खेमराज पोखरेलको स्रोतकथा ‘हराएको कथा’को उत्तरकथा ‘खानी’-

१. स्रोत लघुकथा – हराएको कथा

– खेमराज पोखरेल

रातको ११ः५९ ।

किन नक्कली देख्छु त्यो ऐना ?

काँसघारी पो छ त मेरो टाउको । अमिनको नक्सा पो छ त मेरो अनुहार । कोटेरोको गुँड बनायो मेरो छाला । दन्तले द्वार बढायो । आँखामा पावर देखायो ।

लेख्दालेख्दैको मेरो आफ्नै कथा सकिएन । की बोर्डबाट औँला झिकेँ ।

शरीरको ऐया आथो । मनको भाँडभैलो । रित्तो छु । सोचमग्न भएको छु ।

बिनापैसा अर्ती सुरु भो ।

जेठो भाइ दिमागले भन्यो ‘कथाको कुरा छोड्, जिन्दगीका बारेमा सोच् । जिउ बाँचे मात्र घिउ खान पाइन्छ ।’

माइलो भाइ हृदयले भन्यो ‘कथाको कुरा छोड, परिवारमा प्रेम पन्पा, प्रेमबिनाको के जीवन ?’ ।

साइँलो भाइ पेटले भन्यो ‘कथा छोड् । पहिले पचाउन प्रयत्न गर् । पचेन भने तैँ पच्लास् ।’

कान्छो भाइ पेटमुनिले भन्यो ‘कथा छोड्, वास्तविकतामा आइज । उमेर सञ्चित हुन्न । कुण्ठै भए पनि कुम्ल्या ।

यसरी सबैले रिँगाए । थेचारे । सतोसत मेरो कथा हरायो ।

‘होइन हौ ! म के गरूँ ? मेरो आफ्नै कथा हरायो ।’ मेरो प्रश्न तपाईँलाई ।

‘केको कथा लेख्छस् अब ? दिमाग कि हृदय ?, पेट कि पेटमुनि ?, आफ्नो कि परायाको ? दायित्वकोे कि प्रेमको ? देश कि परदेशको ? पृथ्वी कि अन्तरिक्षको ?’ तपाईँको कडा प्रतिप्रश्न ।

‘था‘छैन । सायद सबै ।’ मेरो लोभ ।

‘कथा लेखेर कहाँ पुग्छु भनेझैँ लाग्छ तँलाई ?’ जटिल प्रश्न मलाई ।

‘था‘छैन । सायद धेरै माथि ।’ मेरो लालसा ।

‘कति माथि ?’

‘था‘छैन । सायद असीमित ।’ म अन्योलमा ।

रातको १२ः०० ।

२०८० सालको भदौ ३ गते ।

एउटा छायाँ बन्द झ्यालबाट पस्यो र भन्यो ‘खेम ! ६७ औँ जन्मोत्सवको शुभकामना । तेरो आफ्नो कथा मात्र तेरो हो । अरू मिथ्या हुन् । अधुरो नछोड् । लेख्न थालिहाल् । स्वाँठ ! शुभ कामलाई केले छेक्छ र ?’

+++

२. उत्तर लघुकथा– खानी
– नन्दलाल आचार्य

‘अठ्सठियौँ जन्मोत्सवको शुभकामना पाएर पनि चुपचाप किन बस्छस् खेम भाइ । मजस्तो जुध्न संसार दौडाहामा निस्किन ।’ मौनव्रत लिएको देखेर छायाले मलाई माया देखायो ।

मैले आफ्नै कपाल नियालेँ; गाला मुसारेँ; छाला सुम्सुम्याएँ । सर्बत्र बुढ्यौलीका तरङ्ग तँछाडमछाड गर्दै बुर्कुसी मारिरहेको भेट्टाएँ ।

‘तँ यत्ति सानो, कलिलो अस्पृश्य भएर म जस्तो कथाकारलाई भाइसाइ भन्दै होच्याउने !’ मनको घौलामैला बारिएको बाँध मैले एक्कासी फोडिदिएँ ।

‘यार, यसरी रिस नाकको टुप्पामै बसेको थाहा पाएको भए म उच्चतम आदरार्थीको प्रयोग गरिहाल्थेँ नि ।’ उसले स्पष्टीकरण दिने प्रयास ग¥यो ।

यत्ति जवाफले म सन्तुष्ट भएँ । मुखमा ताला झुन्ड्याउँदै म मेरै हराएको कथा खोज्न थालेँ ।

ऊ भन्दै गयो–

–दुनियाँलाई छाडेर हृदयको कथा लेख्नुस् ।

–मुनिबाहिर हैन पेटभित्रको कथा लेख्नुस् ।

–कसैको हैन आफूभित्रको जीवको लेख्नुस् ।

–हिजोआजका कथा अरुले लेखे तपाईं भोलिका कथा आजै लेख्नुस् ।

ऊ भनेको भन्यै थियो । म सुनेको सुन्यै थिएँ । मन प्रफुल्लतामा नाच्दै थियो । म विदेशी भूमिबाट देख्दै थिएँ मेरो चोमोलुङ्मा मुस्कुराउँदै आऊ, आऊ भन्दै थियो । मेरो चन्द्रसूर्य ध्वजा मलाई खरो भयो होला भनी हम्कँदै थियो ।

म प्रशव वेदनाले छटपटाउँदै थिएँ । तत्क्षण हात लम्काएर हिमालले काखमा लिएको भेटेँ । ध्वजाले मेरो लाज ढाकेको पाएँ । मेरो छाया, माया आदिले शरीर मुसार्ने, सुम्सुम्याइदिने,  चिल्लो घसिदिने गरेको भेट्टाएँ । सबैको चाहना र शुभकामनाले मैले कथा मात्रै हैन कथाको खानी नै जन्माएँ ।

मेरा मायाहरू त्यही खानीबाट कथाहरू झिकेर कुपुकुपु खाइरहेछन् । जतिजति खानीबाट कथाहरू हराउँदै जान्छन् उत्तिउत्ति म जवानीमा फर्कंदै जान्छु ।