“स्याबास, बाबु ! हाम्रो खानदानको नाम राखिस् । इज्जत बढाइस् । मेरो सधैँ आशीर्वाद छ ।” काजीलालले सुहाङ्को शैक्षिक प्रमाणपत्र हेर्दै असाध्यै खुसी व्यक्त गर्यो । छोरोको ढाडमा धाप मार्यो । छोरो डाक्टर भएकोमा नाक उच्च भएको महसुस गर्यो । बिरामी सबैलाई समान व्यवहार गर्न सल्लाह दिन समेत भ्यायो ।
“छोरोलाई ड्युटी जान ढिलो भइसक्यो । खाजा तयार भएन भन्या ?” उसले श्रीमतीतिर आवाज फ्याँक्यो ।
“भयो है भयो । बाउ छोरा, दुवै जना हात धोएर आउनू ।” खट्टे र अण्डाको अम्लेट थालमा पस्किॅंदै साफीमायाले बोलाइहालिन् ।
“सबै जना सॅंगसॅंगै खाऔॅं न ।” सुहाङ्ले उसकी आमालाई पनि खान कर गर्यो ।
तीन जनाको परिवार, सुखी परिवार । सबै जना एकै चोटि खाना खाए । अस्पतालमा भव्य स्वागत कार्यक्रम राखिएको थियो । अभिभावक लिएर आउॅंदा पनि हुने भनिएकोले सुहाङ्ले पनि आफ्ना आमाबालाई लाने योजना बनायो । सॅंगसॅंगै लिएर गयो । काजीलाल त छोरोले जता जाऔॅं भन्यो त्यतै जान जहिले तयार हुन्छ । तर, साफीमाया भने लाज मान्छिन् । म बुढी मान्छे, होस् जाँदिन भन्दै टार्थिन् । यो पटक चाहिॅं छोरोको जागिरे जीवन सुरुवातको दिन भएकोले साफीमाया एक वचनमै तयार भइन् । कुन अभिभावक आफ्नो सन्तानको सफलतामा रमाउॅंदैन होला र ! अझ आमालाई त खुसी नलाग्ने कुरै भएन । ज्यानको बाजी राखेर जन्माएकी हुन्छिन् । माया ममताले सर्लक्कै उतारेकी हुन्छिन् । ठुलो बनाएकी हुन्छिन् । पहिलो दिन आमाबा लिएर ऊ सेवा प्रवेश गर्यो ।
० ० ०
बाइस वर्ष पहिले ।
बाँचीमाया राई उमेरले पचास भए पनि व्यवहारले थिचेकोले असीको देखिन्थिन् । घुँडाको रोगी । अनिवार्य लट्ठी टेक्नुपर्ने । उनले सधैँ टेक्ने गरेको लट्ठी मात्रै आधा केजी जत्तिको थियो । ढाकर नै पाँच केजीको बोक्थिन् । नवमी बजारमा प्रायले बाँची बोजू भनेर चिन्थे । उनले बेच्ने खुद्रा जिन्सीमा बदाम, मेवा, सुन्तला, कागती, लिची र आँप हुन्थ्यो । मौसमअनुसारको व्यापार गर्थिन् । उनको भारी बढीमा पच्चीस केजीसम्मको हुन्थ्यो । हरेक शनिवार समय तालिकामा चल्थिन् । दुई घण्टाको बाटो थियो । पहिलो भालेको डाँकोसॅंगै उनका पाइलाहरू बाटो लाग्थे । उकालो हिॅंडाइमा दम बढ्थ्यो । ख्वाक ख्वाक खोक्दै नयाँ अक्सिजन लिन्थिन् । पृथ्वी लोकमा अँध्यारो भइन्जेल जुनकिरीझैँ बल्ने टर्च लाइटको सहारा लिन्थिन् । टेम्केमा घाम पुग्नु पहिले उनी नवमी पुग्थिन् । कञ्चनजङ्घाले मुस्कान फिॅंजाउनु पहिले आफ्नो दोकान फिॅंजाइसक्थिन् ।
कहिलेकहीँ त पिखुवा समुद्रमा पुग्नु पहिले उनको खुद्रा पसल रित्तिन्थ्यो । सबै सामान उठेमा जोडा हात्तीसम्म नाफामा आउॅंथ्यो । सावाँ त जसरी भए पनि हराउॅंदिनथिन् । कान्छो छोरो जन्मेकै साल अचानक उच्च रक्तचापले श्रीमानलाई लग्यो । उनको काँधमा छोराहरूका लागि उनीहरूको बुवाको जिम्मेवारी समेत सम्हाल्नुपर्ने परिस्थिति बन्यो । स्विकार्न बाध्य भइन् । तिस वर्षे जवानीमै एकल महिला बन्न पुगिन् । छोराहरूको अनुहार हेरेर हरेस खान सकिनन् । काँडाको बाटो हिॅंड्न आँट बटुलिन् । सङ्घर्षको पहाड निरन्तर चढिरहिन् । परम्परागत पेसा कृषि थियो । नगदे बालीमा बदाम हुन्थ्यो । उबेला त्यो भेगमा मकै, भटमास, कोदो, गहत आदि बाली लगाउॅंथे । मकै प्रायलाई वर्षभरि पुग्दैनथ्यो । बेसाहा बोक्नुपर्थ्यो । कोदो निचोर्दै ठिक्क । भटमास खाजा खानै पुग्दैनथ्यो । गहतले दालको रूपमा अलिअलि थेग्थ्यो । जमानाअनुसार छोराहरूलाई उच्च शिक्षा दिलाउनु पर्ने हो । तर हैसियत नाजुक थियो ।
रामलाल घरको जेठो छोरो । उसले एसएलसी पास गर्यो । मास्तिर पढाउने घरको आर्थिक स्थितिले रोक्यो । समय निरन्तर बगिरहेथ्यो । उसले घरको आर्थिक स्थिति सुध्रिने छाँट देखेन । शैक्षिक योग्यता बढाउने रहर उधुमै जाग्यो । तर पढ्न सकिने सम्भावना कुनै कोणबाट पनि देखेन ।
“शिक्षादीक्षा दिन नसक्नेले किन सन्तान पाउने ?” उसले आफ्नी आमातिर नराम्ररी व्यङ्ग्य हान्यो ।
“मालाई काटेरा खा । यही डिन सुन्ना बाँकी थ्यो र, टेरो बाउले छोडेर गाए पोनि मैले टिमीहरूलाई छोड्ना साकिनॅं ।” बाँचीमाया असाध्यै चित्त दुखेर चुलोकै छेउमा घोप्टिइन् ।
धेरै आत्मग्लानि भयो । नबोल्नुपर्ने शब्द बोलेको महसुस गर्यो । आमासित माफी माग्यो । आइन्दा कहिल्यै चित्त नदुखाउने वाचा गर्यो । आफू पढ्न नपाए पनि भाइलाई पढाउने योजना बनायो । आफ्नो भाग समेत भाइले पढोस् भन्ने सपना बुन्यो । त्यो सपना पूरा गर्न खाडी जाने निर्णयमा पुग्यो । एसएलसीसम्म राम्रो उसको पढाइ थियो । खाडी नै भए पनि कुनै कम्पनी त निकै राम्रा हुन्छन् भनेर सुनेको थियो ।
सहर झरेर पत्रपत्रिकामा त्यस्ता विज्ञापनहरूको खोजी गर्न थाल्यो । करिब आधा वर्ष जतिको खोजीपछि अन्ततः भेट्यो । अन्तर्वार्ता दियो । पहिलो प्रयासमै पास गर्यो । नियमानुसार उसले एक पैसा समेत तिर्नु परेन । आफ्नो घरको स्थिति नाजुक भए अनुसार नि:शुल्क श्रम गर्ने ठाउॅंमा पुग्यो । आफूले आफैलाई निकै भाग्यमानी सम्झ्यो । पढी, लेखी के काम ? हलो जोती माम । भन्ने वाक्य दोहोर्याइराख्ने खरबारे बुढोलाई सम्झ्यो । अहिलेको जमाना त्यस्तो कहाँ हो र ! मनमनै आफै बोल्यो । खाना, बस्न नि:शुल्क दिने कम्पनीमा हाजिर हुन थाल्यो । कमाइ पनि राम्रो । भाइलाई खर्च पेल्यो ।
कम्पनीको साप्ताहिक बिदा आइतबार थियो । प्रत्येक महिनाको पहिलो आइतबार राजाङ् नदी किनारमा उत्प्रेरक प्रवचन हुन्थ्यो । एक आइतबार रामलाललाई प्रवचन सुन्न मन लाग्यो । प्रवेश नि:शुल्क । अङ्ग्रेजी भाषामा प्रवचन हुने भनिएको थियो । नेपाली भाषामा भए अझ राम्रो हुन्थ्यो । तर यो बिरानो देशमा कहाँ पाउनु त्यस्तो ? अङ्ग्रेजी भए पनि धेरै हदसम्म बुझिन्छ । समय कट्ने मेलो पनि त हुन्छ । ऊ यसरी अनेकन् मनमा कुरा खेलाउॅंदै सभा हलमा छिर्यो । प्रवेशद्वारमा अङ्ग्रेजीमा लेखिएको थियो – मोटिभेशनल स्पीच । वाह ! गजब हुने रहेछ । ऊ झन् हौसियो । त्यस दिनको प्रवचन शीर्षक चाहिॅं बचत बारे थियो । निकै फलदायी हुने कुरामा सभा हलमा उपस्थित सबै उत्साहित देखिन्थे । प्रवचनको बिचबिचमा तालीको गडगडाहट थियो । करिब दुई घण्टासम्म चल्यो । एकल प्रवचनबाट उसले एउटै कुरो सिक्यो – बचत गर्नु ।
हुन त आजको मुख्य विषयवस्तु नै त्यही थियो । बचत गर्दा मान्छेलाई धेरै कुरामा फाइदा दिने रहेछ । आफ्नो र आफ्नो सन्ततिको सुन्दर भविष्यको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ । कम्पनीमा खाना र बस्न फ्री भएकोले उसको खर्च हुने ठाउॅं भनेको उही व्यक्तिगत किनमेल मात्र थियो । उसले प्रण गर्यो – अबदेखि आउने तलब मध्ये दश प्रतिशत जतिले आफ्नो खर्च पुराउॅंछु । बाँकी नब्बे प्रतिशत बचत गर्छु । बरु त्यही मेरो भागको खर्चबाट किफायती तरिकाले भाइलाई पढाउॅंछु । परदेशको नोकरी भनेको रगत तातो भइन्जेल मात्र हो । कमाउॅंदै गरेको बेला बचत गरिएन या बचत गर्न जानिएन भने भविष्य अँध्यारो सुरुङ जस्तै बन्छ । सुन्दर फूलको सौन्दर्यमा भमरा भुनभुनाएझैँ ऊ एक्लै भुनभुनायो ।
उसलाई घरजम बसाउनु थियो । सपनाको महल विपनामा बनाउनुपर्थ्यो । आफ्नो शाखा फैलाउनु बाँकी थियो । प्रवचन सुनेपछि उसले हिसाब गरेरै बचत गर्न सुरु गर्यो । हरेक महिना प्रतिशतमा हिसाब गर्दै आफ्नो भविष्य सुनिश्चित गर्ने तर्फ अघि बढ्यो । फजुल खर्चहरू एक झिमिकमा कट्टा भए । दश प्रतिशतको खर्च गराइले पनि मनग्गे उसको जीवन चल्न थाल्यो । उही लयमा भाइको खातामा समेत पुगिरह्यो । अन्तर हृदयबाट धन्यवाद दियो मोटिभेशनल स्पिकर ‘जोनाथान लो’लाई । उसले राजाङ् नदीलाई पनि धन्यवाद दियो । किनकि तिनै नदीलाई साक्षी राखेर चलाइएको मासिक कार्यक्रम थियो । सौभाग्यवश सहभागी भएको कार्यक्रम लगत्तै प्रण गरेको थियो उसले ।
र, तुरुन्तै कार्यान्वयन गरेको थियो । कडा नियममा आफूले आफैलाई बाँध्यो । परिणामतः केही वर्षमा पूर्वको मिनी हङ्कङमा भू सम्पत्ति जोड्यो । निरन्तर सहोदर भाइलाई पढ्न हौसला पनि दिइरह्यो । धेरै पढेर मातृभूमिमा सरकारी जागिर खाने प्रेरणा दिन्थ्यो । नियमित खर्च पानी छुटाइरह्यो । त्यो उत्प्रेरक प्रवचनले उसलाई निकै फाप्यो । सपनाको सहरमा आफ्नो लागि महल ठड्याउन सक्षम भयो । र, जोडा बिस पुग्नै लाग्दा बिहेबारीको शुभ साइत पनि जुर्यो ।
० ० ०
काजीलाल सोह्र वर्ष पुग्यो । त्यही साल फलामे गेट पार गर्यो । आमाको ढाकरको भरमा अहिलेसम्म आश्रित थियो ऊ । उच्च शिक्षा पढाउन भने सहोदर दाइले जिम्मा लिएको थियो । आमाले पहिल्यै भनेकी थिइन् – एसएलसीदेखि मास्तिर चाहिॅं म सक्दिन भनेर । प्रशस्त प्रविधिको विकास गाउॅंसम्म पुगिसकेको थिएन । एक कल बोल्न समेत नवमी बजार पुग्नुपर्थ्यो । जहाँ एक ठाउॅं मात्रै फोन थियो । मोहन सर अर्थात् मोहन राईको थियो । मोहन सर भनेर सात गाउॅंसम्म सबैले चिन्थे । सात गाउॅंलाई पढाएकोले सबैको सर भएको त होइन । तर सहज तरिकाले चिन्ने माध्यम बन्यो – मोहन सर । स्वदेश तथा विदेशबाट उसैकोमा फोन आउॅंथ्यो । ऊमाथि भरोसा थियो । हुन पनि हो , नबिर्सीकन सम्बन्धित व्यक्तिसम्म अनिवार्य खबर पुराइदिन्थ्यो । हटियाको दिन प्राय चिट बाँडिहिॅंड्थ्यो । वर्षा याम हुनुपर्छ । मकै दोहोर्याउने तथा कोदो रोप्ने काम धमाधम थियो । अर्को शनिवार दिउॅंसो एक बजेतिर विदेशबाट फोन आउने खबर एउटा चिटमा लेखेर काजीलालको नाममा पठाएको थियो । काजीलालकी आमाले नै ल्याएकी थिइन् ।
“ने ! आम्बुवाआ फोन नमुयाङ्ओ निमाङ् ।” तेरो दाइ तॅंसॅंग बोल्ने रे भन्दै आमाले छोरोलाई चिट हातमा थमाइन् ।
काजीलाल एक छिन खुसीले उफ्र्यो । खुसीको क्षणमा आफै भात भान्सा गर्यो । सिकुवा, घर वरिपरि सफाचट एक्लैले गर्यो । बस्तुभाउको थान्कोमुनिको गर्यो । सदा एक लखदेखि केही काम गर्दै थिएन ।
त्यो शनिवार आमाको भारी उसले बोक्यो । सधैँ हिॅंड्ने आमाको समयतालिकामा आमाछोरा बाटो लागे । बिस्तारै गफ गर्दै सदाको समय अगावै पुगे । फाट्टफुट्ट हटिया भर्न आउनेहरू आउॅंदै थिए । भारी बिसाएपछि ऊ सरासर मोहन सरतिर हानियो । नवमी बजार भर्खरै उठेको थियो । वरि-परिकाहरू चिया चुस्कीसॅंगै प्रभातकालीन अभिवादन साट्दै थिए । दोकानहरू खुल्दै थिए ।
“नमस्कार, मोहन सर ।” उसले एउटा अभिवादन टक्रायो ।
“ओहो नमस्कार ! कति छिटो ?” मोहन सरले बस्न आग्रह गर्यो । मोहन सर भने लाइन लाग्ने रेखा कोर्दै थियो ।
शनिवारको दिन हटियामा घुइॅंचो । पसल/होटेलमा घुइॅंचो । फोनमा घुइॅंचो । जताततै भिडै भिड हुन्थ्यो । कोरिएको रेखाभित्र लाइनमा उभ्न आउनेको सङ्ख्या बढ्न थाल्यो । ऊ सुरुमै उभिसकेको थियो । सबै उभ्दै आफ्नो फोन पर्खे । लाइन लम्बिॅंदै थियो । फोनको घण्टी बज्न सुरु भयो । बायाँ नाडीको घडीतिर उसले नजर फ्याँक्यो र चिटमा लेखेको समय सम्झ्यो । मेरै होला भनेर मोहन सरले उठाएर बोल्दै गरेको नजिक गयो । उसैको रहेछ ।
हेलो ! भन्दा नभन्दै उसले काम्न सुरु गर्यो ।
“कान्छा, बधाई छ तॅंलाई । क्याम्पस पढ्न जा है । म उतै आइएमई गरिदिन्छु ।” उताबाट सहोदरको आवाज आयो ।
“हुन्छ ।” उसले दाइलाई अरू थोक त केही पनि सोध्न दिमागले भ्याएन ।
खुट्टा लगलग काम्यो । हात काम्यो । बोली काम्यो । उसले जीवनमा पहिलो चोटि एसटिडी फोन समाएको थियो । हेलो, हेलो भन्दाभन्दै एक मिनेट जति समय गुज्रियो । दाजुभाइ जम्मा दुई मिनेट बोले ।
खुसीले उसको खुट्टा भुईॅंमै थिएन । किनकि उसको उच्चशिक्षा हासिल गर्ने तथा धेरै पढेर ठुलो मान्छे बन्ने रहरले आकार लिॅंदै थियो । नयाँ ठाउॅं, सपनाको सहर जाने रहर साकार हुँदै थियो । शैक्षिक योग्यता बढ्ने खुसीले ऊ बढी रोमाञ्चित थियो । आमालाई सारमा सुनाएर ऊ एक्लै घर फर्क्यो । भोलि छकालै हिॅंड्ने तयारीमा जुट्यो ।
० ० ०
सरकारी क्याम्पसमा खर्च कम लाग्थ्यो । पुस्तक किन्ने र बसाइ खर्च मात्र लाग्थ्यो । काजीलाल क्याम्पस भर्ना भयो । ऊजस्तै गाउॅंबाट आएका नौतुनहरूसित भेट भयो । धेरैसॅंग साथी र केहीसॅंग नजिक भयो । उसको दिनचर्या दिनदिनै परिवर्तन गर्दै लग्यो । जसरी ऋतुहरू घुमिरहे । परीक्षा तालिका आएपछि पढ्नै पर्ने रहेछ, सोच्थ्यो । नतिजा आएपछि भाग्यलाई दोष दिन्थ्यो । वसन्त ऋतुले दुई फन्को लगाइसकेको उसलाई पत्तै भएन । हातमा प्रवीणता तहको प्रमाणपत्र आउनुपर्ने हो, तर हात नपरेपछि झसङ्ग भयो । केही छैन, मन मिलेको साथी त पाएँ । ताल परे जीवन गाल्न त सहज हुन्छ । ऊ मनमनै गम्यो । कक्षामा बसे पनि ठिक, नबसे पनि ठिक छ । स्वतन्त्र थियो सरकारी क्याम्पस । चुलिवन, सल्लेरी, जलाधार पानी पॅंधेरो बनायो, सायद क्याम्पस त्यति पानी पॅंधेरो बनायो होला । कक्षामा शिक्षकले पढाएको कुराहरू नोट कपीमा टिपेन, जति प्रेमिल अक्षरहरू प्रेम पत्रमा लेख्यो । परीक्षाको अन्तिम तयारीमा ध्यान दिएन, जति आफ्नी प्रेमिकाको मन दुख्ला कि भन्ने पट्टि याद गर्यो । भविष्यको चिन्तामा परेन, जति मन पर्ने मान्छेको दाहिने हुन कसरत गर्यो ।
याे कुरा एक कान, दोकान हुँदै मैदान भयो । सहोदरको खबर रामलालको कानमा पर्यो । ऊ झस्कियो । सुरुसुरुमा त विश्वास लागेन । लगातार एउटै कुरा दोहोरिएपछि मनमा एउटा शङ्काले डेरा जमायो । सबैभन्दा पहिले छड्के चेक गर्न मन गर्यो । त्यहीअनुसार बिदा मिलाएर सुटुक्क मातृभूमि आयो रामलाल । नभन्दै भाइलाई रङ्गे हात भेट्यो । पत्याउन कर लाग्यो । त्यसपछि भने खर्च पानीको मुहान बन्द गरिदियो । काजीलाल प्रवीणता प्रमाणपत्र तहको अनुत्तीर्ण विषयहरूमा पुनः परीक्षा दिइरहेथ्यो । लोकसेवा पढ्ने आधार भएन । शिक्षक सेवा आयोग दिन शैक्षिक योग्यता पुग्दैन । क्याम्पस वरिपरि घुमिरहन बैङ्क मौजुदा शून्य थियो । अभाव सुरु भयो । उसले गाउॅं फर्कने निर्णय गर्यो । आफूलाई असाध्यै मन परेको केटी साफीमायालाई लिएर ।
आमा एक्लैले घरको खेती सम्हालिरहेकी थिइन् । काजीलालले शैक्षिक योग्यताको प्रमाणपत्र ल्याउन सकेन । तर प्रेममा भने विशिष्ट श्रेणीसहित उत्तीर्ण भएको थियो । प्रमाण स्वरूप प्रेमिका साफीमाया घर लिएर पुगेको थियो ।
“आमा, ओको आम् नाम्मित एइ ।” उसले आमालाई उनी बुहारी हुन् भनी चिनायो ।
“कागत, लासी अखाराओ बेन अमना ङा ?” शैक्षिक प्रमाणपत्र लिन जाँदा मान्छे नै लिएर आएको ? भन्दै आमाले ठट्यौलीमा हॅंसाउनु भयो ।
साफीमायाले मुसुमुसु मुस्कुराउॅंदै आमालाई ढोगिन् ।
“कान्छा ! आन् जाताओ ङा, नाम्मित ?” आमाले छोरोसित बुहारीको जात बारे पक्कापक्की गरिन् ।
हाम्रो जात एउटै हो भन्ने आशयमा उसले टाउको हल्लायो । बल्ल आमा ढुक्क भइन् । अब उमेरले डाँडामाथिको जून भएकी आमालाई सघाउने भए । झिटीगुन्टा सबै बोकेर गाउॅं फर्केका थिए । प्रेमको निशानीमा साफीमायाको पेट पनि बढिरहेको थियो । काजीलालले धेरै माया गर्थ्यो । झन् माया गरेर राख्यो । आमाले पनि बुहारीको हेरचाहमा कमी राखिनन् । समय क्रममा नौ महिनापछि उनी आमा बनिन् । सन्तानको नाम जुर्यो – सुहाङ् । परिवारमा हर्षको वर्षा भयो । काजीलाल खुब मेहनत गर्यो । थप जिम्मेवारी बढेको महसुस व्यवहारमा देखाउॅंथ्यो । बाउ पुस्ता दुखैमा बित्यो । मेरो पुस्ता पनि सङ्घर्षमै बित्ने पक्का जस्तो छ । छोरोको पुस्तासम्ममा कम्तीमा घरको स्तर उकास्नुपर्छ । त्यसको लागि के गर्ने त ? सुहाङ् पनि दिनदिनै बढ्दै छ । उसले एकोहोरो सोच्यो ।
पुर्ख्यौली पेसा खेती किसानीलाई पनि निरन्तरता दिइरह्यो । स्थानीय सरकारले दिने तालिम र गोष्ठीहरूमा नियमित सहभागी जनायो । त्यसबाट ज्ञान, सीप आर्जन गरी पूरै आधुनिक तरिकाले खेती गर्न सुरु गर्यो । दीर्घकालीन नगदे खेतीमा जोड गर्यो । आँप, लिची, अलैँची र सुन्तला आदिको बगैँचा लगायो । आम्दानी हुन थाल्यो । उसले लाटो दिमाग अलिकति चलाएर निष्कर्ष निकाल्यो – खुत्रुके बचत ।
आफूले उत्पादन गरी पैसामा परिणत भएको जे सुकैबाट होस् केही प्रतिशत हिसाबै गरेर जम्मा गर्न थाल्यो । अहिले पो नहोला । यस्तो थुप्रै खुत्रुके भरियो भने छोरोको भविष्य बनाउन पक्कै टेवा पुग्छ । अठोट गर्यो । आफै नवमी बजार गयो । खुत्रुके ल्यायो । भोलिपल्ट आइतबार थियो । आइतबार हप्ताको पहिलो बारबाट जम्मा गर्न सुरु गर्यो । हर आम्दानीको हिसाब गरी गरी दश प्रतिशत खुत्रुकेमा जम्मा गर्न थाल्यो । खुत्रुके भरिएपछि सर्लक्क बैङ्कमा जम्मा गर्ने प्रण गर्यो । आफूले आफ्नो लागि बनाएको नियम हुबहु पालना गर्दै गयो । आमा र श्रीमतीका लागि नियम पालना गर्न प्रेरक बन्यो ।
आजभोलि भन्दाभन्दै सोह्र वर्ष भएछ । भाग लगाई लगाई जम्मा गरेको सिक्काहरू लाखका बिटामा परिणत भएछन् । त्यसमा अलिअलि जोरजाम गर्दा छोरोको भविष्य सुनिश्चित हुने भयो । मेरो र मेरी श्रीमतीको सपना पूरा हुने ढोका खुल्यो । सुहाङ्को तकदिर जम्मा भएछ । सुहाङ्को भविष्य उज्यालो भएछ । परिवारको इज्जत बनेछ । काजीलालले मनमनै बोल्दै मुसुक्क मुस्कुरायो ।
० ० ०
सुहाङ्को एसएलसीको नतिजा आयो । लोभलाग्दो श्रेणीमा पास भएछ ।
“सुहाङ् ! डाक्टर बन्नुपर्छ ल ।” उसले छोरोलाई स्वास्थ्य विषय पढाउने निर्णय सुनायो । त्यही क्षेत्रमा लाग्न प्रेरित गरिरह्यो ।
“तपाईॅंलाई गाह्रो हुँदैन भने म त पढ्छु नि, बाबा ।” उल्टो सुहाङ्ले खर्चको जोहो बारे चिन्ता गर्यो ।
बच्चाताकादेखि नै भविष्यमा के बन्ने भनेर सोधिएको प्रश्नको जबाफमा उसले अनजान तरिकाले डाक्टर बन्ने भन्थ्यो । एसएलसी पश्चात् आमाबाको सपना मनमस्तिष्कमा पोको पारेर ऊ सहर हिॅंड्यो । उच्च शिक्षामा उत्तिकै मेहनत गर्यो । आधा दशकसम्मको निरन्तर मेहनतमा आफ्नो भविष्य बनायो । अभिभावकको सपना पूरा गर्यो । कुलको इज्जत उच्च तहमा पुरायो । ऊ आफ्नै गाउॅंमा पदस्थापन भएकोले आमाबासित आशीर्वाद लिन घर आयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।