पछिल्लो ६ महिनादेखि राजेश दाइ गाउँ निकै चर्चामा छ । हुन त यो गाउँको खास नाउँ घोप्टेभीर थियो रे, राजेश दाइ यो गाउँको नयाँ नाम हो । नयाँ नाम राख्दैमा गाउँ चमत्कारिक रूपमा विकास हुने त होइन तर यो गाउँ अपवादमा पर्‍यो भनौँ । नयाँ न्वारान हुनेबित्तिकै यो गाउँले चोला नै फेरेको छ । यो गाउँको चमत्कारिक परिवर्तन हुनुमा राजेश दाइको देवीस्थान प्रमुख कारण हो । म आफू मिडियामा काम गर्ने भएकोले चर्चामा रहेको गाउँको डकुमेन्ट्री बनाउन मलाई यहाँ खटाइयो । म र मेरो क्यामराम्यान यो गाउँको डकुमेन्ट्री बनाउन आइपुगेका छौँ ।

गाउँको सिमाना प्रवेश गर्ने बित्तिकै ठूलो द्वार आउँछ । त्यसमा माथिपट्टि लेखिएको छ, `राजेश दाइको गाउँमा स्वागत छ ।´  गाउँ शुरू हुने बित्तिकै बाटोको छेउछाउमा हाम्रो  नजर पर्छ । राजेश दाइको सैलुन पसल । जसको साइनबोर्डमा राजेश हमाल जस्तो देखिने व्यक्तिको फोटो छ ।  बाटोको देब्रे साइडमा राजेश दाइको पान पसल छ, जहाँ राजेश हमालले पान खान लागेको पोस्टर छ । अलि पर जाँदा राजेश दाइको फ्रेस हाउस पनि देखियो, साइनबोर्डमा राजेश हमालको फोटोसँगै कुखुरा, माछा र बोकेदाह्री पालेको बोकाको तस्बिर छ ।

म अचम्म परेँ । यस गाउँका हरेक पसलको नाम राजेश दाइबाट शुरू भएका छन् । नभन्दै अर्को एउटा पसलमा आँखा पर्‍यो । राजेश दाइको फेन्सी पसल, साइनबोर्डमा राजेश हमालले हिपहप ड्रेस लगाएर उभिएका छन् । बाटो पूरै ट्राफिक जामले भरिएको छ । गाडीको स्पीड १० किलो मिटर प्रति घण्टाभन्दा गुड्न पाएको छैन । हाम्रो मोटरसाइकल पनि घचक्क-घचक्क ब्रेक हान्दै अगाडि बढिरहेको छ । बाइकको स्पीड कम भएकोले बाटो छेउछाउका पसलका नाम मैले प्रष्टसँग पढ्न भ्याइरहेको छु ।

पसल मात्र होइन, गाउँका स्थानीय जस्ता देखिने युवाहरूको हुलिया पनि राजेश हमालको जस्तै देखिन्छ । लामो कपाल, हिंडाइ, हाउभाउ, बोलीचाली सब राजेश हमालको जस्तै छ । यो गाउँलाई हेरेर थाहा हुन्छ । यहाँका मान्छेलाई राजेश हमालको ठूलै प्रभाव परेको छ । अलि पर पुग्दा मेरो नजर मोटरसाइकल वर्कशपमा पुग्यो, जहाँ राजेश दाइको ग्यारेज लेखिएको थियो, जसको साइनबोर्डमा `साथीहरूको लागि यो हात सलाम हो, दुश्मनहरूको लागि यो हात फलाम हो भनेर लेखिएको छ ।´

मेरो क्यामराम्यानले यो सबै दृश्यलाई आफ्नो क्यामरामा कैद गरिरहेको छ । म बाइक हाँक्दै छु । हामीलाई अब सिधै राजेश दाइको देवीस्थान पुग्नु छ ।  देवीस्थानको नजिकनजिक पुग्दा वरिपरिका पसलहरु पूजा सामग्री, होटल, रेष्टुरेन्ट आदिले भरिएका छन् । राजेश दाइको पूजा पसल, राजेश दाइको होटल, राजेश दाइको रेस्टुरेन्ट, राजेश दाइको बोका बनाउने ठाउँ, राजेश दाइको चटपटे, राजेश दाइको हात हेर्ने ठाउँ आदि देखिएको थियो । म दङ्गदास भएर यो दृश्य हेरिरहेको थिएँ । यतिकै एकजना वृद्ध, जसको एउटा हात थिएन, उनी हाम्रो नजिक आएर `राजेश दाइको नाममा यो दुःखीलाई सहयोग गर्नुहोस् ।´ भनेर सहयोगको अपेक्षा लिएर आए । मैले ५० रुपैयाँको नोट निकालेर दिएँ ।`राजेश दाइले हजुरहरूको रक्षा गरून् !´ भनेर आफ्नो बाटो नापे ।

हामी राजेश दाइको देवीस्थान मन्दिर आइपुग्यौँ । एकदम भीडभाड छ । दर्शनार्थीहरूको लामो क्यू छ । सबैले आफ्नो हातमा पूजाको थाली बोकेर उभिएका छन् । कसैले परेवाको जोडी समातेका छन्, कसैले बोकालाई डोहोर्‍याउँदै छन्, कसैले हातमा भाले समातेका छन् । हामी पत्रकार भएको फाइदा उठाएर लाइनमा नबसी क्यामरा तेर्साउँदै अगाडि बढ्यौँ । यही क्रममा केही दर्शनार्थीलाई मैले माइक झोस्दै प्रश्न झोसेँ, तपाईं किन आउनुभएको यहाँ पूजा गर्न ?´ दर्शनार्थीको जवाफ आयो, ‘मेरो छोरा इण्डियन आर्मीमा भर्ती होस् भनेर भाकल गरेको थिएँ, पूरा भयो त्यसैले बोका बलि दिन आएको ।´

अर्को दर्शनार्थीलाई सोधेँ, ‘तपाईंलाई राजेश दाइको देवीस्थानप्रति कसरी आस्था पलायो ?´

दर्शनार्थी, `मैले छोरा पाउन भाकल गरेको थिएँ, नभन्दै छोरै भयो, त्यसैले परेवा उडाउन आएको ।´

म माइक लिएर अर्को एकजना वृद्धकहाँ पुगेँ, ‘तपाईं चाहिँ किन आउनुभएको ?´

दर्शनार्थी, `एक्लो ज्यान थियो, यो साल एउटी श्रीमती ल्याउन पाऊँ भनेर भाकल गरेको, राजेश दाइको देवीस्थानले चमत्कारै गर्‍यो बाबू, यी यस्ती सुन्दर युवतीलाई आफ्नी श्रीमती बनाउन पाएँ, त्यसैले रोट चढाउन  आएको छु ।´

राजेश दाइको देवीस्थानको यो आस्था र चमत्कार देखेर दङ्ग परेको थिएँ म । साच्चै राजेश दाइको देवीस्थानमा अलौकिक शक्ति पो छ कि क्या हो भन्ने लाग्यो ।

क्यामराम्यानलाई जिस्काउँदै भनेँ, `तिमीलाई केकी अधिकारी खुब मनपर्ने होइन ? यसो यो वैशाखमा केकीलाई भित्राउन पाऊँ भनेर माग्दा के जान्छ र ?´

क्यामराम्यान मुसुमुसु हाँस्दै भन्यो, ‘हो त केकी अधिकारीलाई पाएँ त मैले सात दिन भातै नखाने भाकल गर्थेँ ।´

हामी मज्जाले फूल भोल्युममा हाँस्यौं ।

हामी हाँसेको देखेर वरिपरिका दर्शनार्थी वाल्ल परेर हेर्दे थिए । हामी त्यसको सुर्ता नगरी मन्दिरको गेटनेर पुग्यौँ ।

मन्दिरको गेटमा राजेश हमाल जस्ता देखिने पूर्ण कदको सालिक अवस्थित छ । जसमा कपाल कुमकुमसम्म आएको छ । एउटा हात राजेश हमालले हे…. भन्दा प्रयोग गरिने मुद्रामा हामीतिर फर्केको छ । क्यामराम्यानले त्यो शालिकलाई खूब ध्यान दिएर खिच्यो । त्यहाँबाट हामी भिडियो खिच्दै मन्दिरको ढोकामा पुग्यौँ । ढोकामा पुग्दा अचम्मको दृश्यपान गरियो । अन्य मन्दिरभन्दा अचम्मको मूर्ति प्रतिस्थापन गरिएको छ। राजेश हमाल जस्तो लामो कपाल भएको ढुङ्गाको मूर्तिले देवीको चरणमा स्पर्श गरेको छ । देवीले आफ्नो हात राजेश हमालको जुल्फीमा राखेकी छिन् । यो दृश्यलाई पनि क्यामराम्यानले बहुतै अच्छा तरिकाले  कैद गरे, क्यामरामा ।

मन्दिर बाहिरको तामापत्रमा लामो परिचय लेखिएको छ । जसमा यस्ता शब्दहरूको दान छ :

दुईतिर अजङ्गको पहाडले प्राकृतिक पर्खाल लगाइएको यो खोचमा एकदिन नेपालका महानायक राजेश हमाल भ्रमण गर्न आउँदा, उनको पाइला टक्क रोकियो । पैताला चाल्न खोज्दा ब्रेक लगाएको जस्तो पैताला चलेन । त्यसपश्चात् त्यहाँ एउटा आकाशवाणी भयो । त्यो आकाशवाणीमा देवीले भनिन्, `राजेश तिमी यो देशको सुपरस्टार हौ । मैले वर्षौँदेखि तिमीलाई कुरिरहेकी थिएँ । यो ठाउँमा दैवीशक्ति छ । यदि यो ठाउँमा पूजाआजा गरियो भने म प्रसन्न भएर सबैलाई वरदान दिनेछु । यहाँ एउटा मन्दिर स्थापना गर्नू । सबैको कल्याण हुनेछ ।´

आकाशवाणी राजेश हमालले सुनिसकेपछि राजेश हमालले गाउँका सबैलाई भेला पारेर मन्दिर बनाउन सहयोग गरे । राजेश हमालले मन्दिर बनाएको भोलिपल्ट नै राजेश हमालले महानायकको पदवी प्राप्त गरेको खबर आयो ।  त्यसैले यहाँ मागिएका सबै कुरा पूरा हुन्छ भन्ने विश्वास गरिएको छ ।

यो ताम्रपत्रमा लेखिएको आधुनिक किंवदन्ती पढिसकेपछि काठमाडौंमा चलेको हल्ला याद आयो । राजेश हमालले पत्ता लगाएको देवीस्थान मन्दिर दर्शन गर्न जानुपर्छ भन्ने खबर भाइरल भएको थियो । मलाई मेरो एडिटरले पनि यहीँ स्टोरी कभरेज गर्न यहाँ पठाएका थिए । राजेश हमालले पत्ता लगाएको मन्दिर भएकोले नै यहाँका सबै व्यवसाय र स्थानको नाम राजेश हमालको नामबाट राखिएको भन्ने कुराको मलाई प्रष्ट अनुमान भयो ।

हामी भोकाएकोले राजेश हमालको भोक छुमन्तर रेष्टुरेन्टमा प्रवेश गर्‍यौँ । रेष्टुरेन्टका सहयोगी हामी बसेको टेवलमा आएर एकै सासमा भने, राजेश हमाल मोमो, राजेश हमाल चाउमिन, राजेश हमाल छोलेपुरी, राजेशको पकौडा, राजेशको आलु समोसा, के खाने दाइ ?´

हामी ट्वाल्ल पर्‍यौं । मैले अर्डर गरें, `भाइ राजेशको दुई पिलेट मोमो ल्याऊ ।´

हामी राजेशको मोमो खाएर टन्न भएर अगाडि बढ्यौं ।

राजेशको पार्क यहाँको अर्को प्रसिद्ध घुम्ने स्थल बनेको रहेछ । हामी त्यतै लाग्यौँ ।

राजेश पार्कको मूलद्वारमा पुग्यौँ । जहाँ लेखिएको थियो, `रातो टीका निधारमा टलक्क टल्कियो ।´  हामीले टिकट काटेर भित्र प्रवेश गर्‍यौँ ।

पार्क यहाँ आउने दर्शनार्थीको लागि फोटो खिच्ने, घुम्ने, पिङ खेल्ने, पिकनिक खाने, आराम गर्ने आदिको लागि राम्रो स्थान बनेको रहेछ ।

पार्कको एउटा स्थानमा पानबुट्टे आकारमा लेखिएको छ,  `आइ लभ राजेश हमाल ।´ त्यहाँ सेल्फी हान्ने र फोटो खिच्ने जमातको भीड देखिन्छ । राजेश दाइको झुलामा पनि उस्तै भीड छ । राजेश दाइको चर्के पिङमा राजेश हमालको फोटो जताततै रङ्गिएको छ ।

यो गाउँमा राजेश हमालको यस्तो विधि सम्मान र चर्चाले मेरो मनमा खुलदुली भयो । मलाई यहाँको भित्री रहस्य जान्न मन लाग्यो । यहाँ राजेश हमाललाई देवातालाई भन्दा बढी मानेको देखेर मलाई रहस्यको उद्घाटन गर्ने उत्कट चाहना भयो । हामीले आजको दिन राजेश दाइको शङ्कर गेष्ट हाउसमा बस्ने निर्णय गर्‍यौँ । होटलको कोठा भित्र पस्दा त्यहाँ कोठाभरि राजेश हमालको फिल्मका पोस्टर छन् । दायाँपट्टि अल्लारे, बायाँतर्फ पृथ्वी,  सिरानीमा राजेश हमालकै फोटो सिरकमा राजेश हमाल निदाएको फोटो प्रिन्ट छ । राजेश हमालको यो क्रेजीनेस देखेर म अचम्म परेको छु ।

 

****

सूर्य उठिसकेको छ, पहेलो सयपत्री झैँ । हामी एकछिन बार्दलीमा बसेर सूर्यस्नान गर्छौँ । आज गाउँ डुल्ने मेरो इच्छा छ । राजेश हमालको यो गाउँ घोप्टेभीर हुँदाको कथा पत्ता लगाउनु छ । बिहानको खानालाई डाउनलोड गरेर हामी गाउँतर्फ लाग्छौँ। यो गाउँको बारेमा सबैभन्दा बढी थाहा भएको व्यक्तिको खोजी गर्दा होटल साहुले घोप्टेभीरको राजेश हमालको नाम लिएका थिए । होटल साहुले भनेका थिए, ‘घोप्टेभीरको राजेश हमाल यो गाउँमा सबैभन्दा मान्यगन्ने हो । उसले आजभन्दा ३० वर्ष अगाडिदेखि राजेश हमालको जय जय गर्दै हिंडेको छ । उसको वास्तविक नाम हरि थापा हो । पछि उसको लवाइखुवाइ सबै राजेश हमालको नक्कल हुन्छ । ऊ बोल्दा पनि राजेश हामलको शैलीमा बोल्छ । उसले राजेश हमालको डायलग नबोली संवाद नै शुरू गर्दैन । यति कुरा सुनिसकेपछि घोप्टेभीरको राजेश हमालाई भेट्न म झन आतुर भएँ । हामी ऊ बस्ने ठेगानामा लाग्यौँ ।

होटल साहुले भने बमोजिम उसको घरको ठेगना पत्ता लगायौँ । उसको घरको भित्ताभरि राजेश हमालको चित्र छ ।  ढोकामा राजेश हमालको  आकृतिको काष्ठकला कुदिएको छ । मैले अवाज दिएँ, `कोही हुनुहुन्छ घरमा ?´

एकजना राजेश हमालकै कदको मान्छे बाहिर निस्कियो । उसको हुलिया राजेश हमाल जस्तै छ ।  लामो कपाल । जिन्स पाइन्ट, भित्रबाट कालो टिसर्ट अनि बाहिरबाट लेदरको ज्याकेट । हामी नजिक आएर जुल्फी मसार्दै गीत गायो , ` आँधीले रोक्न सक्दैन, बाडीले छेक्न सक्दैन, यो कुन फिल्मको गीत हो ?´

मैले अकमकाउँदै भनेँ, `हामी तीन भाइ ।´

उसले भन्यो, `गलत जवाफ, युगदेखि युगसम्म फिल्मको गीत हो ।´

मैले भनेँ, ` ए ! हो त है, पोलेर खाएछु ।´

उसले फेरि फिल्मी स्टाइलमा, `शङ्कर हुँ म शङ्कर ! यो कुन फिल्मको डायलग हो ।´

मैले भनेँ, `यो त शङ्करकै होला ।´

उसले भन्यो, `ल ठीक छ, सही जवाफ । अब भन्नुहोस् के कामले पाल्नु भयो ?´

मैले अडकल काटिसकेको थिएँ । यस्तो फिल्मी मान्छे पक्कै पनि घोप्टेभीरको राजेश हमाल नै हुनुपर्छ ।

मैले भने, हामी हजुरको दर्शन गर्न नै आएका हौँ । यो गाउँको डकुमेन्ट्री बनाउन आएका हौँ । यो गाउँको डकुमेन्ट्री बनाउन तपाईंविना त सम्भव नै छैन भन्ने थाहा पायौँ । अनि तपाईंलाई भेट्न आयौँ ।´

उसले फेरि फिल्मी पारामा गीत गाउँदै जवाफ दियो, `तीनपाते डाँडा काटेर, ए ! त्यसो भए त्यत्रो डाँडा काटेर त्यसको लागि पो आउनुभयो । भन्नुहोस् के सहयोग गरूँ ?´

उसले हामीलाई बगैँचामा भएको कुर्सीमा बस्न आग्रह गर्‍यो । आफू पनि बस्यो । मैले भनें, `हामी तपाईंको अन्तर्वार्ता लिन चाहन्छौँ । के तपाईं तयार हुनुहुन्छ ?´

उसले भन्यो, `ए ! अच्छा अन्तर्वार्ता तर पूरै राजेश हमालको जस्तो हुनुपर्छ नि । अनि टिभीमा पनि आउन पर्छ ।´

मैले भनेँ, `पक्कै पनि अन्तर्वार्ता राजेश हमालको जस्तै हुनेछ । टिभीमा पनि प्रसारण हुनेछ ।´

घोप्टेभीरको राजेश हमालले भन्यो, `त्यसो भने म कोर्ट पाइन्ट लगाएर आइहाल्छु ।´

ऊ भित्र गएर कोट पाइन्टमा टिपटप बनेर आयो । जुल्फीलाई हातले हल्लाउँदै भन्यो, `ल शुरू गरम् । यो रातै रमाइलो यो साथै रमाइलो, यो कुन फिल्मको गीत हो ?´

मैले मन्टो हल्लाउँदै भने , `थाहा छैन ।´

हैट ! यति पनि थाहा नहुने । तपाईं के अन्तर्वार्ता लिनुहुन्छ ।

मैलै हाँस्दै भनेँ,`म राजेश हमाल परिनँ नि ! तपाईं पो राजेश हमालको ग्रेट डाइहार्ट फ्यान त ।´

ऊ मख्ख पर्‍यो । अन्तर्वार्ता लिन सजिको बनाउन म मान्छेहरूलाई यसै गरी मख्ख पार्ने गर्छु ।

क्यामराम्यानले क्यामरा सेटअप गर्छन् । मैले एउटा माइकलाई उसको सर्ट भत्रबाट घुसाएर कलरनेर अड्याउँछु, अनि अर्को माइक मेरो टिसर्ट भित्रबाट घुसाएर टिसर्टको गोलाकार कलरमा अड्याउँछु ।

म प्रश्न सोध्छु, `यो गाउँ राजेश दाइको गाउँ बन्नुपूर्व घोप्टेभीर थियो, घोप्टेभीरको कथा सुनौँ न ?´

घोप्टेभीरको राजेशले जुल्फी मसार्दै डायलगबाट जवाफ शुरू गर्‍यो, `नेपाल पहिलेको नेपाल रहेन त्यो मलाई थाहा छ तर राजेश अझै त्यहीँ राजेश हो । घोप्टेभीर पहिला घोप्टे नै थियो । यहाँ त घामका किरणलाई पनि चट्टानको भीरले छेकिदिन्छ । न गाडी आउने बाटो बन्यो न त बिजुलीको उज्यालो नै मिल्थ्यो । स्कुल पढ्नलाई दुईवटा पहाडको पाउँदेख शिर पार गर्नुपर्थ्यो ।

बोल्दाबोल्दै अचानक पूरै आक्रमक शैलीमा घोप्टेभीरको राजेशले पोज दिंदै भन्न थाल्यो, `तँ जस्तो पाजी जबसम्म यो गाउँको काजी हुन्छ, म हुँदासम्म तेरो हार अनि हाम्रो सधैँ बाजी हुन्छ ।´

बेलाबेला राजेश हमाल जस्तै डायलग नहानी बोल्नै सक्दैन, घोप्टेभीरको राजेश हमाल । डायलग हानेपछि फेरि कहानी शुरू गर्‍यो, `गाउँ यति साह्रो पिछडिएको थियो कि सामान्य झाडापखालाले पनि आकाशको यात्रा गर्न पाइन्थ्यो ।´

अनि मलाई सिधै कुरोको चुरोमा आउन मन लाग्यो र सोधेँ, `यस गाउँमा राजेश दाइको भ्रमण कसरी भयो ?´

उसले पूरै गाउँ थर्काउने गरी भन्यो, `हे जबजब धर्तीमा अन्याय र अत्याचार हुन्छ, तबतब यो राजेशले अवतार लिन्छ । गाउँमा बिजुली नभए पनि मैले जेनेरेटर किनेर टिभीबाट गाउँमा फिल्म देखाउने काम गर्थेँ । त्यसमा अत्यधिक त राजेश दाइकै फिल्म देखाइन्थ्यो । गाउँलेहरू राजेश दाइको फिल्म ५० पटक हेर्दा नि थाक्दैनथे । यो सारा गाउँ राजेश दाइको क्रेजी फ्यान हुन थाल्यो । म त राजेश दाइको पूजा नै गर्छु । मेरो व्यवसायले गाउँलेलाई थोरै भए पनि मनोरञ्जन दिन थाल्यो । अन्याय विरुद्ध लड्ने हिम्मत दियो । पाँच सय ऋण लिएकोलाई पचास हजार बनाउने साहुहरूलाई त राजेश हमाल किक हान्न थाले । राजेश दाइको ठेगाना पत्ता लगाएर मैले हजारौँ चिठ्ठी लेखिसकेको थिएँ । त्यहीँ चिट्ठीमा मैले सधैँ घोप्टेभीरमा निमन्त्रणा गर्थेँ । त्यसपछि एकदिन अचानक हाम्रो गाउँमा अवतार बनेर आउनुभयो  । अनि त चमत्कार नै चमत्कार भयो । घोप्टेभीर, राजेश दाइको फिल्म जस्तै सुपर हिट भयो । जय राजेश दाइ । हे… तेरो आँखा निकालेर गुच्छा खेल्दिऊँ ।’

खङ्ग्रङ्गै पर्यौं हामी उसको डायलगले । अब यो गाउँमा बुझ्न पर्ने मोटामोटी कुरा सकियो । अब अन्तिम भेट राजेश हमाललाई गरेपछि मात्र घोप्टेभीरको वास्तविक रहस्य खुल्ने कुरा मलाई लाग्यो ।

घोप्टेभीरको राजेशलाई मैले अन्तर्वार्ता सकिएको जानकारी दिएँ । उसले अनुरोध गर्‍यो, `दुईचारवटा राजेश हमालका फिल्मका डायलग भन्छु, त्यसलाई खिच्दिनू है ।´

मैले नाइँ भन्न सकिनँ । क्यामराम्यानलाई भिडियो लिन सङ्केत गरेँ । उसले लगातार हाउभाउसहित राजेश हमालको शैलीमा केही डायलग भन्न थाल्यो ।

-आगोलाई छुने प्रयास नगर, टाढैबाट हेर, पोल्न सक्छ ।

-सज्जनको लागि राम, दुर्जनको लागि हराम ।

– तँ जस्तो सिनो खाने गिद्धले, सिंहको सिकार गर्ने सपना छोड्दे ।

– नो टल्क नो कोइसन, फैसला अन द स्पट ।

– भुक्ने काम त तँ जस्तो कुकुरको हो र जुन कुकुरले भुक्छ त्यसले टोक्दैन ।

फटाफट यो डायलग भनेपछि हामीले घोप्टेभीरको राजेशलाई आभारका शब्द प्रकट गर्दै बिदा माग्यौँ ।

****

हामी काठमाडौं फर्किने निर्णय गर्‍यौँ । होटलमा पुगेर ब्याग प्याक गर्‍यौँ । बाइकको कान बटारेर राजेश दाइको फिल्मको गीत आफ्नै गाउँ फर्की आएँ गुनगुनाउँदै  अगाडि बढ्यौँ ।

मलाई काठमडौं पुग्न हतार भएको छ । अब राजेश हमाललाई भेटेर सबै कुरा नखोतली मलाई चित्त बुझ्ने छैन । मैले बाइकको एक्सेलेटरको कानलाई बटारेर चरम बिन्दुमा पुर्‍याएँ । बाइक १०० प्रतिघण्टाको  रफ्तारमा चितुवा झैँ दौडेको थियो । मेरो मनमा ठ्याक्कै याद आयो कही पढेको थिएँ, चितुवा पनि प्रतिघन्टा सयको रफ्तारमा कुद्छ भनेर । मैले आफूलाई चितुवा नै सम्झिन थालेँ । यतिकैमा पछाडि मसँग सवार गर्ने चितुवासारथीले भन्यो, `हेल्लो सर साइडमा रहेको ट्राफिक सावधानी सूचनामा त आँखा पुर्‍याउनुहोस् । त्यहाँ लेखिएको छ, बिस्तारै जानुहोला आफन्तले तपाईंलाई पर्खिरहेका छन् ।´

मैले भनेँ, `आफन्तले पर्खिरहेका छन् र त, उनीहरूको पर्खाइलाई छोटो बनाउन, चितुवा राइड गर्दै छु ।´

क्यामराम्यानले जवाफ दियो, `त्यो त ठीक हो कि सर तर उनीहरूको पर्खाइ जिन्दगीभरको पर्खाइ भयो भने त बित्यासै हुन्छ नि ।´

मलाई यो कुराले एकदम छोयो, `हो त क्याबात गर्नुभयो, म अब बाइकको स्पीड चितुवाबाट घटाएर, कुकुरराइडमा झार्छु ।´

हाइवेको खानाले होला मेरो र क्यामराम्यान साथीको पेट गडबड भयो । साथी रू दश तिरेर सार्वजनिक पाइखानामा मल विसर्जन गर्न गयो । म पनि यही सोचको साथ शौच गर्न गएँ तर पाइखाना पुग्दा मलद्वारबाट आउन पर्ने ठाउँमा मुखद्वारबाट आउला जस्तो भएर मैले यो शौचको कामलाई साँचो लगाएर राखिदिएँ । बाटोमा बाइक कुदाउँदै गर्दा, पेट कटक्क खायो । अनि फसाद परिगो । बाइक रोकेर जङ्गलमा  पिउन किनेको मिनरल वाटर लिएर  झाडीतर्फ लागेँ । बाइक १०० को गतिमा चलाउँदा आफूलाई चितुवा सम्झेको मैले, जङ्गलको झाडीमा शौच गर्दा झन् चितुवा नै सम्झेँ, मनमनै सोचेँ कुनै दिन मैले विसर्जन गरेको मल भएको जग्गामा चितुवाले पनि शौच गर्‍यो होला ।

म पाइन्ट तान्दै आएँ । क्यामराम्यान साथीले भन्यो, `अरे यार सर ! तपाईंभन्दा मै बुद्धिमानी, मैले १० तिरेर पाइखानाको काम गरेँ, तपाईंले त पूरै २० रुपैयाँको मिनरल वाटर खर्च गरेर शौच गर्नुभयो । मैले १० रुपैयाँको फाइदा गरेँ ।

मैले भने, `यो राजेश दाइको पाइखाना हो । अलि महँगो त भैहाल्छ नि ।´

फेरि हामी दुवै यसरी हास्यौँ कि लाग्छ जङ्गलको चितुवाले पनि जागेर ट्वाल्ल हेर्‍यो होला ।

*****

काठमाडौं पुगेर एकदिन आराम गरियो । अर्को दिन म र क्यामराम्यान सहकर्मी राजेश दाइको घरतर्फ लाग्यौँ ।

राजेश दाइलाई समय मागेको थिएँ । उहाँले करीब आधा घण्टाको समय हामीलाई उपलब्ध गराउनुभयो । राजेश दाइको घर पुगियो । उहाँले हामीलाई पर्खिरहनु भएको रहेछ । मैले क्यामराम्यानलाई क्यामरा रेडी गर्न लगाएर प्रश्न गर्न थालेँ ।

– तपाईंसँग घोप्टेभीर कसरी राजेश दाइको गाउँ बन्यो भनेर बुझ्न आएको हो । तपाईंलाई देवीले भनेको कुराले त्यहाँ मन्दिर निर्माण भएछ । के तपाईं जत्तिको मान्छे पनि यस्तो अन्धविश्वासमा विश्वास गर्नु हुन्छ ? के तपाईंले साँच्चिकै देवीको आकाशवाणी सुनेको हो ?

– हेर्नुहोस् घोप्टेभीरमा हाम्रो सरकारको नजर कहिल्यै परेन । जब म त्यहाँ पुगेँ । त्यहाँको गरीबी देखेर विक्षिप्त भएँ । मोटर जाने बाटोसम्म छैन । बिजुलीले त पारपाचुके गरेर बसेको थियो । शिक्षाको लागि त्यस्तै समस्या । आजको युगमा पनि त्यो गाउँ अठारौँ शताब्दीको जस्तो दुःख सहेर बसेको देखेँ । जसले गर्न पर्ने हो उसले त गरेन । मलाई त्यहाँका गाउँलेले असली हिरो नै मान्ने रहेछन् ।

मैले फिल्ममा जस्तै त्यो गाउँको सबै दुःख पलभरमै निर्मूल पार्दिने आशा गाउँलेको आँखामा देखेँ । म वास्तविक हिरो होइन, फिल्ममा झैँ अचानक सबै कुरा ठीक गरिदिने । मैले आइडिया लगाएँ कसरी त्यो गाउँको विकास गर्न सकिएला भनेर मेरो दिमागमा तत्काल क्लिक भयो एउटा अनौठो आइडिया । हामी नेपालीहरू देवीदेउतालाई असाध्यै मान्छौँ । कुनै प्रश्न गर्दैनौँ । मैले देवीको आकाशवाणीको कल्पना गरेँ ।

यदि त्यहाँ एउटा शक्ति भएको मन्दिर निर्माण गरेर प्रचारप्रसार गरियो भने पक्कै पनि गाउँमा अधिराज्यभरका मान्छे दर्शनको लागि आउन सक्नेछन् । भारतबाट पनि धर्मावलम्बी आउन थाल्नेछन् । त्यसैले मैले त्यो नाटक रचेँ । नभन्दै म पब्लिक फिगर भएकोले यो कुरा हावामा फैलियो । गाउँमा मन्दिर बन्यो । बाटो बन्यो । गाउँलेले रोजगारी पाए । विद्युत आपूर्ति हुन थाल्यो । गाउँ कायापलट भयो । आज गाउँ आत्मनिर्भर छ । गाउँले खुसी छन् । मैले जे गरेँ गाउँको विकासको निमित्त गरेँ । कुनैकुनै झूटहरूको परिणाम असल पनि हुने रहेछ ।

– तपाईं गाउँलेको लागि तपाईंको फिल्म देउताको देउता झैँ बन्नुभयो । अब यो कुरा बाहिर आयो भने तपाईंको प्रतिष्ठामा आँच आउला भन्ने डर लाग्दैन ?

डर किन लाग्नू । गाउँ विकास भयो । सत्कर्म गरेको छु । यसको परिणामको लागि म तयार छु ।

यति कुरा गरिसकेपछि राजेश हमालले हामीलाई दिएको समय सकियो । हामी घरतर्फ लाग्यौँ ।

मैले भोलि डकुमेन्ट्री बनाएर अफिसलाई बुझाउनु पर्छ । राजेश दाइले देवीको आकाशवाणीको झूटो कुरा बाहिर ल्याएँ भने त्यो गाउँको जुन विकास छ फेरि विनासतर्फ लाग्ने कुरा अनुमान लगाएँ । मलाई राजेश दाइले भनेको कुरालाई जनतासामु ल्याउन मन लागेनँ । हाँसिरहेको गाउँलाई फेरि रुवाउन मन लागेनँ । मैले राजेश दाइको संवादलाई काटेर डकुमेन्ट्री समापन गरेँ ।

****

केही दिनपछि डकुमेन्ट्री सार्वजनिक भयो । भिडियो हेरेपछि राजेश दाइको गाउँको चर्चा झन् चुलियो । त्यहाँ दर्शन गर्न जानेको भीड अत्यधिक बढ्न थाल्यो । मैले सत्य कुरा लुकाएर एउटा असल काम गरेँ । मेरो पत्रकारिताको इथिक्सभन्दा बाहिर गएर सो काम गरेको भए पनि यसले मलाई कहिल्यै पोलेनँ ।

सरकारको आँखा नपरेको त्यो गाउँलाई राजेश हमालको आइडियाले समृद्ध बनाइदियो । राजेश दाइ साँच्चिकै महानायक लाग्यो । नेताले भन्दा अभिनेताले यो देशको विकास गरिरहेका छन् । अचेल त वामपन्थी नेता पनि उक्त मन्दिरमा चुनाव जित्नको लागि भाकल गर्न थालेको समाचार पनि सुन्नमा आउँछ ।

मोबाइलको घण्टी बज्यो । राजेश दाइको कल रहेछ । उठाएँ, `हेल्लो।´

– भाइ केही राजले मनमा राज गर्छन् भने त्यो राज नै रहन दिनपर्छ । धन्यवाद ।