सेवा, सुविधा भन्ने चिजै गजबको । सुन्दैमा पनि मन प्रफुल्ल भएर आउने । सबैलाई चाहिने । पाएमा सबै दङदास ।  यसो लेख्दै गर्दा सम्झनाको मझेरीमा एउटा कथा आएर टुसुक्क बस्छ । जुन कथा यस प्रकार छ –

एका देशमा एउटा मालिक बस्थे । उनी साह्रै मनकारी थिए । उनै मालिकका घरमा काम गर्ने धेरै सेवकहरू थिए । घरमा धेरै सेवकहरू हुँदा हुँदै पनि मालिक आफैँले साँझमा दूध उमालेर पिउनु पर्थ्यो । आफूलाई हरेक दिन साँझ एक लिटर दूध गरम गरेर पिलाउने सेवकको आवश्यकता भएको महसुस गरे । महसुसलाई वास्तविकता दिने चाहना राख्यो उनको मनले । मनको चाहना बुझ्दै आफैले एउटा सेवक खोजेछन् । सेवक भेटिन केही समय लाग्यो तर भेटियो । अब देखि हरेक साँझ गरम दूध कोठासम्म आइपुग्ने भयो भन्ने सोच्दै मालिक मनमनै मख्ख परे ।

सेवकको नोकरी सुरु भयो । हरेक साँझ सेवकले मालिकलाई एक लिटर दूध गरम गरेर पिलाउन थाल्यो । शुद्ध पानी न हालेको दूध देखेर सेवकको मुखमा पानी रसाउन थाल्यो । मन थाम्न सकेन । मन  बहकियो । अन्ततः एक लिटर दूधलाई चार भाग बनायो । एक आफैले पियो । बाँकी तीन भागमा एक भाग पानी मिलाएर मालिकलाई पिलाउन थाल्यो । आफूले लुकेर पिउन थाल्यो । उसको हर्कत् एक दिन लुक्यो ।  दुई दिन लुक्यो ।  तीन दिन पुग्दा देखियो । छताछुल्ल पोखियो ।

कारण अन्य सेवकहरूले थाहा पाएर मालिकलाई जानकारी दिएका थिए । कुरा सुनेर मालिक आक्रोशित बने केही क्षण ।  तर उनी मनकारी भएकै कारण सेवकलाई निकाल्न सकेनन् र  तुरुन्त अर्को सेवक खोजेर भर्ती गरिदिए ।  केही दिन ठिकठाक चल्न न पाउँदै उही प्रक्रिया दोहोरियो । दुवै सेवकले आधा भाग दूध पिएर पानी मिसाउँदै मालिकलाई खुवाउन थाले । पुरानै बाटोबाट कुरा पुग्यो मालिक कहाँ । फेरि मालिक रिसाएर अर्को सेवक थपे । अब गल्ती गरेमा सबैलाई नोकरीबाट निकाल्ने धम्की दिए । दूध उमालेर मालिकलाई पिलाउने सेवक दुईबाट  तीनमा पुगे ।

जति दिनहरू बित्छन् उति नै मालिक दुब्लाउँदै गए । उनी दुब्लाउनुको रहस्य बुझ्न अनुसन्धान समूह नै गठन गरियो । अहँ, कसैले बुझ्न सकेन । उनी कमजोर हुनुको कारण ।  ती मालिकका परिवारका सदस्य छिमेकीको सहारामा अनुसन्धान गर्दा पत्ता लाग्यो कि तीन जना सेवकहरू मिलेर तीन भाग दूध पिएर एक भाग दूधमा तीन भाग पानी मिसाएर मालिकलाई पिलाएका रहेछन् । अनि पो मालिक दिनानुदिन कमजोर हुँदै गएका रहेछन् ।

यो कुरा मालिकको कानमा छिर्यो । अब मालिकको क्रोधले सीमा नाघ्यो । सेवकहरूलाई घर छोडेर जान धम्की दिए । गाली गलोजको त झन् हिसाब नै भएन । अहिलेसम्म जे भए पनि मालिकले  आफ्नो सत्य धर्म छोड्न चाहेनन् ।  तीन जना सेवक निकालियो भने उनीहरूको घर कसरी चल्ला ? मनकारीको मनमा यस्तो कुरा खेल्यो ।  अन्ततः फेरि अर्को सेवक थपे ।  सेवकको सङ्ख्या चार पुग्यो । केही दिन समय ठिकठाक चल्ला भने जस्तो भयो ।

एक साँझ मालिक दूधको पर्खाइमा बसे ।  धेरै बेर पर्खिदा पर्खिंदै भुसुक्क निदाएछन् ।  उनी निदाएको मौकामा चारै जना सेवकहरूले दूध उमालेर चिस्याए । दूधमा  तर बस्यो त्यही तर लिएर निदाएका मालिकको जुँगामा घसिदिए । एक लिटर दूध चार भागमा बाँडिएर चार जनाको पेटतिर दौडियो ।

भोलिपल्ट बिहानै रिसले मुर्मुरिंदै मालिकले सबै सेवकहरूलाई बोलाएर सोधे, “हिजो साँझ तिमीहरूले मलाई किन दूध न पिलाएको ?”

चारै जना सेवकले हात जोड्दै भने, “ हैन मालिक हामीले हजुरलाई दूध पिलाएका थियौँ ।  हजुरले भुल्नु भएछ ।”

“मालिकसँग न चाहिने कुरा गर्न लाज लाग्दैन तिमीहरूलाई ? के प्रमाण छ तिमीहरू सँग ?” ठुलो स्वरमा चिच्याए मालिक ।

एउटा सेवकले एउटा सानो ऐना दिँदै भन्यो, “उ हेर्नुहोस् त मालिक हजुरको जुँगामा अझै पनि तर टाँसिएको देखिन्छ ।”

मालिकले ऐना हेरिसके पछि आश्चर्य मान्दै भने, “ खोइ मैले त कुरै बुझ्न सकिन ।”

बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पाको बिँड …।