 
			
			
			
			
			
			रायोन भित्तेघडीतर्फ हेर्छ । साढे सात बज्दै छ । ऊसँग धेरै समय छैन । स्कूलबस ठ्याक्कै नौ बजे आइपुग्छ । बस आउनुभन्दा पहिला उसले आफ्नो जुत्ता पलिस गर्नु छ, खाजा खानु छ, ड्रेस लाउनु छ, र घरको गेटमा गएर उभिनु छ । तर यी सबैभन्दा पहिला उसले होमवर्क सिद्धाउनु छ । होमवर्क उसलाई पटक्कै मन पर्दैन । ऊ स्कूल पनि मन पराउँदैन । उसलाई त साथीहरूसँग खेल्न, मोबाइल हेर्न, र कमिक्स पढ्न मन लाग्छ । स्कूलमा पढाउने किताबहरू कमिक्स जस्ता चाखलाग्दा किन हुँदैन कुन्नि, ऊ सोच्छ । बोरिङ किताबहरू, फेरि कति धेरै ! टीचरहरूले ती सबै किताब कसरी पढे होलान्, उसलाई आश्चर्य लाग्छ । ऊ त एक पेज पढ्दा नपढ्दै निदाइहाल्छ । होमवर्क पनि त त्यस्तै हो । गर्न थाल्यो कि हाइकाढ्नु थाल्छ ऊ । फेरि होमवर्क पनि एउटा हो र ? आज उसले अङ्ग्रेजी, नेपाली र साइन्सको होमवर्क सिद्धाए तर म्याथ अझै बाँकी छ । ऊ म्याथ होमवर्क गर्न नसकेको बहाना के बनाउने सोच्न थाल्छ । तर समस्या के छ भने ऊ म्याथ मन नपराए पनि म्याथ टीचर मिस प्रधान उसलाई खूब मन पर्छ, र यो होमवर्क उहाँले नै दिनुभएको हो । गुलाबी सारीमा उहाँ कति राम्री देखिनुहुन्छ, र होमवर्क गरेभने उहाँले अँगालो मारेको रायोनलाई धेरै मन पर्छ । आज होमवर्क नगरेको पाएपछि उहाँ रिसाउनु हुनेछ । उसले मिस प्रधानलाई रिसाउन दिने कसरी ? उहाँले गाली गर्नु हुने छैन उसलाई तर उनको आँखाको सामना कसरी गर्ने होला उसले । नाइँ ! बहानाबाजीले काम हुने छैनः उसले होमवर्क गर्नै पर्छ ।
ऊ सोफामा बसेर अखबार पढिरहेका आफ्नो बुबातर्फ हेर्छ । उहाँले उसको होमवर्क छिनमै गरिदिन सक्नुहुन्छ होला, तर… । बुबासँग मद्दत माग्ने त ? रायोन विश्वस्त छैन । बुबाले उसलाई कहिल्यै पनि मद्दत गर्नु भएको छैन — न व्यक्तिगत समस्यामा न शैक्षिक समस्यामा । साँच्चै भन्ने हो भने बुबासँग धेरैजसो उसको भेटघाट नै हुँदैन । उहाँ राति घर फर्किंदा ऊ निदाइसकेको हुन्छ, र बिहान ऊ उठ्दा उहाँ गइसकेको हुन्छ । तर आज, यस बिहान उहाँ सदेह यहीँ हुनुहुन्छ । यो शुभ लक्षण हो कि ! त्यसैले भएभरको साहस बटुलेर ऊ बुबाको छेउमा पुग्छ ।
“डैडी ! मैले म्याथको यो प्रोब्लम गर्न सकिनँ । हजुरले गरिदिनु हुन्छ कि ?” ऊ अलि डराउँदै भन्छ ।
“सक्दिनँ । देखिनस् म पेपर पढदै छु । आमालाई गएर सोध, है ।” अखबारबाट नजर नउठाई बुबा रायोनलाई जबाब दिन्छ ।
विस्तारै बुबाबाट टाढा हुँदै रायोन सोच्छ, के सबै बुबा यस्तै हुन्छन् — आफ्ना नानीहरूलाई मद्दत नगर्ने कि उसको बुबा मात्रै यस्तो हो । के बुबा भनेको एउटा यस्तो व्यक्ति हो जो सोफामा बसेर अखबार पढ्छ, राति ढीलो आउँछ र बिहान छिटै गइहाल्छ, नानीहरूलाई गाली गर्छ, र न उनीहरूको होमवर्कमा मद्दत गर्छ न उनका कुरा सुन्छ ? रायोनलाई चिच्याउन मन लाग्छ, “किन सक्नुहुन्न तपाईँ ?” तर चिच्याउनुको साटो ऊ बुबालाई राम्ररी हेर्छ । एउटा बाक्लो जुँगा भएको र तालु खुइलिंदै गएको अधबैंसे मान्छे सोफामा बसेर अखबार पढिराखेको अपिरिचित मान्छेलाई देख्छ ऊ । के यो मान्छे उसको बुबा हो ? हो, किनभने सबैले त्यही भन्छन् । के रायोन उसलाई चिन्दछ ? अहँ, चिन्दैन ! ऊ यस मान्छेबारे केही जान्दैन, केही पनि जान्दैन ।
वर्षौं पहिला यसरी नै चिच्याउनु मन लागेको थियो उसलाई । त्यति बेला ऊ ठूलो बेडमा आमासँग सुत्ने गर्थ्यो र बुबा कति बेला आउनुहुन्थ्यो र कति बेला जानुहुन्थ्यो उसलाई थाहै हुँदैन्थ्यो । एक रात, उसले यही मान्छे, बुबालाई ओछ्यानमा आमाको छेउमा पायो । अति आश्चर्यले उसको शरीर जड भइगयो । यो पक्कै गल्तीले भयो होला भनेर उसले आमासँग यो मुद्दा उठाएन । तर उसको आश्चर्य र निरासाको सीमा रहेन जब उसले यो मान्छे, बुबालाई प्रत्येक रात बेडमा देख्न थाल्यो ।
ऊ चिच्याउन चाहन्थ्यो, “यो हाम्रो बेड हो, मेरो र आमाको । अरू कसैले यहाँ सुत्न पाउँदैन” तर ऊ चिच्याएन । थाहा छैन केले रोकिदियो उसलाई यी शब्दहरू भन्न । शायद आमाले ‘उहाँ तेरो बुबा हो’ भनेकोले हो कि ऊ कराएन । त्यो ठूलो बेडमा आमासँग ऊ आफू मात्र सुत्न चाहन्थ्यो, त्यसैले उसले आमालाई सोध्यो, “आमा ! उहाँ कसरी मेरो बुबा हुनुभयो र उहाँ किन हामीसँग त्यो बेडमा सुत्नुहुन्छ ?” निकै बेरपछि आमाले विस्तारै भन्नुभयो,
“किनभने मेरो बिहे उहाँसँग भएकोले… ”
“हो ? तेसो हो भने म ठूलो भएपछि तपाईँसँग बिहे गर्छु”, उसले गम्भीर भएर भन्यो, र यो सुनेर आमा निकै खुशी देखिनुभयो ।
आज उसलाई विश्वास भयो कि बुबा भनेको त्यस्तो प्राणी हो जो राति अबेरमा आउछँ, बिहान छिटै गइहाल्छ, कहिलेकाहीँ खेलौनाहरू ल्याइदिन्छ, आमालाई किचेनमा मदत गर्दैन, अखबार पढ्छ र नानीहरू मन पराउँदैन ।
आमाले मद्दत गर्न सक्छिन् भन्नेमा रायोनलाई त्यति विश्वास छैन । उहाँ गर्न चाहनु हुँदैन भन्ने होइन । साँच्चै भन्ने हो भने जुनसुकै बेला पनि आमाले उसलाई मद्दत गर्नुभएको छ — स्कूलमा शिक्षकले गाली गरेकोमा उदास भएको बेला, मालाले उसलाई हप्काएको बेला, साथीहरूसँग फाइट परकोमा, स्कूल जाने बेला मोजा नपाएकोमा, भोक लागेकोमा, यी सबै कुरामा रायोन आमा नजिक नै जान्छ । तर म्याथ होमवर्क छुट्टै कुरा हो । शायद यसमा उहाँ मद्दत गर्न सक्नुहुन्न कि ? बुबाले गर्दिन भनिसक्नु भयो, आमा नजिक जानुबाहेक अरू उपाय पनि त छैन ऊसँग । आमा किचेनमा हुनुहुन्छ । किचेनभरि खसीको मासु पाकेको गन्ध फिँजिएको छ । रायोन विस्तारै आमाछेउ पुग्छ र उहाँको फरियाको फेद समाउँछ जसबाट अदुवा, लसुन, जीरा आदि मसलाहरूको गन्ध आउँदै छ ।
“आमा ! मेरो म्याथ होमवर्क हेरिदिनुस् न । म गर्न सक्दिनँ । बुबाले भन्नुभएको तपाईँलाई आउँछ रे ।” ऊ आफ्नो कपी देखाउँछ ।
“तेरो बाउ ! अखबार पढ्नु र लीटरका लीटर चिया पिउनुबाहेक अरू के नै गर्न सक्छ र ? म कसरी तिम्रो होमवर्क गरिदिऊँ बेटा । म त खाना पकाउँदै छु । टाइममा खाना पाकेन भने सबैलाई ढिलो हुन्छ । मलाई म्याथ त्यति आउँदा पनि आउँदैन । त्यसैले तिमी माला नजिक जाऊ । ऊ आफ्नो कोठामा छे । उसले तिम्रो होमवर्क सजिलै गरिदिन्छ, है बाबु ।” उहाँ फेरि कन्तीमा पन्यु चलाउन थाल्नुहुन्छ ।
रायोनलाई आमामाथि दया लाग्छ । बिचरी आमा ! सधैँ काम गरिरहनुहुन्छ, किसिम किसिमका परिकार पकाउनु, सबैका कपडा सफा गरिदिनु, पाहुनाहरूलाई चिया पकाएर दिनु, हजुरबुबालाई औषधि खुलाउनु, साग तरकारी किन्न बजार जानु, के के हो के के । उहाँलाई छिमेकी आन्टीसँग एक छिन् बसेर भलाकुसारी गर्न पनि समय हुँदैन जबकि उहाँ आन्टीसँग कुराकानी गर्न खुबै रुचाउनुहुन्छ र उहाँहरूका कुराकानीबाट रायोनले थुप्रै कुरा थाहा पाएको छ । उदाहरणका लागि उसलाई के थाहा भएको छ भने, तरकारीको दाम आकासीए
को छ रे, कि छिमेकको तालुखुइले अङ्कलको कामवाली महिलासँग अफेयर छ रे (यद्यपि अफेएर भनेको के हो उसलाई थाहा भएन), कि सबै मर्द मानिस तालुखुइले अङ्कल जस्तै हुन्छन् उनका श्रीमतीले लगाम लाएर राखेन भने रे, कि शहरमा एउटा बडो सुन्दर तन्नेरी स्वामी आएको छ जसले धेरै राम्रो प्रवचन टाउन हलमा दिन्छ रे आदि आदि । आमालाई म्याथ आउँदो हो त पक्कै उसको होमवर्क गरिदिनुहुन्थ्यो होला किनभने उहाँले उसलाई धेरै कुरा सिकाउनुभएको छ । उदाहरणका लागि, सिंगान कसरी फ्याँक्नु पर्छ, जुत्ताको तुना कसरी बाँध्नु पर्छ, दिसा बसिसकेपछि बायाँ हातले कसरी चाक धुनु पर्छ, आदि ।
उहाँको एउटै कुरा रायोनलाई मन पर्दैन, त्यो हो उहाँले उसको मनपर्ने कुरा गर्न दिनुहुन्नः “रायोन पुतलीहरू नसमात्”, वा “कति पल्ट भनूँ तँलाई त्यो कुकुरलाई न छो, हँ”, वा “फेरि मोबाइल खेलाउन थालिस् तैंले”, वा “किन बाँदर जस्तो उफ्रेको ? तल ओर्ली । कुनै दिन रूखबाट लडेर आफ्नो हातखुट्टा भाँच्ला यो केटोले ।” नगर्ने कुराहरूको अन्त छैन ।
आमाले उसलाई नगर्नु पर्ने कुराहरूको अन्त नभए जस्तै उसले आमालाई मनपर्ने कुराहरू गरिदिनु पर्नेको पनि अन्त छैन । उदाहरणका लागि रायोनलाई निदाउन मन पर्छ तर आमाको आवाजले उसलाई ब्युँझाइदिन्छ, “ऐ कुम्भकर्ण ! कति सुत्छस् ? अब त उठ !” रायोनलाई मेवा खान मन पर्दैन तर आमालाई आफ्नै बारीमा फलेको मेवा खान र खुवाउन खूब मन पर्छ । “मेवाले खानालाई पचाउँछ । ले एक पीस अझै खा ।” ऊ केही नभनेर लिन्छ र आमाको नजर बचाएर झ्यालबाट बाहिर फालिदिन्छ । ऊ आफ्नो नयाँ साइकिल बाहिर सडकमा गुडाएर साथीहरूलाई देखाउन चाहन्छ तर सक्दैन, “साइकिल यहीँ गार्डेनमा गुडा, बाहिर सडकमा होइन, र विस्तारै गुडाउनु”, आमा भन्नुहुन्छ ।
यी सब गर्ने नगर्ने कुराहरूका बाबजुद रायोन आमालाई माया गर्छ, र आमाले रायोनलाई । तर उहाँ उसको म्याथ होमवर्क गर्न सक्नुहुन्न ।
माला आफ्नो कोठामा छे । कोठाको ढोका खोल्नासाथ ठूलो आवाजको अङ्ग्रेजी गीत हिर्काएको ढुङ्गा झैं रायोनको अनुहारमा बजारिन्छ । उसले कुनै डान्सको प्राक्टिस गरेजस्तो छ । रायोन उसको नजिक गएर क्यासेट प्लेयरको कानफोडु सङगीतभन्दा पनि चर्को स्वरमा कराउँछ ।
“दीदी ! मलाई यो म्याथ होमवर्क सिकाइ दे न । आमाले भन्नुभएको तँलाई आउँछ रे, प्लीज ।”
“म अहिले सक्दिनँ ।”
“किन सक्दिनस् ?”
“म अहिले योगा प्रैक्टिस गर्दै छु । मलाई डिस्टर्ब न गर् ।”
“म पनि पर्खिन सक्दिनँ । मेरो बस आउँदै होला ।”
“तँ जान्छस् कि जान्नस् यहाँबाट ?”
“मेरो होमवर्क गरिदिएनस् भने म आमालाई भनिदिन्छु तँ मुन्द्रे केटोसँग स्कूलपछि भेट्ने गर्छस् ।” रायोनलाई मालाका केही गोप्य कुराहरू थाहा छ, र उसलाई यो पनि थाहा छ कि आमाले मालालाई त्यो मुन्द्रे केटोसँग भेट्न मनाही गर्नुभएको छ ।
“फुच्चे, ब्ल्याकमेलर तँलाई !” माला रिसाउँछे र फेरि अलि शान्त भएर भन्छे, “तैंले आमालाई भनिस् भने म कहिल्यै पनि तँलाई चकलेट दिने छैन । हेर मसँग कति छन् । ले ।” चकलेटको लोभले होमवर्क समस्या बिर्सिन्छ रायोन र दुइटा चकलेट थाप्छ । “यता सुन । तँ बाजेकोमा जा है ?”
“उहाँलाई म्याथ आउँछ र ?” रायोनलाई शङ्का छ ।
“छ नि किन छैन ? उहाँले कति धेरै पढ्नुभएको छ तँलाई के थाहा । जा छिटो”, भन्दै ऊ ढोका बन्द गर्छे ।
रायोन घोरिन्छ । यी ठूला मान्छेहरू किन यस्ता हुन्छन् ? सधैँ केही न केहीमा व्यस्त छु भन्छन्, बिरलै हाँस्छन्, खेलेको कहिल्यै देखिँदैनन्, र बिना कारण रिसाउँछन् । उदाहरणको लागि एक दिन उसलाई चुरोट सल्काउँदै गरेको देखेर उसको बुबा रिसले आगो हुनुभएको थियो । अचम्मको कुरो त के भने उहाँ आफै चुरोट पिउनुहुन्छ । यी ठूला मान्छेहरू उनीहरूले मनपरेका कुरा गर्नलाई कसैलाई सोध्नु पर्दैन, तर ऊजस्ता बालकहरूले मोबाइल हेर्दा पनि सोध्नु पर्ने रे । यो ता सरासर अन्याय हो । सबैभन्दा अचम्मका कुरो त के भने यिनीहरू न ता बालबलिकाहरूसँग कुरा गर्न मन पराउँछन्, न उनीहरूसँग खेल्छन्, न उनीहरूलाई मद्दत नै गर्छन् । यिनीलाई बुझ्न गाहारो छ । रायोन त ठ्याममै बुझ्न सक्दैन ।
आठ बजिसक्यो । समय पनि कति चाँडो कुद्दोरहेछ । अब कुनै बेला पनि आमाले खान बोलाउन सक्नुहुन्छ । उसले एक ग्लास दूध पिउनु पर्नेहुन्छ जो उसलाई पटक्कै मन पर्दैन । उसलाई मनपर्ने चकलेट खाने अनुमति उसलाई छैन । उसले जुत्ता पलिस नगरे पनि स्कूल त उसले जानै पर्छ — यसको अर्को कुनै विकल्प छैन ।
रायोन बाजेलाई खोज्दै घरदेखि बाहिर निस्केर बगैंचामा जान्छ । बिहानको शीतल बतासले उसको अनुहारलाई सुमसुमाउँछ । ऊ चोरैतिर नजर दौडाउँछ । एकटा चरा रूखको हाँगामा बसिरहेको छ, र अर्को उसको अगाडि पछाडि नाचे झैं गरी घुमिरहेको छ र आफ्नो भाषामा कुन्नि के भन्दै पनि छ । गीत गाएको हो कि ! रायोन आउँदै गरेकोले होला दुवै एकपछि अर्को गरि भुर्रर्र उडिहाल्छ । क्या आनन्द छ चराहरूलाई ! बगैंचामा चारैतिर फूल फुलेका छन् र पुतलीहरू झुम्मिएका छन् । छुट्टीको दिन हुँदो हो त रायोन कति रमाउँथे होला तर आज उसलाई यी सब कुराहरूले पनि कुनै खुशी दिंदैनन् । उसको समस्याको समाधान अहिलेसम पनि भएको छैन । उसले कसरी मिस प्रधानको सामना गर्ने होला ? निराशाले उसलाई रुन मन लाग्छ । अनि ऊ बगैंचाको पल्लो कुनामा बाजे बसेर बिहानको न्यानो घाम तापिरहेको देख्छ । विस्तारै ऊ बाजे नजिक जान्छ ।
बाजे ९० नाघिसक्नुभएको छ । न ता उनको टाउकोमा एउटा पनि कपाल छ, न मुखभित्र एउटा पनि दाँत । उहाँ सुस्तरि हिंड्नुहुन्छ र सुस्तरि बोल्नुहुन्छ । उहाँले बोलेको बुझ्न गाहारो छ । कसैले पनि उहाँलाई महत्व दिंदैन । परिवारका कुनै पनि सदस्यले उहाँसँग कुनै किसिमको मद्दत, वा सल्लाह माग्दैन । उहाँ रायोन जतिकै उपेक्षित र अपहेलित हुनुहुन्छ । उनी दुवैजनामा धेरै कुराहरू समान छन् । दुवैजना एउटै कोठामा सुत्छन्, दुवैजनालाई बगैंचा मन पर्छ, दुवैजनालाई एक्लै घरबाहिर जान, र चकलेट र मिठाइ खान मनाही छ । जे होस् बाजे धेरै राम्रो कथा भन्नुहुन्छ । उसलाई बाजेले भनेका कथाहरू खूब मन पर्छ तर हिजोआज उहाँ कुराहरू बिर्सिनुहुन्छ र म्याथको होमवर्क कथा भन्नु जति सजिलो पनि कहाँ हो र ! तर रायोनसँग अर्को कुनै उपाय पनि ता छैन । बाजे उसको अन्तिम आश हो ।
“बाजे हजुरलाई म्याथ आउँछ”, रायोन विस्तारै सोध्छ ।
“अलि अलि”, उहाँ भन्नुहुन्छ जो ‘अहि अहि’झैं सुनिन्छ ।
“मेरो म्याथ होमवर्क गरिदिनुस् न !”
“हुन्छ”, भन्दै बाजे रायोनको हातबाट उसको कपी लिनुहुन्छ ।
रायोनलाई आफ्नो कानमा विश्वास हुँदैन, “हो बाजे, थैंक्यु गड” ऊ भन्छ ।
बाजे रायोनको हातबाट पेन्सिल लिनुहुन्छ र रायोनको आशापूर्ण आँखा अगाडि म्याथ प्रब्लम गर्नुको साटो कपीमा चित्र बनाउन थाल्नुहुन्छ जो कुनै चराको गुँड जस्तै देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	 
																	




