
सबेरै उठी दौडिने मेरो दैनिक बनेको छ । दौडेर फर्किंदा काठमाडौंका सडकमा सामान्य दिनचर्या शुरू भइसकेको हुन्छ । बाटोमा गाडीहरूको चहलपहल बढ्न थालेको देखिन्छ । गाडा र भुइँमा तरकारी बेच्नेले सडकपेटी कब्जा गरेका हुन्छन् । होटलका साहुनीहरू ग्वारमरी र सेलरोटीका लागि पीठो फिट्दै हुन्छन् । काठमाडौंका गल्लीमा बिहानै मीठो खाजा तयार भइसकेको हुन्छ ।
साहुनी सोध्छिन्, “यही खाने कि प्याक गर्दिँऊ ?’’
ग्राहक, “यहीँ खाने’’ भन्छ ।
सानो पसल एकै छिनमा ग्राहकले भरिहाल्थ्यो । पसलमा नअटेका ग्राहकहरू यत्रतत्र छरिएर खाइरहेका हुन्थे ।
त्यो दिन मन थाम्न नसक्दा म पनि लाइन लागेको थिएँ । साहुनीले पहिलो लटमा तारेको ग्वारमरी लामबद्ध ग्राहकलाई बाँड्दै थिइन् । ठ्याक्कै मेरो पालोमा सकियो र एकछिन कुर्नु भनिन् । अर्को लट ग्वारमरीको पीठो तयार हुँदै गर्दा उनले छेउको टिनबाट डाडुले तेलजस्तै पदार्थ ताइमा थपिन् । मैले टिनमा लेखिएको ध्यान दिएर हेरें । वनस्पति घ्यू रहेछ । यसमा ट्रान्स फ्याट हुनाले स्वास्थ्यलाई असर गर्छ भन्ने कतै पढेको थिएँ ।
ग्वारमरी तयार हुनासाथ साहुनीले सोधिन् , “ए भाइ कतिको दिऊँ ।’’
“भयो दिदी, नखाने ।’’ त्यसपछि म मन लोभ्याउने खानेकुरा बेच्ने होटलको बाटो हिंड्न छाडें ।
हुन त म पहिले स्वास्थ्यप्रति त्यति सचेत थिइनँ । अहिले यत्तिको प्रयास गरिरहँदा एक वर्ष अघिको आफैंलाई हेर्दा म अर्कै मान्छे हो कि जस्तो लाग्छ । म पनि साथीभाइसँग निकै रेस्टुराँ धाउँथें । काठमाडौंका राम्रा रेस्टुराँ र त्यहाँको विशेष खाना नचाखेको ठाउँ बाँकी थिएनन् । समय साबिकले बित्दै थियो, एक्कासि मेरो पाचनमा समस्या देखा पर्यो ।
जँचाउँदा कलेजोमा अधिक बोसो देखियो । सुगर बढेको तर मधुमेह भइनसकेको डाक्टरले बताए । यो अवस्थालाई प्रिडाइबेटिज् भन्दा रहेछन् । सबै कुराको जड मोटोपना भनेर तौल घटाउने सल्लाह दिइयो ।
अहिलेसम्म केही नभएको मलाई, डाक्टरले मेरो स्वास्थ्य निकै बिग्रेको बताउँदा विश्वास गर्नै सकिनँ । धेरै दिनको सोचाइपछि यी रोगहरूबाट मुक्त हुन्छु भनेर हिम्मत राखें । त्यसपछि खानामा अनुशासित भएँ र व्यायाम पनि गर्न थालें ।
पहिले घरको खानामा कुनै आपत्ति थिएन । तर खानपानप्रति सचेत हुन थालेपछि मलाई घरकै खानामा धेरै कमजोरी महसूस भयो । घरमा चखिलो, नून-मसला ट्वाक्क र धेरै चिल्लो खाने चलन थियो । कलेजोमा समस्या देखिएपछि मलाई चिल्लो र मसला कमै पच्थ्यो ।
खानपानमा परहेज गर्न थालेपछि पकाउन म आफैं अग्रसर हुन्थें । मैले पकाउँदा घरकाले “नून हाल्न बिर्सिस् ! मसला हालिनस् ?’’ भनिरहन्थे ।
अरूले चित्त नबुझाएनि सोच्थें केही समयमा सबै बानी पर्लान् । फेरि घरमा पनि त हाइ बल्ड प्रेसरका बिरामी थिए ।
* * * *
एकदिन मैले खाना पकाउँदा खानामा नून कम भयो भनेर बुवाले भान्साबाट मुट्ठीभरि नून लिएर आउनुभयो ।
“जे खायो त्यहीं बिलिनो !’’ भन्दै नुन प्लेटमा छर्किनुभयो ।
“आफ्नै घरमा नि चट्ट मीठो खान नपाइने !’’ कर्के आँखाले मलाई हेर्दै भन्नुभयो ।
रीसले नून बढी छर्किनु भएछ, खान नसकेर डस्टबिनमा घोप्ट्याउनु भयो । त्यस पश्चात् मैले घरमा खाना बनाउने आँट गर्न सकिनँ ।
प्राय मेरो लागि छुट्टै खाना बनाइदिनुहुन्थ्यो वा समय हुँदा म आफैं बनाउँथे । अफिसमा घरबाटै लन्च प्याक गरेर लग्थें ।
खानामा परहेज गर्न थालेसि साथीहरूले पनि मलाई बिस्तारै वास्ता गर्न छाडे । कहिलेकाहीं सामाजिक सञ्जालमा फोटो देख्दा मलाई नभनी गएको थाहा पाउँथें । प्रायः ठट्यौली गरिरहने र एकैछिन एक्लै नरहने मलाई रोगले सबैबाट अलग्याउँदै थियो ।
रमाइलो र खानैका लागि मिल्ने साथीहरू मबाट बिस्तारै टाढिंदै गए र बिरलै गफ हुने मेरा जस्तै स्वास्थ्य समस्या भएकाहरू नजिकिंदै गए । साथी हुन पनि केही न केही साझा हुनुपर्ने ! आनीबानी होस् वा रोग नै !
* * * *
एकदिन संजय सरले उहाँको प्रमोशनको सेलिब्रेशनमा अफिसका सबैलाई निमन्त्रणा गर्नुभयो । सधैं झैं म सामेल हुन खोजिनँ ।
तर उहाँले भन्नुभयो, “तपाईंलाई हुने खाना छुट्टै बन्छ, किन आत्तिनुहुन्छ ?’’
पार्टी भने जस्तै थियो । मेरो लागि सादा खाना र उमारेको गेडागुडीको सलाद व्यवस्था गरिएको रहेछ । अरू विभिन्न भेज र ननभेज आइटम खाँदै थिए । अन्तमा सबैले बियर थप्ने कुरा भयो । एक राउन्ड सबैलाई सर्भ गरियो ।
सबैले शरीरको सन्तुलन गुमाउँदै गर्दा मलाई सारसौदो देखेर विनय लगायतका अरू साथी म नजीकै आए ।
“ए साथी पार्टीमा नआउनु आएसि के गिलासमा पानी लिएर बस्छौ, कागको बथानमा बकुल्ला जस्तै ।’’
स्वेताले भनिन्, “संजय सरले बोलाउँदा आउने… हामीले भन्दा नमान्ने । छाडिदेऊ विनय, हामी त कहाँ उसको साथी हौं र !’’
“स्वास्थ्य समस्याले गरेर हो साथी, तिमीहरूलाई वास्ता नगरेको होइन ! प्लिज बुझिदेऊ,’’ सम्झाउन थालें ।
त्यत्तिकैमा विनय अलिक चिढिंदै भने, “रोगको बहाना नगर, नत्र तिमी यहाँ आउँदैन्थ्यौ !’’
“हाम्रो साँच्चै वास्ता भए आज हामीले भनेको मान्नैपर्छ !’’ भन्दै नितेशले बियरको बोतल मतिर बढाए ।
मैले हुन्नहुन्न भन्दाभन्दै नि विनयले मेरो चिउँडो समाए र नितेशले बियर ठाडो घाँटी लगाइदिए । म जोडजबर्जस्तीमा बियर पिउन बाध्य भएँ । बोतलको बियर आधा जति भएसि मात्रै उनीहरूले मलाई छोडे ।
त्यसरी जबर्जस्ती गरेकाले आँखाबाट आँसु झर्यो । अँध्यारो भएकाले उनीहरूले मेरो मुहारको हाउभाउ देख्न पाएनन् । बस् मलाई बियर खुवाएर हराए भन्दै खुशी मनाए ।
मलाई झन्नक रीस उठ्यो । मित्रताको दाबी गर्नकै लागि भएनि मैले नितेशको हातबाट बियर खोसें र बाँकी बियर पनि स्वात्तै पारें । साथीहरू मक्ख परेर ताली पड्काउन थाले ।
“अब बल्ल मिल्यो पारा पार्टीमा आएको !’’ बियर पिइरहँदा स्वेताले भनेको सुनें ।
बोतलको बियर सकिनासाथ रन्थिनिंदै त्यहाँबाट निस्किएँ ।
आफ्नो प्रयासमा अनवरत लागिरहँदा अरूको साथ नपाएर म एक्लिसकेको थिएँ, मनमनै हारिसकेको थिएँ । त्यस दिन आफूलाई पूर्ण रूपले निर्बल महसूस गरें ।
* * * *
भोलिपल्ट अफिसमा कसैसँग बोल्न मन लागेन । अरू हिजोकै पार्टीको गफ गर्दै थिए ।
त्यतिकैमा मलाई व्यंग्य गर्दै विनयले भने, “हिजो त रक्सी छुन्न भन्नेले नि राम्रै चाखे, हाँ हाँ !’’
“के छ विकास ? रिसाएका त छैनौ नि !’’ भन्दै आफू-आफू बीच हाइफाइब गरे ।
त्यत्तिकैमा मोबाइल स्क्रोल गर्दै गरेकी स्वेताले “शाहरूख खानको पार्टीमा आमिर खानले डाइटमा छु भन्दै घरबाटै लन्च प्याक् गरेर ल्याए’’ भन्दै हेडलाइन पढिन् ।
त्यति पढ्ना साथ फेरि गन्थनमन्थन चल्यो । कसैले भन्यो, “त्यत्रो अर्बपति भएर नि पार्टीमा आउने पाहुनाले के खान्छ व्यवस्था नगरेको कस्तो शाहरूख खान !”
स्वेताले भनिन्, “आमिर खानको डेडिकेशन चाहिं हो के !’’
“स्वेता म्याम तपाईंलाई आमिर खानको डेडिकेशन खतरा लाग्यो, अनि आफ्नै साथीले गरेको प्रयास चाहिं !’’ संजय सरको अचानकको अभिव्यक्तिले सबैजना आ-आफ्ना स्थानमा सजक भई बसे ।
सरले थप्नुभयो, “हिजो आफैंले देखेको थिएँ, तपाईंहरूले कसरी वहाँलाई पिउन बाध्य पार्दै हुनुहुन्थ्यो । विकासजी केही समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै हुनुहुन्छ । हिजो नि वहाँ पार्टीमा आउन राजी हुनुहुन्नथ्यो । मेरै भरले आउनुभयो । तपाईंहरूले जुन व्यवहार वहाँप्रति गर्नुभयो त्यो त सह्य छैन ।’’ संजय सर अलिक आक्रोशित देखिनुभयो ।
विनयले कुरा मिलाउन खोज्दै भन्यो, “होइन, सर हामी बीच यस्तो रमाइलो चलिरहन्छ । फेरि हिजो हामीले शुरूवात मात्र गरेका थियौं । पछि विकासले आफै बोतल टिपेका थिए । होइन त विकास !’’
तीनै जना मेरो सहमति भएको हो भनेर संजय सरलाई बुझाउन चाहन्थे । तर म मौन बसिरहें ।
“अरू केही होइन, तपाईंहरूले हिजोको दुर्व्यवहारका लागि विकाससँग माफी माग्नुहुनेछ । सबैको अगाडि !’’ सरले कुरा टुङ्ग्याउनुभयो ।
उनीहरूले मतिर फर्किंदै भने, “वी आर सरी ।’’
सरले यो विषय नउठाइदिएको भए गल्ती गर्नेले कहिल्यै बुझ्दैनन् थिए । म आफैं नि केही दिन रुठिन्थें र त्यो घटना बिर्सिन्थें होला । तर सरले सबैका सामु कुरा उठाइदिनाले शायद अरूले पनि बुझे होला कि कसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्दछ भने त्यो कुराको सम्मान गर्नुपर्छ भनेर ।
हिजोसम्म निरुत्साहित भएको म आज हौसिएको थिएँ र जस्तै परिस्थितिमा नि आफ्ना प्रयास कायम राखिरहनेछु भन्नेमा पक्का भएँ ।
* * * *
त्यहीं रात घरमा सबै टिभी हेर्दै थियौं । दशैं नजिकिएकाले समाचार त्यहीं बारे थियो । दशैंमा खानपान भन्दै पोषणविद्सँगको अन्तर्वार्ता प्रशारण भयो ।
“दशैं नजीकिंदै छ । यस्तो वेला दर्शकहरूलार्इ खानपान सम्बन्धी कस्ता सुझाव दिन चहानुहुन्छ, सर ?’’ प्रस्तुतकर्ताले पोषणविद्लाई पहिलो प्रश्न राख्यो ।
“दशैं भन्ने बित्तिकै मीठो खाने, टन्न खाने सोचिन्छ तर हामीले स्वास्थ्य स्थितिलार्इ मध्यनजर गरेर मात्रै खानुपर्छ । चाडपर्वमा प्रायः निष्क्रिय रहिने हुनाले शक्तिवर्धक खानेकुराहरू जस्तै चामल, पीठो, चिल्लो, चिनी आदि कम गर्नुपर्छ । दशैंमा मासु धेरै खाइने भएनि सन्तुलन मिलाउन गेडागुडी, तरकारी र फलफूल पनि खानुपर्छ । आफूले दिनभर खाने क्यालोरी नियन्त्रण गर्नुपर्छ ।’’
“अनि सर, दशैंमा त धेरै आफन्तकोमा गइन्छ । पेट भोको नहुँदा नि आफन्तको करकापमा खानैपर्ने हुन्छ, त्यस्तोमा कस्तो सुझाव दिनुहुन्छ ।’’
प्रस्तोताले मेरै मनको कुरा सोधिदिए झैं लाग्यो ।
“हो, तपाईंले सही कुरा सोध्नुभयो । यो समस्यासँग जोकोही जुधिरहेका हुन्छन् ।
नेपाली समाज आतिथ्य सत्कारमा अब्बल छ । हामी आएका अतिथिलाई खाली मुख नपठाउनेमा विश्वास गर्छौं जुन एक हिसाबले राम्रो हो । तर अचेल स्वास्थ्य समस्याका कारण मानिसले विभिन्न खानेकुराहरू परहेज गरिरहेको भेटिन्छन् । मानिसहरू लाज वा अप्ठ्यारोले अरूकहाँ खान आनाकानी गर्छन् भन्दै आतिथ्य सत्कार अनुसार एक पटक नभई धेरै पटकसम्म खान आग्रह गर्ने गरिन्छ । फेरि खाना परहेज गरिरहेकाले पनि अरूकै मन राख्न खाने गरेको देखिन्छ ।
स्वास्थ्य समस्याका कारण आफ्नो जीवनशैली र खानापान परिवर्तन गर्न मानिसले धेरै मेहेतनले गरेको हुनसक्छ । हामी भनौंला एक चोटि थोरै खाँदा केही हुन्न तर हामीले त्यसरी नकारात्मक प्रोत्साहन गरिरहँदा त्यस व्यक्तिको खानाप्रतिको अनुशासन र धैर्यता भङ्ग गरिरहेका हुनसक्छौं । त्यसैले मित्रता वा आतिथ्यका नाममा कसैले परहेज गरिरहेको खानेकुरामा कर गर्नुहुन्न भन्नेमा सोच्न जरूरी देखिन्छ ।’’ पोषणविद्ले चित्त बुझ्दो उत्तर दिए ।
“खानाकै माध्यमबाट आतिथ्य जताउँदा पनि कम क्यालोरी वा चिल्लो भएका खानेकुरा मार्फत सत्कार गर्न सकिन्छ । जस्तै चिसोको सट्टा मोही । भातको सट्टा सलाद वा तरकारी । खानामा इच्छा नगर्नेलाई कुनै उपहार दिने वा गफगाफ गर्दिने ।’’
“राम्रो सुझाव…. अनि चाडपर्वमा सुगर-प्रेसर भएकालाई कसरी खाने सल्लाह दिनुहुन्छ ?”
“सुगरमा सबै थरी खानेकुरा खान मिल्छ तर मात्रा मिलाएर ! प्रेसरमा पनि अधिक क्यालोरी, नून, तेल, मसलामा सावधानी अपनाउनुपर्छ । बिरामीकै स्वास्थ्य मध्यनजर गरेर खाना तयार गर्दा सो खाना अरू सदस्यलाई नि स्वास्थ्यवर्धक हुन्छ । एउटै भान्सामा अलग खाना तयार गरिरहनुपर्दैन । घरमा कसैलाई दीर्घ रोग हुनु भनेको भावी पिँडीमा नि त्यसको सम्भावना प्रबल हुन जानु हो । यस्तो अवस्थामा हामीले खानपान र जीवनशैली परिवर्तन गरेर बिरामीका साथै हाम्रो भावी स्वास्थ्यलाई सुरक्षित बनाउन सक्छौं ।’’
पोषणविद्ले त्यसो भन्दा बुवाले मलाई पुलुक्क हेर्नुभयो । बुवाका मुहारमा ग्लानि मिश्रित भाव महसूस गरें । अप्ठ्यारो मान्दै वहाँ बसेको ठाउँबाट उठेर जानुभयो ।
यत्तिका समय अफिस र घरमा खानाकै कारण चलेको मनमुटाव अन्ततः टुङ्गिए झैं लाग्यो । त्यसका लागि संजय सर, टिभीका प्रस्तोता र पोषणविद्सँग मनमनै कृतज्ञ भएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

