इटहरीदेखि गाडीमा बसेको बस्यै नेपाले डाँडाको मामाघर आइपुगिन्छ भन्ने त मनको अन्तरकुन्तरमा कतै पनि थिएन । सानामा टुकुरटुकुर दानाका रूख चहार्दै हिंड्ने भाइ अर्जुनले आज इटहरीबाट बेहुली लिएर आएको छ । मानिसलाई पत्तै नदिई उडिहिंड्ने समयले मलाई पनि यस वयमा ल्याएर उभ्यायो । आफ्ना बचेरा हुर्किएर उड्न तम्तयार हुँदा,त्यो सानो भाइ अर्जुन कति चाँडो हुर्किएछ ! मैले सानामा काखमा खेलाएको भाइ,कान्छा मामाको पहिलो सन्तान अर्जुन जन्मिंदा म असाध्यै खुसी भएकी थिएँ । अब मेरो पनि खेल्ने साथी आयो भनेर नाचेकी थिएँ ।

आफ्नो रफ्तारमा हिंड्ने समयले पनि कहिलेकाहीँ खुशीका केही थान पोकाहरू हातमा हालिदिएर जाने रहेछ । मामाघरमा बेहुली भित्र्याउने सुरसार हुँदैगर्दा म भने आँगनका पल्ला छेउमा वर्षौंदेखि आसन जमाएर बसेको अजङ्गको चिप्लेटी ढुङ्गामा बसेर समयले मेरा हातमा हालिदिएको खुसीको एउटा सानो पोको फुकाउन थालें ।

त्यही चिप्लेटी ढुङ्गा जसमा म नुहाएपछि घाम ताप्न बस्ने गर्थें । त्यहीँ बसेर कपाल सुकाउँथें । माइजूले साँधेर दिएको निबुआ खान्थें । शखरचिनी केरा खान्थे र केराका बोक्रा खोल्मा नजिकको अगेनामा बसालेको खोले पकाउने कुँडेमा हालिदिन्थें । कुनै दिन हातमा शख्खर लिएर चाट्दै, सीसाका कपमा माइजूले दिनुभएको चिया सुरुपसुरुप पार्थें । कहिले हजुरबासँग दानाका बोक्रा छोडाउन थाल्थें, मकै नङ्ग्याउन थाल्थें भने कहिले टुकुरटुकुर हेरी मात्र रहन्थें । वर्षौँ अगाडि म सानी हुँदाको मेरो बालसंसार असाध्यै रमाइलो थियो ।

* * * *

उहिले नेपाले डाँडा आउनका लागि तुम्लिङटारदेखि हिंड्नुको विकल्प थिएन । तुम्लिङटारदेखि बालुवासम्मको अरुणको गड तीरैतीरको यात्रा केही झिंझो लाग्दो, केही रमाइलो हुनेगर्थ्यो । साना नानीहरू र सामान साथमा भए, थप सतर्क हुनुपर्थ्यो । बोकेका झोला झल्ट्याङझुल्टुङ पार्दै तुम्लिङटारबाट बालुवा आइपुग्न तीन घण्टा जति लाग्थ्यो । बालुवामा झोलुङ्गे पुल तरेपछि नाक ठोक्किने उकालो चढ्नुपर्थ्यो । तराईको हाराहारी गर्मी हुने अरुण उपत्यकामा हिउँद लागिसक्दा पनि जाडो पलाउन आनाकानी गर्थ्यो । बालुवा यात्रीहरू एकछिन बिसाएर चिया घुट्क्याउँदै पसिना सुकाउने सानो बजार थियो । सखुवाको जङ्गल बीचको घुमाउरो बाटो नागबेलीझैं बटारिँदै उकालो लागेको थियो । थुप्रै उकालो छिचोलेपछि प्रायः तीन जना केटा बाटामा खेल्दै गरेका भेटिन्थे । अर्जुन, नकुल र भीम । यी तीनलाई भेटेपछि लाग्थ्यो अब मामाघर टाढा छैन । आफूले पूरै स्कूले जीवन बिताएको मामाघर पुग्न मन जहिल्यै आतुर रहन्थ्यो ।

त्यै अर्जुनले आज बेहुली लिएर आएको छ । माइजूले ‘ए भान्जी भित्र आउनू’ भनेपछि मात्र म झसङ्ग भएँ । चिप्लेटी ढुङ्गामा बसेर विगतको यात्राबाट बाहिर निस्की भित्र गएँ । सासू-बुहारीको पाथी भर्ने काम भइरहेको थियो ।

* * * *

कच्ची बाटाको गाडीको यात्रामा हल्लिएर र थथर्किएर थिलथिलो भएको ज्यानले दुई दिन त आरामका लागि मात्रै लियो । त्यसवेला पनि केही समय मैले चिप्लेटी ढुङ्गामा बसेर केही सम्झनाहरूको पोया फुकाउन पाएँ । शरीरले केही आराम पाएपछि तेस्रो दिनमा मात्र म मामाघरबाट निस्किएँ ।

अनि याद आयो डाँडा पर्तिरकी हजुरआमाको घर, काकीको घर । यस घरमा मैले बाल्यकालका सुनौला दिनहरू बिताएकी छु । काकीसँग खेलेर, जिस्किएर, दंग्ल्याएर, वा चकचक गरेर । वा हजुरआमासँग लाडे पल्टिएर । मेरो मन पुनः त्यतैतिर उड्न थाल्यो । चिप्लेटी ढुङ्गामा घाम ताप्दै म फेरि सम्झनाको त्यही पलमा पुगें जहाँ पहिले कैयन् पटक पुगिसकेकी थिएँ ।

* * * *

काकी र हजुरआमाको घर । त्यस घरमा बिताएका हरेक पल मेरा स्मृतिमा कैद भएका छन् । म मामाको कान्छी औंला समातेर स्कूल जान्थें । मामाघरबाट स्कूल जान करिब १५ मिनेट उकालो हिंड्नुपर्थ्यो । मामा त्यही स्कूलमा पढाउनुहुन्थ्यो । बेलुकी छुट्टी भएपछि म मामालाई छोडेर गुरुरु कुद्दै घर आइपुग्थेँ । मलाई काकीकहाँ जान जहिल्यै हतार भएको हुन्थ्यो ।

माइजूले ‘खाजा खाएर जानू’ भन्दा पनि सुनेको नसुनैगरी झोला फ्यात्त गुन्द्रीमा फ्याँकेर दौडेर त्यहाँ पुग्थें । हजुरआमा सिकुवामा बसेर बाती कातिरहनु हुन्थ्यो भने काकी भित्र भान्सामा काम गरिरहनु हुन्थ्यो । म बाहिरैबाट कराउँथें, “काकी, ए काकी, गट्टी खेल्न बाहिर आउनू ।”

काकीको साटो हजुरआमा बोल्नुहुन्थ्यो, “एकछिन पख नानी, भान्साकाम सकेर आउँछे ।”

मलाई भित्र पसेर काकीलाई तानिल्याऊँ जस्तो लाग्थ्यो तर हजुरआमाले गाली गर्नुहुन्छ भन्ने डरले भित्र पस्न सक्दिनथें । हजुरआमा वा काकीले आफैँ “हिंड भित्र जाऔँ” भनेपछि मात्र भित्र पस्थें ।

काकी एक छिनपछि छिटको रातो फरियामा हात पुछ्‌तै निस्कनुहुन्थ्यो र हामी बीच आँगनीमा सुकुल ओछ्याएर आमनेसामने बस्थ्यौं । अनि शुरू हुन्थ्यो हाम्रो गट्टीको खेल । एक टुप्पा दुई, एक टुप्पा तीन …

काकीका हात ठूला थिए र गट्टी उहाँका हातमा अडिन्थे । मेरामा साना हातमा भने गट्टी अडिन्थेनन् र म हार्थें । दुईतीन पटक हारेपछि काकीका हातमा गट्टी अडिन छाड्थें । मेरामा कहिले दुई कहिले तीनओटा गट्टी अडिन्थे र म मख्ख पर्थें । त्यसवेला त मैले केही बुझेकी थिइनँ तर पछि त्यस घरकी हजुरआमा र काकीलाई सम्झिँदा लाग्छ, काकीले जानाजान आफू हारेर मलाई जित्न दिनुहुन्थ्यो । काकीको मप्रतिको अगाध स्नेह थियो त्यो ।

मलाई भाँडाकुटी खेल्न असाध्यै मन पर्थ्यो । काकी मेरा छेउमा बसेर मैले खेलेको हेरिरहनुहुन्थ्यो । चूह्लो बनाउन सघाउनुहुन्थ्यो । केराको पातको थाल बनाउन, कराइ बनाउन सघाउनुहुन्थ्यो । मेरा गाईको दूध दुहुन म काकीलाई नै लगाउँथें । मैले खेलमा पकाएका पकवान चाख्ने र खाने पनि काकी नै हुनुहुन्थ्यो । काकी कहिले तरकारीमा नून कम छ भन्नुहुन्थ्यो भने कहिले ढकनेमा शख्खर पुगेन भन्नुहुन्थ्यो । म पनि साँच्चै हो जस्तो गरेर तरकारीमा नून थप्थें । ढकने चाहिं ‘यत्तिकै खाऔँ है’ भन्थें ।

त्यसवेला मामाघरमा, माथ्ला घरमा, तल्ला घरमा, टार घरमा, डाँडा घरमा, गहिरा घरमा वर्षमा एक वा दुई श्राद्ध भइरहन्थे । श्राद्धमा छरछिमेकीहरूलाई बोलाउने र प्रसाद खुवाउने चलन थियो । म कुनै घरको श्राद्ध छुटाउँदिनथें । श्राद्धमा फुरौला खान पाइन्थ्यो । सेलरोटी खान पाइन्थ्यो । मलाई फुरौला र सेलरोटी असाध्यै मन पर्थे, अझ पनि पर्छन् । त्यसवेला मलाई श्राद्ध भनेको खुशी मनाउने अवसर हो, उत्सव हो जस्तो लाग्थ्यो । किनकि आएका छरछिमेकीहरू, भद्रभलाद्मीहरू, पण्डितपुरोहितहरू खुशी भएर कुरा गर्थे । मीठामीठा खानेकुरा खान्थे । श्राद्धमा के गर्छन् र के गर्नुपर्छ भन्ने कुरा मेरो चासोका विषय थिएनन् । मलाई त भान्सामा पाक्ने पकवानसँग मतलब थियो । सेलरोटी, फुरौला, र तामाको रससँग मतलब थियो ।

गाउँमा श्राद्ध नहुने घर एउटा मात्र थियो- हजुरआमा र काकीको घर । मेरा मनमा असाध्यै ठूलो जिज्ञासा उत्पन्न भएको थियो । धेरै पटक त मैले आँट गर्दागर्दै पनि बोल्न सकिनँ । आज चाहिं सोध्छु भनेर जान्थें, तर पुगेपछि मनमा डर पस्थ्यो । हजुरआमाले केही भन्नु हुने हो कि ? रिसाउनुहुने हो कि ? हकार्नुहुने हो कि ? यस्तै असमञ्जस बोकेर म त्यहाँ जान्थें ।

केही समयपछि मनमा दह्रै आँट पलायो र डराउँदै डराउँदै हजुरआमालाई सोधें, “हजुरआमा तपाईंहेरूकाँ किन श्राद्ध नगरेको ? सेल र फुरौला किन नपकाएको ?” हजुरआमा रिसाएर आगो हुनुहुन्छ जस्तो लागेको थियो, तर उहाँका मुस्कुराउँदा ओठहरूले दिएको जवाफ साह्रै कोमल भाषामा थियो,“नानी, हामीलाई श्राद्ध गर्नै आउँदैन । कसरी गर्ने र ?”

ओहो, हजुरआमा र काकीले त नजानेर पो श्राद्ध नगर्नुभएको रहेछ । गाउँका जान्ने मान्छेहरूले सिकाउनु त पर्ने । गाउँका सबै घरमा श्राद्ध हुने तर त्यहाँ नहुने । हजुरआमाका त्यति कुरा सुनेपछि मैले भनेँ, “ए हजुरआमा, नजानेर पो नगरेको ? हाम्रा घरमा सिक्न आउनू नि । हजुरबासँग सिक्नू । हजुर्बालाई कस्तो राम्रो श्राद्ध गर्न आउँछ । पहिले सिक्नू र सिकिसकेपछि श्राद्ध गर्नू ।”

हजुरआमाले हाँस्दै भन्नुभयो, “ल, ल, सिकेर गरूँला ।”

हजुरआमाले त्यति भनेपछि म भान्साघरतिर दगुरें, काकीलाई सुनाउनका लागि । काकी भान्सामा हुनुहुन्नथ्यो । दाउरा लिन दाउरा कटेरामा जानुभएको रहेछ । एकछिन पछि आउनुभयो र भन्नुभयो, “जाऊँ हिंड, गट्टी खेल्न ।” गट्टी सुन्ने बित्तिकै मैले श्राद्धको कुरा बिर्सिएँ । काकी पछि लागें । यसपटक काकीले मलाई आँगनको सुकुलतर्फ नलगेर खोल्मातिर लैजानुभयो । खोल्माभित्र सानो ठाउँलाई लिपपोत गरेर कोठाको आकार दिइएको थियो । भुइँमा परालका गुन्द्री र खोसेल्लाका पीरा ओछ्याइएका थिए ।

हामी गुन्द्रीमा आमुन्ने-सामुन्ने बस्यौं । काकीले पछ्यौराको छेउमा गाँठो पारेर राखेका गट्टी निकाल्नुभयो र गुन्द्रीमा फिंजाउनुभयो । अनि हाम्रो खेल शुरू भयो, – एक टुप्पा दुई, …. ।

काकीको साथ पाएर म बारीका डिलहरूमा बुरुकबुरुक नाचिहिंड्थे । एउटा कान्लाबाट अर्को कान्लामा उफ्रिहिंड्थें । काकी पनि मसँगै उफ्रिनुहुन्थ्यो, नाच्नुहुन्थ्यो । कम्मरमा रातो छिटको फरिया बेरेर सेतो पटुका बाँध्नुहुन्थ्यो काकीले । ढाका चौबन्दी चोलाका तुना पनि झुन्डिरहेका हुन्थे । स्कूल छुट्टी भएपछि लुगा समेत नफेरी काकीका घरतिर भाग्थें । काकीसँग खेलेर साँझ परेपछि मामाघर फर्किँदा माइजू रिसाउनुहुन्थ्यो, “हेर, कति मैलो बनाएकी त्यो सेतो सट । धुँदा पनि निख्रिंदैन ।” तर मलाई माइजूको गनगनले ननिको लाग्दैनथ्यो । म मुसुक्क हाँसिदिन्थे र माइजूको रीस अनुहारबाट गायब हुन्थ्यो ।

एक दिन स्कूल छुट्टी भएपछि सिकुवाको आसनीमा झोला फ्यात्त फ्याँकेर काकीका घरतिर दौडिएँ ।

सधैं हजुरआमा र काकी मात्र देखेको घरमा अहिले एक जना लोग्ने मान्छे पनि थिए । ती मान्छे गजधम्म सिकुवाको खाटमा बसेका थिए । हजुरआमा खोसेल्लाका पीरामा बस्नुभएको थियो र थाममा अडेस लाग्नुभएको थियो । ती मान्छे र हजुरआमा कुरा गरिरहेका थिए । मलाई देख्नेबित्तिकै हजुरआमाले आफूतिर बोलाउनुभयो, “ए नानी ! यता आऊ त ।” मलाई भने नौलो मान्छेसामु जान मन लागेन । म दगुरेर भान्सामा पसें । काकी भान्सा पकाउन व्यस्त हुनुहुन्थ्यो । भान्साभरि भाँडावर्तन फैलिएका थिए । कुनैमा काटेका आलु थिए । कुनैमा गोलभेँडा । कुनैमा काउली थियो भने कुनैमा बैगुन ।

मलाई देख्ने बित्तिकै गट्टी खेल्न निस्कने काकी आज किन चूपचाप हुनुहुन्छ ? मैले काकीका अनुहारमा हेरें । उहाँका आँखा झुकेका थिए भने, ओठमा रहस्यमयी मुस्कान । काकीले मुस्कुराउँदै मतिर हेरेर भन्नुभयो, “आज खेल्न जान भ्याउँदिन ल म । हेर न, यति धेरै खानेकुरा पकाउनु छ ।”

काकीका कुरा नसकिंदै हजुरआमा भान्सामा पस्नुभयो र भन्नुभयो, “तिम्री काकी अब खेल्न भ्याउँदिनन् नानी । आज मात्र होइन, भोलि पर्सि, निकोर्सि, कहिल्यै भ्याउँदिनन् । यिनका खसम आका छन् । काका, के काका । बाहिर बसेका तिम्रा काका ।”

न्याउरो मुख लगाएर मामाघर फर्किंदैगर्दा ती मान्छेको अनुहारमा हेरें । खै, काका रे । खेल्न नपाएकाले दिक्क लागेको थियो । लाग्यो यत्तिका दिन नआका काका किन अहिले किन आका नि ? मेरो अनुहारको दिनको उज्यालोसँगै अस्ताउँदै गएको थियो । सधैं हाँसिरहने भान्जीका अनुहारबाट मुस्कान गायब भएपछि मामाले सोध्नुभयो, “के भो भान्जी ? किन रुन लागेकी ? काकी रैनछन् घराँ ?”

“काका आका रे ।” मैले ओठ लेप्र्याउँदै भनें ।

मामाले “ए आएछ त्यो बाहुन । आठ वर्षपछि घर सम्झेछ !” भन्नुभयो र आफ्नो कामतिर लाग्नुभयो ।

मलाई भने दिक्क लाग्यो । भान्सामा पुगेर माइजूलाई भनें, “माइजू, खाजा दिनू न ।” कहिल्यै खाजा नमाग्ने भान्जीले खाजा माग्दा माइजू पनि छक्क पर्नुभयो । दिउँसै मकै भुटेर राख्नुभएको रहेछ, एउटा बोहोतामा हालेर दिनुभयो । म बाहिर निस्केर चिप्लेटी ढुङ्गामा बसेर मकै चबाउन थालें । काकीसँग खेल्न नपाएको रीस पनि त्यही मकैसँगै चपाउन र निल्न खोजेँ ।

त्यस घरका काका धेरै वर्षपछि घर आएका थिए । हजुरआमा असाध्ये खुशी देखिनुहुन्थ्यो । काकीको खुशी पनि लुकेको थिएन । तर मलाई भने नराम्रो लाग्यो । मेरी खेल्ने साथी छुटिन् । काका आएपछि म महीना दिनसम्म त्यस घरमा गइनँ । काकीको साथ छुटेको न्यास्रो मेटिन धेरै समय लाग्यो ।

* * * *

एक वर्षपछि काकीले छोरो पाउनुभयो । काकी काखमा छोरो बोकेर आँगनमा सुकुलमाथि बस्नुहुन्थ्यो । काका बाहिरका काम गर्थे । घाँसदाउरा गर्थे । गाई दुहुन्थे । काका आएदेखि म साह्रै कम मात्र काकीका घरमा गएँ । कहिलेकाहीँ त्यत्तिकै जान्थें । काकीको फुर्सद त पोहोरै काका आएदेखि नै हराइसकेको थियो । अब काखमा छोरो आएपछि काकीका कामहरू लम्बेतान हुन्थे । तर जति काम बढे पनि काकीको अनुहारको चमकमा कुनै कमी आएको थिएन ।

सानो बालकलाई हजुरआमाले घाममा राखेर तेल लगाइदिनु हुन्थ्यो । तोरीको तेलले लफ्रकै भिजेको सानो मानिस कोक्रामा घाम ताप्दै मस्त निदाउँथ्यो । म उसको शान्त अनुहारमा हेरिरहन्थें । मलाई काकीका घरमा जाने एउटा नयाँ उद्देश्य फेला परेको थियो । म अब भाइ कहिले ठूलो होला र ऊसँग खेल्न पाउँला भनी बाटो हेरिरहने भएकी थिएँ । स्कूल जानुअघि म भाइले घाम तापेको हेर्न जान्थें । स्कूल छुट्टी हुँदा बेलुका भने भाइ कोक्रोसहित भान्सामा पुगिसकेको हुन्थ्यो । काकी उज्यालो अनुहारसँगै भाइ हेर्दै भान्सामा पकाई रहनुहुन्थ्यो । काका र हजुरआमा सिकुवामा बसेर कुरा गरिरहनुहुन्थ्यो । सधैं गर्दा पनि नसकिने कस्ता कुरा हुँदा हुन् ! म आश्चर्यमा पर्थें । कहिलेकाहीं लाग्थ्यो लुकेर छेउमा गएर कुरा सुनौं । तर त्यसो आँट भने गरिनँ । नैतिक शिक्षा पढाउने सरले हामीलाई लुकेर अर्काका कुरा सुन्नुहुँदैन भनी पढाउनुभएको थियो ।

भाइ हुर्केर मेरो खेल्ने साथी बन्ला भनेर पर्खिंदापर्खिंदै म नेपाले डाँडाबाट चैनपुर गएँ । चैनपुरमा कक्षा आठमा पढ्न थालेपछि भने काकी, हजुरआमा र भाइ स्मृतिका कुनातिर धकेलिंदै गए । प्राथमिकतामा आफ्नो पढाइ पर्‍यो, वरिपरिको परिवेश पर्‍यो । कक्षा चढ्दै जाँदा पढाइको बोझ पनि थपिंदै गयो । जीवनले आफ्नै लय पक्रिन थाल्यो ।

* * * *

बेहुली लिएर आएको पर्सिपल्ट । मलाई काकीका घरमा जान असाध्यै मन लागेको थियो । काकी घरकी हजुरआमा पाँच वर्ष अगावै बितिसक्नुभएको थियो । हजुरआमा बिनाको त्यो घर कस्तो भयो होला ? भाइ कत्रो भयो होला ? काकी कस्ती हुनुभयो होला ? यावत् प्रश्नहरू मनमा थिए । बिहान चिया खाएपछि माइजूलाई भनेर काकीका घरतिर लागें ।

काकीको घर पुग्नै लाग्दा दश-बाह्र वर्षको केटो झोला बोकेर उकालो लाग्यो । अहो भाइ पनि यत्रो भइसकेछ । पक्कै भाइ नै होला । आफ्नै सोचप्रति अचम्म लागेर आयो । अरू कोही पनि हुन सक्छ । केटालाई निकै माथि पुगुन्जेल हेरिरहेँ ।

काकीको घरले पनि रूपरङ्ग फेरेछ । फुसको छानो जस्ताको भएछ । टाटीका बारहरू काठका भएछन् । झ्यालमा सीसा लागेछ । घरसँगै काकीको पनि रूपरङ्ग फेरिएछ । काकी आँगनमा बसेर तन्मयताका साथ नाङ्लामा मासको दाल केलाइरहनु भएको थियो । त्यसवेलाको निर्दोष अनुहार परिपक्व सन्तुष्ट अनुहारमा परिणत थियो । आँगनको दक्षिणी कुनामा मकैको थाङ्ग्रो मुनि शखरचिनी केराको घरी झुन्डिएको थियो । मलाई बिछट्टै मन पर्ने केरा – शखरचिनी । तराईमा राम्रा केरा खानै नपाइने । चिनीचम्पा र मालभोग भन्छन् तर आफूलाई ठ्याम्मै मिठो नलाग्ने । कैयन् वर्षपछि देखेको शखरचिनीले मलाई लोभ्यायो र म मकैका थाङ्ग्रातिर लागें । पाकेर पहेंलो भइसकेको फेदको काइँयाबाट दुई केरा चुँडालेर निकाल्न मुश्किल पऱ्यो । यति गरुन्जेल काकीले मलाई देख्नुभएको थिएन । तर केरा थुत्न बल गर्दा, घद्र्याकघुद्रुक आवाज निस्कियो र काकीले थाङ्ग्रातिर हेर्दा मलाई देख्नुभयो ।

“आबुई…! मैया नानी !” नाङ्लो भुइँमा राखेर काकी जुरुक्कै उठ्नुभयो ।

“काकी नमस्कार !” म काकीको न्यानो अँगालामा बाँधिएँ । कैयन् वर्षहरूपछि भेट भएको थियो । मलाई त्यस अँगालाबाट छुट्टिन मन थिएन । करिब पाँच मिनटसम्म हामी अँगालामा बेरिइरह्यौं । मेरा मनमा भावनाहरू छचल्किए । काकीका भावना पनि आँसुसँगै बाहिर निस्किए ।

मैले काकीलाई सोधें, “काकी, एक छिनअघि यहाँबाट उकालो लाग्ने भाइ हो ?”

काकीले भन्नुभयो, “हो नानी, छ किलासमा पढ्छ ।”

“अहो भाइ कति ठूलो भइसकेछ । समय पनि कति चाँडै चिप्लिने है .. ।”

काकीले भन्नुभयो, “गट्टी खेल्न भ्याउँछ्यौ अचेल ? मैले त तिमी गएदेखि गट्टी खेलेकी छैन । भ्याउँदा पनि भ्याउँदिन, खेल्ने साथी पनि छैनन् । अँ हामीले पनि श्राद्ध गर्न सिक्यौं नि । काकाले वर्षमा दुइटा श्राद्ध गर्नुहुन्छ अचेल ।”

काकी उहिलेका कुरा कोट्याउँदै हुनुहुन्थ्यो । म भने शरमले खुम्चिरहेकी थिएँ । भनेँ, “काकी ती त उहिलेका कुरा भए । केटाकेटी वेलामा के के भनियो, के के गरियो, के कुरा गर्नु र ?”

काकीले भन्नुभयो, “मैले तिम्लाई जिस्क्याएकी हैन । तिमी सँगसँगै लागेर मैले पनि त आफ्नो त्यो उमेर कटाएकी हुँ । लौ आऊ, आज तिनै सम्झनालाई फेरि भुइँमा ओरालौं ।”

काकीले के भन्न खोज्नुभएको हो भनेर गम खाँदै थिएँ, कति खेर उहिले हामीले खेलेका गट्टी लिएर आइपुग्नुभएछ । आँगनमा गुन्द्री ओछ्याउनुभयो र भन्नुभयो, “भाइ स्कूल गाको छ, अहिल्यै आउँदैन । काका दिङला जानुभा छ । बेलुका मात्र आउनुहुन्छ । आऊ गट्टी खेलौं ।”

मैले ती गट्टीलाई एकछिन सुमसुम्याएँ । काकीसँग बिताएका ती निश्छल दिनहरू हामी फेरि बाँच्दै थियौं ।

“एक टुप्पा एक … एक टुप्पा दुई … ।”

* * * *