क्षितिज आज अफिसबाट छिट्टै कोठामा आएको छ । असार मसान्तपछि एक-दुई महीनासम्म इन्जिनियरको खासै काम हुँदैन ।
कोठामा पुगेर झोला हुत्त्याउँछ, अल्छी लागेर ड्रेस नफुकालीकनै ओछ्यानमा पल्टिन्छ । मोबाइलमा युट्युब खोल्छ; जसको स्क्रीनमा शुरूमै जगजित सिंहको गीत देखापर्छ; धेरैचोटि एउतै गीत सुनेर होला, युट्युबले मान्छेअनुसारको ‘प्ले लिस्ट’ तयार पार्दो हो । छ मिनेटको गीतको बीचको तीस सेकेन्डको भाग मात्र ‘लूप’ बनाएर सुनिरहन्छ ।
गीत बजिरहन्छ – ये किसने मुझे मस्त नजरो से देखा, लगे खुद-ब-खुद हि कदम लडखडाने ।
सयौं पटक त्यही गीतको मुखडा सुनिसक्दा पनि अझै उसलाई पुगेको छैन किनकि त्यो गीतको मुखडासँगै एउटी केटीलाई ऊ सम्झिरहेछ ।
उसले धेरै चोटि ती केटीलाई सामाजिक सञ्जालमा खोज्ने कोशिश गरिरहन्थ्यो किनकि उसँग मोबाइल नम्बर थिएन । आज पनि उसले एक चोटि ‘सर्च’ गरी हेरूँ न भेटी पो हाल्छ कि भन्ने आश राखेको छ । उसलाई केटीले आफ्नो नाम भनेको सम्झना छैन । थर चाहिं सम्झेको छ । नाम स बाट भनेको लाग्छ तर विश्वस्त छैन । आफ्नो भएसम्मको इन्जिनियरिङ बुद्धि लगाएर फेसबूक, इन्स्टाग्राम, टिकटक सबैतिर खोज्छ तर भेट्दैन । ऊ निराश हुँदै सोच्छ, “एक पटक मात्र भेट हुन लेख्या थियो कि क्या हो !”
—-
क्षितिजलाई जहिल्यै नयाँ-नयाँ कुरा हेर्न र बुझ्न मन लाग्थ्यो । केही समय अघिदेखि नेपालको पूर्वदेखि पश्चिमसम्म यात्रा गरूँ भन्ने सोच आइरहेको थियो तर समय जुरिरहेको थिएन । साथीसँग ‘ग्रुप’ बनाएर जान चाहन्थ्यो तर ‘ग्रुपमा’ जाने चक्करमा इच्छा इच्छामा नै रहने थियो । त्यसैले, ऊ एक्लै बाइकमा नै जाने निधो गर्यो त्यस दिन । मनमा हल्का डर थियो तर सोच्यो, “नेपाल नै त जाँदै हो । के अप्ठ्यारो होला र ! भए नि सबै आफ्नै मान्छे त हो, सहयोग गरिहाल्छन् नि !”
बिहानदेखि गरेको यात्रा त्यो दिन साँझ बुटवलको एक होटेलमा बस्दै सकियो । फेरि अर्को दिन बिहानै यात्रा शुरू गर्यो । पानी पर्लापर्ला जस्तो भएको भए पनि परी नै हालेको थिएन । बुटवल कटेपछि महेन्द्र राजमार्गको कालोपत्रे बाटोमा यात्रा गर्न सहज नै भैराखेको थियो ।
हिंड्दाहिंड्दै अचानक बाटोमा नेपाली सेनाले उसको बाइक रोक्यो किनभने पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दै गएकोले बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने महेन्द्र राजमार्गमा यात्रुलाई सुरक्षा दिन सेनाले ‘स्कटिंग’ गरेर मात्र सवारी साधन जान दिंदो रहेछ । सेनाको जवानले क्षितिजलाई निर्देशनात्मक आग्रह गर्यो, “एकछिन कुर्नुस् । अरू गाडीहरू नि आओस् अनि हामी स्कटिंग गरेर जङ्गल पार गराइदिन्छौ ।”
बिहानैदेखि नै बाइक चलाइरहेको कारण क्षितिज थाकेको थियो । उसलाई कतै एकछिन बस्न पाए नि हुन्थ्यो जस्तो भइराखेको थियो । यताउता हेर्यो, अलि पर दुई जना केटी एउटा बेन्चमा बसिराखेका थिए । जाऊँ कि नजाऊँ भयो ।
“थाकेको जीउ छ अनि साइड भएर बस्दा के फरक पर्छ र !” उसले सोच्यो ।
ऊ ती केटीहरूको नजीक गएर सोध्यो, “यहाँ बस्न मिल्छ ?”
“मिल्छ । किन न नमिल्ने हो र ?” फर्काई एउटीले ।
त्यहाँ बेन्चमा बसी क्षितिज अरू कुरा मतलब नराखी आफ्नै सूरले मोबाइल हेरेर बसेको जस्तो गर्यो ।
“तपाईं कहाँबाट आउनुभएको ? हेर्दा कर्मचारी जस्तो देखिनुहुन्छ त ।” क्षितिजले मतलब नराखेको देखेर अर्कीले कुरा गर्न खोजी ।
“म तराईबाट आ’को । महाकालीसम्म पुगूँ भन्ने छ । इन्जिनियर हो म ।”, क्षितिजले अल्छीलाग्दो पाराले जवाफ फर्कायो ।
“ए ! अनि एक्लै बाइकमा हिंड्नुभएको ? अप्ठ्यारो हुन्छ नि !” चिन्ता व्यक्त गर्न खोजी एउटीले ।
“अँ, एक्लै हिंडेको । हिजोबाट हो । के डर लाग्नु नि ? के उप्ठ्यारो हुने हो र ?” क्षितिजले निडरता देखायो ।
केटीहरू अनौठो मान्दै हाँसे ।
“अनि तपाईंहरू कहाँबाट आउनुभएको ? के गर्नुहुन्छ ? कहाँ पुग्न लाग्नु भएको हो ?” क्षितिजले खुलेर कुरा गर्न खोज्यो ।
“हामी सुर्खेतबाट आ’को । टिकापुर जान ला’को । आधा घण्टा भइसक्यो कुरेको । कतिखेर लाने हो ?” दिक्दार हुँदै एउटीले भनी ।
“खोइ मान्छेलाई बाघले मारेको मार्यै छ रे यता । त्यहीं भएर स्कटिंग गराएर लाने गरेका हुन् सेनाले ।” क्षितिजले सान्त्वना दियो ।
यतिकैमा सेनाले बीस-पच्चीस ओटा गाडी जम्मा भएपछि सबैलाई तयार हुन भन्यो । सबै आ-आफ्नो गाडीतर्फ लागे । ती दुई केटी आफ्नो स्कूटीमा चढ्न गए । आधा घण्टा जति लाग्दो रहेछ स्कटिंगमा । क्षितिजले अघि नै बेन्चमा बसिरहँदा ती केटीहरूले आफूलाई मन पराएको जस्तो महसूस गर्यो । चान्स लिएर हेरूँ न के जान्छ ? उसले सोच्यो ।
स्कटिंगको दौरानमा क्षितिज केटीहरूको स्कूटीभन्दा आफ्नो बाइक अगाडि बढाउँथ्यो । रेसमा हार्ने जीत भैराखेको थियो । क्षितिज बाइकको सीसा मिलाई मिलाई दुइटी मध्ये स्कूटीको पछाडि बसेकीलाई हेरिरहन्थ्यो । पछाडि बसेकी केटीले पनि मस्कीमस्की कहिले टाउको बायाँ पार्ने, कहिले दायाँ पार्ने कहिले टाउको माथि उचालेर घाँटी तन्काउने किसिमको कामुकता देखाउन थाली । क्षितिज पछाडि बसेकी केटीको हर्कत देखेर रमाउन थाल्यो । स्कूटी चलाउने केटीलाई डाह भएर हो कि के हो स्कूटी कुदाउन थाली ।
रेस जित्ने र जिस्किने जिस्काउने खेलमा स्कटिंग पनि सक्यो । क्षितिज यो स्कटिग मनमनै कहिले नसक्कियोस् भन्ने चाहन्थ्यो । स्कटिंग लगभग कर्णाली पुलसम्म हुँदोरहेछ । नेपालकै ठूलो कर्णाली नदीको आँखाले हेरेर नघाउने पानी अनि त्यो पानी माथि एउटा पिलरमा अड्डिएको ‘केबल स्टेड ब्रिज’ भनिने पुलले क्षितिजलाई रोमाञ्चित बनायो ।
उसले ठ्याक्कै कर्णाली पुलको एक छेउ पुर्याएर बाइक रोक्यो । थुप्रै मान्छे त्यहाँ फोटो खिचाइरहेका थिए । केटीहरूले नि स्कूटी ठ्याक्कै क्षितिजको बाइकको पछाडि आएर रोके । क्षितिज चारैतिरको फोटो खिच्न थाल्यो । उता केटीहरू टिकटक बनाउन थाले । क्षितिज रमाइरमाई पछाडि बस्ने केटी आफूसँग बोल्न आउँछ भन्ने विश्वास राखी ठिङ्ग उभिएर टिकटक बनाइरहेको हेरेर बस्यो ।
नभन्दै ती केटी बच्चाले बामे सरे सरी अलिअलि सर्दै क्षितिजको छेउमा आएर उभिई । एक छिनसम्म दुवै जना रमाएर मात्र बसे । बोल्नै सकिराथेनन् । आँखा चुराएर आँखा जुधाउँथे । क्षितिजको दिमागले पछिल्लो एक घण्टादेखि भइराखेको घटनालाई थाम्न सकिरहेको थिएन । उत्तेजित हुँदै रमाइरहेको थियो ऊ । खस्याकखुसुक दुवै जनाले केही कुरा गरेर उनीहरू बीचको मौनता तोडे । नाम दुवै जनाले एक अर्कालाई भन्न भ्याए तर कसैले कसैको नाम सम्झिन सकेनन् किनकि एक त मसिनो गरी कुरा गरेका अनि त्यसमा पनि दिमागले अन्तैअन्तै सोचिहरेका थिए दुवैका ।
अचानक अलि पर टिकटक बनाइरहेकी केटीलाई ईर्ष्या भयो क्यारे ! मुख बिगार्दै भनी, “म राम्री छैन नि त्यहीं भएर …।”
दुवै जना एक-अर्काका मुखामुख मात्र भए । उसलाई बोर भयो कि के भयो स्कूटी स्टार्ट गरिहाली । कुरा गरिरहेकी केटी स्कूटीमा गएर बसी । क्षितिजले नि बाइक स्टार्ट गर्यो । अलि पर पुगेपछि क्षितिजले बाइक रोक्यो । पहिलो चोटि कर्णाली पुलमा आएकोले केही समय कर्णाली पुलको सुन्दरता आँखामा कैद गर्न चाहन्थ्यो । तर यसपालि स्कूटी चलाउने केटीले स्कूटी रोकिन ।
हेर्दाहेर्दै क्षितिजको आँखाबाट ती केटीहरू ओझेल भए । मन खिन्न बनायो र सोच्यो, “नाम त सम्झिनुपर्थ्यो । नम्बर त लिनुपर्थ्यो । फेसबुकमा फ्रेन्ड हुन खोजेको भए पक्कै नाइँ भन्दिन थी होला । सँगै ‘सेल्फि’ खिच्न त आग्रह गर्नुपर्थ्यो । उनीहरूसँगै टिकापुर गैदेको भए हुन्थ्यो । खाजा खान सँगै जाम भनेर प्रस्ताव राखेको भए हुन्थ्यो । धेरै कुरा तैंले गर्न सक्थिस् तर त रमाएरै बसिस् । सम्बन्ध र प्रेम जिम्मेवारीको चीज हुन्छ, गम्भीरताको विषय हुन्छ अनि सजगताको कुरा हुन्छ ।”
जे भयो त्यसमा खुशी नै भएर पछुतो नमानी क्षितिजले कामना गर्यो, “समय प्रतिकूल भइदियो त के गर्नु ? यदि उसले मन पराएको भए कसैगरी सम्पर्क गर्ने कोशिश गर्ली अथवा भाग्यमा लेख्या छ भने कुनै दिन कसैगरी भेट होला नि । मलाई देखेर उसले चिन्न र उसलाई देखेर मैले चिन्न नसके पनि (अनुहार नि याद छैन मलाई त, उनीलाई पनि के होला र ?) कहानीले पक्कै चिन्ने छौं ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










