बिहानै उठेर झ्यालको पर्दा उघारें, मम्मीले भर्खरै ल्याएको चियाको कप टेबलमा राखेर, कुर्सीमा बसी बाहिर चियाउन थालें ।

बाहिर मुसलधारे पानी परिरहेकै थियो । लगातार चारपाँच दिन भैसक्यो यसरी पानी पर्न लागेको पनि । कहिले रोकिने हो केही सुरसार नै छैन ।  झमझम परिरहेको पानी, पानीलाई नटेरी छिट्कारिरहेका रूखका पात, नदबिने कोशिश गरिरहेका भुइँका झारहरू, आत्मसमर्पण गरेर पानीसँगै विलीन भएर बगेका माटोहरूले आकाशे पानीलाई रातोमा परिणत गराइसकेका थिए ।

भनिन्छ, मान्छे सबैभन्दा बढी खुशी पानी देखेर हुन्छ रे । कोही कोही त पानी भनेपछि हुरुक्कै हुन्छन्, पर्नै हुन्न कुदिहाल्छन्, फिल्मको शाहरूख खानले जस्तै हात फिजाउँदै । म पनि पानी लभरमा पर्छु, भिज्न खुब मज्जा लाग्छ । तर भिजाइको अन्तर फरक हुने रहेछ, भिज्न पनि यसरी भिजियोस् न कतै हिंड्दा हिंड्दै चरक्क चर्केको घामको कुनाबाट पसिना बगाउने गरी फिरफिर पानी परोस् तब न रमाइलो । यो अविरलको झरीमा हाम्फाल्न यो पटक मनले मानेकै छैन ।

एउटा कुरा भने मान्नै पर्छ, यो तीनचार दिनको अन्तरालमा फेक वर्षाको साउन्ड मोबाइलमा लगाएर निदाउने कोशिश भने गर्नु परेकै छैन । नत्र भने कैयौं पटक त्यसरी नै निदाएको छु म ।  मोबाइलमा गड्याङ्गुडुङ गर्दा तर्सिए जस्तो गरेर, पानी र बतासको सङ्गमलाई आफ्नै छेउ भएको अनुभव गरेर निदाएको छु म । ती फेक आवाजले यो पानीको के छेउ भेट्न सक्थे र ?

आकाशको पानीसँगै मन अझै बढी घोत्लिंदै छ ।

सररर हावा चल्यो, झ्यालभित्रै आयो मुटु एक्कासि जिरिङ्ग भयो ।

जब पानी पर्छ तब म भने विगतमै फर्किने गर्छु र सम्झिन्छु एउटा नाम – ‘प्रश्ना !’

====

प्रश्ना कुनै समयमा यो संसारकै सबैथोक लाग्थ्यो मलाई । हाइड्रोजन र अक्सिजनको मिश्रणबाट पानी बनेझैं, पानीका आयामबाट हामी बनेका थियौं ।

दशैंको बेला थियो, सबै घरका युवाहरू मिलेर  लाहुरे बाको खाली जग्गामा लिङ्गे पिङ हालेका थियौं । दशैंको दिन आफन्तजनसँग टीका लगाइसकेपछि वर्षमा एक पटक धर्ती छोड्नुपर्छ भन्ने हाम्रो संस्कार अनुसार म निधारमा टीकासँगै लिङ्गे पिङ भएतर्फ सोझिएँ । पिङ खेल्न पालो कुर्नेहरूको भीडभाड थियो । पालैपालो पिङ खेल्दै थियौं ।

एक्कासि आकाशमा बादल मडारिन थाले, घामका झुल्काहरू बादलसँग लुकामारी गरेझैं देखिन्थे, घरी बादल घरी घाम, यत्तिकैमा फिरफिर पानी पर्‍यो, पानीको बहाव बाक्लियो, सूर्य पनि एकैसाथ चम्किंदै थियो । हामी यस्तो अवस्थालाई भनिदिन्छौं “घाम पानी स्यालको बिहे” ।

सबै लाखापाखा लाग्न थाले, म भने पानीको झड्कालाई शरीरमा महसूस गर्दै थिएँ, यत्तिकैमा कोही मेरो पछाडिबाट हुत्तिएर पिङ भएतर्फ दौडियो । पछाडिबाट राम्रोसँग नियाल्न नपाउँदै उक्त व्यक्ति पिङमा बसेर म उभिएको दिशातर्फ फर्कियो ।

केही पलको लागि हाम्रो नजर जुध्यो । ठूलो निधारमा टपक्क अडिएर बसेका राता अक्षता, जमारा राख्न सजिलो हुनेगरी ठाडो पारेर बाँधिएको कपाल, हाँस्न खोज्दा देखिने दाह्रा, कुर्तामा टिमिक्क मिलेको शरीर, शायद राम्री यस्तै मान्छेलाई भन्छन् होला । मेरो मनले मलाई बताउँदै थियो ।

फिरफिरे पानी अब जोडजोडले पर्दै थियो, उसका निधारबाट अबिरका टीका नाकका टाकुरामा ठोक्किंदै पखाइलिंदै थिए । भिजेको कुर्तामा उसको जवानी अझै फरासिंदै थियो । आफैलाई नियालें म पनि त भिजिसकेछु ।

“हजुर पिङ खेल्ने हो ?” दाह्राका मुस्कानमा आँखाको इशाराले उसले मप्रति प्रश्न तेर्साई ।

“तिम्लाई पुग्यो र ?” लडबडिंदै थिएँ ।

“होइन हजुर खेल्ने भए खेल्नु न, म बस्छु एकछिन ।”

ऊ झरी, म पिङमा गएँ ।

“मच्चाइदेऊँ ?” ऊ पानीमा छुट्टै उत्साहित देखिन्थी ।

“हुन्छ,” अन्कनाउँदै सहमति जनाएँ ।

“हजुरको घर ऊ त्यो पहेँलो कलरको होइन र ?”

“हो ।” घर कसरी थाहा भयो, मनमनै सोच्दै थिएँ ।

“के रे हजुरको नाम, सुदिप हो क्या है ।”

म अवाक् भएँ ।

“हो । कसरी थाहा भयो ?” आश्चर्यचकित प्रश्न  ऊतर्फ तेर्साएँ ।

“अब मामाघर आउँदा, छरछिमेकका हेण्डसम केटाहरूको नाम त जानिराख्नु पर्‍यो भो, हीही ।”  उसले आँखा झिम्काउँदै भनिरहेकी थिई ।

अब मलाई धेरै औपचारिकता देखाइरहनपर्छ जस्तो लागेन । अनि तिम्रो नाम नि ?

“प्रश्ना ।”

हामी पिङ खेल्दै कुराकानी गर्यौं, प्रश्ना ब्याचलर सकेर अब विदेशमा फर्दर पढाइको लागि जाने सोच बनाएकी रहिछ । अझै एकदुई दिन मामाघरमै बस्ने कुरा सुनाई । ढुक्क भएँ, हामी फेरि पिङ खेल्नेछौं भनेर  छुट्टियौं ।

“यत्रो लामोबेर कुराकानी भयो, फोन नं मागेको भए पनि हुने, नभए कमसेकम फेसबूकमा त एड हुन सकिन्थ्यो होला बरु इन्स्टा नै भनेको भए अलिकति स्ट्यान्डर्ड मेन्टेन हुने थियो, मैले यस्तो राम्रो मौका कसरी खेर जान दिएँ ? भोलि फेरि भेट हुन्छ या हुँदैन । हत्तेरिका किन यति धेरै नर्भस हुन्छु केटी देखेपछि ?” प्रश्नासँग जोडिने मौका मैले गुमाइसकेको थिएँ, मनभरी उसलाई कहींकतै एड नगरेकोमा पछुतो सहितको भारी मन बोकेर घर पुगें ।

भिजेका कपडा चेन्ज गरेपछि, झ्याल छेउमा राखिएको टेबलमा हात राख्दै कुर्चीमा बसेर मोबाइल चलाउन लागें । ‘टिङ्ग’ मोबाइलमा नोटिफिकेशनको घण्टी बज्यो,  फेसबुकमा आएको नोटिफिकेशन रहेछ । जसमा प्रश्नाको फ्रेन्ड रिक्वेस्ट थियो ।

एकछिन त विश्वास नै लागेन, दोहोर्‍याएर हेरें ।

उहीं निधार, उहीं कपाल, अनि उहीं दाह्रासहितको मुस्कान ।

प्रश्ना अंग्रेजीमा स्पेस दिएर लेखिएको नाम ।

मैले मौका गुमाएको थिएँ, शायद उसले गुमाउन चाहन्न थी होला । पलभरमै एसेप्ट क्लिक गरें । अब हामी समाजबाट, सामाजिक सञ्जालमा जोडिसकेका थियौं । म खुशीले गद्गद भएको थिएँ तर देखाउन कसैलाई नमिल्ने, मनमनै मुस्कुराइरहें ।

म्यासेज गरम् कि नगरम् ? म्यासेज पर्खूं मबाटै शुरू गरूँ ? मैले सोच्न भ्याएको थिएन उताबाट उताबाट म्यासेज आइहाल्यो, “हेलो छिमेकी ह्याण्डसम मान्छे !”

जीवनमा अचानक खुशी, उत्तेजना र आनन्दको संयोजन सहितको पलको कुरा कसैले सोध्यो भने, शायद त्यो क्षण नै भन्छु होला ।

“हजुर, छिमेकीको भान्जी !”

” हीही !” स्माइली इमोजीसहित रिप्लाइ आयो । त्यो स्माइल भित्रको दाह्राको परिकल्पना गर्दै थिएँ ।

“दाह्रा देखिएन मिस ।”

‍”त्यो त मुखभित्र छ नि ।”

अब के रिप्लाई दिने, शब्दहरू फिल्टर गर्न लागें, लेख्दै मेट्दै, मनभरी धेरै कुरा छन्, ढीलो नगरी भनें, “ह्याप्पी दशैं !”

“सेम टु यु, अब पैसा दिनू ।”

“केको पैसा ?”

“भान्जीलाई दशैंको दक्षिणा दिनु पर्दैन ।”

“भान्जी मेरो हो र ?” तीतो जवाफ फर्काएझैं लाग्यो ।

“कति छुच्चो !” भनिहाली ।

कुनै किताबमा पढेको थिएँ, छोरी मान्छेको ध्यान खिच्नु छ भने केही इगनोर गरे जस्तो पनि गर्नुपर्छ । यो साइकोलोजी प्रयोग गर्न मन लाग्यो, अनि उसको म्यासेज सिन गरें र छाड्दिएँ । मैले छाडेजस्तै उसले पनि छाडिन् । त्यो दिनको लागि खुराक पुग्यो ।

भोलिपल्ट बिहानै उसको म्यासेज आयो, “शुभप्रभात सुदिप जी ।”

शुभप्रभात ! के खालको म्यासेज हो यो ?

“गुड मर्निङ प्रश्ना मिस ।”

“सुदिप जीले चिया खाइसियो ?”

“सुदिप जी उठिसिएकै छैन ।” भनें ।

“अल्छी होइसिनुँदो रैछ । उठ्नुस अब त ।”

यस्तो लाग्दै थियो हामी एक अर्काको परिपूरक बनिसक्यौं । जिस्कन रमाइलो लाग्दै थियो ।

“तिम्रो आज के छ प्लान ?” सोधें ।

“केही छैन, सुदिप जीको नि ?” उ अझै जिस्किंदै थिई ।

“म केही प्लान बनाऊँ ?”

“कस्तो ?”

“डे आउट ?”

उसको उपस्थितिको शंका मनमा थियो । हिजो भेटेको आज नै घुम्न जान गाह्रो मान्नसक्ने कुरालाई शिरोपर गरी पनि सकेको थिएँ । उसबाट आउने गतिलो बहानाको पर्खाइमा थिएँ म । म्यासेज सीन भएर टाइप हुँदै थियो, म उसको बहानाको प्रतीक्षामा थिएँ ।

“हुन्छ, कतिबेला ?”

मेरो शंका गलत निस्कियो । थप उत्तेजित बनें ।

हामीले नम्बर एक्स्चेन्ज गर्यौं । दिउँसो भेट्ने बाचासँगै, म बेडबाट उठेर नुहाउन गएँ ।

अपरान्हको १२ बजेमा फोन गरें, ‘अबको ५ मिनेटमा पिक अप गर्न आइपुग्छु चोकमा आएर बस ।’

उसले हस् भनेर फोन काटी ।

म घरबाट निस्किएँ, ऊ पहिले नै चोकमा आएर बसेकी थिई, मलाई देख्ने बित्तिकै मुस्कुराइहाली, दाह्रा फुत्त बाहिर निस्कियो ।

हामी त्यहाँबाट सिधै नारायणी किनारमा पुग्यौं । पारिपट्टी चितवन राष्ट्रिय निकुञ्ज, बीचमा फरासिंदै मौन बगिरहेको नारायणी नदी र वारि त्यो मनोरम दृश्यलाई नियाल्न बनाइएको रिसोर्ट थियो । म नयाँ मान्छेहरूलाई प्रायः यहीँ लिएर आउँछु । मान्छेहरू यो ठाउँमा आइपुगेपछि छुट्टै संसारको अनुभव गर्छन्, यस्तो लाग्छ कोलाहल जीवनबाट छुटकारा मिलेको छ । यस्तो लाग्छ नदीसँगै आफै पनि बगिदिऊँ ।

वर्षामा नदीले आफ्नो अँजुलीमा बोकेर ल्याएको बालुवाले बगर लिपिदिन्थ्यो । त्यो बालुवामा खाली खुट्टा परसम्म दौडिंदैगर्दा लाग्थ्यो कि म कुनै समुद्र किनारमा छु ।

“कस्तो लाग्यो ठाउँ ?” पछाडी फर्किएँ ।

ऊ त अगि नै त्यो बालुवा किनारमा दौडिन पुगिसकिछ ।

“सुदिप, यहाँ आऊ न ।”

तपाईंबाट अब तिमीमा झरिसकेकी थिई ऊ ।

हामी नदीको छेउमै बनाइएको टहरामा बस्यौं ।

“दाइ के ल्याइदिम् ?” टेबलको छेउमा ट्रे बिसाउँदै पानीको बोत्तल, दुईओटा ग्लास र न्यापकिन पेपर निकाल्दै गर्दा उक्त होटेलको भाइले सोध्यो ।

पुर्लुक्क उसलाई नियालें ।  नमिलाइएको कपाल, पुरानो कपडा, आँखामा अनगिन्ती सवाल, उमेरले भर्खर १४/१५ जस्तो ।

“बाबू मेनु छैन ?” प्रश्नाले सोधी ।

“नाई, भन्नू न के खानुहुन्छ ? हाँस ग्रेभी, छोइला, चिकन, सुकुटी, माछा ?” भाइको मुखमा मेनु कण्ठै थियो । खाने कुराको छेउमै सिधा एरो बनाएर राखिने पैसा हेर्ने बानी परेकोलाई मुखले भनेको मेनु अलि अपूरो लाग्ने रहेछ । कुन खाने कुरालाई कति पर्छ सोध्न पनि नमिल्ने । म मनमनै यस्तै सोच्दै मुस्कुराएँ ।

“छोइला खाऊँ है शुरूमा ?” प्रश्नातर्फ हेरेर सोधें ।

“हजुरको जे इच्छा सुदिप जी ?”

“मेरो इच्छा अरू पनि छ ?”

“भन्नाले ?” ऊ उत्सुक थिई ।

“बियर । हिहि ।”

“त्यो नि सोध्ने कुरा हो ?” उसको सजिलो जवाफ थियो ।

बियरको चियर्स सँगै हाम्रो कुराकानी शुरू भयो । जीवनका, विगतका, प्रेमका, वियोगका । जति जति हामी मात्तिंतै थियौं उति उति सामीप्य झन् बढी  बढ्दै थियो । अगि नै टेबलको वारिपारि बसेका हामी अब एउटै साइडमा थियौं । उसको शिर मेरो काँधमा ढल्किएको थियो अनि मेरो एउटा  हातमा उसको हात , मेरो अर्को हात फुत्किएर उसको कपाल चलाउँदै थियो ।

लगातारको झरीपछि आज आकाश अलिकति खुलेको थियो । घाम चर्किन खोज्दै थियो, टाढाबाट बादलहरू आक्रमणको योजना बनाए जसरी हुत्तिंदै आउँदै थिए । एकैछिनमा आकाशमा कालो बादल झनै मडारिए । गढ्याङ्गुढुङ शुरू भयो । एक दुई गर्दै पानी फिरफिर पर्न लाग्यो ।

“जाम न भिजम् ।” प्रश्नाले मेरो काँधबाटै मतर्फ हेर्दै आग्रह गरी । म कसरी नाइँ भन्न सक्थें । मोबाइल पर्स लगायत भिज्न नमिल्ने कुराहरू टेबलमै राखेर बाहिर निस्कियौं । मज्जाले भिज्यौं । वरिपरि कोही थिएन ।

उसले मलाई आफूतर्फ तानी र आफ्नो ओठ मेरो ओठमा ल्याएर बिसाइदिई । कल्पना भन्दा बाहिरको कुरा थियो त्यो पल । मेरो ढाडमा उसको हात राखें प्रश्नालाई जोडले अँगाले । ओठहरूको शाली1न संवादपछि ऊ मेरो छातीमा टाँसिएकी थिई । यसरी कि मनौं म अब उसको भविष्य हो, हामी एक अर्काको लागि बनेका थियौं र आज भेटियौ । पानीको वेग कम हुँदै गयो , अगिका बादलहरूले युद्ध सकिएको घोषणा गरे जसरी टाढिन लाग्दै थिए, सूर्यले आफू फर्किएको जानकारी मधुर चमकबाट दिंदै थियो । हामी पुनः टेबलमै फर्कियौं । अबको सामीप्य झन् नजिकको थियो । एक अर्कालाई खुवाउनु नयाँ कुरा थिएन । एउटै ग्लासबाट बियर पिउँदै थियौं हामी ।

“के गरेको प्रश्ना ?” हत्तपत्त सोधें ।

“जुठो खायो भने माया बढ्छ भन्ने थाहा छैन र ?” दाह्रा देखाउँदै हाँस्न लागी ।

“खाने कुराको हकमा त थाहा थियो, रक्सी जुठो खाएर पनि माया बढ्छ थाहा थिएन ।” हामी जोडले हाँस्न लाग्यौं ।

प्रश्नालाई त्यसरी नै अँगालिरहूँ झैं लाग्यो । ऊ पनि मसँग सुरक्षित अनुभव गरेकी थिई । छोरी मान्छेले आफ्नो जीवनसाथी उसको बाबा जस्तै होस् भन्ने चाहन्छ रे, जसले सधैं उसको हिफाजत गरिरहोस् । म त्यो कुरामा पूरै सचेत थिएँ, त्यही अनुरूपको व्यवहारको लागि ।

एउटा बिर्सनै नसक्ने जीवनको पल बोकेर हामी साँझतिर घर फर्कियौं । मेरो बाइकको पछाडि चुम्बक जसरी टाँसिएकी थिई ऊ । चोकमा छोड्ने बेलामा, राति फोन गर्न अह्राई ।

“झ्याप नभए जस्तो एक्टिङ गर है ।” सम्झाएँ ।

“त्यति खाएर कसलाई लाग्छ र ?” हाँसी ।

हामी हाँस्दै छुट्टियौं ।

म आज खुशी थिएँ । खुशी भन्ने शब्द पनि त्यो खुशी व्यक्त गर्न पर्याप्त थिएन, शायद म त्यो खुशी भन्दा अझै बढी खुशी थिएँ जुन अव्यक्त थियो ।

खान मन थिएन, मम्मीको मन राख्दिन थोरै खाएँ ।

हामी रातभर बोल्यौं ।

“कहिल्यै बिहान हुन्जेल कसैसँग बोल्नु भएको छ ?” उसले सोधी ।

“अँ एकपटक,” झूट बोल्न मन लागेन ।

“ओहो भनेपछि ब्रो प्रो हो ? हाहा ।” जिस्काई, उसले थपी पनि हालिन्, “म त कोहीसँग यसरी बोलेको थिइन, पहिलो पटक तपाईंसँग बोल्दैछु ।”

“होला होला, के थाहा ?” शंकालु पारामा भनें ।

“बोल्ने कोही भए पो बोल्नु । भन्दै त छु यो पहिलो पटक हो ।” ऊ झर्किई ।

“ल त नि पत्याएँ, किन रिसाको हो र ?” सम्झाउन खोज्दै थिएँ ।

“अनि किन त जे पाई त्यै बोल्ने ? रीस उठाउने होइन है अर्काकी छोरीलाई ।”

“आफ्नो बुढीलाई त पाइयो भो ?” मौका किन गुमाउँथे र म ।

जस्तोसुकै मान्छे पनि रक्सी खाएपछि ओपन  हुन्छ । त्यहीमाथि राती बोल्दै थियौं । रातका बातहरू प्रायः प्रेमिल नै हुने गर्छन् । जति रात गहिरो बन्छ त्यति कुराहरू गहिरिन्छन्, झनै मजेदार बन्छन्, जिद्दी बन्छन् । हाम्रो सवालमा त्यही हुँदै थियो ।

“सिन्दूर हाल्नुपर्छ, बुढी भन्नलाई । त्यति सजिलो छ र ?” जिम्मेवार छोरीले जस्तै कुरा गर्दै थिई ।

“त्यो पनि दिन आउँछ मिस प्रश्ना, चिन्ता नगर्नुस् ।” जिम्मेवार प्रेमीले जस्तै कुरा गरें मैले पनि ।

“हेरुँला हेरुँला ।”

“किन तिमी चाहन्नौ, त्यो दिन आओस भनेर ?”

“चाहन्छु ।”

म ढुक्क भएँ ।

बिहानको चार बजेतिर सुत्ने सल्लाह भयो, त्यो पनि फोन नकाट्ने शर्तमा । फोन काटिएन एक अर्काको सास फेरेको आवाज सुन्दै बिहानी पख निदायौं ।

“गुडमर्निङ” लभ इमोजीसहित बिहानै उसको म्यासेज र तीन मिसकल आइसकेको रहेछ । म ढिलो उठें । म्यासेज रिप्लाई गरेर, कल ब्याक गरें ।

“भर्खर उठ्नु भो सुदिप सर ?”

“उम्म !”

“म घर फर्किंदै छु ।”

“हो र ? दुई चार दिन बस्छु भने जस्तो लागेथ्यो त ? किन एक्कासि ? भन्नु पर्दैन ?” एकै पटक प्रश्नहरू तेर्साएँ ।

“भन्नलाई त फोन गरेथें, आफूले रिसिभ नगर्ने, अहिले उल्टै रिसाउने । बस्ने त भनेको हो  काम परेर हिंड्न पर्‍यो के ।” उसले भनी ।

“हो र ? ल राम्रोसँग जाऊ, पुगेर कल गर ।”

“हस्, उठ्नुस् हजुर अब, अनि फ्रेश भएर केही खानुस् ।” उसको शब्दमा मम्मीको जस्तो केयर थियो ।

‍= = = =

समय सधैं  आफ्नो साथमा, आफूले चाहे जस्तो नरहने रहेछ । प्रश्ना उसको मामाघरबाट गैसकेपछि हाम्रो सम्बन्ध उस्तै कहिल्यै रहेन । शुरू शुरूका दिनहरूमा हामी खूब कुरा गर्यौं  । फोनमा, च्याटमा एकछिन छुट्टिएनौं । कैयौं पटक हाम्रो भेट्ने सल्लाह हुन्थ्यो, दुवैजनाको विविध कारण पर्थ्यो अनि क्यान्सिल हुन्थ्यो । बिस्तारै दिनहरू थप परिवर्तित हुँदै गए । हाम्रो टाढाको सम्बन्धमा आफ्नो नजिकका मान्छेहरू प्रभाव पर्नु स्वभाविक थियो । दिनरात बोल्ने हामी अब गुड मर्निङ र गुड नाइटको औपचारिकतामा आइपुगेका थियौं । एक अर्काको लागि फोनमा बोल्न समय निकाल्ने हाम्ले, फ्री हुँदा पनि कल गर्न कम गरिसकेका थियौं । दिनबाट महीना बित्यो । शुरूको जस्तो इनर्जी अब हामी दुवैमा थिएन । सम्बन्धको चिसोपन आउँन थाल्यो । सानो कुरामा झर्किन्थ्यौं, रिसाउँथ्यौं । झन् चिसिंदै गएपछि भने म्यासेज सीन हुन्थ्यो र छोडिन्थ्यो । अब गुड मर्निङ म्यासेजहरू मेलको स्पाम म्यासेज जस्तै सीन नभै यसै थन्किरहेका देखिन्थे ।

हाम्रो सम्बन्ध चिसिनुमा गल्ती दुवै जनाको थिएन । टाढाको सम्बन्ध अनि झ्याप्पै बिहे गरिहाल्न नसक्नु शायद प्रमुख कारक बन्न सक्छ । या हामी थप अझै परिष्कृत व्यक्तिको खोजीमा थियौं त्यसको पनि सम्भावना हुनसक्छ । अब त हप्ता दिनको ग्यापमा कुरा हुन्थ्यो, त्यो नि मूड अनुसार ।

सम्बन्ध टिकाउन धेरै कुरा गर्न सक्थें । बिग्रनुमा धेरै गल्ती मेरै थियो । उसले मलाई गरे जसरी उसलाई केयर कहिल्यै गर्नै सकिनँ मैले । शुरू शुरूमा जब ऊ मप्रति लगाव राख्थी म भने अब आफ्नै त हो भनेर इग्नोर धेरै गर्दिने गर्थें, पछि त्यो मलाई बानी पर्‍यो । उसको लागि नबोल्ने गतिलो बहाना । बिस्तारै उसले पनि बदलाको रूपमा मसँग त्यस्तै गर्न लागी, म प्रयासरत रहन्थें, बद्लिन्छु भन्थें, तर त्यतिबेला सम्म ढीलो भैसकेको थियो । हाम्रो मायाको दियो लगभग निभिसकेको थियो ।

एकपटक मैले सोधेको थिएँ, “हामी सधैं यस्तै हो कि, दुवैजनाले सम्बन्ध टिकाउनको लागि केही पहल गर्ने ?”

“खै,” उसको इरिटेड गराउने रिप्लाई थियो ।

“सम्बन्ध पुगेको हो तिम्लाई ?” स्पष्ट कुरा चाहन्थें ।

“म बुझ्नै सकेको छैन सुदिप ।” ऊ सधैं यस्तै द्विविधामा रहन चाहन्थी ।

अति भैसकेपछि मैले प्रश्नालाई सामाजिक सञ्जालतर्फ ब्लक गरेर छाडिदिएँ । यसरी  प्रश्नासँगको कहानी अन्त्य भैसकेको थियो ।

महीनाबाट बर्ष बित्यो । कहिलेकाहीं सम्झिन्थें, अनि साथी भाइको आइडीबाट चियाउँथें । प्रश्ना पढ्नको लागि अस्ट्रेलिया पुगिसकेकी थिई । विभिन्न ठाउँमा विभिन्न पोजमा  खिचेका फोटाहरू थिए । सबै फोटोमा दाह्रा देखिन्थ्यो । उसलाई देख्दा मेरो आत्मग्लानि सहितको पिडादायी मुस्कान ओठमा आइरहन्थ्यो ।

= = = =

“सुदिप !” मम्मीले बोलाउनु भयो ।

म झल्याँस्स भएँ ।

“हजूर !”

ग्लासतिर हेर्दै भन्नुभयो, “चिया अझै खाएको रहेनछ । सेलाइसक्यो ।”

यत्रो बेर म प्रश्ना सँगको विगतको सम्झानामा हराइरहेको पो रहेछु । बाहिर पानी झनै जोडले पर्दै थियो । प्रश्नासँग भेटिएको भनौं या  छुट्टिएको पनि आज पाँच वर्ष भैसकेछ । प्रत्येक पटक जब दशैं आउँछ अनि मलाई उसको सम्झना आउँछ । यो पटक त उसलाई सम्झाउनको लागि झरी पनि आएको थियो । मैले छेउमा राखिएको दराजको ऐनामा आफूलाई नियालें, आँखाबाट पनि त झरी आइसकेछ ।

टेबलमा राखेको मोबाइल भाइब्रेट गर्दै थियो । मोबाइलमा नियालें नयाँ नम्बरबाट फोन थियो ।

“हेलो,” मेरो आवाज मलिन थियो ।

“हेल्लो छिमेकी ह्याण्डसम मान्छे, के छ आजको प्लान ? डे आउट जाने हो ?” यो आवाज त्यही पुरानै थियो, उसैको थियो । जसलाई यत्रो वर्ष मैले सम्झिरहेको थिएँ ।