स्वागतद्द्वारको रूपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुङ्गिन्छ, जहाँबाट थालिएर यो कथा जहाँ टुङ्गिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी जहाँ रक्सी बिक्छ । छिः कस्तो पतित ठाउँ हगि । अंग्रेजीमा ‘बि ए आर’ लेखेर पाटी झुन्ड्याएको भए कुरा बेग्लै थियो । तर यो त भट्टी पो त-जहाँ पैला गरीब, दोस्रा गरीब मतवाली जसको इज्जत हुँदैन, स्तर हुँदैन, पो पस्छन् । तपाईं त उपाध्याय ब्राह्मण । त्यसमाथि वशिष्ठ गोत्रीय । वशिष्ठको सन्तान हुनुमा तपाईंलाई गर्व छ । हुन पनि पर्छ । (वशिष्ठ मुनि वेश्यापुत्र थिए) यो कटुसत्य म मनको ब्राकेटभित्रै राख्छु । भनौँ भने तपाईं मलाई सकेदेखि फाँसीमा झुन्ड्याउन बेर लाउनुहुन्न भने पनि हुन्छ । तर तपाईं यहाँको न्यायको ठेकेदार त होइन नि ! हो केवल मेरो साथी । साथी होइन हाकिम । भर्ना त यौटै मितिमा यौटै खान्कीमा भएका थियौं, तर तपाईंको फरियाको नातो बलियो रहेछ, यहाँ तपाईं मेरो हाकिम भएर आउनुभएको छ । यो मेरो सौभाग्य हो । मैले यस गाउँका, यस ठाउँका, यस समाजका धेरै श्रेष्ठ वस्तुहरूको स्तुतिगान तपाईंसमक्ष गर्नुछ ।

‘त्यो को ? रातो सारी लाउने ?’ आखिर तपाईंले सोधिहाल्नु भो । किन त्यै रातो सारी लाउनेको त्यत्रो चासो ? किन सेतो सारी लाउने, हरियो सारी लाउने, बिनाबाहुलाको चोलो लाउने, नाइटो देखाएर सारी बाँध्नेहरूबारे वास्ता देखाउनु भएन ? के ती हुनेखाने घरका बुहारी होलान् भनेर ? आखिर तपाईंलाई कनै स्त्रीको इतिहास चाख लाग्यो, के फरक पर्छ त्यो बुहारी होस् वा सासू ? छोरी होस् वा आमा ?…के जवाफ दिऊँ म ? त्यो हाट भर्न आएकी कुनै आइमाई हो भन्ने कुरा तपाईंले देख्नेबित्तिकै बुझ्नुभएन र ?

‘त्यो वशिष्ठकी आमा हो’ -लौ तपाईंले हठै गर्नुभएकाले भनिदिएँ ।

‘को वशिष्ठ ?’ तपाईंले सोधिहाल्नुभो । मलाई थाहा थियो तपाईंले सोध्नुहुन्छ भन्ने ।

‘त्यो वशिष्ठ जसबाट एउटा वंश परम्परा चल्यो, जुन वंशको प्रत्येक सदस्य आफूलाई वशिष्ठगोत्रीय भन्दा गर्व अनुभव गर्छ । अर्थात् तपाईंजस्तै कुनै पवित्र मान्छे (अर्थात् वेश्याको सन्तान) को पुर्खाको पैलो व्यक्ति… ।’

‘तर त्यस वशिष्ठकी यो कसरी आमा भई ?’ तपाईंले सोधिहाल्नुभो, स्वाभाविक हो । प्रत्येक जातको प्रत्येक परिवारमा आफ्ना पुर्खाउपर घमण्ड गर्न केटाकेटीमै सिकाइन्छ ।

‘कुन्नि कसरी भई त्यो त म जान्दिनँ, तर यो पनि वेश्या हो जसरी तपाईंकी पुर्खाकी प्रथम व्यक्तिकी आमा वेश्या थिई, कुख्यात वेश्या – उर्वशी ।’

तपाईं रिसाउनुभयो । गुम्म फुलेर चुरोटका कुइरीमण्डल धूवाँ ओकलेको देखेर मैले थाहा पाएँ । के यो सोच्न लाग्नुभयो, मैले संसारलाई वेश्याको सन्तान बनाउँदा के स्वार्थसिद्धि हुन्छ ? स्वार्थ त क्यै सिद्धि हुँदैन, तर साँचो कुरा के भने मातृसत्तात्मक समाजमा यौटी आमाका धेरै पति हुन्थे । मान्छेको इतिहास त्यै मूलबाटोबाट हिंडेको छ । आज पनि धेरै पति हुन्छन्, तर एउटा ठूलो फरक छ त्यो के भने, त्यहाँ आर्थिक विवशता हुँदैनथ्यो …ठान्नु हुन्छ भने यै हो मेरो स्वार्थ…तर एक शब्द ‘वेश्या’ सँग तपाईं यस्तो तर्सनु नहुने, तपाईं यहाँ अझै नौलो हुनुहुन्छ, भर्खर एक हाट त देख्नुभयो… मैथिलीभाषी र नेपाली भाषीको यस्तो भुमरी पैले देख्नुभएको थियो त ? अवश्य थिएन होला । भर्खर नयाँ सरूवाबढुवा भएर आउनुभएको छ, तथ्यहरूसँग यसरी तर्सन लाग्नुभयो भने मैले झूटो बोल्न थाल्नुपर्नेछ । तर सूर्यलाई पैसाले कति ढाक्नु ?

‘कस्ती टाइपकी वेश्या ?’ राम्रो, तपाईंले सूर्यलाई पैसाले ढाक्न खोज्नुभएको रहेनछ । तपाईं गहिरैमा पौडिन खोज्नुहुन्छ । म भन्ने प्रयास गर्छु तर भनूँ पो के ? वेश्या कति टाइपका हुन्छन् र ? घरमा हुने वेश्याहरू, वनमा हुने वेश्याहरू, गाउँले झुपडीमा, शहरी पसलमा हुने वेश्याहरू, अन्तर्राष्ट्रिय होटेल र सिनेमाका पर्दामा नाच्ने वेश्याहरू कुनै जस्ती यो होइन । खै के भनूँ । आज तपाईं मेरो हाकिम भएर आउनुभएको छ । मनले नमाने पनि मुखले मान्नै पर्छ-सवाल जागिरको छ साथी भएर के गर्नु ? आज तपाईं मेरो बोस हुनुहुन्छ । अब म कस्ती टाइपकी वेश्या भनूँ ? तैपनि भन्छु । जागीर खोसाएर मैले मेरी पतिव्रता पत्नीलाई पनि वेश्या बनाउनु त छैन । जतिसुकै वेश्या रूचाउने खाले व्यक्ति भए पनि तपाईं आफ्नी आमा, दिदी बैनी, भाउजू, बुहारी, छोरी वेश्या भएको मन पराउनुहुन्न होला । कुन्नि, मन पराउनु पो हुन्छ कि ? तपाईं प्रमोशनप्रिय व्यक्ति । तर यति सत्य हो म चाहिं मन पराउन्न । किनभने म साधारण मान्छे हुँ, नेता होइन । साधारण जागीरे हैं, अफिसर होइन। सर, म ठूलोबडो होइन । गफ गर्ने मेरो बानी हो जसरी सुकिला गुन्डाहरूको वेश्यागमन गर्ने… । सुन्नोस्त ।

यो त्यस्ती टाइपकी वेश्या होइन जो लाइसेन्स लिएर बजारमा बस्छे । यस पवित्र (ए. झन्डै ‘विश्वको एक मात्र’ भन्न बिर्सेको) हिन्दू राज्यमा त्यस्तो अत्याचार छैन । हामी पवित्रता एवं न्यायप्रिय वीर गोर्खाली हौं । यो हरप कुनै नेताको भाषणबाट साभार उद्धृत गरिएको । यहाँ कोही वेश्या छैन । जसबारे तपाईं सोध्दै हुनुहुन्थ्यो त्यो कान्छी हो, बुझ्नुभो कान्छी । बजारमा तपाईं थुप्रै जेठी, माइली, साइँली, काइँली, ठाइँली, देख्नुहुन्छ, भेट्नुहुन्छ पाइलैपिच्छे ठेस लाग्ने गरी ।

प्रत्येक हिपटाइट हिरो अर्थात् साँघुरो सुकिलो मोहोता भएको टेरेलिनको प्यान्टधारी कुनै पनि सज्जनतिर फर्केर आँखा जुध्नेबित्तिकै यी मस्किदिन्छन् । यै हो यिनीहरूको लाइसेन्स । अनि हिपटाइप हिरो नेता हुने मौका नगुमाएर तिनको पदानुसार गर्छन् ।

मस्किने पाइला एउटा पसलमा भित्रिन्छ । हिरोहरूको नेता आँगनमा उभिएर एक गिलास पानी माग्छ वा सलाई वा चुरोट । अनि कुनै वृद्धा- सम्भवतः मस्किनेकी आमा बाहिर निस्केर भन्छे ‘पाल्नुस् न भित्रै’ । त्यो रक्सी बिक्ने पसल हुन्छ ।

हिरो नेता अथवा नेता हिरोको सवारी भित्रिन्छ ।

हेलमेल र आफन्तता बढाइन्छ । आफन्तता ओछ्यानसम्म पनि पुग्छ । तातो साससम्म पनि । हेलमेल धातुले नापिन्छ । धातु जुन धितो नराखीकन अर्थशास्त्र नोट छाप्न दिंदैन ।

तर तपाईंको वशिष्ठकी आमाको कथा यस्तो छैन । बाहिरका हिपटाइप हिरोहरूले उसलाई सुँघ्न पाएनन् । बाक्लो गाउँ, गाउँका सुकिला गुन्डाहरूको फिल्टर पेपरबाट ऊ तल उत्रन सकिन । गाउँको फिल्टर पेपर भनेर यस कान्छीका कथामा श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ को देशसेवालाई राख्न सकिन्छ वा पर्छ ।

पात्र परिचय !

(एक) श्रीमान् ‘क’ भनेको एकजना लब्धप्रतिष्ठित देशसेवी । उमेर पचासको लगभग । सबै ल्याइते, ब्याइते र बतासे पत्नीहरूबाट भएका सन्तानको सङ्ख्या जोड्दा पचास ननाघेको । आँखावरिपरिको कालो र अनुहारभरिको चाउरी भेट्न दिनको पाँच मिनेट शीर्षासन गर्ने प्रयास एवं भिटामिन ‘इ’ लगातार सेवन । कपाल खुइलिएको ठाउँमा भिटामिनयुक्त भाइटेक्स एवं फुलेका ठाउँमा अभिनेत्री मार्का खिजाबको प्रयोक्ता । कामेन्द्रियमा समुचित शक्ति घट्न नदिन कस्तुरी -बिनाको लगातार सेवन । हाल ‘च्यवनप्राश लघु उद्योगालय’ खोल्नमा व्यस्त, किनभने स्थानीय कम्युनिस्टहरूको विगविगीले गर्दा आनामासी व्याज लगाउन छाडिसक्नुभएको छ र व्यांकमा विश्वास छैन । पैसा अन्त राख्ने ठाउँ छैन । गफ गर्दा सधैं उहाँ भन्नुहुन्छ- ‘सन्यास आश्रममा प्रवेश गर्ने तरखरमा छु.. ‘

(दुई) श्रीमान् ‘ख’ भनेको एकजना पण्डित बाजे । हाल देशसेवामा संलग्न देशसेवा भनेको उधारो दारू खानु र गरीबका छोरीबुहारीको शरीरसँग खेल्नु । भट्टीवालले पैसा मागे भट्टीमै आगो लगाइदिनु, मुद्दा मामलाको जालमा फँसाएर उसलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु अनि नयाँ भट्टीवाल मगाउनु र केही समयसम्म उही कुरा दोहोऱ्याउनु… तेहऱ्याउनु । आफूले भुँडी बोकाएर निमुखालाई घाँडो भिराइदिनु । बेबातमा दुई थरीलाई लडाएर, मुद्दा गर्न लगाएर वादी प्रतिवादी दुवैको आफैँ बारेस हुनु, किसानहरूमध्ये नेता हुनु र नेताहरूको बीचमा किसान हुनु सरकारी गैरसकारी अनुदान लिएर कागतमा प्रगति गर्नु । अखबारमा छापिन रिपोर्टरको चाकडी गर्नु, गाउँका स्कूलमा कोषाध्यक्ष हुनु र ब्ल्याकबोर्ड बेचेर रक्सी खानु । निधारमा त्रिपुण्ड लगाएर महान् आस्तिकमा गनिनु । उहाँको उमेर पैंतीस वर्षको होला । मुख सुन्निएजस्तो देखिन्छ । निश्चय नै त्यो कुनै भीषण रोग हुनुपर्छ । देशसेवामा लाग्नुभन्दा पहिले यस्तो थिएन । गृहस्थीको गाडा चलाउन उहाँसँग पुर्खाको सम्पत्ति छ र छ श्रमको नाम गरीब गाउँलेको शोषण । उहाँ कहिलेकाहीँ राष्ट्रिय पञ्चायतमा पुग्ने सपना पनि देख्नुहुन्छ ।

एक पटक मसँग सोध्नुहुन्थ्यो- ‘राष्ट्रिय पञ्चायतमा पुग्न कति नगद लगाउनु पर्ला र पुगेपछि कति नाफा होला अर्थात् चोखो मुनाफा कति होला ?’

(तीन) श्रीमान् ‘ग’ भनेको बिहार विश्वविद्यालयबाट चोरेर बि.ए. पास गरेपछि जीविकारूपी सिकारको पछिपछि भौंतारिंदै यहाँसम्म (यो उमेर, यो ठाउँ यस स्थितिसम्म) आइपुगेको शिक्षक । डिंग हाँक्न सौखिन ठूलो मान्छे भएको अथवा ठूलोबडो भनाउँदाले डिंग हाँकेको बालखैदेखि आफ्नू गाउँठाउँमा देखिराखेको जति ठूलो हुँदै गयो त्यति डिंग हाँक्नमा कुशलता प्राप्त गर्दै गएको । जस्तो, ‘पूरा बिहारमा नू मेरो सौसे अधिक गाडी किरायामा चालू छ’ अथवा, ‘साला आफ्नू छे सौ विधाका फार्म छ, यस्ता यस्ता जमिनदारको त म नौकर राखेको छ ।’

तर जति हाँके पनि उसको डिंगको सीमित संसार दरभङ्गादेखि पटनासम्म मात्रै थियो । बिहानभरि ट्युशन गर्थ्यो, दिउँसो स्कूलमा मास्टरी र बेलुका श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ को चाकडी यसको काम पि.ए. को जस्तो थियो पछि लाग्नु । भट्टी खाली छ-छैन, बुझ्नु । चुरोट-सलाई किन्न दौडनु । उनीहरूले जुवा खेलको खाल र रन्डीबाजी गरेका दैलामा वफादार कुकुर वा नोकर पाले बसिदिनु ।

मास्टर पाले बसेको छ । ‘क’ र ‘ख’ भित्र पसेका छन् । यो कान्छीको पसल हो । झुपडीमा कान्छी र कान्छीकी बूढीआमा छन् । श्रीमान् ‘क’ ले कान्छीलाई र श्रीमान् ‘ख’ ले कान्छीकी आमालाई अँगालो हालेका छन् । ‘क’ सोच्दछ कान्छी उसको अँगालामा छे । ‘ख’ सोच्दछ कान्छी उसको अँगालामा छे । दुवैले कान्छी अँगालेका छन्, तर कान्छी यौटै छे ।

रहस्य के छ त ? रहस्य छ जङ्गबहादुरको घोडा अर्थात् महुवाको दारूजन्य बेहोसी र कामोन्माद । बेलगाम जङ्गबहादुरको घोडा उनीहरूभित्र आज बिहानैदेखि कुद्दै, उफ्रँदै, हिनहिनाउँदै छ । मास्टर बिहानैदेखि पाले बसेको छ । कान्छीका आमाछोरी बिहानदेखि व्यस्त छन् खुवाउन, पियाउन र अँगालामा बाँधिन । आज चाड छ । श्रीमान् ‘ख’ ले कुनै चुनाव जितेको खुशीयालीमा यस्तो भएको…। सधैं यस्तो हुन्नथ्यो । हप्ताको दुई-चारचोटि राति या झमक्क साँझ परिसकेपछि मात्र सुटुक्क कुनै श्रीमान् कान्छीको झुपडी आबाद गर्दथ्यो ।

बाहिर निस्कँदै कुनै श्रीमान् भन्थ्यो- ‘थुक्क मोरो नपुङ्सक मास्टर । कान्छीलाई भनिदिनै पर्यो । तेरो आफ्नू त्यति तागत छैन ? जान मन लाग्दैन कान्छी भाठौं…?’

मास्टर कान्छीलाई भनिदिइमाग्ने कुराले लोभिन्थ्यो, बाख्रापट्टि खसी आकृष्ट भएझैं । कान्छी राम्री छ, तरूनी छ, गोरी छ, आह ! केके छ, केके छैन कान्छी । ‘तर हजुरहरूको प्राइभेट माल, हजुर’ ऊ मन मारेर भन्दथ्यो ।

‘धत् पाजी ! नाचकी पाँचकी । बजारकी हजारकी । हैन हाम्री मात्रै । तेरी पनि हो ।’

मास्टर उनीहरूको पछि लागेर निहुरमुन्टी न जस्तो मुन्टो लगाउँदै अर्की (जेठी, माइली, साइँली या कुनै) को ठेलासम्म, जुवाघरको दैलासम्म वा भट्टीसम्म जान्थ्यो । श्रीमान्हरूलाई उनीहरूको आँगनमा नपुऱ्याई फर्कंदैनथ्यो ।

डिंगमण्डलीमा डिंग हाँकिदिन्थ्यो- ‘यस्ता साला बूढाहरू (श्रीमान् ‘क’ र ‘ख’) के सक्छन् ? दारू पिएर एकातिर ढल्छन् अनि मैले कान्छीको चित्त बुझाइदिनुपर्छ ।’

मान्छे पत्याउँथे पनि श्रीमान् ‘क’ र ‘ख’ सँग ‘ग’ को त्यस्तो गाढा मित्रता देखेर । ऊ आफ्नू सफलता देखेर गजक्क पर्दथ्यो ।

तर त्यो गजक्क पराइ धेरै दिन टिकेन । मानौं गजक्क पर्नु हिरोसिमा थियो र त्यहाँ बम फुट्यो । बम थियो, कान्छीले पेट बोकी भन्ने हल्ला ।

‘त्यो’ त मैले बुझिसकेको थिएँ तपाईंले भन्नुभयो । बुझक्कड नवनेता जस्तै चुरोटको सर्को तानेर मुन्टो हल्लाउनुभयो । निःसन्देह यो तपाईंको महानता हो । तपाईं यसरी नै इतिहासमा अमर हुन सक्नुहुन्छ, तर कान्छी गर्भवती भएको कुरा केवल हल्ला रहेछ ।

तपाईंले अँध्यारो मुख लगाउनुभयो । आफू गलत साबित भएको कुरामा आफ्नू जुनियर स्टाफअगाडि यस्तो तीव्र प्रतिक्रिया देखाउन आफैँ हल्का हुनु होइन ? त्यसो नगर्नुस् है, सर । म जम्मै कथा मेलैसँग सुनाउँछु । मेरो कथा भन्ने बानी छ र तपाईंको सुन्ने । यसैगरी त सरकारको तलब पकाउनुपर्छ नि, काम गरेर कल्ले पकाउँछ र ?

अँ त, कान्छीले पेट बोकेको कुरा विरोधीहरूको हल्ला थियो । विरोधी दल भएको यस देशको यो गाउँ मानौं बेलायत हो जहाँ विरोधीको मान हुन्छ । विरोधी गाउँकै भद्रभलाद्मी, धनीमानी थिए, जो आफू श्रीमान् ‘क’ र श्रीमान ‘ख’ जत्तिको सफल देशसेवी हुन नसकेकाले क्रुद्ध थिए । क्रोध अथवा ईर्ष्यावश पनि कैलेकाहीं कुनै गाउँले केटी गर्भवती भएको र त्यसको कारण कुनै स्थानीय भद्र मान्छे रहेको हल्ला उडिरहन्थ्यो ।

श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ किन वास्ता गरिरहन्थे ! तर कुरा एक दिन साँच्चै यस्तै भो जस्तो फिल्मी कथामा हुन्छ । कान्छी साँच्चै गर्भवती भइछ । एक दिन यस्तो सूर्य पनि उदायो जसले गर्भवती कान्छीलाई भिटामिन ‘डी’ दिनु थियो ।

कान्छीको आमा खुशी भई । छोरीले यौटा धनीको कटेरामा बास पाउने भई भनेर । उसलाई त के छ र मर्ने बेला भैसक्यो । एक्लो जीउ जसरी भए पनि पालिहाल्ली । यत्रो नाटक त्यै छोरीको लागि गरेकी थिई । यसै बदनामी भैसकेकी थिई, त्यसैले कसैले लैजान खोजेन । अतः नाटक गरेर पेटभरि खान दिन सक्नेको सँघारमा बाँधिदिनु थियो उसलाई ।

श्रीमान्हरूले वास्ता गरेका थिएनन् ।

श्रीमान् ‘क’ को पाउमा छाँद हालेर बूढी रोइदिई- ‘सरकार ! प्रभु ! अब म के गरूँ नि प्रभू । काजीसाहेब ! कान्छी साँच्चै दोजिया भैछ । हजुरहरूबाहेक कसैको मुखाँ हेरेनौं मालिक । हजुरकै शरणमा छौं । हजुरका दासी हौं । आज्ञा होस् अब के गर्ने ?’ उसले सकेसम्म अभिनय गरेकी थिई ।

श्रीमान् ‘क’ को सिकुटे खुट्टा लग्लगी काम्यो । घर लग्ने हो भने कतिओटी थुपार्ने घरमा ? नलग्ने हो भने के गर्ने ? क्यै त गर्नै पर्यो । ‘तुहाइदे न ।’ श्रीमान् ‘क’ ले आज्ञा दियो । ‘आम्मै नि हजुर । भर्खर सोह्र पुगी, कसरी तुहाउनु हुन्छ ? ज्यान जोखिम पर्छ । यो त हुँदैन सरकार ।’ उसले जवाफ दिई । नाटकको चरमावस्थामा ऊ किन फेल हुन्थी । ऊ त्यस्तो मूर्खता किन गर्थी ।

श्रीमान् ‘क’ ले सम्झाउन बुझाउनमा रात बितायो, तर बूढीले मानिन । फुल्याउँदा, फकाउँदा भएन । जीउ ज्यान धन सर्वस्वको धम्की दिंदा पनि भएन । हार मानेर श्रीमान् फर्कियो, फर्कंदा उसले लामो तपस्यापछि प्राप्त भएको नाबालिका कान्छीसँगको प्रथम सुअवसर सम्झ्यो । त्यतिखेर उसले अलिकति चिल्लो मागेको थियो … ।

उसले श्रीमान् ‘ख’ लाई बोलाउन मास्टरलाई दौडायो । दिनभरि श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ बीच बाघचालको अघिल्लो चालबारे विचार भइरह्यो ।

साँझ श्रीमान् ‘ख’ ले भन्यो- ‘अब क्यै कुरा होइन । मेरो हरूवा (हली भने तपाईं राम्ररी बुझ्नुहोला । यता हरूवा भन्छन्) छ नि ठूले । अब त्यसैसँग कान्छीको बिहा गरिदिनुपर्यो । कान्छी पनि त मन पराउँछे ठूलेलाई … ।

‘किन मन नपराउनु ? हजुरहरूको हरूवा पाए । हजुरहरूकै नजरअगाडि रहन पाए । हजुरहरूकै सेवा गरिरहन पाए बूढीले आफन्तता जिन्दगीभरि मालिकको ओछ्यानमाथि उक्लिरहन पाउने दूरदर्शिता दर्शाई । सायद भीष्मले शरशय्याबाट युधिष्ठिरलाई ‘राज्यको उत्पति’ बारे व्याख्या यति दूरदर्शितापूर्ण ढङ्गले गरेका थिएनन् ।

(विचरा भीष्मलाई के थाहा, राज्य र वेश्यासत्ता सँगसँगै उदाएका हुन्, एकअर्काका पूरक हुन् अथवा पर्याय हुन् ।)

हली ठूलेको आडमा घिउ पिउने आशाले श्रीमान्’ख’ दङ्ग थियो । तर ठूलेले कान्छी बेहोर्न मन्जुर गरेन कुनै हालतमा पनि ।

‘घर बनाइदिन्छु । खेतमा मोहियानी दिन्छु । रिन मिनाह गरिदिन्छु ।’ उसले भन्यो ।

‘अहँ ठूलेले भन्यो । उसलाई चोखै केटी पाउने विश्वास थियो ।

‘गिरहत (गृहस्थ) भए बस्लास्, मोरा । विचार गर् ।’

‘अहं ।’

‘उसो भए रिन तिर् । तँलाई म आजैदेखि राख्दिनँ । होश गर बाबै ।

‘आफ्नू गाउँ-घर र दाजुभाइ छोडेर पहाडदेखि आइयो, यो छुसी गाउँको कत्रो मोह । छोडिदिउँला छोड्नुपरे । रिन भन्या भाको बेला तिरूँला जाबो एक सय रूपियाँ ।’

एक हजारको तमसुक गरेर एक सय भन्छस् ?’

ठूले खड्ग भयो । उसले एक सय मात्रै रिन खाएको थियो साबांब्याज गरेर । तमसुक साँच्चै एक हजारको थियो । उसले सय रूपियाँ लेखेको भनेको तमसुकमा ल्याप्चे लगाएको थियो ।

‘बिहा गर्छस् भने भन् अझै सब माफ गरिदिन्छु ।’

बिहाको स्वीकृति परै जाओस् ठूलेले खुकुरी झिक्यो ।

बाहुनका अरू भरौटेहरूले लठ्ठी झिके । लातखुट्टा र लठ्ठीका चोटले खुट्टा भाँचिएको ठूले पुलिसको पाउमा पुऱ्याइयो । उसको पाता फर्काइएको थियो । अब उसमाथि श्रीमान्हरूको ज्यान मार्ने उद्योग गरेको मुद्दा चल्ने भयो ।

ठूलेको झन्झट सिद्धिएपछि श्रीमान् ‘ख’ श्रीमान् ‘क’ को घरमा नयाँ चाल सोच्न लागे 1

चकमन्न सुतेका गाउँले एक्कासि बिउँझाउँदै कोकोहोलो फैलियो । छाती पिटेको र चीत्कार गरेको स्वर सुनेर गाउँले जम्मा भए । बूढी छाती पिटेर कराउँदै, रुँदै थिई- ‘मेरो कान्छीलाई यै मोरा मास्टरले सधैं राख्तो रहेछ । मध्यराति कहाँ जान्छे, भन्थेँ, म त …ठाउँको ठाउँ नै पहेँ । यो राँडी पनि उस्तै, यो कहाँको, कहाँको लुठासँग सल्कन पुगेकी …. यो कलिकाल । गाउँका छोरीबुहारी क्यै रहने भएनन् यस्तो अत्याचार भएपछि । आज त ठाउँका ठाँवै समातेको छु । लु पञ्चपरमेश्वर मेरो नियाँनिसाफ गरिदिनु पर्यो ।’

स्कूलको यौटा कोठामा, जसमा दिउँसो पढाइ चल्थ्यो र राति मास्टर सुत्थ्यो, कान्छी र मास्टर सबका सामुन्ने बरामद गरिए । बूढीले चाल मारेर आएर बाहिरबाट साङ्लो लगाइदिएकी थिई र गुहार मागेकी थिई । कान्छीले उसको मास्टरसँग महिनौं अघिदेखि लसपस भएको कुरा स्वीकार गरी । मास्टर अवाक थियो । उसले त अधिकांश गाउँलेहरूसँग डिंग हाँकिसकेको थियो कान्छी उसैकी हो भनेर ।

बिचरो मास्टर जिल्ल पर्यो । उसले आफ्नू देशमा पनि देशसेवीहरू नै देखेको थियो । तर यहाँ देशसेवीका त तिनका बाजेबराजु रहेछन् भन्ने कुरा बल्ल थाहा पायो । उसले यो भुमरीमा पार्ने देशसेवी श्रीमान ‘क’ र श्रीमान् ‘ख’ नै थिए भन्ने कुरा त्यतिन्जेल थाहा पाएन जतिन्जेल उसकी सासू अर्थात् कान्छीकी आमाकहाँ चाँदनी भन्ने यौटी अर्की तरूनी आइन् । बूढीको भनाइअनुसार त्यो उसकी नन्दकी छोरी हो र त्यो त्यै पसलको व्यापार धान्नका लागि जुन कान्छीले धानेकी थिई…(श्रीमान् देशसेवीद्वय ‘क’ र ‘ख’ को निम्ति …) यहाँ ल्याइएको थियो ।

मास्टरले डेरा सार्यो र नयाँ श्रीमतीसँग बस्न लाग्यो । यस काममा सुन्दरले उसलाई धेरै मद्दत गर्यो । सुन्दर साँच्चै सुन्दर थियो । सुन्दर अघि मास्टरसँग ट्युशन पढ्थ्यो । पढ्नमा तेज विद्यार्थी थियो । मास्टर सुन्दरलाई खन- खाँचोमा मन पराउँथ्यो समलिङ्गी भए पनि । अड्केको-पड्केको बेला पैसा पनि दिन्थ्यो । तर आज ऊ विवाहित छ । उसले कान्छीलाई नै मन पराउनु पर्नेछ । यो कुरा उसले खसी होइन बोको भएर सोच्यो, साँच्चै उसले धेरै समयसम्म सुन्दरलाई मन पराउनुपर्यो । वस्तुतः आफ्नू स्कुले जीवनमा नै उसलाई कुनै समलिङ्गी मास्टरले मन पराइदिएको थियो । यसअघि कुनै ठूलो विद्यार्थीले मन पराइदिएको थियो । शुरूशुरूमा त्यो उसले मन पराएन । पछि मन पराउन थालेको थियो । यसै कारणले होला उसले कान्छीलाई त्यति मन पराउन सकेन, जति कल्पना गरेको थियो । उसले सोच्यो, कान्छी सुन्दर नामक केटा भएको भए । ऊ कान्छीलाई सुन्दर जस्तै बनाउने चेष्टा गर्नेछ… कान्छीले मानिदेली । के फरक पर्छ र ?

कान्छीको टुङ्गो लागेर पनि बूढी सुख पाउन्न । उसको जिन्दगीको यौटै धोको पूरा हुने भएन । यसको अब धर्म गर्ने मन थियो । मर्ने बेलामा पनि उसले धर्म गर्न पाउने भइन । साँझ पर्छ श्रीमान् ‘क’ आउँछन्, श्रीमान् ‘ख’ आउँछन् । रक्सीले मातेका हुन्छन् । वैद्यनाथ मकरध्वजको पौरुष थेग्न सक्ने तागत उसमा छैन, तर नथेगी हुँदैन । रक्सीको सुरमा कान्छीको प्रोक्सी उसैले गर्नुपर्छ… ।

एक दिनको बाटो परबाट उसले नन्दकी छोरीलाई ल्याउनै पर्यो । चाँदनीलाई केही दिनको लागि माग्दा उसले भनेकी थिई ‘छोरी हिंडिहाली । घरमा एक्लै साह्रै नियास्रो लाग्छ । फेरि पसल पनि आफ्नै हो, बन्द गर्नु भएन चलाउनै पर्यो । र सबै बेचेर जनकपुरधामतिरै बस्ने विचार गरेकी छु । तेतिन्जेल यो चाँदनी मैसँग रहोस् … ।’

यो कुरा उसले साँच्चै भनेकी थिई । भएको झुप्रो, बोतल, रक्सी ओसार्ने, खुवाउने भाँडाहरू र घडेरी सबै बेचेर उसको जनकपुरधाममै बस्ने विचार थियो । त्यहाँ ऊ यौटा सानु पानपसल खोलेर गुजारा गर्ने विचारमा थिई … ।

एक दिन मास्टर भागेछ । कान्छी विधिवत् गर्भवती घोषित गरिई । पोइ त्यो भाग्ने मास्टर ठहरियो । अब ऊ समाजका दुखी नारी थिई । चुत्या उपन्यासहरूको शब्दावलीमा कुनै पत्थरहृदय पुरुषले उसलाई प्रेमको अभिनयमा फसाएर रस चुसेर, भमरासरि भागेको थियो । अब ऊ माइत बस्न थालेकी थिई ।

श्रीमान् ‘क’, श्रीमान् ‘ख’, कान्छी र बूढी आ-आफ्ना अभिनयदेखि सन्तुष्ट थिए ।

चाँदनी बाहिर गएकी थिई, श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ भित्र पसेका थिए । ईर्ष्याले बलेकी कान्छीले चाँदनीलाई बाङ्गा वचन-बाण हानी- भित्र तेरा पोइहरू आएका छन् ।’

‘ती तेरा पनि त पोइ नै हुन् नि ।’ उसले जवाफ दिई ।

‘मेरो पोइ त घर गएको छ ।’

‘मेरो पोइ पनि आफ्नै गाउँमा छ ।’ चाँदनीले भनी ।

कान्छीको रिस ठन्डा भयो । अब ऊ मैत्रीको मुद्रामा थिई । ‘अन्त त भन् त को तेरो पोइ ?’

‘गाउँमा म मालिककहाँ बसेकी थिएँ पोहोर … यसपालि पनि बस्छु ।’

‘मालिकको – छोरा कि बूढा ?’

‘छोरी ।’

ऊ झस्किई । उसले साँचो भनेकी थिई ।

चाँदनीले स्पष्टीकरण दिई । मालिककी छोरी कलकत्तामा, ऊ अंग्रेजीको स्कूलमा पढ्ने रे बाबै, त्यहाँ पढ्ने जे पनि जान्दा रहेछन् लोग्नेमान्छे हुन पनि, स्वास्नीमान्छे हुन पनि !

कान्छीको लागि त्यो ख्याल ख्याल थियो । चाँदनीले सोची, यस्तो कुरा अर्को जुनीमा थाहा पाउनु पनि तेरो भाग्यमा छैन

तपाईंले भन्नुभो, यस्ता कुरा उपन्यासमा मात्रै पढ्नुभएको थियो र मलाई लाग्छ, तपाईंले खूब ठीक भन्नुभो सर । मलाई पनि लाग्थ्यो यस्ता कुरा उपन्यासका मात्र हुन् । त्यहीँ हुन्छन्, तर अलि गहिरिएर हेर्नुस् त, माटाको प्रत्येक चोइली, ईंटाको प्रत्येक टुक्रामा महान् उपन्यास हुँदोरहेछ, त्यो म यहीँ आएर बुझ्दैछु… ।

कान्छीले छोरो पाई । मैले त्यसको नाउँ वशिष्ठ राखिदिएको थिएँ, तर त्यो मरिसक्यो । अब कान्छी सार्वजनिक भएकी छे फेरि, श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ को लागि चाँदनी छँदैछ । चाहनुहुन्छ भने म भरेका निम्ति बन्दोबस्त मिलाउँछु, सर । तपाईंको प्रसन्नता नै मेरो जागीर हो, चाकडी नै मेरो धर्म हो ।

(तपाईं मौन रहनुभयो । अतः भरे मैले ठीक गर्नु नै पर्ने भयो । तपाईं महान् … हाकिम हुनुहुन्छ । मेरी पत्नी नै भरेको निम्ति नमागेर अरू नै बन्दोबस्तसम्म गरिदिने मौनस्वीकृति दिनुभयो)- यो मैले मनमनै भनेको । ‘तर यो श्रीमान् ‘क’ र श्रीमान् ‘ख’ भनेका को मान्छे हुन् ? नाउँ नभन्दा कथै बुझ्न असजिलो भयो ।’ तपाईंले भनिहाल्नुभयो । मलाई पनि लागेको थियो तर के गर्नु ? नाउँ भनेँ भने मेरो ज्यान जान्छ । जागीर जान्छ । आखिर यै गाउँमा बसेर काम गर्नु छ । यै गाउँको, ठाउँको, समाजको, देशको शिष्ट र सभ्य नागरिक भएर बाँच्नु छ, ठूला-बडा, पावरदार, सोर्सदार, भलादमीका पर्दाभित्रका कुरा बेपर्दा गरेर कसरी बाँच्न सकूँला ?

‘मैले ती मान्छेलाई चिनेको छु कि छैन त ?’ आह, तपाईंको जिद्दी स्वभाव ! भन्नै पर्यो । श्रीमान् ‘क’ भनेको चाहिं हिजो छाडी अस्ति सुनाएको कथाको नायक क्या, त्यै, आफ्नै बुहारी पर्नेसँग सुतेको समातेर तेह्र दिने भलाद्मीहरू र गाउँले महान् मान्छेहरू मिलेर खूब ब्ल्याकमेल गरे भनेर सुनाएको थिएँ नि यौटा कथा…।

‘ए… अँ अँ ।’

‘हो, त्यही ब्ल्याकमेल गरी भाग्नेका छोराको जेठान हो श्रीमान् ‘क’ भनेको ।’

‘श्रीमान् ‘ख’ नि ?’

श्रीमान् ‘ख’ भनेको चाहिं यौटा समाजसुधारक यौटी अधबैंसेलाई मकैबारीमा तान्न गएछ र उसले भनिछ- ‘होहल्ला गरिदिऊँ कि दुई सय रुपियाँ दिन्छस् ?’

त्यो दुई सय रुपियाँ अझै किस्ताबन्दीमा तिर्दैछ भनेर सुनाएको नाइकेको मीत ।

अब तरकारी किन्नुहोस् । तपाईं यी थाङ्ना कथादेखि बोर हुनुभो । हुन त तरकारी बजारमै पनि पाइन्छ किन्न, तरकारीको हरितिमा साथै यौवनको हरितिमा । अन्तर्राष्ट्रिय-पसलहरूको हरितिमा ।

हजुरको च्वाइस हो सर । म त सेवक हुँ, गुलाम हुँ, क्रीतदास हुँ, …।

(‘जगदीश घिमिरेको प्रतिनिधि कथाहरू’बाट)