कोही दिनको बोली कोही दिनको गोली भने जस्तो आज गाउँबूढेनी आमैले मुखको मूला खाइन् । लगभग तीस वर्ष बितेर गएछन । कालिखोलाको पानी उत्तिकै बगिरहेको छ । फरक यति मात्र छ उसवेला खोलाको पानीमा अनुहार देखिन्थ्यो, अँजुलीमा उघाएर घटघट पिउन सकिन्थ्यो, स्वच्छ सफा थियो ।

तर आजभोलि खोलाले दिन प्रतिदिन बढ्दै गइरहेको फोहोर र मैलोले कालिखोलाको अनुहार रङ्गरूप र गुणहरू हराएर आफ्नो अस्तित्व गुमाउँदै गइरहेको अवस्थामा छ । यही कालिखोलाको किनारमा अवस्थित गाउँमा पुस्तादेखि पुस्ता गाउँबूढाको हैकम जमाउने यो घर गाउँबूढाको घर । गाउँलेहरूले  सबै कुराको हाकाहाकी न्यायनिसाफ पाइने ठाउँ, यहीं घर हो । तर समयको फेरबदलले यो घरको अवस्था अघिको जस्तो रहेन । यो घरको र कालिखोलाको हाल उस्तैउस्तै हो जस्तो लाग्छ । किनभने यो जीवनमा यस्तो दिन पनि आउला भन्ने कुरा गाउँबूढेनी आमैको मनपेटमै थिएन । तर दैवको लाठी बज्रमुक्का, पाउनुपर्ने हुँदा एउटै जुनी धेरै लामो हुँदोरहेछ भन्ने चोट पनि यसबेला आमैलाई थाहा भयो । किनभने, धने मास्टरले नौकरी पाएको हर्षमा आमैलाई रसगोला खुवाउने र पालाकोपैंचो तिर्ने मौका छोपेको कुरा यस घडीमा उनको घटेसीमा पासाको डोरी कसिए झैं मजाले कसियो ।

हुन पनि उसवेला गाउँबूढाको घर परिवारमा निकै चहमह थियो  । गाईमा गाईगोठ, भैंसीमा भैंसीगोठ, जताततै रोपनी जग्गा, काम गर्ने कामदार, खेताला गोठालाको आउजाउ छँदै थियो । त्यति भएन गोदाममा थन्किएका धान, गहुँ, तोरी र पाटा, नयाँ खरिद र भाउ बढेपछि नाफा कमाउनेको ठूलो महाजनी कारबार सधैं चलेको हुन्थ्यो । यसमा पनि दैनिक भने जस्तो नयाँ नयाँ व्यापारी, पैकारीको लहनतहन लागिरहने । चियाको चुलो कुनै दिन खाली हुनै नपाउने । एकपछि अर्को कित्ली चिया अगेनामा चढेकै हुन्थ्यो । यस्तै थियो गाउँबूढाको कारोबार ।
तर गाउँबूढाले बिहे गरेका धेरै वर्षसम्म जेठीबूढी पट्टि छोरीछोरी मात्रै जन्मिएको हुँदा, वरपरका कुराको पुष्टि स्वरूप गाउँबूढाले अर्की राम्री चन्काली कान्छी श्रीमती ल्याएको हो ।

नभन्दै  दश वर्षमा पाँचभाइ छोरा जन्माएर जेठीको भन्दा धेरै माया र आदर पाएकी हुन् चन्द्रीले । उनी त्यसै माइतीघर देखि नै पनि अलिक मै हूँ स्वभावकी हुन्  । गाउँघरमा घुसघुसे आइमाईहरू छुच्ची चन्द्री महाजननी भन्थे । त्यहीं माथि धनसम्पत्ति र सबै कुराले पुगिसरी आएको हुँदा, चन्द्री निकै चढेर बोल्ने, होच्याएको व्यवहार गर्ने स्वभावकी हुन् । अलिक निमुखा गरीबगुरुवा र गाउँलेलाई होच्याउने कुरा उनको लागि कुनै ठूलो कुरा थिएन ।

उनको रवाफ देखाउने स्वभावमा चर्चा गरिनुपर्ने कुरा के थियो भने, गाउँघरमा यदाकदा छोराछोरी जन्माउने आइमाईले कसले छोरा जन्माए, कसले छोरी जन्माए त्यसको खुटखबर राख्ने । त्यसमध्ये कसैलाई भोटा कपडा दिने, कसैलाई के दिने, कुनै सुत्केरीलाई घरमा बोलाएर, मज्जाले भात खुवाएर पठाउने खालको रवाफ देखाउने जस्तो काम गर्न ऊ सधैं तम्सिएको जानिन्थ्यो । यस्ता कुरामा गाउँबूढा महाजनको पट्टिबाट पनि उनलाई कुनै कुरामा छेकथुन थिएन, आइमाई सर्किन पाउँदा त्यस्तै हो भन्ने कुरा गाउँबूढाले मनमा थिचेर राखेको थियो ।

कालिखोला बगे झैं समय अविराम बगिरहेको छ । अविकेश्वर बराल शुरूदेखि गाउँबूढाको छिमेकी । पर-पैंचो, साटो-फेटो, साह्रो-गाह्रो सबै कुरामा सहभागिता जनाउने । धनको कमी भए पनि अविकेश्वर विद्वान र बुद्धिका धनी थिए । कोट-कचहरी अड्डा-अदालतमा उनले बोलेपछि फिक्का नपर्ने, अरूको केही नचल्ने । हुन पनि अविकेश्वर अघिका दिनमा पाँच कक्षासम्म पढेका ।  अंग्रजी पनि फट्याकफुटुक काम चलाउने खालका । ज्ञानवुद्धितिर हेर्दा अविकेश्वर बराल गाउँबूढा भन्दा कम्तीमा दाँजिने मान्छे होइनन् । उमेरले केही वर्ष सानै भए पनि तिखा र सबैको काम लाग्ने मान्छे हुन् भनेर सबैले मानेका छन् ।

अलि उमेर ढल्केको बेला यिनै अविकेश्वरकी स्वास्नी रेवतीले एक्कासि छोरो जन्माइन् भन्ने कुराको हल्ला फिंजियो । चन्द्री महाजननीको चासोको विषय हुँदा छिमेकीको यस्तो कुरा नसुन्ने कुरै थिएन ।  उनका  दुईचार कुरौटे आइमाई,  हन्बेर्ना जस्तै छँदै थिए । तिनीहरू मार्फत उनले बाहिरबाहिर सुनेकी रहिछन्, ‘छ्या हउ ! यस्तो उमेरमा रेवतीले छोरो जन्माइन्, तर खोइ त्यो त साह्रै सानो पातलो, घाँटीको किलकिले मात्रै देखिने, बुढेसकालको रहर जस्तो मात्र, एकै मुठीको पनि छैन । खोइ कस्तो हो कस्तो, मान्छेको बच्चो भन्नु कि नभन्नु जस्तो लाग्छ ।’

चन्द्री महाजननीलाई यस्तो समाचार सुनाइयो । यस्तो सुनेपछि, चन्द्री महाजननीलाई ‘त्यो नानीको नुहारण कहिले सकिन्छ र चोखिएकी रेवतीलाई भात खुवाउने निहुँमा बोलाएर तिनले पाएको त्यो नानी हेरूँ भन्न’ मनमा कौतूहल जागेको थियो । चिताए अनुसार महाजननीले एकदिन  सुत्केरी ख्वाउने भनेर रेवतीलाई घरमा बोलाइन् ।

धेरै टाढा बाटो नहुँदा रेवती नानी चेपेर गाउँबूढाकोमा हिंडेरै गइन् । नानाथरी खाद्यान्न परिकार समेत भात, पानी खाई सकेपछि, बसेको बेला नानी देखाउन लगाइयो । थांना भित्रबाट नानी देखाउँदा, ऊ छक्क पर्दै भनिन्, ‘होइन यो त के काम आउला र रेवती ! मान्छेको बच्चो जस्तै छैन, लु है तिमीले नानी पाउने भएर बिथ्थामा दुख्ख पाइछौ । यो न्याउरीमुसो पर्तिर खाल्टोमा फाले पनि हुन्छ, यो कहाँ मान्छे हुन्छ र..?’

आफ्नो नवजात शिशुलाई यसरी खाल्टोमा फालिदेऊ भन्दा रेवतीको मुटु कलेजो निचोरिएर आयो, उनको भावनाको ब्रह्माण्ड चर्कियो । यस्तो सुनेपछि मनमनमा चिसो चेपेर आयो – यिनले दिएको भात किन खाएछु, विष सरी भयो । च्यो दिन कहिल्यै बिर्सन सकेकी छैनन् । त्यस दिनदेखि यता कुनै दिन रेवती गाउँबूढाको घरमा गएकी थिइनन् । किनकि उनको मातृत्वमा ठूलो चोट पर्नु स्वाभाविकै थियो ।

कालिखोलाको पानी बगिरहेको छ । दिनदिनै अविकेश्वर र रेवतीको त्यही न्याउरीमुसो भनेर गिल्ला गरेको छोरो धने लुते भए पनि चोटिलो र पोटिलो भएर बढ्दै गइरहेको थियो । रेवती मनमा शान्ति अनुभव गर्दछिन् । चन्द्री महाजननीले कुनै समयमा धनेश्वर बारे यति सारो होच्याएर उसकी आमालाई तिरस्कार गरेको कुरा, धने ठूलो भएपछि, कुनै प्रसङ्गमा आमाले अरू कोही आत्मीयसँग रुँदै भनेको सुनेको हो ।

यस कुराले धनेलाई लेखाइपढाइ गर्न अझ प्रेरणा दिने गर्दथ्यो । हुन पनि धने सानो रहँदा  रेवतीले हरेक दुःखकष्ट खेपेर त्यस नानीको पालनपोषणमा कुनै कमी हुन दिइनन् । समयमा सुन्दर शान्त स्वभावको त्यही न्याउरीमुसाको अवयव भएको छोरो धने, टाठोबाठो र पढाइमा सबै भन्दा अब्बल दर्जाको भएर निक्लियो । ग्रामीण संसार उत्तिकै सक्रिय पाराले चलिरहेको थियो, जसरी समय कालिखोलासँगै बगिरहेको थियो ।

अकस्मात् एकदिन मध्यरातमा एक्कासि बन्दुक पड्केको, कुटामारी भएर कोकोहोलो मच्चिएको आवाजले सबै गाउँले स्तब्ध भए । निकै गमेर कुरा बुझ्दा गाउँबूढाको घरमा डाँका लागेको रहेछ । डाँकाले सबैलाई कुटपिट र लुटपाट गर्नुका साथै डाकासँग लड्डि गर्ने हुँदा गाउँबूढाको छातीमा गोली लागेर ठाउँको ठाउँ ढलेको समाचार आयो । कस्तो नचिताएको नमीठो, अमिलो समाचार । यो घटना पछि सबै गाउँले र वरपर नातागोता समेत गाउँबूढाको घरमा खोजीनिती गर्न आउन थालेको हो ।
रेवतीको पनि चित्तले थामेन । त्यस दिन चन्द्री महाजननीलाई सान्त्वना दिन ऊ पनि गाउँबूढाको घरमा धेरै वर्षपछि गएकी हुन् । पति वियोगमा सन्तप्त भएकी चन्द्रीलाई, जीवन युद्धमा धैर्य लिनुपर्दछ, समयमा सबै ठीक हुँदै जानेछ भनेर आफ्नो घर फर्केर आएकी हुन् ।

गाउँबूढाको घरमा भएको त्यस घटना माथि ठूलो अड्डा अदालत भयो । धेरै वर्षसम्म मुद्दा चल्यो । चोर, डकाईत पक्राउ परे । जेल जरिमाना भयो । तर गाउँबूढाको सर्वस्व हरण भयो । मानौं मह भरिएको मौरीको चाको काढिएर खोस्टा रहेको जस्तो लाग्छ ।

गाउँबूढाका बलिया बाङ्गा छोराहरू पनि कुनै गोठमा, कुनै खेतमा र कुनै धान मकैको बेपारमा लागेर विद्या, शिक्षा लिनबाट टाढिए । समयको गतिलाई पछ्याउन नसक्दा पछि परे । त्यति भएन कुसङ्गतमा परेर कोही गँजडी, कोही रक्स्याहा यस्तै भए । यता मुद्दामा सबै सम्पत्ति स्वाहा भैसकेको हो । छोराहरू कोही दिल्ली र कोही दक्षिण भारतमा कम्पनीको काम गर्न थाले । यस्तै प्रकारले समयको खडेरीले गाउँको उज्यालो र चहमह भएको गाउँबूढाको घरमा अँध्यारोले गुँड बनायो ।

अन्त्यमा त्यही पुरानो बूढो टहरे घर साक्षी रहेको र त्यसभित्र चन्द्री महाजननी कनीकुथी बाँचेको अवस्था छ ।

यता  धने एकाग्र भएर पढेर एकदिन मास्टरको नियुक्ति पत्र पायो  ।  कति पुस्ता पछि गाउँमा मास्टरको जागीर पाउने शिक्षित व्यक्ति भए भनेर ठूलो खुशीयाली भयो । यो पहिलो मास्टरको उपाधि पाउने मान्छे नै धनेश्वर, यानि धने मास्टर । सबैको मास्टर काका ।
यस खुशीमा धनेले मास्टरीको पहिलो महिनाको तलब थापेपछि, जिल्लाको राम्रो होटलबाट गाउँघरका प्रायः आफन्त, इष्टमित्रहरूको लागि खाने कुरा मिठाई लिएर आयो । उसले चन्द्री महाजननीलाई पनि बिर्सेको थिएन ।

उसवेलाकी चन्द्री महाजननी के कसो थिइन् त्यो अलग्गै कुरा हो । तर  उसलाई सम्झना आयो । बूढी भइन् समयले सतायो । सबैको दिनकाल एउटै रहँदैन । धेरै सोचविचार पछि धनेले उनका लागि राम्रो  ऊनीको जाडोमा ओढ्ने दामिलो सेतो बर्को र मिठाइ लिएर गाउँबूढाको घरमा उपस्थित भयो आमै खोइ आमै भन्दै ।

को होला यता भित्रै आऊ नानी ! भनेर बोलाइन् । उमेरले होला हिजोआज आमै को हो के हो, आँखाले ठम्याउन नसक्ने भएकी छन् । कालिखोलाको पानी धमिलिए जस्तो समयको चोटले र पीर सन्तापले गाउँबूढेनी आमैका आँखा पनि उत्तिकै धमिलिएका छन् । बोले पनि यो को हो उनले सटीक निधो गर्नसक्ने अवस्था नरहेको थियो ।

धनेश्वरले पहिल्यै रसगोला खानोस् भनेर आमैको मुखमा रसगोला हालिदियो । धेरै दिनमा आमैले मीठोगरी रसगोला खाइन् । ‘आशीर्वाद छ नानी !’ उनले नियालेर हेर्दै भनिन्, ‘अलिक छेउमा आऊ न नानी, अनि कसको छोरा भनेऊ, यो रसगोला खुवाउने मान्छे को रहेछ ?’

‘म धने आमै ! अविकेश्वर बरालको छोरो ।’

‘ए, हेर कत्रो लाठे भएछ । उसवेला तेरी आमालाई यहाँ बोलाएर सुत्केरीलाई खुवाउँदा, एकदमै सानो, मान्छे हो कि होइन जस्तो थिइस्, क्याति जस्तो भनेर ठट्टा पनि गरेको सम्झना आउँछ । तर दैवको खटन, आज मास्टर जागिरे भएर तैंले हाम्रो गाउँ उज्यालो पारिस् बाबु, आशीर्वाद छ । विद्ये भनेको ठूलो कुरा रहेछ । धन सम्पत्तिको पछिपछि दगुरेर मात्रै नहुँदो रहेछ । तैंले राम्रो गरिस् बाबु । आज कति वर्षमा राम्रो कुरा सुन्न पाइयो ।’

थप कुराहरू गर्न थालिन्, ‘आमालाई कस्तो छ ? आमाबाबुको राम्रो हेरचाह गर्नुपर्छ । मैले समयमा भनेको कुरालाई मनमा नलिएस् भनिदिनु रेवतीलाई ।’

‘होइन नि आमै ! त्यो त कालिखोलामा बगेर गइगयो नि ।’

त्यसवेला आमैलाई थाहा भयो, यो त्यही न्याउरीमुसाले जागीर पाएर ल्याएको मिठाई हो अनि यो जाडोमा ओड्ने बर्को छ । चन्द्री महाजननीलाई झलझली सम्झना भयो- मेरा पाँच भाइ जौडे छोरा सबै रक्साहा जँड्याहा भएर को कहाँ पुगे । तर रेवतीको त्यो न्याउरीमुसो जस्तो पिउसो आज समाजमा एउटा राम्रो ओहदा भएको मास्टर जागीरे भयो । हेर दैवको लाठी । उनले जीवनको उपलब्धि गनिन, किन हो आँखाबाट एक धारो आँसु चुहाइन् । कसैले कसैलाई नमीठो शब्दले घोच्न नहुँदो रहेछ भन्ने चोट लागेछ क्यारे । धने आमैको छेउबाट बिदा मागेर घर फर्कियो ।

विश्वनाथ, असम ।