श्रावणकृष्णप्रतिपदा
प्यारी शर्मिष्ठा,
मिठो सम्झना ।
आज सात वर्ष बितेछन् तिम्रो साथ गुमेको, तिम्रो अधर छुटेको, तिमी इन्द्रेणी भएर मेरो जिन्दगीमा फन्को मारिरहेको देख्न नपाएको, तिम्रो पार्थिव शरीर परलोकमा एकाकार भएको । तिमीले त कुनै सन्देश पठाउन पनि सकिनौकिनभने मैले तिम्रो बिछोडसँगै तिमीले जोडेको वाइफाई काटिदिएँ, त्यो पुनः जोडिनँ पनि । मन लागेन तिमीबाहेक अरू कसैलाई पनि हेलो भन्न र सकिनँ मन बाँड्न । सकिनँ कसैलाई पनि मनमा राख्न, बार लागेको छ मेरो मनको परिधिमा । छेकिदिन्छ कसैलाई पनि । छिर्नै सक्तैन कसैको आत्मा र भावना त्यसभित्र । त्यसैले सजाउन सकिनँ कसैलाई पनि । मेरो फेसबुक अकाउन्ट पनि निष्क्रिय गरिदिएँ । चलाउनै छोडिदिएँ । अनि हुलाकसेवा पनि तिम्रो गाउँमा आउने सुविधासम्पन्न छैन । अर्थात् त्यहाँसम्म आउने हुलाकसेवा छैन, फोन पनि छैन र इन्टरनेट पनि छैन । तिमीले चाहेर पनि म तिमीलाई देख्न सक्तिनँ । मैले चाहेर पनि तिमीले मलाई देख्न सक्तिनौ ।
मनको वरिपरि ढाकेको तगाराले कसैलाई पनि भित्र आउन नदिएको कुरामा तिम्रो विमति होला र भनौली —
‘तिमीले मेरो साथ छोडेको वर्ष दिन नबित्दै तिम्रो मनले कति सजिलै मेरो विकल्प खोज्यो, रोज्यो र भेट्टायो ?’

बाँस्कोटा धनञ्जय
तिम्रो प्रश्नमा मेरो प्रश्न पनि छैन, उत्तर पनि छैन किनभने त्यो अकारण हुँदो रहेछ । अकारण मैले कान्छी स्वास्नी भित्र्याएँ । तिमीले मलाई समयसँग सुम्पिएर गएकी थियौ । अनि उषालाई मेरो काखमा छोडेर गएकी थियौ । मैले साँझ कामबाट फर्किँदा छोरीको मुहारबाट उडेको फुस्रो रङ्ग देखेँ । बिहान उसकी हजुरआमाका साथमा छोडेर हिँड्दा उसका सबै भावभङ्गिमाहरू बिथोलिएको पनि देखेँ । उसको त्यो उडेको अनुहारले मातृत्व खोजेको ठानेँ । मलाई तिमीले प्रकृतिको काखमा छोड्नुको अर्थ थियो, म बाँकी जीवन यसैमा समाहित हुन सकूँ तर प्रकृतिको अर्को रूप पनि रहेछ मैले बुझ्न नसकेको । मेरा सारा इन्द्रियहरू यसैका उपहार भएको पनि मैले बुझ्न नसकेको रहेछु । म क्रमशः आफ्नै शरीरको दास हुन पुगेँ । अर्थात् मैले आफ्नो मनका उत्तेजनाहरू बिसाउने चौतारी खोज्न थालेको जस्तो देखियो, जुन सत्य होइन शर्मिष्ठा ।
०००
‘हजुर, आजकल एक्लै देख्छु काममा जाँदा आउँदा । एउटै अफिसमा काम गर्नुहुन्छ तपाईँहरूदुवैजना, होइन सर ?’ घरबाट बाहिर निस्किँदै गर्दा शीतलाले यही प्रश्न गर्थी ।
‘होइन, आजकल म एक्लै जान्छु ।’ अरू व्याख्या उसलाई किन गर्नु भन्ने लाग्थ्यो । मान्छेलाई श्रीमती मरी भनेर अन्तर्वार्ता कति दिनु यो घाइते मनले ?
नबोली हिँडदा पनि अहङ्कार देखिएला भन्ने चिन्ता हुन्थ्यो ।
ऊ मेरो सामीप्य खोज्थी, म उसको दूरी खोज्थेँ । उसका निरन्तर प्रश्नले म अवाक् भइसकेको थिएँ ।
‘आज त झन् कपडाको साइज घटाइछे ।’ मनमनै उसको उपस्थितिलाई गाली गर्न खोजेँ ।
त्यसपछि उसको रूप फेरिएको देख्न थालेँ म । रङ्ग फेरिएको देख्न थालेँ म । ऊ रातो स्कर्ट र कालो चस्मामा देखिन थाली । घुँडासम्मको स्कर्ट लगाएर मेरै अघिबाट हिँडने गर्थी ।
मलाई देखाउनु थियो होला भन्ठानेँ ।
मैले उसको शरीर हेरिदिनुपर्ने भयो, सायद । म रमिते हुन सकिनँ । मैले उसलाई हेरिदिनुपर्ने मेरा कुनै जिम्मेवारीहरू पनि थिएनन् ।
बागबजारबाट बाहिर आउँदा मैले सधैँजसो नास्ता गर्ने मेरो भान्दाइको युनिक क्याफेमा छिरेको पनि उसले देखेकी रहिछ ।
माओवादी आन्दोलन उत्कर्षमा थियो । दिल्लीमा माओवादी र सात दलकाबीचमा बाह्रबुँदे सहमति हुने हल्ला थियो तर माओवादी नामको भ्रूणसँग पनि मानिसको त्रास थियो । कसैले उनीहरूसँग तर्क गर्दैनथे । उनीहरू तर्क गर्दैनथे र तर्क सुन्दा पनि सुन्दैनथिए । आफ्नो फैसला एकैपटक सुनाउँथे र हिँडथे ।
‘कति निरङ्कुश ? यिनको सत्ता आयो भने त स्वास फेर्न पनि गाह्रो होला कि क्या हो ? ‘ चिया पसलमा मानिसहरू गफ गर्थे ।
०००
एक दिन नेकपा माओवादीको बन्दको दिन थियो । प्रायःजसो पसल र होटल बन्द थिए । ती मेरा भान्दाइ त्यही पार्टीका कार्यकर्ता भएकाले त्यो क्याफे खुल्ला थियो । बन्दका बेला प्रायः म त्यहीँ गएर बस्थेँ निकैबेर आराम पनि गर्थेँ । सडकहरू लगभग खाली थिए । मान्छेहरूत्रासले बाहिर निस्किँदैनथिए । म पनि बिहान छोरीको हेरचाह सकेर मेरी आमालाई छोरी जिम्मा लगाएर त्यतै लागेँ ।
मेरो आगमन शीतलालाई कसरी थाहा भयो आजसम्म मैले उत्तर पाएको छैन । उसलाई सोध्ने मन पनि छैन । तिमीलाई मात्र दुखेसो पोख्दै छु प्राणप्यारी शर्मिष्ठा ।
म क्याफेभित्र छिर्दा थाहा भयो, त्यहाँ थुप्रै मान्छेहरू ठट्टा गरिरहेका थिए । तिनमा कुनै पश्चात्ताप वा आत्मग्लानि थिएन । सबैजना बन्द सफल भएकोमा हर्षबढाइँ गरिरहेका थिए ।
बिरामीलाई एम्बुलेन्स नपाएर पिठ्यूमा बोकेर अस्पताल लग्दैगरेको दृश्य देखेर आएको म चुप रहन सकिनँ । मैले त्यो होहल्लालाई चिर्ने कोसिस गरेँ—
‘मेरो विचारमा राजनीति भनेको मानवताको रक्षा हो । यो कुन मानवताको रक्षा हो, हेर्नुहोस् त बिरामी मान्छेको हालत ? त्यसपछि चकमन्नता छायो । तिनले तत्कालै कुनै प्रतिक्रिया दिएनन् तर शीतलातिर फर्केर भने —
‘ऊ ।शीतला, तिमी आफ्नो कुरा अघि बढाऊ । कडै मान्छेसँग नाता जोड्न लागिछौ, खुसी लाग्यो । यस्ता कम्रेडहरूको आवश्यकता छ हाम्रो पार्टीलाई ।’ एउटा बामपुड्के बोल्यो ।
म छाँगाबाट खसेझैँ भएँ । मैले कहिले ऊसँग नाता जोड्ने भनेँ ? कहिले मैले उसलाई प्रेम प्रस्ताव राखेँ ? राम्ररी दोहोरो गफ त भएको छैन । मैले प्रतिवाद गरेँ —
‘तपाईँहरूको यो के चाला हो ? कहिले म उसको प्रेमी भएँ ? यिनलाई म चिन्दा पनि चिन्दिनँ । यस्तो वाहियात कुरा गर्न यत्रो राजनीतिक पार्टीको पदीय जिम्मेवारी लिने मान्छेले सुहाउँदैन र जिन्दगीसँग खेलबाड गर्ने अधिकार तपाईँहरूलाई छैन ।’
‘तर म तपाईँलाई प्रेम गर्छु, मायाँ गर्छु र बिहे गर्न चाहन्छु । के फरक पर्छ र जसले भए पनि एक जनाले माया गरे पुगिहाल्छ नि ! मैले भन्दा तपाईँ मान्नुहुन्न, अनि यहाँ………’
‘तिमीले प्रेम भनेको यही घृणित व्यवहार सम्झियौ ? त्यो यति मूल्यवान् हुन्छ कि त्यो प्राप्त गर्न अर्को जुनीसम्म पर्खिनु पनि पर्ने हुन्छ । यो प्रेम होइन, धोका हो । तिमीहरूजस्तै शरीरलाई प्रेम बुझ्ने प्रेमका दुस्मनहरूले प्रेम शब्दको धज्जी उडाइरहेका छौ ।’ मैले प्रश्न गरेँ तिनका कुरूप विचारमाथि ।
ती मेरा भान्दाइ पनि चुप लागे । उनीहरूका डरले होला भन्ठानेँ । पार्टीका मान्छेको गुलामी नगरी माथि जान नपाइने डरले ‘हो मा ? हो’ गरेका होलान् भन्ठानेँ मैले । यतिकैमा तिनको कमान्डरले फैसला सुनायो —
‘क। शीतलाको विचार सुन्यौँ। उनले जे भन्छिन् त्यही हुन्छ किनभने हामी लैङ्गिक समानताको लागि लडिरहेका छौँ । नारीको भावनामा खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन । हामी यस्तै हक, अधिकार र समानताका लागि सहादत प्राप्त गर्न पनि पछि परिरहेका छैनौँ । त्यसैले नारीमाथि दृष्टि राख्नेहरू पनि कारबाहीका लायक हुन्छन् । महिलाले मौखिक उजुरी दिएमा कुनै प्रमाणबिना नै उसको पक्षमा फैसला हुन्छ । ल क। शीतला ।’
‘म क्रान्तिमा होमिएकी भए पनि,प्रेम गरेर हिँडनु पार्टीको आचारसंहिता विपरीत भएपनित मानवीय संवेगात्मकताको हामी सधैँ गुलाम हुनुपर्दोरहेछ । म पनि मेरो आवेगात्मकताको दास भएँ । प्रेम र राजनीति अलग कुरा हुन् । म उहाँसँग प्रेम गर्छु र बिहे पनि गर्न चाहन्छु ।’
‘तर मैले केही पनि सोचेको थिइनँ र छैन । तपाईँ गलत कुरा बोलिरहनुभएको छ, बहिनी । शक्तिको आडमा मान्छेका भावनामा खेलबाड कहिल्यै नगर्नू ।’
‘उहाँको नजरमा म जे भए पनि मेरो नजरले उहाँलाई रोज्यो । अब म उहाँसँग बिहे गर्न चाहन्छु ।’ ऊ एकोहोरो भई ।
‘यो सरासर मेरो अपमान भयो । मैले यिनलाई देखेको मात्र हुँ । चिन्दै नचिनेको मान्छेसँग कसरी बिहेजस्तो जिन्दगीको महत्त्वपूर्ण कुरा सम्भव छ ? अर्को कुरा, जन्म, मृत्यु र विवाह जीवनमा एकपटक मात्र गरिने कर्म हुन् । मेरो बिहे भई छोरी पनि छ । यो अपराध हो ।’
‘महाशय, छोरी त छ, श्रीमती त छैन नि !’ शीतला मुस्कुराउँदै बोल्न थाली ।
‘जबरजस्ती हुँदैन । मलाई यो कुरा कुनै हालतमा पनि मान्य छैन ।’
‘चुप रहनुस् ! महिलाको अस्मितामाथि खेलवाड गर्ने ?’ एउटा घन्टाउके करायो ।
‘ए क।उराठ, एउटा कागज गराऊ बिहेको अनि श्रीमतीलाई नस्विकारेमा, दुर्व्यवहार गरेमा र पार्टीको हितविपरीत गतिविधि गरेमा जनकारबाही हुनेछ भनी लेख ।’ कमान्डर गर्जियो । म कमजोरमाथि अर्को एउटा बोझ थोपरियो ।
०००
यसरी म तिम्रो मात्र भएर बाँच्छु यो जुनीभरि भन्ने मेरो वाचा तोडिन पुग्यो,शर्मिष्ठा । मैले तोडेँ, अथवा तोडाइए, कुरा एउटै भयो । म तिम्रो मात्र हुन सकिनँ । माफ गर । आज म एउटा बोझ तिमीलाई नै सुम्पिँदै छु । त्यो तिम्रो फोटाको अगाडि बसेर म भनिरहेको छु — ‘मैले तिमीसँग केही भन्नु छैनकिनभने त्यो मैले सिर्जाएको मेरो समस्या हो तर मलाई थाहा छ मेरा प्रत्येक अक्षरमा तिमी बोल्ने मान्छे, मेरा प्रत्येक अक्षरमा तिमी हाँस्ने मान्छेअनि मेरा प्रत्येक अक्षरमा तिमी रुने मान्छेस आज तिमी के गर्छौ मेरा यी अक्षरमा, मलाई थाहा छैन तर यत्ति चाहिँ म पक्का छु तिमी त्यहाँ गएर पनि बदलिएकी छैनौ । तिमी पक्कै पनि स्वर्गको त्यो उदात्त सुन्दर बगैँचामा घुम्दै हौली, किनभने तिमीलाई नर्कको ढोका बन्द छ भन्ने मेरो ठम्याइ छ । तिमी मिठो गीत गाउने हुनाले सायदइन्द्रले तिमीलाई गीत गाउन लगाएर स्वर्ग तिम्रै ध्वनिले गुञ्जायमान भएको होला । त्यो कर्णप्रिय ध्वनिको रेकर्डिङ्ग गर्ने र त्यसलाई पुनः प्रसारण गर्ने कम्प्युटर अपरेटर र क्यामरा चलाउने र कला, विद्यामा सिद्धि हासिल गरेका विद्वान् र विदुषी पनि तिम्रै समीपमा होलान् । मुस्कान, सकारात्मकता र आनन्दको अनुपम क्षण होला त्यहाँ । मभन्दा विद्वान् र ह्यान्डसमअरू पनि देख्न पाउली त्यहाँ । कति विडम्बना, तिमी मरेर पनि बाँचिरहेकी छौ अनि म बाँचेर पनि मरिरहेको छु । यही फरक भयो तिमी र ममा ।
आज श्रावणकृष्णप्रतिपदा, तिम्रो जन्मदिन । त्यही भएर यो सम्झना गर्दैछु तिम्रोस अन्यथा नठान्नू । मेरा अक्षरको कारखानामा तिमी धेरै पटक सिँगारिएकी छौ र यसपटक तिमी सिँगारिन्छौ कि कुरूप हुन्छौ थाहा छैन तर मेरा हजार गल्तीलाई पनि मुस्कुराएर माफ गर्ने तिमी आज यसलाई अन्यथा ठान्नेछैनौ भन्ने लागेको छ ।
तिमीले मेरो साथ छोडेपछि म रित्तो भएँ, एक्लो भएँ । तिमीलाई लाग्दो हो घरमा स्वास्नी भएको मान्छे कसरी एक्लो हुन्छ ? तर भएँ । बिहानै तिमी मलाई नुहाइधुवाइ गरेर तुलसी, पीपल र पूजा कोठाको आराधना गरेपछि तातो पानी र चिया तयार गरेर खान आउनू भनी बोलाउँथ्यौ । आज म आफैँ तयार गरेर उसलाई बोलाउँछु खान । ओछ्यानमै पनि डेलिभरी गर्नु मेरो दिनचर्या हो । तिमीले पूजा गर्ने पूजाको थाली मबाहेक कसैले छोएको छैन । उसको राजनीतिक विद्याले त यो गर्नु हुँदैन भन्ने सुनेँ । तिमीले टाँसेका देवी देवताका फोटा सबै उप्किएर गएस बेरङ्गी भइसके । तिमीले रोपेको पीपल म तालिममा एक हप्ता बिराटनगर गएर आउँदा सुकेर मरिसकेको थियो ………………….।
तिमीले आयुषी नामकी बेसहारा केटीलाई घरमा ल्याएर राखी आफ्नै छोरीसरह माया र शिक्षा दिई गरिखाने बनाएकी थियौ । आज घर अग्रगामीहरूले भरिभराउ हुन थाल्यो । दश वर्ष भयो रे जनयुद्ध सुरु भएको । सबै लुक्नुपर्ने मेरै घरमा । तिमीले झार्ने गरेका माकुराका जाला अनुहारमा आइपुग्दा पनि हट्तैनन् । जालो झार्ने डन्डीउसबेलादेखि किनेको छैन । तिमी व्रत बसेर तुलसीको बोटमा पानी हाल्थ्यौस ती मरेर गए । मैले रोपेर पनि स्याहार गर्न पाइनँ, सबै बेलैमा सुक्छन् । तिमीले पोतेको तुलसीको मोठ आजसम्म रङ्ग उप्किँदै झर्दै छ, ती कुरूप थेग्लाहरूमा म तिम्रो मुस्कुराइरहेको तस्बिर देखिरहेको छु । तिमीले व्रत बसेर मलाई पनि फलफूल खुवाएको मुख अझै रसाउँदै छ । व्रतलाई अग्रगामी परिवर्तनसँग साटिएको छ अहिले ।
तिमीले युट्युबमा हेर्ने लोकभाकाका गीत, नेपाली हास्य भिडियोहरू र नेपाली फिलिम सबै निराकार भए । तिम्रा गणेश, दुर्गा, कृष्ण र नारायणका भजनहरू युद्ध र क्रान्तिका आवाजमा रूपान्तरण भए । ती मान्छेका लास, अपहरण, बम र एम्बुसका समाचार र कथामा रूपान्तरित भए । कामबाट घर आउन मलाई केही ढिला हुन गयो भने फोन गरेर छिटो आउनू भन्थ्यौ तिमी । आज म जतिखेर घर आए पनि किन भन्ने कोही छैन । शीतलाको हरेक बेलुका मिटिङ्ग हुँदो रहेछ, त्यो पनि अर्को अर्को गाउँमा । अबेर भएपछि सबैजना त्यतै सुत्छन् । जहाँ बस्यो त्यही घर हाम्रो हो भन्छन् । तिमीले सजाएको तिम्रो घर तिम्रो मात्र रहेन, शर्मिष्ठा । त्यो सबैको भयो । मेरो मात्र पनि भएन । क्रान्तिकारीको व्यक्तिगत घर हुन्न भनेपछि तिमीसँगै तिम्रो घर पनि उतै लगिछौ ।
तिमी हिँडेसँगै जोगीलाई पानी समातेर दक्षिणा दिएको कथा र संस्मरण पनि हिँड्यो । पुरोहितलाई पाठ, जप र आहुति गर्न लगाएर घर चोख्याएर दान दक्षिणा दिएको पवित्र समय पनि हिँड्यो । हरेक पर्वहरूमा मेरा आफन्त र छरछिमेकीहरूलाई एक छाक खुवाएर स्वर्गीय आनन्द लिने र घरको गरिमा र परिवारजनमा बढ्ने इज्जत पनि हिँड्यो । छोरीको ममता पनि हिँड्यो । मलाई धेरैबेर काम नगर्नू, स्वास्थ्यको ख्याल गर्नू भन्ने तिम्रा मधुर आवाजहरू सदाका लागि यस घरबाट बिदा भए । तिमीले बमबहादुर कार्कीका गीतमा नाच्दा छोरी र म कति रमाएका थियौँ, ती हाँसो र मुस्कान पनि हिँडे । त्यो गीत अहिले पनि गुन्जिरहेको छ .
चरी बस्यो निर्मायाँ खेतैको आलीमा
भुईँमा छौ कि निर्मायाँ रूखैको डालीमा
भेटै नहुने…………।
खोलापारि निर्मायाँ वारि म रुने
मेरो मायाँ निर्मायाँ भीर पाखा कता छ
बताइदेऊ न निर्मायाँ डाँडैको बतास
भेटै नहुने………….।
खोलापारि निर्मायाँ वारि म रुने ।
मैले यो गीतको भिजुअल डाउनलोड गरेर राखेको छु कम्प्युटरमा र ती मोडलहरू तिमी र म भएको र हामीले नै अभिनय गरिरहेको महसुस गरिरहेको छु ।
मैले तिमीलाई यसपालि राम्रो एउटा सुनको सिक्री किनिदिन्छु भन्दा ‘घर बनाएको ऋण तिर्नुपर्छ’ भनेर नयाँ लुगासम्म नलगाई बनाएको यो घर तिम्रो पनि भएन मेरो पनि भएनर छोरीको भएन । आज पनि बन्दुक बोकेका एक दर्जन मान्छे पल्लो कोठामा आमूल परिवर्तनका कुरा गरेर बसेका छन् । शीतलालाई म होइनती मान्छे प्यारो लाग्छ । म कतिखेर सुत्छु, कतिखेर उठ्छु, उसलाई त पत्तो पनि छैन र मतलब पनि छैन । तिमीले न्यानो पारेको ओछ्यानमा सुत्ने बेला भयोअब आराम गर्नू भनेर बोलाउँदा युट्युबमा फिलिम हेरिरहने म आज आफैँले न्यानो पारेको ओछ्यानमा आफैँ सुत्दै छु । तीन रात भयो निदाएको पनि छैन । डाक्टरले आराम गर्नू, जन्डिसको रोगीलाई अनिँदो हुनु खतरा हुन्छ भनेका छन् । समयमा मीठो खाना खाने बानी पार्यौ तिमी, । त्यो तिमीसँगै गयो । खानाको अनियमितता र लापर्बाहीको परिणाम म जन्डिसको पिण्ड रोगी भएँ ।
नौ वर्ष लडेँ यो रोगँसँग । तिम्री छोरी अहिले एघार कक्षामा पढदैछिन् ।
मेरो बिलिरुविन बढिरहेको छ । सातपटक भयो दोहोरिएको । अब केरो कलेजाले काम गर्न सक्तैन । डाक्टरले अब फेरि बिलिरुविन बढ्यो भने ‘सरी’ भनेका छन् ।
सायद अब मेरो जीवन केही दिनमात्र बाँकी छ । शीतला त मान्छे मर्नुलाई केही होइन भन्छे । मान्छेको जीवनलाई एउटा यन्त्र सम्झन्छे । मलाई एकपटक अचानक तीनचोटि बान्ता आउँदा एम्बुलेन्सलाई राति नै फोन गरेर वीर हस्पिटल पुर्याएकी होइनौ तिमीले ? आज म थला पर्दा पानी आफैँ तताएर खान्छु । जीवन कसरी यन्त्र भयो जब कि म यत्ति धेरै जिजीविषा सँगालेर बाँचिरहेको छु ? हे भगवान्, जीवनलाई यन्त्र ठान्ने वेदको कहिल्यै भलो नहोस् । किरणहरू देखिरहेको छु तिम्रो मुस्कानमा, अनुभूत गरिरहेको छु तिमीले बिहान काममा हिँड्न लाग्दा र कामबाट फर्किँदा घरको मूल ढोकाबाट निस्किँदा र पस्ता मेरा गालामा चुम्बन गरेको । यही देखेर भगवान्लाई ईर्ष्या भयो सायद र तिमीलाई निको नहुने क्यान्सरको सिकार बनाइदिए । ती भगवान्को पनि कहिल्यै भलो नहोस् ।
तिमीले सबैथोक आफैँसँग लगेपछि छोरी र म मात्र किन छुट्यौँ रु तिम्रा ती दूतहरूलाई पठाऊ हामीलाई पनि लैजान तिमीसँगै । मलाई चर्पीमा थुनून्, कुकुरको खोरमा सुताऊन्, बिरालाको बटुकामा भात खान दिऊन्, चर्पी सोहोर्न लगाऊन् तर मलाई पनि लैजाऊन् तिमीसँगै । तिम्रो अनुहार अन्तिमपटक हेरेर प्राण त्याग गर्ने मेरो इच्छा छ । तिमीलाई बिन्ती छ, शर्मिष्ठा । समय छोटो छ । यसको सदुपयोग गर । म तिमीलाई मेल गरेर पठाउँछु यो चिठी बाहिर बजारमा गएर भए पनि । मलाई विश्वास छतिमीले यो चिठी भेट्नेबित्तिकै मन थाम्न सक्नेछैनौ ।
उही तिम्रो अभागी श्रीमान्
जयस्तु



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

