ढोकामा ताला झुण्डिएको थियो । एकप्रति चाबी ऊसँग पनि छ तर किन हो नखोली ऊ फर्कियो ।
ऊ अर्थात् प्रोफेसर डाक्टर डि.बि. घर्ती, टिचिङ हस्पिटलमा साइक्याट्रिक डिपार्टमेन्टको एच.ओ.डी. । आफू हस्पिटलको क्वार्टरमै बस्थ्यो तर शहरमा पनि उसको फ्ल्याट छ, जो जन्मदिनको उपहारस्वरुप बिमलालाई दिएको थियो ।
बिमला अर्थात् उसकी प्रेमिका ।
–
कसो कसो फेसबुकमा भेटिएको पोखराकी महिलासँग प्रोफेसरको हिमचिम बढ्दै गयो । सम्बन्ध अस्वाभाविक लागे पनि प्रोफेसरलाई निकै आकर्षित गरिरहेको थियो । सायद, प्रोफेसरले जानेका तमाम विषयहरूभन्दा बाहिर उसको आफ्नै मन कुदिरहेको हुँदो हो । वा, सुल्झाइसकेर पनि त्यही विषयमाथि खेलिरहने इच्छा प्रोफेसरले गरेको हुँदो हो । दुईचार पटकको भेट र दुईचार दिनको उठबसमै प्रोफेसर स्खलित भइसकेको थियो । उसका थ्योरी र ज्ञानका तसलाहरू विस्तारै धमिला धमिला हुँदै आए । सम्बन्ध अझै बलियो बलियो हुँदै आयो ।
एकदिन, प्रोफेसरले निधो ग-यो– अब ऊ बिमला बिना रहन सक्दैन ।
बिमला अधवैंशे उमेरकी थिई । लगभग प्रोफेसरभन्दा सात वर्ष बढी होला ! रुपले मस्त । आधा बैंश गए पनि बैंशको ताज अझै ताजा थियो । सानो र खिरिलो कदका कारण पनि हुनसक्छ बिमलाको शारीरिक तेज निकै प्रचुर देखिन्थ्यो । सायद त्यही तेज थियो प्रोफेसरको मथिङ्गलमा हलचल गरिरहने जो बिमलाले प्रोफेसरतिर प्रसार गरिरहन्थी ।
प्रोफेसर हारिसकेको थियो, युद्ध हारेर घुँडा टेकेको सैनिकजस्तै । प्रोफेसर दैनिकजसो बिमलातिर खिचिरहेको थियो । सायद प्रेमले, सायद वासनाले । प्रोफेसरलाई बिमलासँगको सामीप्य निकै खाँचो रहन गयो । तर राजधानी र पोखराबीच जुन दुरी छ त्यो दुरी प्रोफेसर र बिमलाका बीचमा पनि उति नै थियो । एकदिन उदास भएर बिमलाले भनी– पोखरा आउनू ।
प्रोफेसरलाई पनि दुरी घटाउन उचित लाग्यो ।
–
अचानक, हृदयको धडकन बढेपछि प्रोफेसरले स्टेरिङ् घुमाएर गाडी ब्याक ग-यो । बिमला पार्किङकै साइडबाट हस्पिटलतिर बढिरहेकी थिई । के ऊ प्रोफेसरलाई भेट्न आएकी थिई ?
बिमला सबिनासँग गफिन थाली । सबिना प्रोफेसरको बेस्ट स्टुडेण्ट । सायद, बिमलाले प्रोफेसरको पत्ता सोध्दै थिई । अथवा प्रोफसरका बारे केही खोज्दै थिई ।
प्रोफेसरले चश्मा झिक्यो । गाडी पुछ्न राखेको टालोले चश्मा पुछ्यो । सिसामा हे-यो । अन्यमनस्कमा गाडीको एक्सिलेरेटर र क्लोज पालैपालो दबाइरह्यो । प्रोफेसर कस्तो कस्तो अनौठो सोचाइमा फसिरहेको थियो । प्रोफेसरले दुई प्रकारले बिमलाको रुप देखिरहेको थियो– नरककी किचकन्नी जस्ती या स्वर्गकी परी जस्ती । दोहोरो हेराइमा उसका नजरहरू एकतरहले अडिरहे ।
के बिमलाले प्रोफेसरकै बारे कुरा गरिरहेकी थिई ?
उसको छायाँबाट भाग्ने चेष्टाले प्रोफेसर निष्कृय जस्तै थियो । प्रोफेसर आफ्नो गोपनीयता चुहाउन चाहँदैनथ्यो । ऊ लुक्न चाहन्थ्यो । बिहानदेखि एक ट्रिप पनि हान्न नपाएको भाडाको ट्याक्सी ड्राइभरजस्तो गाडीभित्रै खुब रन्थनियो । शिर उठायो । दृश्य प्रष्ट देखिएको थिएन । तत्काल, ऐनामा हे-यो । बिमला अझै सबिनासँग कुरा गरिरहेकी थिई ।
प्रोफेसरको मुहारको रङ फेरियो । सायद त्यतिन्जेल प्रोफेसरका बारे थोरबहुत कुरा बिमलाले जानिसकेको हुँदो हो । रातो, कालो र नीलो मिश्रणसँगै कलेटी परेको निधारको आकृतिले प्रोफेसरलाई झसङ्ग पा-यो । ऐना बटारेर आँखा चिम्लियो ।
प्रोफेसर निकै भयभित थियो । बिमला हस्पिटल किन आएकी थिई ? प्रोफेसरले केही नभनिएका रहस्य र बिमलासँगका सम्बन्धहरू फेरि केलाउन थाल्यो ।
–
बारबार भेट भइरहँदा पनि प्रोफेसरका केही रहस्यहरू अझै गोप्य नै थिए । जस्ट फर इन्जोएभित्र हुर्किरहेको प्रेम प्रोफेसरले लुकाएको सबभन्दा ठूलो रहस्य थियो । प्रेमबाट सुरु नभएको सम्बन्ध प्रेममा रुपान्तरण गर्न प्रोफेसरका लागि ठूलो चुनौती थियो । बिमलाका लागि यो सम्बन्ध जति साधारण थियो प्रोफेसरका लागि त्यति नै जटिल । कुनै साँझ त प्रोफेसर वैश्विक मनोविज्ञानका सिद्धान्तहरूलाई नै मिथ्या ठानेर घोत्लिरहन्थ्यो । तैपनि सिद्धान्तहरू प्रोफेसरभन्दा बलिया ठहरिन्थे र प्रोफेसर हार मान्थ्यो ।
त्यो काठमाडौंको होटलमा बिताएको कुनै रात थियो ।
‘मेरी छोरीले तपाईंको फोटो देखी, भन्थी‑ तपाईंलाई उसले चिनेको हुनुपर्छ,’ बिमलाले भनेकी थिई ।
‘होइन,’ प्रोफेसरले जिद्दी ग-यो– ‘कसरी ? कहाँ ?’
‘सायद कतै,’ बिमलाले कुरा सकाउन चाही ।
‘हुन सक्छ,’ प्रोफेसरले अलि चाख दिएर भन्यो, ‘भेटुम् न त ।’
‘नो,’ बिमलाले थोरै नखरा पारी, ‘तपाईंलाई मेरी छोरी पनि मन प-यो भने ?’
प्रोफेसरले जवाफ दिएन । सायद, प्रोफेसरले मन पराउन सक्थ्यो तर त्यो अलि अस्वाभाविक थियो ।
बिमलाले हठको सीमाभित्र ज्यादै उत्तेजित भएर मुहारको चमक अझै निखार बनाउन जानेकी थिई । घमण्डलाई अनुहारमा पस्किएर पनि अहम्तालाई काबुमा राख्न सक्ने अलौकिक कला सायद बिमलामा मात्रै थियो । त्यो रूप सौन्दर्यको अति अनुपम मिलन प्रोफेसरलाई कायल पार्ने ब्रह्मास्त्र जस्तै साबित हुन्थ्यो ।
त्यसपछि प्रोफेसरसँग बोल्ने कुनै शब्द र देखाउने कुनै हठ बाँकी रहदैनथ्यो । हरेक परिस्थितिलाई सकारात्मक रूपमा उपयोग गर्न सक्ने बिमलाको कलाका अघि प्रोफेसर लाटो र बुङ्गोजस्तै हुन्थ्यो । प्रोफेसरले आफ्नो सर्वस्व सुम्पिदिन्थ्यो । आङ छोप्नु र पेट भर्नु बाहेक साथमा प्रोफेसरले केही राख्दैनथ्यो । यस्तो क्रम महिना दिनमा दोहोरिरहन्थ्यो । प्रोफेसरले हरेक महिना प्रेम र सर्वस्व सुम्पिएर आफूलाई सन्तुष्ट पार्थ्यो ।
धेरै बेरको ठठ्ठा र ठट्यौली हाँसोपछि एकदम गम्भीर भएर प्रोफेसरले भन्यो, ‘बिमला हामी बिहे गरौं ।’
प्रोफेसरले जे भन्यो त्यो भइरहेको ठट्टाहरूमध्ये पनि अतिरञ्जित ठट्टा थियो तर असलमा प्रोफेसरले ठट्टा गरेको थिएन । बेला त्यस्तो रोजेको थियो । बिमला अठ्ठाहास हाँसो हाँसेकी थिई । के त्यो हाँसो प्रोफेसरको प्रेम विरुद्ध थियो ? कि प्रोफेसरको ज्ञान विरुद्धको ?
सायद प्रेम विरुद्धको हुँदो हो, प्रोफेसरले निष्कर्ष निकाल्यो ।
प्रोफेसर केही लज्जित भयो तर त्यति विधि पनि होइन जति सर्वस्व सुम्पिएर फर्किएको बिहान ऐनामा आफैँसँग लज्जित हुने गर्थ्यो । सिद्धान्तहरूमा प्रोफेसर निकै बलियो थियो । स्वयम् हारेर पनि कहिलै आफ्ना सिद्धान्तहरूलाई उसले हराएको थिएन ।
‘त्यसो भए मलाई बिर्सनुस्,’ बिमलाले प्रोफेसरतिर हेरेर जवाफ फर्काई ।
ठट्यौली रमाइलो भएकै थिएन जस्तो उत्तिखेरै सुनसान भइदियो । प्रोफेसरले गाडी साइड लगाएर चुरोट सल्कायो । समय पूरै बिमलाको थियो– कि त बिमला निस्केर जान सक्थी कि त प्रोफेसरलाई रिझाउन ।
‘सरी,’ बिमलाले प्रोफेसरको कानमै साउती मारी, ‘म बिहे गर्न सक्दिनँ, मेरी छोरी छे । तरुनी !’
‘इट्स ओके !’ प्रोफेसरले सामान्य जवाफ दियो ।
अङ्गालो मारेर प्रोफेसरको ओँठमा चुम्दै बिमलाले भनी, ‘थ्याङ्क यु ।’
प्रोफेसरले बिहेको कुरा कहिलै गरेको थियो र ? सायद, प्रोफेसरले तुरुन्तै भुलिदियो ।
बिहे नगरी सँगै बस्ने काइदा प्रोफेसरले सोचिसकेको थियो । भन्यो, ‘तपाईं स्वीकार्नु हुन्छ भने तपाईंका लागि एउटा फ्ल्याट बुक गरिदिन्छु ।’
प्रोफेसरका कुराले बिमला अन्यमनस्कमा फँसी । सायद, त्यतिन्जेल उसले पनि बुझेकी थिई, प्रोफेसर साँझबिहान ऊसँगै बस्न चाहन्छ । बिमलालाई त्यो त्यति मन परेको थिएन । उसले सम्बन्ध यत्तिमै राख्न चाहन्थी ।
‘मैले दुनियाँमा लाज पचाउनु परेको छ । मलाई मानिसहरू नराम्रो नजरले हेर्छन् । तर यहाँ तपाईंको ठूलो इज्जत छ । मेरो सङ्गतले तपाईलाई पनि नालायक बनाइदिनेछ,’ बिमलाले भनी ।
प्रोफेसरले बिमलातिर हेरिरह्यो– एकतमास । ‘मन भएर पनि मुख मिलाउँछे, चाहा नै नभएजस्ती । नकचरी !’ सायद प्रोफेसरको मनले यस्तै सोचेको थियो ।
‘इट्स ओके,’ प्रोफेसरले फेरि सामान्य जवाफ दियो । त्यो जवाफ बिमलाका लागि असामान्य थियो । बिमला भित्रभित्र नाचिरहेकी थिई ।
‘अब दुनियाँसँग भिड्छु म तपाईंका लागि !’ कसो कसो प्रोफेसरले यस्तो बोलेको थियो । सायद, त्यो प्रोफेसर बोलेको थिएन, उसको वासना बोलेको थियो । बिमलाका अघि लाचार भइदिने उसका इन्द्रियहरू बोलेका थिए । ती वासना र इन्द्रियहरूको अत्याचार बिमलाले कसैगरी टार्न सक्दैनथी । हरेकपटक प्रोफेसरका अघि बिमला हारेकी थिई त यस्तै बेला हारेकी थिई । बिमलाको नाच बीचमै रोकियो ।
एघारौं दिनसम्म साजसज्जा गरेपछि चम्किलो र घुर्माइलो फ्ल्याट तयार भयो । त्यो फ्ल्याटको कन्ट्रयाक्ट पेपर उपहारस्वरुप प्रोफेसरले बिमलालाई पठायो । बदलामा बिमलाले आभारी जनाई, निकै फरक ढङ्गले ।
प्रोफेसर नयाँ फ्ल्याटमा त्यति बेला पुग्यो जतिबेला बिमला उल्टो केश फर्काएर सुतिरहेकी थिई । उसका मझौला आकर्षक छाती सिरानीमा पेलिएर बाहिर उछिट्टिएका थिए । उसका गोलागोला तिघ्राहरू पालैपालो माथितल गरिरहेका थिए । तिघ्राको चालमा गाउन खुस्केर पिठ्यूँमा अडेको कुरा उसले चाल पाएकी थिइनँ या पाएर पनि बेवास्ता गरेकी थिई ।
‘आज कलेज बिदा थियो । तपाईं आउँदै हुनुहुन्छ भन्ने थाहा पाएकी थिएँ,’ बिमलाले भनी ।
प्रोफेसर नजिकै गएर थ्याच्च बस्यो । बिमला सुतिरही । कतै चलमलाइन । त्यो हठ र माधुर्यताको मिलनको रापमा प्रोफेसर जल्दै गयो । कतिबेला प्रोफेसर बिमलाको साथमा पुगिसकेछ ।
बादलले घाम छेकिदियो । चिसो हावाको एक झोँक्का कोठामा छि-यो । ‘आहा, कति शितल हावा !’ प्रोफेसरले भन्यो र बिमलाको बाहुमा कसियो ।
तत्काल, बादल हटेर सेतो घाम लाग्यो । ताप बढेर तातो राप हपक्क आयो ।
‘गर्मी भयो,’ बिमलाले भनी र कपडा फुकाली ।
त्यो पुरै दिन सेतो घामले पोलिरह्यो । प्रोफेसर थकानले लखतरान थियो । बाथरुम छि-यो । एक अञ्जुली पानी उठायो । आँखामा छ्याप्यो । विस्मातमा अलमलिएको आफ्नै अनुहार ऐनामा नियाल्यो र हार बेहोरेको शरीर लतार्दै फर्कियो ।
–
प्रोफेसरको अन्तिम दिन नजिकिदै छन् । उसका चार वर्ष कसरी कसरी सक्किगयो । हस्पिटलसँग पुनः सम्झौता गर्ने इच्छा छ तर सकिरहेको छैन । राजधानी फर्काउने पारिवारिक दबाब प्रोफेसरका अघि पहाडजस्तै उभिएको छ । कार्यकाल सकिने बेलातिरको व्यस्ततालाई पनि उसले पार लगाइरहेको छ ।
प्रोफेसर नजानिदो मायाको बन्धनमा कसिएको छ । बिमलाको मायामा गहिरो गरी फँसेको छ । आफ्नो सर्वस्व सुम्पिएरै पनि बिमलालाई प्राप्त गर्ने ढृढताको पहाड पनि पारिवारिक दबाबको पहाडसँगै समसाथमा उभिएको छ । प्रोफेसरलाई ती दुवै पहाडहरूमध्ये एक छनोट गर्नुपर्छ । अथवा, दुवैको मध्यमार्गी विकल्प खोज्नु पर्छ ।
खिरिलो निश्वास लिएपछि बिमलाको यादले प्रोफेसरलाई छोपिदियो । उस्तै–उस्तै व्यस्तताको समय एकपछि अर्को आई नै रहे । कामको चापले बानीको स्थायित्वमा अदलबदल गरिरह्यो । व्यस्तताको बीचमै प्रोफेसर प्रेम नत्याग्ने बरु परिवारसँग सङ्घर्ष गर्ने निर्णय सुनाउन फ्ल्याटतर्फ हिँड्यो ।
फ्ल्याटको ढोकामा ताला झुण्डिएको थियो । एकप्रति चाबी ऊसँग पनि छ तर किन हो नखोली ऊ फर्कियो ।
–
प्रोफेसरको बिदाई तथा उत्कृष्ट विद्यार्थीहरूको सम्मानका लागि आयोजित कार्यक्रममा प्रोफेसर मञ्चको बीचमा आसिन छ । तर प्रोफेसरका आँखा दर्शकदीर्घामा बसेकी एउटी महिलामा एकतमास छ । निष्फिक्री, त्यो महिला खुसीले लठ्ठिएकी छे । विस्मात्सँगै प्रोफेसरको आँखामा भ्रम फैलिएको छ– बिमला कसरी बिदाई कार्यक्रममा आई ? बिमलालाई कसले इन्भाइट ग-यो ?
एनाउन्सरले ब्याच टपर सविनालाई आफ्नो भनाइ राख्नका लागि मञ्चमा बोलायो । सविना जो प्रोफेसरका लागि पनि बेस्ट स्टुडेण्ड थिई ।
तालीको गड्गढाहटसँगै सविनाको भव्य स्वागत गरियो । सविना स्टेजमा आई । प्रोफेसरले पनि तालीमा ताली मिलायो ।
सविनाले अध्ययनका अनुभव, दुःख, प्राप्ति र केही अन्तरङ्ग कुराहरू बताई । आफ्नो उपलब्धिमा प्रोफेसरको महत्त्वपूर्ण हिस्सा निकै समय खर्चेर प्रस्तुत गरी । सफलताको श्रेय आफ्नो ममीलाई दिँदै भनी, ‘मेरो यो सफलताको आधार मेरी ममीलाई स्टेजमा बोलाउँछु ।’
सारी सप्को तान्दै बिमला रोष्टममा पुगी ।
प्रोफेसर बिस्मात् भएको थियो । मनको कसीले आफ्नो मुटु कसक्क कस्यो र जुरुक्क उठेर थ्याच्च बस्यो ।
‘मैले एउटा सपना पूरा गरेकी छु । मेरी छोरीको इच्छा सम्भव पार्न सकेकी छु । आजको यो दिन मेरो प्रतीक्षाको दिन थियो । आज मैले असम्भवजस्तै कठोर युद्ध जितेको अनुभव गरेकी छु । तर यसको श्रेय यहाँका सबैजसो व्यक्तित्वहरूमा जान्छ जस–जसले यो युद्धमा अतुलनीय सहयोग गर्नुभो । विशेषतः प्रोफेसर डा. डि.बि. घर्ती, उहाँको अपार स्नेहको वृहत् स्वरूप आजको खुसी मिलेको हो,’ बिमलाले भनी ।
प्रोफेसरको आँखा चिम्म थियो, नाक रातो, कान नीलो कलेटी परेजस्तो, अनुहारको आकार बदलिएको, कुरुप मुहारको साथमा प्रोफेसरले ङिच्च दाँत देखाइरह्यो । बिमलाका प्रत्येक वाक्यले प्रोफेसरको मनमा निरन्तर प्रहार गरिरहेको थियो ।
‘म एकल महिला हुँ । म अविवाहिता आइमाई । प्रष्ट भन्ने हो भने म वेश्या हुँ– नरकमा फँसेकी आइमाई । यद्यपि आज मलाई कुनै पनि हीनताबोधले हराउने छैन । मैले मेरी छोरीलाई घामजस्तै चम्काइदिएकी छु,’ बिमला बोलिरही ।
प्रोफेसरले एकतमास भएर बिमलाको मुहारमा हेरिरह्यो । केही दिनमा बिमला उसकी अर्धाङ्गिनी बन्ने वाला छे । उसको अपार मायाको भागिदार आइमाई खुलामञ्चबाटै आफू वेश्या भएको स्वीकारोक्ति पनि गरिरहेकी छे । दोहोरो रणभुल्लता जस्तो कन्ट्राडिक्सन प्रोफेसरलाई अनुभव भयो । बिमला जे भए पनि प्रोफेसर कत्ति खिन्न भएन, उसले मुटु अझै कस्कायो ।
‘तर अब फेरि म नरकमा फर्किने छैन । सुन्दर जीवनको चाहनाले मेरो मन तरङ्गित भइसकेको छ । मैले आफ्नो जीवनको एउटा आधार तयार गरेकी छु । बाँकी दिन म स्वच्छ जीवनसँगै रमाउनेछु,’ बिमला प्रोफेसरतिर बटारिँदै भनी ।
गालाबाट हात हटाएर प्रोफेसरले बाहु कस्यो । ‘बिमला ठीक भन्दै छे’ सायद प्रोफेसरको मनमा भएको हुँदो हो, अब बिमला प्रोफेसरको हुनेछ । मुसुमुसु हाँसो छुटायो । मन फुरुङ्ग भएर भित्रभित्र कुतुकुतु गरिरहेको हुँदो हो । प्रोफेसरका ओठहरू छुटिएका थिए– हाँसिरहेजस्तो ।
बिमला केही छिन रोकिएर फेरि बोली, ‘आज मेरो जीवनले भाग्यको गोरेटो पहिल्याएको छ । उपरान्त मेरा लागि कसैको सहयोग चाहिने छैन ।’ प्रोफेसरतिर हेरी ।
‘मैले जीवनको बलियो आधार खडा गरेकी छु,’ सविनातिर फर्किएर चुप लागी ।
तीव्र वेगमा प्रोफेसर निधारको पसिना पुछ्न थाल्यो । नाकको पोराबाट निस्केको तातो हावाले जुँगामा टल्किरहेको पसिना भूइँमा खसाल्दियो । एक नजर दर्शकतिर फर्कायो र पुनः बिमलाको पछिल्लो रूप नियालिरह्यो ।
पछिल्लो समय बिमलाले के बोली प्रोफेसरले बुझिरहेको थिएन । बिदाई समारोहबाट सर्वप्रथम प्रोफेसर नै पहिला निस्कियो ।
–
चक्रीय वायुको एक झोँक्का बोकेर प्रोफेसरले फ्ल्याटको ढोका उघा-यो । प्रेमिल उपहारहरू यथास्थानमा दुरुस्त थिए, स्टिल दराज ठिङ्ग उस्तै उभिएको थियो । फुलबुट्टे सिरानी भएको पलङ् लमतन्न देख्यो, टेबल, सोफा, भित्ताको ऐना, पर्दा आदि आदि । उसका जायजेथा दुरुस्त थिए । कहीँ नोक्सान थिएन खाली निराश मात्र थिए– प्रोफेसर आफैँ जस्तो ।
एउटा डायरी टेबलमा लडिरहेको थियो । बिमलाको मायावी डायरी । पहिलो केही पनि पन्ना त्यो डायरीमा थिएनन् जहाँ पहिला केही केरकार गरिएका थिए । छेउमै कैंचीले च्यापेर राखिएको पान्नाको टुप्पो हावाले हल्लायो । त्यहाँ केही लेखिएको थियो ।
‘मलाई छोरीको सपना पूरा गर्नु थियो र त्यसका लागि पैसा । त्यो तपाईंबाट सम्भव थियो । तपाईंलाई भगवानले सधैँ साथ दिनेछन् ।’
प्रोफेसरको मथिङ्गल खल्बलियो । यताउता ऊ अलमिलरह्यो ।
टेबलमा राखिएको अर्को कागज उठायो । बिमलाको ताजा फोटो त्यहाँ टाँसिएको थियो । आफ्ना लागि छोडेको एउटा मात्रै सम्झना । प्रोफेसर एकतमास उभिरह्यो । लखतारन हत्केलाहरू झट्कारिए । फोटो उसको छातिमा टाँसियो, दुरुस्तै उसको मनमा टाँसिएको बिमलाको मायाजस्तो ।
अर्को दिन, सुकिलो ज्यानको एक व्यक्ति प्रोफेसरको साथ लागेर सँगै आयो ।
‘देख्नुहोस्, फ्ल्याट यही हो,’ प्रोफेसरले भन्यो ।
प्रोफेसर चुपचाप टेबलमा पिठ्यू अडाएर बसिरह्यो ।
‘राम्रो छ ।’
‘भन्नुहोस्, कति रुपैयाँ दिनुहुन्छ ?’
‘यी सबै सामान र फ्ल्याटको कन्ट्रयाक्टसमेत बाइस लाख,’ त्यो व्यक्तिले भन्यो ।
तलमाथि टाउको हल्लाउँदै प्रोफेसर बाहिर निस्कियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।