खुशी हरेक मानिसले फरक फरक कुरामा प्राप्त गर्छ । यसको प्राप्ति र अनुभव नितान्त व्यक्तिगत कुरा हो । कहिलेकाहीँ खुशी पनि अप्रत्याशित रूपमा मिल्छ । ‘आलोक’ मेरो जीवनमा आउनु पनि सायद् त्यही अप्रत्याशित खुशी थियो ।

‘आलोक’ मैले निकै सोच विचार गरेर उसको नाम जुराएको थिएँ । ‘आलोक’ अर्थात् ‘उज्यालो’, ‘सेतो चहक’ वा ‘प्रकाश’ ।

आजभन्दा करिब दस वर्ष अघि मैले भेटेको एउटा बालक नै आलोक हो । निकै जाज्वल्यमान अनुहार । गोरो कलिलो छाला । देख्नमा निकै सुन्दर । भर्खर जन्मिएको बालक मेरो ‘पास’मा आउँदा म निकै आत्तिएको थिएँ । सायद तपाईँलाई लागिरहेको होला कसैले बालक कसरी भेट्न सक्छ ? धैर्य गर्नुस् । विस्तारमा बताउँछु ।

त्यस दिन म अफिसबाट भक्तपुर घर अर्थात् ‘डेरा’ फर्किरहेकी थिएँ । सिंहदरबारबाट निस्किएर बबरमहलमा पुगेर निकै बेर कुरेपछि एउटा बस आइपुग्यो । निकै खचाखच थियो बस । कुरिरहेका हामी एक-एक गर्दै कोचिन पुग्यौँ । सहचालक यात्रुहरूलाई पछाडि पुर्‍याउने लक्ष हेतु झ्यालबाट समेत आदेश दिइरहेको थियो । निकै परको गन्तव्यमा पुग्नुपर्ने म बसको पछाडि पुगेकी थिएँ । तर भाग्यवश एकजना यात्रु नयाँ वानेश्‍वर उत्रिएपछि मैले बस्ने मौका पाएँ, झ्यालपट्टिको सिटमा । अरू उभिएका यात्रुहरूमाथि विजय प्राप्त गरेको आभास भयो । झ्याल खोलेर बाहिरतिरका दृष्य नियाल्न थालेँ । हाँसको चालमा गुडिरहेको थियो बस । अरू बेलै पनि जामले हैरान हुने काठमाडौँका सडकमा अफिस टाइममा यात्रा गर्नु निकै कष्टकर हुन्छ ।

गाडी कोटेश्‍वर पुग्यो । बसको प्रतीक्षामा बसेका यात्रुहरूको चाप यहाँ पनि कहाँ कम थियो र ? बसबाट थोरै यात्रु झरे भने धेरै थपिए । त्यतिकैमा बच्चा बोकेकी एकजना महिला बाहिरबाट म बसेको झ्यालनजिक आइन् । सुरुमा मैले ‘माग्ने’ होला भनेर बेवास्ता गरेँ । तर उनले फेरि मलाई बोलाएर भनिन् – दिदी, म भित्र छिर्छु । एकैछिन यो बाबुलाई समाइदिनुस् न । मैले यिनको बच्चालाई समाइदिए यिनलाई बसमा चढ्न सजिलो हुन्छ, मैले यस्तै सोचेर बच्चा लिइदिएँ ।

त्यतिकैमा बस अगाडी बढ्यो । मैले आशा गरेँ ती महिला बसमा चढिन् । तर निकै समय कुर्दा पनि उनी आइनन् । म हताश भएँ । के गर्ने कसो गर्ने सोच्दासोच्दै बसले जडिबुटी पनि नाघ्यो । वरिपरिका यात्रुले मलाई दयाको दृष्टिले हेर्न थाले । यतिकैमा मैले बसबाट झर्ने निर्णय गरेँ । झरेँ ।

झरेर एकपटक त प्रहरीलाई यस विषयमा जानकारी दिने र बच्चा जिम्मा लगाइदिने विचार गरेँ । अघि निदाइरहेको बच्चा त्यतिबेला सम्ममा मेरो अनुहारमा हेरेर मुस्कुराइरहेको जस्तो भान भयो । सोचेँ – बच्चाले मलाई स्वीकार गरिसक्यो, मैले किन यसलाई अस्वीकार गरूँ ?

घरमा बच्चा त लिएर गएँ तर बच्चाको लागि केही तयारी थिएन मेरो । अचानक आएको समस्यासँग जुध्न फरक खालको तयारी गर्नु मनासिब हुने ठानेँ ।

डेरा नजिकै रहेको मार्टमा गएर आवश्यक सामाग्री किनेँ । घरबेटीसँग पनि यस बारेमा कुरा गर्नु उचित ठानेँ । उनले भावावेशमा निर्णय नगर्न सुझाए । झमेलामा पर्नु ठीक नहुने भन्दै उनले बच्चालाई प्रहरीकहाँ बुझाउने सुझाव दिए । तत् समय मैले केही निर्णय गर्न सकिनँ ।

रातभर बच्चाको स्याहारमा बित्यो । बच्चाले छिन-छिनमा आमाको दूध खान खोज्थ्यो । म उसलाई ‘बजारे दूध’ खुवाउँथेँ । तर पनि किन धित मर्थ्यो र उसको ? निकै बेर रुन्थ्यो र थाकेपछि केही समय सुत्थ्यो । सोचे कति अभागी रहेछ यो बालक ! कति निर्दयी आमा ! कसैले बच्चालाई कसरी यति सजिलै त्याग्न सक्छ ?

जसोतसो रात त कट्यो तर भोलिपल्ट त फेरि अफिस जानुपर्ने । के गर्ने कसो गर्ने, केही सोच्नै सकिनँ । एउटा झुट बोल्नै पर्ने भयो । हाकिमलाई फोन गरेँ र एक हप्ता गाउँ जानैपर्ने भएकोले अफिस आउन नसक्ने जानकारी गराएँ । बिहान हरेक टिभी च्यानलका हरेक न्युजमा आँखा पुर्‍याएँ । पत्रपत्रिकाका हरेक पेज हेरेँ । रेडियो सुनेँ । अहँ, कसैले पनि ‘बच्चा हराएको’ भन्ने किसिमको समाचार वा विज्ञापन प्रकाशित गरेको पाइनँ । दिनभरिमा पनि त्यस्तो आशयको समाचार आएन – ती महिलाले बच्चाबाट छुटकारा पाउनको लागि नै यो सब गरेको भन्ने निष्कर्षमा पुगेँ । असुरक्षित गर्भधारणले आजकाल महिलाहरूले बच्चा जन्माउने, फ्याँक्ने, हत्या गर्नेजस्ता कार्यहरू भैरहेका समाचारहरू हरेक दिन सुन्न र पढ्नु परेको विडम्बना हामीसँग छ ।

आज एकदिन पो बिदा लिएँ, बिताएँ । अरू कसैको नासो लिएर पुरै जीवन कटाउने निर्णय गर्न म जस्ता अविवाहित नारीलाई कति गाह्रो हुन्छ भन्ने कुराको कल्पनासम्म पनि गर्ने फुर्सद थिएन मलाई । फेरि मैले बिदा लिएको सात दिनको समय त सकिनै हाल्छ । एकजना भरपर्दो सहयोगीको सख्त जरुरी पर्‍यो । चिनजानका साथीभाइ सबैलाई हारगुहार गर्न थालेँ । ‘एक्लै बस्ने मान्छेलाई किन कोही काम गर्ने मानिस चाहियो बरु जीवनसाथी खोजिदिन्छौँ’ भन्ने प्रशस्त भेटिए । वास्तविकता सबैलाई भन्न कहाँ सजिलो छ र ?

कलेज पढ्दाकी साथी रोशनी झल्याँस्स सम्झनामा आई । काभ्रेको कुनै गाउँमा शिक्षकको रूपमा काम गरिरहेकी थिई ऊ । उसलाई सबै कुरा बताएँ र सहयोगी व्यवस्था गरिदिन अनुरोध गरेँ । उसैले एकजना महिला खोजेर भोलिपल्ट नै पठाइदिई । संसारमा साथीभन्दा माथि कोही हुँदैन भन्‍नेकुरा रोशनीले प्रमाणित गरिदिएकी थिई । तर पछि फोन गरेर के को झमेलामा फसिस् भनेर गाली गर्दै थिई । माया गर्ने मान्छेको गाली पनि सहनुपर्छ भन्नेमा म सचेत थिएँ । उसको गाली पनि अमृतवचन झैँ लाग्यो ।

दिन बिते । महिना बिते । वर्षहरू पनि बिते । मैले गाउँ जाने बारेमा सोच्न पनि सकिरहेकी थिइनँ । पहिले-पहिले आमाले किन नआएकी भनेर सोधिरहनु हुन्थ्यो । मैले विभिन्न बहाना बनाएर टारेँ । एक दशैँमा घर जान भनेर सोच बनाएँ । आमालाई फोन गरेर के कसो छ भनेर खबर सोधेँ र दशैँमा म घर आउने जानकारी दिएँ । आमा खुब खुशी हुनुभो । सन्तानको मिलनको आशमा आमाको मनले कति प्रतीक्षा गर्छ भन्ने कुरा मैले आमाको बोलीबाट नै लख काटेँ ।

जान त जाने । तर जाने कसरी ? घरमा के भनेर आलोकलाई परिचय गराउने भन्ने कुराले मन हुँडलिएको थियो । मैले वास्तविकता त भनुँला तर के मेरो कहानी सबैले पत्याउलान् ? मलाई घरपरिवारले सहजै स्वीकार गर्ला ? यी र यस्तै यावत प्रश्नहरू तँछाडमछाड गरेर दिमागमा झुल्किरहेका थिए ।

घर जाने दुई दिन अघि छिमेकी साथीलाई सविस्तारमा बताएँ । मेरो कुरा सुनेर सुरुमा त ऊ छक्‍क परी तर घरमा कुरा पुर्‍याइदिने बाचा भने गरी ।

एक कान दुई कान गर्दै मेरो बारेमा समाचार, कुसमाचारहरू बन्‍ने र छरिने गर्दा गाउँमा बसिनसक्नु भएको छ भनेर साथीले भोलिपल्ट सुनाई । मैले अनैतिक गर्भधारण गरेर छोरो जन्माएको भनेर गाउँमा त्वरित् गतिमा हल्ला चलेछ । अझ कतिपयले त भन्दै थिए रे म ‘लिभिङ रिलेसन’मा बसेकी रे । यस्तै अफवाहले समाजमा हाम्रो पूरै परिवारलाई नै पानी बाराबारको स्थिति आइपरेछ । नातागोताले रविनाले परिवारको इज्जत माटोमा मिलाएको प्रतिक्रिया दिए रे । छोरीचली पढाएर सुख होला भनेको यो त झन् कहालीलाग्दो समस्या भो भन्ने पनि निस्किएछन् । मेरो दाइले ‘मेरी एउटी बहिनी थिई तर मरेर गई भनेर चित्त बुझाउँछु’ भन्‍नु भएछ । उता आमा पीडा मिश्रित आँसुले नुहाइरहनु भएको थियो रे । आमाको अभ्यन्तरले त मेरो बारेमा पक्कै नराम्रो सोचेन होला । मैले झिनो आशा राखेँ ।

यावत कुराको बेलिबिस्तार सुनिसकेपछि मैले गाउँ जाने सोचमा पूर्णविराम लगाएँ । हुन त म सानैदेखि निकै हठी स्वभावकी मानिस थिएँ । अन्याय पटक्कै नसहने । कसैलाई नबिझाउने । असत्य नबोल्ने । गरिब, दुःखी र अन्यायमा परेकालाई हदैसम्मको सहयोग गर्न सदैव तत्पर रहने । मेरा यी र यस्तै विशेषताका कारण मानिसहरू आफ्ना छोराछोरीलाई मेरो उदाहरण दिन्थे । विद्यालयमा मेरो यस्तो हकी स्वभावको सदैव चर्चा हुन्थ्यो । मलाई जिस्काउने हिम्मत कसैले गर्दैनथे । त्यसकारण म फुक्‍काफाल हिडिदिन्थेँ । साथीहरूको लहैलहैमा लागेर मैले कराँते पनि सिकेकी थिएँ जुन अहिले मलाई फाइदाजनक लाग्छ । मुख्य कुरा खेलले अनुशासित बनाउने रहेछ भने आत्मविश्वासमा पनि वृद्धि हुने रहेछ ।

तपाईँलाई लाग्न सक्छ म आत्मश्लाघामा रमाउने मान्छे हो । अहँ, किमार्थ हैन । सानैदेखि म छोरीले आत्मनिर्भर बन्‍नुपर्छ भन्ने मान्यता राख्थेँ । यसका लागि जस्तोसुकै सङ्‍घर्ष गर्न पनि म सदैव तयार हुन्थेँ । पढाइमा पनि म अब्बल नै थिएँ ।

एसएलसी सकेपछि त हो काठमाडौँमा पाइला हालेको । एउटै सपना थियो – सरकारी जागिर खाने । मलाई थाहा थियो आत्मनिर्भर हुनका लागि आर्थिक रूपमा मानिस सबल हुनुपर्छ । शिक्षा यी सबै कुराको साँचो हो ।

कक्षा बाह्रको परीक्षा सकिने बित्तिकै मैले लोकसेवा परीक्षाको तयारी थालेँ । दुईवर्षको अथक परिश्रमपश्‍चात मैले नायव सुब्बामा नाम निकालेँ । साथै अर्को दुई वर्षमा शाखा अधिकृतमा पनि नाम निकाल्न सफल भएँ । परिश्रमका साथसाथै भाग्यले पनि साथ दिएको थियो किनकि मेरोभन्दा बढी मिहिनेत गर्ने साथीहरूको वर्षौँसम्म नाम ननिस्किएको देखेकी थिएँ ।

नेपालको हालैको जनगणनाको तथ्याङ्‍कअनुसार दश वर्षको अन्तरमा नेपालमा विवाहपछि एकल हुने महिलाको सङ्‍ख्या १.५ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ । यसका विविध कारणहरू मध्ये शिक्षा, सचेतना र महिलाको स्वतन्त्रता आदि प्रमुख कारणहरू हुन् । एकल आमाले हुर्काएका सन्तानमा विभिन्न समस्याहरू देखिने अध्ययनहरूले पुष्टि गरेका छन् । मुख्य गरी विद्यालयमा कम ग्रेड प्राप्त गर्ने, विद्यालयबाट ‘ड्रपआउट’ हुने, आर्थिक समस्याबाट गुज्रिने, आदिजस्ता समस्या देखिने गरेका छन् ।

भाग्यवस् आलोकमा भने मैले त्यस्तो कुनै किसिमको समस्या अनुभव गर्नु परेको छैन । साथीहरूका अभिभावकले उनीहरूलाई विद्यालयमा ल्याउने लैजाने गर्दा सायद उसले बाबाको अभाव महसुस गरेको हुनुपर्छ । तर आजसम्म उसले त्यस्तो कुनै सङ्‍केत गरेको छैन । मैले कुनै दिन सविस्तारमा यी कुरा बताउने योजना बनाएको छु । मलाई थाहा छ, उसले बाबुको नाम लेख्ने हरेक ठाउँमा खाली छोड्नुपर्ने छ । ‘बाबु’ भनेर कुनै पुरुषको चित्र दिमागमा समेत राख्न उसले कहिल्यै पाउने छैन । साथीहरूले “तेरो बाबा खोइ ?” भनेर प्रताडित गर्लान् । यस्ता तमाम घटनाले उसको दिमागमा के आपत् आइपर्ला ? सोचेर ममा उद्वेग पैदा हुन्छ । हुन त नेपालको संविधानमा आमाको नामबाट समेत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान भएकाले उसले नागरिकताविहीन भएर बाँच्नु त पर्दैन तर बाबाको अभाव भने उसलाई हरेक पाइलामा खट्किरहने छ ।

थाहा छैन, आलोकले मेरो सपना पूरा गर्न सक्छ वा सक्दैन । अथवा मैले उसको सपना पूरा गरिदिन सक्छु कि सक्दिन । बस् ऊ एउटा असल नागरिक बनोस् । विश्वको जुनसुकै कुनामा पुगे पनि ऊ सक्षम जीवनयापन गर्न सकोस् । हरेक दिन भगवानलाई म यही पुकारा गर्छु । मलाई थाहा छ भगवानले तिनको बिन्ती सुन्नुहुन्छ जसले उहाँमाथि विश्वास गर्छ ।