रामचन्द्रेकी माइली छोरीका दुवै छोरा आँगनमा खेल्दै थिए। जानकी पिँढीमा कनिका निफन्दै थिइन्। रामचन्द्रे बारीमा सागलाई पानी दिँदैथिए।
माइली भित्रबाट बाहिर आई अनि आफ्नो घर जान बिदा माग्दै आमालाई भनी- ‘म घर हिँड्न आटेकी है आमा ! कान्छीको केही पत्तो पाइयो भने नर्बिसी कल गरिहाल्नु नि मलाई !’
जानकी कनिका निफन्न छोडेर जवाफ फर्काउँदै भन्छिन्- ‘आज बसे हुँदैन र छोरी ? हिजै त आएकी होस्। भोलि एकाबिहानै जानू।’
‘होइन आमा, घरमा ज्वाइँ एक्लै हुनुहुन्छ। भोलि ठुला नातिलाई स्कुल पनि पठाउनु छ।’
कुराको बिचमा ठुलो नाति आएर हजुरआमाको काखमा बस्यो अनि मायालाग्दो अनुहारमा भन्यो- ‘आमा, अस्ति फोनमा बोल्दा भन्नुभा‘थो, म आएको बेला छिर्के पोथीको अन्डा उसिनेर खिलाउँछु, खै त दिनुभको !’
जानकीले नातिको गालामा म्वाइँ खाँदै भनिन्- ‘अहो ! मैले त स्वात्तै बिर्सिएछु। अब छिर्के पोथीको अन्डा उसिनेर दिहाल्छु है त, मेरो नातिलाई।’
काखबाट जुरुक्कै उठ्दै नातिले भन्यो- ‘आमा, म अन्डा निकाल्छु ल कुख्राको गुँडबाट।’
‘हुन्छ नाति तर होसले ग्वालीको भर्याङ चड्नु है, लडिन्छ नि!’
‘हुन्छ आमा’ भन्दै ठुलो र सानो नाति अगाडि-पछाडि हुँदै भर्याङतिर दौडिए। हजुरआमा र नातिको ममतामयी दृश्यले माइँली हर्षित भई। खुसीले छाती ठुलो भइदियो।
जानकी चुलो सल्काउन थालिन्। माइली केश कोर्न लागी।
…
‘मम्मी, आमा’ कहालिएर कराएको आवाज ग्वालिबाट आयो। आमा-छोरी र रामचन्द्रे आत्तिएर ग्वालीतिर दौडिए। दुवै नाति भर्याङ्को भेदमा फ्याँफ्याँ गर्दै उभिएका रहेछन् डरले अनुहार कालो बनाएर। तीन जना पुग्ने बित्तिक्कै ठुला नातिले ग्वालीमाथि इसारा गर्दै केही भन्न खोज्यो तर बोली फुटाउन सकेन। यी पाँच र तीन वर्षे नानीहरूको भावचिन्हले यस्तो लाग्यो मानौँ उनीहरूले केही भयावह दृश्य देखेर तल झरेका हुन्। दुवै नानी लुपुक्क माइलीसँग टाँसिए। रामचन्द्रेले समय नफ्याँली ग्वालीमाथि आरोहण गरे। कुख्राको गुँड छेउमा कम्बलले केही ढाकेको देखेर रामचन्द्रे शङ्कास्पद कम्बलतिर समीपिए। कम्बल समातेर उँधो सारे। कम्बल मुनिको दृश्यले उनको मुटुमा सय किलाको घनले बलपूर्वक होनेको अनुभव गरायो। लगलग शरीर काम्यो धामी कामेसरी। जति जिउ काम्दै गयो उति नै शरीरबाट शक्ति क्षीण हुँदै गयो। शरीर फत्याक्फुतुक्क भई त्रसित भयो।
एक्कासि रामचन्द्रेको आवाज निस्कियो- ‘जानकी ! कान्छीका दुवै नानीका लास यहाँ रहेछन्। हे भगवान् ! यो अनर्थ कसरी भयो?’
जानकी र माइली दौडिएर ग्वालीमाथि केही फड्कोमा पुगे। दुवैले त्यो दृश्य हेरे जसलाई हेर्दा ढुङ्गाको मन हुने मान्छेको पनि दया र करुणाले मन पिघ्लिएर छताछुल्ल हुन्छ। कान्छी छोरी चन्द्रकलाका तीन बर्से छोरो र तीन महिनाकी छोरीको लास थियो। दाजुमाथि बहिनीलाई खप्टिएर कम्बलले पोको पारेर राखेको रहेछ। दुवैका अनुहार निला, आँखा निदाएका, नाक र कानबाट रगत बगेर लेत्रैलेत्रा भएका रहेछन्। मसिना फूलजस्ता नानी यसरी सुतिरहेका थिए मानौँ दुवैले दाजुबहिनीको पवित्र सम्बन्धलाई दुनियाँको सामु उदाहरणको रूपमा प्रस्तुत गरिरहेका छन्।
जानकी र माइलीको मुटु रातो झिरले रोपेझैँ भयो। कहालिएर रुन लागे। यो हृदयविदारक दृश्यले दुवैको होसचेत सबै हराइदियो। रामचन्द्रले आफूलाई सम्हालेर ती मृत पुष्पका गुच्छालाई त्यहीँ कम्बलमा पुनः पोको पारेर ग्वालीबाट तल ल्याए। पिँढीमा गुन्द्री ओछ्याएर दुवैलाई स्वतन्त्र सुस्तरी लडाइदिए। समयले चार बजाउन लागेको थियो। घाम पश्चिम दिशाको डाँडामा बिलाउन लागेका थिए। घामका केही रेसा मात्र डाँडाबाट छरप्रस्ट भएका थिए।
रामचन्द्रेले पहिले ज्वाइँलाई कल हाने, कल उठेन। सम्धीलाई हाने, उनको पनि फोन उठेन। फेरि सम्धीलाई फोन हाने, बल्ल गएर सम्धीको कल उठ्यो। एकै सासमा सम्धीलाई अशुभ खबर सुनाएर चाँडै आउने अनुरोध राखे। मोराङ गाउँमा आगोसरी रामचन्द्रेका दुई मृत नातिनातिना ग्वालीमा पाएको खबर फैलियो। पाँच दिनदेखि नानी लिएर हराएकी चन्द्रकला आज गएर उसका मृत नानी मात्र भेटिए। ऊ कहाँ कुन स्थितिमा भेटिने हो सुइको पाएका थिएनन्, न माइतीकाले न घरकाले। गाउँका सबैजना झर्याप्झुरुप भेला भए। नानीको मृत शरीर हेरेर सहानुभूति नराख्ने र आँसु नझार्ने कोही भएनन्। रुवाबासीले सबैको मन गरुङ्गको बनाइदियो।
गाउँलेहरूले चन्द्रकलालाई पनि खोज्न थाले। घर, ग्वाली, बारी, छेउको जङ्गलमा भुइँपाताल कोट्याउन लागे। आमाबाबाको मन डरले थर्थर हुन लाग्यो कतै छोरी पनि नातिनातिनीको जस्तो अवस्थामा फेला नपरोस् ! भगवानसँग प्रार्थना गरिरहे, हे भगवान् छोरीलाई केही नभइदियोस्।
…
चन्द्रकलाको श्रीमान्, सुरेन्द्रको गाउँ थापाबस्ती मोराङबाट मात्र पाँच किलोमिटरको दुरीमा थियो। थापाबस्तीबाट निकै मान्छे आइपुगे तर अझै पनि सुरेन्द्र र उसका परिवार आइपुगेनन्।
थापाबस्तीबाट आएको देबेले सुरेन्द्रलाई कल गरेर भन्यो, ‘सुरेन्द्र, कहाँ छस् ? जल्दी आइज ? तेरो फेमिलीबाट कोही नआएको देखेर यहाँकाले तिमीहरूमा शङ्का गर्न लागिसके। भाउजूलाई सबै मिलेर खोज्दैछन्।’
सरेन्द्र अति सीधा एवम् मिलनसार स्वभावको थियो। कसैसँग झगडा नगर्ने, नराम्रो वचन नबोल्ने, अरूको अहित नसोच्ने। ऊप्रति शङ्का गर्नु, पत्याउने कुरा थिएन।
सुरेन्द्रले दबिएको स्वरमा देबेलाई उत्तर दियो- ‘अँ, म आउँदैछु। पुग्न आटेँ। बाबालाई पर्खिने भएर अलिक लेट भयो।’
देबेले फोन राखिसक्दा हल्ला सुन्यो- ‘चन्द्रकला भेटिई। तल जङ्गलमा झुण्डिएकी छे अरे।’
सबै झुण्डिएको ठाउँमा औरिए। चिलाउने-रुखको हाँगामा लथ्रङ्ग झुण्डिएकी चन्द्रकलालाई हेरी सबै बिचरी र अबला भन्दै सहानुभूति पोख्न थाले। निकै दिन झुण्डिएकाले माखा, भुसुना जिउमा भन्किरहेका थिए। निलो भएको अनुहार पढ्दा लाग्थ्यो सायद ऊ जीवनदेखि हार खाएर परलोकको बाटो समातेकी होली ! बिचरी चन्द्रकला !
गाउँका केटा रुख चढे लास निकाल्न। आफ्नै पछ्यौरीलाई पासो बनाएकी रहिछे। माथि चढ्नेले पढ्यौरीलाई खुकुरीले च्वाँट छिनायो, उँधोबाट तीनजनाले चन्द्रकलाको प्राणहीन शरीर थामे। चन्द्रकलाको शरीर हेरेरै आकलन गर्न सकिन्थ्यो, चालिस किलोभन्दा अधिक वनज थिएन होला उसको। चन्द्रकलाको झिनो झिउ हुनु पछ्यौरीले थाम्न सकेको एउटा कारण हुन सक्छ ! उसको झिनो जिउ हुनुको कारण उसको प्राकृतिक जिउ थियो या गृहकलह या फेरि भर्खरै जन्मेको नानीले दिनरात दुध चुसेर ? यस्तै अनुमान काट्ने काटिरहेका थिए।
दुवै परिवारकालाई नजिकैबाट चिन्नेहरूले सुरेन्द्रबाट कुटाई खाएर चन्द्रकला माइती आइरहेको कसैबाट लुकेको थिएन। पतिको कुटाइ र हेपाइले यो पाइला चालेकी होली भन्ने भीडमा फ्यासफुस कुरा गरेको सुनियो तर ठ्याक्कै प्रमाणित गर्ने केही निस्किएनन्। यसै पनि अरूको काण्डमा अगाडि सरेर छलफल गर्न ताम्सिदैन सामान्य मान्छे।
चन्द्रकलाको मृत शरीरलाई पनि पिँढीमा ल्याएर लडाइयो जहाँ उसका सधैँका लागि निदाएका नानी अघि नै लडाइएका थिए। रुवाबासीले वातावरण पानी परेझैँ बनियो।
सुरेन्द्र र उसका बाबा पनि आइपुगे। सुरेन्द्रको न बोली फुट्यो, न आँसुको मूल फुट्यो न नानीको कारुणिक दृश्य देखेर पिताहृदयको ममता फुट्यो। दुवै गाउँका मान्छे झिरिप्प भएर गुँडुलिएका थिए। यही भीडमध्ये बिनोदले पुलिसलाई कल गरेर घटित घटनाको सूचना गर्दियो।
सुरेन्द्रको चुप्पी र निर्दयी अनुहार देखेर गाउँकाले एकअर्कामा आक्रोशित हुँदै कुरा गर्न लागे।
बिनोदले सुरेन्द्रलाई कठोरतासँग प्रश्न गर्यो- ‘चन्द्रकला कसरी झुन्डी ? कसरी यस्ता मसिना नानी मारेर आफैँ मरी ? कि तैँले नै मारेर झुन्डाइस् ?’
सुरेन्द्रले थर्थर काँप्दै जवाफ फर्कायो- ‘के भन्नुभएको तपाईंले ? मैले कसरी मार्न सक्छु मेरी बुढी र नानीहरूलाई ?’
बिनोदले झन् कडा आवाजमा थर्काउँदै सोध्यो- ‘पाँच दिन भएको रहेछ तीनै जना हराएको। एक दिन पनि ससुराली आएर खोजिनस् ? किन ? के आफ्नी ज्यान र नानीको माया थिएन तँलाई ?’
बिनोदको थर्काइले सुरेन्द्रको मुटु नै डरले थर्कियो। मुख यसरी बन्द गर्यो मानौँ कसैले उसको मुख सियोले उनिदिएको छ।
बिनोदले पुनः थर्कायो- ‘साले ! जल्दी भन् !’
सिएको मुख खोल्दै फक्फकाउँदै सुरेन्द्रले मुख खोल्यो- ‘हराएको दिनमै हामीले थापाबस्ती पुलिस चौकीमा मिसिङ्ग रिपोर्ट लेखाएका थियौँ। कसरी यस्तो भयो मलाई थाहा छैन।’
यसैबिच पुलिस आइपुगे। दुइटै नानी र चन्द्रकला फेला परेको वृतान्त पुलिसलाई सुनाइयो। सुरेन्द्रले पाँच दिन अघि चन्द्रकला नानीसँगै हराएको मिसिङ्ग रिपोर्ट लेखाएको कुरा पुलिसलाई भन्यो।
पुलिसले रामचन्द्रेलाई सोध्यो- ‘चन्द्रकला माइती आएकी थिई ?’
‘थिइन सर। तर गाउँकाले पाँच दिन अघि तल बाटोमा झमक्क रात परेपछि यता आउँदै गरेकी देखेका थिए अरे।’ बुढो मुखले न्याउरो आवाजमा जवाफ फर्काए।
यसरी पुलिसले निकैबेर सोधपुछ गरे दुवै परिवारकालाई। सोधपुछमा सुरेन्द्र र उसकी आमाले चन्द्रकलालाई दिनरात प्रताडित गरेको कुरा पनि निस्कियो। यी नै पिरले नानी मारेर आफैँ मरेकी भन्ने पुलिस र सबैले अड्कल काटे।
सबैको पक्ष सुनेर पुलिसले रामचन्द्रेलाई सोध्यो- ‘छोरीले आत्महत्या नानीसँगै गरेको शङ्का लाग्दैछ। तीनै जना मर्नुको कारण सुरेन्द्र र उसकी आमा हुन सक्छन् ! तिमीहरू चाहन्छौँ भने सुरेन्द्र र यसकी आमालाई आरोपको आधारमा एफआइआर गर्न सक्छौँ या कम्प्रोमाइज गर्ने अप्सन पनि छ।’
पुलिसको सुझाउ सुनेर निकैबेर सबै गन्थन गर्न लागे। रामचन्द्रेले केही भन्ने मेसो पाएनन्। आखिर छोरी र नातिनातिनाको चोलो उठिसकेको थियो। उनले सोचे, आत्महत्या गरेकोमा कसलाई दोषी मान्नु ? उसले आत्महत्या गरी या गरिन त्यो पनि छोरीलाई मात्र थाहा छ जो अहिले संसारमा जिउँदी छैन। सोचीसोची उनका नयन सजल हुँदै गए। ऊ केही बेर सजल नेत्र लिई यसै मौन बसिरहे।
बिनोद र अरू गाउँकाले पनि उनलाई यही सल्लाह दिए- ‘अब केटालाई पुलिसमा दिएर पनि के गर्नु ? छोरी फिर्ता आउने होइन। एफआइआर गरेपछि दिनै पुलिसथाना धाउनु पर्छ, कोर्ट-कचेरी पुग्नु पर्छ, आफैँलाई पिर पर्छ। अनि नातिनातिना र छोरी पनि आफ्नै घरमा आएर मरेका छन्। कतै हामीलाई नै शङ्का गरेर पुलिसले दिनै सोधपुछ गर्न लाग्यो भने अर्को पिर हुन्छ। हामीले कम्प्रोमाइज गरेको ठीक हुन्छ होला !’
रामचन्द्रेलाई सबैले दिएको सुझाउ ठिक लाग्यो। सोहीअनुसार मध्यस्तता नै गर्न उचित ठाने। पुलिसलाई मध्यस्तता गर्छौं भनिदिए रामचन्द्रेले। पुलिसले भनेअनुसार कागज बनाएर पोस्टमार्टम गर्न आमा-नानीहरूलाई अस्पतालतिर लिएर गए।
चन्द्रकलाले आफ्नो छातीको रगत पिलाएका फूलजस्ता नानी मारेर स्वयम् मर्नुको कारण उसको पति थियो या अन्य कारण, त्यसको सत्यता त उसलाई मात्र थियो। अगर सुरेन्द्रकै कारण यस्तो अकल्पनीय पाइला उठाएकी थिई भने बाबाले मध्यस्तता गरेको देखेर उसको आत्मा रोयो होला ! उसले आफ्नो र नानीको जीवनलाई त्यागेको व्यर्थ भयो होला ! सम्भव हुन सक्छ अत्याचार खप्न नसकेर आत्महत्या गरी सुरेन्द्र र सासुलाई पुलिसबाट सजाय दिने उसको मरेपछिको अन्तिम इच्छा थियो कि?
…
पुलिसले अस्पताल लिएर जाँदा रातिको साढेसात बजेको थियो। भोलिपल्ट चन्द्रकला समेत दुवै नानीको पोस्टमार्टम भयो। डाक्टरले अन्तरिम रिपोर्टअनुसार चन्द्रकलाको मृत्यु घाँटीमा फन्दा लगाइएर अनि नानी निस्सासिएर मरेका हुन् भन्यो।
अस्पतालबाट रातिको सात बजे तीनै लास सुरेन्द्रको घर थापाबस्ती लिएर आए। निस्पट्ट अँध्यारो भएको थियो। सुरेन्द्रको घरको आँगनमा छहारी हालिसकेको थिए। गाउँका मान्छे आएर लासको पर्खाइमा बसेका थिए। एम्बुलेन्सबाट चन्द्रकलालाई तुलसी मोठछेउमा उतारेर लडाइयो। छाहरीमा जोडिएका सबै ट्युबलाइट समेत सबै सीएफएल लाइट प्वाट-पुट्ट एकैचोटि फुटे। कालो अँध्यारोले छोप्यो। एकाएक अँध्यारोले यसरी छोप्दा स-साना नानीकेटाकेटी च्याचू गर्दै रुन लागे। ठुलाठाला कानाफुसी गर्न थाले- बिचरी चन्द्रकला ! बुढा र सासुको पिर र अत्याचारले मरेको देख्न नसकेर भगवानले एकैचोटि सबै लाइट फुटाएर आफ्नो रिस यसरी देखाइदिए।
लाइट बनाइयो। घरमा उज्यालो छायो तर कसैको जीवनमा कहिल्यै उज्यालो नआउने गरी अन्धकार छाइदियो। चन्द्रकला र नानी मरेको खबर गाउँमा माइकबाट घोषणा गरियो। चन्द्रकलाको अन्तिम संस्कार भोलि गर्ने कुरा भयो।
चन्द्रकला र दुइटै नानीको अन्तिम संस्कारको दिन। सूर्यले आफ्नो नियमित कार्य गर्दै झुल्किए। अस्ताएका तीन आत्मा आँगनमा लडिरहेका थिए। तीनजनाका लागि आँसु खसाउने चन्द्रकलाका दिदीहरू बाहेक अरू कोही थिएनन्। सुरेन्द्र र उसको परिवारमा शोकको कुनै रेखा उनीहरूको अनुहारमा देखिएको थिएन। गाउँको महिला समिति आइपुग्यो। महिला समितिले सम्वेदना पोख्न होइन बरु आक्रोशित भएर सोधपुछ गर्न लागे। चन्द्रकला कसरी मरी? पाँच दिनदेखि हराएकी रहिछे, गाउँमा खबर पनि छैन। एउटी महिलाले यसरी नानी मारेर आफू मर्नु पर्ने कारण सानो हुन सक्दैन ! यही परिवारले केही अन्यथा गरेको हुन सक्छ। आफैँ तीनै जनालाई मारेर आत्महत्या गरेको परिदृश्य बनाएका हुन सक्छन्। सुरेन्द्रले दिनै चन्द्रकलालाई कुटेको र सासुले हेपेको कसैबाट लुकेको थिए छेउछाउका छिमेकीबिच।
यै बुढीले गर्दा हो चन्द्रकला र नानी मरेका हुन् भन्दै एकजना महिला सुरेन्द्रकी आमातिर झम्टी। शान्तिप्रिय जनले छुट्याए। एउटी महिलाको पीडा महिलाले नै बुझ्ने गर्छन्। त्यही भएर पनि चन्द्रकलाको मृत्युमा आएका महिला विक्षिप्त भएका थिए, क्रोधित भएका थिए। नानी मारेर स्वयम् मरेको घटना पचाउन सकेका थिएनन्। आखिर आफ्ना नानी मारेर स्वयम् मर्नु जस्तो अकल्पनीय कारण सानो त हुन सक्दैन! अत्याचारको पराकाष्ठा ठुलै भएरै यो अप्रिय घटना घटेको हुनुपर्छ। महिला समितिले चन्द्रकलाको प्रताडित भावनालाई बुझेर यसरी सोधपुछ गरेको हुनुपर्छ।
महिला समितिका कार्यकर्ताले घरै उचाले। श्मशानघाट लान हिँड्न आँटेका मलामीलाई लास उठाउन दिएनन्। आमा चाहिँ भित्र लुकी। नत्र महिला समितिले लुछ्न लागेका थिए। सुरेन्द्रलाई यही गाउँकाले पनि थर्काउन थाले। लास उठेन। पहिला के कारणले चन्द्रकला मरी ? त्यसको निधो नपाई महिला समितिले लास छुन पनि दिएनन्।
यही सोधपुछमा सुरेन्द्रको सात वर्षे भाइले भीडबाट एकजनाले सोध्दा भन्यो- ‘अस्ति आमा र दादाले भाउजूलाई राति धेरै कुट्नु भएको थियो। सानो नानीलाई पनि कुट्नु भयो।’
नानीको भनाइपछि महिला समिति अनि भीड झन् आगो भए। एकजनाले सुरेन्द्रको कलर समाती त हाल्यो। सुरेन्द्रले माफी माग्दै भित्र गएर सुसाइट नोट ल्याएर दियो अनि मैले मारेको होइनँ भन्दै टाउको निहुराएर सबैको सामु उभियो।
महिला समितिले सुसाइड नोट पढेर पुलिसमा झट्टै खबर गर्ने कुरा राखे। सुरेन्द्र र आमाको कारणले चन्द्रकला मरेको थाहा भयो तर आत्महत्या थियो या सुरेन्द्र र आमाले मारेर आत्महत्या गरेको प्लान बनाइएको थियो ? त्यो स्पष्ट थाहा भएन। मोराङको बिनोद र चन्द्रकलाकी दिदीले पुलिसलाई तुरन्तै खबर गरे सुसाइड नोट पाएको। पुलिसले अन्तिम संस्कार सकेर सुरेन्द्रलाई पुलिस थाना आउने आदेश सुनायो।
गाउँका बुढापाका र महिला समितिले सल्लाह गरेर अन्तिम संस्कारको अधिकार चन्द्रकलाले चाँडै पाएको राम्रो हो भनी श्मशानघाट लाने अनुमति दिए।
लामो शङ्ख बज्यो। सेतो कात्रोले बेरेको लास उठ्यो। चन्द्रकला चार वर्ष अगाडि रातो लुगा लगाएर यस घरमा भित्रिएकी थिई तर आज सेतो कात्रोमा बेरिएर जानुपर्दैछ। जीवनको दुर्भाग्य।
चन्द्रकलाको अन्तिम संस्कार भएपछि नियमअनुसार दुवै नानीलाई घरको बारीमा पुर्ने सल्लाह थियो। चन्द्रकलाका दिदीहरूले उसलाई आँसुसहित विदा गरे। यता सुरेन्द्रले मौनले विदा गर्यो। एक थोपा आँसु पनि निस्किएनन् उसका। उसको मौनता र निर्दय अनुहारले प्रमाण दिँदै थियो कदचित् तीनजनालाई मार्ने यही आरोपी सुरेन्द्र हो ! सबैले यही अट्कल काटिरहेका थिए नत्र आफ्नी श्रीमतीको चितामा अगुल्टो झोस्दा कसका आँखा चिसिन्दैनन् ! कसको हृदय पघ्लिएर आँखाबाट बग्दैन?
चन्द्रकलाको झिनो जिउ खरानीमा परिणत भयो तर उसले जीवनदेखि हारेर जुन हृदयविदारक उदाहरण सबैको सामु प्रस्तुत गरी या भयो त्यसले सबैमाझ हलचल मच्चाएर गयो।
नानीलाई पुर्न दुइटा खाडल खनियो। कफिनमा निदाइरहेका दुवै शिशुलाई गाईको दुध सुरेन्द्रले पिलाइदियो बुढापाकाको आदेशमा। जब दुध पिलाउनु थियो तब पिलाइएन अब मृतावस्थामा पिलाउनुको के प्रयोजन ? दुवैलाई हामी किन मर्यौं ? के कारणले मर्यौं ? हामीलाई पिताले मारे, हजुरआमाले मारिन् या आफ्नो दुध चुसाउने आमाले मारिन्, त्यसको न बोध थियो न चेत। सम्भव थियो भने फेरि बउरिएर आलौकिल शक्तिले सोध्ने थिए होला, हामीले के गल्ती गरेका थियौँ? जो जीवनको सुरु हुनु अगाडि नै हामीलाई यसरी आएको ठाउँमै फर्काइयो !
खाडलको छेउमा आएर नानीलाई अन्तिम यात्रा गराउन सुरेन्द्रलाई भनियो। आखिर मर्ने दुवै नानीको पिता थियो जसको रगतबाट मान्छेको जुनी लिई संसारमा आएका थिए। तीन वर्षको नानीलाई सुरेन्द्रको हात लगाइयो। उसले कफिनसहित खाडलमा राखेर एक अँजुली माटो राखिदियो। अर्को नानी हात लगाइयो, उसले त्यसै गरी नानी खाडलमा राखेर एक अँजुली माटो अर्पित गरिदियो।
यतिमै भीडबाट एकजनाले क्रोधित स्वरमा भन्यो- ‘ओय सुरेन्द्र ! कमसेकम आफ्नो नानीको अनुहार त हेर्नु थियो ! ती तेरा नानी हुन्। बुढी जलाउँदा एक थोपा आँसु झारिनस् ! आफ्ना नानी काखमा आउँदा त मन पघ्लिनु पर्ने ! कि आफैँ मारिस् यी नानीहरूलाई ? एक थोपा आँसु झार्न परै जाओस्, अनुहारधरी हेरिनस् नानीको ?’
सुरेन्द्रले कालो निर्दयी अनुहार मात्र देखायो। उसको हावभाव पढ्दा सबैले संशय गरिरहेका थिए, यसले नै तीनै जनालाई मारेर आत्महत्या गरिएको हो भन्ने षड्यन्त्र रच्यो अनि शङ्का गर्छन् भनेर माइतमा लगेर लास राखिदियो ! जस्तै पिर परे, प्रताडित भए पनि आमाले आफ्ना नानीलाई कसरी मार्न सक्छे ? सबैले यो गुत्थीलाई सुल्झाउन सकेका थिएनन्।
पुलिसको आदेशअनुसार सुरेन्द्रलाई पुलिस थाना गयो। यता घरमा सुरेन्द्र र उसकी आमालेको अत्याचारले तीनै जनाको मृत्यु भएको कारण बुझ्दा समाजले सुरेन्द्रको परिवार विरुद्ध कडा फैसला सुनाउँदै क्रियाकर्ममा पुरेत नदिने, कोही पनि काम सघाउन नआउने घोषणा गर्यो। समाज हटक गरिदियो।
यो फैसलाले सुरेन्द्रका पिता अति मर्माहत भए। परिवारमा घटेको घटनाले आघात भएकै थिए, थप समाजले यसरी पन्साउँदा उनको कष्टको कुनै सीमा नै रहेन। रुँदै समाजको अगाडि स्वयम् आत्महत्या गर्ने घोषणा गरे।
यसरी सुरेन्द्रका पिताले समाजको अगाडि असह्यताको आँसु झारेपछि समाजले दण्डमा केही ढिल दिए। पुरेत आएर क्रियाकर्म गर्दिने अनुमति पाए।
…
सुरेन्द्रको विरुद्ध एफआइआर पञ्जीकृति भयो। पुलिसले दुईतीन दन्डा हानेपछि चन्द्रकला हराउनु अघि आमाछोराले कुटेको सुरेन्द्रले स्वीकार गर्यो तर आफैँ मारेको प्रश्नलाई स्वीकारेन।
पुलिसले सुसाइड नोट पढ्यो। अक्षर नेपाली अनि अस्पष्ट लेखेको हुनाले बुझेनन् पुलिसले। अनि सुसाइड नोट चन्द्रकलाले लेखेको हो या होइन त्यो पनि पुष्टि गर्न उसको मास्टरलाई डाकियो।
मास्टरले सुसाइड नोटलाई चन्द्रकलाले नै लेखेको हो भनी पुष्टि गरिदियो। पुलिसले मास्टरलाई नै सुसाइडनोट पढ्न लगायो।
मास्टर सुसाइड पढ्न लागे- ‘तेरी आमाको अति प्यारो छोरो ! म जीवनबाट हार खाएर जाँदैछु, मेरा र तेरा स-साना दुइटा नानी लिएर। म यस्तो ठाउँ जाँदैछु जहाँ तैँले हामीलाई भुइँपाताल खोजे पनि भेट्ने छैनस्। तैँले मलाई कहिल्यै बुझिनस्, बुझ्ने कोसिस गरिनस्, कहिल्यै मायाको नजरले हेरिनस्। म सोह्र वर्षकी हुँदा अथाहा माया गरेर जीवनभर सुखी राख्छु भनी मलाई कलिलै उमेरमा भगाइस्। म आफ्नै इच्छाले तँसँग भागेँ। अहिले तेरो पिरले तँबाट भाग्नु पर्दैछ, हाय ! मेरो दुर्भाग्य। तैँले आफ्नो वासना पुरा गरेपछि कहिल्यै पनि माया र दयाले मलाई बर्ताव गरिनस् ? सायद माया गर्थिस् पनि होला तर तेरी आमा, तेरी परी, बोक्सी भने पनि थोरै हुन्छ, उसले तँलाई हमेसै तँलाई एकोहोर्याइ, तँ अन्धा भएर मलाई सधैँ घृणा गरिस्। मैले जति गर्दा पनि कहिल्यै गरेको देखिस्, दुई कुरा मन राख्नाका लागि पनि मिठो बोलिनस्। घर बाहिर तेरो व्यहोरा गौ जतिकै छ, तँलाई सबैले सीधा र सोभानी चरित्रको मान्छन् तर मेरा लागि असल बुढा हुन त परै जाओस् मानवताको नाममा असल व्यहोरा देखाउन पनि सकिनस्।
बिहे गरेको एकै वर्षमा नानी भयो। नानी भएको केही महिनापछि तेरो कुव्यवहारले मैले खुसीका आँसु कहिल्यै झार्न पाइनँ। सधैँ कष्टका आँसु खाएँ। तेरी आमाले मलाई सधैँ नराम्रो वचन मात्र लगाई, कहिल्यै मैले गरेको राम्रो भनिन। तैँले कमाएको पैसा सधैँ आमालाई दिइस्, मलाई एक रुपियाँ दिन तँलाई कहिल्यै आँट आएन। छोराछोरीलाई मिठाई किन्न पनि बारीमा उप्ज्याएको सागसब्जी लुकेर बेच्न बाध्य पारिस्। तेरी आमाको पोल सुनेर मलाई जहिल्यै सक्दो कुटिस्। मेरो जिउ थाङ्थिलो पारिदिइस्। मेरो जिउ सुकेर भाटो भयो, यिनै नानीहरूको मायाले सास अड्की रह्यो। यी सबै पिर खप्ने कोसिस पनि गरिहेरेँ तर तेरी आमाले जुन शङ्का गरेर दिनैपिच्छे तँलाई पोल लगाउँथी, त्यो मेरालागि विषभन्दा बढी महाविष हुन्थ्यो। घरमा आएका, घरगाउँका छोरामान्छेसँग मैले दुई वचन बोल्दा तेरी आमाले भए-नभएका कुरा सुनाउँथी। यति त ठिकै थियो तर ससुरासँग शङ्का गरेर घरमा बस्न मेरालागि नर्क बनाइदिएकी थिई। यो सब हुँदाहुँदै पनि तैँले मलाई विश्वास र साथ दिन्थिइस् भने मलाई तेरी आमाको कुराले केही फरक पर्ने थिएन तर तैँले आमाको कुसोचलाई सर्लक्कै मानेर मलाई शङ्का गरिस्, दिनै कुटिस्? मेरो शरीरमा यस्तो कुनै ठाउँ छैन जहाँ तैले कुटेको छैनस्।
यो काखको नानी मैले अन्तै मुख कालो गरेर जन्माएको भन्छस्, आफ्नो नानी मान्दैनस्, मुखधरी हेर्न मान्दैनस् ! यो सब सहेर किन तँसँग बस्नु! कसरी जीवन काट्नु ? तेरो हात लगाएर यी फूलजस्ता नानी छोडेर कसरी म एक्लै जानु ? मलाई थाहा छ यी नानीहरूको बिजोक हुन्छ। बाँचेको र मरेको एकै हुनेछ। टुहुरा भएर बस्ने छन्। मैले कसरी तँ अपराधीको हात राखेर जानूँ ? म जहाँ गए पनि यी नानीको यादले म त्यहाँ बस्न सक्दिनँ। म जानै सक्दिनँ अनि तैँले दिएको नर्कको जीवनमा पनि अब बस्न सक्दिनँ। मैले जानै पर्छ। अरू केही विकल्प सोच्ने मेरो हिम्मत छैन। तैँले र तेरी आमाले लगाएको लाञ्छनाको घाउ बोकेर बाँच्न सक्दिनँ, म सक्दिनँ।
भन्ने धेरै कुरा छन् तर भनेर तँलाई के फाइदा र? तँलाई के फरक पर्छ ? त कप्टी मान्छे, पापी मान्छे। अरूको नजरमा राम्रो छस् भइहाल्यो नि? म जाँदैछु, तँ तेरी आमाको पुच्छर भएर बस्नु। मैले मेरा यी मुटुका टुक्रालाई साथ लिएर गएको कारण अति जघन्य र डरलाग्दो छ त्यही भएर लैजाँदैछु नत्र कसरी… तँलाई मेरो आँसु लाग्नेछ। मेरो जीवन बर्बाद पारेजसरी अरू कसैको जीवन बर्बाद नगर्दिनु। तेरा परिवारमा कहिल्यै छोरीचेली आउनु नपरोस्। मेरो श्राप लागोस् तेरो वंशलाई। श्राप लागोस्।
थाहा छैन यो चिट्ठी पुलिसले पाउँछ पाउँदैन ! पायो भने मेरो आत्माले शान्ति पाउनेछ, पाएन भने मेरो अर्को दुर्भाग्य।
तेरी चन्द्रकला र नानीहरू।
सुसाइड नोट पढेपछि पुलेसले तुरन्तै सासुलाई पुलिसथाना ल्याउन पुलिसकर्मी घरमा पठायो। सबैले क्रियाकर्म सकेर लाने अनुरोध गरे तर पुलिसले कानुनभन्दा क्रियाकर्म ठुलो हुन सक्दैन भन्दै जीपमा हालेर थाना लगे।
दुवैलाई इन्टोरोगेसन गरे उपरान्त डिस्ट्रिक कोर्टमा पेस भए। सुसाइड नोट र कन्फेसनको आधारमा कोर्टले जुडिसियल कस्टडीमा राख्ने आदेश सुनायो।
अहिले आमा-छोरा सेन्ट्रल जेलमा आँसु पुछिराखेका छन् अनि वहाँ चन्द्रकला र दुइटा नानीको आत्मा मुस्काइरहेछ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।