‘चाँचरी, मासु खान नपाएर खरिएकी होलिस् । दया लाग्यो । ला, परपरी भुटेर खा र अरूलाई पनि खुआ ।’ एक आरी खसीको काँचो मासु थम्याउँदै घर मालिक्नीले दया देखाइन् ।

नन्दलाल आचार्य

दयाकी खानी, मनकी रानी, गरिबको पीडा बुझ्ने महारानी लागिन् मालिक्नी त्यसबेला । एकैछिनमा तीन किलो जति मासु देखेर चाँचरी आत्तिइन् ।

‘यत्रो मासुको दाम तिर्ने पैसो काँबाट पाउनु ? प्याउलीका बाउले मार्छन् । मालिक्नी लैजानुस् सप्पै मासुसासु ।’ चाँचरीले विवसता पोखी ।

‘कुरा बुझ न चाँचरी, भाडामा बसे पनि तँ कामकी मान्छे होस् । गरिबको मन बुझेर काम गर्नु त हाम्रो सनातनी धर्म हो । कहिलेकाहीँ घरको काम गर्दे । मेरो जिउ मालिस गर्दे भइगयो नि ।’ मालिक्नीले परोपकारी भावना देखाउँदा चाँचरी पग्लिइन् ।

ऋणपान गरी मसलातेल किनिन् । खुब मेहनतले मासु पकाइन् । हेर्दै मुख रसाउने भयो । खानको लागि पतिको बाटो कुर्न थालिन् । छोराछोरीलाई पनि कुराइन् ।

बतासिँदै पति आए र हत्तपत्त मासुको कराई खोजी गरे । उनले मगमग बासना आउने गरी पाकेको मासुको कराही उचालेर मालिक्नीको जुठेल्नामा लगेर फ्याकिदिए । पतिको यस्तो प्रचण्ड रूप देखेर चाँचरीको शरीर काँप्न थाल्यो । खानका लागि तँछाडमछाड गरिरहेका छोराछोरी डरले जडवत् भए ।

‘नआत्तिई चाँचरी, त्यस मालिक्नीले भुसिया कुकुरले जुठो हालेको मासु हामीलाई खुवाउन खोजेकी रहिछ । त्यसको पतिले बजारभरि डङ्का पिटिइरहेको छ ।’, पतिको मायालु बोलीमा रहस्य बुझ्न पाएकोमा चाँचरी स्थिर हुँदै गइन् ।