दैत्यराजले आफ्नो कुरा सुन्ने गणराजहरूलाई कैलाशमा पालैपालो शासन गर्न खटाइरहेको छ । अन्धभक्त स्वार्थीहरूले गणराजको जयजयकार गरिरहेका छन् ।

…..

भगवान शिवको पार्वतीसँग बिहे नहुँदै उनका परिवार भने पनि, साथीहरू भने पनि नन्दी, भृङ्गी, भूतप्रेत र गणहरू नै थिए । महादेव आफू ध्यान मात्रै गर्थे, कैलाशको सञ्चालकको जिम्मा नन्दीको काँधमा थियो । तर त्यति बेला कैलाशका सबै बासिन्दाहरूलाई नन्दीले स्वतन्त्र छोडिदिएको थियो । उनीहरूले आफूले गर्न चाहेको कुरा गर्थे, खान चाहेको कुरा खान्थे, डुल्न चाहेको ठाउँमा डुल्थे । महादेवलाई ध्यानमा बस्दैमा फुर्सदै हुँदैनथ्यो, उनीहरूको वास्ता गर्ने समय कहाँ हुनू ? केही काम बिराएमा मात्रै कहिलेकाहीं नन्दीले हप्काए जस्तो गर्थ्यो तर पनि उनीहरूको स्वतन्त्रतामा उसले केही बाधा पुर्‍याएको थिएन । अधिकांश समय नन्दी पनि महादेवले ध्यान गरेको ठाउँको अगाडि गएर महादेवको ध्यान नसकिंदा सम्म थपक्क बस्थ्यो । सबैतिर शान्ति थियो । कैलाशको राजकाज सञ्चालन गर्नुपर्ने आवश्यकता नै थिएन ।

तर विवाह गरेर माता पार्वतीलाई महादेवले कैलाश भित्र्याएपछि कैलाशवासीहरूले आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गर्न थालेका थिए । माता पार्वतीको आदेश अनुसार नन्दीले राज्य सञ्चालन गर्न थालेको थियो । पहिले जस्तो जे मन लाग्यो त्यही गर्न पाइँदैनथ्यो,सबैलाई निकै अनुशासनमा बस्नु पर्थ्यो । दिएको मात्र खान पाइन्थ्यो, जहाँबाट जे निकालेर पनि खान पाइने दिन सकिएका थिए । जथाभाबी फोहर गर्न पाइँदैनथ्यो । हरेक कुराहरू सफा राख्नु पर्थ्यो । समय सीमामा बस्नु पर्थ्यो । माता पार्वतीको आगमनले उनीहरूको स्वतन्त्रतामाथि अंकुश लगाएको देखेर उनीहरू खुशी थिएनन् ।

अझ केही समय बालक विनायकको जन्म भएपछि त उनीहरूको स्वतन्त्रता र महत्त्वमा झन् ठूलो धक्का लागेको थियो । महादेव, पार्वती र नन्दीको समय र महत्त्व बालक विनायकमा गएर अड्कियो । भूतप्रेतहरू त नयाँ वातावरण र नयाँ नियममा बानी पर्ने थालिसकेका थियो तर गणहरूले पहिले आफूले पाएको स्वतन्त्रता गुम्नुलाई आफ्नो आत्म सम्मानमा ठेस लागेको रूपमा लिएका थिए । गणहरूले खाए खाएनन्, के गरे, कहाँ गए कसैलाई वास्ता हुँदैनथ्यो । उनीहरू आफ्नो त्यो उपेक्षाले गर्दा पार्वती र विनायक प्रति निकै क्रुद्ध हुँदै गैरहेका थिए । बालक विनायक अलि ठूला भएपछि उनी गणहरूसँग खेल्न थाले । गणहरूले पहिले पहिले वास्ता नगरे पनि बाल विनायकको बाल चञ्चलता र अबोधपन देखेर उनीहरूलाई पनि माया लाग्यो । कहिलेकाहीं विनायकले आफूलाई खान दिएको मोदक ल्याएर गणहरूलाई खान दिन्थे अनि उनीहरू पनि मख्ख पर्थे ।

दिन प्रतिदिन विनायक बढ्दै जान थाले अनि उनको गणहरूसँगको संगत पनि बाक्लिंदै जान थाल्यो । उनीहरू मिल्ने साथी भए । उनीहरूको त्यसपछि माता पार्वती र बाल विनायक प्रतिको रीस पनि बिस्तारै सेलाउँदै जान थाल्यो । कैलाशको वातावरणमा फेरि शान्ति, सद्भाव र खुशी फर्कियो ।

कैलाशका सबै कृयाकलापहरू पातालमा बस्ने दैत्यका गुरु शुक्राचार्यले नजिकबाट नियालिरहेका थिए । कैलाशमा यदि अस्तव्यस्त वातावरण बनाउन सकियो भने भगवान शिव आफ्नै पारिवारिक अस्तव्यस्ततामा भुल्नेछन् अनि दैत्यहरूले देवतालाई हमला गरे भने पनि उनले त्यतातिर ध्यान दिने छैनन् भन्ने उनलाई लागेको थियो । महादेवको सहयोग नभएपछि दैत्यहरूले देवतालाई सजिलै जित्न सक्थे । गणहरूको असन्तुष्टिलाई अवसरमा बदल्ने सोच बनाएर उचित समय कुरेर बसिरहेका शुक्राचार्य गणहरू र बाल विनायकको मेलमिलाप भैसकेपछि निराश बने । आफूले चाहेको जस्तो अस्तव्यस्त वातावरण कैलाशमा बनाउन उनले फेरि अर्को योजना बनाउन थाले ।

शुक्राचार्य आफ्नो योजना लिएर पाताल गई दैत्यराजसँग भेटेर आफ्नो योजना सुनाए । दैत्यराजले आप्नो गुरुको कुरा नसुन्ने कुरै भएन । त्यही योजना अनुसार कैलाशको वातावरण भड्काउन दैत्यराजले आफूले सबभन्दा विश्वास गरेको कूटनीतिज्ञलाई बालकको रूपमा भेष बदलेर कैलाश पठायो । गणहरू र विनायक खेलिरहेको ठाउँमा पुगेर उक्त बालकले विनम्र रूपमा “म पनि खेल्न पाउँछु ?” भनेर सोध्यो । बाल विनायकले तुरुन्तै “हुन्छ” भन्दिए । त्यो दिनदेखि त्यो बालकरूपी दैत्य पनि विनायक र गणहरूसँग सँगै खेल्न थाल्यो ।

कैलाशको नवआगन्तुकप्रति भगवान शिव र माता पार्वतीले खासै ध्यान दिएनन् । जहाँबाट आए पनि एउटा अबोध बालकले के नै हानी गर्न सक्थ्यो र ? त्यसमाथि विनायकलाई नयाँ साथी पनि मिलेको थियो । त्यसैले उक्त दानवलाई कैलाशमा रहन कुनै व्यवधान भएन । उसले निर्वाध रूपमा आफ्नो योजना अनुसार काम गर्न पायो ।

उनीहरू केही दिनमै निकै मिल्ने साथी बने अनि उक्त दैत्यले एकदिन गणहरूलाई उक्साएर कैलाशमा उनीहरूले राज्य गर्न पाउनुपर्छ भनेर महादेवसँग माग उठाउन प्रेरित गर्‍यो । तर त्यो साहस गणहरूमा थिएन । त्यसैले विनायक मार्फत त्यो माग उठाएर उसले गणहरूलाई कैलाशमा नन्दीको शासन हटाएर गणहरूले राज्य चलाउन पाउनुपर्छ, अर्थात् कैलाशमा गणतन्त्र (गणहरूको शासन प्रणाली) हुनुपर्छ भन्ने प्रस्ताव लिएर पठायो ।

बाल विनायक त्यो माग लिएर पिताजीकहाँ गए । उनको कुरा सुनेर महादेवलाई हाँसो उठ्यो ।

महादेवले हाँस्दै सोधे- “कसले भनेको, यहाँ गणहरूले राज्य सञ्चालन गर्न पाउनु पर्छ भनेर ? नन्दीले गरेको के काममा चित्त बुझेन तिमीलाई ?”

“मैले भनेको ! हजुर सधैं ध्यानमा बसेर कैलाशको शासन व्यवस्थामा समय दिनसक्नु भएको छैन, पिताजी । नन्दीले हाम्रो स्वतन्त्रता खोसेको छ । कैलाश भनेको नन्दीको पेवा होइन यहाँका वास्तविक जनता त भूतप्रेत र गणहरू हुन् त्यसैले उनीहरूको अपमान हामीलाई स्वीकार्य छैन । नन्दीको शासनमा भेद्भाव छ,उसले गणहरूलाई नोकर जस्तो व्यवहार गर्छ, उनीहरू राम्रो काम गर्ने अवसरबाट वञ्चित छन्, कैलाश अस्तव्यस्त भैसक्यो तर पनि नन्दी केही नगरी खालि हजुरको चाकरी गर्न सधैं हजुर ध्यान गर्न बसेको ठाउँ अगाडि गएर बस्छ । उसले मेरो पनि ध्यान दिंदैन । त्यसैले गणहरूलाई राज्य सञ्चालन गर्न दिएर कैलाशलाई गणतन्त्रमा लगियो भने उनीहरूले नन्दीले भन्दा धेरै राम्ररी शासन गर्नेछन् । उनीहरूले मेरो लागि पनि सोच्नेछन् किनभने उनीहरू मेरा सबैभन्दा मिल्ने साथीहरू हुन् । त्यसैले अहिलेको भन्दा गणतन्त्रमा मेरो रेखदेख पनि राम्रो हुनेछ, कैलाश पनि अझ सुन्दर हुनेछ, सबैले सम्मानित भएर बाँच्न पाउनेछन् । त्यसैले कैलाशमा हामीलाई जसरी भए पनि गणतन्त्र चाहियो ।”

“बच्चा भएर यस्तो नचाहिने कुरा नगर विनायक । तिमीले अझै बुझेका छैनौ,” महादेवले विनायकको कुरालाई गम्भीरतापूर्वक लिएनन् ।

“के बुझ्नु छ र पिताजी ! मैले हरेक दिन देखिरहेकोछु, आफैं भोगिरहेकोछु, त्यो भन्दा बढी के बुझ्नुपर्‍यो ?”

“तिमीलाई अहिले खानपान, रेखदेख, स्वतन्त्रता, सम्मान के पुगेको छैन र ?” महादेवले बाल विनायकलाई सम्झाउन खोजे ।

“मेरो मात्र कुरा होइन । कैलाशमा बस्ने सबैले समान अधिकार पाउनुपर्छ । हजुर नै हेर्नुहोस् न नन्दी र गणहरूको बीचमा असमानता ! न समान स्वतन्त्रता छ, न समान सम्मान छ, न समान अधिकार छ, न समान अवसर छ । हामीलाई यो कुरा स्वीकार्य छैन,” विनायकले गणहरूले सिकाएको कुरा महादेवसँग जाहेर गरे ।

“तिमीले मात्र भनेर भएन नि । अरूहरूले के सोचेका छन्, उनीहरूलाई सोधेका छौ ?” महादेवले उनलाई अझै सम्झाउन खोज्दै थिए ।

“अरू कुरा मलाई थाहा छैन, हामीलाई जसरी पनि गणतन्त्र चाहिन्छ,” विनायकले जिद्दी गरे ।

“ल म यसमा विचार गरूँला, तिमी अहिले खेल्न जाऊ,” भनेर महादेवले बच्चालाई फकाउने हेतुले विनायकलाई पठाए ।

विनायक पनि खुशी हुँदै गएर गणहरूलाई आफ्नो र महादेवबीच भएको कुरा सुनाए । गणहरू अब गणतन्त्र आउने भयो भनेर मख्ख पर्दै पर्खेर बसे ।

तर धेरै दिन बितिसक्दा पनि महादेवले गणतन्त्र दिने कुरा गरेनन् । गणतन्त्रको कुरा सेलाउन थाल्यो । त्यो देखेर कैलाशमा आफ्नो आसन जमाएको बालरूपी दैत्यले गणहरू र विनायकलाई पुन: उक्साएर आन्दोलन गर्न लगायो ।

“म पिताजीसँग फेरि कुरा गर्छु,” विनायकले भने ।

“हैन अब कुरा गरेर काम छैन । हामीलाई महादेवले सजिलै गणतन्त्र दिनुहुन्न । अब हामीले आन्दोलन गरेर गणतन्त्र ल्याउनुपर्छ,” दैत्यले उक्सायो ।

“हो, हो ! अब आन्दोलन नै एक मात्र बाटो हो !” गणहरूले दैत्यको योजनामा समर्थन गरे ।

त्यसपछि कैलाशमा गणतन्त्र स्थापनाको लागि आन्दोलन शुरू भयो ।

विनायकले भोक हडताल गरे । आफ्नो मागलाई महादेवले बेवास्ता गरेकोमा क्रुद्ध बनेका उनले आफ्नो सुँडले कैलाशका संरचनाहरू भत्काउन थाले । त्यसमा दैत्यले र गणहरूले पर्दा पछाडिबाट सहयोग गरे ।

“के गरेको विनायक ?” महादेव र पार्वतीले सोधे ।

“आन्दोलन !”

“केको लागि ?”

“हाम्रो स्वतन्त्रताको लागि, हाम्रो समानताको लागि, हाम्रो हक र अधिकारको लागि !” विनायकले भने ।

“कसले सिकायो ?”

“कसैले हैन, मैले आफैं गरेको हो !”

तर महादेवलाई विश्वास लागेन । उनले ध्यान दृष्टिले हेरे र विनायकको आन्दोलनमा कसको हात रहेछ भन्ने उनलाई प्रष्ट भयो । अनि उनले हाँस्दै भने, “तिम्रो त्यो साथी छ नि त्यो पातालको दैत्य हो । दैत्यराजले कैलाशको वातावरण अस्तव्यस्त पार्न उसलाई यहाँ बालकको रूप धारण गरेर पठाएका हुन् । उसले आफ्नो स्वार्थको लागि तिमीहरूलाई उकासेको छ । छोडिदेऊ यो कुरा । म अब उक्त दानवलाई पनि पाताल पठाइदिन्छु !” महादेवले भने ।

“मलाई यो प्रस्ताव स्वीकार्य छैन पिताजी । ऊ मेरो साथी हो । हजुरहरूले भन्दा उसले मेरो ख्याल राख्छ, उसलाई पाताल पठाएमा म पनि ऊसँगै पाताल जान्छु । अब यो आन्दोलन उसको हैन, मेरो हो, गणहरूको हो । हामीलाई जसरी पनि गणतन्त्र चाहिन्छ, हैन भने म झन् ठूलो आन्दोलन गर्छु !” विनायकले महादेवलाई चेतावनी दिए ।

बाल विनायकको त्यो मूर्खता र जिद्दीपन देखेर महादेवले गणतन्त्रको लागि हुन्छ भनिदिए । महादेवले भनेपछि नन्दीले पनि कुनै आनाकानी गरेन सजिलै सत्ता छोडिदियो र कैलाशको राज्य सञ्चालन नन्दीको हातबाट गणहरूको हातमा गयो ।

गणतन्त्र आएपछि गणहरू, विनायक अनि भूतप्रेतहरू सँगै मिलेर भोज गरे । अब कैलाश पहिले भन्दा राम्रो हुने भयो भनेर सबै खुशी भए । तर त्यो खुशीयालीमा ठूलो भोज त पातालमा दैत्यहरूले गरे ।

गणतन्त्र आएको केही दिनपछि पार्वती आफ्ना पिता हिमालयलाई भेट्न कैलाशबाट हिमालय पर्वतको घरतिर लागिन् । कैलाशमा भगवान शिवलाई पनि ती बालक विनायकलाई स्याहारेर बस्न मन लागेन । त्यसै पनि बाल विनायक गणतन्त्रमा गणहरूसँग रमाएर बसिरहेका थिए । त्यसैले महादेवले गणका नेताहरूलाई “म आजदेखि केही दिनको लागि ध्यानमा बस्न जान्छु । विनायक बच्चै छ, उसलाई राम्ररी स्याहार्नू । उसलाई अनि कैलाशका अन्य बासिन्दाहरूलाई खानपान, सुरक्षा, मनोरञ्जनमा केही कमी हुन नदिनू । ऊ बिरामी भयो भने राम्ररी उपचार गर्नू, उसलाई हरेक दिन पढाउनू । सबै मिलेर बस्नू, एक आपसमा झगडा नगर्नू । अनि कैलाशलाई पनि राम्रो र व्यवस्थित गरेर चलाउनू । केही दिनमै माता पार्वती आइहाल्छिन्, म पनि ध्यान खुल्यो भने आइहाल्छु,” भनेर उनीहरूलाई राम्ररी अह्राएर ध्यान गर्न भनेर हिंडे ।

पहिले जस्तै नन्दी पनि महादेव ध्यान गर्न हिंडेपछि उनको पछिपछि लाग्दै गयो । अनि महादेव ध्यानमा बसेपछि नन्दी पनि उनी नउठ्दा सम्म उनकै अगाडि जाडो, गर्मी, पानी, हुरी केही नभनी थपक्क त्यहीं बसिरह्यो ।

उता कैलाशमा महादेव र पार्वती दुवै नभएको मौका पारी शासनसत्ता आफ्नो हातमा आएपछि गणहरूले सबभन्दा पहिले कैलाशको ढुकुटीमा के छ भनेर हेरे । महादेवको ढुकुटीमा के नै हुन्थ्यो र ? तै पनि अलिअलि भएको गाँजा, भाँग र धतुरो खाएर टन्न सुते । त्यतिले नपुगेर बाल विनायकका लागि माता पार्वतीले बनाएर राखिदिएका खाने कुराहरू मोदक, लड्डुहरू खाएर केही दिनमै गणहरू यत्रो भुँडी बनाएर हिंड्न थाले ।

गणतन्त्र आएपछि पातालमा बसेका राक्षसहरूलाई पनि कैलाशमा आवागमन गर्न सजिलो भयो । डरलाग्दा अनुहारका, मोटा, लामा जुँगा पालेका, राताराता आँखा गरेका राक्षसहरू कैलाशमा आएर त्यहाँ आफू मर्जी खाने, सुत्ने, मोज मस्ती गर्ने, जताततै फोहोर गर्ने, महादेवले ध्यान गर्नको लागि बनाएको ठाउँ अनि पार्वतीले बनाएको सुन्दर बगैंचा भत्काउन थाले । ती वस्तुहरू कैलाशको सुन्दरताको लागि कति महत्त्वपूर्ण छन् भनेर उनीहरूलाई थाहा पनि थिएन, वास्ता पनि थिएन । उनीहरूलाई त खाने, सुत्ने मस्ती गर्ने बाहेक अरू सुर्ता थिएन । त्यसै पनि उनीहरूको ध्येय भनेकै कैलाशलाई बिगार्ने नै थियो ।

विनायक सानै थिए, के नै थाहा हुन्थ्यो र ? आफ्नो कब्जामा राज्यसत्ता आइसकेपछि दैत्यहरूले गणहरू र पार्वती पुत्र बीचमा विभाजन ल्याएमा त्यहाँ आफ्नो आदेश र इच्छा अनुसार काम गर्न सकिने देखेर दुवैतर्फ बाट उनीहरूलाई उकास्न थाले ।

विनायककहाँ गएर गणहरूको चुक्ली लगाउने अनि गणहरूकहाँ गएर विनायकको चुक्ली लगाउने गर्न थाले । त्यसपछि केही समयमै गणहरू र विनायकको बीचमा दूरी र वैमनस्यता बढ्यो । त्यो देखेर ती दैत्यहरू मख्ख परे अनि त्यहाँ आफ्नो इच्छा अनुसार गणहरूलाई प्रयोग गर्न थाले ।

राक्षसहरूसँग मिलेर गणहरूले विनायकलाई र भूत प्रेतहरूलाई एक्लाए । अनि उनीहरूलाई खान नदिने, गाली गर्ने, दुःख दिने कामहरू गर्न थाले । भूत प्रेतहरू त्यहाँ बाँच्न नसकेर भागेर श्मशानमा गएर बस्नथाले । त्यत्रो भुँडी भएका विनायक खान नपाई सुकेर सुइखुट्टे भए । त्यसको साटो गणहरू मोटा भए, विलासी भए । राक्षसहरू पनि कैलाशको सम्पत्ति आफ्नै जस्तो गरेर उपयोग गर्न थाले । सामान्य गणहरू दैत्यहरूको अत्याचार बुझ्न थाले । तर केही गणहरू भने दैत्यका निकै नजिक थिए । तिनै गणहरूलाई दैत्यले कैलाशको शासन र सत्ताको चाबी सुम्पन्थे । कसैले निहुँ खोज्न थाल्यो भने, आफूले भनेको मान्न अटेर गर्न थाल्यो भने दैत्यले सत्ताको चाबी खोसेर आफूले भनेको मान्नेलाई सुम्पन्थे । कैलाशको शासन र सत्तामा हालीमुहाली गर्न पाएका दैत्यराजका सेवक गणहरू बाहेक अन्य गणहरूको अवस्था चाहिं झन् पछि झन् दयनीय हुँदै जान थाल्यो ।

त्यसैगरी धेरै समय बित्यो । विनायकले सहन सक्ने जति सहे । तर एकदिन खप्नै नसक्ने गरी साह्रै भोक लाग्यो । अनि गणहरू र राक्षसहरू बसेर भोजन गरिरहेको ठाउँमा गएर खाने कुरा मागे । गणहरूले उनलाई हप्काए । अनि आफूले खाएको जुठो दिएर त्यहाँबाट जान भने ।

बाल विनायकलाई साह्रै पीर लाग्यो । उनले सोचे- आफ्नै ठाउँमा आफै त्यति तिरस्कृत भएर जिउनु परेको छ, पेटभरी खान पाइँदैन भनेर । गणतन्त्र ल्याउनको लागि गणहरूको लहलहैमा लागेर पिताजीसँग लडाइँ गरें तर आज केही स्वार्थी गणहरूले यो अवस्थामा पुर्‍याए । कैलाशको वातावरण लथालिङ्ग छ, सत्तामा बसेका दैत्यराजले नियुक्त गरेका गणहरू बाहेक सबैको दुरावस्था छ । उनी कैलाशको अवस्था र आफूले गरेको गल्ती देखेर पश्चातापमा रुन थाले ।

बाल विनायक रोएको देखेर सानैदेखि उनीसँग खेलेको एक जना गणलाई गणराजहरूसँग निकै रीस उठ्यो । ऊ गणराजले बैठक गरिरहेको स्थानमा पुगेर क्रुद्ध हुँदै आफ्नो असन्तुष्टी जनायो- “यो के गरेको गणराज ? हामीले गणतन्त्र ल्याएको यही गर्न हो ? हेर्नुस् त यो कैलाशको हाल ? कैलाश पहिले कस्तो थियो अहिले कस्तो छ ?”

“कस्तो छ ? पहिले भन्दा त राम्रै छ ! के राम्रो छैन र ?” गणराजले बैठक रोकेर सबैले सुन्नेगरी भने ।

“राम्रो छ महाराज ! धेरै राम्रो छ !” बैठकमा उपस्थित सबैले एकै स्वरमा भने ।

“के को राम्रो छ ? सत्तामा बसेका तिमीहरूको लागि राम्रो होला । हाम्रो लागि त नर्क जस्तो छ । अझ राम्रो छ भन्न तिमीहरूलाई अलिकति पनि लाज लाग्दैन ? दैत्यको चाकरी गरेर कैलाशवासीलाई दुःख दिन तिमीहरूको मनले कसरी दिएको होला? अरूको त के कुरा गरौँ विनायककै हाल दयनीय छ । हेर त विनायक दुब्लाएर कस्तो भएका छन् ? जसले गणतन्त्र ल्याएर तिमीहरूलाई कैलाशको सत्तामा पुर्‍याउन त्यत्रो सहयोग गरे आज तिनै विनायकलाई तिमीहरू भोकै मार्दैछौ ? यही हो तिमीहरूको गणतन्त्र ? पातालका राक्षससँग मिलेर कैलाशलाई भताभुङ्ग बनाउँदा तिमीहरूलाई अलिकति पनि बुद्धि पलाएन ? कैलाश हाम्रो मातृभूमि हो, शासक भएको नाताले यसको रक्षा गर्नु तिमीहरूको पहिलो कर्तव्य हो । विकासको कुरा त पर जाओस् तिमीहरूले त कैलाशको विनाश गर्‍यौ । कैलाशका बासिन्दाहरू मिलेर बस्नु पर्नेमा तिमीहरूले एकापसमा विभाजन ल्याएर उनीहरूलाई लडाएर आफूले शासन गरिरह्यौ । आफूहरू भित्रै दुश्मनी बढायौ । यहाँ तिमीहरूको शासनमा बस्न नसकेर भूत प्रेतहरू कैलाश छाडेर भाग्न बाध्य भएका छन् !” उक्त गणले सबैको सामु आफ्नो रीस पोख्यो ।

गणराजसँग केही उत्तर थिएन । तर उनीसँग सत्ता थियो, शक्ति थियो, पातालको दैत्यराजको समर्थन थियो । “मेरो विरोध गर्ने तेरो यत्रो हिम्मत ?” भन्दै गणराजले तुरुन्तै विरोधी युवकलाई ‘कैलाशको शान्ति सुरक्षामा दखल गरेको’ भन्ने आरोप लगाएर उसलाई ठेडुकामा हालेर कोर्रा हान्ने आदेश दिए । उसको अवस्था देखेपछि अन्य गणहरूको विरोधको आवास निस्तेज भयो । कैलाशमा मुर्दा घरको शान्ति जस्तो शान्ति कायम भयो । दैत्यराजले आफ्नो कुरा सुन्ने गणराजहरूलाई कैलाशमा पालैपालो शासन गर्न खटाइरहेको छ । अन्धभक्त स्वार्थीहरूले गणराजको जयजयकार गरिरहेका छन् । पातालका दैत्यराजको कृपा, अन्धभक्तहरूको जयजयकार, र सत्ता र शक्तिको उन्मादले गणराजले ढुक्क भएर निरीह कैलाशवासीहरूप्रति दिनदिनै अन्याय अत्याचार गरिरहेका छन् । कसैले विरोधको सानो स्वर पनि निकाल्यो भने ऊ ठेडुका र कोर्राको भागीदार भैहाल्छ र चूप रहन्छ । कैलाशमा गणतन्त्र निर्वाध रूपमा चलिरहेकै छ ।