आकाश आफ्नी पाँच वर्षकी छोरी सोनिकालाई विद्यालय पुर्‍याउन जाँदै थियो । हातमा छोरीको झोला थियो । आकाश अलिक हतारमा केही नबोली अघि हिंड्दै थियो, छोरी पछिपछि पछ्याइरहेकी थिई । आकाश आजको कामबारे सोच्दै थियो, ‘नन्दापारी जोरसिमल पुगेर साहूको ट्याक्टर लिएर दुई ठाउँमा खेत जोत्न जानुपर्ने हो ।’

विद्यालयको गेटमा पुगेर छोरीलाई झोला थमाउन फर्केर हेर्दा उसले छोरीलाई साथमा देखेन । पछाडि परसम्म हेर्दा पनि सोनिकालाई देखिएन । आफूभन्दा अघि पो विद्यालय पसिन् कि भनेर विद्यालयको परिसरभित्र आँखा डुलायो, कतै देखेन । चौरमा खेलिरहेका छोरीका साथीहरूलाई सोधीखोजी गर्‍यो, कसैले नदेखेको थाहा पाइयो । आकाशलाई मनमा चीसो पस्यो ।

उसले सम्झ्यो, केही बेरअघि शिवालयछेउ बाटोमा दुई जना साधुहरू उभेका थिए । साधुहरूले ऊसँग अलिक अनौठो लवजमा ‘जय शम्भो’ भन्दै पैसा पनि मागेका थिए, आकाशले पैसा त दिएन तर साधुहरूको अनुहार चैं राम्ररी हेर्‍यो । सोनिका साधुहरूसँग डराएर आकाशसँग टाँसिइएकी थिई ।

त्यहाँभन्दा अगाडि बढेपछि आकाश आफ्नै अघिअघि हिंडेको थियो । अहिले छोरी साथमा नभएकी र यताउता खोज्दा पनि नभेटिएपछि आकाश अत्तालिंदै बाटोछेउका घरहरूमा सोध्दै शिवालयसम्म फर्क्यो, तर कतै केही मेसो पाइएन । सामुदायिक भवनभन्दा केही माथि पुगेर अघि आफूहरू आएको बाटो र हरियाली टोलतर्फ हेर्‍यो । बाटो छेउका केराघारी र बाँसका बोटहरूले गर्दा परसम्म देख्न सकिएन ।

पक्कै छोरी घरतिरै फर्किछ भन्ने लागेर आफू पनि घरतिर फर्किने विचार गर्‍यो । अलिकति ओरालो झरेर मागुरे खोलाको पुल तरेर पश्चिमतर्फ लाग्यो । बाटोछेउको ओलीदाइको अर्घेली, बाबियो र लोक्ताबाट कागज बनाउने कारखानामा भर्खर बनाइएका नेपाली कागजका ताउहरू बाँसका ढाटमाथि घाममा सुकाउन राखिएका थिए । आकाशले त्यहाँ ओलीदाइको बुहारीको घुम्ती पसलमा पाँच वटा भोला किन्यो ।

पकेटमा भोला राख्दै छोरी सोनिकाको बारेमा पनि बटुवाहरूसँग सोध्दै थियो । घुम्तीमा बसेका दुई जना केटाकेटीले सोनिका दुई जना साधुहरूसँग निकैबेर अघि घुम्ती अगाडिबाटै पश्चिमतर्फ लागेको बताए ।

यो सुनेर आकाशको होसहवास उड्यो, मुटुको धड्कन बढ्यो, उसलाई भननन रिंगटा चल्यो, हातखुट्टा लुला भए, पूरा ब्रह्माण्ड अँध्यारो भयो । आकाश भुइँमा थचक्क बस्यो । उसले पानी माग्यो, ओलीदाइकी बुहारीले स्टीलको ठूलो गिलासमा पानी दिइन् । आकाशले घटघट आधा गिलास पानी पियो र बाँकी पानीले आफ्नू अनुहार भिजायो ।

केही सहज भएपछि आकाश उठेर हिंड्न खोज्यो, उसका पाइला सरेनन् । जोडले चिच्यायो तर बोली आएन ।

० ० ० ० ० ०

त्यसै बेला उसकी आमा धनमायाले ‘के भयो आकाश ? किन चिच्याएको?’ भनी झकझक्याइन् । आमाको आवाजले ब्युँझँदा आकाश पसिनाले चिटचिट भएको र एकदम अत्तालिएको थियो । उसलाई ऐंठन भएको रहेछ । मोबाइलमा घडी हेर्‍यो । रातको बाह्र बजेको थियो । आकाशले आमालाई सपनाको सबै कुरा बतायो । आमाले सोनिका भुइँतलाको कोठामा निदाइरहेकी छ भनिन् । आकाश उठेर भुइँतलामा रहेको आमाको कोठामा सुतिरहेकी सोनिकालाई मोबाइलको उज्यालोमा हेरेर फर्क्यो ।

आकाश पनि फेरि ओछ्यानमा पल्ट्यो । उसलाई छटपटी भइरह्यो, निदाउन सकेन । निद्रा लागोस् पनि कसरी ? ६ दिन अघि मात्र उसकी श्रीमती रञ्जना धुलाबारी मोढ तिरको भूपाल नाम गरेको केटासँग पोइल गएकी थिई । दुई-तीन दिनको खोजतलासपछि समाज राखेर आकाशले रञ्जनालाई भूपालको घरपरिवारको रोहवरमा जिम्मा लगाएर आएको थियो ।

तीन दिदीबहिनीको दाज्यू आकाश, रञ्जना हिंडेपछि एक्लो भएको थियो । अब घरमा बाबु धनबीर, आमा धनमाया, कान्छी बहिनी प्राशिका, छोरी सोनिका र आफू मात्र भए । बाहिर देखाउन नखोज्दा पनि उसको पीडा सबैले प्रस्ट देख्न सकिन्थ्यो । श्रीमती हिंडेको दिनदेखि ऊ काममा पनि गएको छैन र कसैसँग खुलेर बोलेको र भेटेको समेत छैन ।

छोरीलाई घरबाट विद्यालय पुर्‍याउन र विद्यालयबाट ल्याउन चैं आफै जान्थ्यो, तर बाटोमा कसैसँग बोल्दैनथ्यो । आकाशसँग रञ्जनाले घरबाट भाग्ने बेला सानो कागजको चारपाटे टुक्रामा लेखेर छोडेको तीनवटा वाक्यांशहरू छन्, खोज मलाई, पोइला गको, नानी रामरी हेर‘ !

उसले नबुझेको कुरा घरपरिवार सबै छोडेर हिंडेकी मान्छेले नानी रामरी हेर भन्नुको मतलब शब्दमा भनिएभन्दा धेरै गहिरो छ । ऊ जति बेला पनि यही कुराको अर्थ खोज्न सोचमग्न रहन्थ्यो ।

० ० ० ० ० ०

तेह्रथुम माइती भएकी रञ्जनासँग आकाशको विवाह ६ वर्ष पहिले भएको थियो । रञ्जना आकाशकी जेठी माईज्यूको आफ्नै भदैनी थिई । उनीहरूको विवाह भएको अर्को वर्ष मंसिर महीनामा सोनिका जन्मेकी थिई । नानी जन्मिए पछिका दिनहरू अझ रमाइलोसँग बित्दैथिए । अभाव, गरीबी र दुःख जे जस्तो भए पनि जिन्दगी चलेकै थियो । कहिलेकाहीं रञ्जना र आकाशबीच ठाकठुक परे पनि छोरी प्रतिको माया र ममताले अनि नानीको चुलबुलेपनले दुई जनालाई एक छिनमै मिल्न बाध्य पार्थ्यो । दुवैलाई लाग्थ्यो, कहिलेकाहीं त्यसरी हुने ठाकठुकले उनीहरू बीचको मायालाई कमजोर हैन, बरु अझ कसिलो पारेको थियो ।

आकाश दैनिक ज्यालादारीमा जोरसिमल तिरको एकजना साहूको ट्याक्टर चलाउँथ्यो । आमा बाबुहरू अधियाँमा खेती गर्नुहुन्थ्यो । दुईवटी बहिनीहरूको बिहाबारी भएर आ-आफ्ना घरतिर थिए । कान्छी बहिनी धुलाबारी बजारको एक माद्यमिक विद्यालयमा दश कक्षामा पढ्दै थिई ।

रञ्जना घर भित्रको काम र छोरीलाई पल्लो गाउँमा भएको एक आधारभूत विद्यालयमा बालकक्षामा पढाउन ल्याउने-लैजाने गर्थी । त्यसरी छोरी विद्यालय ल्याउने लैजाने क्रममा रञ्जनाको त्यही विद्यालयमा भवन निर्माणको काममा ज्याला मजदुरी गर्ने धुलाबारी मोढतिरको भूपालसँग देखाभेट भयो ।

दिनैपिच्छे भेट हुने, बोल्ने, हाँस्नेसँगै उनीहरू एक अर्कामा नजिकिए । उनीहरू बीचको हिमचिमलाई नियालिरहेका शिक्षिकाहरूले रञ्जनालाई सम्झाए । विद्यालय छेउका पसले प्रभासले पनि रञ्जनालाई सम्झाइहेरे । तर उसले कसैको सुनिन ।

दुई महीना भयो, रञ्जना बिहान छोरी लिएर विद्यालय गएदेखि बेलुका विद्यालय छुट्ने समयसम्म भूपालकै वरपर समय बिताउन थालेको । भूपालको काम नभएको बेला उसको साइकलमा बसेर दुई जना धुलाबारी बजार जान्थे । कहिले विद्यालयबाट पूर्वपट्टिको राईनी दिदीको पसलभित्र सँगै बसेर रक्सी र खाजा खाने गर्दथे ।

पछिपछि त भूपाल साइकलमा रञ्जनाको घर छेउछाउ सम्म पनि आउने-जाने गरेको छरछिमेकीले देखेका रहेछन् । यता घरमा पनि पछिल्लो समय रञ्जनाको झर्कोफर्को बढेको थियो । आकाशसँग दिनैपिच्छे पैसा माग्ने र त्यसकै निहुँमा झगडा गर्ने हुन थालेको थियो ।

रञ्जनाको व्यवहारमा आएको यस्तो परिवर्तन र दैनिक जसोको झगडा र किचलोले घरका सबैलाई कुनदिन के अनिष्ट आइलाग्ने हो भन्ने आशंका हुन थालेको थियो । आकाशले फोन गरेर रञ्जनाको माइती तेह्रथुममा उसको सासू र धुलाबारीमा माइज्यूलाई रञ्जनाको कारणले समस्या उब्जेको कुरा सुनायो । माइज्यूले साउन लागेपछि म एकपटक आउँछु र रञ्जनालाई सम्झाउँछु भनिन् ।

० ० ० ० ० ०

असार २५ गते मंगलबार छिमेकमा खेत रोपाइँ थियो, आमा रोपाहार गएकी थिइन् । बुवा पनि बाउसे गर्न र धानको बीउ उखेल्न उतै खेताला गएका थिए । कान्छी बहिनी साथीकोमा गएकी र सोनिका त्यस दिन विद्यालय नगएर घरमा नै थिई । आकाश आफ्नो काममा जोरसिमलतिर गएको थियो ।

दिउँसो चार बजे तिर भूपाल आफ्नो साइकलमा यौटा ब्यागसहित आकाशको घर अगाडिको बाटोमा उभिएर एकैछिन रञ्जनासँग के के कुरा गर्दै जंगलतिर लाग्यो । रञ्जना घरभित्र पसी । सोनिका भुइँतलामा ओछ्यानमा निदाइरहेकी थिई । रञ्जनाले छोरीको हातमा फुकिदिई र ओछ्यानमा नै भएको यौटा सलले छोरीको जीउ ढाकिदिई ।

हतारहतार तलामाथि चढेर आफूहरू सुत्ने बरण्डाको कोठाभित्रबाट पहिले नै ठिक पारिराखेको प्लास्टिकको झोला हातमा लिएर भुइँतलामा झरी । प्राशिकाको कपीबाट डटपेनले घेरा लगाएर चारपाटे आकारमा काटेर कागजको सानो चिर्कटो ठीक पारी ।

त्यसमा, खोज मलाई, पोइला गको, नानी रामरी हेर भन्ने छोटा तीन वटा वाक्य नेपालीमा र त्यसको तल Ranjana Tamang लेखेर सबैले मोबाइल चार्ज गर्ने स्थानमा राखिदिई । एकपल्ट फेरि भित्र कोठामा गएर निदाइरहेकी सोनिकाको अनुहार हेरी । कसैले देखिहाल्छन् कि भनेर बाहिर निस्केर यताउता हेरी । कोही नदेखेपछि प्लास्टिकको झोला बोकेर घरमुन्तिर बाटोमा निस्केर पश्चिम जंगलतर्फ लम्किई । जंगलको छेउमा खोल्सीपारि साइकल लिएर भूपाल पर्खिरहेको थियो । त्यहाँबाट दुवै जना यौटै साइकलमा चढेर केबीचौर हुँदै जंगलको बाटो मंगली (धाईजन) तर्फ लागे ।

रञ्जना पोइला गएको कुराले घरमा भएका तीनजना नै अक्क न बक्क भएर एकअर्काको अनुहार हेराहेर गरे । सानी सोनिकालाई हातमा उठाएर तीनैजनाले पालैपालो बोके । बुहारी त गईगई, छोरा र नातिनीलाई समेत एक्लै पारेर गई भन्ने सम्झँदा धनमायाको आँखाबाट आँसु झरे, उनले अर्कोतिर फर्केर हातैले आँखा पुछिन् ।आकाश अझै घर आइपुगेको थिएन । बिहान काममा जाने बेला आफूलाई बेलुका फर्किन ढिला हुनसक्छ भन्दै हिंडेको थियो ।

त्यो दिन आकाशको कामको पैसा पाउने दिन थियो । साहूबाट थापेको ३ हजार ५ सय रुपियाँमध्ये आज चैं नमागे पनि रञ्जनालाई दिन्छु भनेर एक हजारको नोट पाइन्टको पछाडिको देब्रे पकेटमा राख्यो । अनि ६ सयको डेढ केजी ब्रोइलर कुखुराको मासु किन्यो । छ सयको दुई बोतल लोकल कोदोको रक्सी पनि किन्यो । रञ्जना र प्राशिका दुवैलाई मन पर्ने अकबरे स्वादको पीरो चाउचाउ, छोरीको लागि चकलेट किन्यो ।

त्यसपछि धुलाबारी बजारबाट घरतर्फ लाग्यो । आफूहरू अलिअलि दुःख, अलिअलि अभाव बीच बाँचिरहेको भए पनि घरपरिवारको माया सम्झेर आकाशले सन्तोषको सास फेर्‍यो । अझ सानी छोरीको चुलबुलेपन र बालसुलभ लाडप्यार सम्झँदा ऊ झनै पुलकित भयो । खै किन हो, आज उसलाई रञ्जनाको माया सधैंभन्दा धेरै लागिरहेको थियो । अहिलेसम्म जेजसो भए पनि अबदेखि रञ्जनाको मन कहिल्यै नदुखाउने र झगडा हुने वातावरण आउन नदिने बाचा मनमनै आफैसँग गर्‍यो ।

आकाश घर पुग्दा घाम अस्ताइसकेको तर अझै केही उज्यालो बाँकी नै थियो । घर आइपुग्दा सदा झैं उसले सोनिकालाई आँगनको पल्लो छेउबाटै बोलायो, सोनिका दौडेर आई । आकाशले टाउको मुसारिदिंदै सोनिकाको हातमा चकलेट राखिदियो । छोरी खुशी हुँदै घरभित्र पसी । कान्छी बहिनी ढोकासम्म आएर आकाशको हातमा भएका प्लास्टिकका झोलाहरू भित्र लिएर गई । बाबु, आमा, बहिनी र छोरी सबैलाई घरभित्रै देखिसकेपछि आकाशले रञ्जना खोइ त भनेर सोध्यो ।

एकछिन सन्नाटा छायो, कोही केही बोलेन । बहिनीले कागजको टुक्रा दाज्यूको हातमा राखिदिई । त्यसमा भएको मेसेज पढ्दैगर्दा आकाशको अनुहार कालोनीलो भयो । एकछिन अगाडि मनमा उसले सजाएका सपना र सोचहरू दिमागबाट एकैपटक अलप भए । आमाको काखमा एकछिन भक्कानियो । आफूलाई समाल्दै बावुआमातिर फर्केर, ‘जाओस् त्यस्ता झ्यास’ भन्दै सानी छोरीलाई उचालेर छातीमा टाँस्यो ।

० ० ० ० ० ०

मानिसलाई जति नै पीर र आपत आइपरे पनि जीवन चलाउन सामान्य दिनचर्यामा फर्कनै पर्छ । आकाश र उसको परिवार आज त्यस्तै रुन्चे हाँसोको समयबाट गुज्रँदै थियो । धनमायाले भात पकाउनु अगाडि नै कुखुराको मासु पकाएर बाबु छोरा र आफूलाई समेत आकाशले ल्याएको लोकल रक्सी र मासु पस्किइन् । छोरी र नातिनीले मासु मात्र खाए ।

‘मीठोमीठो खान हिंडेकी खाई त होला नि !’ भन्दै धनमायाले बुहारीलाई सम्झिइन् । आकाश त्यसको कुरा नगर्नु भन्दै ठुस्कियो ।

आकाशले पकेटबाट निकालेर कागजको टुक्रा फेरि पढ्यो, ‘नानी रामरी हेर’ भन्ने वाक्य दोहर्‍याई तेहर्‍याई पढ्यो । छोरीलाई आमाको काखबाट तानेर आफ्नो काखमा राख्यो । छोरीले मेरो आमा खोइ ? भनेर सोधी । आकाशले आँखाका आँसु लुकाउँदै मावल गएकी छ, भोलि आउँछे भनेर छोरीलाई सुमसुम्यायो । रञ्जनालाई दिने भनेर आफ्नो पाइन्टको पछाडिको देब्रे पकेटमा राखेको हजारको नोट हातले बिस्तारै निकालेर आफूसँग भएको अरू नोटहरू सँगै मिसायो । आमाको लागि छुट्याएको पाँच सय पकेटबाट निकालेर धनमायालाई दियो ।

भोलिपल्ट छरछिमेकमा पनि सल्लाह गरेर रञ्जनालाई खोज्ने र उसको नयाँ परिवारमा जिम्मा लगाउने सल्लाह गरेर सबै जना सुते । आकाश निदाउन सकेन । रञ्जनासँग बिताएका छ वर्षका सम्झनाहरू एकपछि अर्को गर्दै मानसपटलमा आइरहे ।

भोलिपल्ट बिहान भूपालको घर र परिवार खोज्न गए । सोध्दै, खोज्दै जाँदा भूपालको घर भेटियो तर त्यहाँ उनीहरूलाई भेटिएन । भूपालका छरछिमेक र हजुरआमासँग सबै घटना विवरण सुनाएर समाजको रोहवरमा जिम्मा दिने र रञ्जनाप्रति आफूहरूको कुनै दाबी विरोध नरहने बताएर त्यो दिन आकाश र उसका दाइ फर्किए ।

पर्सिपल्ट भूपालका छिमेकीले फोन गरेर भेला हुन बोलाए । रञ्जनाका बाबुलाई तेह्रथुममा फोन गरेर रञ्जनासँग बोल्न लगाइयो । उसले सबैले सुन्नेगरी आफू राजीखुशीले हिंडेको बताई । त्यहाँको वार्डको स्थानीय न्यायिक समितिका सदस्यहरू समेतको उपस्थितिमा निर्णय भयो । अबदेखि रञ्जना र आकाशको सम्बन्ध टुंगिएर रञ्जना र भूपालको सम्बन्धको शुरूवात भयो ।

समाज बसिरहेको बेला रञ्जनाले कमल दाइलाई सोनिकालाई कस्तो छ ? कतिको न्यास्रिएकी छ ? पढ्न जाँदै छ कि छैन ? नानी पुर्‍याउन र लिन को जान्छ ? भनेर सोधीखोजी गरी । कमलले पनि सबै प्रश्नको जवाफ दिएर, ‘तिमीलाई चैं नानीको याद आउँछ कि आउँदैन ? नानीको याद आउने र माया लाग्नेले किन नानी छोडेर भागेकी त ?’ भनेर सोध्यो । नानीको कुरा भएपछि रञ्जना आँसु झार्दै उसको नयाँ लोग्नेको घरभित्र पसी ।

त्यहाँको काम सकाएर अटो रिक्सामा घर फर्किंदा बाटोमा कमलले रञ्जनासँग नानीको बारेमा भएको कुराकानी आकाशलाई सुनायो । आकाशले पनि रञ्जनाको त्यही कुरा चैं आफूले बुझ्न नसकेको बतायो ।

आज किनकिन आकाशलाई नजिकको कोही आफन्तको अन्तिम संस्कारपछि घाटबाट फर्कंदै गरेको जस्तो भान भइरहेको थियो । सबै शून्यशून्य लागिरहेको थियो र त्यही शून्यताबाट खोज मलाई, पोइला गको, नानी रामरी हेर वाक्यहरू आकाशको मन र मस्तिष्कमा गुञ्जिरहेका थिए । उसलाई कति बेला घर पुगेर सोनिकालाई छातीमा टाँसेर माया गरूँ जस्तो भइरहेको थियो ।