
मैले विश्वास गरेँ र उनीहरूले भनेअनुसार आफू बस्ने घरसमेत पास गरिदिएँ । तर विडम्बना अहिले दुइटै छोरा बोल्न छोडे ।
‘म नुवाकोट झिल्टुङ गाउँको नेवार हुँ । मेरो नाम चन्द्रमान श्रेष्ठ हो । मैले थाहा पाउँदा मेरो बुबा बिचारी हुनुहुन्थ्यो । नजिकै जिम्मुवालको घर थियो । मेरा बुबा र जिम्मुवाल खुबै मिल्थे । हाम्रो घरमा दुई सय मुरी धान भित्रिन्थ्यो ठेक्का उठाउँदा मात्र पनि । बीस हल गोरुले मात्रै मकै छरिसक्थे बारीमा । बुबा व्यापारी हुनुहुन्थ्यो । बुबाका पनि हजुरबालाई त्यहाँका ब्राह्मणहरुले व्यापार गर्न भनेर काठमाडौँबाट फकाएर लगेका थिए रे ऊ बेला । त्यो समयमा नेवारले मात्रै व्यापार गर्थे । अरू जातजातिका मान्छे व्यापारी थिएनन् ।
हाम्रो घरदेखि उत्तर र पश्चिमतिर तामाङ बस्ती थियो । उसबेला सबैले तामाङ गाउँलाई भोट गाउँ भन्थे । पूर्व र दक्षिणतिर क्षेत्री ब्राह्मणहरूको बस्ती थियो । नेवारको घर बिचमा एक्लै थियो, हाम्रो मात्रै । बा, हजुरबा दुवै एक्ला सन्तान रहेकाले जिजुले बनाएको घरभन्दा दोस्रो घर थपिएको थिएन । हाम्रो बुबाका मात्रै हामी पाँच भाइ छोरा थियौँ । हामी त्यो गाउँका धनीमानी रहेछौँ त्यो बेला । धेरै मान्छे जनबन गर्थे, कोदो, मकै भेला गर्थे, कुट्थे, पिध्थे, खान्थे तर हामीले जहिल्यै खिर खानु पर्थ्यो । अहिल्यै खिर, भरे नै खिर, जहिल्यै खिर खाँदाखाँदा हामी हैरान दिग्दार भएर “यो खिर कहिल्यै कसैले खानु नपरोस्“ भन्थ्यौँ ।
कारण के थियो भने घरमा दुई चार माउ गाई भैँसी हरदम दुहुना हुन्थे । दुध बिक्तैन थियो, बेचिँदैन थियो । ततायो अलिकति चामल हालिदियो, खिरैखिर । हाम्रो परिवारले अलिअलि दही खान जमाउनेबाहेक मही पार्ने, घिउ खार्ने झन्झट गर्दैन थियो किनभने गाउँभरिको एउटा मात्र दोकान, फुर्सद पनि कम हुने । त्यसमा पनि सिसार, कोसेली, माइत जे जे आए पनि प्रायले घिउ नै बोकेर आउँथे । अपुग हुँदा पनि थोरै पैसामा धेरै बस्तु किन्न पाइन्थ्यो, हामीलाई पैसाको दुःख थिएन । गाउँ बेँसीका ठुला र राम्रो उब्जनी हुने खेतबारी हाम्रै थिए । प्रशस्त पैसा चलाउने घर हाम्रै थियो । गाउँभरि लगानी हाम्रै घरले गर्थ्यो । गाउँभरि जम्मा हुने लक्ष्मीको बास हाम्रै घरमा हुन्थ्यो । खाँचो केहीको थिएन ।
===
तर मान्छेले कुन बेला आफूलाई अहमत्याइँ लाग्यो भन्ने कुरा थाहै पाउँदैन रहेछ । हाम्रो बुबाले पनि थाहा पाउनु भएन । ती सारा सुखसुविधा, धन दौलतको अहमत्याइँ यस्तरी लागेछ कि एक दिन बुढा मान्छेले त्यही जिम्मुवालकी स्वास्नी टिपेर टाप कसेछन् । घरदेखि तीन घन्टा टाढा पुगेर एउटा होटल खोलेछन्, नोकरचाकर राखेछन्, अर्काकी स्वास्नीसँग मोजमस्ती गरेर बस्न थालेछन् बुढा । यता निक्कै कस्सिएर मुद्दा हाल्यो जिम्मुवालले । जारी तिर्नुपर्ने मुद्दा । त्यो बेला जार काटेर आयो भने पनि कुनै मुद्दा लाग्दैन थियो तर जिम्मुवालले त्यसो गरेन । एक हजार रुपैयाँ तिर्नुपर्ने थियो हाम्रा बुबाले तर अचम्म के भयो भने जिम्मुवालले ‘म मेरी स्वास्नी बेचेर खान्न, यो विचारी र मेरो सम्बन्ध हिजो जे थियो आज पनि त्यही छ र भोलि पनि त्यही हुनुपर्छ । तपाईंहरूले त्यति गराइदिनुहोस्, मलाई अरू केही चाहिँदैन’ भन्यो ।
सबै छक्क पनि परे र खुसी पनि भए । हाम्रा बुबा झन् खुसी भए । कान्छी स्वास्नीदेखि त संसारकै सबैभन्दा धेरै खुसी भए । कान्छीले जे भन्यो त्यही दिन थाले । एकातिर कान्छी पनि खुसी हुने अर्कोतिर छोराहरूमा बाँडिने सम्पत्ति पनि जोगिने भन्दै हामी आमा छोराहरू कसैलाई थाहै नदिई राम्राराम्रा खेत, बारीहरू कान्छीका नाममा पास गरिदिएछन् बुबाले । भयो के भने सबै सम्पत्ति हात पारिसकेपछि बुबाकी कान्छी स्वास्नी त स्वात्तै जिम्मुवालसँगै फिर्ता गइछन् । कुरो थाहा पाएपछि हाम्रा बाबै एक्कासि मुर्छा परेर ढले । आफ्नो भन्नु त अब ढाँडे पाखातिरको बारी र एकदुई वटा खेत मात्रै बचेछन् । पछि कचहरी बस्यो ।
तर जिम्मुवालले भन्यो “अब यो बुढी मेरी बुढी पनि हो बिचारीकी पनि हो । ऊसँग बस्न मन हुँदा उहीसँग बस्छे मसँग बस्न मनलाग्दा मसँगै बस्छे ।”
फैसला सिद्धियो ।
===
बाबुको यस्तो चर्तिकला देखी सहन नसकेर हाम्रा ठुल्दाइ घर छोडेर हिँडे । कता हिँडे, कहाँ पुगे, मरे बाँचे आजसम्म पनि पत्तो छैन । बुबा त्यहीँदेखि जिङ्ग्राउँदै गएर वर्षदिन नपुग्दै बित्नुभयो । बुबा बितेपछि माल्दाइले पनि घर छोडे । काठमाडौंतिर झरेर एउटा बाहुनका घरमा नोकर बसेछन् । बाहुनले स्कुल भर्ना गरिदिएछन् । पढ्न थाले । साल्दाइले पनि घर छोड्ने विचार गरेपछि म पनि उनका पछि लागेँ । काठमाडौं आएर काठमिलमा काम गर्न थालियो ।
समय बित्दै थियो । हामी काठको काम गरिरहेकै थियौँ । एक दिन एउटा मान्छे मिलमा आयो । मान्छे हट्टाकट्टा बलियो खाइलाग्दो थियो । स्वर अलि मसिनो रहेछ तर उसले हामी कामदारहरूलाई कडै स्वरमा सोध्यो ।
“ए केटा हो, तिमेरू यहाँ कति तलब खान्छौ हँ ?”
हामीले भन्यौँ, “मोहोर” ।
उसले भन्यो “तिमीहरूलाई म एक रुपियाँ बाह्रआना दिन्छु, मसँग काम गर्न जान्छौ ?”
आहा ! सुन्दै अचम्म लाग्ने तलब । आठ आना (पचास पैसा)मा काम गरिरहेको मान्छेलाई एक्कासी एक रुपैयाँ बाह्रआाना दिन्छु भन्दा को जाँदैन होला त । सबैले मुखामुख गरे ।
तेह्र जनाले “जाने” भन्यौँ । काम के त भन्दा मधेसको दबदबमा चिया रोप्ने ।
उनले सोधे “तिमीहरू कहाँसम्म गएका छौ ?”
हामीले भन्यौँ “वीरगन्ज रक्सौलसम्म ।”
उनले भने “म यहाँ एउटा चिठी लेखेर छोडिदिन्छु, त्यही चिठी देखाउँदै जानू । रक्सौलबाट ट्रेन चढ्नू । जोगमुनी पुगेपछि त्यहाँ मेरो ट्रक आउँछ, त्येसैमा चढेर आउनू“ ।
हामीले त्यसै गर्यौं ।
जोगमुनीबाट नेपालतिर छिर्दा एउटा भन्सार अफिस र अर्को टिम्बर अफिस भन्ने थियो । त्यसका वरिपरि लकडीका विशाल विशाल थुप्रा थिए । वरिपरि पटेर जङ्गल थियो । ट्रक हिँड्ने एउटा धुलेबाटो बाहेक सबै अँध्यारो जङ्गल मात्रै देखिन्थ्यो । उखुम गर्मी । हातका कान्छीऔँला जत्रा देखिने मच्छड आउँथे मौरीको गोलो जसरी । भुसुना घुम्थे टाउका वरिपरि भुरुरुरुरु । झ्याउँकिरी बास्थे दिउँसोमासै जङ्गलमा । ट्रक कुर्दाकुर्दै घाम ढल्कियाे । बल्लतल्ल आयो ट्रक लकडी बोकेर । लकडी झारिसकेपछि चढ्यौँ हामी तेह्र लड्का तिनै लकडीजस्तै गरी । सुरुसुरुमा त मान्छे चिनिँदै थियौँ, एकछिनपछि कुहिरीमण्डल धुलोले धमिराका देवल ठडिएजस्ता आकृति मात्रै देखिन थाल्यौँ । रङ्गेलीमा आइपुगेपछि एकछिन ट्रक रोकियो । यसो उत्रेर हेर्यौं, पाँच सातवटा पराले झुपडीहरू मात्रै देख्यौँ । फेरि हुइँकियो ट्रक । निकैबेर दौडिएपछि जहाँ जङ्गल फँडानी गरेर सोत्तर पारेका र केही झुप्राहरु ठड्याएका थिए त्यहीँ ओराल्यो हामीलाई ट्रकले ।
माटाका मुर्तिजस्ता बनेका हामीलाई त्यहाँका एकजना हर्ताकर्ताले नुहाउन पठाए र भने, “ए केटा हो, नुहाउनचाहिँ नुहाओ तर पानीचाहिँ थोपै ननिल है । अनि सुन, नउमालेको पानी कहिल्यै नखानू, माछा नखानू, जतिसुकै गर्मी भए पनि रूखमुनि नबस्नू, नसुत्नू ।”
पानी पकाएर माटोको भाँडोमा राखेको रहेछ, त्यो चाहिँ पिउन दिए हामीलाई । ठुलठुला डौँठे चामलको भात खान दिए । धुवाँ पतपति लगाएका छाप्रामा सुताए । गर्मी उखुम थियो । तर पनि फुसुक्कै निदाएछौँ हामी । भोलिपल्ट उठेर हेर्दा हामी सुतेको वरिपरि जङ्गल फँडानी गरेको थियो । कतै धमाधम रूख ढलाउँदै पनि थिए । थोरैतिना जग्गा खनजोत भएको देखिन्थ्यो । त्यहाँ सानातिना काँसले छाएका झुपडीहरू पनि थिए । ती धिमालका झुपडीहरू रहेछन् । वरिपरि सबैजसो ठाउँ काँसघारी र बगर मात्रै थियो । धिमालहरु काँसलाई ‘उल्ला’ भन्थे । काँसैकाँसमात्रै भएको मावाखोला पश्चिमको भागलाई ‘उल्लाबाडी’ भन्थे । पछि पर्वते भाषा बोल्नेहरु पहाडबाट धमाधम झर्न थाले र उनीहरुको जिभ्रोले त्यही उल्लाबाडीलाई ‘उर्लाबारी’ भन्न थाल्यो ।
अहिलेको दमकलाई त्योबेला दबदब भन्थे । धिमालहरुचाहिँ ‘दममका’ भन्थे । ठाउँ पनि त्यस्तै भास थियो । एकठाउँ टेक्ता निकै परसम्म हल्लिने, थलथले थियो । दममका भनेको पनि ‘दबदबे भास’ भनेकै रहेछ । दममकालाई बोलचालको भाषाले दमका उच्चारण गराउन थालेपछि सन्तबहादुरले नै लेख्य भाषामा दमक लेख्न थाले । उनी लेखक पनि थिए । उनले तीनवटा पुस्तक पनि छपाएका थिए । र अहिलेको ‘दमक’ शब्द चल्तीमा आएको हो ।
हामी आइपुगेको भोलिपल्टदेखि नै काममा लागिहाल्यौँ । मुडा उठाउने, चिराउने, जोतखन गर्ने, चियाका बिरुवा रोप्ने, बस्ने घर बनाउने आदि जे जे अह्राउँथे सन्तवीर र उनका हर्ताकर्ताहरूले त्यही त्यही गर्यौं । अहिलेको हिमालय चिया बगानको चिया हामीले रोपेर, गोडमेल गरेर, घैलामा पानी बोक्तै फेदफेदमा हालेर हुर्काएका विरुवा हुन् ।
त्यो बेला रतुवा खोलो अनियन्त्रित थियो । अहिलेको दमक बजारभरि रतुवा कुद्थ्यो । अलिकति ठाउँमा सन्तवीर लामाको कोठी र बगान थियो । सन्तवीरले लकडी, ढुङ्गा इत्यादि प्रयोग गरेर धेरै दुःखले बाँध बाँधेर रतुवालाई एकोहोरो बगाएपछि सुरक्षित भूमि देखेर जमिन ओगट्नेहरुका झुपडीहरु बन्न थाले । सुकुम्बासीका नाममा बनेका त्यस्ता झुपडीवालहरुलाई सन्तवीरले तितरबितर बनाए । विद्रोह गर्नेहरुलाई ठाउँको ठाउँ नै दबाए । कतिपय चाहिँ सास न बास भएर डाँडो काटे । कहिल्यै फिरेनन् तिनीहरु । उनको चाकडी गर्नेहरुलाई, मन जित्नेहरुलाई, मनलाग्दी जमिन दिएर पनि राखे । धनकुटा कुरुलेबाट आएका शिलोके बराल त्यसका ज्वलन्त उदाहरण नै हुन् । उनले शिलोक (कविताका श्लोक) भनेर मख्ख बनाएका भरमा १३ बिघा जमिन दिएर दमकमा नै राखेका थिए ।
सन्तवीर लामाले आफ्नो पुरानो कोठी भत्काएर नयाँ बनाए । त्यसबेला बनेको उनको कोठीका आँखीझ्यालहरू मेरा यिनै हातले बनाएका हुन् । कोठीका आँखिझ्याल बनाउनुअघि मैले अहिले दमकमा रहेको पशुपति मन्दिरका आँखीझ्यालहरू बनाएको थिएँ । त्यसपछि पनि मैले आँखीझ्यालहरु त बनाएँ तर अहिले ती कसरी बनाएँ होला भन्नेँ लाग्छ । तिनै झ्याललाई हेरेर पनि म भन्न सक्तिन कताबाट जोडेँ ? अहिले सम्झन नसक्ने भयो दिमाग ।
साल्दाजु र म नुवाकोट फर्कनै सकेका थिएनौँ । आमा र कान्छो भाइ उहीँ थिए । कान्छोले आमालाई फकाइफुल्याइ गरेर आमाका नाममा भएको सबै जग्गाजमिन आफ्नो नाममा नामसारी गरेछ । यो कुरा हामीले धेरै पछि थाहा पायौँ । मैले साल्दाजुलाई कुरा बुझ्न र आमाको अवस्था विचार गर्न नुवाकोट जान अनुरोध गरेँ । दाजु पुगेर फर्केपछि हामीले बुबा खसेको ठाउँमा एउटा पुराण लगाउने निधो गर्यौं र बीस-बीस हजार लिएर नुवाकोट गयौँ । छत्तीसजना पण्डित पढाएर पुराण सकेपछि आमालाई लिएर दमक आयौँ । पछि कान्छालाई पनि एक्लै बस्न मन लागेनछ र नब्बे हजारमा सबै जग्गा बेचेर दमकै आयो ।
त्यो बेला सयकडा मन धानेव्याजमा पैसा चलाउँथे मानिसहरू । एक हजार रुपैयाँ व्याजमा लगाउँदा दश मन धान घरमै ल्याइदिन्थे । कान्छालाई हामीले जग्गा किन, जग्गा किन भनेर धेरै उपदेश दियौँ तर उसलाई पनि अहमत्याइँ लाग्यो । ज्यान जाला मानेन । सबै रूपैयाँ व्याजमा लगायो । उस बेलादेखि आएर दुःख गर्ने हामी । हाम्रो घरमा धान हुँदैन थियो तर हिजोअस्ति आएको कान्छोले घर बनाएर सात आठ सय मन धान थन्क्याएर आरामको जिन्दगी जिउन थाल्यो ।
अलि समय मोज गर्यो कान्छोले पनि । तर समय बद्लिँदै जाँदा पैसा सस्तो र अन्न महङ्गो हुँदै गयो । कान्छाेले व्याजदरमा समयअनुसार समायोजन, परिवर्तन गरेन । त्यसले गर्दा आज एउटाको, भोलि अर्काको गर्दै पैसा डुबाउँदै गयो उसले । अन्त्यमा न व्याज न सावाँ भयो कान्छो । कोही भागे, कोही मरे, कोही बसाइँ गए । अन्तिममा कान्छाको पनि विल्लिबाठ भयो ।
===
कान्छोबाहेकका हामी चारभाइ दाजुभाइले बाबुआमाको सम्पत्ति चारआना पनि मागेनौँ, लिएनौँ । अहिलेसम्म हात पाखुरा बजाएर खाइँदै छ, पुगेकै छ । मेरो जेठा छोरालाई यहाँको साढे चार कठ्ठा जमिन र काठमाडौंको चार तले घर अंशमा दिएको छु । कान्छा छोरालाई पनि त्यति नै जमिन र दुई तले पक्की घर दिएको छु । हामी बुढाबुढी बसेको घरजग्गा सहित सबै यी मेरै पसिनाले जोडेका हुन् । पुगेकै छ । जसले अरूको पसिनामा पौडी खेल्छ उसले क्षणिक सुख भोग गर्छ र बाँकी जीवन दुःखमा बिताउँछ । आफ्ना पसिना बगाउनेले कहिल्यै दुःखको महसुस गर्दैन । ऊ आफ्नो उद्देश्यमा केन्द्रित हुन्छ बाँकी सबै कुरा उसका लागि गौण हुन्छन् ।
अहिले म एकासी वर्षको भएँ र पनि मलाई साठी किलो रड बोक्न साथी चाहिँदैन । म कुर्सी, टेबुल, बेन्च, टुल, डाङनिङ, भर्याङ् जसले जे जे बनाउन लगाए पनि दिनभरि एक्लै बनाउँछु । सबै खाले मेसिन चलाउँछु र भोलिपल्ट त्यसलाई काँधमा बोकेर दमक बजार सबै घुमाएर बेचेर घर जान्छु । यो मेरो दैनिकी हो ।
मेरा तीन छोरी र दुई छोरा हुन् । सबैको बिहेदान भैसक्यो । नाति पनाति सबै भैसके । अहिले मसँग कोही बस्तैनन् । हेरदेख पनि गर्दैनन् र अहिलेसम्म गर्नु परेको पनि छैन ।
छोराहरूले “ए बाउ, हामी तिमीलाई ३०-३० लाख नगद दिन्छौँ तिमी हामीले भनेजस्तो गरी (यसरी यसरी) जग्गा पास गरिदेऊ” भने ।
मैले भने, “पास गरिदिन्छु तर पहिले पैसा जम्मा गरिदेऊ ।”
उनीहरूले भने,“तिमीलाई आफ्ना छोराहरूमाथि पनि विश्वास छैन ?”
मैले विश्वास गरेँ र उनीहरूले भनेअनुसार आफू बस्ने घरसमेत पास गरिदिएँ । तर विडम्बना अहिले दुईटै छोरा बोल्न छोडे । जेठो काठमाडौं बस्छ, अस्ति दशैँमा टीका लाउन आयो । मैले टीका लगाइदिएँ तर आमासँग नबोली गयो । कान्छो यहीँ पखेटे चोकमा छ तर मरिगए बोल्दैन हामीसँग । आउजाउको त कुरै भएन । जेठाको जग्गामा एउटा कटेरो थियो । त्यसैलाई टालटुल पारेर हामी बुढाबुढी बसेका छौँ अहिले । गाई पनि पालेका छौँ । कारखाना पनि चलाएका छौँ । हामीलाई आनन्द छ । केहीको कमी छैन । सम्पत्ति धेरै भयो भने अहमत्याइँ लाग्छ र सकिन्छ जम्मै । मलाई ठिक्क छ अहिले । हातपाखुरा चल्दाचल्दै खुत्रुक्क मर्न पाइयोस्, यत्ति छ मेरो चाहना ।
म अक्षर चिन्दिनँ । नचिनीकन यो उमेर भयो । अब चिन्नु पनि छैन । तर मलाई अहिलेसम्म धेरै कुराको सम्झना छ । केही कुरा बिर्से पनि सानामा देखे भोगेका कुराहरू सबै आउँछन् । म सानै हुँदा देखे जानेका एक दुईवटा कुराहरू तपाईंलाई सुनाउँछु ।
– हामी कछाडमा बस्थ्यौँ । आधाघन्टा तल झर्दा औलो लाग्ने बेँसी र एक घण्टा माथि जाँदा हिउँ खस्ने लेक थियो । कामदारहरू बेँसी झरे भने रूखमुनि शीतल बस्न पाउँदैनथे र नउमालीकन पानी पनि खान पाउँदैनथे, औलोले भेटिहाल्थो । लेकाली, कछाडेहरू कहिल्यै बेँसीमा सुत्तैनथे । तर त्यही बेँसीमा बस्ने रैथानेहरूले हावापानी पचाइसकेकाले उनीहरुलाई केहीले पनि छुँदैन थियो । त्यो बेला दिनभरि अर्काको मेलोमा काम गर्दा कछाडतिर भए २० पैसा र तल बेँसीमा झरेर गर्नु परे ३० पैसा दिन्थे । फेरि अन्न लान्छु भनेमा १० पाथी मकै दिन्थे । बेँसीमा काम गर्दा ज्यादै गर्मी हुने अनि शीतल पनि घाममै बसेर ताप्नुपर्ने, पानी पनि तातै खानुपर्ने त्यो पनि उमालेर सेलाउँदै गरेको तातो । कष्ट धेरै व्यहोर्नुपर्ने भएकोले पैसा पनि डेढा कहिलेकाहीँ दुना पनि पाइने गर्थ्यो ।
– हामी लेकतिर जाँदा लेकालीका आँगनका पल्लाछेउमा पाँच सातवटा खाल्डा माटोले लिपेर चिल्ला बनाएका देखिन्थे । चौँरी र लेकाली गाइको दुध तताएर तिनै खाल्डामा हालिदिन्थे लेकबस्ने मान्छेहरू । दिनैपिछे एकै रीतले हाल्थे दुध । त्यो जमेर बसिरहन्थो त्यहीँ । खाल्डो भरिएपछि माथिबाट पातलो ढुङ्गाले छोपिदिन्थे, थिचिदिन्थे र अर्को खाल्डोमा दुध हाल्न थाल्थे । पछि हिउँले तीन महिनासम्म पुर्थ्यो पनि । हिउँ पग्लिएपछि बेँसी, कछाडतिरका मान्छे माटाका घैला, बाल्टी आदि बोकेर लेकतिर जान्थे ।
लेकालीहरूले ढुङ्गा पल्टाउँथे र बाल्टीमा उघाएर-भरेर त्यो रवर्ड जस्तो तननन तन्किने लहरे दही उनीहरूलाई बेच्थे ।कसैले अन्नमा साट्थे पनि । एक बाल्टी दही निकालेपछि एकै बाल्टी पानी थपिदिन्थे र ढुङ्गाले छोपिदिन्थे । त्यो पानी माटोले सोस्थ्यो र दही जस्ताको तस्तै रहन्थ्यो । त्यो दहीमा चारगुणा बढी पानी हालेर फिटेर मात्रै खान सकिन्थ्यो । कसैले त्यतिकै खायो भने मातेर पुर्लुक्कै ढल्थ्यो । डेढदुई घण्टापछि मात्रै उठेर हिँड्ने हुन्थ्यो । लेकमा यो दही खान मिल्दैन थियो । बेँसी, कछाडमा पनि बिहान बेलुका होइन दिउँसो घाम लागेको समयमा मात्रै खान सकिन्थ्यो । राम्रो के थियो भने जतिसुकै लामो समयसम्म रहेको भए पनि त्यो दही गुलियो नै हुन्थ्यो अमिलो हुँदैन थियो ।
– लेकालीहरू सिन्की गुन्द्रुक हाल्दाभनेँ खाल्डो खन्दैनथे । मंसिरमा उखेलेर पाखामा सुकाएका मुला पुसमा हिउँ पर्नुअघि भेला गरेर ढुङ्गाले थिचिदिन्थे । हिउँ जमेर तीन महिना पुर्थ्यो र पग्लेपछि ढुङ्गा निकाल्थे । अचम्मै स्वादिलो हुन्थ्यो त्यो गुन्द्रुक सिन्की ।
– हामी फागुन महिनामा बारीमा मकै छर्थ्यौं र जोत्थ्यौँ । जोत्ता हलोको सियोमा आलुका दाना-चाना खसाल्थ्याैँ । भटमास, मकैबोडी, जरेसिमी आदि सबैबाली एकैपटक लगाउँथ्यौँ । साउनमा आलु खन्दा मकै बाहेक सबैकुरा मासिन्थे र मकैबारीभित्र कोदो रोप्थ्यौ । असोजमा मकै पाक्थे र मंसिरमा कोदो । ठाउँले कति फरक पार्थ्यो भने आधा घन्टा तल त्यही मकै छरेको तीन महिना नपुग्दै पाक्थ्यो तर आधा घन्टाको बाटोमाथि आठ महिना लाग्थ्यो ।
– म त्यो ठाउँमा जन्मेर हुर्केर, नेपाललको राजधानीमा काठको काम सिकेर यो दबदबमा आएर ’दमक बनाउने मान्छे सन्तवीर’ सँग उठबस गर्दै त्यो जङ्गलमुलुक, रतुवाको बगर, काँसघारी, थलथल हल्लिने दबदबे बालुवाको भास, बाघ, बँदेल, स्याल,चितुवा र हात्तीका जेर हिँड्ने ठाउँलाई आजको विशाल सहर बनाउन हड्डी घोट्ने मान्छे हुँ भन्दा मलाई कल्ले पत्याउँछ ? पागल हो यो बुढो भन्दैनन् भाइ ? तर म त्यही मान्छे हुँ जसलाई खिरले पनि अहमत्याइँ लागेर हिँडेको थियो कुनै समयमा ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

“प्रतिबन्ध” लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण सम्पन्न
