धेरै समयको अन्तरालपछि काठमाडौँ जाने सुअवसर जुर्यो । कुरिनटार कटिसकेपछि खै के भएर हो म चढेको बस घच्याक्क रोकियो । बिहानको करिब नौ बजेको हुँदो हो । बसमा बसेका यात्रुहरू बसबाट ओर्लियौँ । ड्राइभर र सह परिचालकले बसको निरीक्षण गरे र बनाउन केही समय लाग्ने बताए । हामी यात्रुहरू यताउता टहलिन थाल्यौँ ।

मेरा आँखा केही पर गिट्टी कुटिरहेको तिन बिस हिउँद खाएको जस्तो देखिने मान्छेमाथि परे । चिनेजस्तै लाग्ने उसलाई राम्ररी ठम्याउन चाहिँ सकिनँ । एकछिन घोरिएर उसलाई हेरिरहेँ । नजिकै पुगेँ तर कोल्टे पारेर यकिन गर्न मैले सोचेको व्यक्तिको नाम “सन्तु” भनेर बोलाएँ । ऊ कसैले आफूलाई बोलाएझैँ यताउता हेर्न थाल्यो । मैले अनुमान गरेको सहि साबित भएकोमा म पनि खुसी भएँ ।

कवीन्द्र भट्टराई

म उसको नजिकै गएर “के छ सन्तु ? आजकल तिमी यहाँ छौ ?” भनेर सोधेँ । ऊ अक्क न बक्क भयो । फेरि मैले भने बर्दियाको फलानो स्कुलमा पढेको हैन ? तिमी त कति छिटो यति बुढो भएछौ है ?”

मेरा यी प्रश्नले ऊ फेरि झस्कियो । “अरे साथी तिमी !” ऊ सम्हालिन खोज्दै बोल्यो ।

“कता बाट यहाँ भेट भयो है ।” मैले नचाहाँदा नचाहँदै पनि सोधेँ, “सँगै पढेको मान्छे तिमी गरिब र समानताका कुरा लिएर युद्धमा होमियौ, लडाइँ लड्यौ । सायद भेट हुन्न कि भन्ने थियो तर नमरी बाँचे कालले साँचे त भेट हुने रहेछ है ?”

ऊ भाव विह्वल भयो ।

“सँगै कमरेड आयामको प्रशिक्षण लियौँ तर तिमीले भन्ने गरेको कुरा सिद्धान्त र आदर्शले पेट भरिन्न भनेको ठिक रहेछ ।” उसले के भन्न खोजेको हो मैले राम्ररी बुझिनँ ।

अनि सोधेँ, “त्यतिबेला त धेरै कमरेड अनि विद्यार्थी नेताहरूका कुरा सुनियो नि हैन र ?” उसले पनि हँमा हँ जतायो । फेरि सोधेँ, “के छ घर परिवार को कुरा ?”

उसले भन्न थाल्यो , “पार्टीको कामले राम्ररी पढ्न पाइएन । एस .एल .सी पनि पास गर्न सकिएन । पार्टीले जनयुद्ध सुरु गर्यो, त्यतै लागियो । युद्ध लड्न कता कता पुगियो । त्यतै बिहे भो । युद्धमै बुढीको खुट्टामा गोली लाग्यो । खुट्टा पनि राम्ररी नचल्ने भयो । दुइटा छोरामा जेठो रामे कतार छ , कान्छो गोपिनाथ साउदी गएको हो । गएदेखि केही खबर छैन । यसैका पीरले पोहोर बुढीले पनि संसार छोडेर गई । बिचरा मिठो मसिनो के हो भन्ने कहिल्यै नचाखेर गई ।”

उसको बोली रोकियो । अर्कोपटि फर्कियो । हातको औँलाले आँखा मिच्दै भन्यो, “संसारमा सबैभन्दा अभागी मै रहेछु जस्तो लाग्छ ।”

मैले पनि धेरै सोध्न सकिनँ । उसलाई हेरिरहेँ । स्कुलका प्राङ्गणमा ऊसँग कबड्डी खेलेको याद आयो । उसलाई हिसाब सिकाइदिएको पल आज जस्तै भएर आयो ।

उसले हाम्रो मौनता चिर्दै भन्यो, “दैवले पनि जो दु:खी छ उसैलाई दु:ख थप्दो रहेछ । अब त यस्तो लाग्छ भगवान् पनि छैनन् होला कि ?” हातका औंलाले संकेत गर्दै “ऊ त्यहाँ तल एउटा झुपडी बनाएर बसेको थिएँ, त्यो पनि वर्षाको भेलले बगायो । अहिले बल्लबल्ल पाल टाँगेको छु ।”

यत्तिकैमा छ सात वर्षकी एउटी बालिका “बाबा” भन्दै आइपुगी । पुष महिनाको कठ्याङ्ग्रिँदो जाडोमा एकसरो कमिज र फ्रक लगाएकी बालिका जाडोले काँप्दै ऊ नजिकै आएर भनी, “के पकाउने बाबा आज त चामल पनि सकिएको रहेछ ।”

सन्तुले आफ्नो कमिजको गोजीमा हात हाल्यो । यताउता सबै गोजी छाम्यो । उसको गोजीमा पचास र बिस रुपैयाँको नोट रहेछन् । पचासको नोट नानुलाई दिँदै भन्यो, “ऊ अंकललाई नमस्कार भन ।” अनि मतिर हेरेर सन्तुले भन्यो, “यो रामेकी छोरी।”

नानुले मलाई नमस्कार भनी अनि सोधी, “अंकलले पनि आज हामी सँगै खाना खानी हो ?”

मैले मन मनै बिचार गरे दु:ख जति पाए पनि छोरा छोरीलाई राम्रो संस्कार दिएको रहेछ ।

सन्तुले भन्यो, “घर चलाउन धेरै गाह्रो रहेछ । व्यवस्था बदल्दैमा मानिसको अवस्था बदलिँदो रहेनछ । हामी त चाहिँदाका भाडा नचाहिँदाका ठाँडा भयौँ । न त हामीले सुख पायौँ न त देशमा विकाश नै भयो ।”

उसले थप्यो, “घरमा यसकी आमा र भाइ छन् । खाने मुख यति धेरै छन् मेरो गिट्टी कुटाइ र रामेको कमाइले मात्र नपुगेर धेरै गाह्रो बनाएको छ के गर्ने होला ?”

यति कुरा सुनेपछि बल्ल सम्झेँ मैले पनि सिद्धान्त र आदर्शले भोको पेट भरिन्न भनेर ।

मैले सोधेँ, “नानु पढ्न जान्छिन् ? कतिमा पढ्छिन् ?”

मेरो प्रश्नले उसको लाचारीपन झन् छरपष्ट पारिदियो । उसले भन्यो, “नाइँ, यिनलाई स्कुल पठाउन सकेको छैन, मैले नै अलि अलि पढ्न सिकाएको छु ।”

यसै बीच नानुले थपी, “हो अंकल मलाई ए बी सी डी सप्पै आउँछ नि । म त जेडसम्मै लेख्न सक्छु नि ।”

मैले नानुलाई हौस्याउँदै भने, “आहा कति जानेकी हो, यसै गरी पढ्नु पर्छ है । अनि बाबाको ज्ञानी छोरी हुनुपर्छ है ।” नानुले हवस् भनी ।

मैले फेरि सोधेँ, “नाति कति वर्षको भयो त ?”

उसले भन्यो, “पाँच वर्षको भयो ।”

अनि फेरि थपेँ, “स्कुल जान्छ ?”

सन्तुले अप्ठेरो मान्दै भन्यो, “अझै गएको त छैन तर पठाउनु पर्ला ।”

मैले भनेँ “सन्तु ! तिम्रा पालामा तिम्रा बुवाले खाइनखाई तिमीलाई स्कुल पठाएका थिए, तिमी पढ्दा कस्तो अवस्था र व्यवस्था थियो होला भन त ?” उसले चाहेर पनि नातिनातिनालाई स्कुल पठाउन सकेको थिएन भन्ने प्रष्ट थियो ।

मैले मेरो पर्स हेरेँ, हजार हजारका पाँचवटा नोट रहेछन् । तिनलाई झिक्दै थिएँ बसले हर्न बजायो । दिन त संसारै दिउँजस्तो लागेको थियो तर मसँग पनि त के नै थियो र भएका ती नोटहरू हतार हतार गरेर सन्तुलाई दिँदै भने नानुलाई र बाबुलाई न्यानो कपडा किनिदिनु है । मेरो बोली लर्बरिएको थियो । आँखा टिलपिल थिए तर सन्तुतिर नहेरीकन म बसतिर लागेँ । बसमा उक्लँदै गर्दा ऊतिर हेर्न मन लाग्यो तर उसले पनि मतिर हेरेको रहेनछ । हातले आँखा मिच्दै थियो । उसको मन पनि मेरोजस्तै भारी भएको थियो भन्ने मैले बुझेको थिएँ ।

म बसभरि यही सोचमा रहेँ, देशमा व्यवस्था धेरै पटक बदलियो तर मेरो साथी सन्तुको अवस्था कहिल्यै बदलिएन । मन भित्रैबाट कुँडिएर आयो । कसरी उसको अवस्था बदलिन सक्छ यही सोचिरहेँ । किन आजकल सन्तुको कुरा उठ्दैन । यो व्यवस्था अनि भए गरेका परिघटना विरुद्ध मनभित्र आगो बलेर आयो । मेरो साथी सन्तुको यो अवस्था बनाउने विरुद्ध एक्कासी दाह्रा किटकिटिएर आए ।