बिहानी जवान हुँदासम्म पनि मन खोलेर घाम झुल्किन सकेको थिएन । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठूलो आवाज पारेर बास्न नसकेको प्रतीत हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वाभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।
घाम लागेर पनि फत्तेपुर–राजविराज सडकमा अँध्यारो व्याप्त थियो । सडककिनारको चन्द्रनहर भन्दै थियो– मैले तँलाई छोएको पनि छैन । मात्र देखेको थिएँ । तेरो मनको आँधीतुफानको आवाज भने कानैमा ठोक्किएको थियो । मैले चिच्याएकै हो । प्रलयको सङ्केत दिएकै हो । बुझ्नेले कुरा नबुझेपछि कसको बाउको के लाग्दो रहेछ र !
वरपर उभिएका सिसौ, सिमल र आँपका रुखहरू पनि एक तमासले दृष्य हेरिरहेका थिए । सायद मन थाम्न नसकेर शिर निहुऱ्याइरहेका थिए । सडकखण्डमा आउने खाँडो, महुली, सुन्दरी खोलाहरूले पनि अश्रुधारा बगाउँदै भन्दै थिए– “पहिले, पहिले राजविराज जाँदा बडो उत्साहले जान्थिस् । मेरो परममित्र अक्षान्तको सामीप्यमा दुई/चार दिन भुल्न पाइने भो भन्थिस् । गाडीमा भेटिएका अपरिचितहरूसँग परिचितको जस्तो बोलीव्यवहार गर्न मन खुम्च्याउँदैनथिस् । यद्यपि आज दाजुभाइ र शुभचिन्तकका बीचमा सुतेर जाँदै छस् । आफ्नो सिटमा अशक्तहरूलाई बसाएर आफू उभिने तँ आज मान्यवरकै सामु किन लम्पसार पर्दै छस्, इन्द्र ?”
खेतबारीका फाँटहरूले समेत प्रश्न सोध्दै थिए; “ए इन्द्र ! तँ त कहिलेकाँही नखरा पनि पार्थिस् । हाकिमहरूको ध्यान तान्न नाना भाँतीका क्रियाकलाप पनि गर्थिस् । कहिले हकारपकार खान्थिस् त कहिले स्याबासी भेट्थिस् । तँसँग गाँसिएका अनगिन्ती संस्मरणमध्ये एउटा चाहिँ मलाई सुनाउनै मन लाग्यो । के सुन्न तयार छस् ?”
ऊ ट्याक्टरको डालीमा लमतन्न परेर सुतेको थियो । वरवर दाजुभाइ पुर्पुरोमा हात लगाएर झोक्रिरहेका थिए । कसैले उसको सिरानी मिलाइदिन्थ्यो । घरिघरि खुट्टा देखिँदा कसैले कपडाले छोपिदिन्थ्यो । ट्याक्टर एकतमासले दक्षिणतिर हुँइकिरहेको थियो ।
खेतको फाँट भन्दै गयो, “नबोले नबोल् ! मेरो मुख थुन्न आउने होइनस् क्यारे । तँ शून्यमा पुगेको भए पनि म भन्छु । तेरा कानसम्म पुऱ्याउँछु । एकपटक तँ सैनिक पोसाकमा काँधमा बन्दुक बोकेर साथीहरूसँग लहरै ओरालो झर्दै थिइस् । त्यत्तिकैमा अघिल्लो साथीको हातमा राइफल थम्याएर तँ मेरै छाती टेक्तै खेतैखेत दौडिस् । अरू छक्क परेर हेर्दै थिए । तँ एकाएक खाँडो नदीको भेलमा हाम्फालिस् र डुब्दै, उत्रँदै गरेको बच्चालाई पाखा निकालिस् । बच्चाले तत्कालै प्राथमिक उपचार भेट्टायो र प्राणरक्षा भयो । सैनिकको इज्जत चुलियो । हाकिमको स्याबासीको हात तेरो थाप्लामा पऱ्यो ।”
ट्याक्टर सुस्तसुस्त हिँड्दै थियो । कतारबाट आकास दाइले फोनमा साल्दाइसँग भने; “कहाँ जाँदै हुनुहुन्छ, दाइ ?”
“कहाँ जानु र ? विपत्तिले घेरिहाल्यो । पोस्टमार्टमका लागि गजेन्द्रनारायण अञ्चल अस्पताल राजविराज जाँदै छौँ; भाइ ।”
“म विदेशमा विवश छु । बाआमा र बुहारी,भतिजाभतिजीको बिचल्ली नहोस् । सबैको स्नेहले शोक भुल्न र शक्ति बटुल्न मद्दत पुगोस् । नहुनु भइसक्यो । सपार्ने हाम्रो सामर्थ्य छैन । म के भनूँ र दाइ ? हजुरहरू स्वयं जानिफकार हुनुहुन्छ ।”
“केही भन्नु पर्दैन । नहुनुपर्ने भयो । जति सम्हालिन्छ; अब हामी समाल्छौँ । बेला-बेलामा फोनबाटै बाआमालाई सम्झाउँदै गर् है आकाश ?”
दाजुभाइको वार्ताको गाँठो पर्नासाथ खाँडोको दलदले बालुवामा ट्याक्टर भासिन पुग्यो । इन्द्र जहाँको त्यहीँ सुतिरह्यो । ऊ अझै जडको जडै थियो । दाजुहरू भने उत्रिएर ट्याक्टर ठेल्न थाले । चालकको कुसलताले ट्याक्टर धेरै बेर अल्झेन । चुपचाप चुपचाप अस्पतालतिर हुइँकियो ।
+++
मलाई इन्द्रको विगतले कोट्याइरह्यो । इन्द्रले फगतपुर बजारमा तीनतले घर बनाएको थियो । तीन ओटा सटर राखेको थियो । दुइटा भाँडामा लगाएको थियो । छोराछोरी नजिकैको बोर्डिङ स्कुलमा पढ्थे । पत्नी आस्थाले पनि स्नातक गरेकी थिइन् । चार बीस कटेका सासूससुराको सेवा गर्नुपरेकाले उनी कतै जान सकेकी थिइनन् । एउटा सटरमा आस्थाले किराना पसल चलाएकी थिइन् ।
त्यस घरमा गाउँबाट आएका मानिसहरूको ओहोरदोहोर भइरहन्थ्यो । घरमा बूढाबूढी भएकाले होला बजार भर्न आउने मानिसहरू बाटो बिराउँदैनथे । ती सबैलाई गच्छेअनुसारको अतिथिसत्कार गर्नु, नानीबाबुको हेक्का राख्नु र सासूससुरालाई हर्दम प्रसन्न तुल्याउनु आस्थाको जिम्मामा थियो ।
इन्द्र सरकारी जागिरबाट घर बिदामा आएको थियो । नाना थरीका दौँतरीहरू उसलाई भेट्न आउँथे । यदाकदा साथीसँगको लहैलहैमा इन्द्र मधुशाला पनि छिर्थ्यो । अलिकति लागेपछि अलिक बढी कुरा गर्ने बानी परेको थियो । साथीहरूको नजरमा ऊ शुद्ध चरित्रको थियो । बढ्ता बोल्न थालेपछि आफ्नै विश्वासलाई पुनरावृत्ति गर्नुपर्छ कि भन्ने लाग्थ्यो ।
ट्याक्टर खाँडो नदी पार गरेर गाउँतिर लाग्दै थियो । मलाई अर्को कुनामा झोक्राएर बसेका काल्दाइको कुम कोट्याउन मन लाग्यो । मेरो आशय बुझेर उनले शिर उठाएका थिए ।
“काल्दाइ, भएको चैँ के हो ?” मैले जिज्ञासु नेत्रले प्रश्न गरेको सुनेर उनी सविस्तार लगाउन अघि सरेका थिए–
एक दिन पिएको मौकामा इन्द्रको मोबाइलमा कसैको मिस्डकल आएछ । उसले डायल गरेछ । फोन वार्तामा एकै छिनमा नारी स्वर सुनिन थालेछ । इन्द्रलाई कानमा मोबाइल पुऱ्याउन अल्छी लागेछ । उसले स्पिकर लाउड पारेछ । नजिकै रहेका जोकोहीले पनि उताको आवाज समेत प्रस्ट सुनेको हेक्का राखेनछ ।
“अनि अचेल हजुरको बसाइ चाहिँ कुन ठाउँमा छ ?” नारी स्वरले वातावरण गुञ्जायमान पारेछ ।
“खाबो गाडेको ठाउँमा बसाइ छ ।” इन्द्रले साउती मार्दै थपेछ, “मेरी आफ्नी पार्वती छोराछोरी डोहोऱ्याउँदै घरतिर आउँदै छिन् । सुनिन् भने तिम्रा बङ्गारा गन्लिन् नि !”
“यी, कसैले गन्छु भन्दैमा गन्न सक्ने कमजोर बङ्गारा छैनन् मेरा ।” नारी स्वर थर्कँदै गएछ, “महादेव मेरा साथमा भए; पार्वती नाथेलाई वनस्थलीको जङ्गलमै अल्मलाइदिन्छु ।”
“ए रमिला ! म पहिलाको महादेवजस्तो निस्फिक्री छैन । पार्वती त्यागेर रूप फेरि-फेरि हिँड्ने मनसाय पनि छैन ।” इन्द्रले थप्दै गएछ; “मेरी पार्वतीको भरमै मेरा बाबुआमाको सास अल्झेको छ । उनकै सेवासुसारले मातापिताको आशीर्वादको हात मेरा माथमा परेको छ ।”
“लु त मलाई पार्वतीको ठाउँमा स्थापित गर्नुस् त !” आश्वस्त स्वर सुनिँदै गएछ; “म हजुर र मातापिता सबैलाई आफ्नो स्नेहपूर्ण व्यवहारले मोहित पार्छु । विश्वास गर्नुस् । मातापिताको आयु दश वर्ष बढाइदिन्छु ।”
“भो, भो बर्ता कुरा नगर रमिला ! मेरी पार्वतीका कानमा यी कुरा पुगे मेरै दानापानी बन्द हुन्छ ।” इन्द्रको सानो स्वर सुनिएछ; “देवीलाई रछ्यानमा मिल्काएर इन्द्र खुसीको वर्षा गर्न सक्दैन । अब भो; हुन्डरी लिएर पार्वतीको प्रवेश भइसक्यो । कुरो यही बन्द गरौँ !!!”
उताबाट कुरा नसक्तै इन्द्रले मोबाइल टेबलको एक कुनामा राखिदिएछ र आफू आमाबाबुतिर फर्केर बातचितमा व्यस्त भएछ । उता रमिलाले मिस्डकल गरिछ । साइलेन्टमा भएकाले इन्द्रको ध्यान पुगेनछ । मोबाइलले मनलाई तान्न वा खलबल्याउन सकेनछ ।
काल्दाइको लामो कहिरन सिद्धिनासाथ मैले मनको पोको फुकाइहालेँ; “हैन, एक, एक रिपोर्ट कसरी थाहा पाउनुभो ?”
“कसरी भन्नु ! त्यत्ति पनि थाहा पाइन्न र ! उसको मोबाइलमा भएको रेकर्ड सुनेर । वस्तुस्थिति बुझेर र प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टको अध्ययन गरेर ।”
+++
गफैगफमा अञ्चल अस्पताल पुगिएछ । इन्द्रको पार्थिव शरीरलाई प्रयोगशाला कक्षतिर लगियो । काल्दाइ र मेरो कक्षतिर जाने हिम्मत भएन ।
“काल्दाइ, यस घडीमा इन्द्रलीला नै सम्झनु उचित होला । उसको विगत अरू सुनाउनुस् न !”
उनलाई पनि कतिखेर सुनाऊँ भएको रहेछ । मेरो आग्रह भुईँमा खस्न नपाईकनै उनी फलाक्न थाले–
आस्था सुसेधन्दामा व्यस्त भइछिन् । छोराछोरी बोर्डिङ स्कुलको गृहकार्य गर्न र रट्न थालेछन् । निकै बेरसम्म इन्द्र आमाबाबुसँग संवादमै भुलिएछ ।
“जागिरमा कहिले फर्कन्छस्; कान्छा ?” आमाले भन्नुभएछ; “तँ ककसको सङ्गत गर्छस् । यहाँ कान्छी तेरो सुर्ता गरिरहन्छिन् ।”
“अझ पेटमा अर्को सन्तान हुर्किरहेको थाहा पाएर कान्छीको मनमा चयन छैन ।” रहस्य खोतल्दै बाले भन्नुभएछ; “मीठा मसिना कुरा र व्यवहार गरेर कान्छीको मन जित् । नाना भाँतीका मान्छेसँग नाना भाँतीका कुरा भनेर अत्तालिने नबना है; कान्छा !”
“कान्छा ! तेरो ठट्यौलो बोलीले आपत् निम्त्याउँछ ।” आमाको अर्को चेतावनीको कथन थियो; “दुरुस्त सत्य व्यवहारजस्तो बोली बनाउँछस् । तेरो व्यवहार हैन; बोली नै झगडाको बिउ बन्छ । अरूलाई रमाइलो होस् भनेर पवित्र मनले हँसाउन खोज्छस् । आफूले खनेको भड्खारामा आफैँ पर्न सकिन्छ नि ! कुरा बुझ् र बेलैमा सतर्क बन् ।”
बाले थप्नुभएछ; “जागिरे जीवनका साथीभाइसँग गरेको ख्यालठट्टाजस्तो व्यवहार हुँदैन । अब त तँ तीन सन्तानको बाबु हुन आँटिस् । जीवन ठट्टाले चल्दैन बाबै ! विश्वासिलो व्यवहारले मात्रै चल्छ ।”
त्यत्तिकैमा आस्था आफैँ भुतभुताएको आवाज आएछ ।
इन्द्र पत्नीतिर फर्किएछ, “आफू परियो; एसएलसी पास, भुत्ते दिमाखवाला नेपालको जागिरे । उनी परिन् बिए पास गरेर पाँच, सात वर्ष बोर्डिङमा पढाएकी र व्यवहारमा खरो उत्रेकी नारी ! म त हाकिमको आदेशलाई “एस सर” भन्दै अन्धो भएर लागिपर्ने मान्छे ! पत्नी आज्ञालाई पनि शिरोधार्य गर्न कहाँ पछि पर्छु र ?”
ऊ फिस्स हाँसेछ ।
“बुढेसकालको छोरो होस् । रहर पनि थिएन; बाध्यता पनि थिएन । ख्यालख्यालमै जन्मेको होस् ।” आमाले पनि थोते दाँत देखाएर भन्नुभएछ, “अहिले मर्ने बेलामा तेरै शरणमा छौँ । दुलहीको व्यवहारबाट प्रसन्न छौँ । तिनको कमलो दिल नदुखाइदे । हामी यसैमा खुसी हुन्छौँ ।”
आस्थाले पुलुक्क हेरिछिन् तर केही पनि बोलिनछिन् ।
अकस्मात् उनका आँखा टेबल रहेको मोबाइलमा परेछ । मोबाइल उठाइछिन् । पौने एक घण्टामा जम्मा २८ ओटा मिस्डकल आएको रहेछ । त्यत्रो कल कसले गरेको होला भनेर गम खान थालिछिन् ।
सोध्नैपऱ्यो भनी मुख खोलिछन्, “ए हजुर ! कसको हो को नि थुप्रै मिस्डकल आएको छ ।”
“ए, त्यो फुँडीले गरेकी होली ।” इन्द्रले सहज भावमा भनेछ, “फोन गर्ने हैन मिस्डकल त हो नि ! त्यसलाई बोल्न मन लागेर हुन्छ ? मलाई पनि लाग्नुपऱ्यो नि !”
“आखिर त्यससँग हजुरको के सम्बन्ध छ ? पात हल्लनलाई बतास चल्नैपर्छ । हाम्रो विश्वासमा किन धमिरा लाग्दै छ ?” आस्थाले मनको ऊहापोह पोख्दै थपिछन्, “किन हजुर अचेल बढी रक्सी पिउनुहुन्छ ? हामीसँग बोलीचाली र व्यवहारमा पनि रुखोपन ल्याउनुहुन्छ ? आखिरमा किन ?”
“तिम्रो प्रश्न तिमीसँगै राख; मलाई उत्तर दिने मन छैन ।” इन्द्रले अझ थपथाप पारेछ, “तिमीलाई धोका दिने मन भए किन फर्केर आउँथेँ ? विदेसमा पनि कत्ति तरुनी फेला परे ? सरकारी अफिसर पो हुँ त ! केटी नाथे झुत्ती खेल्न आउँछन् तर तिमीबाहेक अरू त गफका साथी हुन् । असली जीवनसाथी त तिमी मात्रै; केवल तिमी नै हौ ।”
इन्द्र आस्थातिर हेरेर मुस्कुराएछ ।
त्यस मुस्कुराहटले आस्थाको मुटुलाई बेस्कन घोचेछ । उनको विश्वासको जग हल्लाइदिएछ । उनका गोडा काप्न थालेछन् । अँध्यारो भविष्य सामुमा देखा पर्न थालेछ । भित्रभित्रै धमिरो पसेर विश्वासको खम्बा खोक्रो पारेको अनुभूत भएछ । घरको छतसमेत मुस्किलले अल्झिरहेको भान भएछ । कुनै बेला कतैबाट अवश्य विस्फोट हुने ठहर भएछ । गल्र्यामगुर्लुम खस्ने आभासले मन अचाक्ली अतालिएछ ।
लेखपढमा जोतिएका दुवै सन्तानको निर्दोष अनुहार निहालिछन् । पेटमा चलमलाउँदै गरेको अर्को सन्तानलाई मुसारिछन् । नजिकैको पलङमा ढल्केका सासूससुराको चाउरिएको मुहार ठम्याइछन् । विवाहपूर्वका आफ्ना स्वच्छन्द सपनाहरूमा मन दौडाइछन् । एकाएक औडाहाको आँधीतुफान चलेछ र निरुत्तर टक्क अडिएर आँखाभरि आँसु पारिरहिछन् ।
इन्द्र जुरुक्क उठेछ । बाबुआमा, पत्नी र छोराछोरीतिर नजर फ्याकेछ । सबै जनाको मुहार मलिन ठम्याएछ । उसको मनमा पनि आशङ्काका बादलहरू मडारिन थालेछन् ।
“यो परिवार मेरो भरमा चलेको छ । म दायाँबायाँ लागे सबैको जीवनमा औँसीको कालो रात देखा पर्छ । परिवारजनप्रति मलाई पूरा हेक्का छ– मलाई कसैले कुनै उपदेश, आदेश र सङ्केत गर्नु पर्दैन ।” इन्द्रले ठूलो छाती पार्दै भनेछ; “सबैलाई हँसाउने र कसैलाई नरुवाउने नियत हुँदाहुँदै पनि कोही भित्रभित्रै जल्न पुगे म के गरूँ ?”
उसले आस्थालाई लक्षित गर्दै प्रश्न त राखेछ तर उत्तर पाएनछ । उत्तरको आशा र अपेक्षा नगरीकनै ऊ घरबाट निस्किएछ । बाटामा गाउँले छिमेकीहरूसँग भेट भएछ । उनीहरूका मुखबाट सुनेको कुराले ऊ अझ भाउन्निएछ । मनलाई थेग्न सकस परेछ । लगतै ऊ बाङ्गे बजारतिर हुर्रिएछ ।
उसका अगाडि सितनसहितको सोमरसको बोतल ठडिएछ । त्यस बोतललाई समाउनासाथ आकाशवाणीजस्तो स्वर उसको मनभित्रै गुन्जिएछ ।
“ए इन्द्र ! तँ ताप्लेजुङकी केटीसँग फँसेको छस् रे । घण्टौँ फोनमा लहसिएर समय र पैसाको नास गर्छस् रे । घरपरिवारलाई समय दिन र माया गर्न पनि छाडिस् रे । तेरा हितैषीजन पनि सम्झाउँदा-सम्झाउँदा थाक्दै गए रे । अब तँलाई कानुनी बाटाबाटै तह लगाउन सोचिँदै छ रे ! तँ जस्तो असल मान्छेको मति किन बिग्रिएको ?”
साथीभाइले सोधेका सारा प्रश्न र सुनाएको आरोपको उत्तर उसले बोतलमै देखेछ । मज्जाले पिएछ; घण्टा दुई एक बित्दा पनि उठेर हिँड्ने मन गरेनछ । अरू थपिदिन आग्रह गरेछ । भट्टीवालीले मानिनछन् । पैसा देखाएछ ।
“पैसाका लागि मान्छेको स्वास्थ्यमा प्रश्न चिह्न लगाउने काम मबाट हुन्न ।” भट्टीवालीले थपिछन्, “मेरै कारण कसैको परिवारमा विखण्डन आओस् भन्ने चाहन्न । अब सरक्क घर जानुस् । घुप्लुक्क सुत्नुस् । मुख नचलाउनुस् । मनमा कुरा नखेलाउनुस् ।”
यद्यपि इन्द्र मानेनछ । रक्सी अरू दिन भनिरहँदो रहेछ । भट्टीवालीले आफ्नो श्रीमान्लाई भनिछन्, “यो अचाक्ली नपिउने भाइ हो । कुन पीरले धेरै पिइसक्यो ! फकाई फुल्याई घरसम्म पुऱ्याएर आउनुस् ।”
श्रीमान्ले आफनो पाखुरी पक्रन पुगेमा इन्द्र रिसाउन खोजेछ । श्रीमान् चाहिँले सम्झाई बुझाई उसलाई घर पुऱ्याएर श्रीमतीको जिम्मा लगाएछ ।
परिवारमा सन्नाटा छाएछ ।
रात छिप्पिँदै गएछ । आस्थाले खाना ल्याइछन् । इन्द्रले खान मानेनछ । भनेछ, “किन शङ्का गरिस् ? तैँले देको खान्न !”
आमाबा अघि सर्नुभएछ । सम्झाउन खोज्नुभएछ, पिएको सुरमा उल्टै जबाफ फर्काएछ, “हरिनाम जपेर दिन काट्नुस् । तपाईँहरूको युग सकियो । यो युग इन्द्र र आस्थाको द्वन्द्वको युग हो । अझ बढेर भन्दा इन्द्र र रमिलाको हाँसखेल र ठट्टीमज्जाको युग हो ।”
बाआमा हेरेको हेऱ्यै हुनुभएछ ।
छोराले भनेछ, “बाबा ! खाना खानुस् न !”
“मामू पनि भोकै, हामी पनि भोकै छौँ ।” छोरीले थपिछ, “हजुरकै पीरले हजुरी बाआमाले थोरै खाना खानुभयो ।”
“अब सबै जना प्रेमले भन्छौ भने ल्याओ न त ! प्रेमका अगाडि विष पनि तनतनी पिउन तयार छु ।” आफ्नो बखान गर्दै इन्द्रले थपेछ, “मलाई मायालु नजर चाहियो । शङ्काविहीन मन चाहियो । सबैभन्दा बढ्ता त विश्वासको घर चाहियो । विश्वासले घर स्वर्ग बन्छ, अविश्वासले त्यसलाई मसानघाट बनाउँछ ।”
अन्ततः उसले दुई गाँस टिपेछ र फतफताउँदै सुतेछ । निदाइ पनि हालेछ ।
भित्ताको पेन्डुलम घडीले रातको दश बजेको सङ्केत दिएछ । त्यत्तिकैमा इन्द्रको मोबाइलमा तीनपटक मिस्डकल्ड आएछ । आस्थाले फिर्ती डायल गरिछन् ।
“के हो, यार ! पार्वतीसँग भुलेर मलाई बिर्सेको हो कि क्या हो !” आस्थाले सुनिरहिछन् र उताबाट नारीस्वर एकोहोरो गुन्जिरहन थालेछ, “कि पार्वतीले तिमीलाई नै अपहरण गरी ! मेरो याद आएन । बोल न !”
“अबदेखि तैँले मिस्डकल गरिस् भने तेरो जगल्टा छर्न म आइपुग्छु ।” आस्थाको कमलो मन घायल भएको आभास प्रस्ट रूपमा प्रकट भएछ, “मेरो लोग्नेलाई आफ्नो जालमा पारेर परिवारको बिचल्ली पार्न खोज्ने तँ पापिनी होस् ।”
“तँ जे भन नखरमाउली । म फँसेकी हैन । तेरो लोग्ने फँसेको हो । म पैसा लिएर मनोरञ्जन दिने मान्छे हुँ ।” उसले प्रस्ट पारिछ, “ऊ मकहाँ आओस् । पैसा खन्याओस् र तँलाई नङ्गटराम तुल्याओस् भन्ने मेरो धारणा हो ।”
“बढ्ता कुरा कुरा नगर् । चुपचाप आफ्नो काम गर् ।” आस्थाको अन्तिम कथन रहेछ, “मेरो परिवारतिर गिद्धेदृष्टि लगाउन छाडिदे । बस्, मेरो भन्नु यत्ति नै !”
“ए पार्वती ! मसँग बिलौना नगर् । आफ्नै पतिपरमेश्वर महादेवसँग बिन्तीभाउ गर् ।” उताबाट बोली आएछ, “तेरो घर भत्काउनु थियो भने उहिल्यै तेरो पति मेरो हुन्थ्यो । मसँग नम्र बन् नत्र एक हप्तामा तेरो घरबार भत्काएर आधा सम्पत्ति लिएर घरजम गर्छु, बुझिस् ?”
क्रोधले काँप्दै आस्थाले फोन काटिछन् र मोबाइल कुनातिर फ्याकिछन् । मोबाइल छ्याल्लब्याल्ल भएछ र त्यस्तै अवस्थामा रहिरहेछ ।
नशामै मस्तले रात बिताएर चार नबज्दै इन्द्र उठेछ । बा पहिले नै भजनकीर्तन गर्दै हुनुहुँदो रहेछ । आमा पनि उठेर बालाई नै सघाइरहनुभएको रहेछ ।
उसले शौचकर्म सिद्धयाएछ । आस्थातिर हेरेछ । उनी अझै ओछ्यानमै रहिछन् । छोराछोरी मस्त निद्रामै भेटिए । इन्द्रले कसैलाई अवरोध गर्ने मन गरेनछ ।
उसको नजिक आमा आउनुभएछ । आस्था र रमिलाबीचको मोबाइलवार्ताका सारा कुरा बताउनुभएछ । इन्द्रले लाजले मुन्टो निहुराएछ ।
“एकपटक जो पनि बिग्रन्छ । आफू बिग्रेको थाहा पाएपछि सप्रिहाल्ने मान्छे कहिल्यै नराम्रो मानिँदैन ।” आमाको कथन लम्बिएछ, “दुलहीलाई पनि सम्झाउँला । उनी बडो तनावमा छिन् ।”
“हो, कान्छा ! अब त होसमा आइज । खाने कुरो खा । ठिक्क खा । शरीरले सहने, इज्जतले धान्ने खा ।” बाले भन्दै जानुभएछ, “३/३ पत्नीलाई समालेर राखेको जीवन यही हो । तेरी आमाले २/२ जना सौताको पिरलो सहेकै हो । आखिरमा मर्ने बेला जेठी नै काम लागिरहेकी छे मेरा लागि ! पन्ध्र भाइ छोरामध्ये सबभन्दा कान्छो तेरै छाप्रोमा ओत लाग्न मन लाग्यो । तँलाई छाड्न मनले मान्दै मानेन । तैँले बाटो बिराए, पुर्खाको इज्जत नै धरापमा पर्छ । हामी अस्ताउन लागेका जूनघामको बिचल्ली हुन्छ । हामीलाई त अरू छोराबुहारीहरूले पनि सेवा गर्लान् । किन्तु यी कलिला नाति, नातिना र बुहारीको कुन हालत होला ! सम्झेर पनि सम्झी सक्नु छैन । यिनीहरूले दुःख पाए हामी चिन्ता र शोकले सुकेर र गलेर ढल्छौँ । बस्, म ता यत्ति भन्छु, यो युग मेरो हैन तेरो हो । सोचेर काम गर है, कान्छा !”
इन्द्र बोल्न सकेनछ । मौनताबाटै जित हात पारिन्छ भन्ने ठानेछ । तुरुन्तै गाउँबाट ३/४ भाइ दाजुभाइ आएछन् । बेलाबखत इष्टमित्र पनि आउँदै, जाँदै गर्दा रहेछन् । दुई दिनभित्रै ससुरालीहरूको पनि आगमन भएछ ।
इन्द्रले सबै जनाको एउटै मत सुन्नुपरेछ– इन्द्र बिग्रँदै छ, इन्द्र कसैसँग फँस्दै छ, इन्द्रले आफ्नो बसेको र जमेको परिवारलाई विखण्डित तुल्याउँदै छ । साक्षात् देवीजस्ती आस्थाप्रति अनास्था राख्नु इन्द्रको जीवनकै सर्वाधिक भूल हो । निमुखा सन्ततिको धोकेवाज बाबु बन्नु हो । यत्ति पवित्र विचार र उदार चरित्रको इन्द्रले विश्वासघात गर्न मिल्दैन । हामी यसलाई अर्की पत्नी थप्न मरे पनि दिँदैनौँ ।
सबैको एकै किसिमको रटान र आफूले जत्ति स्पष्टीकरण दिए पनि प्रतिफल शून्य भएपछि इन्द्रको मन झन विचलित भएछ । ऊ आफन्तलाई पनि विरानो देख्न थालेछ । आस्थाको आदर पनि कुलेलाम ठोकेजस्तो लागेछ ।
“सबैले तिम्रै पक्ष लिए, म पनि तिम्रै पक्षमा छु । त्यो रमिला फोनमा जिस्कने साथी हो । मैले चिन्या पनि छैन र देख्या पनि हैन ।” इन्द्रले प्रस्ट्याएछ, “शिक्षित नारी भएर गवारजस्तो नबन । आफन्तजनलाई हल्ला पिटेर बेइज्जती नकमाऊ ।”
“ए, काम बिगार्ने बेलामा बेहोसी हुने हजुर अनि अहिले अरूले होसमा ल्याएपछि चैँ म नै गवार महिला कहलिएँ हैन !” आस्थाको चर्को चेतावनी सुनिएछ, “त्यस राँडीलाई ल्याएर तपाईँ नै राज गर्नुस् । छोराछोरी समाल्नू, बाआमाको ख्याल गर्नू ! म एक्लो ज्यान कतै गएर गुजारा गरुँला । हजुरको जीवन मैले फुलाउन सकिनछु । सके माफ गर्नू, नसके गवार महिला सम्झेर मन बुझाउनू ।”
इन्द्र निरुत्तर बनेछ । छोराछोरीको निर्दोष मुहार हेरेछ, गहभरि आँसु पारेछ । बाबुआमाको पलङतिर आँखा फ्याकेछ । निस्तेज अनुहार लगाएर टुलुटुलु हेरिरहेको बुढ्यौली मुहार देखेछ । वरपरको सारा वातावरण र परिस्थितिले आफूलाई गिज्याएजस्तो अनुभूत गरेछ ।
र भनेछ, “आस्था ! फेरि भन्छु, मेरो कसैसँग त्यस्तो कुनै प्रकारको सम्बन्ध छैन । सबै जना एकै किसिमको रटान लगाउँछौ र मलाई नै अनाखो देखिरहन्छौ । यही सम्झेर म जीवनदेखि नै हार खाँदै छु ।”
“परिवार समाल्नू । जायजेथा बढाउनू । भोलि बिहानै म कहिल्यै नफर्किने गरी हिँड्छु ।” आस्थाको रुन्चे स्वर सुनिएछ, “मलाई छोराछोरीको आँसुले नपिरोस् र सासूससुराको श्राप नलागोस् ।”
इन्द्र जुरुक्क उठेछ । आस्थाको आक्रोश तातो झिर बनेर मुटु घोचेजस्तो भएछ । घरायसी सामान्य परिधानमै बजारतिर निस्किएछ । बाङ्गेबजार छिरेछ । २/३ घण्टा विताएछ । लरबराउँदै चन्द्र नहरको छेउको एकान्तमा ढल्किएछ ।
निकै बेर गम खाएछ । त्रियुगाको नदी कलकल गरिरहेको रहेछ । चारैतिरबाट शीतल हावा उसकै शरीरमा आएर पसेजस्तो भएछ । ऊ आनन्दले विभोर भएछ । त्यही सुतेछ र एकैछिनमा निदाइहालेछ पनि ।
बिउँझँदा पेट खाली पाएछ । घर सम्झँदा एक हुल मान्छे घोचो तिखारेर आफैँमाथि आइलागेजस्तो भएछ । आफ्नो बोली नबिकेको तर आस्थाको बोली अन्धाधुन्ध बिकेकोमा ईर्ष्या जागेछ ।
उसलाई अभिनय गर्न मन लागेछ । मन भारी भएछ । यद्यपि सबैको क्याउँक्याउँ बोलीले गोलीको रूप धारण गरेको अनुभूत भएछ ।
ऊ पसलमा छिरेछ । दुई बोतल कडा रक्सी किनेछ । बीजभण्डारको काउन्टरमा उभिएछ । कडा खालको मेटासिट किनेर रक्सीकै झोलामा हालेछ । फर्कँदा हटियाछेउमा दुई जोर परेवासहितको पेरुङ्गो किनेछ । सारा सामान जुटाउँदा साँझ परिसकेको रहेछ । ऊ छलिँदै दिशा बस्ने निउले त्रियुगाको किनारमा पुगेछ । झोक्रीमा झोलाको सामान लुकाएछ र पेरुङ्गो लिएर घर पुगेछ । घरमा सबैजना रिसाएकै रहेछन् ।
ऊ भने रिसाएनछ । बरु मधुरो र प्यारो बोलीमा भनेछ, “आस्था ! यो परेवा बनाऊ । आमाबाबु र छोराछोरीलाई खुवाऊ । आफू पनि टन्न खाऊ । म भने साथीको पार्टीमा जाँदै छु । राति अबेर होला, नआऊँला । मलाई राख्न पर्दैन । बासी परेवाको मासु खानु हुन्न ।”
विश्वासले पेरुङ्गो समाइछन् र आस्था सुसेधन्दामा व्यस्त भइछन् ।
सूर्य अस्ताचलमा सवारी हुन लागेको रहेछ । इन्द्र मुढामा बसेछ । वरपर अघाउँजी नियालेछ । घरको छतलाई एक टकले हेरेछ । त्यसले नजा, नजा भनेजस्तो लागेछ । तुलसीको मठतिर आँखा फ्याकेछ । त्यसले निर्णय बदल भनेजस्तो लागेछ । केही बेर अरू बसे मलाई रोक्न धेरै थोक लागेका रहेछन् भन्ने ठानेछ ।
इन्द्र जुरुक्क उठेर आमाबाबुका गोडा छोएछ । छोराछोरीका गालामा म्वाइँ खाएछ । आस्थातिर फर्केर भनेछ, “सबैको हेक्का राख । हाम्रो पूर्वजको प्रतिष्ठा बढोत्तरी गर है ।”
साँच्चिकै पार्टीमै गएजस्तो अनुहारमा बनावटी हाँसो ल्याएर मुस्कुराउँदै र हात हल्लाउँदै ऊ घरबाट निस्किएछ ।
सूर्य अस्ताचलमा चुर्लुम्म डुबेपछि ऊ त्रियुगा किनारामा पुगेर केहीबेर झोक्रिबसेछ– जहाँ पुगे पनि जहिले भए पनि मिल्ने त यही माटो नै हो । हाँसेर हिँडे पनि, रोएर झोक्रो पनि अन्ततः मिलनबिन्दु एकै हो ।
त्रियुगाले छाल फ्याँकेझैँ उसको मनले पनि विचारका तरङ्ग टाढा-टाढासम्म फ्याँकेछ । त्यसलाई समाउन खोजेछ । असफलता नै हात परेछ । असफलता काखी च्यापेर रुन्चे हाँसो हाँस्ने जीवन अस्वीकार गर्ने मन भएछ र हक्कीका साथ धक फुकाएर बाँच्ने लालच जन्मेछ ।
अन्ततः रक्सी र मेटासिट किन्ने बेलाको उसको विचार सामुमा देखिएछ । कडा रक्सीको बोलतमा मेटासिट घोलिएछ । अँध्यारामा साक्षी चरामुसाबाहेक बगिरहेको त्रियुगाको जलप्रवाह मात्र रहेछ ।
तिनैलाई साक्षी राखेर इन्द्र भुनभुनाएछ, “ए प्रकृति माता ! भूल भए माफी देऊ, जसरी हुन्छ आफ्नो काखमा शरण देऊ । म अविश्वासको काँडाले घायल छु । तिम्रै हातबाट शीतल मलहम चाहन्छु ।”
र त्यो आफ्नो पसिनाको धरोहरमा भौतिकरूपले फेरि कहिल्यै फर्केनछ ।
त्यस रात ऊ चेत हराएर आनन्दले सुतेछ । त्रियुगाले पनि उस्तै गतिमा बग्ने क्रम जारी राखेछ । इन्द्रका परिवारजन आनन्दले खाइपिइ गरेर सुतेछन् । सुनसान त्रियुगा धारमा कत्ति न्याउरीमुसा, कत्ति स्याल, कत्ति के-के जाति उफ्रिएछन्, नजिक-नजिक आएछन्, गएछन् । इन्द्रले त्यसको हेक्का राखेनछ ।
भोलिपल्ट एकाबिहानै स्थानीय तराई मधेसवासी मान्छे लोहोटामा पानी बोकेर ऊ नजिकै बसेछ । शौचकर्म सिध्याएछ र वरपर नियाल्दा नजिकै विचित्रको दृष्य साक्षात्कार गर्न पुगेछ– चिरनिद्रामा मस्त भएको त आफ्नै चिरपरिचित इन्द्रलाई पो देखेछ !!!
चिच्याएछ, “हे, गो बाबा ! इन्द्रके हातपैर ठन्डा भगेल छौ । साइडमे मेटासिट आ दारु छिटल छै ! गै इन्द्रके माईबाफ ! कत छी । जल्दी से या ।”
इन्द्रका हातखुट्टा चिसा भएका र मेटासिट र रक्सीको मिश्रण नजिकै रहेको कुरो सुनेर वरपरका मान्छे दौडँदै आएछन् । एक, दुई हुँदै एक डेढ सय मान्छे भेला भएछन् तर उसलाई छुन कसैले हिम्मत गरेनछन् । गाउँबाट दाजुहरू आएपछि मात्रै इन्द्रको सुत्ने ठाउँ ट्याक्टरको डाली भएको रहेछ ।
काल्दाइले बोली बन्द गर्दा नगर्दै प्रयोगशालाबाट सेतो कपडामा पोको परेर इन्द्र फिर्ता आयो । फेरि उसले ट्याक्टरका डालीको बीच भाग उसैगरी भऱ्यो । फरक यत्ति थियो फगतपुरबाट अघि आउँदा इन्द्र भरभराउँदो कञ्चन थियो । अहिले जाँदा भने इन्द्र रगतले लतपतिएको थियो । इन्द्र शयन भने पहिले र अहिले उस्तै-उस्तै थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।