![]()
वि.सं. २०६९ असार ७ गते शुक्रबार ।
‘क. इन्दुको पत्ता लाग्यो ।’ म्यासेज आयो ।
भर्खरै ब्याडमिन्टन खेलेर फर्केको थियो विशाल । ब्याड भित्तामा झुण्ड्याएर टावल उचाल्यो । मोबाइलमा म्यासेज आएको उसलाई थाहा थियो, हेर्न भ्याएको थिएन । चिसो पानीमा ज्यान पखालेर झण्डै लिटर जति पानी घुट्क्यायो ।
शेरबहादुर तामाङ, माओवादी जनयुद्धको बटालियन कमाण्डर । ऊबेला क. अक्षयका नामले परिचित थियो । सेना समायोजनपछि विशालकै बाहिनीमा समावेश भयो । त्यो म्यासेज शेरबहादुरकै थियो ।
इन्दुले क. अक्षयको बटालियनमा दुई वर्ष मोर्चा कसेकी थिई । गुल्मी तक्सेरातिर उसको घर हो । एस.एल.सी. दिएपछि माओवादीको सांस्कृतिक विभागमा प्रवेश गरेकी थिई । एकवर्ष सांस्कृतिक विभागमा काम गरेर सन्धिखर्कको आक्रमणमा ऊ अक्षयको कमाण्डमा युद्ध लडेकी थिई । तेस्रो वर्ष पुनः सांस्कृतिक विभागमै फर्किन चाहेकीले गण्डकी लुम्बिनीको सांस्कृतिक विभागको जिम्मेवारी दिइएको थियो । सोही क्रममा इन्दु पक्राउ परेकी थिई । सेना समायोजनमा इन्दुले स्वेच्छिक बहिर्गमन रोजी । शेरबहादुरले विशालालाई बताएको थियो ।
*******
वि.सं. २०६२ वैशाख ।
विशाल क्षेत्री भर्खर सेनाको अधिकृत क्याडेट तालिम सकाएर दरबन्दीमा पाल्पा गएको थियो । ड्यूटी जोइन गरेपछिको पहिलो पेट्रोलिङ थियो त्यो । तानसेनबाट रामपुर जाँदै गर्दा ताहुँमा लाल क्रान्तिको सांस्कृतिक कार्यक्रम भइरहेको खबर आयो । पन्ध्रजना गिरफ्तारमा परे । त्यसको नाइके थिई, क. इन्दु ।
अस्थायी क्याम्प ल्याइएपछि मात्र विशालले सबैका अनुहार हेरेको थियो । सबै विद्यार्थीहरु थिए । खासमा त्यो कार्यक्रम थिएन डमी मात्रै थियो । विद्यार्थी भएकाले सबैलाई रिहा गरियो । इन्दुलाई गरिएन ।
हप्तादिन उसलाई बन्दी बनाइयो । उसलाई ब्यारेक लगिएको थिएन अस्थायी क्याम्पमै राखिएको थियो । सायद विद्यार्थीहरुको डफ्फा गिरफ्तार गरिएकाले हुनसक्छ । घटनामा मानवअधिकारवादीहरुले निकै चासो दिएका थिए । त्यसैले हाइ कमाण्डको अर्डर थियो कि उसलाई अस्थायी क्याम्पमै राखियोस् । त्यतिन्जेल उसलाई कुनै टर्चर गरिएको थिएन ।
त्यो पहिलो घटना थियो, गिरफतारपछि आतङ्ककारी करार भइसक्दा पनि कुनै कारवाही गरिएको थिएन । सुरुका दिनमा अधिकारवादीको दबाबका कारण कारवाही गरिएन भन्ने सोचियो । तर त्यो सोचाइ बिस्तारै बदलिदैँ गयो । तब अनौठो किसिमको मनोविज्ञान प्युसाहरुमा पनि देखिन थाल्यो । गिरफतारीको दोस्रो दिन नै क.इन्दुले यो बुझिसकेकी थिई कि विशालको कमाण्डमा हुँदासम्म ऊ सुरक्षित हुनेछ । इन्दुले विशालको अनुहार पढेकी थिई सायद । विशालको मनमा उसले कतै मस्का मारिसकेकी थिई ।
दुई हप्ताको कस्टडीले इन्दु अझै निखारिएकी थिई । चम्र मुलायम भएको थियो । अनुहार गोरो, कम्ब्याट मैलिएकाले सिपाहीको सरकारी टिसर्ट र ट्राउजर लगाउन दिइएको थियो, त्यसमा उसको शरीर निकै सुडौल देखिन्थ्यो ।
हाइ कमाण्डको पत्र लिएर विशाल इन्दुको अघि उभियो । ‘जति सकिन्छ सूचना निकाल्नू’ भन्ने आदेशपत्रको सार थियो । ‘नसके ब्यारेक पठाउनू’ भन्ने द्रष्टव्यमा लेखिएको थियो । विशालका लागि ती दुबै अप्ठ्यारा कर्म थिए । त्यो कुरा इन्दुले बुझिसकेकी थिई । ‘भोलि ब्यारेक पठाउने तयारी गर्नु’ सिपाहीलाई आदेश दिएर विशाल बाहिरियो ।
इन्दुलाई ब्यारेक पठाएकै दिन अधिकारकर्मीहरुले तानसेनको ब्यारेक अवलोकन गर्न माग गरे । अदालतमा रिट दायर भयो । इन्दुलाई पुनः विशालकै क्याम्पमा फिर्ता पठाइयो । प्रवत्ताले विज्ञप्ति निकालेर इन्दु कस्टडीमा नरहेको स्पष्टीकरण दिएका थिए । तब घटना सेलाउँदै गयो । तर सूचना चुहिएको विषयमा सेनाले छानविन सुरु गर्यो ।
इन्दुलाई कस्टडीमा राख्नु राम्रो नहुने सेनाले बुझिसकेको थियो । ‘बेपत्ता पार्नू’ भन्ने आदेशपत्र विशाललाई प्राप्त भयो । त्यो दिन विशालले रातभरि इन्दुसँग गफ गरेको थियो । बिहानपख बेपत्ता पार्ने योजना पनि इन्दुलाई सुनाइदियो । तर इन्दुलाई रिहा गर्ने आदेश आएको भन्ने सिपाहीलाई बताइएको थियो ।
त्यो बिहान इन्दुको अन्तिम बिहान थियो तर भाले बासिसकेको थिएन । इन्दुलाई चिडीपानीको जङ्गल पुर्याइयो । सायद त्यो क्षण विशालका लागि जीवनकै कठिन क्षण थियो, उसले आफूलाई काबु गर्न सकेको थिएन । विशाल आफ्नै प्रेमिकाको बलात्कारी करार भएको थियो । त्योभन्दा ज्यादा कठिन क्षण थियो इन्दुका लागि, उसले विशालको कुकृत्य सहिरहेकी थिई ।
इन्दु बेहोस थिई । विशालले पुनः एकपटक उसको गाला चुम्यो । ‘प्रिय’ उसले अनौठो किसिमले सम्बोधन गर्यो । भन्यो, ‘सायद यो तिमीलाई क्रुरता लाग्न सक्छ । यो मेरो क्रुरता होइन प्रेम हो । वर्गशत्रुसँग प्रेम गर्नेहरुको प्रेम पनि सधैँ क्रुर हुन पुग्छ ।’ फेरि निधारमा चुमेर भन्यो, ‘समय बदलियो भने तिमीलाई प्रेम गरेर जीवन बिताउन मन छ । यदि बाँचियो भने हामीले एक अर्कालाई पर्खनुपर्छ । म तिमीलाई पर्खिरहनेछु ।’
*******
वि.सं. २०६९ असार ८ गते शनिबार ।
सात वर्षपछि विशालको पर्खाइ सकिएको थियो । सायद त्यो सपनाबाट विशाल अझै फछ्र्यौट हुन सकेको छैन । त्यो क्रुरता र प्रेम दुवै विषयमा उसले इन्दुसँग माफी माग्नेछ । त्यो वर्गशत्रुको अवस्था मित्रमा परिवर्तन भइसकेको छ तर त्यो क्रुरता र प्रेम अझै समागममा परिवर्तन भइसकेको छैन । त्यो आवेगलाई गतिलो पथमा ल्याउन विशाललाई निकै हतार र ढिला भइसकेको छ ।
‘इन्दु गार्मेन्ट’ उसले पत्ता लगायो । आफैँतिर हेरिरहेका सबै महिलाहरुमा एकपटक इन्दूको अनुहार सर्लक्क खोज्यो ।
सोध्यो, ‘इन्दुलाई भेट्न सकिन्छ ?’
आठ-दश वर्षकी बच्चीलाई मुसार्दै एउटी महिलाले जवाफ फर्काइन्, ‘इन्दु त यिनी हुन्, के काम थियो होला ?’
‘सायद गलत ठाउँमा आइयो कि’ विशालले अड्कल लगायो । भन्यो, ‘यिनको आमा ?’
अर्की महिलाले आमाभित्र रहेको बताइदिई र सानी इन्दुलाई भित्र लगिदिन अनुरोध गरी ।
फेरि पनि विशाल ट्वाल्ल परिरह्यो । आफ्नो अगाडि बसिरहेकी महिला इन्दु नै हो भन्ने उसले निर्क्याेल गर्न सकेन । सायद त्यो अन्तिम घटनापछि इन्दुमा धेरै परिवर्तन भएको आकलन उसले गरेको हुँदो हो । ‘माफ गर्नुहोला । म गलत ठाउँमा आएँ कि ?’ विशालले क्षमा माग्यो ।
‘होइन, तपाईं सही ठाउँमा हुनुहुन्छ ।’ बिनाभाव महिलाले जवाफ फकाई, ‘सायद, अहिले क्याप्टेन हुनुभयो कि ?’
‘कमरेड इन्दु ।’ विशालले उज्यालो अनुहार बनायो । ‘कस्तो बद्लिएको अनुहार ।’
‘क्रान्ति बद्लियो । देश बद्लियो । मेरो अनुहार पनि त बद्लिन्छ । त्यो ज्ञान हुनुपर्ने होइन र ?’
एकपल विशालले इतिहास सम्झियो । त्यो प्रेम सम्झियो । त्यो क्षण सम्झियो । उत्निखेरै त्यो घटना सम्झियो । अपराधबोधले उसको शिर झुकिनै रह्यो । इन्दुको उदासिन संवाद सुनेर पहिले माफी माग्नु उचित ठान्यो । ‘म माफ माग्न आएको हुँ ।’ विशालले शिर झुकाएरै भन्यो, ‘त्यो दिनका लागि मलाई माफ गरिदिनू । म अपराधी हुँ । मैले अक्षम्य अपराध गरेको छु ।’
‘शिर झुकाउनु पर्दैन क्याप्टेन । उठाएरै कुरा गर्न सक्नु हुन्छ ।’
‘सायद तिमी मलाई माफ गर्ने छैनौ ?’
‘क्रान्तिका बेलाका हाम्रा वर्गशत्रुहरुले अब माफी मागिरहनु पर्दैन । क्रान्ति अब क्रान्ति रहेन न त त्यसको कुनै अस्तु नै रह्यो ।’ थान कपडा खात लाउँदै इन्दुले भनी, ‘सायद, हामीले गलत बाटो रोजेका थियौँ । त्यो क्रान्तिले धेरैलाई निराशा दिएको छ । त्यसैले माफी माग्नु जरुरी छैन ।’
इन्दुका संवादले उसलाई न राहत दियो न आशा । प्रेमको रापले विशाल अझै जलिरह्यो । बच्ची इन्दूलाई देखेर विशाल एकतमास भयो । सायद, इन्दुले बिहे गरेर बच्चा जन्माइसकिछे । उसलाई लाग्यो, इन्दुले जीवन दिन असम्भव छ, माफी दिए पनि पुग्छ ।
अझै इन्दुका निराश संवादले त्यो कस्टडीकी लाल क्रान्तिकारी इन्दुको आवाजलाई त पुरै गलाइदिएको थियो । मानौं, शून्य, शून्यभन्दा पनि तल । कसरी छातीमा राखेको गन प्वाइन्ट निधारमा तेर्साउन लगाउने रातो मान्छे यसरी बद्लिन सकेकी होली ? कसरी प्रगतिको ज्वाला फुकेर नाच्ने मान्छे यसरी शिथिल बन्न सकेकी होली ? फत्रक्क गलेकी ।
‘साँच्चै तिमी कति शालिन भएकी ?’ विशालले आश्चर्य देखायो, ‘त्यो इन्दु र यो इन्दु ।’
‘अब त्यो इन्दु म होइन । म विष्णु हुँ । यो मेरो इन्दुभन्दा पनि पुरानो इतिहास हो ।’ इन्दुले थपी, ‘म त्यो इन्दुलाई भुल्न चाहन्छु । सोच्छु कि मैले बिचमा कतै बाटो बिराएकी थिएँ । अहिले ठिक ठाउँमा छु ।’
विशालले बच्चीतिर देखाउँदै सोध्यो, ‘अनि यो इन्दु चाहिँ ?’
‘बेलाबेला भुल्न चाहेर पनि भुल्न नसक्दा म यो इन्दुलाई हेर्छु । त्यो निरस क्रान्तिको एउटा मात्रै आशा हो यो मेरा लागि ।’
‘त्यो क्रान्तिले सबैलाई नराम्रै कुरा दिएको छ ।’ विशालले सम्झाउने शैलीमा भन्यो, ‘त्यसलाई सामान्य रुपमा लिनुपर्छ अरुले झैँ ।’
‘थाहा छ । र, कसैकसैलाई असाध्यै राम्रो फल दिएको पनि थाहा छ ।’
विशालले उसको कुरामा कुनै आपत्ति जनाएन । कुरा मोड्न चाह्यो, भन्यो, ‘त्यसपछि भेट भएन । सायद, तिमीले मलाई भुल्यौ होला ।’
‘त्यो महान क्रान्ति भनाउँदो मित्थ्या भए पनि म क्रान्तिको आशयलाई बोकेर अझै क्रान्तिमै लागिरहेकी छु । त्यो झुण्डझुण्ड क्रान्तिभन्दा यो एकल क्रान्ति म र मजस्ताका लागि अझै निरन्तर छ । त्यसैले तिमीसँग भेट भएन ।’
‘कस्तो क्रान्ति ?’ यसपाली इन्दूको आँखामा हेरेर विशालले सोध्यो, ‘अझै क्रान्ति ?’
‘म बाँचेको गाँउ समाजमा जुन कुरा परिवर्तन गर्न मैले पाइला उचालेकी थिएँ नि हो त्यसका लागि अझै निरन्तर लडिरहेकी छु ।’ यति भनिसक्दा इन्दुका संवादका भावहरुले निकै स्फूर्तता पाइसकेका थिए ।
‘असलमा क्रान्तिको युद्ध अहिले लडिरहेकी छु ।’ बाहिर काम गरिरहेका महिलाहरुतिर हेरेर इन्दुले प्रष्ट पारी, ‘यी समाजले उपेक्षित गरेका एकल महिलाहरुका लागि लडिरहनु मेरो साँचो क्रान्ति हो । खासमा युद्ध लड्ने यसरी रहेछ । पहिलेको क्रान्ति बुर्जुवाविरुद्ध बुर्जुवाकै लागि लडिएको रहेछ । मैले बाटो बिराएकी रहिछु ।’
‘तिम्रो क्रान्ति जारी रहोस् ।’ विशालले कुरा टुङ्ग्याएर पुराना कुरा जोड्न चाह्यो, ‘म त्यो कुकृत्यले अझै जलिरहेको छु इन्दु, मलाई माफ गर । मैले त्यस्तो किन गरेँ ? आवेगले वा प्रेमले, अझै खुट्याउन सकेको छैन । अहंले पनि हुनसक्छ । तर त्यो त्यस्तो डरलाग्दो परिवेश थियो कि त्यसपछि आजसम्म कुनै स्त्रीलाई छुन सकेको छैन । सायद तिमीले माफ गरिदिए ममा आत्माविश्वास जाग्ने थियो ।’
‘तिमीलाई के लाग्छ ? त्यो प्रेमका कारण भएको थियो कि आवेगका कारण ?’ इन्दुले सोधी ।
‘सायद, प्रेमका कारण ।’
‘प्रेमले मान्छेलाई बलात्कारी बनाउँछ र ?’
‘सायद डरका कारण ।’ केही बेर चुप बसेर विशालले जवाफ दियो, ‘त्यतिबेला मलाई लाग्यो कि हाम्रो भेट फेरि कहिल्यै हुने छैन । त्यो नै हाम्रो अन्तिम भेट हो । त्यो डरले मलाई पागल बनाएको थियो ।’
‘सायद यो लाल कमरेडले प्रेम गर्न जान्दैन भन्ने डर हुँदो हो ?’ इन्दुले केही नरम भएर भनी । विशालले त्यसैमा सही थाप्यो,
‘हुनसक्छ ।’
‘आज यो समयमा यस्तो कुरा गर्नु अनुचित जस्तो लाग्दैन ?’ इन्दुले फेरि सोधी ।
‘माफ गर । एउटी बिहेबारी भएकी महिलासँग मैले यसरी कुरा गर्नु अनुचित हो ।’
‘मेरो बिहे भयो भन्ने कसरी थाहा पायौ ?’
‘तिम्रो छोरी होइनन् यिनी ।’ बच्चीतिर देखाउँदै विशालले स्पष्टीकरण दियो ।
‘हो, मेरै छोरी हो ।’
विशालले मन कसक्क बाँधेको थियो । यत्रो वर्षपछि भेटेको मान्छेलाई जसरी भेटेको थियो नि त्यो असाधारण थियो । असह्य थियो । तर यथार्थ थियो । उसले जबरजस्ती आफूलाई काबुमा राख्दै थियो । केही धमिला धर्साहरु भने उसको मुहारमा छिर्केमिर्के देखिएका थिए ।
‘खासमा तिमी माफी मात्रै माग्न आएका त होइनौ होला ?’ इन्दुको प्रश्नले विशाल अझै निहुरियो । त्यो कस्तो अप्ठ्यारो प्रश्न के ? स्वीकार्न नसकिने, अस्वीकार गर्न मनले नमान्ने ।
‘म के भनूँ । तिमी आफैँ कुरा बुझ । तर म तिमीलाई फेरि दुःख दिन चाहन्न ।’ विशालले कुराको टुङ्गो लगायो ।
‘मैले तिमीलाई माफी गरिदिएँ ।’ इन्दुले पनि कुरा मेट्न चाही ।
अझै पनि त्यहाँ रोकिरहनु प्रेमले धोका पाउनु र आफूले स्वत्व गुमाउनु हो भन्ने विशाललाई लाग्यो । केही हलुङ्गो र केही गह्रुङ्गो दुईवटा मन बोकेर विशालले विदा माग्यो । हिँड्ने बेला फोन नम्बर मागी इन्दुले । ‘तिम्रो क्रान्ति सफल होस्’ भन्दै विशालले नम्बर दियो र लियो पनि ।
त्यहीँ साँझ विशाललाई म्यासेज आयो– त्यो जङ्गलको रात म बेहोस भएकी थिइनँ, तिमीले चुम्बन गर्दै भनेका सबै कुरा सुनेकी थिएँ मैले । यो छोरी मेरै छोरी हो । र, तिम्रो पनि हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










