
उनी न्यायालयमा छ ।
न्यायले उनीलाई सोध्यो ।
‘तिमीसँग पैसा छ ?’
‘छैन ।’
‘न्यायालयमा तिम्रा कोही चिनेका मान्छे छन् ?’
‘छैनन् ।’
‘तिम्रा परिवारमा कोही ठूला नेता छन् ?’
‘छैनन् ।’
‘यु आर डिस्क्वालिफाइड फर जष्टिस । गेट आउट फ्रम हियर ।’ न्यायले रिसाउँदै आदेश दियो ।
****
सशस्त्र द्वन्द्व चरम अवस्थामा पुग्दै थियो । द्वन्द्वको रापले मध्यपश्चिमलाई अलि बढी नै तताएको थियो । एकातिर थिए विद्रोही, अर्कातिर थिए प्रतिरोधि । जसले सक्छ उसले गर्छ भन्ने नीति थियो ।
युद्धको कुनै नियम थिएन । नियम थियो भनेर मान्ने हो भने मात्र एउटा नियम थियो, जसरी पनि जीत । साम, दाम, दण्ड, भेद जे गर्न पनि दुवै पक्षलाई आआफ्नो नेतृत्वबाट छुट थियो । नैतिक, अनैतिक, मानवीय, अमानवीय कर्म कुकर्म सबै खालका अभ्यास चलेका थिए । भय र त्रास दुवै पक्षबाट हुँदै थियो । राप र तापले जनता पिल्सिँदै थिए ।
द्वन्द्वरत पक्षहरू कतै पनि जनता देख्दैनथे । विद्रोही पक्ष आफ्ना समर्थकबाहेक सबैलाई राज्यका मतियार ठान्थ्यो । राज्य सरकारको सिन्दूरधारी र बर्दिधारीबाहेक सबैलाई आतङ्ककारी देथ्यो ।
जनताका इच्छा, आकांक्षा, अधिकार र शान्तिसुरक्षालाई देशभित्र बस्न बर्जित थियो । तिनीहरू द्वन्द्वको चपेटामा विस्थापनमा परेका थिए । एउटै कुरा सर्वसाधारणमा जरा गाडेर बसेको थियो, त्रास, त्रास, त्रास । हरेकको मनमा त्रास थियो । त्रासका बीच बाँच्ने थोरै आशा पनि थियो ।
कुन वेला को कहाँ मारिने हो, अनिश्चित थियो । ‘बन्दूकको आँखा हुँदैन, बन्दूकले दोषी निर्दोषी चिन्दैन, त्यसैले बन्दूकसँग साक्षात्कार नगर्नू’ भन्ने भाष्यको निर्माण हुँदै थियो । तर दिनका दिन, कतै न कतै, कुनै न कुनै पक्षको बन्दूकसँग सर्वसाधारणको साक्षात्कार हुन्थ्यो । जुनसुकै पक्षकाले जुनसुकैलाई मारेको होस्, मार्ने बहादुर कहलिन्थ्यो । जोसुकै मारिएको होस्, मारिनेहरू काँतरमा दरिन्थे, चाहे त्यो जतिसुकै वीरताका साथ लडेको किन नहोस् ।
बलको शासन थियो । बन्दूकको शासन थियो । हतियारको शक्ति नै सर्वशक्तिमान थियो । जनताको शक्ति निरीह थियो । मानौँ कि जनता शक्ति होइनन्, थिएनन् र हुने पनि छैनन् ।
दिनहुँ एके–४७, एसएलआर, कटुवा, नाइटभिजन, …. जस्ता शब्दहरू मात्र सुनिन्थे, छापिन्थे । पत्रिकामा हरेक दिन कतै र कतै भीडन्त भएको समाचार आउँथ्यो । मारिनेको संख्या दिनप्रतिदिन बढ्दै थियो । तथ्याङ्क चाहिँ एकिनभन्दा बढी मिथ्याङ्क थियो ।
****
सूर्य आफ्नो गतिमा थियो, नदी बग्दै थियो, हावा चल्दै थियो, पृथ्वी आफ्नो गतिमा घुम्दै थियो र यस भूमण्डलको एउटा सुन्दर भूभागमा मानिस मानिस बीच शत्रुतापूर्ण हिंसात्मक द्वन्द्व पनि चल्दै थियो । मध्यपश्चिमको एउटा जिल्ला रुकुमको सदरमुकाममा बजारको एक कुनामा एउटा मध्यमवर्गीय परिवार बस्थ्यो । घरमूली थिए‐ गङ्गाधर रिजाल । गङ्गाधर र कलावती आफ्ना दुई छोरा र छोरीका साथ राम्रैसँग घर धानेर बसेका थिए । छोराछोरी नजीकैको स्कूलमा पढिरहेका थिए । छोराछोरीको पढाइ राम्रै भएकाले गङ्गाधरका बुढाबुढी दङ्ग थिए । गङ्गाधरको सानोतिनो कपडा पसल थियो, हस्पिटलमा एउटा क्यान्टिन पनि चलाएका थिए । अलिअलि पैसा जम्मा गर्दै दुई वटा टाटा सुमो गाडी किनेर भाडामा पनि लगाएका थिए ।
द्वन्द्वको रापमा उनको प्रगतिमा आँखा नलाग्ने कुरै थिएन । विद्रोहीलाई युद्ध लड्न धन चाहिन्थ्यो । धन दिनु उनको रहर होस् नहोस्, बाध्यता अवश्य थियो । विद्रोहीहरू उनीकहाँ सहयोग माग्न आउँथे । नदिए उठिबास हुने उनलाई राम्ररी थाहा थियो । डरमा श्रमको पैसा जान्थ्यो । श्रम एउटा गर्थ्यो, खान अर्को आउँथ्यो । द्वन्द्वले ल्याएको यो अनौठो नियम थियो ।
गङ्गाधरले विद्रोहीलाई चन्दा दिएको कुराबाट राज्य बेखबर थिएन । विद्रोही पक्ष चन्दा कम दिएकोमा गङ्गाधरप्रति रुष्ट थियो भने राज्य विद्रोहीलाई चन्दा दिएकोमा रुष्ट थियो । दुई बन्दूकको चेपुवामा थियो गङ्गाधरको व्यापार र परिवार ।
एकदुई पटक विद्रोहीको कमान्डरले गङ्गाधरकाहाँ हुकुम तामेली गर्यो– ‘छोराछोरीलाई जनमुक्ति सेनामा पठाइदिनू ।’ शुरूमा गङ्गाधरले कमान्डरको आदेशलाई उति वास्ता गरेका थिएनन्, तर फेरि केही दिनमा अर्को खबर लिखित नै पो आयो– ‘पठाउने भए पठाउनू, नपठाउने भए बल प्रयोग गरिन्छ ।’
गङ्गाधर डराए । विवाह गरेर घर पठाए बरु विद्रोहीले नलैजालान् कि भनेर सानै उमेरमा हतारहतार छोरीको विवाह गरिदिए । छोराहरू चाहिँ छोरीभन्दा अलि सानै भएकाले लगी नहाल्लान् कि भन्ने गङ्गाधरलाई लाग्यो ।
त्यसो त सुरक्षाफौजले पनि गङ्गाधरलाई आतङ्ककारीसँग साँठगाँठ गरेको आरोपमा दुई चार पटक कार्यालयमा हाजिर गराएर छोडेको थियो ।
गङ्गाधरको जिन्दगी चेपुवामा चल्दै थियो, जेनतेन ।
****
सदरमुकाम नजीकैको एउटा गाउँमा राज्य र विद्रोही बीच घमासान भीडन्त भयो । भीडन्तमा दुवै पक्षको क्षति भए पनि यस पटक विद्रोहीभन्दा राज्य पक्षका सुरक्षाकर्मी बढी मारिए । राज्य प्रतिरक्षात्मक बन्नुपर्यो । यहाँसम्म कि सुरक्षाकर्मीलाई आफ्ना मृतक सिपाहीको लाश रुकुम बजारमा ल्याउन समेत समस्या भयो । प्रहरीले मृतक जवानका लाश रुकुम ल्याउन गङ्गाधरको सवारी साधन माग्यो । गङ्गाधरले गाडी दिन आनाकानी गरे । कारण प्रष्ट थियो, सुरक्षाकर्मीलाई सवारी साधन उपलब्ध गराउनासाथ उनी विद्रोहीको थप निशानमा पर्थे । हुनसक्छ उनको त्यहाँबाट उठिबास चल्थ्यो । त्यसो त प्रहरीलाई गाडी नदिँदा पनि त्यस्तो निशाना राज्य पक्षबाट हुने नै थियो । गाडी दिँदा पनि सुख थिएन, नदिँदा पनि सुख थिएन ।
उठिबास रोज्ने कि सुरक्षाकर्मीको तारो बन्ने ? छनौट गङ्गाधरको हातमा थियो । तर दुवै छनौटमा खतरा । गङ्गाधरले सोचे– ‘विद्रोहीको निशानामा परियो भने त जीउज्यानको ठेगान हुँदैन, कम्तीमा राज्यले त मारी नहाल्ला नि ? राज्य त अभिभावक पो त ।’ उनले विद्रोहीबाटभन्दा राज्यबाट कम असुरक्षा देखे ।
गङ्गाधरको सोचाइ गलत थिएन ।
****
गङ्गाधर एक दिन बिहान पसलको लागि सामान लिन रुकुमबाट नेपालगञ्जतिर लागे । नेपालगञ्ज पुगेकै भोलिपल्ट उनलाई सेनाले पक्राउ गर्यो । आरोप लगायो आतङ्ककारीसँग साँठगाँठ गरेको । राज्यलाई असहयोग गरेर राजद्रोह र देशद्रोहको काम गरेको ।
भोलिपल्टै सामान लिएर रुकुम फर्किन्छु भनेर घरबाट हिँडेका गङ्गाधर घर नफर्केपछि परिवारले खोजी शुरू गर्यो । एक, दुई, तीन, चार पाँच दिन बिते । तर गङ्गाधरको पत्तो लागेन । सेनाले पक्राउ गर्यो रे भन्ने अपुष्ट खबर घरमा पुग्यो । कलावतीले सबैभन्दा नजीकको सेनाको व्यारेकमा गएर गङ्गाधरको पक्राउ बारेमा बुझिन् । सेनाले पक्राउको कुरा इन्कार गर्यो ।…
****
बेलुकाको दश बज्न लागेका थियो ।
गङ्गाधरपत्नी कलावती छोराछोरीलाई खाना खुवाएर बेडमा पल्टिरहेकी थिइन् । पाँच दिनसम्म पनि गङ्गाधर फर्केर नआउँदा चिन्ताले निद्रा लागिरहेको थिएन ।
ढक ढक ढक …..
ढोका ढक्ढक्याएको आवाज आयो ।
एक्कासी उनको निन्याउरो अनुहारमा चमक आयो । दौडँदै ढोकानेर पुगिन् ।
ढोका खोल्दै उनले भनिन्, ‘कस्तो केही खबर नगरी पाँचपाँच दिनसम्म हराउनुभएको ? हामी त यहाँ आत्तिएका थियौँ ।’
ढोका अगाडि अँध्यारोमा एउटा आकृति उभिएको थियो । आकृति केही बोलेन ।
‘किन नबोल्नुभएको ? कहाँ जानु भएको यत्तिका दिनसम्म, भन्दै नभनी ।’ उनले आकृतिको हात समातेर झक्झक्याइन् ।
आकृतिले कलावतीले समातेको आफ्नो हात झड्कार्यो । अनि कलावतीको गालामा एक थप्पड लगायो । कलावती झसङ्ग भइन्, ‘के अचम्म ! के भयो तपाईँलाई ? यत्रो दिनसम्म हराएर घरमा खबर पनि गर्नु छैन, अनि उल्टो घर आएर ममाथि हात छोड्ने ?’ कलावतीले अलि कडा शब्दमा भनिन् ।
‘खबर त अब पाउँछेस् तैँले ।’ आकृतिले आवाज निकाल्यो ।
आवाज गङ्गाधरको जस्तो थिएन । डरले कलावतीको मन ढुक्क भयो ।
त्यसपछि कलावतीले घरको भित्तामा भएको बत्तीको स्वीच थिचिन् । बत्तीको उज्यालोमा देखियो, उनको अगाडिको आकृति गङ्गाधरको नभएर सेनाको कमान्डरको थियो । कमान्डरको दायाँबायाँ अरू चारपाँच जना कम्ब्याटधारी थिए ।
कलावती आत्तिएर हतारहतार भित्र पसिन् र ढोका बन्द गर्न खोजिन् । कमान्डरले ढोकामा एक लात हान्यो । ढोकाको खापाले लागेर कलावती उछिट्टिइन् । चार हात पर गएर पछारिइन् ।
आकृति बुट बजार्दै भित्र पस्यो । उसका पछिपछि अरू सिपाहीहरू पनि पसे ।
‘मेजर विष्टलाई चिनेकी छेस् ?’ आकृतिले सोध्यो ।
कलावतीले थरथर काप्दै भनिन्, ‘अहँ चिन्दिनँ ।’
‘त्यसो भए अब चिन्छेस् ।’
मेजर विष्ट अगाडि बढ्यो । उसले भुइँमा पछारिएकी कलावतीको कपालमा समातेर उठायो । अनि सोध्यो– ‘लौ भन्, कति जना आतङ्ककारी पालेकी छेस् ।’
उनी केही बोलिनन् ।
‘चन्दा कतिलाई दिन्छेस् । अहिलेसम्म कति दिइस् ?’
‘तेरो गाडीबाट आतङ्ककारीकहाँ दिनको कति टिप राशनपानी जान्छ ?’
अझै पनि कलावती केही बोलिनन् ।
‘ए ! खानतलासी गर, कति आतङ्ककारी लुकेका छन् यसकहाँ ?’ मेजर विष्टले सिपाहीलाई आदेश दियो । कलावतीलाई भने कोठाको कुनातिर हुत्याइदियो ।
सिपाहीहरूले खानतलासी गर्दा सब सामान तोडफोड गरे । भेटिएको केही नगद आफ्नो बगलीमा हाले ।
खानतलासी सकेपछि एउटा सिपाहीले भन्यो– ‘यसका छोराछोरीबाहेक घरमा अरू कोही पनि लुकेको भेटिएन साब ।’
‘बेकारमा हामी जस्तो श्रम गरेर खाने सोझासाझालाई किन दुख दिनुहुन्छ ?’ कलावतीले सानो स्वरमा भनिन् ।
‘अझ मुखमुखै लाग्छेस् । यसको उपचार नगरी भएन, ल पख तँलाई ।’ मेजर विष्ट आक्रोशमा आयो ।
मेजर विष्टले अरू सिपाहीलाई घरबाहिर जाने आदेश दियो । अनि ढोका बन्द गर्यो । मेजर विष्टको आक्रोश देखेर कलावती झनै आत्तिइन् ।
मेजर विष्ट कलावतीमाथि झम्ट्यो । उनी चिच्च्याइन् । अर्को कोठामा सुतिरहेका नाबालक दुई छोराहरूको निद्रा खुल्यो । उनीहरू दौडेर आएर आमालाई अँगालो हाले ।
मेजर विष्टले कलावतीका छोराछोरीतिर पेस्तोल तेर्स्यायो र भन्यो– ‘भित्र जा ए आतङ्ककारीका छाउराहरू । नत्र यहीँ सिद्ध्याइदिन्छु ।’
कलावतीले छोराहरूलाई थामथुम पार्दै भित्र पठाइन् ।
मेजर विष्ट कलावतीको आङको कपडा तान्न थाल्यो । कलावती आफ्नो कपडा जोगाउन थालिन् । मेजर र कलावती बीच कपडा तानातान भयो । तर तान्ने उद्देश्य फरक थियो, एउटाको सतीत्व लुट्ने अर्काको सतीत्व जोगाउने । बलिष्ठका अगाडि निरीहको केही चलेन ।
‘हे भगवान् मेरो सतीत्वको रक्षा गर ।’ कलावतीले अन्तिम सहारा भगवान् पुकारिन् ।
महाभारतमा दुःशासनले द्रौपदीको चीरहरण गर्दा कृष्ण सहारा बनेथे । तर कलावतीको चीरहरणमा कृष्णको उपस्थिति थिएन । मात्र दुःशासनको थियो ।
भीष्म, द्रोणचार्य, कृपाचार्य जस्ता महाभारतका हस्तीहरूले द्रौपदी चीरहरणमा मुकदर्शक भएर दुशासनको दुष्कर्मलाई सघाइरहेका थिए । आज कालो अन्धकार रात पनि निःशब्द बनेर मेजर विष्टको कुकर्मलाई सघाइरहेको थियो ।
मेजर विष्ट कलावतीको नग्न शरीरमाथि नाच्न थाल्यो । कलावती मरेतुल्य भइन् । तै पनि बचाउन कोही आइहाल्छ कि भन्ने अन्तिम आशमा कराइन्– ‘गुहार गुहार ! मलाई बचाओ ।’
तर मेजर विष्टले कलावतीको मुख थुनिदियो ।
आमा कराएको सुनेर पल्लो कोठामा रहेका छोराहरूले थोरै ढोका उघारेर हेरे । आमाको नग्न शरीरमाथि मेजरको त्यो भयानक दृश्य उनीहरूका लागि अकल्पनीय थियो । जिउँदो लाशमाथि मेजर विष्ट एक्लो रासलीला मच्चाइरहेको थियो ।
युद्धमा योद्धा बने झैँ गरी मेजरले निरीह नारीमाथि विजय उत्सव मनायो ।
मेजर तृप्त भएपछि ढोका खोलेर बाहिर निस्क्यो र अरू सिपाहीलाई भन्यो, ‘भित्र जाओ, जो जो भोको छौ तृप्त भएर आओ । आतङ्ककारीलाई सबैभन्दा ठूलो सजाय यही हो ।’
भोकाहरू पालैपालो भित्र पसे । अनि तृप्त भएर बाहिर निस्के ।
मेजर विष्टको आजको अपरेशन सफल भयो । जिन्दगीकै अविस्मरणीय अपरेशन ।
ऊ आफ्ना सिपाही लिएर विजयी अनुहारमा ब्यारेक फर्क्यो ।
****
कलावतीलाई त्यो रातभर निद्रा लागेन । निद्रा त उनलाई गङ्गाधर घर नफर्केको दिनदेखि नै हराएको थियो । तर आज झनै विरक्तिलो रात भयो ।
जतिसुकै विरक्तिलो रात भए पनि रातले विरहीलाई पर्खिंदैन । बिहान भयो । उज्यालो देखियो । अन्धकार हट्यो । सूर्य उदायो । तर कलावतीलाई दिन पनि रात जस्तो लाग्यो । सूर्यमा चमक देखिएन । सूर्यमा कालो धब्बा लागेको थियो । सूर्य, बादल, हावा, पानी सबै आआफ्नै गतिमा थिए, तर कलावतीको जीवनको गति रोकिएको थियो ।
दुई छोरा रातीको दृश्यले त्रसित थिए । बिहान उनीहरू एक आपसमा एक अर्कालाई एकोहोरिएर हेरिरहेका थिए । तर बोल्न सकिरहेका थिएनन् । शरीर बाँचेको थियो, मन सबैको मृत थियो । सास त फेर्दै थिए, तर सबै जिउँदो लाश भैसकेका थिए
छोराका अगाडि बलात्कृत भएकी आमा र आमामाथि भएको बलात्कार टुलुटुलु हेर्न बाध्य छोराका अनुहारहरू आफ्नै जीवनलाई धिक्कारिरहेका थिए । उनीहरूलाई आफ्नै अनुहारसँग आफैँलाई घिन लाग्दै थियो । आफ्ना आँखाहरू वेलैमा नफुटेको पछुतो मान्दै थिए ।
****
कलावती त्यस रात मेजर विष्ट र उसका सिपाहीबाट बलात्कृत भएको कलावतीका छिमेकीलाई थाहा थियो कि थिएन, यो चाहिँ स्वयम् कलावतीलाई पनि थाहा थिएन । उनका अगाडि इज्जत भन्ने पर्दाले ढपक्कै ढाकेको थियो, त्यसैले कसैले थाहा नपाइदिए हुन्थ्यो भन्ने चाहिँ लागिरहेथ्यो ।
हुन त थाहा पाए के हुन्थ्यो र थाहा नपाएरै पनि के हुन्थ्यो र । द्वन्द्वको आगो बलेको वेला न्यायको पक्षमा बोल्नु भनेको आगोमा पुतली होमिनु जस्तै थियो । कसको पक्षमा को बोल्ने ? सबै मुख थुनेर बसेका थिए । सबैको मुख थुनिदिएको थियो राज्य र गैरराज्य दुवै पक्षले । कलावतीमाथि भएको त्यस्तो जघन्य अपराधको पक्षमा कसैले बोलिदिन आँट नगर्ने भएपछि थाहा पाउनु नै किन ?
कलावतीमाथि जुन दिन घटना घट्यो, त्यस दिनदेखि उनका दुई छोराहरू एकोहोरो जस्ता भएका थिए । धेरै बोल्दैनथे । बोलिहाले पनि झर्केर बोल्ने स्वभावका भएका थिए ।
उनीहरूको अवस्था देखेर केही छिमेकीहरू भन्थे– ‘बिचरा ! बाबु हराएको पिरले यी केटाहरू समेत चिन्तामा परेर मर्ने भए ।’
‘पिर नगर बाबु हो, तिमीहरूका बाउ अवश्य फर्केर आउँछन् ।’ कोहीकोही आश्वासन दिन्थे ।
कोही त छोराहरूलाई भूतप्रेत लागेको यस्तो एकोहोरे भएका भन्दै छोराहरूलाई धामीझाँक्रीकहाँ लैजान पनि कलावतीलाई सल्लाह दिन्थे ।
कोही भने केटाहरू कतै कुलतमा पो फसेका हुन् कि भनी कानेखुसी गर्न पनि भ्याउँथे ।
तर गाउँलेले बुझेको कथा एउटा थियो, कलावतीका छोराहरूको व्यथा अर्कै थियो । ‘त्यो भयङ्कर रात, त्यो आमामाथिको चीरहरण, त्यो मेजर विष्टको नाङ्गो नाच ।’ उनीहरू कसरी भुल्न सक्थे ।
****
गङ्गाधर घरबाट हिँडेको ठीक अठार महीनापछि एक साँझ एउटा झुस्स दारी पालेको मान्छे दुब्लो शरीर लिएर कलावतीको अगाडि उभियो । लोग्ने मान्छे देख्यो कि तर्सने भएकी कलावती पहिले त डराइन् । अलि नियालेर अनुहार हेरिन् ।
जतिसुकै हुलिया बदलिए पनि दुई दशक सँगै बिताएको पतिलाई कलावतीले नचिन्ने कुरै थिएन । गङ्गाधर उनका अगाडि उभिएका थिए ।
गङ्गाधर त के भनौं गङ्गाधरका हाड, छाला र सास उनको अगाडि उभिएको थियो । अझै उनी यस धर्तीमा सास फेर्दै थिए ।
कलावती खुशी भइन् । अठार महीना बेपत्ता हुँदा त आशै मारिसकेको मान्छे फर्केर आउँदा शुरूमा त उनलाई सपना जस्तो लाग्यो । द्वन्द्वको ज्वाला सगरमाथाभन्दा माथि अग्लिएको वेला अठार महीना बेपत्ता भएको मान्छे फर्केर आउनु नै अपत्यारिलो थियो ।
कलावतीलाई पश्चिमबाट घाम झुल्के जस्तो भयो । यद्यपि पश्चिमबाट झुल्केको घाम पनि आज कलावतीलाई न्यानो लागेको थियो । तर अफशोच ! व्यथाहरू बाँकी नै थिए ।
****
अठार महीनाअगाडि रुकुमबाट नेपालगञ्ज पुगेको भोलिपल्ट बिहान सेनाको एउटा टोलीले गङ्गाधरलाई पक्राउ गर्यो । बजारमा समातिएका उनलाई आँखामा पट्टी बाँधेर गाडीमा राखी हुइँक्याइयो । आँखा खोल्दा उनी सेनाको ब्यारेकमा थिए ।
‘भन् ए आतङ्ककारी ! कहाँ छन् तेरा आतङ्कका सर्दारहरू ?’ कर्णेल शाहीको लात्ती गङ्गाधरको ढाडमा बज्य्रो ।
गङ्गाधर केही बोलेनन् ।
‘अझ बोल्दैनस् आतङ्कवादी । ठोक ए केटा हो यो सालेलाई ।’ कर्णेल शाहीले सिपाहीहरूलाई आदेश दियो ।
आज्ञामुताबिक उनीमाथि लाठी बर्से, बुट बजारिए । कोर्रा हानिए ।
जे गर्दा पनि गङ्गाधरले आफूलाई थाहा नभएको इन्कारी बयान दिए ।
दिनभर आँखामा पट्टी बाँधेर राख्ने, दिनको दुईपटक शौचालय लगिने, बोलाएको बाहेक बोल्न नपाइने, दिएको खाने, भोक लाग्यो भन्न नपाइने । त्यसपछि वेलावेला बुटले हान्ने, करेन्ट लाउने, आल्पिन ठोक्ने, अनि सेनाका हाकिमको मनपरि गाली सुन्ने गङ्गाधरको अठार महीने दिनचर्या भयो ।
कर्णेल शाही अरू कोहीसँग रीस उठे पनि दौडेर आएर गङ्गाधरमाथि लात्ती बर्साउँथ्यो ।
कहिलेकाहीं कर्णेल शाहीले गङ्गाधर र अरू केहीलाई आँखामा पट्टी बाँधी गाडीमा राखेर कतै लान्थ्यो । त्यसवेला चाहिँ आफूलाई गोली हानी मार्न लगेको हो कि भन्ने गङ्गाधरलाई लाग्थ्यो । तर मुडी कर्णेल मनपरी बोल्दै उनीहरूलाई एक फन्को जङ्गल घुमाउँथ्यो र फर्काएर फेरि ब्यारेकमै ल्याउँथ्यो । ब्यारेकबाट बाहिर निकालेर फेरि ब्यारेक फर्काइनु भनेको उनीहरूको आयुमा बोनस थपिएको झैँ हुन्थ्यो ।
गङ्गाधर अभागी थिए । उनले नगरेको गल्तीको सजाय भोगे । अभागीभन्दा बढी गङ्गाधर भाग्यमानी थिए । अठार महीना सेनाको ब्यारेकमा बसेर पनि जिउँदै फर्के, जब कि धेरैको ब्यारेकमै इहलीला समाप्त भएको थियो ।
****
समय बित्दै थियो, गङ्गाधरको परिवार पुनः आफ्नो लयमा फर्किने कोशिश गर्दै थियो । तर विधिको विडम्बना भाग्य बाजा बजाएर आउँछ, दशा बाजा बजाएर आउँदैन । आमामाथि भएको दुर्भाग्यपूर्ण दृश्यको कालो धब्बा गङ्गाधरका दुई छोराहरूको मानसपटलबाट हटेन । उनीहरूमा मानसिक समस्या देखिन थाल्यो । गङ्गाधरले नजीकको अस्पतालमा उनीहरूको उपचार गराए, तर अवस्थामा सुधार आएन ।
कलावतीमाथि भएको घटनाको पाँच वर्षपछि उनका कान्छा छोरा प्रह्लाद एकदिन एक्कासी घरबाट हराए । छोरा हराएपछि परिवारका सदस्यहरू आत्तिए । रुवाबासी भो । खोजी शुरू भो । खोजीको लागि प्रहरीकहाँ हारगुहार गरे । नाता कुटुम्ब साथीभाइकहाँ चहारे । तर प्रह्लादको पत्ता लागेन ।
हराएको दश दिनपछि एक दिन भेरी नदीको पुलमुनि एकजना पुरुषको लास भेटिएको हल्ला चल्यो । गङ्गाधरको मनमा चिसो पस्यो । उनी दौडिएर त्यहाँ पुगे । नदी किनारमा लास वरिपरि मान्छेहरू जम्मा भएका थिए । लास प्रह्लादको थियो ।
प्रह्लादले आत्महत्या गरेको तीन वर्षपछि फेरि गङ्गाधरका जेठा छोरा ध्रुवले पनि आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरे । दिउँसो घरमा कोही थिएनन्, । साथीकहाँ जान्छु र भोलि मात्र फर्किन्छु भनेर बिहान घरबाट निस्केका ध्रुव कुनवेला कहाँ पुगेर फेरि घर फर्के, परिवारलाई पत्तो नै भएन । छोरो साथीकोमा हिँडेपछि कलावती र गङ्गाधर पनि नजीकै आफन्तकोमा गएका थिए । बेलुका गङ्गाधर र कलावती घरमा फर्किँदा घरभित्र जेठो छोरो ध्रुव झुन्डिरहेको दृश्य उनीहरूको आँखामा पर्यो ।
गङ्गाधरको जीवनमा एकपछि अर्को बज्रपात पर्यो ।
****
देशमा द्वन्द्वको विश्राम भयो ।
हिजोका आमनेसामने रहेका राज्य र विद्रोही दुवै आमने भए । सामने चाहिँ अब द्वन्द्वका पीडित भए । गङ्गाधर पनि पीडितमा थपिए ।
गङ्गाधर न्याय माग्न अदालत, मानव अधिकारका अफिस, प्रहरी कार्यालय र स्थानीय प्रशासनमा धाउन थाले । केन्द्रका सिंहदरबारदेखि स्थानीय तहका दरबारसम्म उनले धाए ।
प्रशासनले भन्यो, ‘त्यत्रो द्वन्द्वको चपेटामा परेर पनि बाँच्नु भएछ, बधाई छ ।’
प्रहरीले भन्यो, ‘भो अब धेरै नबोल्नुस्, सहनुस् । हामी पनि द्वन्द्वका पीडित नै हौँ, तपाईं मात्र हो र पीडित ?’
दलहरूले भने, ‘कुनै दिन पाउनुहोला नि न्याय, कराएर मात्र न्याय पाइँदैन क्यारे ।’
अधिकारकर्मीले भने, ‘लडिरहनुस्, लडिरहनुस्, लड्नुपर्छ । तपाईंले न्याय नपाए पनि अर्को पुस्ताले पाउँछ नि न्याय ।’
विद्रोहीले भन्यो, ‘हामी पनि न्याय चाहिन्छ भनेर भनिरहेका छौं नि, पाइएला कुनै दिन । अहिले चाहिँ गणतन्त्र आएको छ, त्यसैमा खुशी हुनुस् ।’
राज्यले भन्यो, ‘तिमी एक मात्र पीडित हौ र ? पीडित यहाँ कति छन् कति । राज्यले कतिलाई न्याय दिनू ?’
****
‘ओ न्याय ! ओ न्याय ! ओ न्याय ! तँ किन बेपत्ता छस् ।’ गङ्गाधर न्यायालयभित्रै जोडले कराए ।
न्याय कानमा तेल हालेर बस्यो ।
****



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

