मोहन क्षेत्रपाटीबाट असन हुँदै इन्द्रचोक पुग्छ र साँझको व्यस्त नयाँ सडकको पेटी कुल्चिँदै पारस होटलभित्र पस्छ । साँझमा यहाँ यस्तै रमझम हुन्छ ! बैंसका युवकहरू र आधा बैंसेहरू टेबलमा गफ गर्दै रम खाइरहेका छन् । काठमाडौंको जिन्दगीमा नयाँ सडकको ठूलो प्रभाव छ । यो दार्जीलिङको चौरस्ता, कलकत्ताको चौरंगी, शिमलाको माल रोड, न्यू दिल्लीको कनाट प्लेस र बम्बईको चौपाटी हो । यहाँ फेशन र स्टाइलको एक्जिबिशन हुन्छ, हरेक दिनको हरेक साँझमा आफ्नै विशिष्टतामा नयाँ सडकको आफ्नै विशेषता छ, जहाँ चौरस्ताको सस्तोपन र चौपाटीको नाङ्गोपन छैन !

क्षेत्रपाटीमा डेरा गरी बसेको मोहनको जिन्दगी साँझको नयाँ सडक जस्तै छ । पहिले मोहन ठमेलमा बसेको थियो, एउटा बहालको सानो डेरामा । परन्तु त्यहाँ पनि मोहनलाई त्यस्तै परिस्थिति परिदिएर डेरा छाडिदिएर लैनचौर पुग्छ, लैनचौरमा पनि एउटी साहूनी अनायासै उसको जिन्दगीमा बत्तीमा पुतली भइदिन्छे । त्यहाँ पनि त्यस्तै के-के परिआउँछ, बूढो साहूको तन्नेरी छोरो शशीभक्त शाक्य मोहनको विरुद्धमा ज्वालामुखी भइदिन्छ, दनदन आगो र लाभासरी, यति उग्र भइदिन्छ भने मोहनले सामने गर्न सक्तैन । बूढा साहूकी तरुणी साहूनीलाई छिमेकी मोहनको जवानीले जरो आइदिन्छ, जरो चढ्दै गएर एक  सय चार डिग्री पुग्छ अनि एकसय पाँच बढेर जाँदा शशीभक्त अचानक प‌ट्किदिन्छ ।

ओडिपस कम्प्लेक्सले विक्षिप्त भएको शशीभक्त सानी आमाको यौवन र हिस्सी परेकोले चेहरा रन्थनिएको हुन्छ । बूढा साहूजीलाई सुन-चाँदीको धन्दाले साहूनीलाई जरो चढेको, छोरालाई आमाकै रूप मन परेर आएको र डेरा गरी बसेको मोहनले साहूनीलाई उपचार गर्न थालिसकेको छ भन्ने पत्तो हुँदैन ! उनलाई ता सुन पगाल्नु छ, औंठी बनाउनु छ, चेन तयार पार्नु छ अनि रातमा साहूनीलाई तोरीको तेलले मालिश गरी मागेर कुखुरे नीद सुत्नु छ, बस । आवश्यकताहरू मध्येमा सुत्ने बेलामा राँगाको मासु र कचौराभर रक्सी चाहिन्छ । उसको निम्ति दुनियाँ चलिरहन्छ, आफ्नी स्वास्नी सामाजिक परमराभित्र गुम्सिएर घरधन्दामा लागेकी छन् अनि एकादशीमा पशुपति पुगे र उसलाई भगवानको प्रसाद दिन्छिन् ! बूढालाई आफ्नी भर्खरकी स्वास्नी राम्रो भएर जात्रा तथा पर्वहरूमा गएको मन पर्दैन परन्तु स्वास्नी रिसाउलिन् भन्ने खातिर त्यो भनी पनि हाल्दैनन् ।

शशीभक्तलाई त्यसरी सानी आमासित जात्रा जान पाउँदा साँच्चै मज्जा लाग्छ, एउटै रिक्सामा टाँसिएर हिंड्दा उल्लाई कस्तो आनन्द लाग्छ भने मनमा यस्ता जात्रापर्वहरू आइरहुन् भनेर कामना गर्छ । परन्तु साहूनी मोहन र शशीभक्त बीचका कुरा त्यतिकै आगोमा पानी लाग्छ तर मोहनलाई भने लेनचौर छोड्न कर लाग्छ ।

मोहनलाई साहूनी झ्यालमा बसेर रोइरहेकी र शशीभक्त चाहिं राता बल्ड्यांग्रे आँखाले हेरिबसेको कुरा याद आई नै रहन्छ । सोल्यूशन जस्तो टालिएर बसेको राम्रो उमेरदार साहूनी, जसको बिहे एउटा साठी नाधिसकेको बाँडा साहूजीसित भइदिएको छ, कति उपहासपूर्ण चिसो कुरो ।

बरु त्यो उमेरदार साहूनीको बिहे जवान शशीभक्तसित भइदिएको भए साहूनीलाई त्यसरी डिग्री चढ्ने थिएन, मोहनको निःस्वार्थ उपचारको जरूरत पर्ने थिएन । शशीभक्त एउटा उत्पात भइदिएर दिल्लीबजार, बागबजार, गौशालाबाट ठिटीहरू ल्याएर ठूल्ठूला साहूजीकहाँ पुर्याएर कमिशन खाने काम शायद गर्ने थिएन ।

मोहनलाई छटपट लागेर आउँछ । काउन्टरमा पैसा तिरेर निस्कन्छ र बस स्टपतिर जान्छ । टुँडिखेलका पेटीभरि मानिसहरू बस पर्खिबसेका थिए । बूढो धरहरा अलिक पर घुर्माइलो साँझमा बदलिंदो दुनियाँका चहल-पहल हेर्नमा मक्ख झैं देखिन्थ्यो ।

गौशालाको बस आयो तरुणी युवती जस्तो ! साँझमा बस चढ्नु पनि एउटा समस्यै हुन्छ, परन्तु मोहन जस्तो जीउडालको तन्नेरीलाई यो एउटा साधारण अभ्यास नै भएको हुन्छ । दरबार हाई स्कूल, रानीपोखरी, बागबजार, दिल्लीबजार हुँदै साझा यातायात आफ्नो रफ्तारमा तेज दौडिरहेको थियो, एउटा व्यस्त जिन्दगी जस्तो मानौं पछिल्तिर फर्केर हेर्ने फुर्सदै छैन, निरन्तर निरन्तर अघि नै बढिरहन चाहन्छ । मोहनको जिन्दगी पनि यस्तै दौडिरहेको गाडी जस्तै भइराखेको छ ।

जिन्दगी पनि यस्तै दौडिरहेको गाडी जस्तै भइराखेको छ ! उसको जिन्दगी क्यूबिस्ट आर्ट जस्तै विचित्रको छ, साधारण मान्छेले बुझ्नै नसक्ने ! एउटा कम्प्लिकेटेड जिन्दगी जहाँ घटना क्रमका ताँती लागेका छन् । आज एउटा सफल व्यावसायिक ठेकेदारको रूपमा मोहनले सामाजिक अस्तित्व बोकेको छ । मोहनलाई आर्थिक संकटग्रस्त जिन्दगी एउटा थोत्रो गाडी जस्तो लाग्छ । मान्छे कमसेकम बाँच्नका निम्ति आर्थिक दबाबमा सुरक्षित हुनुपर्छ नत्र उसको सामाजिक अथवा पारिवारिक जिन्दगी अव्यवस्थित र अनियमित भएर छताछुल्ल भएर जानेछ, परन्तु मान्छेले दरिलो भइदिनुलाई चाहिँ जुनै पनि परिस्थिति र अवस्थाको चुनौतीलाई स्वीकार गर्न सक्नुपर्छ ।

मान्छे अव्यवस्थित अवस्थामा एउटा फ्रस्ट्रेट जिन्दगी बोकेर कति लर्खरिन सक्तछ ! परिस्थितिमा मान्छेले कसैबाट दया खोज्नु अथवा मुख ताक्नु एउटा सारै नरमाइलो कुरो जहाँ उसको निजत्व मात्रै होइन परन्तु अस्तित्व नै बेकार भएर जान्छ । मान्छेले जस्तै संकटमा पनि आफूलाई एकलो सम्झिदिनुपर्छ, मैले आफैले संघर्षमा नजुझी हुँदैन भन्ने दुधिलो भावना नराखेसम्म मान्छे संघर्षबाट उम्कन सक्तैन ।

परिस्थितिबाट हार खानेहरू जिन्दगीमा ज्यादै असफल बनिदिन्छन्, नितान्त एक्लो र बिरानो भइदिन्छन् र आखिरमा प्यारेलाइज भएर पंगु बनिदिनेछन् । प्यारेलाइज अवस्थामा मान्छेले जे जति गर्न खोजुन्, जे जति लेख्न सकुन् ती केवल निराशा र उदासीको ढुकुटी मात्र बनिदिन्छन् । निराशा र उदासीका गीत गाएर, आँसुसरीका कविता पढेर मान्छे मरन्च्याँसे बन्नु सिवाय अरू केही हुन सक्तैनन् । मान्छेले सिम्फोनीको धूनमा, कविता, उपन्यास, कथा र चित्रहरूमा आफ्नै जिन्दगी महसूस गर्नसक्नुपर्छ, मान्छेभित्रको युनिभर्सलपनले प्रत्येकलाई छोएर ब्यूँझाइदिनुपर्छ । जिन्दगी आँसु मात्र पनि होइन, मुस्कान मात्र पनि होइन, पसिना मात्र पनि होइन । जिन्दगी परिश्रम पनि ता हो, साहस पनि ता हो, धैर्य पनि ता हो ।
बस गौशाला पुग्दा मोहनका भावनाहरू छताछुल्ल भइदिए, एउटा नरम तातो ठाउँबाट उत्रिनुपर्ने असन्तोष लागेर आउँछ । चौबाटामा एकछिन लक्ष्यशून्य अवस्थामा उभिएर बस्छ चार बाटा आफ्ना आफ्नै दिशातिर लैजान तयार छन् । एकापट्टि गएमा पशुपति पुगिन्छ । मोहनलाई मन्दिर, गुम्बा र गिर्जाहरू र त्यहाँका शान्त वातावरण एकदमै मन पर्दैन, एउटा नैराश्य, उदासी र वैराग्य जगाइदिन्छ सधैं ।

वैराग्य एउटा विकार हो, एउटा कमजोरी हो । मान्छे सामाजिक र पारिवारिक जिन्दगी थाम्न नसकेर वैरागी बनिदिन्छ, खरानी घसेर नाङ्गो भइदिन्छ । हरि नाम जपेर हिँड्ने मान्छे आत्मविश्वास नभएको चीज हो, एउटा खोक्रो वस्तु हो । रोग-शोक-व्यथाबाट उम्कन खोज्ने कायर !

मोहनलाई जीउभरि खरानी दलिएर आइरहेछ जस्तो हुँदै आउँछ । यति वेलासम्म साँझ छिप्पिएर काती परिसकेको हुन्छ । मान्छेले आफूलाई केही समय भए पनि यो बाक्लो अँध्यारोमा लुकाउन सक्छ भनेर सोच्दासोच्दै उसका पाइला सिफलतिर बढ्छन् । कालो अन्धकारमा काला कुराहरूको ताँती छातीभित्र परेड खेलिदिन्छन् रमाइला बनेर ।

गौतम बुद्धलाई मासुको प्रेमले केवल वैराग्य जगाइदिएको थियो, मोहनलाई चाहिँ वरवर खिचिरहेको थियो । मान्छे कति वासनाग्रस्त भइसके । मान्छे सन्तुलित अवस्थामा नबाँचेसम्मन् ऊ जिउनै सक्तैन । उसको दाम्पत्य जीवनको सफलता-असफलता कमसेकम उसको सेक्स लाइफसित सम्बन्धित छ ।

आधुनिक मान्छे इन्टेलेक्चुअल पनि हुनैपर्छ, आर्थिक रूपले दरिलो पनि हुनैपर्छ । मान्छेमा जिनियसपन अर्कै कुरो हो । सबै मान्छे जिनियस हुन सक्तैनन् परन्तु इन्टेलिजेन्स चाहिँ हरेक व्यक्ति हुनैपर्छ, चाहे त्यो इन्टेलेक्चुअल नभइदेओस् । मान्छेको जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो उसको ताजगी, ताजा अनुभव नगरितञ्जेलसम्म मानसिक र शारीरिक ताकत पनि आउने होइन र जिन्दगीको हरेक क्षणमा मान्छेले खेलकूदको भावना, एउटा कम्पिटिशनको भावना राख्नै पर्छ, नत्र मान्छेको जिन्दगी क्लोरोफिलविनाको झारपात हुनेछ । एउटै जिन्दगीमा आजको मान्छेले धेरै परिस्थिति, अवस्था र समयमा आफूलाई एड्जस्ट गराउनै पर्छ, समर्थ बन्नैपर्छ ।

ठीक साहूनीको पसलअघि आइपुग्दा मोहनले यति कुराहरू खेलाइसकेको रहेछ । साहूनीको टायल र झिंगटीको दुई तले घरको भुँइ तलामा पच्चीस मैनबत्तीको बल्ब बलिरहेको थियो । एउटा सलाई, चुरोट र यस्तै खिचिमिची पसल झन् रक्सीभट्टी पनि भइदिएकोले मान्छेको आउजाउ त्यहाँ हरहमेशा टुट्तैन । मोहनलाई देखेर साहूनी खुशी पोतेर ढोकामा उफ्रन आइपुगिन् !

“क्या हो काजीसाहेब, यसरी चट्ट माया मारेर कहाँ सवारी भइबक्स्या थियो ?” भन्दै, “कान्छी, ए कान्छी ! यहाँ काजीसाहेब पाल्नुभएछ, माथि बैठकमा मोटो सुकुल बिछ्याइदेऊ !”

मोहनले चालीस-पैंतालीसको उमेरमा पनि जीउडाल मिलेकी आकर्षक साहूनीलाई अलि आश्चर्य र विस्मय मानेर सोध्यो, “को कान्छी, साहूनी ?”

साहूनीको चेहरा छाडा राम्रो भयो । मोहनलाई एउटा मेचमा बस्ने सङ्केत गर्दै भनिन्, “कान्छी ता बोलाउने नाम मात्रै, टिस्टुङ पालुङको गुराँसको फूल हो, काजीसाहेब, भर्खरै लाली चढेको तपाईं देख्तै ननिल्नुहोला; काजीसाहेब, यो असन र ज्ञानेश्वरको मञ्जु र अम्बिका जस्ती कहाँ हो, भर्खरै पूजाको निम्ति टिपेर ल्याएकी फूल हो । हाम्रो काजीसाहेब कति भाग्यमानी हुनुहुन्छ भने पहिलो भाग नै वहाँलाई पर्यो ! आज ता म सयको  नोट लिन्छु, काजीसाहेब सयको नोट !” – भन्दै छरितो साहूनी भर्याङ उक्लिएर मास्तिर लागिन् ।

मोहन धेरैपल्ट यो पसलमा आइसकेको छ । यहाँ धेरै ठिटीहरू बाटो बिराएर आइपुग्छन् । उसलाई असनकी मञ्जुको याद आयो, त्यो यादसितै फेरि एउटा घटना दोहोरियो । एक महीनाअघि चन्द्रकान्त र ऊ यहाँ आएका थिए ।

चन्द्रकान्त मोहनको एकदमै मिल्ने साथी आर्यन कटको एउटा व्यवहार कुशल युवक, एउटा गायक पनि । चन्द्रकान्त जहाँ पनि एउटा रमाइलोपन लिएर जान्छ, नियाँस्रो वातावरण पनि हँसिलो बनाइदिन्छ । साहूनीले उसको निम्ति एउटी अम्बिका भन्ने युवती तजबिज गरिदिएकी थिइन् । चन्द्रकान्तले युवतीलाई सोधेका थिए, “तपाईंको नाम जान्न सक्छु ?”

“अम्बिका !” – युवतीले भनिदिई ।

चन्द्रकान्त ज्यादै रक्सी पिउँछ, ऊ जति रक्सी पिउँदै जान्छ, उति रङ्ग चढ्दै जान्छ अनि जति रङ्ग चढ्दै जान्छ उति उभित्रको गायक व्यथालु भइउठ्छ ! चन्द्रकान्तले एउटा गीत गाइदियो, त्यस्तै सिलसिलामा युवतीले पनि रेडियो नेपालको एउटा हिटसङ गाएकी थिइन्, “गोरेटो त्यो गाउँ को…”

संगीतको आदान-प्रदानले अम्बिका र एक प्रकार चन्द्रकान्तमा आत्मीयता बढेर आयो परन्तु युवतीले चन्द्रकान्तसित  रातभरि बस्न इन्कार गरिदिइन्, चन्द्रकान्तलाई मानसिक चोट लागेर आयो । पछि कारण बुझ्दा अम्बिका एउटा ब्राह्मण परिवारकी विवाहिता युवती रहिछन्, एउटा बच्चा पनि रहेछ । उनका लोग्ने चाहिँ प्यारालाइज भएर बसेका दुई-चार वर्ष भइसकेछन् । चन्द्रकान्तले बाफिएको स्वरमा भनेको थियो, “मान्छे आफ्नो अवस्थाअघि कति विवश र दयनीय भइदिनुपर्छ, मोहन ?”

यत्तिकैमा एउटी सत्र-अठारकी तरुणीले मोहनलाई भनिरहेकी थिई, “माथि पाल्नुस् न काजीसाहेब, साहूनी पनि माथि नै हुनुहुन्छ !”

मोहनलाई यस्ती राम्री ठिटी यस्तो पसलमा भइदिनु एउटा अस्वाभाविक तीतो लागेर आयो, त्यै पनि सिफलमा, साहूनीको पसलमा ! कुनै पनि देश, कुनै पनि जाति र कुनै पनि मानिस आर्थिक रूपले सबल नभइन्जेल त्यसको राष्ट्रिय, जातीय र व्यक्तिगत जीवन विशृङ्खल हुन्छ, त्यो आफूभित्र जहिले पनि असुरक्षित हुन्छ, संकटकालीन परिस्थिति र जर्जर अवस्थाले जहिले पनि ग्रस्त पारिराखेको हुन्छ ।

मोहनलाई त्यो केटी देख्दा यस्तै विचार उठ्यो । कान्छी एउटी आधुनिक परम्पराकी सुसज्जित नवयौवना थिई, युगले दिन सकेको कमनीयता उसमा मौजूद थियो ! त्यो कुनै धनी साहूकी कलेज जाने छोरी जस्तै देखिन्थी । त्यसको मासु पनि यति कमलो देखिन्थ्यो कि चस्स छुनासाथ रगतको छिटा छुट्छ । मोहनलाई पनि आज उसले घोरिइने बनाइदिई ।

मोहन यस्ता युवतीहरूसित हरदम खस्रो व्यवहारमा पेश आउँथ्यो तर कान्छीको अघि आज उसले शिष्ट र सभ्य जस्तो बनिदिनु परिरहेको थियो अनि यस कुराले उसलाई रत्तीभर पनि बिस्मात लागेको थिएन । मोहन जुरुक्क उठेर युवतीको पछि पछि लाग्यो । भर्याङ उक्लिँदा युवतीका नितम्बले ऊ भित्रका चूपचाप सेक्स भावनाहरू फेरि मौका पारेर जुर्मुराई उठे । भर्याङ चढ्दा चढ्दै उसले भनिदियो, “कान्छी, तिमी साँच्चै साहूनीले भने झैं तिस्टुङ-पालुङ भ्यालीको गुराँसकी फूल रहिछ्यौ, ताजा ताजा, रातो-रातो !”

“उफ् ! काजीसाहेब पनि,” भन्दै युवती एक सय पावरको बल्ब भइदिई, त्यही अवस्थामा मोहनले युवतीलाई हल्का म्वाइँ खाइदियो ।

युवतीले लजाएर भनी, “हजुर के हुनुभएको यस्तो !”

भर्याङको आखिरी सिँढीमा पुगेर मोहनले भन्यो, “कान्छी, तिमी आज मसित रातभरि बस्नुपर्छ है ?”

युवतीले मीठो लजाएर बोली, “हजुरले साहूनीसित भनिबक्सियोस् है काजीसाहेब ?”

“खोइ, साहूनी कहाँ छन्, कान्छी ?”

“उ त्यो बैठक कोठामा गइबक्सियोस्, म हजुरको निम्ति फुल र रक्सी लिएर आउँछु, है काजीसाहेब ?”

बैठक कोठामा पुग्दा साहूनी उसैलाई पर्खिबसेकी रहिछन्, नेपाली खास्टोमा साहूनी सुन्दरी देखिइरहेकी थिइन् । मोहन साहूनीनेरै गएर बस्यो अनि मधुरो हाँसेर साहूनीलाई भन्यो, “मान्छे ता साँच्चै राम्री हो, साहूनी !”

साहूनी खितखित हाँस्दै बोलिन्, “काजीसाहेबले घरमा सजाउन लगे पनि ता भयो, मलाई हजार रुपियाँ हातमा कोचारिदिनोस् ! यो ठिटी पूर्व एक नम्बर धुलिखेलबाट अस्ति आएकी रहिछ, घण्टाघरमा बुखुचाले भेटेर मकहाँ ल्याई पुर्याएछ ! काजीसाहेब, ठिटी एकदमै उम्दा छ ! तपाईं ! एउटा लायकको कमाउ भरजवान मान्छे, कति दिन हुटेलमा खाएर हिंड्नुहुन्छ, काजी ?”

युवती कचौराभर रक्सी, रिकाबीमा फुल र राँगाको मासु लिएर आई । साहूनीले उसलाई भनिन्, “कान्छी, काजीसाहेबको राम्रो खातिरदारी गर् है बा, लाउन खान प्रशस्त भएको मान्छे हो ! उ हेर्न, जीउडाल र चेहरा पनि कति हिस्सी परेको राम्रो छ !”

मोहनले साहूनीलाई प्याट्ट हिर्काएर भन्यो, “कान्छी, साहूनी कति झूटो बोल्न सक्छिन् हगि ? म जस्तो मान्छेलाई राम्रो भन्ने, राम्री ता तिमी पो छ्यौ, कान्छी ?”
“लौ है कान्छी, काजीसाहेबलाई अब तह लगा, म कोठा ठीक गर्न जान्छु, काजीसाहेब यतै सुकला गरिबक्सिन्छ होइन त ?”

मोहनले जवाफमा कान्छीलाई हेरिदियो, कान्छीले साहूनीलाई र आखिरमा साहूनीले मोहनलाई हेरेर भनिन्, “त्यो अघिको कुरोको ता जवाफै दिनुभएन, काजी ?”

मोहनले जवाफमा भन्यो, “रातभरि समय छ, साहूनी, म भोलि भन्छु है ?”

“हुन्छ, हवस् ! कान्छी, काजीसाहेबलाई जे चाहिन्छ ल्याइदिनु है ? मनमायाले भान्सा तयार पारी ?”

“कुन्नि !”

काजीसाहेबलाई राम्ररी भान्सा गराऊ है, कान्छी ।”

कान्छीले “हवस्” भनी !

भान्साको काम चाँडै सिद्धियो । कान्छीले मोटो बोलीमा मोहनलाई भनी, “काजीसाहेब, कोठामा सवारी होओस् ।”

मोहन र युवती दुवै कोठामा पुगे । एउटा सजिसजाउ राम्रो चारकुने कोठा, एउटा दुईजना सजिलै अटाउने बिछ्यौना, नीलो तन्ना, मोटा नरम तकिया र सफा सफा मुलायम दुई-चार दोलाई ! टेबिलमा एउटा फिलिप ट्रान्जिस्टर मधुरो धूनमा गीत गाइरहेको थियो, “यो रात पनि तिम्रै हो… …”
“यो रात पनि तिम्रै हो, कान्छी, आजको रमाइलो रात । ओहो, म तिमीलाई कस्तरी प्रेम गर्न लागेको छु, कान्छी ?” मोहन के बिस्तरामा बस्दै भन्यो, “मैले जिन्दगीमा धेरै रातहरू देखिसकें तर यो आजको रातले मलाई ज्यादै रमाइलो बनाइ दिएको छ, तिम्रो रूपले मेरो अन्तरमा किन हो हाहाकार मच्चाइरहेछ ! कान्छी, साहूनी भन्दै थिइन् कि तिनलाई एक हजार रुपियाँ दिएर म तिमीलाई लैजाऊँ । साहूनी भन्दै थी कि एक हजार रुपियाँमा तिमीलाई किनेर लैजाऊँ ?”

युवतीका आँखामा आँसुहरू छरिए । मोहन उन्मत्त भएर गाइरहेको थियो फेरि रक्सी पनि पिएको । युवतीले बाफिलो स्वरमा भनिन्, “हजूर ज्यादै भावुक भएर जाँदै हुनुहुन्छ । भावुकता एउटा रोग हो, काजीसाहेब ! हजुरको कुरा सत्य, साहूनी मलाई बेच्न चाहन्छिन् । परन्तु म त्यसरी बेचिन माग्दिनँ काजीसाहेब, मेरो पनि एउटा असहायताको जिन्दगी छ । म अरूका हातमा बेचिइनुभन्दा बरु काजीसाहेबसितै जान्छु, काजीसाहेबको भान्सा बनाइदिन्छु, लुगा धोइदिन्छु । मलाई किनेर लैजानोस्, काजीसाहेब, म तपाईंलाई देवता जस्तो पुज्नेछु, काजीसाहेब ?” – कान्छी हिक्का छोडेर रोइरहेकी थिई, मोहनलाई खपिनसक्नु भएर आयो । नारीको यति विवश रूप उसले कहिल्यै देखेको थिएन ।

उसले कान्छीलाई छातीमा टाँसेर भन्यो, “कान्छी, तिमीलाई यहाँबाट लैजान्छु, जति पैसा तिरेर पनि ! तिमी कुनै मान्छेको हातमा बेचिइन्नौ, कान्छी ! परन्तु तिमीले मलाई एक हप्ता पर्खिदिनुपर्छ । म भोलि साहूनीलाई पाँच सय रुपियाँ बैना दिइराख्छु, कान्छी ! क्षेत्रपाटीमा अहिले जुन डेरामा बसेको छु, सारै साँघुरो छ ! कालिकास्थानमा एउटा फ्ल्याट खाली छ भनेको सुनेको थिएँ, त्यहाँ भोलि जान्छु । फेरि एकपल्ट त्रिशूली पनि पुग्नुछ, कान्छी, म तिमीलाई सत्ते लान्छु, सत्ते !”

युवतीले भनी, “काजीसाहेब, यो एक हप्ताभरि म तपाईंकै प्रतीक्षामा बस्नेछु । यो घरमा दिनभरि कस्ता कस्ता मानिसहरू आइरहन्छन् मलाई ता डर लाग्छ ! फेरि साहूनी पनि ती मानिसहरूसित घुसघुस कुरा गरिरहन्छिन्, काजीसाहेब, मेरो उपकार हुन्छ । यो जिन्दगी म बाँचिदिन सक्तिनँ, यस्तो नीच जिन्दगी मैले बिताउनुपर्छ भन्ने कल्पनै थिएन । म धोखाबाजीमा परेकी छु, जालसाजीमा परेकी छु, काजीसाहेब ?”

मोहनले सम्झ्यो, आज जताततै नारीप्रति अत्याचार भइरहेछ, जालसाजी र विश्वासघात भइरहेछ । यस्ता साहूनीहरू यहाँ कति छन् कति ! मान्छेमा नैतिक पतन हवास भएर गइरहेछ, सामाजिक जिन्दगी क्षतविक्षत भएर जाँदैछ ।

उसले कान्छीलाई बलियोसँग छातीमा टाँसेर भन्यो, “कान्छी, तिमीलाई म यो खाडलबाट उठाएर एउटा इज्जतपूर्ण जिन्दगी दिनेछु, जहाँ तिमीले आत्मसम्मान सहित सास फेर्न सक्नेछौ, जहाँ तिमीले कान्छी भएर होइन परन्तु मेरी श्रीमती भएर आफ्नो अस्तित्व कायम राख्नेछौ, कान्छी ?”

युवतीले ‘देवता हजूर’ भनेर मोहनलाई ढोगिदिई । ताताताता आँसुहरू बहिरहेका थिए ।

मोहनले दरिलो पुरुष-स्वरमा भन्यो, “तिम्रो नाम आजदेखिन् रूपारानी भयो है, कान्छी ?”

युवतीले तिस्टुङ पालुङको रातो गुराँसको फूल जस्तै फक्रेर भनी, “काजीसाहेब ….. ”

एउटा नौलो रूपमा बिहान भयो । सिफलका घरहरूलाई कलिला घामका किरणहरूले रमाइला बनाइदिए । रूपारानीले आँखाभरि आँसु पारेर मोहनलाई बिदाइ दिई । बैठक कमरामा साहूनी पर्खिबसेकी थिइन् । मोहनलाई देख्नासाथ “कसरी रात बित्यो, काजीसाहेब ?” भनेर खितखित हाँस्दै सोधिन् ।

मोहनले जेबबाट नोटका बिटा निकालेर सयसयका पाँचवटा नोट गनेर साहूनीलाई दिँदै भन्यो, “यो लिइराख्नुस्, साहूनी, म एक हप्तापछि आएर कान्छीलाई लिएर जान्छु है, साहूनी ?”

साहूनी चरम आवेगमा केही बोल्नै सकिनन्, केवल “हस्, काजीसाहेब !” भनेर पैसा थापिन् ।

बिहानीको कलिलो घाममा मोहन गम्भीर भएर गौशालातिर लाग्यो ।

साहूनी खितखित हाँस्दै “चाँडे पाल्नुस् है, काजी- साहेब ?” भनेर हात जोडिरहेकी थिइन् ।

मोहनले साथीको सहायताले कालीकास्थानमा महीनावारी एक सय बहालमा फ्ल्याट पायो । काठमाडौंमा बस्नलायकको सबैभन्दा राम्रो ठाउँ मोहनलाई यो र महाराजगञ्ज लाग्छ । त्रिशूलीको कामधन्धा हेरेर नम्बर दुइ नहरसम्बन्धी कामको फाइनल बिल पनि पायो, अठार हजार रुपियाँ ।

शनिवार पारस होटल गएर, फ्राइ मीटसित दुई पेग एरिस्टोक्रेट पिएर निस्क्यो । ध्वाखामा गएर एउटा राम्रो सारी किनेर एउटा ट्याक्सी गौशालासम्म ओहोरदोहोर रिजर्भ गरेर झमक्क साँझमा हिँड्यो । कालीकास्थानको डेरा बिहानदेखि नै राम्रो बन्दोबस्त मिलाएर राखेको थियो, पश्चिमको एउटा तामाङ ठिटो त्रिशूली जाँदा लिएर आएको थियो । ठिटोलाई उसले भनिराखेको थियो, “कान्छा, आज तेरी मेमसाहेब आउँछिन्, राम्रो पकाइतुल्याइ गरेर राख है ?”

केटोले खुशी भएर भनेको थियो, “हुन्छ, साहेब ?” ट्याक्सीलाई गौशालामै छोडेर मोहन सीधा साहूनीको पसलमा पुग्यो । पचीस पावरको बत्ती धमिलो बलिरहेको थियो ।

साहूनी दुई-चार नरमाइला मानिसहरूलाई कचौरामा रक्सी घोप्ट्याइरहेकी थिइन्

“साहूनी !” मोहन करायो ।

“भित्रै पाल्नुस् काजोसाहेब, भित्रे ?” साहूनी रक्सी खन्याउँदै बोलिन् ।

मोहनले भित्र पसेर सोध्यो, “खोइ, कान्छी ?”

साहूनीले मोहनलाई पाखुरामा समात्दै भर्याङ उक्लिन् र बैठक कमरामा लाँदै भनिन्, “कान्छी हिन्दुस्तान पुगिसकी होली, काजीसाहेब ! एउटा देशीले दुई हजार रुपियाँ तिरेर लग्यो !”

मोहनलाई रिङटा चलेर आयो र सुकुलमा थ्याच्च बस्यो । साहूनी भनिरहेकी थिइन्, “कम साह्रो परेन उसलाई पठाउन ? हजुरको नाम गरेर रुँदै थिई ! के गर्नु ! त्यसको भाग्यै खोटो, हजूरसित जुरेकै थिएन ! एउटी चाँपकी फूल काजीसाहेबलाई भनेर ल्याएकी छु !” भन्दै, “चम्पा…चम्पा…” भनेर कराउँदै भर्याङ ओर्लन थालिन् ।