उनको डायरी पढिसकेपछि मलाई नमज्जा लाग्यो । उनले आफ्नो डायरीमा तस्वीर टाँस्न बनाएको ठाउँ अब हमेशाका लागि अपूर्ण नै रहने भयो । कति जतन गरेर बनाएका थिए उनले त्यो ठाउँ ।
अहिले सम्झन्छु उनको डायरी नपढेकी भए हुन्थ्यो मैले ।
जीवनमा कुनैकुनै घटना जीवनभर बिर्सन नसकिने हुँदो रहेछ ।
* * *
एक दिन मैले कल गरेकी थिएँ भेट्नको लागि । नमस्कारबाट हाम्रो संवाद शुरू भयो ।
सोधें, “तपाईं कहाँ हुनुहुन्छ ? तपाईंसँग एकछिन भेट्ने काम थ्यो ।”
उनले मीठो स्वरमा बोले, “म आफ्नै विभागको अफिसमा छु । आउनु न त ।”
उनको अफिसमा गएँ । उनको कोठा खुल्लै थियो तर उनी थिएनन् । सोचें- शायद केही काम परेर कतै नजिकै गए होलान् । आइहाल्छन् भन्ने विचारले एउटा कुर्सीमा बसें ।
अफिसको झ्याल खुल्लै थियो । सरररर हावा लागिरहेथ्यो । मेरा आँखा यताउता डुल्न थाले । भित्तामा केही आकर्षक चित्र देखिन्थे । उनको टेबल नियालें । टेबलमाथि केही सामान थिएन । एउटा पानीको बोतल र एउटा कालो कभरको डायरीवाला किताब बाहेक । त्यसैबीच झ्यालबाट छिरेको हावाले डायरीका पाना पल्टिन थाले । डटपेन राखेको बीच ठाउँबाट हावाले पल्टाउन सकेन । मेरो मन खसखस भइरह्यो । शायद केही आवश्यक कुरा लेख्दालेख्दै कतै काम परेर त्यत्तिकै छाडेका होलान् ।
बसेको ठाउँबाट उठेर हेर्न मन लाग्यो । नहेरूँ कि भन्ने पनि सोचें । अरूको किताब त्यसरी अनुमतिबिना हेर्नु हुँदैन जस्तो पनि लाग्यो । तर मेरो मनले मानेन । उनी आएका पनि त छैनन् । हेरेर राखिदिउँला नि भन्ने भावले त्यो किताब लिएर पल्टाउन थालें ।
मेरा आँखा डायरीका एउटा पानामा ठ्याक्क अडिए । त्यो पानामा एउटा तस्वीर टाँसिएको थियो । साहित्यमा योगदान पुर्याएबापत मलाई अवार्ड र सम्मान दिंदै गरेको त्यस तस्वीरको अग्रपंक्तिमा म नै थिएँ । अत्यन्तै जतन गरेर र राम्रोसँग टाँसिएको थियो डायरीमा । त्यस तस्वीरमा उनी पनि थिए । अलि पर उभेर ताली बजाउँदै गरेको । तस्वीरको मुन्तिर एउटा कविता पनि लेखिएको थियो ।
कविता यस्तो थियो :
“यस्तो किन हुन्छ कि
सफलता तिमी हासिल गर्छौ
तर आनन्दानुभूति मलाई हुन्छ ।
यस्तो किन हुन्छ कि
शिखर तिमी चढ्छौ
तर गौरवान्वित म हुन्छु ।
यस्तो किन हुन्छ कि
इज्जत तिम्रो बढ्छ
तर सन्तुष्टि मलाई मिल्छ ।
यस्तो किन हुन्छ कि
मान्छे तिमीसँग जल्छन्
तर पीडा मलाई हुन्छ ।
यस्तो किन हुन्छ कि
मान्छे तिमीलाई गाली गर्छन्
तर अपमान मलाई हुन्छ ।
शायद तिमी असल मान्छे भएर होला ।
शायद तिमीले मेरो मन छोएर होला ।
शायद तिमी न्यायप्रेमी भएर होला ।
शायद तिम्रो व्यवहार राम्रो लागेर होला ।
शायद तिम्रो सत्कर्मबाट प्रभावित भएर होला ।
शायद म प्रति तिम्रो सद्भाव भएर होला ।”
कविता पढिसकेपछि मलाई डायरी पढ्ने इच्छा जाग्यो । तर शुरू देखि त पढिनँ मैले । टाँसिएको तस्वीरदेखि पछाडि पढें । अर्को पृष्ठमा एउटा तस्वीर टाँस्न मिल्ने ठाउँ छाडेका थिए र त्यसमा लेखिएको थियो : `यहाँ त्यो तस्वीर हुनेछ जुन तस्वीर मैले उनीसँग खिचेको छु ।´
कसको तस्वीर होला उनले आफ्नो डायरीमा सजाएर राख्न खोजेका ? मेरो आफैलाई प्रश्न थियो । ठ्याक्कै तलतिर लेखेका थिए, `मेरो मनले रुचाएको मान्छे ।´ निकै आकर्षक ढङ्गले लेखेका थिए उनले यो वाक्य ।
अर्को पृष्ठमा यसरी लेखेका थिए उनले, “उनी यस्तै तीस-बत्तीस वर्षकी होलिन् तर झट्ट हेर्दा पच्चीस-छब्बीसकी जस्ती लाग्ने, सुन्दर अविवाहिता । कलिलै उमेरमा विद्यावारिधि गरिसकेकी । साहित्यमा मनग्यै कलम चलाएकी, र प्रसिद्धि पाएकी ।… २०८१/११/२ ।”
“नाताले उनी मेरी कोही पनि होइनन् । अर्थात् उनीसँग मेरो खुनको कुनै सम्बन्ध छैन । तर उनीसँग मेरो आत्मीय सम्बन्ध अवश्य छ । कहिलेकाहीं यस्तो लाग्छ – खुनको सम्बन्ध मात्रै सम्बन्ध होइन, आत्मीय सम्बन्ध पनि सम्बन्ध हो । किनभने मान्छेलाई पर्दा खुनको नाता भएकाले भन्दा आत्मीय नाता भएकाले सहयोग गरेका दृष्टान्त धेरै छन् मसँग ।…२०८१/११/४ ।”
उनको यो अनुच्छेदले मलाई पिरल्यो । मन चसक्क चस्क्यो ।
“मैले अधिकांश त्यस्ता मान्छे भेटाएको छु जो रूपमा राम्रा तर गुणमा नराम्रा, अनि रूपमा नराम्रा फेरि गुणमा राम्रा । उनी चाहिं दुवैमा अब्बल । जति रूपमा राम्री त्यति नै गुणमा पनि । उनीसँग भेट हुने कविले त अवश्य पनि उनका बारेमा कविता लेखेका होलान् । उपन्यासकारले अवश्य उनलाई आफ्नो कथाको पात्र बनाएका होलान् ।
उनीसँग कम्ती नै हिँडडुल गरेको छु म तर उनका बारेमा धेरै जान्दछु जस्तो लाग्छ । शायद उनको र मेरो पूर्व जन्ममा केही नाता थियो होला, कि यही जन्ममा पो हुने हो कि ? यस्तो लाग्छ कि उनलाई म बाल्यकाल देखिनै जान्दछु । `चिनारी हाम्रो धेरै पुरानो रहेझैं लाग्दछ´ जस्तै, खैर … २०८१/११/५ ।”
“खै किन हो उनीसँग हिंड्दा बोल्दा ऊर्जा मिल्छ मलाई । उनीसँग बसेर कुरा गर्दा समय बितेको थाहै हुँदैन । साँच्चै भन्नुपर्दा उनलाई छोड्नै मन लाग्दैन । क्रान्तिकारी विचार उनको तर समाजलाई खलबल्याउने खालको नभएर समाजमा विद्यमान जरा गाडेर बसेको रूढीलाई हटाउने । भेदभावयुक्त पुरानो सोचलाई निर्मूल पार्ने । नारीलाई भोग्या मानी अवहेलना गर्ने पुरुषवादी सोचको विरोध गर्दै नारीलाई उच्च सम्मान दिने । उनी नारी-पुरुष दुवैको सम्मान हुनुपर्छ र दुवै एक अर्काका पूरक हुन् भन्ने धारणालाई व्यक्त गर्ने खालकी मान्छे । एकअर्का प्रति अनादर उनी खप्नै सक्दिनन् । उनी स्पष्ट भन्छिन् – समाजमा नारीलाई मुखले मात्रै होइन व्यवहारले पनि सम्मान दिनुपर्छ । त्यति मात्र होइन उनीले भनेको कुरा झलझली याद छ मलाई । `आजभोलि त धेरै पुरुषहरू महिलापीडित पनि भएका छन् ।´ व्यवस्थित समाज चाहन्छिन् उनी… २०८१/११/८ ।”
“उनका जीवनका तीता-मीठा कथाहरू साथै उनका सङ्घर्षका कथा मैले उनकै मुखबाट सुनेको छु । उनका कथामा मेरा पनि आँसु रसाएका थिए । मलाई यस्तो लाग्छ कि उनको सङ्घर्षले भरिएको जीवनी सुन्ने मान्छेलाई धेरै प्रेरणा मिल्छ ।… २०८१/११/१२ ।”
“हामी तीन-चार चोटी सँगसँगै कार्यक्रममा सहभागी पनि भएका छौं । धेरै कुरा बिर्सिए पनि केही कुरा अविस्मरणीय छन् । उनीसँगको सामीप्य मेरो जीवनको सुनौलो पाटो हो । उनी समाजमा भएको जाति व्यवस्था र उच-निच जस्तो भेदभावपूर्ण व्यवहारको खुलेरै विरोध गर्छिन् । जातीय विभेद उनीलाई पटक्कै मन पर्दैन ।
मैले उनलाई एकपल्ट प्रश्न गरेको थिएँ, `यो तल्लो जाति र माथ्लो जाति भन्ने कहिले एकै हुन्छन् होला ?´
`व्यक्तिको आर्थिक समृद्धि भएपछि यो भेदभाव जरैदेखि उन्मूलन हुन्छ । किनभने आज आर्थिक रूपले समृद्ध तल्ला जातिका मान्छेले क्षेत्री बाहुनका छोरीहरू बिहे गरेका छन् । त्यहाँ कुनै प्रकारको मतभेद देखिंदैन । तर गाउँका गरीब तल्ला जातिलाई अछुत भनेर हेपिन्छ । अर्को कुरा शिक्षाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ यो मतभेदलाई उन्मुलन गर्नमा । हुन त समाजमा धेरै त्यस्ता शिक्षित मान्छे पनि फेला नपरेका होइनन् जो जातीय भेदभावका कुरा उठाउने गर्छन् । पढेका तर सङ्कुचित सोच भएका मान्छेलाई म शिक्षित मान्दिनँ ।´
कति स्पष्ट र तर्कयुक्त विचार थियो उनको … २०८१/११/१५ ।”
“संवादका क्रममा उनले एकदिन मलाई भनेकी थिइन्, ‘आफ्नो मातृभूमिलाई छाडेर अमेरिका, अस्ट्रेलिया, कनाडा आदि जाने युवापिढीलाई देख्दा मलाई दुःख लाग्छ । यसरी नै अब्बल युवापिँढी विदेशिने हो भने देशको हालत के होला ? यहाँका अदुरदर्शी र भ्रष्टाचारी नेताले त देशलाई सखापै पारिसकेका छन् । उनीहरूको नीति पनि ठीक छैन । सबै बुढा छन् जसमा कुनै दूरदर्शिता छैन, योजना छैन ।´ यसरी उनले चिन्ता व्यक्त गरेकी थिइन् ।… २०८१/११/१९ ।”
“धेरै दिन भयो मेरो डायरीको यो भाग रिक्त भएको । त्यो तस्वीर आज चाहिं जसरी भए पनि माग्छु र त्यो रिक्त ठाउँमा टाँस्छु । अनि मात्रै डायरीले पूर्णता पाउनेछ । त्यो तस्वीर मेरो लागि अनमोल हो किनभने मैले हृदयबाट रुचाएको मान्छेसँग खिचेको । मैले धेरै हिम्मत बाँधेर भनेको थिएँ उनलाई – एउटा तस्वीर खिचम न । पछाडिपट्टि ब्यानर थियो अगाडिपट्टि हामी उभिएर र बसेर दुइटा तस्वीर खिचेका थियौं, तर त्यो बाहेक अरू सबै फोटा मेरा हात लागे तर ती दुई फोटा हात लागेनन् । अर्थात् के सोचेर हो उनले मलाई पठाइनन्…२०८१/१२/१२ ।”
* * *
झसङ्गै भएँ उनको डायरी पढेर ! आज १२ गते नै थियो । शायद उनले डायरीको यो पाना भर्खर लेखेको हुनुपर्छ । मलाई नै लेखेको डायरी मैले नै पढिराछु । शायद मैले उनको व्यक्तिगत कुरा पढ्न नहुने थियो । अब उनले मसँग सिधै मुख खोलेर तस्वीर मागे भने मैले के जवाफ दिने ? साँचो कुरा भन्दिएँ भने उनलाई कति पीडा पर्छ होला ।
हामी यात्रामा गएका थियौँ । त्यो यात्रामा मैले उनीसँग दुइटा तस्वीर खिचेकी थिएँ । अरूसँग पनि खिचेकी थिएँ, तर अरूलाई तस्वीर दिन मलाई कुनै असहज लागेन, तर उनलाई दिन मलाई असहज लाग्यो । मैले मेरो तस्वीरको दुरुपयोग हुन्छ भनेर नदिएको पनि होइन । अनि उनी फेरि नराम्रा मान्छे पनि होइनन् । तर खै कुन्नि उनलाई तस्वीर दिन आँटै आएन । उनको र मेरो तस्वीर अत्यन्तै आकर्षक थियो । मलाई कता कता काउकुती लागेको थियो त्यो देख्दा । तस्वीर असभ्य पनि थिएन र अश्लील पनि । दुवै जना आ-आफ्नो सीमामा उभिएका थियौं । साँच्चै भन्नु भने मैले त्यो तस्वीरलाई दश-बाह्र पटक हेरेकी पनि थिएँ । अनि एकदिन त्यसलाई डस्टबिनमा पठाइदिएँ । मन कटक्क दुखेको थियो शायद धेरै मन पराएको तस्वीर थियो त्यो । फालिसके पछि खल्लोखल्लो महसूस भएको थियो ।
आखिर मैले त्यो तस्वीर दिएको भए नि के जान्थ्यो र ? उनले धेरै चोटि `तपाईंका मोबाइलमा भएका सबै फोटा पठाइदिनु ल´ भनेका थिए । दुई बाहेक सबै पठाएथें । उनले पनि सिधै त्यो तस्वीर माग्न सकेनन् शायद !
यत्तिकैमा जुत्ताको टकटकको आवाज मेरो कानमा पर्यो । उनी आएको आभास भएर उनको डायरी यथावत् राखिदिएँ । तर मलाई छटपटी भइरह्यो । म त्यहाँ बस्नै सकिनँ ।
बुझ्दा जुत्ताको आवाज उनको नभएर अरू कसैको रहेछ । म उनलाई डा. जीवनसँग आफ्नो बिहे पक्का भएको सुनाउन चाहन्थें । त्यै उद्देश्य लिएर गएकी थिएँ उनको अफिस ।
त्यति बेरसम्म उनी आएका थिएनन् आफ्नो अफिसमा र म उनलाई नभेटीकन फर्के मन भारी बनाएर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










