एउटा सम्हाल्नै नसक्ने स्थितिमा सम्बन्धलाई पुर्याएपछि, म विक्षिप्त भएर विचरण गरिरहेको थिएँ । अब म यो शहरमा त के यो देशमा नै बस्दिनँ । एकछिन पनि बस्दिनँ । मैले प्रण गरेँ । आफ्ना पितापुर्खाले खेलेको-खाएको माटोले मात्र मलाई अब शान्ति दिन सक्छ भन्ने मलाई लाग्यो ।
करिब छ महिना यता मेरो नित्य क्रम नै यही रहँदै आएको छ । गाउँ-गाउँ डुल्नु र आफ्नो कुलतको संगत खोज्नु र त्यसैमा रमाउनु । यहाँ म यस बूढो मान्छेसँग प्राय गफिन्छु । यो बूढो मान्छे – नातामा पनि मेरो केही त पक्कै पर्दछ । म यसलाई मामा भन्छु । तर यो मेरो मामा पर्दैन । मलाई लाग्छ उसको पनि मेरो जस्तै निकम्मा अनुभव मात्र होला सायद ! त्यही भएर त हामी दुवै पीडित हौँ । अक्सर हामी आआफ्नो जीवनकै कुरा गर्छौँ । फरक यति मात्र छ – त्यो बुढोले लुकाउनु पर्दैन । मलाई भने अत्यधिक संकोच लाग्छ ।
‘यसले मलाई मर्न पनि दिन्न र सजिलोसँग बाँच्न पनि दिन्न ।’ बूढो मान्छेले भन्ने गर्दछ ।
बूढो मान्छेलाई उसकी स्वास्नीले एकदुई पटक कुटेकी पनि थिई रे ! तर यो चोटि बूढो मान्छेले उसलाई उसकी स्वास्नीले कुट्ने गरेको बताएनन् । मैले पनि त्यो कुरो झिकिरहन चाहिनँ ।
‘किन बेकारमा उसलाई गिज्याउनु !’ मेरो मनले त्यस्तै भन्यो ।
स्वास्नीको कुटाइ खाइरहने भए पनि उसलाई नामर्द र हुतीहारा कसैले भन्दैन थियो । इज्जत नै छ यो बूढो मान्छेको गाउँमा ।
‘माया पनि नगर्ने हैन नि त्यसले मलाई !’ बूढो मान्छेले भन्यो ।
‘अँ ! अँ !’ मैले टाउको हल्लाएँ ।
एकदिन त्यस्तै भएछ — यो बुढोलाई बेस्करी छाती दुख्यो । आवाज बन्द भयो । मुख बाउँडिए जस्तो भयो । हातगोडा अररो भएर आयो । ऊ दैलोतर्फ सहायताका लागि घिस्रिन लाग्यो । सबैभन्दा पहिले उसकी त्यही स्वास्नीले उसलाई देखी । त्यो आँगन छेउको पानीको चापाकल गाडिएको ठाममा कल पेल्दै थिई । ऊँ ! ऊँ ! गरेको आवाज त्यसले सुनी । त्यसले वास्ता नै गरिन । नाटकै ठानी शायद त्यसले !
अर्को छेउको भान्साबाट बुहारीले देखी । अनि आत्तिएर दौडी ।
‘हैन बुबालाई के भयो ?’ बुहारी कुदी । छोरो पनि आइपुग्यो ।
बूढो मान्छेले आँखा फर्काइसकेका थिए । उसको अनुहार फुस्रो भएको थियो ।
घरपरिवारहरू रोइकराई गर्न थालेका थिए । उसकी स्वास्नीले भिजेको सारीको सप्को काँधमा चढाई र मुन्टो पछाडिबाट फर्काई । त्यो आत्तिएर दौडिन् । कुनै पन्छी समात्न चाल मारेर बसेको बिरालो जस्तै त्यो लुसुक्क अगाडि बढी । छेउमा आएर खाउँला जस्तो गरेर बुढोको अनुहारमा हेरी । मानौँ त्यस्तरी हेरी जुन देखेर बुढोको सातो जाओस् । उसले गरेको नौटङ्की भयले काँपोस् ।
‘यत्रो गुहे धन्दा मलाई थोपरेर तँ सजिलै मर्न पाउँछस् । तेरा शाखासन्तानलाई स्याहारेर म बस्नु ? ’ उसकी स्वास्नी फतफताई ।
बूढो मान्छे अर–अरिएकै थियो । उसको श्वासको रफ्तार हराएको थियो । उसले हलचल नगरेकोले उसकी स्वास्नी झनै क्षुब्ध देखिई । त्यो घुँडा मारेर छोरा र बुहारीको बीचमा घुस्रिई । दुवैजनालाई घचेटी । मानौं तिनीहरू दुवै कुनै व्यवधान हुन् । त्यसले बूढोको कमिजको कठालो समातेर उठाइ अनि जोडले मुड्कीले त्यसको छातीमा हानी ।
‘अइया !!’ त्यसको बूढोले एकै प्राणले करायो ।
उसले पुन पिर्लिक्क आँखा पल्टायो अनि चिम्म गर्दै बिस्तारै उघारो । उसकी स्वास्नीले उसको कठालो खुकुलो छोडिदिई । बूढोको टाउको भुइँमा बजारियो । जसै उसको टाउको भुइँमा पछारियो उसकी स्वास्नी फेरि पहिलाकै कर्मतिर फनक्क फर्की । यो बूढोले जीवनदान पाएको थियो । नयाँ प्राण सञ्चार गर्न पाएको थियो यसले ।
त्यही भएर त बूढो बारम्बार भन्ने गर्दछ, ‘यसले मलाई मर्न पनि दिन्न र सजिलै बाँच्न पनि दिन्न ।’
‘बूढो मान्छे ! तिम्री स्वास्नी तिम्लाई खुब माया गर्दी रैछे !’ मैले उसलाई भनेँ ।
बूढो मान्छे हाँस्यो ।
‘हैट बूढा ? तिम्रो स्वास्नी पुराण सुनेर मलाई मेरी उलुपीको याद आयो ।’
म त्यस बुढोलाई ठाडै भन्न चाहन्थेँ । तर भनिनँ ।
० ० ० ०
मेरी उलुपी पनि त्यस्तै नारी थिई । त्यो जब्बर षड्यन्त्रकारी नै थिई । त्यो मेरो कुलतका दिनकी जीवन्त सङ्गी थिई । त्यो उलुपी खोइ कहाँबाट नित्य हामी बसिरहेको ठाउँमा आइपुग्थी । अनि हामी जस्तै उसै गरी हावामा धुवाँ उडाउँथी । त्यो कसको स्रोतबाट त्यहाँ जोडिएकी थिई ? मलाई स्मरण छैन । उबेला कम्ता उम्दी थिइन त्यो । केटाहरू जस्तै ‘वाटरगन’ तान्थी, चुरोटको धुवाँ गोलो पारेर हावामा छोड्न सक्थी । केटाहरू भन्दा कमकी थिइन ।
मलाई त्यो सुरुसुरुमा कुनै घृणित कुसंस्कारी हो कि झैँ लागेको थियो । अझ पहिला मलाई त त्यो, त्यस्तो केही लागेकै थिइन । म त्यसप्रति लालायित नै थिएँ । मलाई त्यो कुनै अप्सरा झैँ लाग्यो । जसै त्यसले चुँडिन लागेको ‘तोप’ आफ्नो कलेजकोटको खल्तीबाट निकाली र फायर हानी । अनि स्वादले तानी, मलाई त्यो कुनै विष कन्या झैँ लागी । जिद्दी साह्रै जिद्दी ! वायुमण्डलबाटै जबरजस्त विषपान गर्ने जस्ती । मेरी उलुपी नागझैँ स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्थी । सहनशील भन्ने त त्यो फिटिक्कै थिइन । मान्छे पिट्न कुनै उरन्ठ्याउलो केटा भन्दा कम्ताको थिइन त्यो । त्यो जमाना त्यसकै थियो ।
कुनै फणा काढ्ने नागिनी जस्तै मलाई त्यो प्रतीत हुन्थी । म त्यस उग्रचण्डीको तुलनामा निकै नै गुमसुम र चुपचाप थिएँ । त्यही भएर मलाई त्यो अचम्म लाग्थी । जब हामी बीच सामीप्यता बढ्दै गयो हामी निकै नजिक भयौँ । धेरै नै नजिक ! मैले त्यसको ‘उलुपी’ भनेर नाम राखेको थिएँ । अरू कुनै कारणले होइन । त्यो फुङ्कार मार्ने केटी मात्र भएर । कुनै नागकन्या जस्ती लाग्थी त्यो मलाई !
धेरै वर्षसम्म त्यसले मलाई निष्ठापूर्वक प्रेम गरी । मेरो निम्ति त्यसले धेरैसँग धेरै युद्ध लडी । धेरैलाई पिटी । पिटाइ पनि खाई ।
‘यदि म उलुपी भए तँ चाहिँ के नि ?’ त्यसले मलाई सोधी ।
मलाई त्यो औधी मन पर्न थालेकी थिई । यति औधी कि, मलाई लागेथ्यो म त्योसँग जिन्दगी बिताइदिन्छु ।
‘म तेरो के नाम राखौँ ?’ भनेर सोधी ।
सायद म त्यसलाई भन्न चाहन्थेँ । ‘तँ मलाई अर्जुन नै भन् । अर्जुन नै ठान् ।’
तर मैले त्यसलाई भनेँ, ‘तँलाई के मन पर्छ ?’
‘म उलुपी भए, तँ चाहिँ उलुप !’
त्यसले मेरो अनुहारमा पुलुक्क हेरी अनि खित्का छोड्दै हाँसी ।
‘रोशन उर्फ ‘उलुप’ ?’
मैले त्यसतिर अचम्म लाग्दो पाराले हेरेँ ।
हामी लामो कालसम्म ‘उलुप र उलुपी’ भएर बाँच्यौँ । ‘उर्फ उलुप’ का रूपमा म विश्व विख्यात नै थिएँ कुनै बेला !
‘हाम्रो बिहे हुन्छ जस्तो लाग्छ तँलाई ?’ त्यो उलुपी मलाई कहिलेकाहीँ सोध्थी ।
‘सायद !ֹ’ म भन्थे ।
‘तैँले मलाई धोका दिइस् भने ?’
‘दिन्न !’
‘दिइस् भने, म तँलाई मार्छु ।’
त्यो उलुपी मलाई धम्काउँथी ।
‘तेरो घरका मान्छेले नाइँ भने ! भने नि ?’
‘तँमा के कमी छ र ?’ म जवाफ दिन्थेँ ।
त्यसपछि त्यो खासै चासो राख्दैन थिई ।
म अरू केटीसँग बोलेको त्यसलाई सह्य हुने कुरै थिएन । हात धोएरै पछि लाग्थी त्यो ।
जब कुनै दिन मेरो त्योसँग भेट हुँदैन थियो । या कुनै दिन त्यसलाई लाग्थ्यो, म त्यसलाई इगनोर गरिरहेको छु । त्यो उलुपी रणचण्डी जस्ती हुन्थी । तथानाम गाली गर्थी । धम्क्याउँथी ! नानाभाँती फलाक्थी !
‘कस्ती उलुपी होस् तँ ?’ म पनि झोक्किन्थेँ ।
‘उलुपी हैन तँ ‘उल्लू पी’ होस् ! उल्लू प्रतिमा ! बुझिस् ?’
त्यसले जे भेट्यो त्यसैले हान्थी ।
म पनि के कम । जे फ्याँक्थी, त्यही फर्काउँथेँ । जुरुक्क उठ्थेँ र हिँड्थेँ आफ्नै बाटो ।
त्यो क्षुब्ध देखिन्थी । र म फर्केर त्यसको अनुहार हेर्दिनँ थिएँ ।
भोलिपल्ट त्यो मलाई खिल्ली भरेर कोसेली ल्याइदिन्थी । मलाई फकाउन । हामी उसैगरी उडाउँथ्यौँ । अरू साथीहरू पनि त्यसै गरी उडाउँथे ।
हामी दुवै फरकफरक लोकका थियौं । त्यसबेला एउटै लोकमा विचरण गर्थ्यौं । हाम्रो अर्को फरक यो थियो कि, म कडा अनुशासनको विद्रोही थिएँ भने त्यो स्वतन्त्रताको बागी थिई । त्यसको परिवार साह्रै निष्ठुरी थियो भने मेरो परिवार साह्रै निमोठ्ने थियो । हामी अक्सर एकअर्कालाई आफ्नो व्यथा सुनाउँथ्यौँ ।
समय आफ्नै द्रुत रफ्तारमा हतारिँदै थियो । बुद्धिले बिस्तारै मनोरञ्जनलाई कुलत भनेर मान्न थालेको थियो । तर मन मानिरहेको थिएन । फेरि त्यही मन उलुपीको सुन्दरता र आवश्यकता भन्दा पर नाच्न चाहिरहेको थियो । नियन्त्रण भन्दा पर !
कुनै सम्भ्रान्त ‘उर्फ उलुप’ले गर्ने त्यस्तै हैन र ?
अनि, बिस्तारै त्यो उलुपी पनि उलुपी जस्तै हुँदै थिई ।
मेरो प्रत्येक अतिरिक्त सम्बन्धको शकुनि ! घोर षड्यन्त्रकारी ! त्यसले केके कुरा मात्र लगाइन । यो यस्तो गर्छ र यस्तो गर्दैन ! यस्तो र उस्तो ! त्यो त्यतिमा मात्र अडिइन ।
त्यसले मलाई घृणा गर्न पनि सिकाई । हर कोहीसँग जो आँडे र टेढेँ भएर मेरो कम्फर्टको प्रतिकूलमा उभिन्थ्यो । घृणाको शक्तिको आभास त्यसैले मलाई महसुस गराई । प्रेम गर्थी त्यो मसँग ! उत्कट ! त्यसका लागि सब जायज थियो । घृणाको सहारा लिएर प्राप्त गरिने पवित्र प्रेम !
० ० ० ०
करिब छ महिनादेखि यता, म त्यस्तै प्रकृतिको घृणाको शक्तिले, स्थितिबाट यता लखेटिएको छु, सात समुद्र पारीबाट, आफ्नै धर्तीमा !
म यता लखेटिँदा, त्यता पवित्र प्रेम हुर्किरहेको र हाँसिरहेको छैन र ?
पक्कै !
‘तँ झुट पनि बोल्छेस् । र तँ चरित्रहीन पनि छेस् ।’ मेरो अतिरिक्त सबन्धलाई, मेरो आरोप थियो यो ।
‘तँ एउटा दुर्व्यसनी होस् ! अत्यधिक व्यसनी छस् तँ ।’ मैले खेपेको आरोप थियो त्यो ।
‘तँ जस्तो केटी मेरो गर्लफ्रेन्ड कसरी हुन सक्छ ? तँ जस्तो ?’ मैले त्यसलाई दुत्कारेँ ।
‘मलाई थाहा छ, सारा संसार सुध्रिन सक्छ । तर तँ सुध्रिन सक्दैनस् । म तँलाई घृणा गर्छु । लेखेर राख् ! तँ कहिल्यै सुध्रिँदैनस् !’
त्यो अतिरिक्त सम्बन्धले मलाई चुनौती दियो । मलाई ललकार्यो ।
‘देख्लिस् !’ मैले त्यसलाई भनेँ ।
‘एँ उलुपी ! म यो नशा छोड्न चाहन्छु ।’
‘त्यसो भए के समाउँछस् त ?’ त्यो मसँग ठट्टा गर्थी ।
‘मैले साँच्चै भनेको हो ।’
त्यो मलाई झन भरेर दिन्थी । तान्न उक्साउँथी । त्यो उलुपी मलाई गुमाउन चाहन्न थिई ।
‘तँ कहिल्यै सुध्रिँदिनस् !’
‘त्यस्तरी भनी यार त्यसले !’
के त्यो मेरो आत्मसम्मानमा चुनौती होइन र ? म व्याकुल भावले उलुपी तीर निगाह भर्थें ।
त्यो प्रेमभावले मलाई हेर्थी । प्रेम मात्र त्यसका लागि प्रधान विषय थियो । मेरी उलुपीको ! त्यही उलुपी जो मलाई गुमाउन नचाहेर, मलाई झन भन्दा झन नशामा धुत् बनाउँदै थिई । त्यसैले कुनैबेला अघोषित घोषणा गरेकी थिई । मेरो उलुप र मेरो बीचमा, कुनै पनि कुलत आउनै सक्दैन । सायद, त्यसलाई प्रमाणित गर्नु थियो मेरो आत्मसम्मानको !
मलाई मेरो कुलतको अन्धकारबाट बाहिर ल्याउने नै त्यो उलुपी थिई । एउटा नारीको चुनौती मैले होइन एउटा नारीले नै सामना गरेकी थिई । त्यस्तो प्रखर चुनौतीले त्यसलाई इखालु बनाएको थियो ।
र ,
त्यसले मलाई सुधारी । नयाँ जीवनदान दिई ।
‘त्यो उलुपी’ पनि कुलतको चक्रबाट बाहिर आई, मसँगै ! मभन्दा अघि अघि !
आज पनि कुनै समुद्रको किनारामा ‘त्यो उलुपी’ ले फोटो खिचाएको देख्छु । मेरो हृदय भरिएर आउँछ । ‘ए उलुपी ! तँ पहिलाकै जस्तै छेस् की बदलिस् हँ ?’ तर ‘त्यो उलुपी’ केही प्रतिक्रिया जनाउँदिन । सायद ‘त्यो उलुपी’ मेरो कुरा सुन्दिन ।
मलाई फेरि पनि त्यो ‘मेरी उलुपी’ को खाँचो छ । आवश्यकता परेको छ ।
‘तेरो खुसीका लागि म जे पनि गर्न सक्छु बुझिस् !’ अन्तिम पटक त्यसले मलाई भनेकी थिई ।
फेरि पनि ‘त्यो उलुपी’ले त्यस्तै भन्दिए हुन्थ्यो । आफैले सिर्जना गरेको बभ्रुवाहन म विक्षिप्त छु ।
प्रिय उलुपी,
मान्छे त तँ नागै थिइस् । तर तँसँग बचाउने पनि सामर्थ्य थियो ।
उही तेरो ‘उर्फ उलुप’ ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।