प्रजातन्त्रको सबैभन्दा ठुलो चाड ‘चुनाउ’ । जनताका इच्छा, आकाङ्क्षा समेटिएको सपना साकार हुनसक्ने आशाको एउटा किरण । असल समाज निर्माणका लक्ष्य प्राप्तिमा सहायक ।
चुनाउबारे मेरो विचार यस्तै थियो सानो छँदा । ‘…लाई भोट देऊ,…लाई…को चिह्नमा भोट हालौँ…’ भन्दै राजनैतिक पार्टीको उम्मेदवारका पक्षमा भोट मागेर झन्डा लगाएका गाडीहरू गाउँमा ओहोरदोहोर गर्दा अनौठो रौनकको अनुभव गर्थ्यौँ…निमा, लाक्पा, महेश, रवि र म । ती गाडीहरूको पछिपछि कुदेर निकै अगाडिसम्म ‘भोट देऊ…, भोट देऊ…, भन्दै कराउँथ्यौँ… ।
भोट आएपछि हामी खुबै रमाउँथ्यौँ ।
* * *
आफू जवान भइसक्दा पनि भोटको मोह घटेको थिएन…ममा । समाजमा सबैलाई समानता र न्याय सुनिश्चित भएको हेर्न चाहने मन भएर हो वा नेताले जनहितलाई सर्वोपरि राखेर काम गर्छन् भन्ने ठानेर ।
तर उमेरको रुख अग्लिँदै जाँदा ममा त्यो जोस र उत्साह मर्दै गयो । स्कुले छँदा कुनै धनी र बलियो साथीले गरिब कमजोर मित्रलाई हेपेको, दबाएको देख्दा उम्लिने मेरो रगत अहिले सेलाएर हिउँजस्तो भएको छ ।
* * *
‘सूरज ! आज तिमीले जनशक्ति पार्टीको चुनाउ प्रचार अभियानको रिपोर्टिङ गरिदेऊ न ल । नयन बिमार भएछ ।’
‘म पनि आउन सक्दिनँ होला दाजु, अलिक बिसन्च छु ।’
राकेश दाजुलाई छोटो उत्तर दिएर फोन राख्न खोजेँ ।
‘त्यसो नभन त भाइ, रुलिङ पार्टीको क्याम्पेनिङ्ग हो । बुढोकै भाषण छ अरे । तिमी सिनियर भनेर नि… । नयाँ भाइहरूले अलिक सक्दैनन् होला… । फेरि झटारो आइहाल्छ, तिमीलाई थाहा छ त ।’
‘होइन दाजु…, सक्दिनँ नै होला, रीना पनि बिसन्च छिन् ।’
‘ल त्यसो हो भने म आफैँ जान्छु ।’
कुनै काम अह्राइ नसकी स्वीकृति जताउने निष्ठावान् कर्मीबाट यस्तो नकारात्मक उत्तर पाउँदा राकेश दाजु छक्क परे होलान् तर प्रतिक्रिया जनाउने समय नै पाएनन् । त्यसपछि फोन आएन ।
समाचार प्रकाशन गृहमा एक हप्ता अवकाशको आवेदन पठाएँ । त्यो साता बितेपछि अझै पन्ध्र दिनको छुट्टी मागेर… । थाहा थियो भोटका बेलामा राकेश दाजुमाथि पर्ने भारबारे… । प्रधान सम्पादक भए पनि म अनुपस्थित रहँदा न्युज कवरेजमा राकेश दाजु नै जानुपर्थ्यो ।
साप्ताहिक रूपमा पाइने एक दिनको बिदामा पनि एकपल्ट अफिस पुग्ने मान्छेले यसरी खुरुखुरु छुट्टी लिएको राकेश दाजुलाई पचेन । तर म विवश थिएँ । एकातिर परिवार पाल्नुपर्ने बाध्यता त थियो नै अर्कातिर मानसिक विक्षिप्तता । एउटा अकल्पनीय घटनाले म चोइटिएको थिएँ… । त्यस्ता घटनाहरू सामान्य हुन सक्छन् तर मेरो अनुभवमा पहिलो थियो ।
* * *
रुलिङ पार्टी समर्थित एउटा स्थानीय दैनिक समाचार पत्रको रिपोर्टर ‘म’ । भाषामा निकै पकड भएकाले विभिन्न राजनैतिक पार्टीहरूका पर्चा, चुनाउ घोषणापत्र र अरू कतिपय दस्ताबेज तयार पार्ने काम पनि आउँथ्यो समय समयमा… । सबैलाई सहयोग गर्थेँ, पैसाबिनै ।
एक दिन एकजना मन्त्रीका निजी सहायकले फोनबाट मन्त्री महोदयले भेट्ने इच्छा गरेको जानकारी दिए । एक प्रकारले आदेश नै थियो त्यो । भोलिपल्ट बिहान पुग्नुपर्ने भयो मन्त्रीको निवास स्थानमा ।
चाँडै उठेर तोकिएको समयभन्दा एक घन्टाअघि नै मन्त्रीको बङ्गलोमा पुगेँ… ।
धेरै बेर प्रतीक्षा गर्नु पर्ने हो कि जस्तो लागिरहेथ्यो । तर अचम्म…,भव्य बैठक कोठामा उनी एक्लै बसिरहेका रहेछन् मलाई नै पर्खिएर । मन्त्रीको पी ए-बाट म पुगेको खबर पाउने बित्तिकै कक्षमा पस्ने अनुमति पाएँ ।
केहीबेर यताउताका खबर लिएपछि मन्त्रीले अचानक एउटा अनौठो काम अह्राए ।
‘भाइ ! एउटा पोस्टर तयार पार्नुपऱ्यो ।’
‘कस्तो पोस्टर सर ?’ – सोधेँ
‘मलाई बेस्सरी गाली गरेर ।’
सुनेकोमा विश्वास लागेन फेरि सोधेँ…,
‘कान कमजोर भए जस्तो छ मेरो । सरलाई घरीघरी प्रश्न गर्नु पनि अप्ठ्यारो । ENT स्पेसलिस्ट कहाँ जानै पर्छ होला ।’
मनले भनिरहेथ्यो… ।
‘सूरज ! कतिसम्म सक्छौ मलाई गाली गर्नुपऱ्यो… ।’
म भित्रभित्रै आत्तिएको थिएँ ।
‘के सुन्नु परेको नि यस्तो, खेताला लगाएर आफैँलाई गाली गर्न अह्राउने ।’
मन्त्रीको आदेश…नाइँ भन्न सकिनँ । त्यहीँ बसेर ड्राफ्ट बनाएँ । उनले पनि केही थपे । यो लेख, त्यो लेख पनि भने । मैले उस्तै उस्तै लेख्दै गएँ ।
‘…मन्त्री चोर, कुर्सी छोड । पापी, हत्यारा, भ्रष्टाचारी, बलात्कारी, हाम्रो पार्टी सत्तामा आएपछि तेरो एकएक कर्तुतको हिसाब हुनेछ ।’
‘…मन्त्री ! मुर्दावाद मुर्दावाद… ।’
पोस्टर छिटै चाहिएकाले भोलिपल्ट बिहानै पुऱ्याइदिएँ । खुसी भए उनी । मन्त्री महोदयको आँखा धपक्क बलेको सहजै देख्न सकिन्थ्यो ।
‘भाइ भेट्दै गरौँ है ।’
यति भनेर उनी फोनमा एकजना पार्टी समर्थकसित बात मार्न थाले । म ‘नमस्ते’ गरेर बाहिरिएँ ।
‘यत्रो विश्वास गरे मलाई !’
मन्त्रीको काम गर्न पाएकामा मख्ख थिएँ… । तर आफैलाई नराम्रो गाली र बदनाम गर्न लगाएको रहस्य भने बुझ्न सकेको थिइनँ । सोध्ने धृष्टता पनि राखिनँ ।
दिउँसै बजारका गल्ली गल्लीमा, ठुलठुला भवनका भित्ताहरूमा जताततै त्यही पोस्टर टाँसिएको रहेछ…, ती मन्त्रीको नाम र फोटोसहित… । धुइरो थियो मानिसहरूको…पोस्टर हेर्नलाई ।
त्यसै साँझ मन्त्रीले पत्रकार सम्मेलन डाके एउटा विशाल होटेलमा । कवरेजमा मेरै ड्युटी पऱ्यो । त्यही पोस्टर काण्डलाई लिएर प्रेसलाई बोलाइएको रहेछ ।
इलेक्ट्रोनिक, प्रिन्ट र सोसल मिडिया कर्मीहरूको भिड थियो होटेलमा ।
मन्त्री पुगेर आसन ग्रहण गर्ने बित्तिकै सम्बन्धित पार्टीका एकजना कार्यकर्ताले सबैलाई स्वागत गर्दै आफ्नो वक्तव्य राख्न सुरु गरे ।
उनले माननीय मन्त्री महोदयको छवि धमिल्याउन विपक्षी पार्टीका कार्यकर्ताहरूले पोस्टर टाँसेको आरोप लगाए । त्यसपछि मन्त्रीले त झन् सीमा पार गरेर धम्काइरहेका थिए…‘एक जनप्रिय नेताको बदनाम गर्न यस्तो घृणित कार्यमा संलग्न हुने असामाजिक तत्त्वहरू विरुद्ध कानुनी कारबाही गरिनेछ ।’
‘म अक्क न बक्क थिएँ ।’
घरि मन्त्रीतिर र घरि पत्रकार मित्रहरूतिर हेर्नु बाहेक अर्को विकल्प थिएन मसित ।
‘सर ! तपाईँलाई कुन पार्टीमाथि शङ्का छ ?’
माइक मुखैमा पुऱ्याएर प्रश्न गर्ने सोसल मिडियाका एकजना पत्रकारलाई मन्त्रीले यस्तो उत्तर दिए…, ‘हामीले चिनेका छौँ यस्तो नराम्रो काम गर्ने मान्छेहरूलाई । छोड्ने छैनौँ कसैलाई पनि । तपाईँहरूले पनि चाँडै थाहा पाउनुहुनेछ ।’
अचानक मसँग मन्त्रीको आँखा जुध्यो । म लाजले पानी पानी भएको थिएँ । मन्त्री भने अत्यन्त प्रसन्न मुद्रामा थिए । मुसुमुसु मुस्काइरहेको उनका मुहारमा ग्लानिबोध अलिकति पनि देखिएन ।
अर्का एकजना कार्यकर्ताले धन्यवाद ज्ञापनको औपचारिकता पुरा गरेपछि पत्रकार सम्मेलन समाप्त भयो… ।
साथीहरू महँगो विदेशी रक्सिको मज्जा लिँदै डिनर गर्ने तरखरमा थिए । म होटेलबाट सुटुक्क निस्किएँ र घरतिर लम्किएँ…, छातीभित्र उम्लिएको ज्वारभाटालाई साथमा लिएर…
सामाजिक सञ्जालमा पोस्टर प्रकरणको समाचार तुरुन्तै प्रसारित भयो । विभिन्न समाचार पत्रहरूमा भोलिपल्ट सोही खबर छापियो । हाम्रो समाचार पत्रमा भने पर्सिपल्ट मात्रै अन्य समाचार पत्रलाई साभार गरेर प्रकाशित भयो ।
* * *
ट्रिङ… ।
दैलामा घण्टी बज्यो ।
मनमा एक प्रकारको चिसो पस्यो । टिभी अफ् गरेर दैलो खोलेँ ।
‘अलिक फुर्सद पाएर हेर्न आएको नि । लामो बिमारी भयौ त…! अहिले कस्तो छ ?’
हातमा कर्नफ्लेक्स र रियल जुसको एउटा प्याकेट बोकेर राकेश दाजु ठिङ्ग उभिएका रहेछन् ।
‘ठिकै छु…ठिकै छु दाजु, फोन गर्नुभएको भए हुन्थ्यो नि ।’
दुई भाइ भित्र पस्यौँ ।
‘रीना…! राकेश दाजु आउनुभएको छ ।’
‘हजुर…, आएँ ।’ भान्साघरबाटै रीनाले उत्तर दिइन् ।
‘रीना बहिनी पनि बिसन्च भनेको होइन ? के भयो हौ एकैचोटि ।’
‘हो दाजु पाँच दिन सुतेँ नि… ।’
‘ट्रे मा पानी लिएर रीना आइन् ।’
केही बेरमा चिया र बिस्कुट पनि आइपुग्यो । चियाको घुट्कीसितै राकेश दाजुसित गफ गर्न पाउँदा ताजा अनुभव भइरहेथ्यो । टिभी र मोबाइलको एकोहोरोपनदेखि भिन्दै… ।
खुलेर दुख सुखका कुरा गर्यौँ ।
‘अन्त कहिलेदेखि ड्युटी जोइन गर्ने ?’ राकेश दाजुको यस्तो अप्रत्याशित प्रश्न सुन्दा आत्तिएछु र सोच्दै नसोची भनिहालेछु…
‘दाजु काम छोडूँ कि जस्तो लाग्दै छ । भोलि आएर आवेदन बुझाउनेछु ।’
‘हैट मोरा ! यति सामान्य बिमार हुँदा पनि कसैले काम छोड्छ ? परिवारलाई भोकै राख्ने ?’
‘दाजु ! बस्ती गएर सागसब्जी र फुल रोपेर जीवन धान्ने सोचेको छु । गाउँमा बारी बाँझै छ । गोठ रित्तै छ । बजार मन परेन ।’
‘म चैँ पत्याउँदिन । तिम्रो दाजुलाई नढाँट ल । तिमीलाई अहिलेदेखि चिनेको हामैले ? सानैदेखि समाज सुधारको चाहना राख्ने, पत्रकारितामा धेरै वर्षको अनुभवी । म तिमीलाई त्यसो गर्नु पटक्कै दिन्नँ । काम चैँ छोड्नु हुँदैन ।’
‘ठिकै हो दाजु । तर अब इच्छा छैन । मन मऱ्यो ।’
‘के भएको छ र मन मऱ्यो ? तिम्रो कामको प्रशंसा भइरहेछ । वेतन समयमा नै पाइरहेछौ । असली कारण त मलाई बताउनै पर्छ । त्यति जान्ने मेरो हक छ ।’
अभिभावक सरह सहकर्मी राकेश दाजुलाई मन्त्री काण्डबारे जानकारी दिन मलाई कर लाग्यो ।
‘भाइ यस्ता सानातिना कुरालाई महत्त्व नदेऊ । म बुझ्छु नि तिमीलाई । अबदेखि डेस्कमा मात्रै काम गर्नु ।’
‘दाजु ! यस घटनाले मेरो आत्मसम्मानमा ठेस लाग्यो । आफैँलाई दोषी पाएको छु । मैले सत्य कुरा साझा गर्नसक्नु पर्ने थियो । पत्रकारको धर्म.. पालन गर्नुपर्थ्यो ।’
राकेश दाजु चुप थिए । म एक्लै बोलिरहेको थिएँ…
‘त्यस घटनापछि प्रोग्राम कवर गरेर पनि भोलिपल्टै समाचार पत्रमा छापिएन भनेर मलाई भिन्दाभिन्दै आवाजबाट फोनमा धम्की आइरहन्छ यसरी…‘तँलाई हेर्छु नि नाथे, कहिलेसम्म हाम्रो न्युज लुकाउँछस्? चुनाउ मात्रै सकियोस् त, तेरो र तेरो परिवारको के अवस्था हुन्छ हेर न !’
आधा रातमा फोन आउँदा रीना पनि धेरै डराउँछिन्, तर्सिन्छिन् । अस्ति डाक्टरलाई देखायौँ । उनलाई पनि यहाँ बस्नु मन छैन ।’
‘आवेशमा आएर निर्णय नलिनु, अलिक दिन सोच ।’ यति भनिराखेर राकेश दाजु हिँडे ।
राकेश दाजुले त्यस घटनालाई गम्भीर मानेनन् । त्यस्ता कुराहरूलाई पचाइसकेका रहेछन् क्यारे ! तर मेरो संवेदनशील हृदयको उतार चढाउ शान्त भएको थिएन । खलबलिएको मस्तिष्कको असर देखायो हातले र स्वतः टेबलमाथि भएको टिभीको रिमोर्टमा पुग्यो । मन भुलाउन च्यानल छान्दै समाचार हेर्न थालेँ । राष्ट्रिय समाचारमा लोकसभा र केही राज्यहरूमा विधानसभा चुनाउसम्बन्धी खबरहरू मात्रै थिए । सम्बन्धित पार्टी प्रायोजित निजी च्यानलहरूले तिनै दलका बढिबढाउ र विपक्षीको खोइरो खनिरहेका थिए । वाक्क लागेर विश्व समाचारतर्फ ध्यान अड्याएँ ।
त्यसमा बर्मामा सैनिक शासनको मनमानी, इज्रायल र फिलिस्तिनबिचको अविराम सङ्घर्ष, युक्रेन र रसियाको महासङ्ग्राम युद्धले गरेको विनाश र दुई शक्तिबिचको भिडन्तमा निर्दोषहरूको मृत्युले झन् विचलित तुल्यायो । ती दृश्यले शक्तिलाई सर्वोपरि ठानेर गरिएको रामायण महाभारत कालको युद्ध, पहिलो र दोस्रो विश्वयुद्ध, आर्मेनिया-अजरवैजान अनि इरान-इराकबिच लडाइँको दुष्परिणाम र अफगानिस्तानको दयनीय स्थितिले अझै मन पोल्यो ।
यति मात्र नभएर विश्वभरिकै प्रत्येक राष्ट्र, राज्य र ससाना निकायहरूमा पनि पदका लागि हुने होडबाजी सम्झेर ल्याउँदा राकेश दाजुको सल्लाह एक प्रकारले सही लागिरहेथ्यो । चौकी ओगट्ने होड र पाएपछि छोड्नै नचाहने प्रवृत्तिलाई मानव प्रकृतिको एउटा कालो पाटो नै ठानेँ ।
मन अमिलो भयो… ।
‘दाजुले उचित परामर्श दिएका रहेछन् । पत्रकारिता गर्नलाई नै गाउँ छोडेर आएको…, किन फर्किनु र…! ती मन्त्रीले जे सुकै गरुन्, मलाई के खाँचो । राजनीति यस्तै त रहेछ नि ! डेस्कमा बसेर काम गर्छु ।’
विचारको उडानले अर्को दिशा लिएपछि…रीनालाई फकाउने र राकेश दाजुलाई सूचित गर्ने निश्चय गरेँ । फोन अर्को कोठामा चार्जमा थियो ।
* * *
‘गडडड…, ड्याम ड्याम…छिस् छिस्…’ गोली बारुद, अत्याधुनिक अस्त्र शस्त्रको आवाजले कान भरियो… । फेरि च्यानल परिवर्तन गरेँ । स्थानीय च्यानलमा झलक्क ती मन्त्रीको अनुहार देखियो । चुनावी जनसभालाई सम्बोधन गरिरहेका थिए । रिमोट, त्यसैमा टक्क अडियो ।
‘चुनाउमा हारजित एउटा सामान्य प्रक्रिया हो । हारबाट नै हामीलाई जीवनमा अघि बढ्ने प्रेरणा र हौसला प्राप्त हुन्छ । हारदेखि डराएर भाग्ने मानिस आफ्नो कर्तव्यसित त हार्छ नै, जनसेवा गर्नबाट पनि ऊ टाढा रहन्छ । पराजयबाट त्रसित हुने कुतत्त्वहरूको सिकार म पनि बन्न पुगेँ… ।’
मेरा आँखाहरू झिम्किनै मानेका थिएनन् । मन्त्रीका पैँचो लिएका शब्दहरू तीर बनेर छातीमा गाडिइरहेका थिए ।
‘हाम्रो पार्टीले जनकल्याणकारी कामहरू गर्दै आइरहेछ र गरिरहनेछ । आफू विजयी हुनलाई अरूको बदनाम गरेर कमजोर देखाउन खोज्नु विपक्षको चाल हो ।’
मन्त्री अझै भट्याइरहेका थिए स्वयम्को र उनका पार्टीको गुणगान विपक्षलाई गालीको माध्यम बनाएर । एक एक शब्दहरूमा पोस्टर प्रकरणको परिणामस्वरूप गाउँगाउँमा पक्ष विपक्षका समर्थकहरूबिच भएको भिडन्त, एकाअर्काको घर भत्काउने, गाडी जलाउने कुकृत्य अनि घाइतेहरू हस्पिटलमा भर्ना हुनुपरेको स्थिति र तिनै मन्त्रीद्वारा पीडितहरूलाई सहयोगको हात बढाइएका दृश्यहरू झलझली देखेँ मैले । बढाइएका दृश्यहरूको कल्पना गरेँ मैले ।
बिर्सिने प्रयास गरेको अतीत फेरि बल्झिएछ । अनायासै राजीनामा पत्र लेखिसकेछु ।
गान्तोक, सिक्किम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।