कौरा भन्नेबित्तिकै खास समुदायको प्रतिनिधित्व हुने गर्दछ । गण्डक प्रसवणक्षेत्रमा मगर समुदायको एकलौटी संस्कृति हो कौरा । तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, कास्कीका मगर समुदायको चिनारी पनि हो कौरा । खासगरी तनहुँ, स्याङ्जा र पाल्पा यसको मूल थलो मानिन्छ । कौराको मूल भाषा मगर भाषा हो ।

‘कान राहा’ अथवा ‘हामी आयौँ ’ भनी गीत गाउने प्रचलन नै आजभोलिको कौरामा रुपान्तरण भएको मानिन्छ । कौराको आफ्नै किसिमको विशिष्ट शैली, संगीत र लयका कारण सुन्ने सुनाउने र नाच्ने तीनै तप्कामा ऊर्जा भरिदिन्छ । परापूर्वकालदेखि चलिआएको यो लोकसंगीत अपरान्हमा सुरु गरेर भालेको डाकोसँगै सकाइन्थ्यो पनि भनिन्छ ।

जब कतै कौरा गीत बज्न थाल्छ, जब कतै कौराको चर्चा चल्न थाल्छ मलाई कौराको नोस्टाल्जियाले कक्रक्क पार्न थाल्छ । त्यो त्यति खास थिएन, त्यो त्यति नखास पनि होइन । हुर्कंदो जोवनको एउटा संयोग मात्रै थियो । तर त्यो नोष्टाल्जियाले कता हो कता ऐठेंन गरिरहन्छ, नदेखिने ठाम्मा ।

कुरा एकसठ्ठी सालतिरको हो । आइकम पढ्न पोखरा बसेको थिएँ । स्याङ्जा जिल्ला पूर्वीक्षेत्र चित्रेभज्याङ (हाल हरिनास गापा) को साथीले आफ्नो गाउँमा श्रीपञ्चमी मेला हेर्न लाने भयो ।

तनहुँ भिमादबाट पश्चिम कच्ची सडकमा जिपको छतमा थियौँ हामी धुलोले फुस्रो भएका । अगाडिको बाटो ड्राइभरले मात्रै देख्थ्यो हामीले देख्दैनथ्यौँ, धुलोले पुरै छेकिदिन्थ्यो । त्यो बाटो अरुणदय, बडहरभज्याङ तनहुँ र अलि लामै यात्रा गरे स्याङ्जा चापाकोट पनि पुगिन्थ्यो तर बाटो च्यातिएर स्याङ्जा क्याक्मी, चिन्नेबासतिर लाग्यो । हामीलाई भने बीचमै ओर्लिनु पर्ने, चित्रेभज्याङ बीचमै पर्थ्यो ।

दीपक सिञ्जाली

धुलो टक्टकाएपछि पनि अलिअलि धुलो बाँकी नै थियो हाम्रो शरीरमा । धुलाले कपडा फुस्रा भएका थिए । कुवामा धुलो पखाल्दै गर्दा साथीले रोधीको कुरा निकालेर चिटिक्क हुन सुझायो । तै कुवाको पानीले ओँठको धुलो पनि फाल्न सकेन । अफलअफल पखालिएका धुलो लुगामा आकाशमा कताकति देखिने सेता बादलजस्तै बसेका थिए ।

दिनभरि भलिबल प्रतियोगिता भयो । साँझपख थेलो हान्ने प्रतियोगिता पनि सम्पन्न भयो । तर रातको कार्यक्रम भने हटाइएको रहेछ, संकटकालको बेला भएकाले माइक बजाउन नपाइने, ठूलो जमघट गराउन नपाइने ।

चित्रेभज्याङको डाँडामा माओवादीको किल्ला थियो पहिले । हाम्रोतिर पनि त्यो हल्ला पुगेकै हो । पछि सेनाले आक्रमण गरी आफ्नो कब्जामा लियो । त्यतिबेला म एसएसीमा फेल भएर गाउँमै थिएँ । दुई दिनसम्म त्यो युद्ध भएको थियो । चित्रेबाट भागेका माओवादी लडाकुहरु चिसापानी, चिन्नेवास, विरुवा हुँदै मनकामनाको डाँडामा पुगेका थिए । मनकामनामा सेना बोकेर हेलिकप्टर हाम्रै गाउँको आकाशबाट जान्थ्यो । गाउँलेहरु एफ.एम. रेडियोको ब्याण्ड घुमाएको घुमाएकै गर्थे ।

सेना र माओवादीले वाकीटकीमा कुरा गरेको एफ.एम. ब्याण्डमा सुनिन्छ भन्थे तर कोही सुन्न सफल भएका थिएनन् । सेनाले हान्छ भनेर त्यो दिन गाउँभरि चौपाया फुकेनन् । लठ्ठी बोकेर गोठालो जाँदा सेनाले बन्दुक ठानेर हेलिकप्टरबाट गोली हान्छ भन्ने डर थियो । त्यसपछि चित्रेभज्याङमा सेनाको शासन लागू भयो । त्यो माओवादी किल्लामा अहिले गाउँपालिकाको कार्यालय बनेको छ ।

त्यतिबेला बाबाको पेन्सन मासिक पैँतिस सय थियो । जसबाट पढाइखर्च र परिवारको लालनपालन हुन्थ्यो । तैपनि हामी मध्यमवर्गीय परिवार थियौँ । हामीभन्दा निम्नवर्गीय परिवार अझै कस्तो हुँदो हो त्यो बेला ? मासिक एक हजारले मैले पोखरा बस्नु पर्थ्यो, चार सय कोठा भाडा (दुई जना बसेकाले), छ सयले कापी किताब, खाइपाई गरी उबारेर लुगाफाटा जोड्नु पर्ने । कहिलेकाहीँ पाँच-छ महिना घर गइँदैनथ्यो । किनकि खान बस्न उधारो मिल्थ्यो तर उधारोमा गाडी चढ्न पाइन्नथ्यो ।

त्यो बेला मसँग दुईवटा मात्रै पाइन्ट थियो, एउटा जिन्स अर्को कम्ब्याट । जिन्स लाएर चित्रे गएको थिएँ, कम्ब्याट झोलामा लगेको थिएँ । कम्ब्याटसँगै झोलामा सेनाद्वारा माओवादी करार हुने डर पनि थियो । त्यो डरभन्दा धेरै मसँग मेरो बाध्यता थियो । भोलिपल्ट फेर्नका लागि कम्ब्याट बाहेक अर्को पाइन्ट थिएन मसँग । त्यसैले म निडर भएको थिएँ अथवा निडर हुनुपरेको थियो ।

सेनाले रातिमा हुने कार्यक्रम रोकेको थियो । माइक रोकेको थियो तर आवाज रोकेको थिएन । सडक छेउमा आगो बल्यो । एकएक, दुईदुई गर्दै मान्छेहरु बढ्दै गए । युवाहरु आए, बुढाहरु आए, तरुनीहरु आए, आमाहरु आए, बुहारीहरु पनि आए । केटाकेटी जम्मा भए । कसैले मादल ल्याए, कसैले खैंजडी ल्याए । कसैले मकैका पोथ्राहरु बटुले, कसैले सागबारी बारेको चित्रा पनि उखेलेर ल्याए । कसैले पुराना गुन्द्री ल्याए, चिसो लाग्नेहरुले पिर्का नै बोकेर आएका थिए । ल्याइने चिजहरुमा दुईचारवटा बोतल र एकदुई ग्यालेन रक्सी पनि थिए, जिउ तताउन ।

सुरु भयो खैंजडीको ताल । त्यो ताल ताल मात्रै थिएन बबाल थियो । लाइभ कौरा मैले पहिलो पटक त्यही देखेको थिएँ र अन्तिम पटक पनि । युवा जोस, कौराका टुक्काहरु, खैँजडी ठोकाइको बल, त्यसको ताल, तरुनीहरुको नाच, खुट्टाको चाल देख्दा म कहिल्यै ननाच्नेलाई पनि जुरुङजुरुङ हुन्थ्यो । तर नाच्न जान्दिनथेँ ।

“पानीको पियासैले खोलीमा झर्यो चाँचर
यो मन जस्तो त्यो मन कहाँ छ र ?”

टुक्काको स्वाद त प्रष्ट भइहाल्थ्यो तर त्यसपछि त्यसलाई दोहोर्याउँदाको जुन शक्ति र स्वाद हुन्छ नि त्यो चाँहि लाग्दै जाँदा अझै थप्दै जाने गिलासको स्वाद भन्दा ज्यादा मदहोसी भइदिन्थ्यो । एउटै टुक्का बारबार दोहोरिने तर कहिलै खल्लो नहुने, दुईतीन साँझ लगातार खाएर पनि यो साँझ फेरि तलतल लाग्ने तत्त्व जस्ता थिए ती टुक्काहरु ।

“वारिडाँडा तिमी रुने पारिडाँडा म रुने
सोचेजस्तो भेटै नहुने ।”

मलाई कहिलै क्यासेटमा गीत सुन्न मन लागेन । रेडियोमा सुन्दाजस्तो स्वाद क्यासेट प्लेयरमा कहिलै आउँदैन । लाइभमा सुन्दाजस्तो स्वाद रेडियोमा सुन्दा पनि कहिलै आउँदैन । त्यो लाइभ कौराले आज पनि मलाई मोहित बनाउँछ । आजभोलि सुन्ने हेर्ने कौराहरु फिक्का लाग्छन् । मन नै खल्लो बनाउने खालको, त्यो साँझ पख सितन नहुँदा चाउचाउसँग खाए जस्तो । स्वाद नपुगेको ।

“एकातिर बाउआमा एकातिर तिमी छौ
के गरौँ के साह्रै भयो धौ ।
खैंजडीको तालैमा ढल्की ढल्की नाचेको
त्यो लाली जोवन कल्लाई साँचेको ?
पारी वनमा जाम नानी पाए घाँस काटौला
नपाए जोवन साटौँला ।”

त्यो कस्तो अचम्मको जमघट थियो भने सम्भोगअघिको पूर्वक्रियाजस्तो उन्मादी अनि मदहोसी पनि । संगीतमा संसार भुलाउने शक्ति हुन्छ भन्ने भनाइ त्यस्तै बेलालाई भनिएको हुँदो हो सायद । अझै कतिका लागि त त्यो रोधीबास अघि इन्द्रियहरु जुरुङजुरुङ पार्ने ताल पनि हुँदो हो । यदि क्रान्तिमा होमिएकाहरुले सुन्दा हुन् त तिनका नशा नशामा रगत उम्लिदो हो । त्यो रात जमघट भएका जमघटीयाहरुले एउटा मदहोसी रात बिताए । म त उधुमै मदहोसी भएको थिएँ ।

त्यस्तो कौरा अचेल यूट्युबमा जति खोजे पनि भेटिदैँन बरु फेसबुकमा भेटिन्छन् कहिँकतै, छोटा मोबाइल सटहरु । रेकर्डेड भाकाहरु आफ्नै सीमाहरुका कारण हुनसक्छन् मौलिक कौराजस्ता बनेका छैनन्, उही चाउचाउसँग गिलास उठाएजस्ता छन् । चित्रेकै बासिन्दा रिमबाबु रानाले पनि कौरा भाका रेकर्ड गराएका रहेछन् । तर बजारिया ।

चित्रेको मौलिकाताका विषयमा मैले उनको सिर्जनामाथि गुनासो गरेको थिएँ । उनले बजारले मौलिकतालाई मिचेको कुरा स्वीकार गरे । उनको भनाइमा मौलिक कौरामा एउटै टुक्कालाई आधा घण्टासम्म पनि दोहोराउने चलन छ, तर त्यो रेकर्डिङ्मा सम्भव छैन । त्यसैले पनि रेकर्डिङ्मा मौलिकता समेट्न सकिँदैन ।

चित्रेभज्याङ सम्पर्क समितिले देउसी भैलोको अवसरमा लाइभ कौरा प्रस्तुत गरेको थियो त्यो निक्कै सराहनीय कार्य हो । विगत दश पन्ध्र वर्षपछि चाहिँ कौरामा पनि शाखाहरु पलाएछन्, हाँगा पलाएजस्तो । मूल मर्मभन्दा फरक खाले खुरखुरे (छम्के) भाकालाई पनि अचेल कौराकै दर्जा दिइन्छ । यसो हुनुमा आफ्नो सिर्जनामा नयाँपन दिन खोज्ने सर्जकहरुको महत्त्वपूर्ण हात छ ।

कौरामा आएको अनैतिक परिवर्तन बिहेका लागि केटी हेर्दाहेर्दै आफू बुढो भएको पत्तो नपाउने बजिया जस्तो राम्रो बनाउने भन्दै मौलिकता बिगार्ने सर्जकहरुका कारण हुन् । कौराको मौलिक संरक्षणका लागि बजारिया प्रभावबाट यसलाई अलग्ग राख्न सक्नुपर्छ । हुन त बजारबाट अलग्ग राख्नु भनेको कोदोको रक्सीलाई ब्राण्ड दिएर बेच्ने भन्ने गफ दिएजस्तै हो । तथापि मौलिक कौराको संरक्षण गर्नु हाम्रो उत्तरदायित्व हो ।

यो त भयो नोस्टाल्जियाको तत्त्व । अब नोस्टाल्जियाका दुई कारणहरुको कुरा गरौँ ।

पहिलो कारण– भोलिपल्ट साथी र म मेरो गाउँका लागि हिँड्यौँ । त्यहाँबाट उत्तरपश्चिम झण्डै छ घण्टाको पैदल यात्रामा हाम्रो गाउँ पुगिन्थ्यो । तर हामी सेनाकै क्याम्पमुनिबाट गुज्रिनु पर्थ्यो । पर्यो फसाद । झोलामा कम्ब्याट बोक्नु झन् शंका हुने हुनाले कम्ब्याट लगाउने निधो गर्यौं ।

मातृभूमि मावि कटेपछि सधैं सेनाको चहलपहल हुने । जे होला देखाजायगा भनेर हामी सैनिक इलाका छिर्यौं । एकपटक मात्रै खनेको कच्ची सडक थियो त्यहाँ चित्रेदेखि राम्चे जोड्ने । सुरुमै चेक जाँच भयो । साथीले आफू त्यहीँको बासिन्दा भएको बताएपछि हामी अलि खुल्ला भयौँ । तर सेनाले पिछा गरिरह्यो । हामी कहिले बिस्तारै हिँड्थ्यौँ, सेनाले छिटो हिँड् भन्थ्यो, छिटो हिँड्दा पछि बस् भन्थ्यो । राम्चे कटेपछि ओरालो जङ्गलमा गाउँले पँधेरो आयो । हामी पानी खान बस्यौँ, एकछिन् हातखुट्टा धोयौँ । सेनाले हामीलाई उछिनेर गयो ।

हामी हिँड्यौँ, सेनाको अर्को समूहले हामीलाई पिछा गर्यो । जङ्गलको बीचमा अर्को समूहले चेकिङ गर्यो । झोला खोतलेर सैनिक जवानले भन्यो, ‘रातभरि निदाइएनछ नि ?’ तब हामीलाई लाग्यो कि हामी सेनाबाट घेरिएका छौँ । कुनै पनि बेला मर्न सक्छौँ । साथी रातो भएको थियो । मेरो मुख पनि कालो भएको हुँदो हो डरले । हाम्रो बोली बन्द भएको थियो । जङ्गलको बाटो चिसापानी फाँटसम्म हामी चुँ बोलेनौँ ।

संकटकालभन्दा पहिला चिसापानीमा अस्थायी प्रहरी बिट थियो । पछि माओवादीले त्यो उठाइदियो । चिसापनी, चित्रेभज्याङ् पहिले माओवादीको गढ मानिन्थ्यो । तर सेना आएपछि माओवादी क्रियाकलाप मथ्थर भएको थियो ।

संकटकालको बेला पिएन क्याम्पस पढ्दै थिएँ । पोखरा के.आई.सिंह पुलमा सेनाको चेकपोष्ट थियो । केही सेना प्रहरी साथी बनेका थिए । सैनिकको पछिल्लो समूहमा पोखरामा भेटिएका दुईजना प्रहरी भेटिए । हाइ हेलो भयो, कुराकानी पनि भयो । ती प्रहरी भेटेपछि धेरै राहत पनि मिल्यो । अर्को हामी चिसापानी फाँट झरिसकेका थियौँ । त्यो बाक्लो बस्ती क्षेत्र थियो । त्यो बस्तीभित्र चाहिँ हामीलाई केही हुने थिएन ।

रविबालीको समय भएकाले किसानहरु खेतैभरि थिए । कोही गहुँ गोड्दै थिए, कोही आलु रोप्दै, तोरी छिमल्दै, फाँटको तल्लो भेगमा खेत जोतिँदै थियो । एक्कासी हामीभन्दा पछिल्तिरका सेनाको एक समूह ‘ठोक् ठोक्, माओवादी ठोक्’ भन्दै खेततिर हाम फाले । हामी बिलखबन्दमा पर्यौं । न भाग्न सक्थ्यौँ, न लुक्न सक्थ्यौँ, कसरी भाग्ने ? कसरी लुक्ने पनि हामीले जानेका थिएनौँ ।

पुरानो अस्थायी प्रहरी बिटमा पनि सेनाका एक समूह थिए त्यो हामीभन्दा अलिक माथि ढिस्कोमा थियो । अरु हाम्रै वरपर छरिएका थिए । ती प्रहरी साथीले हामीलाई विस्तारै आफ्नो बाटो लाग्न सुझाए । हामी काँप्दै खेतको डिलैडिल सडकमा निस्कियौँ । त्यो फाँटमा न बन्दुक पड्कियो न कोही माओवादी समातिए ।

पछि लाग्यो, त्यो हाम्रा लागि बिछ्याइएको जाल थियो । यदि हामीले कुनै चलाखी गरेको भए अर्को दिन रेडियो नेपालले मुठभेदमा दुईजना आतङ्ककारी मरेको भनेर हाम्रो नामको समाचार भन्ने थियो । त्यसपछि फेरि म कहिलै चित्रे गएको छैन । आतङ्ककारी करार हुनबाट झण्डझण्डै बचेको मेरो साथी अहिले सशस्त्र प्रहरी बलमा कार्यरत छ ।

दोस्रो कारण– कौराको रोमाञ्चकता सकिएको रात बिहानीपख मलाई कसैले भनेको थियो, तपाईंको ओठ कति तीतो छ । त्यतिबेला देखिको एउटा पश्चाताप अझै पनि भइरहन्छ कि साथीले रोधीको कुरा निकाल्दा मैले ओठ राम्ररी पखाल्नु पर्थ्यो ।

अचेल कतै कौरा गीत सुनियो भने मलाई  मेरो ओठ मुसार्न मन लाग्छ ।