस्ता पलहरूमा मान्छे कति नजिक बन्न सक्छ भन्ने कुरा शब्दले हैन भोगाइले अनुभूत भइरहेको थियो । नबोलेरै संवाद गरिरहे । नखुलेरै खुलस्त भैरहे । अलि गति बढेको ढुकढुकीको आवाज कानसम्म आइरह्यो । एक अर्काको शब्दबाट भन्दा ज्यादा भाव उनीहरूले आफ्नै ढुकढुकीको आवाजबाट बुझे ।
यो शहर अचम्मको छ । दुई पाइला सार्ने बित्तिकै मान्छे हराउन बेर लाग्दैन । त्यही इन्द्रचोकको साँघुरो गल्लीमा यताउता गर्दै उनीहरू आपसमा हराइरहेका थिए । तीलवालाई केही किनमेल गर्नु थियो । सामान खोज्दै थिए । अझ भनौं उनीहरू आफैँलाई खोजिरहेका थिए । तीलवा आफूलाई लरेभभित्र खोज्दै थिइन् । लरेभले आफूलाई तीलवाभित्र खोज्दै थियो । हृदयको गल्ली इन्द्रचोकको झैं साँघुरो नभएर होला खोज अलि चर्को बनिरहेको थियो । तीलवाभित्र लरेभ कहाँ छ तीलवालाई थाहा होला । लरेभभित्र तीलवा कहाँ छे लरेभलाई थाहा होला । आफू आफूलाई थाहा भएको अव्यक्त कुराले उनीहरूको भित्री खोज अझै रहस्यमय बन्दै गयो । बाहिरी खोज त पसल पसलमा थियो बोर्डभरी विज्ञापन टाँसेर बसेको ।
निथ्रुक्क भएको जोडी देहले होलसेल पसलहरू चहार्दै थिए । पसलेहरू सकेसम्म आत्मीयता देखाइरहेका थिए । झरीसँगै बर्षिएको रुपैयाँ आत्मीयता खरिद गर्न सफल भइरहेको थियो । तीलवाले पोते देखाउँदै कस्तो छ भनेर सोधिन् । लरेभले त्यही पोते तीलवालाई लगाइदिएर राम्रो भएको प्रमाण दियो ।
“अहो ! झरीमा पार्टी खान पाइने भयो,” पसलेले मुख मिठ्याउँदै ठट्टा गर्यो ।
एक लुङ पोतेले कसैलाई श्रीमती बनाउन पाइने भए तीलवा लरेभकी श्रीमती भइन् । एक लुङ पोते, एक चिम्टी सिन्दुर त्यति त हो नि विवाहिता नारीको पहिचान । अरू त सबै कर्मकाण्ड न हुन् ।
तीलवामा कताकता लज्जा उत्पन्न भए झैँ भयो । पोतेको सट्टामा पुरुषलाई महिलाले लगाइदिने त्यस्तो चीज के हुन्छ जसले पुरुषलाई विवाहितको पहिचान दिन सक्छ ? उनले पसमा चारैतिर आँखा घुमाइन् तर त्यहाँ त्यस्तो केही देखिनन् ।
किनमेल सकिँदा पनि बादलको रिस मरिसकेको थिएन । धुम्मिएको आकाश र यौवनावस्था उस्तै उस्तै हो त्यसमा कति सागर छ कसैलाई थाहा हुन्न । आकाशले धरतीको छाती सिञ्चन गरिरह्यो । धरती बरु आफू फाट्छ । पहिरो स्वीकार्छ तर आकाशसँग विमति राख्दैन । यिनै जोडी जस्तै जससँग यति बेला विमति छैन ।
“अब जाऊँ है !” तिलवाले अलि गह्रौं आवाजमा भनिन् । लरेभ केही बोलेन । मुस्कुरायो मात्र ।
“रोएको आकाश शान्त हुन नपाउँदै हाम्रो छुट्ने बेला आयो है !” लरेभको यो बोलीले तीलवामा भुइँचालो ल्याइदियो । उनी एकोहोरो भएर लरेभलाई अँगाल्न पुगिन् । एकिछन अँगालोमा कसेपछि लरेभको ओठ चुमिन् । फेरी कसिलो अँगालोले बेरेपछि क्रमश: उनको होस फर्कियो र लजाउँदै अगाडि लागिन् ।
“अब बुझ्यौ दुनियाँका हर चीज अनित्य हुन्छन् भन्ने कुरा ?” लरेभले प्रसङ्ग कोट्यायो । तीलवाले पनि बुझेजस्तो गरिन् ।
“मान्छेका स्तरअनुसारको भाव हामीले पस्कियौं । कसैलाई मात र कसैलाई बात लगाउन यति नै काफी छ ।” तिलवाले बोल्दै गर्दा उनको ओठ काम्दै थियो । उनले आफ्नो तल्लो र माथिल्लो दाँतहरू कटट पारिन् । झरी झरी नै रह्यो, उनीहरूले आफूलाई सुख्खा महसूस गरिरहे ।
पसल त जताततै खुल्छन् तर पार्किङ भने एकादेशमा हुन्छ, यो काठमाडौंको पहिचान हो । उनीहरूले जहाँ स्कुटर राखेका थिए त्यो निकै टाढा थियो । स्कुटरमा रेनकोट त थियो तर उनीहरू भिजिसकेका थिए । यो भिजाइ बाहिरी थियो अर्थात् उनीहरूलाई अपुग । रेनकोटलाई उसकै सुखमा छाडेर उनीहरू हुइँकिए । उनीहरूको आँत अझै सुख्खा थियो । बाक्लो बर्षातमा ५ किमीको बाटो भिज्नलाई पर्याप्त हो तर उनीहरू भिजेनन् । भिज्यो त केवल वस्त्र । स्कुटर रोकेर तीलवाले लरेभलाई हेरिन् लरेभले तीलवालाई हेर्यो । दुवैले एकअर्कालाई सुख्खा देखे । पश्चिममा डुब्दै गर्दाको घाम देखियो पहेँलो कलेवरमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 










