यो तिहारमा आमासित सेल पकाउने तेल छैन, छोरो भने कपालमा जेल दलेर गाउँ पस्छ । दोकानमा उधारो छ । कति भाका राख्नु ? कम्ती चर्को छ, बूढीआमालाई व्यवहार धान्न, चाडबाडको मानभाउ राख्न । छोरो भने डुकु पाराले हिँडिबस्छ ।

हिजोको लक्ष्मीपूजा त जसोतसो टारिन् । आज जसरी भए पनि सेल पकाउनु नै छ । तर, दशैँमा ल्याएको चामल, चिउरा, तेल, जिराको बाँकी तिर्न सकेको छैन । कुन मुखले फेरि उधारो माग्नु होला ।

उनका गोडामा दुईदुई धार्नीका फलामे डल्ला झुण्ड्याएको अनुभूति छातीमा दुख्यो । के गर्नु छरछिमेकका अगाडि रोटी पोलेको, तिहार मनाएको, संस्कृति थामेको र अरू सामुन्ने साखुल्ले सही–सलामत रहेको दृश्य देखाउनु छ ।

पैतला जति नै गह्रुँगा भए पनि उनलाई तिनले श्रीपाली साइँलाको दोकानघर अगाडि पुर्याएरै छोडे । गाउँको एउटै दोकान घर । बिहानदेखि ग्राहकको घुइँचो थियो । कोही नरिवल, छोकडा, भाइमसला किन्नेको ताँती । कोही झिलिमिली बत्ती, ममबत्ती कोही तेल र पिठो किन्नेको ताँती । कोही सप्तरङ्गी टिकाको रङ, कोही लाछाधागा र ढाकाटोपी किन्नेको घुइँचो…।

प्रायः सबै हाताहाती नगद लिएर किन्न आएका छन् । दोकानमा पैसा उडाउनुको कुनै पर्बाह छैन । दोकानेले जति भन्यो, त्यति फ्यासफ्यास पैसा निकालेर मनचिन्त्य किनमेल गरेका छन् । मितव्ययिताको कुरा गर्नु त मख्खीचुसको उपमा पहिरिनु तुल्य छ ।

श्रीपाली साँइलो औधी बाठो मान्छे छ । नगद हाताहाती लिएर आउनेलाई पहिलो लाइनमा उभ्याएको छ । उनीहरूलाई बिदा गरेपछि मात्र बाँकी उधारो लिन आउनेको पालो आउँछ । उनीहरूलाई बाहिर पर्खाइराख्छ । कहिले काहीँ त दिनको बाह्र एक बज्छ– उधारो लिनेको पालो आउन्न । जति नै ढिलो भए पनि पर्खिएर लानु नै छ सामान । दोकानेका कटुवचन सहँदै दाह्रा ङिच्याउँदै थेत्तरो भएर व्यवहार चलाउनु छ । उधारो लिनेहरू लामो समय पर्खिनु पर्ने भएकाले आँगनमा बस्नको लागि मुढा, बेन्ची राखिदिएको छ ।

चाडबाडको मुखमा हाई काढुन्जेल बस्नुपर्छ ।

“गोजीमा पैसा नहुनु जस्तो नमिठो क्यै रैनछ काइँली ।” मनको तितो ओकलिन् बूढी आमाले ।

“हो नि बजै ! गरिब हुनु जस्तो नराम्रो अरू के छ र ! म पनि बाँकी लिनै आएकी । छोराले विदेशबाट तिहारपछि पैसा हाल्दिन्छु । सरसापट गरेर तिहार मान्नु भनेको छ । दशैँमा चामल लगेको पैसा तिरेकै छैन । फेरि उधारो माग्न कम्ती गाह्रो लागेको छैन ।”

“त्यै तिम्रो त विदेशबाट आउने बाटो छ । आफ्नो त छोरो हो कि मोरो । छुट्टयाउन सक्तिन । न कमाई धमाई छ । न कुनै इलम पेसा छ । न सरसंगत राम्रो छ । कुन जुनीको पाप भोग्दै छु साँइली म त ।”

बोल्दाबोल्दै आँखाका कोश टिलपिल टिलपिल बने र मजेत्रोले आँखा पुछिन् । नाकको टुप्पाबाट तपतप पानीका थोप्ला खसे ।

“भो बजै ! जोरीपारिले देख्छन् । नरुनुस्, बेकार घरमा राख्नु भन्दा फकाएर भए पनि विदेश पठाइदिनुस् । केही कमाइ त हुन्छ । यहाँ जस्तो डुकु भएर हिँड्न  त पाउँदैनन् । दुःख के हो ? त्यो पनि भोग्छन् नि ।”

“कति भनेको माने पो त । यहाँ बरालिएर खान पाएको छ । के  जान्थ्यो विदेश ।”

“आउनू है बूढी आमा ! आउनू अब तपाईंको पालो आयो ।” श्रीपाली साइँलाका आँगनमा मनका दुखेसो पोखिराखेको बेलामा सटरभित्रबाटै दोकाने करायो ।

बूढीले दशैंमा लागेको उधारो रकम लिएर आ’कि हुनसक्ने आशा छ ।

दोकाने श्रीपाली साइँलो अगाडि ठिङ्ग उभिएर शर्मिन्दा नजरले दोकानलाई टोलाएर हेर्छिन् । उनको मलिन चेहरा देखेर उसले अनुमान गरिहाल्यो– बूढीसित बाँकी तिर्ने पैसा छैन । ऊ ग्राहकका चित्त पढ्न सिपालु छ । आँखा र ओठको भङ्गिमा हेरेर मान्छेको मनोभाव बुझिहाल्छ ।

खाता पल्टाउँदै नाकको डाँडीमा चस्मा मिलाउँदै एक चोटि चर्कै स्वरमा गर्ज्यो– “एकै हप्तामा बुझाउँछु भनेर लगेको सामान ! बाइस दिन कटिसक्यो त । ल्याउनु भयो पैसा । लु पहिली बाँकी बुझाउनुस् ।”

श्रीपालीका कुराले अक्क न बक्क परिन् । सोझो आँखाले श्रीपालीको अनुहार हेर्न सकिनन् । गरिब हुनु जस्तो नमिठो चिज के रहेछ र ! भित्रैबाट विरक्ति भाव जाग्यो ।

“के गर्नु नानी ! छोरो हरामी भएर निस्क्यो । धार्ना चारेकको एउटा बोको झुण्ड्या’की थेँ । त्यै बेचेर दशैँको तिरोभरो गरुँला भनी सोची के’थेँ । म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भयो ।”

“के भयो ? बोको देस्यानले मर्यो ? कि चितुवाले खायो ?” दोकानेको आवाजमा थोरै रोष, धेरै व्यङ्ग्य भाव घोलिएको थियो ।

“के को चितुवाले खानु नि, म मेलामा गएको बेला पारेर छोराले हाटमा लगेर बेचेछ ।”

“ठिकै त भो । बेच्ने बोको बेचिदियो । पैसा ल्याएर दियो होला नि ।”

“किन दिन्थ्यो ? सबै पैसा त्यही दिन फासफुस पारेछ ।”

“के जाँड खा’र सकेछ ।”

“घिचो होला नि । के के घिच्यो घिच्यो । कपालमा दल्ने जेल देखि सेलफोनसम्म किनेर बरबादै पर्यो नि ।”

आमाले तप्प दुई थोपा आँसु चुहाइन् । गम्छाले गालाको आँसु पुछिन् । यो दृश्य दोकानेलाई पनि नमिठो लाग्यो ।

“भो नरुनुस् आमै ! तपाईँको छोरो होइन यो मान्छे !  कुन जन्मको साहु रैछ ।”

“हो नि नानी ! घरमा औँसी भित्रिसको । केही छैन न सेल पकाउने तेल छ, न चिनी छ । अब महिना दिनभित्र जसरी भए पनि फर्स्याउँछु । तिहारको गर्जो त टारिदिनु प¥यो नानी ।”

“को नि त ! हामीलाई पनि साहुले सित्तै सामान दिँदैन । यसरी बाँकी माथि बाँकी राखेपछि हाम्रो व्यापार कसरी चल्छ ! गाह्रो छ है ! आमै गाह्रो छ !”

“त्यसो नभन्नू बाबु ! अब कानका यिनै एक जोरी अन्ती छन् । तिनलाई अडना राखेर भए पनि तिर्छु । आज खाली हात त तपाईँले पठाउनै मिल्दैन ।”

आमाका कुराले उसका नजर बूढी आमाका कानमा गएर ठोक्किए । नभन्दै एक जोर अन्ती लोती तन्काउने गरी कानमा झुण्डेको देख्यो । चुपचाप सामान तौलेर खातामा हिसाब टिपोट ग¥यो ।

आमा तेल चिनी पिठो पोक्याएर घरतिर लागिन् ।

औँसीको अँध्यारो रातलाई देउसी भैलीका आवाजहरूले अचम्मैसित बिथोलिदिएको छ । हरेक टोलमा देउसी खेल्नेका अलगअलग झुण्ड छन् । बूढाखाडाको छुट्टै पल्टन छ । तन्नेरी युवायुवती, किशोर तथा बाल–वयस्क नानीहरूका तरेली तरेलीका समूह छन् । देउसी गाथाको फेद टुप्पो जान्नुुओर्नु परेको होइन ।

रातो माटो चिप्लो बाटो ! लड्दै पढ्दै आएका हामी ! साइकलको घण्टी छिटो देऊ आण्टी ! …. आलुपाँडे तालमा भट्याएको छ । वीसपचास दक्षिणा झार्यो । तुरुन्तै अर्को घर कुद्यो, यस्तो शैलीमा देउसी फस्टाएको छ ।

केही तन्नेरी युवायुवतीले भने बुफर बोकेर रेडिमेड देउसी र नृत्य गीतका डेक बजाउँदै ताल न सुरको भद्दा नृत्य नाच्तै घरघर कुदेको देखिन्छ । अक्सर नशाको तालमा झुमशराबी बनेका दृश्य हेर्न पाइन्छ ।

देउसी भैलो र नाचगानमा खासै रस नभएमा केटाहरू, अधबैंसे वयस्कहरू तास नारेर तिहारको आनन्द लुटिरहेका छन् । तास खुल्लम खुल्ला बरण्डा, बार्तली सिकुवामा नारे पनि कौडा चैँ झ्यालढोका थुनेर गोपनीय ढङ्गले खेलिरहेका छन् । पोहोर साल पनि पल्लो टोलमा प्रहरीले छापा मारेर एक दर्जन केटाहरूलाई ठानामा ठिङ्ग्याएको हो ।

बाह्रमासे आदतीलाई जति चोटि पक्रे पनि, थुने पनि त्यसको रसबाट टसको मस पार्न सकिएको होइन । भद्रे कान्छाको घरभित्र यसपालि पनि लुकेर कौडा हानिरहेका छन् । चित्पोटको गन्तीमा मार्राको झ्वाँक निकाल्नेहरू आवाजलाई छातीभित्रै दाबेर कौडा र पैसाको रास सोहोरिरहेका छन् ।

बूढी आमैको छोरो पनि घ्याँक्ला पसारेर दाउ हानिरहेको छ । बोको बेचेको पैसाले सेलफोन किनेको थ्यो । भएको पैसा सिद्ध्यायो । पत्याउने साथी भाइहरूसित सरसापट लियो । त्यो पनि हार्यो । साथमा भएको मोवाइल जाकटी राखेर पैसा काढ्यो । त्यो पनि हान्यो । नाडीको घडी फुकालेर थाप्यो । त्यो पनि हा¥यो । अब त शरीरमा भिरेका एक जोर कपडा सिवाय उसको गोजीमा सुको रहेन । कलेटी परेका ओठ र अनिद्राले कचल्टिएका आँखा चिमचिम पार्दै भद्रे कान्छाका घरबाट निस्क्यो । उसले बुटीटाट भएर खाल छोडे पनि अरू सुर्रिई सुर्रिई खेलिरहेको थिए । आकाशमा तारा नियाल्दै घरतिर उक्ल्यो ।

घरको धन्दा पात छिनेर राति अबेरसम्म रोटी पोलिन् आमाले । माना चारेक पीठोको रोटी पकाएर बेलाबेलामा दान माग्न आउने देउसीको झुण्ड पन्छाउँदै यस्सो के झकाउन लागेकी थिइन् । अँध्यारोमा कुनै अज्ञात हातले ओछ्यानमै आक्रमण गर्यो । अर्थात् देब्रो कोल्टो परेर सुतेकी आमाको दाहिने कानको लोती छिन्ने गरी सुन तान्यो । चिच्याउँदै ब्युँझिन् ।

कुन अपराधी कान लुछ्न आयो ? मनमा प्रश्नको भीमकाय चक्रावात उठ्यो । आतंक, आशंका र संशयको भुँवरीमा यसरी फसिन् । मानाैँ केहीबेर केही सोच्नै सकिनन् । सिरानमा टर्च लाइट थियो । कता कताबाट टर्च बाल्ने होस् आएछ । टर्चको उज्यालोमा स्पष्ट अनुहार देखिहालिन् । कानको सुन लुछ्ने कुनै शत्रु विरन्तरी होइन रहेछ । आफ्नै कोखमा नौ महिना बास बसेर जन्मेको छोरो रहेछ ।

टर्चको उज्यालो आफ्नो आँखामा पर्नातास छोरो एउटा अन्ती बोकेर रातको अँध्यारोमा सुइँकुच्चा ठोक्यो । आमाले कान छामिन् । कानका लोतीबाट रगत चुहिरहेको छ । अर्को कान छामिन् । सुन र कान सकल्ती नै छ ।

आमाले मनमनै गम खाइन्, यस्ता कुलाङ्गार जन्मिनु भन्दा गर्भैमा तुहेको भए शान्ति हुने थियो । यसले कुन दिन यही सुनका लागि मेरो घाँटी रेट्ने रहेछ । आफ्नै सन्तानबाट यस्तो असुरक्षित हुनु यस भन्दा अभाग जिन्दगीमा के हुन सक्छ ? मनमनै कल्पना गरिन् ।

देब्रे कानको अन्ती झिकेर थैली भित्र घुसारिन् । भोलि उज्यालो खस्नासाथ यो पनि श्रीपाली साँइलोलाई बुझाइदिन्छु; मनमनै गम खाइन् । मनको औडाह कहाँ बिसाउनु र ? चुपचाप रुँदै रात गुजारिन् । एक मनले भन्यो– यो कुरा छरछिमेकमा भन्नुपर्छ । अर्को मनले खबरदारी ग¥यो –“आऽ त्यसो नगर । यो कुरा भन्नु भनेको आफ्नो आङको छारो आफैँ उडाउनु हो । भो छोड्दे चुपचाप सहेर बस् ।”

आमाको अन्ती लुछेर भागेको ऊ, सरासर उही जुवाको खालमा पुग्यो । र, पुन ः जुवामा नारियो । प्रहरीको गस्ती हिँडिरहेको थियो । यमपञ्चक सुरुवात भएदेखि नै पुलिसले भद्रे कान्छाको घरलाई सूक्ष्म निगरानी गरिरहेको थियो ।

मध्यरातमा पुलिसले अचानक छापा मा¥यो । मूल जुवाडेहरू ठाउँको ठाउँ समातिए । बूढीको छोरो त पुलिसको निगरानीमै थियो । केही च्याँखे थाप्ने र रमिते केटाहरू प्रहरी आगमनको सुइँको पाउने बित्तिकै भागेर सुरक्षित स्थानतिर हिँडे । जुवाडेलाई घरमा आश्रय दिएर कौडा खेलाउने भद्रे कान्छालाई पनि समातेर ठानातिर लगे ।

भोलिपल्ट भाइटिकाको दिन । सबैका घरमघरमा फूलटिका लाउने तयारी चलिरहेको थियो । छोरो पुलिसको हिरासतमा थुनिएको कुरा आमाले बिहान उज्यालो भएपछि थाहा पाइसकेकी थिइन् । आमाको मन न हो । के खायो होला ? राति के ओढ्यो होला ? वा पुलिसले घाउचोट लाग्ने गरी कुटपिट पो गरिहाल्यो कि आशङ्काको अनेकन् भुइँकुहिरो मनमा उठिरह्यो ।

दस बजेतिर ढक्कीमा सेलरोटी र झोलामा ओढ्ने बर्काे च्यापेर ठानातिर गइन् । तर, पुलिस सामु केही बोल्न सकिनन् । बरबर आँसु मात्र झारिरहिन् ।

कस्टडीमा थुनिएको छोरालाई देखाउँदै प्रहरी जवानले आमालाई सोध्यो– “यो तपाईँको छोरो हो ?”

आमाको मुखबाट जवाफ निस्क्यो–“होइन ।”

“तपाईँको कुनै नाता पर्दैन त ?”

“पर्छ ।”

“के नाता पर्छ ?”

“मोरो !” आमाको जवाफले पुलिस विस्मित बन्यो । छोरो भने आमाको जवाफ सुनेर मुसुक्क हाँसिरहेको थियो ।