हिउँदको घाम कसलाई मन पर्दैन र । झन् उमेर उकालिँदै गएपछि त मसिनरूपी शरीरका कलपुर्जाहरू खिइँदै जाँदा मानिसलाई गर्मी पनि धेर र जाडो पनि औधी लाग्छ ।

आफ्नो भव्य घरअगाडि फराकिलो आँगनमा बिहान घामले न्यानोपन छर्नेबित्तिकै श्यामप्रसाद ठन्डाले चिसिएको शरीर सेकाउन बसिहाल्छन् ठुलो आरामदायक चौकीमा । हातमा अङ्ग्रेजी, हिन्दी र नेपाली दैनिक समाचार पत्रहरू त हुन्छन् नै । मर्निङ् वक र व्यायाम गरेर समाचार पत्र पढेपछि मात्र शरीर र मन दुवै स्फूर्त भएझैँ लाग्छ उनलाई ।

दीपाले पूजापाठ सकेपछि घरकी काली देवकीले चिया-बिस्कुट र ड्राइ फ्रुट्स ट्रेमा सजाएर आँगनमै ल्याई ।

‘बुबासँग सल्लाह गरेर भन्छु नि । सकेसम्म आउने कोसिस गर्छौं । फुच्चेलाई पनि त्यहीँ आएर हेर्न मन लागेको छ ।’

छोरीसँग फोनमा कुरा गर्दै दीपा श्यामप्रसाद भएतिर गइन् सँगै बसेर चिया पिउन । दिनचर्याको एउटा हिस्सा हो यो उनीहरूको ।

‘प्रशान्तिले अर्को महिनातिर अमेरिका बोलाउँदैछे । कामले गर्दा ज्वाइँको दुई महिना अस्ट्रेलिया जानुपर्ने भयो अरे । ऊ एक्लै हुने रहिछ ।’

दीपाको कुरा श्यामप्रसादले सुने तर उत्तर दिएनन् ।

‘हेर न बुबाले जजमेन्ट रिजर्भ राख्नुभो । पछि सल्लाह गरेर भनौँला । मेरो चिया सेलायो, अहिले राखेँ ल ।’

‘हुन्छ ।’

दुवैले चियाको घुट्कीसित बिहानको स्वच्छ वातावरणको आनन्द लिए ।

श्यामप्रसादले आफ्नो जीवनकालमा कोर्ट रुमभित्र थुप्रै मुद्दाहरू देखेका थिए । राजनीतिक, धार्मिक, पारिवारिक, हत्या आदिका मुद्दाहरूको इमानदारीका साथ निर्णय दिएका थिए । तर केही दिनदेखि श्यामप्रसादको मनमा अन्योल, अलमल, दोधारको खैलाबैला भइरहेको थियो । दीपाले पनि त्यो अनुभव नगरेकी होइन । श्यामप्रसाद घरमा अफिस वा कोर्टको कुरा चर्चा गर्दैनन् तर यसपालि भने उनी चिन्तित, भावुक र अन्योलमा देखिन्थे । कुनै निर्णयमा पुग्न नसकेर थाकेको योद्धाजस्तै… ।

***

जिल्ला अनि सत्र न्यायालय… । मुद्दा कारबाहीको पहिलो दिन,  तारिक ६ अगस्त… ।

‘योर अनर ! मनमायाले आफ्नो लोग्ने धनबहादुरको हत्या गरेकै हो । यो मुद्दा सङ्लो पानीजस्तै छर्लङ्ग छ । पुलिसले हत्याकाण्ड स्थल धनबहादुरकै घरको कोठाबाट भेटेको कच्चेट, जगल्ट्याउँदा उखेलिएको कपालको मुठो र खुन लागेका लुगाहरूबाट सत्य कुरो प्रमाणित भइसकेको छ । प्रयोगशालाको जाँचपछि प्राप्त एनालिटिकल रिपोर्टमा पनि धनबहादुरको र कच्चेटमा लागेको ब्लड ग्रुप ओ पोजेटिभ नै पाइयो ।’

सरकारी वकिलको तर्कपछि मनमायाको तर्फबाट बचाउ पक्षका वकिलले आफ्नो तर्क राख्न चाहेनन् ।

मनमाया विरुद्ध आरोप तय भयो । न्यायाधीश श्यामप्रसादले सुनुवाइको अघिल्लो तारिक सात जुलाई तोके… ।

***

धनबहादुर र मनमायाको सुखी परिवारमा विवाहको पाँच छ वर्षपछि दुखको ग्रहण लाग्न थालेको हो । गाउँको सरकारी स्कुलकी शिक्षिका प्रभादेवीको तीन तल्ले भवन नजिकै एउटा कच्चा घरमा उनीहरू सरेको पनि चार वर्ष नाघिसकेको थियो ।

होचो कद, घुँगुरिएको कपाल, भुँडी अलिकति बाहिर निस्किएको, शरीरको मोटाइका तुलनामा खुट्टाहरू सानासाना तर फुर्तिलो र बलियो नै देखिन्थ्यो धनबहादुर । फर्साइलो, हँसिलो, छिमेकीका दुख सुखमा दिलोज्यानले सघाउने… । लाग्थ्यो । धनबहादुरबिना कुनै पनि काम अधुरो पो भइहाल्छ कि जस्तो… ।

‘यहाँ आउनअघि तिमी कहाँ थियौ धनबहादुर ?’

गाउँका मानिसहरूले यस्तो प्रश्न गर्दा ऊ आफ्नो ठेगाना कहिले मानपुर, कहिले चरिकोट, कहिले बुधबारे र कहिले फुवागडी बताउँथ्यो । यस्तो उत्तरबाट उसको स्थायी ठेगाना छैन र जहाँ जहाँ काम पाइन्छ त्यही नै बसाइँ सर्ने गरेको स्पष्ट हुन्थ्यो ।

काम र मामका लागि यायावर जीवन बिताउनुपर्ने विसङ्गतिपूर्ण नियतिले पिरोलिएको व्यक्ति हो धनबहादुर । तर आफूभित्र उकुसमुकुस भएका पिरहरू ऊ हाँसेर लुकाउँथ्यो । कुनै न कुनै दिन सपना, कल्पना,उमङ्ग र महत्त्वाकाङ्क्षा पूर्ण हुनेछ भन्ने आशा लिएर ।

स्वास्नी मनमाया, स्पष्ट सुन्न-बोल्न सक्दिन । होची, गहुँगोरो वर्णकी, लामो कपाल र हिस्सी परेकी । घरेलु काममा सिपालु । दिनभरि गिट्टी कुटेर घरखर्च पुऱ्याउनमा सहयोग गर्छे । धनबहादुरलाई पनि चिया खाजा पठाउन बिर्सिन्न ।

ठुली छोरी सात वर्षकी निरालाई घर मालिक्नी प्रभादेवीले सरकारी प्राथमिक स्कुलमा भर्ना गरिदिएकी छन् ।

भुँडी भर्न र ओत लाग्नका लागि भाडामा लिइएको एउटा कच्चा छहारी छँदैछ । ठुलो सपना देखेका छैनन् उनीहरूले । सुख सुविधा सम्पन्न नभए पनि तह मिलेकै देखिन्छ धनबहादुर र मनमायाको संसार ।

जीवनको गाडी सधैँ सिधा बाटो भएर गुड्दैन । कहिले भिर पाखा त कहिले पैह्रो ।

स्वभावले सोझो भए पनि धनबहादुरले रक्सी खान थालेको थियो । साथीहरूसँग बसेर अलिक पिउने बानी लत हुँदै गयो । धेरै समय लागेन । यही लत मनमायाका लागि अभिशाप बन्दै गयो ।

‘सब्जीमा किन नुन नहालेको ?’

‘खोइ त आज मासु ?’

‘कति नमिठो दाल । भात कसरी खानु ?’

साँझमा रक्सी खाएर घर आएपछि सानो सानो निहुँ गरेर मनमायालाई गाली गर्ने, कुट्ने बानी पनि लत  जस्तै हुन थाल्यो ।

दिनभरिको थकाइ मार्नसम्म नपाउनु र कुटपिटको चोट सहनु मनमायाका लागि पनि भाग्य नै हो जस्तो भइसकेको थियो तर जानु कतै थिएन । सहेरै बसेकी थिई ।

सुरुसुरुमा छिमेकीहरू आएर छुट्‌ट्याउँथे । रुँदै गरेका नानीहरू र मनमायालाई प्रभादेवीले आफ्ना घरमा लैजान्थिन् । पछिपछि दिनहुँको झगडा अरूका लागि सामान्य बन्दै गयो । हस्तक्षेप गर्न छोडिदिए ।

***

एघार जुलाई ।

असारे झरी नथामिएकाले बाटो खन्ने काम भएन । माथिबाट झर्ने पैह्रोको जोखिम पनि थियो । दुवैजना घरैमा थिए ।

त्यो दिन, धनबहादुरले मनमायालाई निकै काम सघायो । माया पनि देखायो । एक अँगालो माया र आत्मीयतापूर्ण सुमसुम्याइले मनमाया मख्ख भई । छोरीसित पनि खेल्यो । धेरै दिनपछि घर उज्यालिएको अनुभव गरी मनमायाले ।

लागेको बानी छोड्न गाह्रो हुन्छ । साँझमा धनबहादुर घरबाट बाहिरियो अशुभ लक्षणको सङ्केत दिँदै । त्यो रात छिट्टै फर्कियो पनि । तर सधैँभन्दा धेरै लड्खडिँदै ।

‘प ड् या क् क’

भान्साघरमा धनबहादुर बसेको पिरा भाँचियो । ऊ भुइँमा थेचारियो ।उठ्न खोज्दा फेरि डङ्ङ लड्यो । टाउको बजारिएछ । झन् रिसायो ।

‘एइ अलच्छिनी ! तैँले मलाई मार्ने जाल रचेकी होस् ? कच्चा पिरा किन यहाँ राखिस् ? लाटी देख्दादेख्दै पनि तँसँग बिहे गरेको होइन ? बिर्सिस् मेरो गुन, डङ्किनी, म…म…तँलाई हेर न के गर्छु ।’

धरखरिँदै उठेर धनबहादुरले मनमायाको चुल्ठो समातेर घिसार्न थाल्यो ।

दुखाइ असहनीय हुँदै गएपछि सहनशीलताले सीमा नाघ्यो । आँखा तिरमिर भयो । मनमायाले अगेनामा भएको कच्चेट टिपेर हानी ! छ्याक आवाज आयो । चल्नीमै लागेछ । ढुन्मुनिँदै लड्यो । धनबहादुर ठहरै भयो ।

हल्ला शान्त । चकमन्न वातावरण… ।

छिमेकी पनि आश्चर्यमा । लामो झगडा भएन त्यो दिन ।

‘किन  सुनसान ! एकपल्ट चिहाउन जाऔँ !’

प्रभादेवी र सुमन सरले ढिलो गरेनन् । भित्ता भत्किएको इक्राको घरको प्वालबाट चियाउँदा मनमाया भात खाइरेहकी थिई आफ्नै धुनमा ।

तर अर्को अविश्वसनीय दृश्यले उनीहरू आत्तिए । धनबहादुर अचेत भएर भुइँमा लडिरहेको थियो मुढा जस्तै ।

धनबहादुर मरेको हल्लाको डढेलो लाग्यो ।

***

मुद्दा कारबाही अर्को दिन ।

‘योर अनर । हत्याको पुष्टि गर्ने अर्को प्रमाण । घटनाकी एक मात्र साक्षी धनबहादुर र मनमायाकी ठुली छोरी निराले पनि बाबुले आमालाई कुटिरहेका बेला आमाले छेउमा भएको कच्चेटले हिर्काउँदा बाबु लडेको बयान दिएकी छ ।’

अभियोजन पक्षका वकिल आफ्नो तर्क राखिरहेका थिए ।

‘आ…मा…’

कोर्ट रुममा प्रभादेवीका काखमा बसेकी मनमायाकी पाँच वर्षकी सानी छोरीले मनमायालाई धेरै दिनपछि देख्दा खुसीले चिच्याएको आवाजले सबैको ध्यानाकर्षण गऱ्यो ।

प्रभादेवीकै छेउमा बसेकी निराले ट्याप्पै हत्केला राखेर बहिनीको मुख बन्द गरिदिई ।

मनमायाले एकटक लगाएर सानी छोरीलाई हेरिरही । अनौठो भावभङ्गीसित । लगाएको मैला लुगा, केस नकोरेको कति भएको थियो एकपट्टि फुस्केर अर्कापट्टि बाँधिएको थियो । टाउको हल्का दाहिने तिर झुकेको, दुई चारवटा केस आँखालाई नाघेर तल झुन्डिएका थिए । तर आँखा भने सिधै छोरीमाथि थियो । केही भन्न मन लागेको जस्तो देखिन्थ्यो । रोएकी थिइन तर रुँदै रुँदै आएकी हो भन्ने आँखाले बताउँथ्यो । मनमायालाई देखेर सबै भावुक थिए तर ऊ अहिले न्याय र अन्यायको सँघारमा उभिएकी थिई ।

यतिका वर्षसम्म कोर्टमा अनेकौँ केसहरू देखेका श्यामप्रसादले मुद्दाको पहिलो दिन नै मनमायाको स्थिति बुझिसकेका थिए । तर कोर्ट भावनाले चल्दैन प्रमाण र तथ्यले चल्छ भन्ने ज्ञान उनलाई थियो । मनमायाको स्थिति र दुई छोरीहरूको अवस्थाले श्यामप्रसादलाई भावुक बनायो । तर आफैलाई सम्हाल्दै कठोर हुन खोज्दै उकिलको तर्क सुन्न थाले ।

‘हनरेड पर्सेन्ट हत्याकै मामिला हो ।’

एकातिर मनमायाको प्रतिक्रियारहित निर्दोष अनुहार, विवश स्थिति, पुलिस, कानुन, अदालत, न्याय, वकिल तथा न्यायाधीशदेखि अनभिज्ञ… ।

अर्कातिर टुहुरा बन्न सक्ने दुईजना अबोध बालिका र उनीहरूको अनिश्चित भविष्य !

अन्योलमा थिए श्यामप्रसाद ।

उनको मनभित्र रुमलिएको अन्तर्द्वन्द्व स्पष्ट झल्किन्थ्यो अनुहारमा ।

‘मनमायाले हत्याको आशयले होइन, आत्मरक्षाका लागि हिर्काएकी हो । चल्नीमै ताकेको पनि होइन पक्कै । दुर्भाग्यवश लागेको हो ।’

तर अन्योलमय स्थिति के थियो भने मनमाया बोलेर आफ्नो पक्ष राख्न असमर्थ थिई ।

हत्याको सजाय सुनाएर बाबु गुमाएका नानीहरूबाट आमाको काख पनि खोसिदिने आँट श्यामप्रसादमा थिएन । उनी यसो गर्न चाहँदैनथे । उनको न्यायका तराजुमा कारावासको सजायभन्दा मानवताको नाता माथि उचालियो । कानुनी पक्षलाई भावनात्मक पक्षले परास्त गऱ्यो ।

त्यस दिनको कारबाही स्थगित भयो ।

***

‘तेस्रो चोटि ल्याएको चिया पनि सेलाएछ त । फेरि अर्को पटाइदिऊँ ?’ दीपाले सोधिन् ।

कुनै पनि मामिलाको फैसला गर्नु अघि दुबिधामा पर्दा आफ्नो बेड रुममा ओल्लो कुनादेखि पल्लो कुनासम्म ओहोरदोहोर गरिरहने, टेबलमा भएका खबर कागज र भित्तामा झुन्ड्याइएका क्यालेन्डरहरूको टुप्पो च्यातेर मुखमा हाल्ने श्यामप्रसादको स्वभावदेखि दीपा अवगत थिइन् ।

सन्तोषजनक निष्कर्षमा नपुगेसम्म यो प्रक्रिया चलिरहने कुरो बुझेकी दीपाले डिस्टर्व गर्न चाहिनन् । मनमा एउटै डर के थियो भने कुनै ठोस नतिजामा नपुगेसम्म श्यामप्रसाद रातभरि छटपटाउँछन् ।

त्यो रात पनि त्यस्तै भयो ।

***

भोलिपल्ट, श्यामप्रसादले अभियोजन र बचाउ पक्षका वकिलसँग परामर्श गर्ने निधो गरे ।

तेह्र सितम्बर !

धनबहादुर हत्या मामिलाबारे अन्तिम सुनवाइ गरेर फैसला सुनाउने दिन ।

श्यामप्रसादका अघिल्तिर एकापट्टि सरकारी वकिल र अर्कापट्टि बचाउ पक्षका वकिल उभिएका थिए । मनमाया कठघरामा थिई ।

‘योर अनर ! मनमायाले रक्सी पिएर होसमा नभएको लोग्नेलाई कच्चेटले जानीबुझी हिर्काएकी हो र चल्नीमा लागेकाले धनबहादुरको तत्काल मृत्यु भयो ।’

सरकारी वकिलको यस्तो तर्कपछि बचाउ पक्षका वकिलले मनमायालाई इसाराले केही न केही बोल्न लगाउने लगातार प्रयास गरे ।

‘…म..लाई…ज..गा…टो…अनि… ।’ लट्याङ्ग्रो लबजमा अड्किँदै मनमायाले यत्ति मात्र बोल्न सकी ।

‘योर अनर ! मनमायाले भर्खरै दिएको बयानबाट कुटाइ र जगटा लुछेको दुखाइ खप्न नसकेर आफ्नो रक्षाका लागि हिर्काएको प्रमाणित हुँदछ । बुद्धि नभएकी माइनर बालिकाको बयानलाई हत्याको ठोस आधार बनाउन सकिँदैन ।’

‘योर अनर धनबहादुर पिराबाट थेचारिएपछि उठ्ने प्रयास गर्दा लडेर टाउको बजारिएको थियो । यो पनि उसको मृत्युको कारण हुनसक्छ ।’

‘लोग्नेलाई मार्ने मनमायाको मनसाय थिएन । सोझी मनमायाले कहिल्यै धनबहादुरमाथि हात उठाइन । न त कुनै आपराधिक मामिलामा ऊ संलग्न रहेको रिकर्ड छ ।’

‘योर अनर ! आत्मरक्षाका लागि चालिएका पाइलामा मनमायालाई निर्दोष सिद्ध गरेर बरी गरिदिया जाओस् ।’

यसै क्षणको दीर्घ प्रतीक्षामा रहेका श्यामप्रसादले तुरुन्तै आफूले हृदयबाटै चिताएको फैसला सुनाए । यस्तो अप्रत्याशित निष्कर्षबाट मनमायाका शुभचिन्तकहरूको नियाँस्रो अनुहारमा खुसीको लहर देखियो भने धनबहादुरका साथीहरूको नाक खुम्चियो ।

तर सबैभन्दा हर्षित थिए श्यामप्रसाद ।

धेरै ठुलठुला मुद्दाहरूमा ऐतिहासिक फैसला दिएर रिटायर हुन लागेका श्यामप्रसादका लागि धनबहादुर हत्याकाण्डमा दिएको न्याय आफ्नो सेवाकालकै सर्वाधिक सन्तोषप्रद निर्णय थियो ।

***

त्यस घटनाका पात्रहरू मनमाया र दुई बालिका सम्झेर श्यामप्रसादले आफ्नै छोरी प्रशान्ति र नातिलाई सम्झिए ।

श्यामप्रसादलाई आफ्नै छोरी प्रशान्ति र नातिको याद आयो ।

‘दीपा ! अप्रेल महिनातिर जाऔँ न ल क्यालिफोर्निया । मौसम राम्रो हुन्छ नि त्यति बेला ।’- श्यामप्रसादको बोलीमा सन्तोषको आवाज थियो ।

‘ए ! अन्त यति चाँडै रिजर्ब्ड जजमेन्टको फैसला गरिहाल्नु भएको ? हुन्छ म प्रशान्तिलाई खबर गर्छु ।’

श्यामप्रसादले आँखा चिम्म गरे अनि  सम्झेर मुसुक्क हाँसे । किन हाँसे शायद उनैले मात्र बुझ्छन् ।