
कुरो छ-सात वर्ष पहिलेको हो । यात्रा लामो थियो । भर्खरै सदरमुकाममा गाडीहरू पुगेका छन् । सदरमुकामले अलिकति भए पनि मुहार फेरेको छ । विधुत्, केही वर्ष पहिलेदेखि सञ्चारले मारेको फड्को र जेनतेन बन्दै गएको यातायातको सुविधा ।
समग्रमा जिल्लाले विकासमा गति लिएको छ । कतै खाल्टाखुल्टी, कतै भल्ट्याङ्गभुल्टिङ्ग ढुङ्गा त कतै साँघुरो र फराकिलो डरलाग्दो कच्ची रोड । बर्खा लाग्यो कि पहिरोले रोडलाई चकनाचुर बनाइदिन्छ, जताततै भताभङ्ग पारिदिन्छ । अनि यात्रीहरुको मन पनि खिन्न भइदिन्छ । डरैडरमा गर्नुपर्ने यात्रा पनि । गुरुको सानो गल्तिले या त आफसेआफ ब्रेकफेल भयो भने बसभरि भएका यात्रीहरूको ज्यान बुढीगङ्गाको पानीमा मिसिनसक्छ र माछीको चारो हामीहरु ।
घुम्तिमोडहरूलाई पार गरेर बल्ल कालोपत्रे रोड भेटिन्छ । आछामको साँफेबगर पुगेपछि, त्यो पनि गुणस्तरहीन पातलो लेपोमात्र लाएको रोड । विकासको नाउमा आएको सबै रकम ठेकेदारको खातामा र ठेकेदारनीको खातामा जम्मा गरेर थोरै रकम लगानीमा कुखुरालाई चारो जस्तै छर्छन् र काम चलाउ भैहाल्छ । हाकिमहरुलाई यस्सो चियापानी खर्च मिलायो भने मुखै बन्द अनि विकास त उही हो । विकासको नाउँमा झोली भर्नेको जमात मात्रै यहाँ ।
अँ, प्रसङ्ग त अन्तै मोडिएछ छोडिदिउँ यी कुरा । म कता जाँदै थिए भने बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट काठमाडौँ । साँफेसम्म मसँग चिनेकै साथी थिए । उनको बयालपाटा अस्पतालमा उपचार गर्नुपर्ने भएकाले यतै झरिहाले । अब मसँगैको सिट खाली भयो । मेरो मनमा अनेक कुरा खेल्न थाले लामो दूरीको यात्रामा मसँगै बस्ने मान्छे कस्तो आउँछ भनेर । युवा आउँछ कि वृद्ध, युवती आउँछ कि वृद्धा आइमाई, काखमा बच्चा बोकेकी पो आउँछ कि, या त मेरै उमेरकै जवान वा जवानी ।
जो आए पनि मलाई बालमतलब ! यौवनले भरिएको मेरो मनले भन्दै थियो भर्खरै २०-२२ उमेरकी यौवन सुन्दरी आएर यो सिटमा बसोस् । जोसँग मेरो काठमाडौँको यात्रा तय गरुँ । राती निन्द्राको नाटक गरी उसैको छातीलाई न्यानो सिरानी बनाएर । अनि, चिनजान पश्चात् मिठाइजस्तै कुरा गर्दै र रमाउँदै यो यात्रालाई सफल गरुँ र अविस्मरणीय पनि । अहिलेसम्म जति यात्रा गरे मेरो सिटमा पुरुषमात्रै जहिले पनि । मनले सोचेजस्तो कहिल्यै भएन । तर, यात्रामा दु:ख भने भोगेको छैन आजसम्म कस्सम।
साँफेबगरको बसपार्कमा दुईचार जना चढे । अझै मसँगैको सिटमा कोही आएर बसेन । बस हर्न बजाउँदै रोडमा मिसियो र अघि बढ्यो बिस्तारै । मेरो मन भने निकै खुल्दुलीमा थियो । मसँग बस्ने मान्छे कस्तो पर्छ भन्ने पिरलोमा परेर । जस्तो मान्छे भए के हुन्थ्यो र मसँगैको सिटमा । एक रातको यात्रामा पनि के चाहिएको हो कुन्नि यो मनलाई खुलेरै भनौँ मलाई । जो आएर बसे पनि भोलि ऊ आफ्नै बाटो म आफ्नै बाटो तै पनि यो मनको भाव भने बुझ्नै गाह्रो ।
अलि रप्तारमा गुढ्यो बस । पुल तरेर प्रहरी चेकपोस्टमा रोकियो । त्यस्तै बीस कटेर एक्काइस चढ्दै गरेको कपालको लट्टा पालेको पातलो र अग्लो कदको गहुँगोरो खलासी भाइले बस नम्बर र यात्रीसङ्ख्या टिपायो पुलिस मामालाई । झ्यालबाट बाहिर हेरिरहेको थिए एक्कासी मेरो कानमा एस्क्युज मी सर ! भनेको भाले स्वर गुन्जियो । मैले उसैलाई हेर्न मुन्टो बटारेर बोलेँ, “हजुर ! भन्नुहोस् ।”
“सर माइण्ड गर्नुहुन्न भने म झ्यालमा बस्छु है ?” मुस्कानमा बोल्यो त्यो मान्छे ।
“सरी ! म झ्यालमै ठिक छु ।” यति भनेर फेरि झ्यालबाहिर हेरेँ । सोचेजस्तो यात्री भेटिन सायद त्यसैले होला उसलाई झ्यालमा बस्न स्वीकृति नदिएको मैले । ऊ बिस्तारै फत्फताउँदै बोलेर बस्यो । त्यही मुस्कानमा त्यस्तै गरी बोलेर एउटी सुन्दर युवतीले भनेको भए त खुसी भएर झ्यालमा बस्न अनुमती दिने थिएँ होला । अघिसम्मको खुल्दुलीले भरिएको मेरो मनमा एक्कासी कालो बादलले राज गर्यो जसरी निलगगनमा चम्किएर यो पृथ्वीलाई तातो किरण छरिरहेको सूर्यलाई कालो बादलले छोपिदिन्छ । आफ्नो मनलाई आफैँले मनमनै इस् ल खा भन्दै धेरै लोप्पा ख्वाइरहे ।
बस उकालोका घुम्तीहरु मोड्दै अघि बढ्यो सल्लेरीमा । म भने आँखाले भ्याएसम्मको दृश्यलाई निहाल्दै हेरिरहे परपरसम्म । हरियाली वनपखा, सुन्दर सानाठुला थुम्काहरु, सेतासेता बादलका धब्बाजस्तै ससाना घरहरू, सल्लेरीका हरेक मोडहरुबाट देखिने साँफेबगरको सुन्दर बजार । यो दृश्य देखेर आहा ! नभन्ने प्राय: कमै होलान् । जोकोही प्रकृतिलाई नजिकबाट निहाल्नसक्छ यहाँ आएर । समग्रमा सुदुरपश्चिमलाई स्वर्गको सुन्दर एक टुक्रा भन्दा पनि फरक नपर्ला । यसमा दुई मतै छैन ।
यात्रा निकै लामो अब त्यो मान्छेसँग जसरी पनि बोल्नु छ । बाटोमा चुप रहेर पनि त म बस्न सक्दिनँ । फेरि केही मिनेट म बोलिन भने खै के हुन्छ गित गुनगुनाउँछु । त्यो भन्दा अब यो यात्राको साथी यसैलाई नबनाई भएन । तर, बोल्ने पो कसरी अघि झ्यालतिरको सिटमा बस्न दिन क्यारे रिसाको होला मसँग । बस त चौखुट्टे भन्ने ठाँउमा पो आइपुगेछ । म त कतिखेर निदाएछु पत्तो पाइन । म ब्युझिएँ सबै बाहिर भित्र गरिरहेको देखेर म पनि उठेँ । बाहिर गएर चर्पी घरमा मुतेर आएँ र उहीँ झ्यालतिरकै सिटमा बसेँ ।
“मैले तपाईँलाई चिनेजस्तो लाग्यो ।” मलाई हेर्दै त्यो मान्छे बोल्यो ।
म कसरी बोलुँ भनेर सोचिरहेको बेला उहीँ केटो बोलेपछि मलाई त ढुक्क भयो । “हजुर ! कतै देख्नुभयो होला ।” छोटो जवाफ फर्काउँदै झ्यालबाट बाहिर हेरेर बोले म ।
“तपाईं सुरेन्द्र सर होइन ?”
“हो ।” उसैलाई हेर्दै बोलेँ म ।
“सर ! नमस्ते ! म आदित्य कुमारी क्षेत्री ।” दायाँ हात अगाडि बढाउँदै बोली आदित्य ।
“आ…दित्य…. कु..कुमारी ?” मैले पनि हात मिलाउँदै उसैलाई निकै शंकालु नजरले हेर्दै बोलेँ।
“हो सर ! अनौठो मान्नु पर्दैन । छोडिदिऊ यी कुरा । मैले त हजुरलाई लेखक भनेर चिनेको छु । आइमिन चिनेकी छु । हजुरको अर्को सङ्ग्रह कहिले आउँदैछ बजारमा ? अधुरो प्रेम उपन्यासको पर्खाइमा छु ल ।”
म त एकोहोरो हेरेको हेर्यै भएँ। कपाल केटीको जस्तो लामो-लामो, स्वर केटाको जस्तो, नाम पनि केटाकै बिचमा फेरि कुमारी मैले केही बुज्नै सकिनँ । यसमा कुनै न कुनै रहस्य अवस्य लुकेको छ । यसको रहस्य खोतलेर उजागर गर्नै पर्छ मैले । फकाएर हुन्छ या त कुनै नयाँ आइडिया लगाएर मैले मनमनै अठोट गरेँ ।
“अँ.., अबको केही महिनामा आउँछ ।”
“अधुरो प्रेम नाम चाहिँ गज्जब छान्नुभएको छ । मेरो कुरो मान्नुहुन्छ भने अतीत राख्नुहोस् है उपन्यासको नाम । कतै मेरो जीवनमा मेल खान्छ कि के थाहा । अँ साच्चिकै हजुरको त्यो गजल सङ्ग्रहका हरेक गजल मेरै निम्ति लेखिदिएजस्तै सबै गजलले मेल खान्छ सर ! मसँग । त्यसको नाम पनि बब्बाल छ ‘कुल्चिएको गुलाब’ ।”
“हो, यति धेरै तारिफको लागि धन्यवाद ! तपाईंलाई । खासै लेखक त होइन यस्सो मन बुझाउन कापीकलम पाएभने लेख्छु अलिअलि । साँच्चै तपाईंको घर…।”
“सर पनि..! घर यही हो, पृथ्वी अनि छानोमाथिको आकाश ।” यति बोलेर आदित्य मौन रह्यो ।
म पनि केही बोलिनँ । आदित्यको कुरो हावाजस्तो लाग्यो मलाई । हुन त उसको नाम पनि हावाजस्तै छ । पत्याउनै गाह्रो । कुरा गर्दागर्दै बस दिपायल पुगेको पत्तो नै भएन । अँध्यारोले बिस्तारै आफ्नो गतिलाई तीब्र पार्दै थियो । उज्यालो दिन रातमा परिवर्तन हुँदै थियो ।
“ल है खाजा खानेभए खानुहोस् सबैले । अब खाना त राती दशबजे हुन्छ ।” ढोकामा उभिएर भित्र यात्रुलाई हेर्दै खलासी भाइ बोल्यो । गुरु बस रोकेर झरिहाल्यो ।
हामीसबै बसबाट ओर्लिएर खाजाका लागि होटेलमा छिर्यौँ ।
दूध चियासँग कोकोनट बिस्कु खाएँ मैले । आ-आफ्नो रोजाइको खाजा खाए सबैले । आदित्यले भने एक प्याक लोकल माल मागेर खायो । एक पिलेट ब्वायलर कुखुराको मासुसँग । मैले चान्स मार्ने मौका आयो । यसको सत्यतथ्य कुरो बुझ्नलाई । यसको नामको रहस्य र घरको बारेमा समग्रमा आदित्यको बारेमा ।
“एक प्याक मेरो तर्फबाट है आदित्य जी !”
“जी हैन सर ! आदित्य मिस भन्नुहोस् आदित्य मिस ।”
“ओके ! मिस आदित्य ।”
“सरले भन्नुहुन्छ भने त एक होइन दुई प्याक नै स्वाट्टै पार्छु सर ।” लर्बराउँदै बोल्यो आदित्य ।
“अहिलेलाई दुई प्याक नै काफी छ नि । फेरि काठमाडौँसम्मको यात्रा छ भइहाल्छ नि ! किन पीर… ।”
“होइन सर ! म त कैलाली अत्तरियासम्म मात्र हो ।” मेरो कुरो काट्दै आदित्य रक्सीको ह्वास्स गनाउने सासले बोल्यो ।
“ए ! होर अब बस जान लाग्यो बाँकी खानाखाने ठाउँमा । अहिले जाऔँ ।
चिया, बिस्कुट र एक बोत्तल लोकलको रुपियाँ तिरेर बसमा चढेँ म । सबै यात्रीहरू पनि चढे । बसले हर्न बजायो । खलासी भाइले यात्रीलाई गन्यो । जाऔँ गुरु सबै चढिसके भन्यो । बस बिस्तारै अघि बढ्यो ।
“सर ! म अब झ्यालतिर बसुकी, खाएको सबै आउलाजस्तो भएको छ ।” जिङ्ग्रिङ भएको कपाल, रक्सीले गर्दा उसाएका परेलीका डिल, लोलाएका आँखाले मलाई हेर्दै गन्हाउने स्वरमा बोल्यो आदित्य ।
“हस् ! हुन्छ । बस्नुहोस् तर, बाहिरै फाल्नुहोस् है माल ।”
“डन्ट वरी सरकार, झाल बाहिरै फाल्ने छु ।”
…
केही नबोलेरै एक अर्काको सिटमा बदलियौँ हामी । बाहिर अँध्यारो भइसकेको थियो । बसभित्र भने ब्लबको उज्यालो चकमन्नै । कालो मान्छेको अनुहार पनि टिलिक्क टल्किएर उज्यालो देखिने खालको । खलासीले ढोका बन्द गरेर क्याबिनमा बस्यो । कति यात्रीहरू त सुतिसके भने कोही खासखुस कुरा गर्दै थिए । मलाई पटक्कै निन्द्रा लागेन । आदित्यको कुराले पिरोल्नसम्म पिरिल्यो मेरो मन ।
सायद यो मेरो पहिलो छटपटी हो कसैको बारेमा बुझ्न खोज्दाको । मेरो सिट माथिबाट उज्यालो दिइरहेको ब्लबलाई हेरेर निकैबेर मनमा धेरै कुरा खेलाए । दशपन्ध्र मिनेटपछि मनमा हिम्मत जुटाएर बोल्ने म कोसिस गरेँ । अरु कुरा भए भइहाल्थ्यो तर, आदित्यको जीवनको बारेमा अझ यसो भनौँ निजी मामलामा जान्न र बुझ्न खोज्दैछु त्यसैले न हो मलाई सोध्न अप्ठ्यारो लागेको ।
“आदित्यजी ! आदित्य मिस !” हातले कोट्याउँदै झालबाहिर टाउको राखेर बमन गरिरहेको आदित्यलाई बोलाएँ मैले ।
“भन्नुस्…होस्,” जिब्रो लर्बराउँदै बोल्यो आदित्य ।
“मेरो बारेमा तपाईंलाई सबै थाहा छ । तैपनि, तपाईंको बारेमा मलाई केही थाहा छैन मिल्छ भने बताउनु न आफ्नो बारेमा ।”
“ओके सर, ओके ! म भन्छु । के थाहा अलिकति ममाथि दया र माया जाग्यो भने मेरैबारे उपन्यास लेख्नुहुन्छ कि । मेरो यो यथार्थ कथाले मन छोयो भने लेख्न चाहिँ नबिर्सिनु नि सर ! म पाठक भएर आफ्नै जीवन कहानीको बारे हजुरले लेखेको उपन्यास कुनै दिन पढ्न पाइहाल्छु कि । तर सर ! नाम चाहिँ च्यान्ज गरेर है ? आदित्य पात्र बनाएर होइन ।”
“ओके हस् ! त्यसको लागि पिर गर्नुपर्दैन मिस आदित्य ।”
“हजुर त पत्रकार पनि लौ कहाँबाट सुरु गरुँ म आदिबाट, मध्यबाट या त अन्त्यबाट ? प्रश्न गर्नुहोस् मलाई । फेरि छोटो प्रश्नको लामो उत्तर आउनेछ दिक्क नमान्नुहोला ।”
फेरि ह्वाल्ल उल्टी गर्यो उसले । त्यही मौका छोपेर मोबाइलमा रेकर्ड सुरु गरेँ मैले ।
“सरी सर, अब सुरु गर्नुहोस् प्रश्न ।”
“खासमा तपाईंको घर कुन ठाउँ हो ?”
“अब, घर त अघि भने नि त्यही हो । खासमा म जन्मेको आजभन्दा बाइस वर्ष पहिले धनगढी बजारको रातोपुल नजिकै सडक पेटीमा हो अरे । खै मेरो बाको हुन् पत्तो छैन, आमाले मलाई सडकमा जन्मदिँदा प्राणै त्यागेर माथि भगवानकोमा गइहालिछन् । मलाई आमाकै समूहका एकजना अंकलले स्याहारसुसार गरेर हुर्काएछन् । सडकपेटीको बास, नाङ्गो शरीर, खाली पेट, हिँउदको चिसो, बर्खाको गर्मी र वर्षेपानी, धुलोमाटोको लडीबुडी, लामखुट्टे र उडुसको टोकाइ त्यो भन्दा पनि बिना बाउको छोरो, जन्मदिने आफ्नी आमाको हत्यारो म यति भने बुझिहाल्नु हुन्छ सरले ।” आँखामा आँसु पुछ्दै बोल्यो आदित्य ।
मैले पहिलेको भन्दा अलि ठुलो सास फेरेर भनेँ, “अनि पढाइ ?”
“मलाई स्कुल कसले पठाइदेवस् ? मेरो लागि ‘कालो अक्षर भैंसीजस्तै’ अंकल जता जान्थे उतै लान्थे काममा होस् चाहे बटुको बोकेर माग्न । जब म पाँचको भए बजारमा डुलेर माग्न थाले दिनभरिको कमाइ कहिले पचास हुन्थ्यो त कहिले सय । सातआठको हुँदा माग्न छोडेर अंकलसँगै मिस्त्रीको काम सिकेँ । मेरा लागि बाआमा जे भने पनि अंकल नै हो । बिस्तारै घरमा रङ लगाउने काम पनि सिकियो । अब, यो प्याक त उहिल्यैदेखि हो खानसुरु गरेको । चिसोतातो, लामखुट्टे, उडुस र मनमा उब्जिएको पिरर व्यथाको अचुक औषधिको काम गर्ने एकै गिलास भए पनि…।”
फेरि ह्वालै गर्यो झ्यालबाहिर टाउको हालेर अनि लामो सास फेर्यो आदित्यले ।
“अनि त्यसपछि…?” म बोलेँ ।
“अंकल र मैले सानोतिनो कामलाई जिम्मा लिँदै अरुलाई पनि हामीसँगै काममा लगाउँदै अलिअलि जम्मा गर्दै गयौँ र हसुलियामा सानो जग्गा किनेर त्यसैमा काठले बारेर कुसले छाएको छाप्रो हाल्यौँ बस्नका लागि । म र अंकल सडकपेटी छोडेर आफ्नै छाप्रोमा बस्दाको त्यो खुसीको दिन कसरी व्यक्त गरुँ म हजुरलाई ।”
आदित्यले बोल्न छोड्यो ।
मैले लामोसास फेरेर भनेँ, “अनि तपाईंको नाममा कुमारी किन ?”
“धनीगरीब, लुलोलङ्गडा, लाटोबहिरो, अन्धा सबैलाई जवानीले एकनएकदिन छुँदोरै’छ । त्यसैको सिकार म पनि बने १६-१७ को उमेरमा । त्यसैको परिणाम हो यो मेरो उपमा । हाम्रो छाप्रो नजिकैको गाउँको थारु जमदारकी छोरीसँग मेरो हिमचिम बढ्यो । ऊ आठ कक्षामा पढ्दै थिई । बिस्तारै एकर्कालाई माया गर्न थाल्यौँ । जे जे हुनुपर्ने हो सबै काम हुँदै गयो हामी माझ । ऊ दश कक्षा जाँदासम्म हामी जोइपोइजस्तै भइसकेका थियौँ । बिहे गर्ने सोच बनाइसकेको थिएँ मैले । उसले पनि बिहे गर्नुपर्छ भन्दै थिई । एसएलसी परीक्षा सकेर बिहे गर्ने कुरो पक्कापक्की भइसकेको थियो । मलाई अलिअलि पढ्न पनि सिकाएकी थिई थरुनीले । यो कुरो मेरो अंकललाई मात्र थाहा थियो, त्यो पनि मैले भनेर । बिस्तारै हाम्रो मायाको कुरो बाहिरियो..,” फेरि लामो सास फेर्यो र कपालमा हात राखेर उज्यालो दिरहेको बत्तीमा हेर्यो आदित्यले ।
रक्सीको गन्धले मलाई सासफेर्न गाह्रो बनायो मुखलाई हातले छोपेँ र बोलेँ, “अँ त्यसपछि…।”
“हाम्रो छाप्रोमा बसिरहेका थियौँ अंकल म र त्यो मेरी हुनेवाली थरुनी । चारपाँच महिनापछि फर्किने गरेर भोलि हामी तिनैजना भागेर इन्डिया जाने सल्लाह हुदैँ थियो । हामी इन्डियामै बिहे गर्नेवाला थियौँ । एक्कासी हाम्रो छाप्रोमा थारुहरूको गाउँ नै उप्किएर आयो । हामीलाई आफ्नै भाषामा गाली गर्दै कुट्नथाले । त्यो थरुनीलाई कुटेर लिए – ‘टैले ठारुनीसङ्ग बिहे गर्ने ? के छ टेरो टागट ? पढेलेखेकी ठरुनीलाई डु: डिने ? टो अब बाँछे ट बिहे गर्लास् ।’ यस्तै यस्तै भन्दै कुटिरहे हामीलाई । म बेहोस भएछु ।
जब विहान होसमा आएँ रगतमा लतपतिएको पाएँ आफैँलाई । छाप्रो पनि भत्काएर तहसनहस पारेको देखेँ । अब हाम्रो छाप्रो पनि रहेन । थारुको कुटाइले सास नै उडिसके छ अंकलको । मलाई कर्मदिने अंकल पनि मसँग रहनु भएन । मेरो लिङ्गबाट रगत बगिरहेको देखेँ । त्यहाँ हात लिएर छामेँ मेरो त लिङ्ग नै छैन । काटेर फालेछन् । म विक्षिप्त भएँ । म रुँदै फेरि बेहोस । दिउँसो पुलिस आएछन् । मलाई सेती अञ्चल अस्पतालमा ल्याएछन् । अंकललाई उतै जङ्गलमा गाडेछन् । जब म होसमा आएँ अस्पतालको बेडमा पाएँ । मलाई कर्म दिने बाले पनि मेरै कारण अकालमा परान त्याग्नु पर्यो । मेरा यी हातले दागबत्ती दिन पाइनँ ।” रुँदै बोल्यो आदित्य ।
मैले न मन न त आँखा नै थाम्नसके मुटु भक्कानिएर आयो । आँखाबाट आँसु झरे । दुबैहातले आँसु पुछेँ मैले ।
“मर्न धेरै कोसिस गरेँ । सकिनँ । काल नआई जे गरे पनि मर्न गाह्रो हुँदोरहेछ सर ! अब म केटा रहिन सर ! म गेय भएँ, छक्का भएँ, छोरा भएर पनि नपुंसक भएँ । त्यसैले मेरो नामको पछाडि कुमारी म आफैँले थपेँ र म आदित्य कुमारी क्षेत्री…।”
हे भगवान्, यो कस्तो खेल खेलिस् यो अनाथमाथि ? जो बल्ल त सडकको बाँस छोडेर सानो कटेरोमा रमाउँदै थियो । यसको खुसी देख्न नसकेर फेरि गेय बनाएर सडकमै डोर्याइस्, कस्तो हो यो तेरो लिला पनि । मनमनै भगवान्लाई सम्झिदै लामो सास फेरे र आँसु पुछेँ फेरि ।
“अनि त्यो जग्गा ?”
“लथालिङ्ग सर ! फेरि फर्केर कहिल्यै गएको छैन त्यो ठाँउमा ।’
“त्यो केटीसँग फेरि भेट भएन ?”
“भएन । भएर पनि के गर्नु ? जसले मेरो यो गति बनाइदिई ।”
रातिको खाना खान बिर्सियौँ हामी दुबैजनाले । बिहानीको झिसमिसे उज्यालोसँगै बस अत्तरीया पुग्यो । आदित्य अत्तरीयामा झर्यो । मैले फोन नम्बर दिएँ काठमाडौँ आयौ भने भेट्नु भनेर ।
सर ! उपन्यास प्रकाशित भयो भने नबिर्सिनु है मलाई । बसबाट झर्दा हात मिलाउँदै बोल्यो आदित्य । हस् भने मैले ।
बस अत्तरियाबाट अघि बढ्यो । आफ्नो गन्तव्यको लागि । सुखडबाट मसँगैको सिटमा मैले सोचेजस्तै गुलाबी उमेरकी युवती आएर बसी । मैले कुनै चासो नै दिइनँ किनकि मेरो मनमा आदित्यले डेरा जमाइसक्यो । मैले आदित्यकै बारेमा सोचिरहेँ, बाटोभरि सम्झिरहेँ बेलाबेलामा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

